एसइईको नतिजा बिहीबार सार्वजनिक गर्ने
फाइल फाेटाे काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार यस वर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकाले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गरिने छ । नयाँ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’ मा राख्ने व्यवस्था छ । कक्षा १२ मा भने लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यान्वयन भइसकेको भन्दै उनले अर्को वर्षदेखि एसइईमा पनि नयाँ व्यवस्था लागू हुने बताउनुभयो । उनले भने, ‘कक्षा १२ मा लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यान्वयन भइसकेको छ, अब एसइईमा पनि नयाँ पाठ्यक्रम आउँछ, सोहीअनुसार नयाँ व्यवस्था लागू हुन्छ ।’ एसइईको नतिजा सकभर बिहीबार सार्वजनिक गर्ने योजना भए पनि प्राविधिक कारण नतिजा प्रकाशन हुन नसके शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी रहेकोसमेत शर्माले जानकारी दिए । विद्यार्थीले प्राप्त गरेको नतिजा रुजु र प्रविष्ट गर्ने अन्तिम काम भइरहेको बोर्डले जनाएको छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा देशभरका चार लाख ८५ हजार तीन सय ९६ जना विद्यार्थी सहभागी भएका थिए ।
श्रीलङ्कामा निजी विश्वविद्यालयमा अध्ययन गर्न विद्यार्थीलाई निर्ब्याजे ऋण व्यवस्था
काठमाडौं । सन् २०१९ देखि २०२१ सम्म विश्वविद्यालयको प्रवेश परीक्षा दिएका श्रीलङ्काका विद्यार्थीहरूलाई निजी विश्वविद्यालयहरूमा अध्ययन गर्न चाहेमा निर्ब्याजे ऋणको व्यास्था गरिदैछ । त्यसका लागि मङ्गलबारदेखि शुक्रबारसम्म आवेदन दिन सकिने वरिष्ठ अधिकारीले बताएका छन् । ऋण योजनाका लागि ५ हजार विद्यार्थी छनोट गर्ने सरकारको योजना रहेको अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले कोलम्बोमा बताएका छन् । मन्त्रीले छनोट भएका विद्यार्थीहरूले रोजगारमूलक पाठ्यक्रमहरू अपनाउँनु पर्नेछ । प्रत्येक विद्यार्थीका लागि सरकारी बैंकबाट उपलब्ध गराइने व्याजरहित ऋण ११ लाख रुपैयाँ (करिब ३ हजार ४ सय अमेरिकी डलर)सम्म रहेको बताइएको छ । सन् २०२३ मा विश्वविद्यालय प्रवेश परीक्षामा ३३३, ७०० भन्दा बढी विद्यार्थीहरू सहभागी थिए । ती मध्ये केवल ३०, ००० विद्यार्थीहरू राज्यको स्वामित्वमा रहेका विश्वविद्यालयहरूमा प्रवेश पाउँन सक्छन् । रासस
सामुदायिक विद्यालय हाँक्ने कञ्चनपुरका महिला प्रधानाध्यापक
काठमाडौं । कञ्चनपुर लालझाडी गाउँपालिका–२ मा रहेको सिद्धबैजनाथ आधारभूत सामुदायिक विद्यालयमा आठ वर्षयता प्रधानाध्यापकका रुपमा रामवती राना थारुले जिम्मेवारी सम्हालेकी छिन् । विगत आठ वर्षदेखि उक्त पदमा रहेकी उनी थारु समुदायबाट विद्यालयको जिम्मेवारी सम्हाल्ने पहिलो महिला हुन् । ’बाल विकास शिक्षकमा नियुक्त भइ २०७२ सालदेखि प्रधानाध्यापकका रुपमा काम गरिरहेको छु’, रानाले रासससँग भनिन्,’विद्यार्थी, प्रशासन र अभिभावकबीचको सहकार्य गर्न सहज र चुनौतीपूर्ण दुवै छ ।’ उनले नेतृत्व गरिरहेको विद्यालयमा हाल एक सय ८८ विद्यार्थी र १२ शिक्षक तथा कर्मचारी छन् । ’विद्यालयको आयस्रोत कम हुँदा जेनतेन निजी स्रोतका शिक्षकलाई तलब सुविधा पु¥याउन सकिएको छ’, उनले भनिन्, ’तीन शिक्षकका लागि स्थायी दरबन्दी भए पनि बाँकीलाई निजी स्रोतबाट टिकाउन गाह्रो अवस्था छ ।’ भौगोलिक रुपमा जिल्लाकै विकट क्षेत्रमा पर्ने लालझाडीमा राना थारु समुदायको बाहुल्यता छ । त्यसैले विद्यालयमा पनि राना थारु समुदायकै बालबालिकाको सङ्ख्या बढी छ । रानाले भनिन्, ’महिलाले अधिकार मागेर होइन, मेहनतले उच्च तहमा पुग्ने वातावरण हरेक कोणबाट बन्दै गएको छ ।’ थारु जस्तै जिम्मेवारीमा हुनुहुन्छ, सुरिता चौधरी । शुक्लाफाँटा नगरपालिका–३ जोनपुरमा रहेको जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक चौधरीले दश वर्षदेखि उक्त जिम्मेवारी सम्हालेकी छिन् । चौधरीका श्रीमान् विक्रम चौधरी पनि सोही विद्यालयमा शिक्षक हेन् । ’शिक्षक हुँदा सम्बन्धित विषय पढाउने र विद्यार्थीको भविष्यप्रति बढी केन्द्रित भइन्थ्यो भने प्रधानाध्यापकका रुपमा विद्यालयको सबै जिम्मेवारी लिएकी छु ।’ विगत २२ वर्षदेखि शिक्षण पेसामा रहेकी चौधरी सुरुमा निजी शिक्षक, अस्थायी हुँदै २०७५ सालमा स्थायी भएकी थिइन् । ’हामी दुवै जना शिक्षण पेसामा दुई दशकभन्दा बढी समय संलग्न भएकाले समाजमा पनि राम्रो प्रतिष्ठा कमाएका छौँ’, उनले भनिन्, ’बढ्दो आधुनिकीकरण र प्रविधिको उच्च विकास भइरहेको समयमा ग्रामीण क्षेत्रमा विद्यालय सम्हाल्नु चुनौतीपूर्ण छ ।’ ग्रामीणस्तरमा प्राथमिक तहदेखि नै समयसापेक्ष शिक्षा दिने विषयमा स्थानीय तहदेखि केन्द्र सरकार जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । दुई सय ५९ वटा सामुदायिक विद्यालय रहेको कञ्चनपुरमा हाल २० विद्यालयमा महिला प्रधानाध्यापक रहेको शिक्षा तथा समन्वय इकाइ, विद्यालय प्रशासनका शाखा अधिकृत रुपराम तिरुवाले जानकारी दिए । यहाँको शुक्लाफाँटा नगरपालिकाको झलारीमा २०२२ सालमा स्थापना भएको श्रीकृष्ण माविको नेतृत्व पनि महिला प्रधानाध्यापकको काँधमा छ । विद्यालयमा चार वर्षयता लक्ष्मी थापा ऐर प्रधानाध्यापक हुन् । ’शिक्षकका रुपमा एक प्रकारको सन्तुष्टि थियो भने अहिले प्रधानाध्यापकका रुपमा विद्यालयको नीति निर्माणदेखिका सबै काम गर्दा थप जिम्मेवारी महसुस भएको छ’, उनले भनिन् । निजी र सामुदायिक विद्यालयमा गरी १७ वर्ष अध्यापन गराएकी उनी १२ वर्षदेखि सामुदायिक विद्यालयमा पढाइरहेकी छिन् । ’करिब दुई दशकको अनुभवले प्रधानाध्यापकका रुपमा काम गर्न सहज भएको छ’, उनले भनिन्, ’अहिले विद्यालयको भौतिक संरचना निर्माण, अभिभावकसँग समन्वय, अतिरिक्त क्रियाकलाप, अध्यापन र विद्यालयको विकासमा सक्रिय हुन पनि सजिलो भएको छ ।’ महेन्द्रनगरमा सञ्चालित जानकी कन्या माविमा पनि नौ वर्षदेखि अञ्जुला भट्ट प्रधानाध्यापक छिन् । करिब दुई सय विद्यार्थी रहेको विपद्यालयमा २० जना शिक्षक कार्यरत छिन् । ’विसं २०६३ बाट स्थायी भइ दैजीको शारदा माविबाट अध्यापन सुरु गरेकि हुँ’, भट्टले भनिन्, ’यतिबेला जानकी कन्या मावि सञ्चालन गर्ने अवसर प्राप्त भएको छ ।’ रासस