दाङका विद्यालयमा दिवा खाजा कार्यक्रम’ सिकाइमा प्रभावकारी बन्दै
दाङ । घोराही उपमहानगरपालिका–१८ स्थित श्री मावि रझेनामा कक्षा ५ मा अध्ययनरत सुदीप मगर दिवा खाजा खान पाउँदा खुसी छन् । आइतबार हलुवा, सोमबार चना, मङ्गलबार खीर, बुधबार चिउरा/पुलाउ, बिहीबार खिचडी/चिउरा शुक्रबार अण्डा खाने गरी विद्यालयले तालिका बनाएको छ । सोहीअनुसार दिवा खाजा खान पाउँदा उनी दङ्ग छन् । सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत सम्झना नेपालीलाई खीर खाने दिनको तालिका आउँदा अरु दिनमा भन्दा अझ बढी खुसी लाग्छ । साथीहरुसँगै बसेर दिवा खाजा खान पाउँदा निकै खुसी छिन् । उनलाई खीर निकै मन पर्छ । ‘दिदी आज के नास्ता पाक्दै छ, आज हामीले के खाने हो ? भन्दै बिहानैदेखि साना नानीबाबुहरु सोध्न आउछन्’, दिवा खाजा पकाउँदै आउनुभएकी सुन्तली चौधरीले भनिन्, ‘कतिपय बालबालिका दिउँसो नास्ता खान पाउने भएपछि पढ्न आउने गरेका छन् ।’ गाउँबाट विद्यालय आउने कतिपय बालबालिकाको घरको अवस्था नाजुक छ । जसका कारण दिवा खाजाको भरमा भोक मेट्नुपर्ने बाध्यता रहेको छ । दिवा खाजा कार्यक्रम लागू भएपछि धेरै बालबालिकाको विद्यालयमा उपस्थिति नियमित हुने गरेको विद्यालयको दाबी छ । कार्यक्रममले अभिभावकमा आर्थिक भार कम परेको छ भने विद्यार्थी नियमित विद्यालयमा उपस्थित हुने गरेका छन् । सो विद्यालयमा मन्टेश्वरी, अङ्ग्रेजी माध्यमको १ देखि ६ सम्मका तथा नेपाली माध्यमका १ देखि ६ कक्षासम्मका सातसय १५ बढी बालबालिकालाई दिवा खाजा खुवाउने गरिएको छ । कार्यक्रमले शैक्षिक गुणस्तर कायम गर्न निकै सघाउन पुगेको विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपानेले बताए । ‘हामीले साना नानीबाबुलाई हात धुन, खाना खान, सरसफाइमा ध्यान दिने कुराको बारेमा सिकाएका छौँ ।’ सामुदायिक विद्यालयमा कार्यक्रम थप व्यवस्थित बनाउन भन्दै घोराही उपमहानगरपालिकाले शैक्षिक सत्रको सुरुआतबाटै कार्यक्रमको अनुगमन थालेको छ । उपमहानगर शिक्षा विकास समितिले विद्यमान अवस्थाको पहिचान गरी समस्या देखा परेको अवस्थामा सुधार गर्न अनुगमन सुरु गरेको हो । कतिपय सामुदायिक विद्यालयमा भर्ना भएका तर नियमित उपस्थित नहुने विद्यार्थीको नाममा पनि खाजा खुवाएको भन्नेलगायत विषयमा गुनासो आएको भन्दै पालिकाले स्थलगत अनुगमन गरेको शिक्षा समिति संयोजक तथा घोराही उपमहानगरका प्रवक्ता राममणि पाण्डेले जानकारी दिए । सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमले कार्यक्रम बालबालिकाका लागि निकै प्रभावकारी र उपयोगी पाइएको बताए। खाजा खाँदा बालबालिकाले व्यावहारिक ज्ञान आर्जन गर्नुका साथै जीवन उपयोगी सीप पनि सिक्ने अवसर पाएको बताए। कार्यक्रम थप व्यवस्थित र नियमित तालिकाअनुसार बालबालिकालाई विद्यालयले खाजा उपलब्ध गराए नगराएको बारेमा अनुगमनपश्चात् प्रतिवेदन तयार पारेर काम गर्ने उपमहानगर शिक्षा महाशाखा प्रमुख नारायणप्रसाद पौडेलको भनाइ छ । घोराहीमा ९३ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू छ । घोराहीमा करिब १५ हजार बराबर विद्यार्थी छन् । वार्षिक एक सय ८० दिनको दिवा खाजा खुवाउने गरी कार्य तालिका बनाएर कार्यक्रम लागू गरिएको छ । गत आवमा करिब तीन करोड बराबरको दिवा खाजा कार्यक्रमका लागि बजेट आएको सामाजिक विकास महाशाखाका प्रमुख पौडेलले जानकारी दिए। कार्यक्रमले विद्यार्थीको पढाइमा गुणस्तर वृद्धि भएको पालिका उपमेयर हुमा डिसीले बताइन् । ‘खाजा कार्यक्रम सञ्चालन भएपछि सामुदायिक विद्यालयमा विद्यार्थी नियमित भएका छन्, पहिलेको तुलनामा अहिले बजारका जङ्कफुड भित्रिएका छैनन्, खानपानमा प्रभावकारीता पर्दै आएको छ’, उनले भनिन्, ‘यो कार्यक्रम बालबालिकाको पोषण सुरक्षासँगै शैक्षिक लक्ष्य हासिल गर्ने माध्यम पनि हो । यो आवका लागि पहिलो चौमासिकअन्तर्गत ५५, दोश्रो चौमासिकअन्तर्गत ८५ दिनको दिवा खाजा कार्यक्रमको रकम निकासा भईसकेको छ । अब असार मसान्तसम्मको एक सय ८० दिनको लक्ष्य भेट्ने गरी ४० दिन नियमितरुपमा दिवा खाजा खुवाउने कार्यक्रम छ । पालिकामा धार्मिक स्कुलका रुपमा रहेको वैदिक गुरुकुलका लागि अलग्गै अनुदान जाने हुँदा त्यहाँ दिवा खाजा कार्यक्रम लागू भएको छैन । स्थलगत रुपमा गरिएको अनुगमनबाट तयार पारिएको प्रतिवेदनका आधारमा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै विद्यार्थी सङ्ख्यालाई मध्यनजर गर्दै वृद्धि गर्न थप जोड दिइने पालिकाको योजना रहेको जनाएको छ । रासस ।
हिमालय एअरलाइन्सले गर्यो बालबलिकाको व्यवसायमा सहयोग
काठमाडौं । हिमालय एअरलाइन्स्ले नेपालका बाल–बालिकाहरुको सुरुवाती व्यवसायमा सहयोग गरेको छ । हिमालय एअरलाइन्स्ले प्रयास स्टेप टुर्वाडस एजुकेसन मार्फत सातौं वर्षसम्म पनि सहयोग जारी राखेको छ । एअरलाइन्स्ले बिहीबार नेपालमा आयोजित कार्यक्रममा यसवर्ष शैक्षिक सत्रका लागि बाल–बालिकाहरूलाई विभिन्न ग्रेडका नोटबुक, रजिष्टर र शैक्षिक पाठ्यक्रम पुस्तकहरू जस्ता शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको हो । उक्त एअरलाइन्स्ले स्वावलम्बनको बाटो पछ्याउने बालबालिकाको प्रबल इच्छाको प्रशंसा गर्दै, यस वर्ष एअरलाइन्स्ले खाना पकाउने र उद्यमशीलताको सीपलाई सुधार गर्न रेस्टुरेन्टको सुरुवाती पहल – ‘लभ एपेटाइट’ को लागि विशेष ज्ञान आदानप्रदान सत्र आयोजना गरेको थियो । एअरलाइन्स्ले आयोजना गरेको संक्षिप्त सत्रमा नेपाल एकेडेमी अफ ट्राभल एण्ड होटल म्यानेजमेन्टका प्रशिक्षक श्री आकाश लामाले स्वैच्छिक रूपमा बालबालिका र लभ एपेटाइटका टोलीलाई भान्साको सुरक्षा, सरसफाइ, मेनु योजना (लागत, मूल्य निर्धारण रणनीति) मा केन्द्रित भई मार्गदर्शन गरे । खाना तथा भान्साको शिष्टाचार, पाक विधिको साझेदारी आदि विषयमा उनले प्रशिक्षण दिए । एअरलाइन्स्को ब्रान्ड टोलीले प्रचार प्रसारको दृष्टिकोणबाट विभिन्न मार्केटिङ र ब्रान्डिङ प्रविधिहरूमा पनि प्रकाश पारेको थियो र उनीहरूलाई विशेष रूपमा डिजाइन गरिएको मेनु प्रदान गर्यो, जसले स्टार्ट–अपलाई अझ प्रभावकारी रूपमा बढ्न मद्दत गर्नेछ ।
स्थानीय संस्कृतिका बारेमा जानकारी दिनको लागि ‘हाम्रो शुक्लाफाँटा’ पाठयक्रम तयार
कञ्चनपुर । स्थानीय संस्कृति, जनजीवन, भूगोललगायतका विषयवस्तुबारे बालबालिकालाई जानकारी दिनका लागि शुक्लाफाँटा नगरपालिकाले कक्षा १ देखि ८ सम्म ‘हाम्रो शुक्लाफाँटा’ पाठयक्रम तयार गरेको छ । उक्त पाठयक्रम चालु शैक्षिकसत्रदेखि लागू गरिएको छ । निर्माण गरिएको पाठ्यक्रमले स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला, संस्कृतिलगायत विविध पक्षको संरक्षण र संवद्र्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न सहयोग पुर्याउने विश्वास छ । स्थानीय पाठ्यक्रममार्फत बालबालिकामा आफ्नो परिवेशबाट सिक्ने, नजिकको वातावरण, भूगोलसँग सम्बन्धित ज्ञान आर्जन गरुन् भनेर पाठ्यक्रम निर्माण गरिएको स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन समितिका संयोजक टिकेन्द्रराज भट्टले बताए । निर्माण गरिएको पाठ्यक्रमका माध्यमबाट बालबालिकाले नजिकको ज्ञान, सीप र अनुभवलाई फराकिलो पार्दै विश्वव्यापी ज्ञानसँग समिश्रण गर्ने सामाजिक मुद्दासँग परिचित हुने, विकृतिसँग विद्रोह गर्ने गुणको विकास हुने उनको भनाइ छ । नगरपालिकाको स्थानीय पाठ्यक्रम निर्माणको क्रममा यस क्षेत्रका शिक्षासँग सरोकार राख्ने शिक्षाविद्, पाठ्यक्रमविद्, समाजसेवी, जनप्रतिनिधि, नगर शिक्षा समिति, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी, गैरसरकारी संस्था तथा सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरिएको थियो । ‘सम्बन्धित पक्षबाट प्राप्त सुझाव नै पाठ्यक्रमको मूल आधार हो’, उनले भने । आधारभूत तह, ९कक्षा १–८०का लागि तयार पारिएको स्थानीय पाठ्यक्रममा शुक्लाफाँटा नगरपालिकाको भौगोलिक, ऐतिहासिक, सामाजिक, आर्थिक, जनसाङ्ख्यिकी तथा राजनीतिक अवस्थाको परिचयसम्मका विषयवस्तु समावेश गरिएका छन् । स्थानीय सरकारको परिचय, विभिन्न समितिका काम, कर्तव्य र अधिकारका विषयवस्तु पाठ्यक्रममा समेटिएका छन् । त्यसैगरी नगरपालिकाभित्र रहेका धर्म, संस्कृति तथा सांस्कृतिक मूल्यमान्यता, रहनसहन, प्राकृतिक स्रोत साधन, पर्यटकीयस्थल आदिको पहिचान, जगेर्ना, संरक्षण र संवद्र्धनका लागि पनि विषयवस्तु यसमा राखिएका छन् । पाठ्यक्रममा पहाडी समुदाय, राना थारू र चौधरी डगौरा थारू समुदायको कला, संस्कृति समावेश गरिएको छ । रासस