इन्जिनियरिङको लाइसेन्स परीक्षामा ६६ प्रतिशत विद्यार्थी फेल
काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले लाइसेन्सको लागि लिएको परीक्षामा ६६ प्रतिशत विद्यार्थी फेल भएका छन् । यही असार ६, ७ र ८ गते परिषद्ले सञ्चालन गरेको लाइसेन्सको परीक्षामा ६६ प्रतिशत विद्यार्थी फेल भएका हुन् । दोस्रो पटकको परीक्षमा सहभागी भएका २४ सय ७४ जनामध्ये ८ सय १ जना मात्रै विद्यार्थी पास भए । लाइसेन्सको परीक्षाका लागि २ हजार पाँचसय ६८ जनाले आवेदन दिएका थिए । परिषद्का अनुसार तीमध्ये ९४ जना विद्यार्थी परीक्षामा सहभागी भएनन् । परिषद्ले गत चैतमा लिइएको पहिलो लाइसेन्स परीक्षामा पनि अहिलेको भन्दा धेरै ७२ प्रतिशत फेल भएका थिए । इन्जिनियरिङको लाइसेन्स प्राप्त गर्न सय पूर्णांकको २ घण्टे परीक्षामा न्यूनतम ५० अंक प्राप्त गर्नुपर्छ । परिषद्ले विभिन्न २३ वटा विषयगत विधामा इन्जिनियरिङ लाइसेन्सको परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा अनुत्तिर्ण भएका मध्ये अधिकांश विद्यार्थीहरु विदेशमा अध्ययन गरेर फर्र्किएका मध्ये रहेको परिषद्का अधिकारीले जनाएका छन् । नेपालको कुनैपनि क्षेत्रमा इन्जिनियर भएर काम गर्नको लागि लाइसेन्स अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
उपप्राध्यापक चलाउनेको अनसन तोडियो
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलेशुक्रबार अनसन तोडेका छन् । पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनसन बस्दै आएका चलाउनेलाई चितवनकी होमकुमारी बरालले चलाउनेलाई दही खुवाएर अनसन तोडाएकी हुन्। मन्त्रिपरिषद् बैठकले चलाउनेलाई आक्रमण गर्ने नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) कार्यकर्ता विरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउने त्यसको विरोधमा अनसन बसेका थिए। चलाउनेमाथि कुटपिट हुँदा त्यतिबेला होमकुमारी बरालले नै बचाएकी थिइन। उनी शुक्रबार चितवनबाट काठमाडौं आएकी थिइन । सर्वोच्च अदालतले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी आदेश दिएपछि उनले अनसन स्थगित गरेका हुन् र
गुरुकुलमा आधुनिक शिक्षा प्रणालीले विद्यार्थीको आकर्षण बढ्दै
गल्याङ । पछिल्लो समय गुरुकुलीय शिक्षा प्रणाली हराउँदै गइरहेका छन् । कतिपय गुरुकुल बन्द भएका छन् भने कतिपय गुरुकुललाई टिकाउन समस्या हुँदैआएको छ । तर स्याङ्जाको रामनदीधाम संस्कृत गुरुकुलमा भने मागभन्दा धेरै भर्ना हुन आएका कारण विद्यार्थी फर्काउनुपर्ने अवस्था छ । गल्याङ नगरपालिका–१, राम्दीमा रहेको यस गुरुकुलमा मूल विषय संस्कृत, बेद, व्याकरण, कर्मकाण्ड मात्र नभएर आधुनिक विषय विज्ञान, अङ्ग्रेजी, गणित, कम्प्युटरको पठनपाठन हुने गुरुकुलका आचार्य कृष्णप्रसाद बस्यालले जानकारी दिए । उनले माध्यमिक तह ९६–१०० कक्षासम्म आवासीयरुपमा पढाइ हुने गुरुकुलमा संस्कार संस्कृतिसहित आधुनिक विषयवस्तुलाई पाठ्यक्रममा समावेश गरिएकाले विद्यार्थीको आकर्षण बढ्दै गएको बताए । स्व योगी नरहरिनाथले २०४२ सालमा पूरा एक महिना १०८ बाह्मणद्वारा गायत्री कोटी हवन गरेर करिब छ महिना परम्परागत रुपमा गुरुकुल सञ्चालन गरेको थियो । जनचासो कम भएकाले र व्यवस्थापकीय कमजोरीका कारण गुरुकुल बन्द गुरुकुल नरहरिनाथको सपना साकार पार्न पुनः स्थापना गरिएको हो । गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष विष्णु देवानन्द सरस्वतीले गुरुकुलीय पद्धतिमा सरकारको पूर्ण दायित्व नहुने भएकाले समुदायको सहयोगमा सञ्चालन भएको बताए। उनले मानिसमा आध्यात्म ज्ञान र नैतिक आचरण हराउँदै गएकाले आध्यात्म ज्ञान, नैतिक आचरण, सद्भाव, दया, माया, प्रेम, स्नेह र सद्गुण जगाउने उद्देश्यसहित गुरुकुल स्थापना गरेको बताए । नवलपरासीको बद्धघाट नगरपालिका–१३ बुद्ध बस्तीकी यामकला बस्यालले आफ्नो छोरा अङ्ग्रेजी र संस्कृत बोलेको देख्दा अचम्म लागेको बताए । बस्यालले भने, ‘सुरु सुरुमा भविष्य बिग्रेलाकी भन्ने डर थियो । छोटो समयमा गरेको प्रगति देख्दा राम्दीमा गुरुकुल पढाएका अभिभावक डराउनुपर्दोरहेनछ ।’ गुरुकुलमा हाल ८८ बटुक अध्ययनरत छन् । चार सरकारी दरबन्दीका र चार निजी स्रोतका शिक्षकले शिक्षण सिकाइ क्रियाकलाप गराउँदै आएका छन् । रामनदीधाम राम्दी स्याङ्जा र पाल्पाको सिमाना हुँदै बगेको कृष्णगण्डकी नदी, पाल्पाबाट बग्दै आएका गुरु वशिष्ट र अङ्गीरा नदीको सङ्गमस्थल पनि हो । कालीगण्डकी उत्तरबाहिनी नदीसमेत भनेर चिनिने यस त्रिवेणीधाममा सञ्चालित गुरुकुल तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ गुरुकुल पाठशाला, कार्यालय, आवास गृह, शौचालय छन् । गुरुकुललाई गल्याङ नगरपालिकाले र विभिन्न दाताले सहयोग गर्दै आएका छन् । रासस