स्कूलहरुले नाम र लोगो फेर्नुपर्ने, ३३ प्रतिशत विद्यार्थी विदेशी भए मात्र इन्टरनेशनल स्कूल

काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदाको नामबाट विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्थ गरेको छ । महानगरपालिकाले विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ संशोधन गरी यस्तो व्यवस्थ लागू गरेको हो । विद्यालयको नाम र चिन्हमा एकरुपता ल्याउन महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ संशोधन गरेको बताएको छ । नियम ६९ मा विद्यालयको चिन्ह षट्कोणको रहने व्यवस्था गरेको छ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिन्ह राख्न सक्ने बताइएको छ । यस्तै, नियम ७० मा विद्यालयको नामाकरण सम्बन्धि व्यवस्था गररेको छ । सो नियमको उपनियम १ मा समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्नेछ । तर यो नियम प्रारम्भ हुनुभन्दा अगाबै यस नियम विपरीत नामाकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखिनै लागू हुनेगरी पुनःनामाकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो । उपनियम २ मा कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शव्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रबृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ । कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शव्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्ने र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शव्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्ने र विद्यालयको नामको अन्तमा विद्यालय स्कुल वा पाठशाला शव्द जोडिएको हुनुपर्ने व्यवस्था गरिएको छ । तर, यो उपनियम लागू हुनु अगाबै यस नियम विपरीतका शव्दहरू जोडेर नामाकरण भै सकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोश्रो शैक्षिकसत्रको सुरु देखिनै लागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामाकरण गर्नुपर्नेछ । यी नियमको पालना गर्दै विद्यालयको चिन्ह र नाममा एकरुपता ल्याएर मौलिक र मापदण्ड अनुरुप रहन महानगरले आग्रह गरेको छ । यदि नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने बताएको छ ।

प्रोफेसनल भिसा एन्ड एजुकेसन सर्भिसेसको कार्यालय थापाथलीमा

काठमाडौं । प्रोफेसनल भिसा एन्ड एजुकेसन सर्भिसेसले नेपाल स्थित आफ्नो मुख्य कार्यालय काठमाडौंको थापाथलीमा शुरुवात गरेको छ । सर्भिसेसले बुधबार एक समारोहको आयोजना गरी कार्यालयको उद्घाटन गरेर सञ्चालनमा ल्याएको हो । कार्यालयको उद्घाटन लोकप्रिय नायिका स्वस्तिमा खड्काले रिवन काटेर गरेकी थिइन् । कार्यक्रममा अनिल केसरी शाह, वर्षा राउत लगायत प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो । सञ्चालक निशान्त शर्माले सर्भिसेसको यो चौथो शाखा रहेको बताएका थिए । उनले विद्यार्थीहरुलाई सही सूचना दिएर गुणस्तरीय र भरपर्दो आप्रवासन सम्बन्धी शिक्षा दिने काममा सर्भिसेसले महत्वपूवर्ण भूमिका निर्वाह गरेको बताएका थिए । उद्घाटन समारोहमा बोल्दै अनिल केसरी शाहले सर्भिसेसले विद्यार्थीहरुलाई उचित परामर्श दिएर अस्ट्रेलियामा गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि भूमिका निर्वाह गर्ने बताएका थिए । उनले नेपालमा आफूहरुको पुस्ताले राम्रो वातावरण बनाउन सकेको भए नयाँ पुस्ता विदेश जानपर्ने परिस्थिति नआउने बताउँदै नयाँ पुस्ताले राम्रो शिक्षा लिएर नेपाल फर्केर राम्रो गर्न सक्ने बताएका थिए । अस्ट्रेलियाको सिड्नी, क्यानबेरा र हबर्टमा पनि सर्भिसेसको कार्यालय रहेका छन् ।

अब विद्यार्थीले शुक्रबार किताब पढ्न नपर्ने

काठमाडौं । अब काठमाडौं महानगरमा माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीले शुक्रबार किताब पढ्न नपर्ने भएको छ । महानगरले शुक्रबार माध्यमिक तहको कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई ‘शिक्षासँगै सिप’ तालिम प्रदान गर्ने भएपछि विद्यार्थीहरु सो दिन किताब बोकेर विद्यालय जान नपर्ने भएको हो । महानगरपालिकाले मंगलबार एक समारोहको आयोजना गर्दै विद्यालय तहमा ‘शिक्षामा सिप’ कार्यक्रमको घोषणा गरेको छ । विद्यमान शिक्षा प्रणालीमा सुधार गर्ने र सिपमुलक शिक्षाको पाटो थप्ने उद्देश्यले महानगरले माध्यमिक तहमा छोटो अविधिको सिपमुलक तालिम कार्यक्रम समावेश गरेको हो । महानगरका प्रमुख बालेन्द्र साहले डिजिटल माध्यमबाट मंगलबार कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमको शुरुवात गरेका छन् । पाठ्यपुस्तक र नियमित कक्षासँगै जीवनउपयोगी, सिपमुलक र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्य कार्यक्रममा राखिएको छ । साथै विद्यार्थीले विद्यालय तहको अध्ययन पुरा गर्दा कम्तिमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्ने उद्देश्य पनि कार्यक्रमले लिएको छ । साहका अनुसार इतिहासमा गुरुकुलमा सिकाइने सिपमुलक शिक्षा विदेशी शिक्षाको आगमनसँगै छायाँमा परेकाले अहिले महानगरले त्यसलाई शुरुवात गरेको हो । विद्यार्थीले सिपमुलक शिक्षाको माध्यमबाट श्रमलाई बुझ्ने र श्रमको सम्मान गर्ने संस्कृति सिक्ने महानगरका प्रमुख शाहले बताए । महानगरले ‘शिक्षासँगै सिप’ कार्यक्रमलाई पाइलट प्रोजेक्टका रुपमा ५६ वटा माध्यमिक विद्यालयहरुमार्फत शुरुवात गर्ने भएको छ । चालु आर्थिक वर्षमा अर्थात असार मसान्तसम्म ९० घण्टाको कार्यक्रम सञ्चालन हुने महानगरका शिक्षा अधिकारी सिताराम अधिकारीले बताएका छन् । उनका अनुसार सो कार्यक्रम प्रत्येक शुक्रबार लागु हुने र सो दिन विद्यार्थीहरु पुस्तक झोला बिना नै विद्यालयमा उपस्थिति भएर ‘शिक्षासँगै सिप’ कार्यक्रममा सहभागी हुन्छन् । तालिममा कृषि तथा सहरी खेती, सौन्दर्यकला र कपाल शैली, काष्ठकला तथा नक्कासी, पाककला, फेसन डिजाइन तथा कपडा निर्माण, तार तथा बिजुली जडान, विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने कला, मोबाइल तथा विद्युतीय सामग्री, पाइप जडान तथा मर्मत र कला तथा मूर्तिकला विद्याहरुलाई समावेश गरिएको महानगरका प्रवक्ता नविन मानन्धरले बताएका छन् । विद्यालय शिक्षाकै क्रममा प्रदान गरिने तालिमले विद्यार्थीलाई दैनिक जीवनमा आइपर्ने व्यवहारिक समस्या समाधान गर्न सहयोग पुर्याउने र आफ्नो रुचीको तालिम पश्चात विद्यार्थीले उपयोगी सिपको प्रमाणपत्र समेत प्राप्त गर्ने प्रवक्ता मानन्धरले बताए । खासगरी ‘शिक्षासँगै सिप’ कार्यक्रममा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरु सहभागी हुन्छन् । विद्यार्थीहरुलाई २० देखि ३० जनासम्मको समूह बनाएर तालिम सञ्चालन गरिन्छ । विद्यालयहरुलाई तालिम सञ्चालन गर्नको लागि महानगरले आफ्नै आन्तरिक स्रोतबाट आवश्यक रकम अनुदान स्वरुप उपलब्ध गराउने महानगरका प्रवक्ता मानन्धनरले बताए । सम्बन्धित विषयमा स्नातक तह उत्तिर्ण गरेको प्रशिक्षक व्यक्तिले विद्यार्थीलाई तालिम प्रदान गर्ने व्यवस्था मिलाइने महानगरले जनाएको छ । काठमाडौं महानगरले शुरुवात गरेको ‘शिक्षासँगै सिप’ तथा ‘किताब रहित शुक्रबार’ कार्यक्रमको शुरुवातबाट शिक्षक र विद्यार्थीहरु उत्साहित भएको विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए । उनले विद्यार्थीले ५ दिनसम्म निरन्तर पुस्तक पढ्दा उनीहरुको दिमाख थकित भएको हुने हुँदा शुक्रबार सञ्चालन गरिने ‘किताब रहित शुक्रबार’ कार्यक्रम निकै प्रभावकारी हुने बताए । महानगरकी उपप्रमुख सुनिता डंगोलले परीक्षामा विद्यार्थीले ल्याएको श्रेणीले क्षणिक भएको बताउँदै जीवन उपयोगी सिप सिक्नको लागि महानगरले विद्यालयस्तरमा छोटो अवधिको तालिम सञ्चालन गर्न लागिएको बताइन् । तालिमले शैक्षिक रुपमा मात्रै नभइ आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पनि रुपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । दक्षजनशक्ति उत्पादन गर्न कामपाले ११औँ नगर सभाबाट बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यावसायिक बनाउँदै लैजाने नीति लिएको छ । अहिले महानगरमा ८९ वटा सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।