ह्वाइट हाउस कलेजका विद्यार्थी जिएलए विश्वविद्यालयसँग पनि जोडिएर पढ्न पाउने

काठमाडौं । हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज र भारतको मथुरामा रहेको जिएलए विश्वविद्यालयबीचमा विभिन्न महत्वपूर्ण विषयमा सम्झौता भएको छ । प्रयोगात्मक सहकार्य, इन्टर्नसिप लगायतका महत्वपूर्ण विषयमा सहकार्य गर्नेगरी शुक्रबार कलेज र विश्वविद्यालयकोबीचमा सहकार्यको सम्झौता भएको हो । सम्झौताअनुसार विश्वविद्यालय र कलेजले नेटवर्किङ र कनेक्टिभिटी, विशेष छोटो शैक्षिक कार्यक्रम, अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षाको प्रवद्र्धन, संकायगत सहकार्य, अनुसन्धान र अध्यापनमा सहकार्य, सेमिनार शैक्षिक सम्मेलनमा सहभागिता, प्रकाशित सामग्रीहरुमा आदानप्रदान लगायत महत्वपूर्ण सहकार्य गर्नेछन् । सम्झौताअनुसार कलेजका विद्यार्थीहरुलाई विश्वविद्यालयले इनोभेसन सेन्टर, अन्तर्राष्ट्रिय सम्मेलन, छोटो समयको कोर्ष, रिसर्चर र स्कोलर्सहरुलाई अध्ययनमा सहयोग पुर्याउने छ । सम्झौताअनुसार इन्जिनियरिङ, मानविकी र व्यवस्थापन विषयका कार्यक्रम सञ्चालन गर्दै आएको कलेजमा स्नातक तहको अध्ययन गरेका विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव बाँडफाँड र इन्टर्नसिप प्राप्त हुने हुँदा विद्यार्थीको करिअर निर्माणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको कलेजका प्रिन्सिपल तोयानारायण पौडेलले बताए । कलेजले यस अघि पनि जापानको आइम्याक कम्पनीसँग इन्जिनियरिङ विषयमा स्नातक गरेका विद्यार्थीहरुले जापानमा इन्टर्नसिप गर्न पाउनेगरी सम्झौता गरेको छ । कलेजको अध्ययन पश्चात विद्यार्थीको एकेडेमिक भविष्य र रोजगार सुनिश्चित कसरी गर्न सकिन्छ भनेर यस्ता प्रकारका सम्झौता गरेको प्रिन्सिपल पौडेलले बताए ।

आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । कलेजबाट बिबिए, बिएचएम, बिएससी र बिएससीआइटीमा अध्ययनरत स्नातक तह उत्तिर्ण गरेका विद्यार्थीहरु सन्डरल्यान्ड विश्वविद्यालयको तर्फबाट दीक्षित भएका हुन् । काठमाडौंको होटल याक एन्ड एतीमा असार १४ गते भएको एक विशेष समारोहमा ३६७ जना विद्यार्थीहरु दीक्षित भएका थिए । आइएसएमटी ग्रुपले सन्डरल्यान्ड विश्वविद्यालयको समबन्धनमा काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा कलेज सञ्चालन गर्दै आएको छ ।

गेटवे कलेज अफ प्रोफेसनल स्टडिजद्वारा व्याच २०१९ को कोर्ष समापन कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौंको बसुन्धारामा रहेको गेटवे कलेज अफ प्रोफेसनल स्टडिजले ब्याच २०१९ को कोर्ष सम्पन्न गरेको छ । नेपाल भित्र तथा बाहिर विभीन्न उत्कृष्ट तारे होटल, रेष्टुरेन्ट, कर्पोरेट कार्यालय एवं विभिन्न कार्यालयमा जागिर को सत प्रतिशत सुनिश्चितता गर्दैआएको पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले व्यवस्थापन संकाय अन्तर्गत होटल मेनेजमेन्ट तर्फ विगत १५ वर्ष देखि उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको छ। गेटवे कलेज गत वर्ष नेपालकै होटल मेनेजमेन्ट कलेज मध्य उत्कृष्ट पाँचौ स्थानमा रहन सफल भएको थियो। शुक्रबार भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका सहायक परीक्षा नियन्त्रक मेनुका श्रेष्ठ एवं अन्य अतिथिका रूपमा सोही कलेजमा प्राध्यापन गरिरहेका पर्यटन तथा अतिथि सत्कार विज्ञ प्रा.डा.रमेशराज कुँवर एवं बिद्यार्थी, अन्तर्राष्ट्रिय तालिम विज्ञ, अविभावक, कलेज का प्राध्यापक, कर्मचारी तथा अन्य विभिन्न शिक्षा क्षेत्रमा विगत लामो समयदेखि जोडिएका महानुभावहरुको उपस्थिति रहेको थियो। संस्थापना कालदेखि कलेजले उत्कृष्ट नतिजा ल्याउनुमा शिक्षकको मेहेनत, बिद्यार्थीको लगनशीलता एवं अविभावकको मेहनत रहेको जानकारी कलेजकी संस्थापक प्राचार्य डाली खनालले दिइन् । प्रयोगात्मक शिक्षाले विद्यार्थीलाई निखार्ने एवं वर्तमान परिस्थितिमा समायोजनमा सहयोग पुग्ने जानकारी दिइन् । कार्यक्रमका सभापति एवं कलेजका संस्थापक अध्यक्ष सुरेश केसी वेभ हस्पिटालिटी अन्तर्गत, रेष्टुरेन्ट, बैंक्वेट, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल लगायतको संस्था कलेजको पूर्ण व्यवस्थापनमा संचालनमा लिएर आउने जानकारी गराउँदै कलेजलाई यो स्थानमा लिएर आउने सरोकारवालाहरुलाई धन्यबाद दिँदै विद्यार्थीहरुलाई आगामी दिनमा कलेजले फरक ढंगले पढाइका अतिरिक्त अन्य विभिन्न समयअनुकूल विभिन्न शैक्षिक गतिविधि हरुलाई अगाडि बढाउदै जाने जानकारी दिए ।