एसईई पासपछि यसरी रोज्नुस् पढ्ने विषय
काठमाडौं । सामान्यतया सबै विद्यार्थीहरुले १५ देखि १६ वर्षको उमेरमा कक्षा १० सम्मको पढाइलाई पुरा गर्छन् । पहिले कक्षा १० सम्मको पढाइलाई स्कुल शिक्षा र कक्षा ११ देखि माथिको पढाइलाइ उच्च शिक्षाको रुपमा लिने गरिन्थ्यो । तर, पछिल्लो समयमा नेपालमा कक्षा ११ र १२ लाई पनि विद्यालय शिक्षा अन्तर्गत राखिएको छ । सामान्यतया कक्षा १० सम्म पढ्ने विद्यार्थीहरुले के पढ्ने, कुन विषय पढ्दा व्यवहारिक हुन्छ भन्ने जस्ता प्रश्नहरुको सिर्जना गर्ने र त्यसको जवाफ खोज्ने क्षमता कम राख्छन् । त्यसैले उनीहरुले अभिभावकले भनेको, स्कुलले व्यवस्था गरेको र साथीसँगीको संगतले विषय छनौट गर्ने गर्छन् । त्यो मात्रै नभएर कक्षा १० सम्मको तहमा विद्यार्थीहरुलाई धेरै विषय छनोट गरेर पढ्ने सुविधा पनि हुँदैन । कक्षा १० पास भइसकेपछि अर्थात एसईई उत्तिर्ण गरेपछि विद्यार्थीहरु मनोवैज्ञानिक रुपमा केहि स्वतन्त्र भएको र आफ्नो आगामी जीवनप्रति पनि थप जिम्मेवार भएको महशुस गर्छन् । जसकारणले गर्दा विद्यार्थीहरुले आगामी दिनमा आफू कस्तो मान्छे बन्ने र त्यसको लागि के विषय पढ्दा राम्रो होला भनेर सोच्ने कोशिश गर्छन् । सोही बेलामा विद्यार्थीहरुलाई सही सुझाव तथा सल्लाहको आवश्यकता पर्छ । त्यसैले, हामीले भर्खरै एसइइ दिएर बसेका विद्यार्थीहरुलाई आगामी दिनमा विषय छनोटको लागि सजिलो होस भनेर एसईईपछि के पढ्ने भन्ने विषयमा यो समाचार तयार पारेका छौं । स्टार्टअप विजनेस सम्बन्धी विज्ञका रुपमा परिचित रञ्जित आचार्यका अनुसार हरेक विद्यार्थीसँग विशिष्ट प्रकारको क्षमता र इच्छा हुन्छ । तर, सबैले आफ्नो क्षमता र इच्छालाई पहिचान गर्न सकिरहेका हुँदैनन् । प्रसिद्ध बुढानिलकण्ठ स्कुल काठमाडौंका प्रधानाध्यापक होमनाथ आचार्यका अनुसार विद्यार्थीले एसईई सम्मको स्कुल पढाइ एउटा सीमामा आधारित रहेर हुने र त्यसपछिको ११/१२ र ए लेभल जस्तो तहमा जाँदा पढाइको तहगत खाडल हुने गरेको बताउँछन् । एसईई पश्चात विद्यार्थीहरुमा आफूहरुले एउटा तह पूरा गरेको मनोविज्ञान निर्माण हुने उनको भनाइ छ । तर, विषयहरु फरक हुने र विशेष तोकिएका विषयमा जानुपर्ने अवस्थामा विद्यार्थीहरुलाई उपयुक्त विषय छनोट गर्न भने सहयोगको आवश्यकता पर्ने प्रधानाध्यापक आचार्य बताउँछन् । ‘विद्यार्थीहरुमा एसईई पछि आफूहरु केही जान्ने भएको मनोविज्ञान निर्माण त हुन्छ तर, उनीहरुमा कस्तो विषय पढ्ने र कस्तो करिअर बनाउने भन्ने कुरामा भने निर्णय गर्न अन्यौलता देखिन्छ’, उनले भने, ‘कतिपय अवस्थामा साथीभाईले र कतिपय अवस्थामा अभिभावकले उनीहरुको विषयमा विषयमा निर्णय गरिदिन्छन्, जसले गर्दा उनीहरुको इच्छा एकातिर र विषय छनोट अर्कोतिर भएको पनि देखिन्छ ।’ त्यसरी विषय छनोट गर्दा उनीहरुको क्षमता अथवा इच्छासँग नमिल्दा उनीहरु असफल पनि हुने गरेको उनको भनाइ छ । त्यस्तो अवस्थामा विद्यार्थीको क्षमता र रुचीलाई ख्याल गरेर परामर्श दिन आवश्यक हुने आचार्य बताउँछन् । ‘विद्यार्थीको आफ्नो क्षमता अनुसार पढ्ने विषयमा उसको क्षमता र इच्छा के कुरामा छ भनेर अध्ययन गरेर विषय छनोट गर्न सल्लाह दिनुपर्छ’, उनी भन्छन् । विद्यार्थीहरुको क्षमतालाई पहिचान गर्ने र उनीहरुको करिअर सफलताको लागि गाइड गर्ने जिम्मेवारी शिक्षकहरुको नै भएको उनको भनाइ छ । आमाबुवालाई भन्दा शिक्षकहरुलाई विद्यार्थीको हरेक पक्षको बारेमा थाहा भएको उनी बताउँछन् । ‘कुन विद्यार्थी के मा राम्रो छ ? विद्यार्थी के कुरामा रमाउँछ, के कुरामा इच्छा राख्छ र उसको कुन विषयमा करिअर बन्न सक्छ, जुन कुरामा विद्यार्थीले पढ्न खुसी मान्छ उसलाई त्यही विषय पढ्न दिनुपर्छ’, आचार्य भन्छन् । विद्यार्थीलाई उसको क्षमता र इच्छा नभएको विषयमा लगाउन नहुने उनले बताए । बुढानिलकण्ठ स्कुलले कक्षा ९/१० मा नै विद्यार्थीहरुको क्षमताको विषयमा फिगर आउट गर्ने गरेको र सोही अनुसार विद्यार्थी र अभिभावकहरुलाई सल्लाह दिने गरेको बताउँछन् । शिक्षक र विज्ञहरुको अनुभव तथा बुझाइका आधारमा हेर्दा खासगरी करिअरसँग जोडिएको विद्यालय तहको माथिल्लो कक्षा ११ र १२ मा अध्ययन गर्दा कस्ता ऐच्छिक विषयहरु अध्ययन गर्ने भनेर निर्णय गर्दा पहिला आफ्नो रुची र क्षमतालाई ख्याल गर्नुपर्ने देखिन्छ । भाषा, कला, साहित्य, व्यवस्थापन, आदि जस्ता विषयमा रुची भएको विद्यार्थीले गणित वा विज्ञान विषय रोज्न भएन । त्यस्तै विज्ञान तथा गणित विषयमा रुची भएको विद्यार्थीले पनि अन्य भाषिक विषयहरु रोज्दा अपेक्षित सफलता नमिल्न सक्छ । विगतमा अध्ययनमा अब्बलता नरहेको तर सो विषयमा रुची भएको विद्यार्थीले पनि आगामी दिनमा राम्रो गर्न सक्ने सम्भावना हुँदा रुचीको विषयलाई अगाडि बढाउँदा सफलता हासिल गर्न सकिने विज्ञहरुको सुझाव छ । विगतमा कक्षा ११/१२ पढाउने सीमित विद्यालयहरु थिए । अहिले सबै स्थानीय तहहरुमा ती विद्यालयहरु पुगेका छन् । साथै विद्यालयसँगै नयाँ र धेरै विषयहरु पनि छनोट गरेर अध्ययन गर्न पाइने अवस्था बनेको छ । त्यसैले विद्यार्थीहरुले अनिवार्य केही विषय बाहेक धेरै एच्छिक विषयहरुमा रोजेर अध्ययन गर्न सक्छन् ।
अनुपस्थित शिक्षक र कर्मचारी पदमुक्त गर्छौं : प्रमुख साह
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिँदै अनुपस्थित शिक्षक र कर्मचारीलाई पदमुक्त गर्ने बताएका छन् । प्रमुख साहले विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने संस्था तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए । उनले भनेका छन्,’अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ ।’ प्रमुख साहले विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पु¥याउने काम भएमा समिति विघटन गर्ने बताए । यस्तै कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेका खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गर्ने उनको भनाइ थियो । सरकारले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेको तथा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ अनुसार कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हड्ताल र पठनपाठनमा अवरोध गर्नेजस्ता क्रियाकलाप नभएको हुनुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्ति क्षेत्रको अवधारणाविपरीत हुनेगरी कुनै पनि कार्य गर्न बन्देज गरिएको प्रमुख साहले उल्लेख गरे।
महँगीका कारण विकसित मुलुकमा विद्यार्थी निजी स्कुल जान छाड्दै
काठमाडौं । महँगीका कारण विकसित मुलुकमा विद्यार्थी निजी स्कुल कलेज जान छाड्दै गएका छन् । सन् २०१४ देखि २०२२ सम्ममा अक्सफोर्ड तथा क्याम्ब्रिज जस्ता विश्वका प्रतिष्ठित विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या आधाले कम भएको छ । महँगो शिक्षा र विश्वविद्यालयहरुले भर्ना नीतिमा गरेको परिवर्तनका निजी क्षेत्रका विश्वविद्यालय तथा कलेजहरुको अध्ययनको विषयमा विश्वव्यापी रुपमा नै बहस सिर्जना भएको छ । धेरै धनी देशहरुका विद्यार्थी निजी कलेज तथा विश्वविद्यालय जान छाडेका छन् । धनी देशहरूको संगठन (ओईसीडी) का ३० सदस्य राष्ट्रहरूमा सन् २००० मा ८ प्रतिशतले घटेको विद्यार्थी संख्या सन् २०१८ मा आउँदा ५ प्रतिशतले घटेको छ । ती देशहरुमा आधा खर्च सरकारले बेहोर्ने गर्छ । अमेरिका र बेलायतमा पढ्ने विद्यार्थीको अवस्था तुलनात्मक रुपमा राम्रो अमेरिका र बेलायतमा निजी स्कुल कलेज पढ्ने अभिजात बर्गका छोराछोरीलाई विशेष फाइदा पनि छ । त्यसमा पनि अमेरिकामा बेलायतमा भन्दा राम्रो मानिन्छ । बेलायतमा ६.५ प्रतिशत विद्यार्थीहरु निजी स्कुल पढ्छन्, अमेरिकामा भने ९ प्रतिशत विद्यार्थी निजी स्कुलमा पढ्छन् । बेलातको निजी स्कुलमा पढ्दा विद्यार्थीको वार्षिक खर्च २८ लाख रुपैयाँ सम्म खर्च हुन्छ । यो खर्च भनेको बेलायतको मध्यमबर्गीय परिवारको झण्डै आधा बराबर हो । त्यस्तै, सोही शिक्षामा अमेरिकामा ३७ लाख भन्दा धेरै खर्च हुन्छ । सन् २०१५ को एक अध्ययनअनुसार बेलायतमा निजी स्कुल पढ्ने कामदारहरुको आम्दानी अन्यको तुलनाममा १७ प्रतिशत बढी हुने र ४२ सालसम्मको उमेरमा २१ प्रतिशतले बढी हुने देखिएको छ । अहिले बेलायतमा ३४ प्रतिशत विद्यार्थीहरुले निजी कलेजमा अध्ययन गर्छन् । अहिले अक्सफोर्ड तथा क्याम्ब्रिज विश्वविद्यालयलाई पहिलेको जस्तो महत्व दिईंदैन । यी विश्वविद्यालयहरुमा निजी विद्यालयहरुबाट क्रमशः ३२ र २७ प्रतिशत विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् । जुन विगत १० वर्षको तथ्यांकमा ४३ र ३९ प्रतिशत रहेको थियो । यो तथ्यांकले धनाड्य बर्गहरुको स्कुललाई धक्का लागेको देखाउँछ । अमेरिकी विश्वविद्यालयहरुले निजी विद्यालयहरुबाट आउने विद्यार्थीलाई आतिथ्यतापूर्वक स्वागत गर्ने गर्छन् । थिंक ट्यांक एजुकेसन नाममा जेम्स मर्फीले सन् २०२१ मा अमेरिकाका ३५ वटा सबैभन्दा उच्च विश्वविद्यालयको तथ्यांक जुटाएका थिए । उनको तथ्यांकअनुसार ३४ प्रतिशत विद्यार्थी मात्रै निजी विद्यालयबाट विश्वविद्यालयमा आउने गर्दथे । बेलायती विश्वविद्यालयहरुमा देशभित्रका सबै विद्यार्थीहरुलाई एउटै प्रकारको ट्युसन शुल्क लगाउने गरिन्छ । तर, विदेशी विद्यार्थीसँग भने धेरै लिने गरिन्छ । तर, अमेरिकाका विश्वविद्यालयहरुले भने गरिब विद्यार्थीहरुबाट न्यून शुल्क लिने गर्छन् भने क्षमतावान विद्यार्थीहरुले राम्रो कलेजमा अध्ययन गर्ने मौका पाउँछन् । एजेन्सी ।