अल्फाबिटाले एसईई दिएर बसेका विद्यार्थीको लागि सुरु गर्यो ब्रिज कोर्स
काठमाडौं । शिक्षा परामर्शदाता अल्फाबिटाले एसईई दिएर बसेका विद्यार्थीका लागि ब्रिज कोर्स कार्यक्रम सुरु गरेको छ । अल्फाबिटाले एसईई दिएर नेपालकै कलेजहरूमा उच्च शिक्षा हासिल गर्ने योजनामा रहेका विद्यार्थीहरूका लागि ब्रिज कोर्स कार्यक्रम सुरु गरेको हो । यो कार्यक्रम नेपालका उत्कृष्ट कलेजहरूद्वारा सञ्चालन हुने कठिन प्रवेश परीक्षाका लागि विद्यार्थीहरूलाई तयार पार्ने गरी डिजाइन गरिएको अल्फाबिटाले जनाएको छ । अल्फाबिटाको अनुसार १० हप्ताको यो कोर्सले विद्यार्थीहरूको शैक्षिक सीपहरू बढाउन र कलेज प्रवेश परीक्षाको लागि तयारी गर्ने अवसर प्रदान गर्नेछ । अल्फाबिटाका प्रमुख कार्यकारी अधिकृत द्विराज शर्माले आफुहरुले एसईई स्नातकहरूले आफ्नो मनपर्ने कलेजहरूमा भर्ना हुनको लागि प्रवेश परीक्षाको तयारी गर्दा सामना गर्ने चुनौतीहरू बुझेको बताए । ‘हाम्रो ब्रिज कोर्स कार्यक्रम विद्यार्थीलाई यी चुनौतिहरु पार गर्न र मनपर्ने कलेजमा भर्ना हुनको लागि शैक्षिक लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्ने उद्देश्यले सुरु गरेका छौं,’ उनले भने । अल्फाबिटाले कोर्सको लागि दर्ता गर्ने पहिलो १०० विद्यार्थीहरूलाई ३० प्रतिशत छात्रवृत्ति प्रदान गर्द शर्माले जानकारी दिए ।
जयपुरमा डीएभी कलेजको दमदार प्रस्तुती
काठमाडौं । डीएभी कलेजको अठारौँ अन्तर्राष्ट्रिय युवा मेला, ‘घुमर’ मा सहभागी डीएभी कलेज ललितपुरका १८ जना विद्यार्थीहरुले ११ विधाहरुमा प्रतिस्पर्धा गर्दै नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा पुनः चिनाउन सफल भएका छन् । गत चैत्र २३ र २४ गते युनिभर्सिटी अफ राजस्थानले आयोजना गरेको अठाराैँ अन्तर्राष्ट्रिय युवा मेला, ‘घुमर’ मा सहभागी भए भने करिब ६० युनिभर्सिटीका विद्यार्थीहरुले आ–आफ्ना प्रतिभा र कला प्रदर्शन गरेका थिए । डीएभी कलेज, भनिमण्डल, ललितपुरले सम्पूर्ण विधाहरुमा सहभागी जनाउँदै समग्रमा तृतिय स्थान हाँसिल गर्न सफल भयो । तृतिय स्थान सुरक्षित गर्न सहभागी सबै विद्यार्थीहरुको उल्लेखनीय भूमिका रहेको थियो । डीएभी, बीबीएकी प्रमिला पोख्रेलले मिस घुमर टाइटल जित्न सफल भइन भने बीबीएसकी प्रनिता श्रेष्ठले मिस ट्यालेन्ट अर्वाड हात पारिन् । त्यसैगरि बीबीएकी जुही अधिकारीले कविता प्रतियोगितामा प्रथम स्थान हाँसिल गरिन भने रितिक जयसवालले गीत गायन प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरे । पेन्टिङ्ग प्रतियोगितामा निमिसा शाक्यले द्वितीय स्थान जित्न सफल भइन् । यसका अलावा डीएभी कलेजका विद्यार्थीहरुले सास्कृतिक नृत्यमा तृतीय स्थान हात पारे । त्यसैगरि डीएभी कलेजका विद्यार्थीहरुले निबन्ध, बादविवाद, अनदस्पट पेन्टिङ्ग कार्टुनीङ्ग र मेहेन्दी कला प्रतियोगिताहरुमा सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गरे । विद्यार्थी टोलीहरुको साथमा शिक्षकद्वय माधव अधिकारी र विष्णु गिरी सहभागी थिए । डीएभी कलेज अफ म्यानेजमेन्टले जनाएअनुसार, विद्यार्थीहरुको यसखाले प्रदर्शनी अन्तर्राष्ट्रिय मञ्चमा लामो समयदेखि अपेक्षा गरिएको थियो र विद्यार्थीहरु विभिन्न उपाधीहरु जित्न योग्य समेत रहेका थिए । साथै, डीएभी कलेजले अठारौँ अन्तर्राष्ट्रिय युवा मेलामा सहभागी भई नेपाल र भारतबिचको मैत्री सम्बन्धलाई प्राज्ञिक र जनस्तरमा थप प्रगाढ गर्न सफल भएको छ । युनिभर्सिटी अफ राजस्थानले हरेक वर्ष यसखाले अन्तर्राष्ट्रिय युवा मेला आयोजना गर्दै आएको छ ।
यस वर्ष विद्यार्थीले समयमै पाए पाठ्यपुस्तक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासो र निर्देशनपछि यस शैक्षिक सत्रमा भर्ना अघि नै देशभरका सामुदायिक विद्यालयका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका छन् । गत पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै प्रधानमन्त्री दाहालले यसपटक विद्यार्थीले पाठ्यपुस्तक समयमै पाउने प्रतिबद्धता व्यक्त गरेका थिए । जसअनुसार हालसम्म देशभरका अधिकांश सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् भने केही जिल्लामा बाँकी रहेको भएपनि विद्यार्थी भर्ना अभियान जारी रहँदासम्म सबैले प्राप्त गरिसक्नेछन् । विगतका वर्षमा शैक्षिक सत्र आधा बितिसक्दा पनि पुस्तक नपाउने अवस्था यसपटक भने अन्त्य भएको जनक शिक्षा सामग्री केन्द्रको भनाइ छ । पाठ्यपुस्तक छपाइको जिम्मा पाएको केन्द्रका अनुसार वैशाख १० गतेसम्म देशभरका सबै विद्यालयमा पुस्तक पुगिसक्नेछन् । केन्द्रका अनुसार कूल ५९ जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीले करिब शतप्रतिशत नै पाठ्यपुस्तक पाएका छन् भने १८ जिल्लामा पनि वैशाख १० गतेभित्र पुस्तक पु¥याइनेछ । पुस्तकको अनुहार नै देख्न नपाइ परीक्षा दिनुपर्ने विगतको समस्या यसपटक भने विद्यार्थीले भोग्नु नपर्ने केन्द्रको भनाइ छ । सरकारले यस वर्षका लागि कक्षा एकदेखि पाँचसम्मको पाठ्यपुस्तक निजी क्षेत्र र कक्षा छदेखि १०सम्मको पाठ्युपस्तक छपाइको जिम्मा केन्द्रको थियो । निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारी अनुसार कूल एक करोड १२ लाख ५६ हजार थान पुस्तक सम्बन्धित विद्यालयमा पु¥याइरहेको छ । जनक शिक्षाले एक करोड ५० लाख थान पाठ्यपुस्तक छपाइ गरी वितरणको काम समेत सम्पन्न गरिसकेको छ । केन्द्रका प्रबन्ध निर्देशक अनिलुकमार झा यसपटक समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्नुमा प्रधानमन्त्री दाहालको निरन्तरको चासो र सहजीकरण भएको बताउनँछन् । ‘प्रधानमन्त्रीको निर्देशनपछि प्रधानमन्त्री कार्यालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवश्यक सहजीकरण गरिदिनुभयो’, उनले भने, ‘फलस्वरुप हामीले २४सै घण्टा छपाइ गरी समयमै पुस्तक पु¥याउन सक्यौँ ।’ उनका अनुसार २०४६ सालको बहुदलपछि पहिलो पटक विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गर्न सकेका हुन् । ‘हरेक वर्ष समयमा विद्यार्थीले पाठ्यपुस्तक नपाएको भन्दै संसदीय समितिले चासो व्यक्त गर्दथे । सञ्चारमाध्यममा समेत सोही विषयले प्राथमिकता पाउँथे, यसपटक हामीले समयमै काम सम्पन्न गर्न सक्यौ’, प्रबन्ध निर्देशक झाले भने । समयमै कागज खरिद, कामदारको उचित प्रबन्ध गर्न सकेका कारण समयमै काम हुन सकेको उनको भनाइ छ । आज पाठ्यपुस्तक छपाइ र बिक्री वितरणको अवस्थाका बारे जानकारी लिन प्रधानमन्त्री सचिवालय र सञ्चारकर्मीको समूह पुग्दा केन्द्रका अधिकांश छापाखाना सञ्चालनमा थिए । तराईका केही जिल्लामा पुस्तक लैजान केही ट्रक तयारी अवस्थामा थिए । केन्द्रका अनुसार हाल अनिवार्य विषयको छपाइ सकाएर ऐच्छिक विषयका पाठ्यपुस्तकको छपाइ भइरहेको छ । प्रबन्ध निर्देशक झाका अनुसार हाल २४सै घण्टा करिब पाँच सय कामदारले छपाइको काम गरिरहेका छन् । कागज ढुवानीमा कुनै समस्या छैन भने आगामी वर्षका लागि सरकारीस्तरमा नै कागज खरिदका लागि आवश्यक अनुमति पनि प्राप्त भइसकेको छ । ‘मनि, म्यानपावर, म्यानजेमेन्ट र मेशिनको सन्तुलित प्रयोगले गुनासोरहित तवरले कामसम्पन्न भएको हो’, प्रबन्ध निर्देशक झाले भने, ‘प्रधानमन्त्रीले नै चासो राखेर आवश्यक निर्देशन दिनुभएका कारण यसपटक कुनै पनि गुनासो सुन्नु परेन ।’ केन्द्रका अनुसार हाल सोलुखुम्बुका केही विद्यालयमा पाठ्यपुस्तक पुग्न बाँकी छ । त्यस्तै, धनकुटा, मोरङ, सुनसरी र झापा, सिरहा, सर्लाही, बारा, पर्सा, रुपन्देही, बाँके, बर्दिया, देलेख, सुर्खेत, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा सबै विद्यालयमा यही वैशाख १० गतेभित्रै पाठ्यपुस्तक पुर्याइनेछ । भर्ना अभियानसँगै छिटफुट बाँकी रहेका केही जिल्लाका विद्यालयमा समेत पाठ्यपुस्तकको बिक्री वितरण भइसक्ने केन्द्रको दाबी छ । केन्द्रले हिमाली जिल्लाहरु जुम्ला, हुम्ला, डोल्पालगायतका जिल्लामा यसपटक पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक पठाइएको जनाएको छ । पाठ्यक्रम विकास केन्द्रका अनुसार १३ वटा निजी क्षेत्रका १३ वटा छापाखानाले पाठ्यपुस्तक छापेर बिक्री वितरण गरिसकेका छन् । केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालका अनुसार सरकारले यसपटक सबै सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सफल भएको जानकारी दिए । ‘जनक शिक्षा र निजी क्षेत्र दुवैले यसपटक तोकिएको जिम्मेवारी समयमै काम पूरा गरेका कारण कुनै गुनासो आएको छैन’, महानिर्देशक अर्यालले भने, ‘प्रधानमन्त्री र शिक्षामन्त्रीले हामीलाई समयमै मार्गनिर्देशन गर्नुभएका कारण पनि हामीले सफलता हासिल गरेका छौँ ।’ उनले आगामी दिनमा पनि यही सकारात्मक अनुभवलाई अगाडि बढाउने लक्ष्यका साथ काम गर्ने बताए । महानिर्देशक अर्यालका अनुसार निजी क्षेत्रले एक करोड १८ लाख थान पाठ्यपुस्तक छपाइ गरेको छ । ‘पाठ्यपुस्तकबारे अहिलेसम्म कही कतैबाट पनि गुनासो आएको छैन । हिमाली, पहाडी तथा तराईका जिल्लामा पनि सहज रुपमा बिक्री वितरण भइरहेको छ’, महानिर्देशक अर्यालले भने । रासस