वित्तीय साक्षरताका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकले छुट्यायो २० लाख, आशय प्रस्ताव आह्वान
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले वित्तीय साक्षरता प्रदान गर्ने भएको छ । बैंकले गैर नाफा मुलक संस्थासँगको साझेदारीमा विभिन्न समुदायलाई लक्षित गरि सातै प्रदेशमा वित्तीय साक्षरता प्रदान गर्ने भएको हो । बैंकका अनुसार कर्मचारी, किसान, लघु, साना तथा मध्यम व्यवसाय, दैनिक ज्यालादारी, आप्रवासी कामदार, विद्यार्थी वर्गलाई वा कुनै एक विपन्न लक्षित समुदायको लागि वित्तीय साक्षरता अभिवृद्धि गरिनेछ । सामुदायिक परियोजनामा रणनीतिक साझेदारको रुपमा कार्य गर्न इच्छुक गैर नाफामुलक संघसंस्थाले आशय प्रस्ताव पेश गर्न बैंकले आग्रह गरेको छ । यस परियोजनाको बजेट बढीमा १२ महिनाको लागि २० लाख रुपैयाँ तय गरिएको बैंकले जनाएको छ । तर, सम्झौता अवधि थप हुन पनि सक्नेछ । कम्तीमा ५ प्रदेशमा वित्तीय साक्षरता परियोजना संचालन र व्यवस्थापन गर्न सक्ने तर, ७ वटै प्रदेशमा परियोजना संचालन गर्न सक्ने क्षमता भएकोलाई पहिलो प्राथमिकता दिइनेछ । सामुदायिक परियोजनामार्फत उपलब्धि हासिल गरेको बलियो रेकर्ड प्रस्तुत गर्न सक्ने हुनु पर्ने बैंकले बताएको छ । गैर नाफामुलक संस्था, सरकारी वा राजनैतिक भातृ संगठन नभएको, समान प्रकृतिका क्षेत्रमा कम्तीमा ३ वर्षको कार्य गरिसकेको प्रमाणित अभिलेख भएको, कम्तीमा ३ वर्षको वार्षिक लेखा परिक्षण गरेको हुनु पर्नेछ । इच्छुक संघ संस्थाले सूचना प्रकाशित मितिले १५ दिनभित्र आशय पत्र पठाउनु पर्नेछ ।
टेक्सास् कलेजमा ८ सय विद्यार्थी बिदा भए, ९ सय भित्रिए [फोटोफिचर]
काठमाडौं । टेक्सास् इन्टरनेशनल कलेजले फेरवेल कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रममार्फत कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत र १२ सक्ने विद्यार्थीको लागि फेरवेल अर्थात बिधाई गरेको हो । टेक्सास् नेटवर्कका निर्देशक नारायण पोखरेलले कार्यक्रम कक्षा ११ का करिब ९ सय विद्यार्थीलाई स्वागत गरेको र करिब ८ सय विद्यार्थीलाई बिधाई गरेको बताए । ‘पढाइ कक्षामा मात्रै हैन, बाहिर पनि हुन्छ जसलाई सँगसँगै लिएर जान सकिन्छ र पढाई यसको सहयात्री बनाउन सकिन्छ भन्ने सन्देश दिने उद्देयका साथ कार्यक्रम आयोजना गरेका हौं,’ उनले भने ।
आइएनजी स्किल एकेडेमीले नेपालगन्जमा आयोजना गर्याे प्रविधि प्रदर्शनी
काठमाडौं । आइएनजी स्किल एकेडेमीले नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियरमा फ्युचरामा नामक प्राविधिक कार्यक्रम आयोजना गरेको छ । नयाँ पुस्तालाई भविष्यको प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एकेडेमीले विज्ञप्ति जारी गरेर बताएको छ । कार्यक्रममा रोबोटिक्स, हिड्ने पियानो, ड्रोन र गो कार्टमा प्रदर्शनी आयोजना गरिएको थियो । कार्यक्रममा कार रेस, लाइन फलोइङ रोबोट, एनिमेसन र भीएफएक्स जस्ता रोमाञ्चक प्रदर्शनी समावेश भएको एकेडेमीले बताएको छ । फ्युचरामाले प्रविधि र दीगो व्यापारलाई पनि सम्बोधन गरेको थियो । कार्यक्रममा सहभागीहरुलाई खेती गर्न प्रोत्साहित गरेर उद्यमशीलता र आइटीलाई एकाकार गर्ने विषय प्रस्तुत गरिएको थियो । नेपालगन्जको फ्युचरामाले विभिन्न विद्यालय र कलेजका करीब ४ हजार विद्यार्थीलाई जम्मा गरेर कार्यक्रम आयोजना गरिएको थियो ।