राष्ट्रिय पुस्तकालयमा अनलाइन आइएसएसएन सेवा सुरु

काठमाडौं । नेपाल राष्ट्रिय पुस्तकालयले विभिन्न प्रकाशनका पत्रिका र जर्नललाई अन्तर्राष्ट्रिय शृङ्खलाबद्ध मानक नम्बर (आइएसएसएन) अनलाइनबाटै प्रदान सुरु गरेको हो । पुस्तकालयले हालसम्म एक हजार पाँच सय ५१ पत्रिका र जर्नललाई उक्त नम्बर प्रदान गरिसकेको छ । अब भने उक्त नम्बर अनलाइनबाटै लिन सकिने भएको छ । नेपाल सरकार मातहतको सो पुस्तकालयले विसं २०६५ सालदेखि उक्त नम्बरको उपलब्ध गराउने सेवा दिन थालेको हो । उक्त नम्बर उपलब्ध गराउन यो आधिकारिक निकाय मानिन्छ । विगतमा ललितपुरको हरिहर भवन, पुल्चोकमा सञ्चालित सो पुस्तकालय २०७२ सालको भूकम्पयता भक्तपुरको सानोठिमीबाट सञ्चालित छ । सोह्रौं पुस्तकालय दिवसका अवसरमा आइतबार आयोजित पुस्तक तथा पत्रपत्रिकाको संरक्षण सम्बन्धी कार्यशालाका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले सो पुस्तकालयको अनलाइन आइएसएसएन सेवाको शुभारम्भ गर्दै भावी दिनमा यो सेवा अझ प्रभावकारी र गुणस्तरीय हुने अपेक्षा व्यक्त गरे । पुस्तकालय प्रमुख दशरथ मिश्रले सो सेवालाई थप प्रभावकारी बनाइने जनाए । सो अवसरमा मन्त्रालयका उपसचिव पिताम्बर भण्डारीले समग्र पुस्तकालय प्रणालीको सुसञ्चालनका लागि आवश्यक पर्ने एकीकृत कानुन तर्जुमा गर्न सहयोग गरिने बताए। केशर पुस्तकालयका प्रमुख सुरेशकुमार यादवले केशर पुस्तकालयको वर्तमान अवस्था, सम्भावना र चुनौतीका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

आईएनजी ‘तीज दर कार्यक्रम २०८०’ सम्पन्न

काठमाडौं, आईएनजीले आफ्नो वार्षिक ‘तीज दर कार्यक्रम २०८०’ भाद्र २९, २०८० मा जीवन्त रुपमा हरितालिका तीज पर्व मनाएको छ । इस्लिङ्गटन कलेजमा भएको मनाइएको सो कार्यक्रममा महिला टोली सदस्यहरूलाई आईएनजीको समृद्ध सांस्कृतिक सम्पदाको सम्झना गर्न र अँगाल्न एक साथ ल्याएको थियो । नृत्य प्रतियोगिता, स्वादिष्ट खाना र रमाइलो उत्सव जस्तो गतिविधिहरूले भरिएको दिनका रुपमा सो पर्ब मनाइएको थियो । नृत्य प्रतियोगिता कार्यक्रमको मुख्य आकर्षण भएको कलेजले जनाएको छ । आईएनजीमा करिब ४०० महिला कर्मचारी कार्यरत छन् र तीमध्ये करिब ८० जनाले एकल र सामूहिक प्रस्तुतिको नृत्य प्रतियोगितामा भाग लिएका थिए । सहभागीहरूले आफ्नो नृत्य चाल र सुन्दर पोशाक मार्फत् आफ्नो रचनात्मकता कला र प्रतिभा प्रदर्शन गरेका थिए । नृत्य प्रतियोगितालाई व्यावसायिक नर्तक र सेलिब्रेटीको प्यानलद्वारा निर्णायकको भूमिका खेलिएको थियो, जसमाः सदीक्षा श्रेष्ठ (पूर्व मिस नेपाल), पिंकी सापकोटा (उद्यमी, संस्थापक, व्यावसायिक डान्सर, बेलीडान्सर) थिए । नृत्य प्रतियोगिताका विजेताहरूमा प्रथम पुरस्कारः आईएनजी फुड्स (नटराज ट्रफी र रु ५०,००० नगद पुरस्कार), दोस्रो पुरस्कारः इस्लिङ्गटन कलेज ( नगद पुरस्कार रु २५,०००) र तेस्रो पुरस्कारः इनोभेट टेकबाट एकल प्रस्तुति (नगद रु १०,०००) ले हात पार्न सफल भएका थिए । कार्यक्रममा नृत्य प्रतियोगिताको अतिरिक्त, कार्यक्रममा ¥याम्प वाक, स्वादिष्ट खाना र धेरै गतिविधिहरु पनि समावेश गरिएका थिए । महिला टोलीका सदस्यहरू रातो र गुलाबी रंगको पहिरनमा आएका थिए, जसले उत्सवको वातावरण सृजना गरिएको थियो । आईएनजीले प्रत्येक महिला सदस्यलाई मनमोहक “मेड इन नेपाल“ ह्यान्डब्याग र तीज अभिवादन पत्र सहितको साडी र कुर्ता उपहार दिएको थियो । तीजको सम्झना गर्न र हाम्रो संगठनको जीवन्त संस्कृति मनाउन आईएनजी भित्रका विभिन्न विभागहरूका महिला सदस्यहरूलाई एकताबद्ध गर्दै ‘तीजको दर कार्यक्रम २०८०’ उत्कृष्ट सफलताका साथ् मनाइएको कलेजले जनाएको छ ।

सृजनशीलतामा नयाँ आयाम थप्दै टेक ट्रिक्स २०२३ सम्पन्न

काठमाडौं । काठमाडौं शान्तिनगर स्थित न्यु समिट कलेज, शान्तिनगर, काठमाडौं र टेक ट्रिक्स नेपालद्वारा आयोजित टेक ट्रिक्स २०२३ आगामी वर्ष चौथो संस्करण आयोजना गर्ने प्रतिबद्धताका साथ समापन भएको छ । समापन समारोह कलेजका प्रिन्सिपल चोकराज दवाडी द्वारा सभापतित्व गरिएको थियो भने स्वागत मन्तव्य कलेजका सञ्चालक समिति अध्यक्ष अजय प्रसाद ढकालले राखेका थिए । समापन समारोहमा त्रि। वि आईओएसटीका डिन प्राडा विनिल अर्याल प्रमुख अतिथिका रूपमा आमन्त्रित थिए । आइटी शिक्षामा विद्यार्थीहरूलाई आफूसँग भएको अन्तर्निहित क्षमता प्रस्फुटन गर्न चाहिने यथेष्ट अवसर यस कार्यक्रमले दिएको र आगामी विश्व आइटी शिक्षा र आइटी विज्ञले गर्नेमा दुई मत नभएको प्राध्यापक डा अर्यालले बताए । विभिन्न विधामा सञ्चालित प्रतियोगिताका विजेतालाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रमुख अतिथि प्राडा अर्यालले एक लाख पचासी हजार नगद पुरस्कार र प्रमाण पत्र विजेताहरूलाई वितरण गरेका थिए। जस अन्तर्गत आइटी क्विजमा सेन्ट लरेन्स कलेज विजयी भएको थियो भने द्वितीय स्थान क्याथफोर्ड कलेजले प्राप्त गरेको थियो । क्लास रोयल सञ्जय गौतमले जितेका थिए भने सुजन गौतम दोस्रो भएका थिए । पब्जीका विजेता भने केएफए कलेजका सुभम चित्रकारको समूह भएको थियो भने सुनिल गिरिको टिम हाइप उप विजेता बन्दा टप फ्रागरको उपाधि विशेष खड्कालाई गएको थियो । फिफा २३ विजेता जगदीश पाण्डे भएका थिए भने उप विजेता समीर गुरुङ भए । तीन दिवसीय प्रतियोगिताको मुख्य आकर्षण ह्याकाथन सेन्ट जेभियर्स कलेजले जितेको थियो भने उप विजेता सगरमाथा कलेज र तेस्रो स्थानमा न्यु समिट कलेज भएको थियो । विज्ञ परामर्शदाताको प्रत्यक्ष निगरानी र परामर्शमा ३० घण्टा अवधिमा बनाइएको परियोजनालाई निर्णायकको भूमिकामा रहेका विषय विज्ञ विश्वकाजी श्रेष्ठ, रोशन खत्री, अभिषेक कोइराला, प्रवीण चौहान निर्णयको आधारमा विजेता घोषणा गरिएको थियो । कार्यक्रमलाई नेपाल टेलिकम, आइडिया स्टुडियो र भर्टिगो लगायतले सहयोग गरेका थिए ।