खोटाङको उत्कृष्ट विद्यार्थीले पाए एक लाख पुरस्कार

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई नगद पुरस्कार वितरण गरेको छ । गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट शैक्षिकसत्र २०७९ मा एसइई दिएकामध्ये उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने एक/एक छात्रछात्रालाई एक लाख रुपैयाँका दरले पुरस्कार वितरण गरिएको हो । थर्पुडाँडा मावि सप्तेश्वरकी आस्था राईलाई एक लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै थर्पुडाँडा मावि सप्तेश्वरका सुजन कार्की र पृथ्वी मावि बाक्सिलाका आलोक राईलाई जनही ५० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिए । गत वर्ष एसइईमा उत्कृष्ट अङ्क ल्याउने थर्पुडाँडा मावि सप्तेश्वरका रेडस्टार राइ र पृथ्वी मावि बाक्सिलाकी युनिशा राईलाई एक लाख रुपैयाँ प्रदान गरिएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७९/२०८० देखि नीति तथा कार्यक्रम बनाएर एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने छात्रछात्रालाई नगद पुरस्कार दिँदै आएको छ । गाउँपालिकाभित्र सञ्चालित माध्यमिक विद्यालयमध्ये नतिजाको आधारमा पृथ्वी मावि बाक्सिलाका प्रधानाध्यापक रणबहादुर राई उत्कृष्ट प्रधानाध्यापक घोषित भएका छन् । उनलाई दश हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । बुहारी शिक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाले अहिले दश बुहारीलाई निःशुल्क पढाइरहेको छ । रासस

विद्यालय बन्द गरेर आन्दोलनलाई समर्थन गर्ने काठमाडौंका प्रिन्सिपलहरुको निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले विद्यालय बन्द गरेर आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै महानगरका प्रिन्सिपलहरुले नेपाल शिक्षक महासंघले गरिरहेको आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको जानकारी गराएको हो । शिक्षक महासंघले बुधबारदेखि संघीय संसदबाट जारी विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एककीरण गर्न बनेको विधेयक २०८० को खारेजीका लागि काठमाडौं केन्द्रित गर्दै देशैभरिको विद्यालय अनिश्चित रुपमा बन्द गरी सशक्त आन्दोलनमा जाने कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रमलाई काठमाडौंका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले पनि सहमति जनाएका छन् । बुधबार बसेको सामुदायिक विद्यालयको प्रधानाध्यापकहरुको बैठकले अर्को सूचना नभएसम्मका लागि उक्त कार्यक्रममा सहमति जनाएका हुन् । त्यस्तै, उक्त बैठकले माइतिघर मण्डलामा नियमित हाजिर हुनेगरि सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई उपस्थित हुन समेत विज्ञप्तिमार्फत अनुरोध गरेको छ । साथै, आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिलाई परिपूर्ति गर्न बिदाका दिनमा पठनपाठन गराइने प्राधानाध्यापकहरुले प्रतिबद्धता गरेका छन् ।

बालेन भन्छन् : शिक्षा विधेयकमा हाम्रो पनि असहमति छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा असहमति रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत उक्त विधेयकमा आफू लगायत काठमाडौं महानगरको नै असहमति रहेको बताएका हुन् । ‘शिक्षा विधेयकमा हाम्रो नि असहमती छ । लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १०००० भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । तर उक्त विधेयकमा असहमति हुँदैमा शिक्षकले विद्यालय बन्द गरेर पठन पाठनमा अवरोध नगराउन उनले सम्पूर्ण शिक्षक तथा विद्यालयलाई आग्रह गरेका छन् । यदि अवरोध पुर्याएमा कारबाही गरिने पनि उनले बताएका छन् । विधेयकमा सहमत नजनाउँदैमा शिक्षकले स्कुल बन्द गरेर पठन पाठनमा अबरोध नपुराउनु होला, यस्ता अबरोध पुराउनेहरुलाइ कानुन९ संविधान ० अनुसार कारबाही हुनेछ, उनले लेखेका छन् । यस्तो छ उनले लेखेको स्ट्याटस् शिक्षा विधेयकमा हाम्रो नि असहमती छ । लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १०००० भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ । आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किन कि काठमाडौको शिक्षा को नीति र जुम्ला को नीति र आवश्यकता फरक हुन्, छन् । ‘संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो । संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन । स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ ।’ तर यति भन्दै गर्दा शिक्षकले स्कुल बन्द गरेर पठन पाठन मा अबरोध नपुराउनु होला । यस्ता अबरोध पुराउनेहरुलाइ कानुन (संविधान ) अनुसार कारबाही हुनेछ ।