एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने
काठमाडौं । उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरुलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ एनओसी अब अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो । एनओसीका लागि अनलाइनबाटै आवेदन दिने व्यवस्था भए पनि अबदेखि भने अनलाइनबाट प्रिन्ट पनि गर्न मिल्ने बनाउन लागिएको एनओसी शाखा प्रमुख वासुदेव वस्तीले जानकारी दिए । उनले ढिलोमा अर्को हप्ताबाट अनलाइनबाटै आफैले प्रिन्ट गर्न मिल्ने व्यवस्था हुनेछ । सरोकारवाला शैक्षिक संस्थाको ‘एपिआइ इन्ट्रिग्रेड’ गरी आवेदकले प्रविष्ट गरेका कागजातका आधारमा ‘अटोनोमस भेरिफिकेसन’ गर्ने शाखा प्रमुख वस्तीले बताए । उनले भने, ‘विद्यार्थीले वैदेशिक मुद्राको सटही सुविधा लिए–नलिएको विवरणसमेत बैंक तथा वित्तीय संस्थाबाट ‘अटोमेटिक’ हुने छ । यसका लागि शाखाले बैंक तथा वित्तीय संस्थालाई अभिमुखीकरण गरेको छ । उनीहरुको मागअनुसार ‘युजर म्यानुअल’समेत तयार भइसकेको छ ।’ नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत एनओसीका आधारमा विद्यार्थीलाई विदेशी मुद्रा सटही सुविधा दिन सर्कुलर गरेको छ । राष्ट्र बैंककले जारी गरेको परिपत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ बमोजिम उक्त मन्त्रालयले व्यवस्था गरेको पोर्टल प्रयोगमा आएपश्चात् बैंक तथा वित्तीय संस्थाले सोही पोर्टलमा उपलब्ध नो अब्जेक्सन सर्टिफिकेटसम्बन्धी विवरण यकीन गरी सटही सुविधा उपलब्ध गराउनुपर्ने भनिएको छ । अहिले सरोकारवाला निकायका ‘सफ्टवेयर’ शाखाको अनलाइन प्रणालीसँग जोड्ने काम भइरहेको छ । कतिपय सरोकारवाला निकाय अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्नसक्ने अवस्थामा नभएका कारण केही ढिलाइ भइरहेको एनओसी शाखा प्रमुख वस्तीले जानकारी दिए । ‘यसका लागि २५ भन्दाबढी सरोकारवाला निकायसँग समन्वय आवश्यक हुन्छ’, उनले भने, ‘राहदानी विभाग, विश्वविद्यालय, अध्यागमनलगायतका सरोकारवाला निकायसँगको समन्वय आवश्यक हुन्छ ।’ सबै सरोकारवाला निकायले अनलाइनमार्फत सेवा प्रवाह गरेका मात्रै एनओसी शाखाले शतप्रतिशत सेवा प्रवाह गर्नसक्ने उनको भनाइ छ । सरकारले वैदेशिक अध्ययनलाई व्यवस्थित गर्नका लागि ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । निर्देशिका एनओसी लिने कार्यलाई सहज, सरल, तथ्यपरक, व्यवस्थित, प्रविधिमैत्री तथा प्रभावकारी बनाउन र विदेशी मुद्रा सटही सिफारिससम्बन्धी कार्यलाई व्यवस्थित गर्नका लागि बनाइएको हो । सोही आधारमा एनओसी जारी गर्ने प्रक्रिया पूर्णरुपमा अनलाइन गर्न लागिएको हो । हाल अनलाइनमार्फत् आवेदन दिइ रुजु भएपछि एनओसी लिने समय मोबाइलमा प्राप्त भएको म्यासेजमा आएका कार्यालयमा गइ लिनुपर्ने व्यवस्था छ । तर अब भने एनओसी आवेदनदेखि प्रिन्ट पनि अनलाइनबाट हुन लागेको हो । रासस
लिंकन विश्वविद्यालयद्वारा लिंकन इन्टरनेशनल कलेजका चारसय बढी विद्यार्थी दीक्षित
काठमाडौं । लिंकन इन्टरनेशनल कलेजका चारसय बढी विद्यार्थी दीक्षित भएका छन् । बैशाख १६ गते ललितपुरको गोदावरी स्थित सनराइज सम्मेलन केन्द्रमा भएको लिंकन युनिभर्सिटी विश्वविद्यालय कलेजको पाँचौ दीक्षान्त समारोहमा लिंकन इन्टरनेशनल कलेजका चारसय छ जना विद्यार्थी दीक्षित भएका हुन् । लिंकन इन्टरनेशनल कलेजमा बिबिए अध्ययन गर्ने एकसय चार र एमबिए अध्ययन गर्ने तीनसय दुई जना विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ । अहिलेसम्म विश्विद्यालयबाट २२ सय भन्दा धेरै विद्यार्थी दीक्षित भइसकेका छन् । दीक्षान्त समारोहमा लिंकन विश्वविद्यालय कलेज मलेसियाका अध्यक्ष प्रा.डा. अमैया भौमिक र प्राे. चान्सलर डा. हज्जा बीबी फ्लोरिना अब्दुल्ला उपस्थिति भएका थिए । दीक्षान्त समारोहमा लिंकन इन्टरनेशनल कलेज लगायत सो विश्वविद्यालय कलेजसँग आवद्ध ११ वटा कलेजका विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । दीक्षान्त समारोहमा विश्वविद्यालयबाट सहभागी भएका अतिथि, विभिन्न कलेजका प्रतिनिधि लगायतले आफ्ना भनाइ पनि राखेका थिए ।
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो
रोल्पा । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको बेला रोल्पाको एक विद्यालयमा भने धान्ने नसक्ने गरी विद्यार्थीको चाप बढेको छ । रोल्पा सदरमुकाम लिवाङस्थित बालकल्याण माविमा चालु शैक्षिक सत्रमा करिब तीन हजार विद्यार्थी भर्ना भएका छन् । सो विद्यालयमा धान्ने मुस्किल हुने गरी विद्यार्थीको चाप बढेको छ । यहाँ नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने गर्दछ । विद्यालयले नर्सरीदेखि कक्षा ५ सम्म अङ्ग्रेजी भाषामा तथा कक्षा ६ देखि १० सम्म अङ्ग्रेजी र नेपालीमा पठनपाठन गराउँदै आएको छ । कक्षा ११–१२ मा मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन र विज्ञान विषयमा पठनपाठन हुँदै सो विद्यालयले सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी सिभिल इन्जिनियरिङ विषयमा तीन वर्षे डिप्लोमा र एनेक्स कार्यक्रमअन्तर्गत १८ महिने सव ओभसियर विषयमा समेत पठनपाठन गराउन थालेको छ । चालु शैक्षिक सत्रमा शिसु कक्षादेखि कक्षा १० सम्म एक हजार आठ सय १७ विद्यार्थी भर्ना भएका विद्यालयका प्राचार्य मधुसुदन पोख्रेलले बताए । जिल्लाकै पुरानो माध्यमिक विद्यालयको रुपमा रहेको सो विद्यालय २०२३ सालमा स्थापना भएको हो । सो विद्यालयले २०५२ सालदेखि उच्च मावि तहमा पठन पाठन सुरु गरेको हो । हाल सो विद्यालयको कक्षा ११ र १२ मा आठ सय २२ विद्यार्थी अध्ययन गरिरहेका छन् । सिभिल इन्जिनियरिङ डिप्लोमा र प्री डिप्लोमा तहमा थप एक सय ४० सहित विद्यालयमा दुई हजार सात सय ५६ विद्यार्थी अध्ययनरत छन् । अभिभावकको सहयोगले विद्यालयको शैक्षिक अवस्थामा व्यापक सुधार सम्भव भएको पोख्रेलले बताए । बर्सेनि विद्यार्थी निजी विद्यालय छाडेर यहाँ पढ्न आउने गरेका छन् । विद्यार्थीको चाप बढ्न थालेपछि भैतिक संरचनाको व्यवस्थापनमा चुनौती थपिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर डागीले जानकारी दिए । ‘विद्यार्थी थप हुँदै जाँदा शिक्षकको सङ्ख्या पनि थप्नुपर्ने आवश्यकता छ’, उनले भने । विद्यालयले दुईवटा हेल्थ डेक्ससमेत स्थापना गरेको छ । हेल्थ डेक्समा उनीहरुको स्वास्थ्य परीक्षण गरिन्छ । विद्यालयमा अहिले सरकारी दरबन्दीमा रहेका २४ सहित ६५ शिक्षक कर्मचारी कार्यरत छन् । रासस