एसईई पछि पढ्ने विषय कसरी छनोट गर्ने, कसको सहयोग लिन सकिन्छ ?

काठमाडौं । सामान्यतया सबै विद्यार्थीहरुले १५ देखि १६ वर्षको उमेरमा कक्षा १० सम्मको पढाइलाई पुरा गर्छन् । पहिले कक्षा १० सम्मको पढाइलाई स्कुल शिक्षा र कक्षा ११ देखि माथिको पढाइलाइ उच्च शिक्षाको रुपमा लिने गरिन्थ्यो । तर, पछिल्लो समयमा नेपालमा कक्षा ११ र १२ लाई पनि विद्यालय माध्यमिक शिक्षा अन्तर्गत राखिएको छ । सामान्यतया कक्षा १० सम्म पढ्ने विद्यार्थीहरुले के पढ्ने, कुन विषय पढ्दा व्यवहारिक हुन्छ भन्ने जस्ता प्रश्नहरुको सिर्जना गर्ने र त्यसको जवाफ खोज्ने क्षमता कम राख्छन् । त्यसैले उनीहरुले अभिभावकले भनेको, स्कुलले व्यवस्था गरेको र साथीसँगीको संगतले विषय छनौट गर्ने गरेको पनि पाइन्छ । त्यो मात्रै नभएर कक्षा १० सम्मको तहमा विद्यार्थीहरुलाई धेरै विषय छनोट गरेर पढ्ने सुविधा पनि हुँदैन । कक्षा १० पास भइसकेपछि अर्थात एसईई उत्तिर्ण गरेपछि विद्यार्थीहरु मनोवैज्ञानिक रुपमा केहि स्वतन्त्र भएको र आफ्नो आगामी जीवनप्रति पनि थप जिम्मेवार भएको महशुस गर्छन् । जसकारणले गर्दा विद्यार्थीहरुले आगामी दिनमा आँफू कस्तो मान्छे बन्ने र त्यसको लागि के विषय पढ्दा राम्रो होला भनेर सोच्ने कोसिस गर्छन् । सोही बेलामा विद्यार्थीहरुलाई सहि सुझाव तथा सल्लाहको आवश्यकता पर्छ । त्यसैले, हामीले भर्खरै एसईई उत्तिर्ण गरेका विद्यार्थीहरुलाई आगामी दिनमा विषय छनोटको लागि सजिलो होस भनेर एसईई पछि के पढ्ने भन्ने विषयमा यो समाचार तयार पारेका छौं । स्टार्टअप विजनेस सम्बन्धी विज्ञका रुपमा परिचित रञ्जित आचार्यका अनुसार हरेक विद्यार्थीसँग विशिष्ट प्रकारको क्षमता र इच्छा हुन्छ । तर, सबैले आफ्नो क्षमता र इच्छालाई पहिचान गर्न सकिरहेका हुँदैनन् । त्यस्तै, प्रसिद्ध बुढानिलकण्ठ स्कुल काठमाडौंका प्रधानाध्यापक होमनाथ आचार्यका अनुसार विद्यार्थीले एसईई सम्मको स्कुलको पढाइ एउटा सीमामा आधारित रहेर हुने र त्यसपछिको ११/१२ र ए लेभल जस्तो तहमा जाँदा पढाइको तहगत खाडल हुने गरेको बताउँछन् । एसईई पश्चात विद्यार्थीहरुमा आँफूहरुले एउटा तह पूरा गरेको मनोविज्ञान निर्माण हुने उनको भनाइ छ । तर, विषयहरु फरक हुने र विशेष तोकिएका विषयमा जानुपर्ने अवस्थामा विद्यार्थीहरुलाई उपयुक्त विषय छनोट गर्न भने सहयोगको आवश्यकता पर्ने प्रधानाध्यापक आचार्य बताउँछन् । ‘विद्यार्थीहरुमा एसईई पछि आफूहरु केही जान्ने भएको मनोविज्ञान निर्माण त हुन्छ तर, उनीहरुमा कस्तो विषय पढ्ने र कस्तो करिअर बनाउने भन्ने कुरामा भने निर्णय गर्न अन्यौलता देखिन्छ’, उनले भने, ‘कतिपय अवस्थामा साथीभाईले र कतिपय अवस्थामा अभिभावकले उनीहरुले पढ्ने विषयमा निर्णय गरिदिन्छन्, जसले गर्दा उनीहरुको इच्छा एकातिर र विषय छनोट अर्कोतिर भएको पनि देखिन्छ ।’ त्यसरी विषय छनोट गर्दा उनीहरुको क्षमता अथवा इच्छासँग नमिल्ने र उनीहरु असफल पनि हुने गरेको उनको भनाइ छ । त्यस्तो अवस्थामा विद्यार्थीको क्षमता र रुचीलाई ख्याल गरेर परामर्श दिन आवश्यक हुने आचार्य बताउँछन् । ‘विद्यार्थीको आफ्नो क्षमता अनुसार पढ्ने विषयमा उसको क्षमता र इच्छा के कुरामा छ भनेर अध्ययन गरेर विषय छनोट गर्न सल्लाह दिनुपर्छ’, उनी भन्छन् । विद्यार्थीहरुको क्षमतालाई पहिचान गर्ने र उनीहरुको करिअर सफलताको लागि गाइड गर्ने जिम्मेवारी शिक्षकहरुको नै भएको उनको भनाइ छ । आमाबुवालाई भन्दा शिक्षकहरुलाई विद्यार्थीको हरेक पक्षको बारेमा थाहा भएको उनी बताउँछन् । ‘कुन विद्यार्थी के मा राम्रो छ ? विद्यार्थी के कुरामा रमाउँछ, के कुरामा इच्छा राख्छ र उसको कुन विषयमा करिअर बन्न सक्छ, जुन कुरामा विद्यार्थीले पढ्न खुसी मान्छ उसलाई त्यही विषय पढ्न दिनुपर्छ’, आचार्य भन्छन् । विद्यार्थीलाई उसको क्षमता र इच्छा नभएको विषयमा लगाउन नहुने उनले बताए । बुढानिलकण्ठ स्कुलले कक्षा ९/१० मा नै विद्यार्थीहरुको क्षमताको विषयमा फिगर आउट गर्ने गरेको र सोही अनुसार विद्यार्थी र अभिभावकहरुलाई सल्लाह दिने गरेको आचार्य बताउँछन् । शिक्षक र विज्ञहरुको अनुभव तथा बुझाइका आधारमा हेर्दा खासगरी करिअरसँग जोडिएको विद्यालय तहको माथिल्लो कक्षा ११ र १२ मा अध्ययन गर्दा कस्ता ऐच्छिक विषयहरु अध्ययन गर्ने भनेर निर्णय गर्दा पहिला आफ्नो रुची र क्षमतालाई ख्याल गर्नुपर्ने देखिन्छ । भाषा, कला, साहित्य, व्यवस्थापन, आदि जस्ता विषयमा रुची भएको विद्यार्थीले गणित वा विज्ञान विषय रोज्न भएन । त्यस्तै विज्ञान तथा गणित विषयमा रुची भएको विद्यार्थीले पनि अन्य भाषिक विषयहरु रोज्दा अपेक्षित सफलता नमिल्न सक्छ । विगतमा अध्ययनमा अब्बलता नरहेको तर सो विषयमा रुची भएको विद्यार्थीले पनि आगामी दिनमा राम्रो गर्न सक्ने सम्भावना हुँदा रुचीको विषयलाई अगाडि बढाउँदा सफलता हासिल गर्न सकिने विज्ञहरुको सुझाव छ । विगतमा कक्षा ११/१२ पढाउने सिमित विद्यालयहरु थिए । अहिले सबै स्थानीय तहहरुमा ती विद्यालयहरु पुगेका छन् । साथै विद्यालयसँगै नयाँ र धेरै विषयहरु पनि छनोट गरेर पढ्न पाइने अवस्था बनेको छ । त्यसैले विद्यार्थीहरुले अनिवार्य केही विषय बाहेक धेरै ऐच्छिक विषयहरुमा रोजेर अध्ययन गर्न पनि सक्छन् । युवा राजनीतिकर्मी तथा शिक्षा क्षेत्रका अभियन्ता प्रदिप पाण्डेले विद्यार्थीहरुले विषय छनोट गर्दा मुख्यकुरा आफ्नो रुचीको विषयालाई ख्याल गर्नुपर्ने बताउँछन् । ‘पहिलो नम्बरमा आफ्नो रुची चाहिँ पहिचान गर्नुपर्छ । तपाईं के मा राम्रो गर्न सक्नुहुन्छ ? के कुरामा मज्जा आउँछ ? के काम गर्दा सामाजिक सञ्जाल चलाउन पर्दैन, घडी पनि हेर्नु पर्दैन र अल्छि पनि लाग्दैन त्यो विधा पहिचान गर्नुपर्छ । यसको लागि तपाईंले आफ्नो शिक्षकको र अभिभावकको सहयोग लिन पनि सक्नुहुन्छ’, पाण्डेको सुझाव छ ।

फेकनमा निरौला नेतृत्वको प्यानल विजयी

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को १२औं वार्षिक साधारणसभाबाट राजु निरौलाको प्यानल निर्वाचित भएको छ । शनिबार राजधानीमा सम्पन्न भएको सभाले निरौला नेतृत्वको प्यानललाई निर्वाचित गरेको हो । साधारणसभामा जम्मा एससय १९ मत खसेकोमा अध्यक्ष पदमा निरौलाले एकसय आठ मत प्राप्त गरेका थिए भने प्रज्वल बस्नेतले जम्मा ११ मत प्राप्त गरेका थिए । त्यस्तै, अन्य पदाधिकारी तथा सदस्यहरु बीचमा भएको प्रतिस्पर्धामा पनि निरौलाको प्यानलमा रहेका सबै उम्मेदवारहरुले बस्नेतको प्यानलमा उठेका उम्मेदवारहरुलाई पराजित गरेका छन् । फेकनले नेतृत्व चयनका लागि विधानअनुसार प्रत्येक दुई वर्षमा साधारणसभा मार्फत् नेतृत्व चयन गर्ने गर्छ । नवनिर्वाचित निरौला अध्यक्षताको नयाँ कार्यसमितिले आगामी दुईवर्षसम्म फेकनलाई हाँक्ने छ ।

विद्यार्थीलाई छात्रवृत्ति दिन काठमाडौं महानगरले शुरु गर्यो प्रकृया, असार २८ गतेदेखि आवेदन खुला

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख बालेन साहले जानकारी दिए । उनका अनुसार महानगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गरी कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न तयारी थालेको हो । कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि यही असार २८ गतेदेखि आवेदन खुला गरिएको महानगरपालिकाके शिक्षा शाखाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । आवेदन आगामी साउन १२ गतेसम्म अनलाइनबाटै भर्न सकिने जनाइएको छ । आवेदन दिएका छात्रछात्राको परीक्षा साउन २० गते लिने कार्यतालिकासमेत महानगरले सूचनामार्फत सार्वजनिक गरेको छ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पिक वस्तुगत प्रश्न हुने जनाइएको छ । विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र भने महानगरले पछि सार्वजनिक गर्ने जनाएको छ । शिक्षा ऐन, २०२८ मा संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ । रासस