भारतको सहयोगमा निर्मित ३ विद्यालय र क्याम्पस उद्घाटन

काठमाडौं । भारत सरकारको सहयोगमा दैलेखमा निर्माण गरिएका सामुदायिक विद्यालय  भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासको विकास साझेदारी परियोजना अन्तर्गत निर्माण भएका सामुदायिक विद्यालय भवन  सोमबार स्थानीय निकायलाई हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । भारतीय राजदूतावास विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको १० करोड ८६ लाख  रुपैयाँआर्थिक सहयोगमा दैलेखको लालिकाँडास्थित मालिका उच्च माध्यमिक विद्यालय, बडाभैरवस्थित भैरव माध्यमिक विद्यालय, बडाखोलास्थित जगदिश माध्यमिक विद्यालय र रामपुरस्थित नारायण क्याम्पसका भवन निर्माण गरिएको हो । भवन हस्तान्तरणको अवसरमा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसी, भगवतीमाई गाउँपालिकाका अध्यक्ष  गणेशबहादुर थापा, महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मा (पाण्डे), नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माका साथै समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारीलगायतको उपस्थिति थियो । विद्यालय र क्याम्पस भवनले त्यस क्षेत्रका विद्यार्थीलाई शैक्षिक पूर्वाधारमार्फत गुणस्तरीय शिक्षा उपलब्ध गराउन सहयोग पुग्नेछ । सन् २००३ देखि भारतले नेपालमा पाँच सय ४४ भन्दाबढी उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ । यसमध्ये चार सय ८० वटा परियोजना सम्पन्न भइसकेका छन् । उक्त परियोजनामध्ये कर्णाली प्रदेशमा १४ वटा परियोजना छन् । यसका अतिरिक्त भारत सरकारले भारतको स्वतन्त्रता र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा शैक्षिक संस्थालाई नौ सय ४० वटा एम्बुलेन्स र एक सय ८४ वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको छ । यस परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल प्रदान गरेको दूताबासको भनाइ छ । रासस

एसइईको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको जानकारी दिए । उनले भने, ‘एसइईको नतिजा आज साँझसम्ममा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छौँ, प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक हुन्छ । प्राविधिक समस्या आए मात्रै भोलि पुग्ने हो अन्यथा नतिजा आजै सार्वजनिक हुन्छ, त्यसकै तयारीमा हामी जुटेका छौँ ।’ बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरिसकेको छ । वि.सं २०७२ को प्रणालीअनुसार  सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ । वि.सं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ । नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए । यसरी हेर्न सकिन्छ नतिजा एसइईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् । राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गर्न लागेको एसइई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । यसका लागि विद्यार्थीले वेबसाइड, एसएमएस र आइभिआरबाट हेर्न सकिने उनले बताए । परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको उनले बताए । एसएमएसका लागि १६००, ३१००३, ३४९४९,  ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np नेपाल टेलिकमको www.svv.gov.np, www.khatli.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconnectplus.com , www.see.edusanjal.com, www.admissionnepal.com, www. seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.neducationportal.com , www.ayoresult.com, www.results.com, www.matereducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

एसइई नतिजा प्रकाशनका लागि १६ संस्थाले पाए अनुमति

  काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनका लागि १६ वटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १६ वटा संस्थालाई नतिजा उपलब्ध गराउन अनुमति दिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठर्ले जानकारी दिए । नतिजा प्रकाशनका लागि रीतपूर्वक निवेदन दिएका १६ वटा र तीन वटा बोर्डकै संस्थाले बेवसाइट, एसएमएस र आइभीआरबाट नतिजा उपलब्ध गराउने अनुमित पाएका हुन् । यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआईसी एसिया बैंक, इडियु सञ्जाल, कान्तिपुर पब्लिकेशन्स, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालि लगायतका संस्था-फर्मले वेबसाइटमार्फत नतिजा उपलब्ध गराउने छन् । यसैगरी नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि लगायतका पाँच वटा संस्था र फर्मले एमएमएस र आईभीआरमार्फत नतिजा उपलब्ध गराउनेछन् । बोर्डले एसइईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । शुक्रबारभित्रमा नतिजा प्रकाशन गर्ने गरी बोर्डले तयारी गरेको परीक्षा नियन्त्रक श्रेष्ठले बताए । उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने काम सकेर रुजु गर्ने काम भइरहेको बोर्डले जनाएको छ । बोर्डले यो वर्ष पनि पुरानै लेटर ग्रेडिङ प्रणाली (अक्षराङ्कन) अनुसार नतिजा प्रकाशन गर्न लागेको जनाएको छ । पुरानो पाठ्यक्रम अनुसार पढाइ हुने अन्तिम वर्ष भएकोले यो पटक पुरानै लेटर ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक गर्न लागिएको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।