अब डिप्लोमा कोर्स पढ्न विदेश जान नपाइने, कन्सल्टेन्सीको बिजनेस चौपट हुने
(फोटो सामाजिक सञ्जालबाट साभार) काठमाडौं । शिक्षा मन्त्रालयले ल्याएको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ कार्यान्वयनमा आएसँगै नेपाली विद्यार्थीहरु अब डिप्लोमा, एडभान्स डिप्लोमा, भाषा र तालिमका लागि विदेशमा अध्ययन भिसामा आवेदन गर्न नपाउने भएका छन् । नयाँ निर्देशिकाअनुसार अब विद्यार्थीहरुले उच्च शिक्षाका लागि मात्रै अध्ययन भिसाको आवेदन गर्न पाउनेछन् । शिक्षा मन्त्रालले अध्ययनको लागि विदेश जाने विद्यार्थी लक्षित गरेर ल्याएको यो पहिलो निर्देशिका हो । अध्ययनको नाममा कामको लागि विदेश जाने प्रवृत्तिलाई रोक्ने उदेश्यले निर्देशिका ल्याइएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । अहिलेसम्म विदेश जाने विद्यार्थीहरुसँग परामर्श व्यवसाय सञ्चालन गर्ने कन्सल्टेन्सी उत्तरदायी हुने व्यवस्था नभएकोमा नयाँ निर्देशिकासँगै उनीहरुलाई पनि जिम्मेवारीको दायरामा ल्याउन लागिएको शिक्षा मन्त्रालय उच्च शिक्षा महाशाखाका प्रमुख तथा सहसचिव कृष्ण काप्रीले बताए । ‘नयाँ निर्देशिका विद्यार्थीहरुलाई सुरक्षित हिसाबले अध्ययन गर्न जाने वातावरण सिर्जना गर्नका लागि ल्याइएको हो’, कार्कीले भने । उनका अनुसार नयाँ निर्देशिका लागू गर्ने सन्दर्भमा अहिले मन्त्रालयमा छलफल चलिरहेको छ । नयाँ निर्देशिका लागू भइसकेपछि अध्ययनको लागि विदेश जाने विद्यार्थीले अटोमेटिक प्रकृयाद्वारा आवेदन गर्ने प्रणाली भर्न पाउने व्यवस्था मन्त्रालयले लागू गर्न लागेको छ । त्यसका लागि अहिलेकै एनओसी आवेदन गर्ने पोर्टललाई व्यवस्थित गर्ने काम भइरहेको सहसचिव काप्रीले बताए । उनका अनुसार नयाँ अटोमेटिक प्रणाली कार्यान्वयनमा आइसकेपछि विद्यार्थीहरुले अहिलेजस्तो एनओसी कार्यालयमा गएर भिडभाड गर्नु पर्दैन । मन्त्रालयले नयाँ प्रणालीमार्फत् राष्ट्रिय परीक्षा बोर्ड र बैंकसँग विद्यार्थीको तथ्यांकलाई जोड्ने काम गर्न लागेको छ । त्यसपछि विदेश जाने विद्यार्थीले शुरु गर्ने प्रकृया र उसले अध्ययन गर्न जाँदा गर्ने खर्चलाई एकीकृत प्रणालीमा समेटिने मन्त्रालयले जनाएको छ । नयाँ निर्देशिका लागू भएसँगै नेपालबाट अध्ययन भिसामा विदेश जाने विद्यार्थीको ठूलो संख्या प्रभावित हुनेछन् । त्यसका साथै विदेश विद्यार्थी पठाउन भनेर खोलिएका हजारौं कन्सल्टेन्सीको व्यवसायमा समेत प्रभाव पर्ने स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालका उपाध्यक्ष हेमन्तराज दुलाल बताउँछन् । नयाँ निर्देशिकाले आफ्नो व्यवसाय प्रभावित पर्ने देखेपछि परामर्श व्यवसायीहरुको तीनवटा छाता संगठनले विज्ञप्ति निकालेर विरोध जनाएका छन् । चालू आर्थिक वर्षको माघ महिनासम्म ५९ हजार आठ सय ५७ जना विद्यार्थीले एनओसी लिएका थिए भने फागुन महिनामा मात्रै १३ हजार नौ सय ४५ जना विद्यार्थीले एनओसी लिएका छन् । फेकनका उपाध्यक्ष दुलालका अनुसार अहिलेको निर्देशिका कार्यान्वयनमा आउँदा विदेश अध्ययनमा जान चाहने ७५ प्रतिशत विद्यार्थी प्रभावित हुनेछन् । ‘उच्च वर्गका छोराछोरीहरु राम्रो विश्वविद्यालयमा जान सक्छन्, हामीमार्फत् जाने भनेको कम खर्चमा मध्यम वर्गका विद्यार्थीहरु हुन्, जापान, अस्ट्रेलिया लगायत धेरै देशमा अध्ययनको लागि जान चाहने विद्यार्थीलाई नयाँ निर्देशिकाले प्रभावित गर्छ’, उनले भने । गत फागुन १८ गते स्वीकृत भएको उक्त निर्देशिका आगामी वैशाख २ गतेदेखि लागु हुने बताइएको छ ।
महानगरभित्रका सामुदायिक विद्यालयमा विद्यार्थी बढे
काठमाडौं । काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन हुने भए पनि नयाँ भर्नाका लागि विद्यार्थी आउने क्रम बढेको छ । हाल कामपामा ८९ सामुदायिक विद्यालय छन् । जसमा ५० प्रतिशत विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन हुन्छ । कम शुल्कमै अङ्ग्रेजी माध्यमका पढ्न पाएपछि विद्यार्थी आउने क्रम बढेको कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार निजी विद्यालयमा कक्षा ५ सम्म अध्ययन सकेर ६ मा भर्ना हुन आउनेको सङ्ख्या बढी छ । ‘भर्नामा २५ प्रतिशत नयाँ विद्यार्थी देखिएका छन्, यसरी आउने विद्यार्थी कक्षा ६ देखि कक्षा आठ सम्मका छन्’, उनले भने । सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाइने भएकाले विद्यार्थीको आकर्षण बढेको हो । नयाँ भर्नाका लागि विद्यार्थीको सङ्ख्या बढेपछि स्तरमापन गरेर मात्र भर्ना गर्ने तयारी भएको उनको भनाइ छ । यसका लागि नेपाली, अङ्ग्रेजी, विज्ञान, गणित र सामाजिक विषयको पाठ्यक्रममा आधारित स्तरमापन गरिने जनाएको छ । ती विषयबाट २०र२० अङ्क भारसहित जम्मा १०० पूर्णाङ्कको प्रश्न सोधिने छ । कामपामा रहेका ८९ सामुदायिक विद्यालयमध्ये ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । साथै पाँच सय ४० निजी विद्यालयमा एक लाख २० हजार विद्यार्थी अध्ययनरत छन् । कामपाले यसवर्ष पहिलो पटक आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधारका लागि गणित, विज्ञान, अङ्गे्रजी, सामाजिक र नेपाली विषयका लागि शिक्षण सहजकर्ता नियुक्त गरी दुई महिना अतिरिक्त कक्षा सञ्चालन समेत गरेको थियो । रासस
एसइईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारको घोषणा
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ नम्बर वडामा रहेका तीन वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारको घोषणा गरिएको छ । सिङ्गापुर पुलिसबाट सेवानिवृत रघुगङ्गा गाउँपालिका–३ पिप्लेको घोटडाँडा घर भई हाल काठमाडौं बसोबास गर्दै आएका कमल शाहीले यस वर्षको एसइईमा ‘ए’ प्लस र ‘ए’ ग्रेड ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गरेका हुन् । पिप्लेमा रहेको रघुगङ्गा मावि, मौवाफाँटमा रहेको ज्ञानोदय मावि र भगवतीमा रहेको मुक्तिधाम माविबाट यस वर्षको एसइईमा सहभागी विद्यार्थीमध्ये ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई जनही १० हजार रुपैयाँ र ‘ए’ ग्रेड ल्याउन सफल हुने विद्यार्थीलाई जनही पाँच हजार नगद पुरस्कार रुपैयाँ दिने घोषणा गरेका छन् । यस वर्षको एसइई परीक्षामा रघुगङ्गा माविबाट २५ जना, मुक्तिधाम माविबाट ७१ जना र ज्ञानोदय माविबाट १९ परीक्षार्थी सहभागी छन् । शाहीले यसअघि रघुगङ्गा माविमा आफ्नो दिवङ्गत बुबा देवबहादुर शाहीको स्मृतिमा पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् भने यस क्षेत्रको सामाजिक कार्यमा समेत सहयोग गर्दै आएका छन् । रासस