विद्यार्थी संगठनको ताण्डव नृत्यमा संरक्षक बन्दै सरकार

तस्बिर : सामाजिक सञ्जालबाट । काठमाडौं । २०७७ असोज २० गते त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक प्रेम चलाउनेलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस क्षेत्रभित्रै सांघातिक ढंगले कुटपिट गरियो । उपप्रध्यापक चलाउनेकै आलेखअनुसार उनलाई मार्नेसम्मको योजना बनाउने नेपाली कांग्रेस कृष्ण सिटौला समूहका अध्यक्ष र सचिव हरि आचार्य र योगेन्द्र रावल थिए । ती दुई विद्यार्थी नेता सहित पाँच जना विरुद्ध दायर भएको मुद्दाको अन्तिम सुनुवाई हुनै लाग्दा गत बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले मुद्दा फिर्ता लिने निर्णय गर्यो । सरकारको निर्णयको विरुद्धमा उपप्राध्यापक चलाउनेले सोमबार काठमाडौं जिल्ला अदालत परिसरमा नै आएर विरोध गर्दा प्रहरीले पक्राउ गरेर छाडिदिएको छ । उपप्राध्यापक चलाउनेले न्याय नपाएपछि सोमबारबाट त्रिभुवन विश्वविद्यालय भिसी कार्यालय अगाडि आमरण अनसनमा बसेका छन् । केही दिन अगाडि भक्तपुर बहुमुखी क्याम्पसमा कनिष्ठलाई प्रमुखमा नियुक्ति गरेको भन्दै नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुखको कुर्ची रुखमा लगेर झुण्ड्याउने काम गर्यो । स्ववियु निर्वाचनको समयमा विशेषगरी सरकारी तथा सामुदायिक कलेजहरुमा विद्यार्थी संगठनहरुले विभिन्न स्वरुपमा निकै अराजक गतिविधि गरे । जसमा सबै विद्यार्थी संगठनको सहभागिता रहेको देखिन्थ्यो । विश्वविद्यालय तथा कलेजहरुमा विद्यार्थी संगठनको नाममा भएका अराजक गतिविधिहरुले सीमा नाघ्न थालेका छन् । विशेषगरी विश्वविद्यालय, सरकारी तथा सामुदायिक कलेज भनेको अराजक गतिविधि गर्ने क्षेत्रको पर्याय बन्न लागेको त्यहाँ भैरहेका गतिविधिहरुले देखाउँछ । विश्वविद्यालय र कलेजहरुमा अराजक गतिविधि बढ्दै जाँदा सरकार त्यसलाई न्यूनिकरण गर्न कुनै भूमिका नखेल्ने उल्टै राजनीतिक रुपमा अराजक गतिविधि गर्नेलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संरक्षणको कार्यमा सरकार लागेको उसको व्यवहारले देखाएको छ । तर, विद्यार्थी संगठनको नाममा हिजो वा आज भएका अराजक गतिविधिहरुलाई विद्यार्थी राजनीति भनेर राज्यले नै छुट दिने परम्परा बन्न थालेको छ । जसले गर्दा विश्वविद्यालय तथा कलेजहरुमा विद्यार्थी संगठनको सृजनात्मक भूमिका शुन्य बन्दै गएको छ भने विश्वविद्यालय तथा कलेजहरुमा विद्याथी आकर्षित हुन समेत छाडेका छन् । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले विद्यार्थी संगठनको नाममा महानगर भित्रका शैक्षिक संस्थाहरुमा विद्यार्थी संगठनका गतिविधिलाई न्यूनिकरण गर्ने पहल गरेका छन् । उनले यही बीचमा केही विद्यार्थी संगठनले विद्यालयमा लगाएको ताला समेत महानगरीय प्रहरी लगाएर तोडेर पठनपाठन सूचारु गराउने कार्य गरेका छन् । तर, विश्वविद्यालय ऐनहरु नै राजनीतिक हस्तक्षेप गर्नसक्ने प्रकृतिबाट निर्माण गरिएको कारणले एउटा राजनीतिक दल वा सत्ताबाट हस्तक्षेप गर्ने र अर्को राजनीतिक दलको प्राध्यापक, विद्यार्थी र कर्मचारी संगठनबाट विरोध गर्ने संस्कार नै बनिरहेको छ । त्यस्तै, सिपमूलक शिक्षाको अभावका कारणले गैह्र विद्यार्थीहरुले विद्यार्थी संगठनको नाममा विश्वविद्यालय तथा कलेजहरुमा समस्या सिर्जना गरेको शिक्षाविद्हरुको धारणा छ । विश्वविद्यालय तथा कलेजहरुमा शान्तिपूर्ण पठनपाठनको वातावरण सिर्जना गर्न विश्विद्यालय ऐन नै संशोधन गर्न आवश्यक रहेको र सिपमूलक शिक्षाको लागू गर्नुपर्ने शिक्षाविद्हरुको भनाइ छ । प्राध्यापक चलाउनेको मुद्दा फिर्ता लिने र उनले आमरण अनसनको शुरुवात गर्ने परिस्थिति सिर्जना हुनुमा ‘राजनीतिक दलले आफ्ना मान्छेहरुलाई संरक्षण गर्ने प्रवृत्तिको परिणति’ भनेर शिक्षाविद् डा. विद्यानाथ काेइरालाले  गरेका छन् । उनले विश्वविद्यालयहरुमा सिपमूलक शिक्षा नहुने गैर विद्यार्थीहरुले विद्यार्थी संगठनको नाममा क्रियाकलाप गर्ने वातावरण हुँदा यस्तो अवस्थाको विकास भएको बताएका छन् । ‘अखिल, नेविसंघ वा क्रान्तिकारीको नामममा भएका ती विद्यार्थी होइनन्, किनभने विद्यार्थी भएको भए पढ्ने पढाउने कुराकानी हुन्छ, यो चाहिँ नचाहिने कुराकानी भयो’, उनले भने, ‘यसलाई संरक्षण गर्ने काम दलले गरे ।’ राजनीतिक दलले विद्यार्थीहरुलाई लुटीखान र ठगिखान मात्रै सिकाएको कारणले उनीहरुसँग असम्बन्धित रहेको नियुक्ति र कार्यक्रममा पनि हस्तक्षेप गर्ने गरेको उनले बताए । ‘काम नभएको विषयमा पनि उनीहरुले किन कुराकानी गर्दारैछन भन्दा ठगीखाने लुटीखाने ठाउँ बनाइदिनलाई हो’, डा. कोइराला भन्छन्, ‘जुन दिन विद्यार्थीले गरिखाने सिप त्यही कक्षामा सिक्न पाउँछन् नी त्यो दिन उसले हल्ला नै गर्दैन ।’ राजनीतिक दलका नेताहरुले विद्यार्थीलाई गरिखाने बनाउन नै नचाहेको कारणले अहिले विश्विद्यालयहरुमा समस्या सिर्जना भएको उनको भनाइ छ । ‘नेतृत्वले आफ्नो जातको हो भने आँखा चिम्लिने अनि अर्काको जातको हो भने उचाल्ने, राजनीतिक व्यक्तिको वुद्धी यो भन्दा पर नै छैन’, कोइरालाले भने । विश्वविद्यालय कलेजमा समस्या पैदा हुनुमा प्राध्यापकहरुको पनि भूमिका रहेको डा. कोइराला बताउँछन् । उनीहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नको लागि विद्यार्थी संगठनलाई प्रयोग गर्ने गरेको उनको भनाइ छ । त्यस्तै, अर्का शिक्षाविद् डा. विष्णु कार्कीले त्रिभुवन विश्वविद्यालयमा अहिले देखिएको समस्याको शुरुवात तीन दशक अगाडिबाट शुरुवात भएको बताउँछन् । विश्वविद्यालयमा अस्थायी प्राध्यापक नियुुक्ति गरेर पछि उनीहरुलाई स्थायी गरेदेखि नै समस्याको शुरुवात भएको उनको भनाइ छ । अहिले आफूले त्रिभुवन विश्वविद्यालय पढेको भनेर भन्दा ‘यो मान्छे पनि विग्रेको रैछ’ भन्ने स्थिति भएको उनी बताउँछन् । राजनीतिक आडमा मेहनत नगरी प्राप्त गरिने अवस्था भएपछि बिकृतिको दिशातर्फ धेरै लागेको उनको भनाइ छ । विद्यार्थीले प्राध्यापकलाई कालोमोसो दल्ने र राज्यले छुट दिने दयनीय अवस्था बनेको उनले बताए । ‘एउटा विद्यार्थीले प्राध्यापकलाई कालोमोसो दल्छ, अनि राज्यले छुट दिन्छ, यो दयनीय स्थिति हो, तर विश्वविद्यालय कलेजमा यिनै २/४ जना नेता (देउवा–ओली–प्रचण्ड) ले नै भाँडोभैलो गरेका हुन्’, डा. कार्कीले भने, ‘सुधार गर्नको लागि पनि यिनैले कमिटमेन्ट गर्नुपर्छ ।’ विद्यार्थीको कल्याण गर्ने संगठन भन्दा पनि नेता पिच्छेका संगठन बनाउँदा बेठिक भएको र यसलाई रोक्नुपर्ने उनको भनाइ छ । साथै उनले राजनीतिक विश्वका धेरै विश्विद्यालयहरुमा प्रधानमन्त्री शिक्षामन्त्री चान्सलर हुने व्यवस्था नभएको बताउँदै नेपालमा पनि विश्वविद्यालय ऐनमा भएको लुप होल बन्द गर्न संशोधन गर्नुपर्ने बताएका छन् ।

सगरमाथाको काखको शिक्षाको ज्योति

खुम्जुङ। सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही एडमण्ड हिलारीले स्थापना गराएको खुम्जुङ माध्यमिक विद्यालयले जिल्लाको शैक्षिक विकासमा योगदान पुर्‍याउनुका साथै अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएको छ। शिक्षाको अवसरबाट बञ्चित जिल्लाको विकट खुम्जुङमा सन् १९६१ ( विसं २०१८) मा हिलारीले सो विद्यालय स्थापना गराएका थिए । सन् १९५३ मा हिलारी र तेन्जिङ्ग नोर्गे शेर्पा यतैबाट सगरमाथा आरोहण गरेको स्थानिय मान्यता रहेको छ । स्थानीय लाक्पा गेलु शेर्पाका अनुसार सुरुमा दार्जिलिङ तर्फबाट आरोहण गर्ने प्रयास गरेका हिलारी उताबाट आरोहणमा नसकेपछि नेपाल तर्फबाट सफल आरोहण गरेका थिए।  सोही क्रममा हिलारीलाई यहाँको अशिक्षाले प्रभावित बनाएपछि सो विद्यालयको स्थापना गरे । तत्कालीन समयमा प्रि-प्राइमरी (कक्षा ४) सम्म पढाई हुने गरी विद्यालयको स्थापना भएको थियो । ‘विद्यालय स्थापना हुँदा यहाँ शिक्षकसमेत थिएनन्, दार्जिलिङबाटै शिक्षक झिकाएर पढाइ हुन्थ्यो ।’ सोही विद्यालयका विद्यार्थीसमेत रहेका शेर्पाले भने, ‘कडा अनुशासनको बीच भारतीय शिक्षकको पढाई हुन्थ्यो ।’, ‘हिउँ पन्छाएर खाली खुट्टा नै पढ्न आउने गरेका थियौँ’ पुराना दिन सम्झँदै शेर्पाले भने, ‘हुने खाने परिवारका दुई/तीन जना विद्यार्थीको खुट्टामा मात्र जुत्ता हुन्थ्यो ।’ विद्यालय स्थापना भएको पहिलो ब्याचका विद्यार्थी नै २०२७ सालमा नेपाल प्रथम भएको शेर्पा बताउँछन् । पहिलो ब्याचका बिद्यार्थी आङ्गरिता शेर्पा खुम्जुङ्गमा ४ कक्षा पढेपछि त्यहाँबाट गोरखा र पछि आनन्दकुटी विद्यापीठ हुँदै २०२७ सालको एसएलसीमा नेपाल प्रथम भएको उनले बताए । यस विद्यालयले अहिले भौतिकरुपमा काँचुली फेरेको छ । अहिले यहाँ हिउँ पन्छाउँदै पढ्नु पर्ने बाध्यता छैन, विद्यालयको आफ्नै भवनसहित सुविधायुक्त कक्षाकोठा निर्माण भइसकेका छन् । बाहिर सामान्य हिमपात भए पनि यहाँ पढाई रोकिन्न। उनै हिलारीको नाममा स्थापित हिमालय ट्रस्ट र अन्य मध्यवर्ती संस्थाको सहयोगमा विद्यालयका भवन भूकम्प प्रतिरोधी तथा न्यानो कक्षाकोठा निर्माण गरिएको छ । २०६८ सालदेखि विद्यालयमा अङ्ग्रेजी भाषामा पठनपाठन हुँदै आएको छ । स्थानीय भाषाअन्तर्गत तिब्बतीयन मस्लको ‘सम्बोटा लिपि’ को पढाइ हुन्छ । कक्षाकोठा प्रविधिमैत्री छन् । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई पढ्नका लागि पर्याप्त सहयोगी तथा शैक्षिक सामग्रीहरु कक्षाकोठामा नै राखिएको छ । पुस्तकालय भवन छुट्टै बनाइएको छ । विद्यालयमै सुविधा सम्पन्न इ-लाइब्रेरी छ । कक्षा ९ र १० का विद्यार्थीलाई स्मार्टबोर्डमा पढाई हुँदै आएको छ। वार्षिक परीक्षाहरुमा पनि यस विद्यालयले जिल्लामै अब्बल नतिजा ल्याउन सफल भएको छ । विद्यालयका प्रधानाध्यापक नवाङ दोर्जे राईले विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताए । विद्यालयमा खुम्जुङ्गको मात्र नभई नाम्चेलगायतबाट पनि अध्ययनका लागि विद्यार्थीहरु आउने गरेका छन् । अहिले विद्यालयमा एक सय ४९ जना छात्रा र एक सय ४७ जना छात्र गरी दुई सय ९६ जना बिद्यार्थी रहेको राईले बताए ।  विद्यालयमा हाल शिक्षक शिक्षिका गरी २१ जना कार्यरत छन् । निजी स्रोतमा कार्यरत शिक्षकलाई पनि दरबन्दीका शिक्षकलाई जस्तै सेवा सुविधा दिइएको छ। भौगोलिक विकटताका कारण शिक्षक टिकाउनै गाह्रो छ । स्थायी शिक्षकबाहेक पाँच जनालाई हिमालयन ट्रष्टको आर्थिक सहयोगबाट र अन्यलाई निजी स्रोतबाट पारिश्रमिक व्यवस्थापन गरिएको उनले बताए । भौगोलिक विकटता एवम उच्च हिमाली क्षेत्रमा रहेको कारण विद्यालयमा विद्यार्थी टिकाउनै गाह्रो रहेको प्रधानाध्यापक राईको भनाइ छ। ‘वर्षामा त ठीकै छ, हिउँदमा शौचालयको कठिनाई हुने गरेको छ।’ उनले भने, ‘धेरै हिमपात भयो भने विद्यालय व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार बिदा दिने गरेका छौँ।’ चालीस जना क्षमता रहेको छात्रावासमा अहिले ११ जना मात्र विद्यार्थी रहेको उहाँले जानकारी दिए। छात्रावासमा बस्ने विद्यार्थीबाट न्यूनतम् शुल्कमा राम्रो खाने बस्ने सुविधासहित कपडा पनि विद्यालय नै व्यवस्थापन गर्ने गरिएको छ। जेठ महिनामै सगरमाथा आरोहणको ७० औं बर्षगाँठ मनाइएको छ। यस अवसरमा  न्यूजिल्याण्डका पूर्व प्रधानमन्त्री हेलेन क्लर्क, सर एडमण्ड हिलारीका छोरा पिटर हिलारी, नाती एलेक्जेण्डर हिलारी, तेन्जिङ्ग नोर्गे शेर्पाको छोरा ज्याम्लिङ्ग तेन्जिङ्ग नोर्गे लगायत दर्जनौ बिदेशी पर्यटकहरु खुम्जुङ्गमा जु्टेका थिए। यसै अवसरको फाईदा खुम्जुङ्ग माध्यमिक विद्यालयका विद्यार्थीहरुले पनि उठाए। विदेशी पर्यटकहरुलाई लक्षित गरी उनिहरुले विभिन्न उपहारहरु तयार पारेका थिए। जसलाई विदेशी पर्यटकहरुलाई रुचीपूर्वक अवलोकन मात्र गरेनन्, राम्रै दाम दिएर खरिद पनि गरे। उपहार बिक्रीबाट आएको रकमलाई विद्यालयको शिक्षकको तलब तिर्न र विद्यालय मर्मतका अन्य काममा प्रयोग गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए। ‘हिमाली क्षेत्र भएको कारण यहाँ शिक्षकहरु र कर्मचारीहरुलाई रोक्नु हाम्रो लागि ठूलो चुनौती हो, यही कारण बिद्यालयलाई जोगाई राख्न पनि गाह्रो भइरहेको छ।’ अधिकारीले भने, ‘हिमालयन ट्रष्ट, स्थानीय तह लगायतको सहयोग त छ नै हामीले पनि आफ्नै तरिकाबाट आयआर्जनको पहल गरिरहेका हुन्छौँ।’ विद्यालयले आजयआर्जनको लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरेको उनी बताउँछन् । पर्यटक आइरहने गाउँ भएको कारण कार्यक्रमहरुको आयोजना गर्ने र त्यहाँ विद्यार्थीहरुले बनाएका हस्तकलाका सामाग्रीहरु बिक्री गरी आम्दानी गर्ने गरेको उनले बताए। यसरी गरिएको आम्दानी विद्यालय व्यवस्थापन समिति र शिक्षक, विद्यार्थीहरुको संयुक्त सहकार्यमा शिक्षकलाई तलब, विद्यार्थीलाई उपहार एवम् विद्यालयको अन्य कामको लागि खर्च गर्ने गरिएको छ। नाम्चेबाट करिब २ घण्टाको हिडाईपछि स्याङबोचे कट्ने बित्तिकै सबैको मुखबाट ‘आहा’ शब्द निस्किन्छ। कारण हो टाढैबाट देखिने हरियो गाउँ खुम्जुङ्ग।सेतो गुराँसले स्वागत गर्दै यो उपत्यका प्रवेश गर्नेको सबै थकान र पिडा मेटाइदिने गरेको छ। चारैतर्फ हिमालले घेरिएको खुम्जुङ्ग, खुम्बु क्षेत्रको प्रसिद्ध पर्यटकीय स्थल पनि हो। प्रायः सबै घर हरियो जस्ता पाताले छाएको कारण यसले हरित गाउँको नामले समेत पहिचान कमाएको छ। खुम्बिह्यूला, आमादम्बलामलगायत हिमालका काखैमा रहेको यो गाउँ पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ। खुम्जुङ्ग गाउँ खुम्बु पासाङ्ग ल्हामु गाउँपालिका-४ मा पर्दछ । यही वडामा विश्व सर्वोच्च शिखर सगरमाथा पनि पर्दछ। सगरमाथा आधार शिविरमा गोक्यो क्षेत्र हुँदै जानेहरु यही गाउँ हुदै जाने गर्दछन् । खुम्जुङ्ग र खुन्दे गउँमा गरी करिब तीन सय घरधुरी रहेका छन्। तीन हजार आठ सय मिटर उचाइमा रहेको यो गाउँका प्रायः सबै घरहरु हरियो जस्तापाताले छाइएका छन् । रासस

बेसाहारा बालबालिका भर्ना गर्दैनन् सामुदायिक विद्यालय

रत्ननगर। उद्धार गरिएका बाल श्रमिकलाई सामुदायिक विद्यालयले भर्ना लिन नमान्ने गरेका सरोकारवालाले बताएका छन् । जिल्लाको विभिन्न स्थानबाट उद्धार गरिएका पूर्व बालश्रमिकलाई भरतपुरका सामुदायिक विद्यालयमा भर्ना गर्नै कठिन हुने गरेको बालबालिबाको क्षेत्रमा काम गर्दै आएका व्यक्तिले बताएका छन् ।  दियालो परिवार नारायणगढका कार्यकारी निर्देशक राजगोविन्द शिल्पकारले बजार क्षेत्रका सामुदायिक विद्यालयले पूर्व बालश्रमिकहरुको भनाइ गर्न नमान्ने गरेको बताए। ‘उद्धार गरी ल्याएर बालगृहमा राखिएका बालबालिकाहरुलाई नारायणगढका सामुदायिक विद्यालयले भर्ना गर्नै मान्दैनन्’ उनले भने, ‘यस्ता खालका विद्यार्थी हामी पढाउँदैनौँ भनेर विद्यालयका प्रधानाध्यापकले भन्ने गरेका छन् ।’ बालबालिकाको क्षेत्रमा काम गर्दै आएको दियालोले उद्धार गरेर बालगृहमा राखिएका बालबालिकालाई विद्यालय भर्ना गर्नै सकस हुने गरेको उनको गुनासो थियो । ‘जोखिममा रहेका बालबालिकाको खबर दिन दश नौ आठमा फोन आउँछ, हामीले तत्काल उद्धारका लागि काम गर्छौं’ उनले भने, ‘भरतपुर क्षेत्रमा रहेका बालगृहमा समेत त्यस्ता बालबालिका राख्न मान्दैनन्, हामीकहाँ क्षमताअनुसार बालबालिका छन् । अरु राख्ने अवस्था छैन भनेर भन्छन्’, जोखिममा रहेका बालबालिका उद्धार गरेपछि भरतपुरमा धेरै बालगृहमा राख्न नमान्ने गरेको भन्दै उनले केही दिन राखे पनि पुनः सकेनौँ भनेर फिर्ता गर्ने गरेका गुनासो गरे । ‘हामीले उद्धार गरेका बालबालिकाको मनोसामाजिक परामर्श गर्छौँ, उनीहरुको परिवार खोज्छौँ । सकेसम्म पारीवारिक पुनर्मिलन गराउँछौँ’, उनले भने, ‘पारिवारिक पुनर्मिलन गराउन गाह्रो भएका बालबालिकालाई हामीले बालगृहमा राख्ने गरेका छौँ ।’ दियालो परिवारमा रहेको बाल्प हेल्पलाइनले चितवनसँगै नवलपुुर, तनहुँ, लमजुङ, गोरखा र धादिङ हेर्ने गरेको कार्यकारी निर्देशक शिल्पकारले बताए। बाल हेल्प लाइनको ‘दश नौ आठ’ नम्बरमा देशभरबाट निःशुल्क फोन गरेर जोखिममा परेका बालबालिकाको जानकारी दिन सकिने उनको भनाइ छ। दियालो परिवारमा रहेको बाल हेल्पलाइनबाट यस वर्ष ५६ जना बालबालिकाको उद्धार गरिएको भन्दै उनले ४३ जना बालबालिका खोजतलासबाट फेला परेका जानकारी दिए। दियालोले यस वर्षको जेठ मसान्तसम्म तीन सय छ जना बालबालिकालाई मनोसामाजिक मनोविमर्श सेवा प्रदान गर्दा ३३३ परिवारलाईसमेत मनोविमर्श सेवा प्रदान गरेको उनले तथ्यांक प्रस्तुत गरे। छत्तीस जना बालबालिकाको पारीवारिक पुनर्मिलन, २१ जनालाई स्थायी बालगृहमा पुनःस्थापना गरिएको उनको भनाइ छ। संस्थाले ३ सय ६ जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान, १९ जनाको स्वास्थ्योपचार, १७ जनालाई खाद्यान्न सहयोग, ५४ जनालाई आपतकालीन आश्रय प्रदान गर्नुका साथै सचेतनामूलक कार्यक्रम, श्रम शोषण हिंसा दुव्र्यवहारबाट उद्धार, सूचनामूलक सामग्री प्रचारप्रसार गरेको उनले बताए । दियालो परिवार नारायणगढले आइतबार आयोजना गरेको कार्यक्रममा भरतपुर–१ की वडासदस्य राममाया पियाले सामुदायिक विद्यालयले बालबालिका पढाउँदिन भन्न नपाउने भन्दै कसैले भर्ना गर्न नमाने तुरुन्त वडामा खबर गर्न आग्रह गरिन् । जोखिममा रहेका बालबालिका उद्धारका लागि आफू हरक्षण तयारी अवस्थामा रहने जनाउँदै पछिल्लो समय घरेलु बालश्रम अन्त्यजस्तै भएको उनले बताइन्। अझै पनि सार्वजनिक ठाउँमा बालश्रम भेटिने गरेको उल्लेख गर्दै उनले सबै प्रकारका बालश्रमको अन्त्य गर्न राज्यका साथै संघसंस्थाको सहयोग आवश्यक रहेको उनको भनाइ छ। बाल अधिकारकर्मी रामचन्द्र आचार्यले अभिभावक भएका बालबालिकालाई बालगृहमा राख्न नमिल्ने बताए। अभिभावक, नजिकका नातेदार नभएको अवस्थाका बालबालिकालाई मात्रै बालगृहमा राख्न पाइने उल्लेख गर्दै १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि प्रकारको श्रममा लगाउन नपाइने बताए। चौधदेखि १८ वर्षसम्मका किशोरकिशोरीलाई दैनिक छ घण्टाभन्दा बढी श्रममा लगाउन नपाइने, तीन घण्टा काम गरेपछि आधा घण्टा विश्राम दिनुपर्ने, हप्तामा छ दिनमात्रै काम गराउनुपर्ने तर, पारिश्रमिक वयस्कलाई सरह दिनुपर्ने गरी कानुन बनेको उनको भनाइ छ। कार्यक्रममा चितवन कवाड व्यवसायी संघका अध्यक्ष नारायणसिं गुरुङले बालबालिका श्रममा प्रयोग भइरहेका भन्दै पहिले उनीहरुको परिवारमा रोजगारीको सिर्जना गर्नुपर्ने बताए। त्यस्तै गैरसरकारी संस्था महासंघ नेपाल चितवनकी अध्यक्ष पार्वती घिमिरेले बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्नुपर्ने बताए। संस्थाका पूर्वअध्यक्ष राजेन्द्रकुमार पियाले संस्थाले जोखिममा रहेका बालबालिकाको उद्धार र पारिवारिक पुनर्मिलनमा काम गरिरहेको भन्दै राज्यको विशेष भूमिका भएमात्रै बालश्रम न्यूनीकरण गर्न सकिने बताए। कार्यक्रमका अध्यक्ष एवं दियालो परिवारका अध्यक्ष ईश्वरराज पण्डितले राज्यले बालबालिकाको जिम्मा लिनुपर्ने बताए। बालबालिकालाई दया र मायाको भावले हेर्नेभन्दा पनि संविधानले प्रदान गरेको अधिकार दिनुपर्ने पण्डितले बताए। अप्ठ्यारोमा रहेका बालबालिकालाई जोखिममुक्त बनाउन सबैको सहयोग आवश्यक पर्ने उनको भनाइ थियो। रासस