पाँंच हजारले गरे नेक इन्जेनियम अवलोकन

काठमाडौं । भक्तपुरमा एकदिने नेक इन्जेनियम २०२३ प्रदर्शनी बिहीबार सकिएको छ । प्रदर्शनीको झण्डै पाँंच हजार विद्यार्थीले अवलोकन गरेको जनाइएको छ । त्यसका लागि आयोजकले काठमाडौं उपत्यकाका विभिन्न स्कुल कलेजहरुलाई निमन्त्रणा गरिएको थिको । साथै काठमाडौंको दुई छुुटाछुटै स्थानहरुबाट प्रदर्शनीमा आउने विद्यार्थीलाई निशुल्क बस सुविधाको व्यवस्था गरेको थियो । जिल्लाको चाँंगुनारायण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजको आयोजनामा प्रदर्शनी भएको हो । प्रदर्शनीमा आन्तरिक र बाह्य गरी एक सय भन्दा वढी स्टलहरु रहेका थिए । विशेष गरी इन्जिनियरिंग सम्वन्धि सम्वन्धित स्टलहरु वढी रहेका थिए । बाहिरका प्लस टु साइन्स र भित्रका स्नातक तहका इन्जिनियरिंगका विद्यार्थीले स्टल राखेको जनाइएको छ । प्रदर्शनीको एक कार्यक्रमवीच चाँंगुनारायण नगरपालिकाका प्रमुख एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा गठित व्यवस्थापन समितिका अध्यक्ष जीवन खत्रीले रिवन काटेर गरेका थिए । त्यस अवसरमा उनले कलेजलाई देशकै उत्कृष्ट प्राविधिक कलेजको रुपमा विकास गर्ने योजना रहेको बताए । कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले सैद्धान्तिक रुपमा सिकेका ज्ञानलाई व्यवहारिक रुपमा बुझ्ने बनाउन प्रदर्शनीको आयोजना गरेको सुनाए । प्रदर्शनी संयोजक विजय श्रेष्ठले प्रदर्शनीको क्रममा विविध प्रतियोगिता हुने जनाए । उनका अनुसार प्रदर्शनीमा ब्याच वाइज प्रोजेक्ट, ओपन प्रोजेक्ट, पोस्टर डिस्प्ले, रोबोटिक्स, पेपर ब्रिज डिजाइन, फास्टेस्ट कोडिङ प्रतियोगिता र ओपन साइन्ससहित विभिन्न प्रकारका प्रतियोगिताहरू हुने छन् । दस जोड दुईका विद्यार्थीहरूको लागि परियोजना प्रतियोगितासमेत हुने छन् । प्रदर्शनीलाई अझ रोमाञ्चक बनाउन विजेताहरूको लागि पुरस्कारको व्यवस्था रहेको उनले सुनाए । असाधारण प्रतिभा र रचनात्मकता प्रदर्शन गर्नेहरूलाई पुरस्कारहरूको व्यवस्था रहेको उनको भनाई थियो । प्रदर्शनीमा दस जोड दुईका विद्यार्थीहरूका लागि खुला विज्ञान परियोजना प्रतियोगिता पनि हुने जनाइयो । यहाँं सहभागी प्रतियोगीहरुमध्ये सर्वाेत्कृष्टलाई ३० हजारसम्मको पुरस्कारको व्यवस्था रहेको जनाइएको छ । ‘यो प्रदर्शनी प्रतिभा प्रस्फुटन मात्र होइन; यो इन्जिनियरहरू, आविष्कारकहरू र समस्या समाधानकर्ताहरूको भावी पुस्तालाई उनीहरूको कडा परिश्रमको इनाम दिँदै प्रेरणा दिनेबारे हो, प्रदर्शनी संयोजक श्रेष्ठले थपे, चाहे तपाईं विद्यार्थी, शिक्षक वा प्राविधिक नै किन नहोस् सवैका लागि नेटवर्किङका अवसरहरू र अत्याधुनिक परियोजनाहरू र डिजाइनहरू हेर्ने मौकाले भरिएको हुने हामी प्रतिज्ञा गर्दछौ ।’ विचारलाई यथार्थमा रूपान्तरण गर्दै भन्ने नाराका साथ प्रदर्शनी र प्रतियोगिताहरू हुन लागेको जनाएको छ । नेपालभरका कलेज र संस्थाहरूका विद्यार्थी, शिक्षक र प्राविधिक उत्साहीहरूलाई आयोजक नेपाल इन्जिनियरिङ कलेजमा प्रेरणा र आविष्कारको दिनमा सामेल हुन हार्दिक निमन्त्रणा गरेको छ । प्रदर्शनीका लागि प्रभु बैंक, सिद्धार्थ बैंक, नेपाल इको प्यानललगायतको प्रायोजन रहेको जनाइएको छ । त्यसकारण त्यहाँं उनीहरुका स्टलहरु पनि रहेका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौथो दीक्षान्त समारोहमा पाँच सय बढी दीक्षित

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चौथो दीक्षान्त समारोहमा पाँच सय बढी दीक्षित भएका छन् । बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको समारोहमा चिकित्सा शास्त्रका विभिन्न विषयमा २०७७ चैत देखि २०८० साउन सम्म स्नातक तथा स्नातकोत्तर उत्तिर्ण गरेका ५४१ जना विद्यार्थीहरु दीक्षित भएका हुन् । डिएम कार्डियोलोजीमा ६, डिएम ग्याष्ट्रोइाटेरेलोजीमा ६, डिएम हेपाटोलोजीमा २, डिएम मेडिकल अंकोलोजीमा २, डिएम नेफ्रोलोजीमा २, एमसीएच न्यूरोलोजीमा ५, एमसीएच प्लास्टिक एण्ड रिकन्स्ट्रक्टिभ सर्जरीमा ३, एमसीएच सर्जीकल ग्यास्ट्रोइन्टेरेलोजीमा २ र एमसीएच युरोलोजीमा ४ जना विद्यार्थी दीक्षित भएका छन् । त्यस्तै, एमडी एनेस्थेसियोलोजिस्ट ३१, एमडी डर्काटोलोजीमा ६, एमडीजीपी एण्ड ईएममा १२, एमडी ईन्टर्नल मेडिसिनमा ३०, एमडी अब्स्ट्रेटिक एण्ड गाईनेकोलोजीमा ३२, एमडी अप्थामोलोजीमा ४१ र एमडी पेडियाट्रिकमा २३ जना विद्यार्थी दिक्षित भएका छन्। समारोहमा एमडी प्याथोलोजीमा ६, एमडी साईक्याट्रीमा ३, एमडी रेडियसन अन्कोलोजीमा २, एमडी रेडियोडाइग्नोसिस्मा १४, एमएस जनरल सर्जरीमा २५, एमडी अर्थोपेडिक्स एण्ड ट्रमा सर्जरीमा १९, एमएस अर्थोराइनोलर्याङ्गोलोजी एण्ड हेड एण्ड नेक सर्जरीमा ९, एमडिएस कन्स्ट्रक्टीभ डेन्टेस्ट्री एण्ड इन्डोडेन्टिसमा ३, एमडीएस ओरल एण्ड मेक्जिलोफेसियल सर्जरीमा २, एमडिएस पेरियोडेन्टोलोजीमा एण्ड ओरल इम्प्लान्टोलोजीमा २, एमडिएस पेरोस्थोडोन्टिस्मा ४ जना र एमडीएस अर्थोडोन्टिसमा १ जना विद्यार्थी दीक्षित भए । बीएस्सी एमआईटीमा २२ र ब्याच्लर्स अफ अप्ट्रोमेट्रि एण्ड भिन साइन्समा ३२ जना विद्यार्थी दीक्षित भएका छन् । नर्सिङ तर्फ एमएन चाइल्ड हेल्थ नर्सिङ १२, एमएन-वुमन हेल्थ डेभलपमेन्ट नर्सिङमा १७, बीएनएस क्रिटिकल केयर नर्सिङमा १३० र ब्याच्लर्स इन मिडवाइफ्री साइन्समा ३२ जना विद्यार्थीहरु दीक्षित भएका छन् । दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीहरुलाई प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमाणपत्र प्रदान गरेका थिए । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उपाधि हासिल गरेका विद्यार्थीहरुको सीप र क्षमता देशका जनताको हितमा प्रयोग हुनेमा विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्राध्यापक डम्बरबहादुर कार्कीले सम्बोधन गरेका थिए । कार्यक्रममा स्वास्थ्य मन्त्री सहित विभिन्न मन्त्रालयका सचिवहरुको समेत सहभागिता रहेको थियो ।

अन्नपात र गाईभैँसी बेचेर म्याग्दीको विद्यालय पुनःनिर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित जयन्ती माध्यमिक विद्यालय भवन समुदायको अगुवाइमा पुनःनिर्माण गरिएको छ । विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश तथा विदेशमा छरिएका भकिम्लीवासीले समुदायकै नेतृत्वमा विद्यालय भवन पुनःनिर्माण गरेर जनसहभागीतामूलक विकासको नमूना प्रस्तुत गरेका छन् । विसं २०७२ देखि जयन्ती माविको विद्यालय भवन पुनःनिर्माण अभियान सुरु गरेका भकिम्लीवासीकै नेतृत्वमा अहिले २२ कोठे दुई तले विद्यालय भवन तयार भएको छ । विद्यालय भवनसँगै प्रवेशद्वार, खेलमैदान र प्याराफिट निर्माणसहित विद्यालयलाई घेरावारसमेत गरिएको छ । छरिएर रहेका साना–साना कक्षाकोठा रहेको र जीर्ण बन्दै गएको साविकको जयन्ती माविको अहिले भौतिकस्वरुप फेरिएको विद्यालयका प्रधानाध्यापक भोजबहादुर जिसीले बताए । साँघुरा र पानी चुहिने अवस्थामा पुगेका कक्षाकोठामा पठनपाठन गराउनुपर्ने बाध्यता विद्यालय पुनःनिर्माणसँगै हटेको छ । गाउँका बालबालिकाले सुविधासम्पन्न र भौतिक पूर्वाधारयुक्त भवनमा बसेर सहजरुपमा पठनपाठन गर्ने अवसर पाएका छन् । विद्यालय भवनका लागि सरकारी निकाय धाउँदा थाकेका स्थानीयवासीले प्रवासीको दरिलो साथ पाएपछि आफ्नै बलबुतामा विद्यालयको भवन ठडाउने साहस गरेका थिए । ‘प्रवासमै रहनुभएका स्थानीयवासीले विद्यालय भवन बनाउन सहयोग गर्ने प्रतिबद्धता आएपछि अभियानको थालनी भएको थियो, पछि सरकारी निकाय, सङ्घ संस्था र व्यक्तिगत सहयोग पनि जुट्न थाल्यो, अन्ततः अहिलेको यो सुविधासम्पन्न भवन सम्भव भयो’, प्रअ जिसीले भने । विद्यालय भवन पुनःनिर्माण गर्न स्थानीयवासीले पनि उत्साहजनकरुपमै जनश्रमदानदेखि नगद सहयोग जुटाएका थिए । प्रवासीले पसिना बेचेको रकम सहयोग गर्दा गाउँलेले घरको अन्नपात र गाईभैँसी बेचेर विद्यालयलाई सहयोग गरेको विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष रत्न जिसीले बताए । समुदायको अग्रसरतामा सङ्घ संस्था र सरकारी तवरबाट समेत साथ थपिएको कारण भवन पुनःनिर्माणमा राहत भएको उनको भनाइ छ । भवन बनाउने अभियानमा नगद पाँच सयदेखि १० लाखसम्म व्यक्तिगत सहयोग गरेको विद्यालयले जनाएको छ । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा अहिले एक सय ७६ विद्यार्थी अध्ययनरत छन् । यो सुविधासम्पन्न भवनमा कक्षाकोठा भवनसहित कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी, कार्यालय र स्टाफ कक्षलगायत विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर पुनले बताए। उनका अनुसार, पुनःनिर्माण भएको विद्यालय भवनको एक समारोहका बीच उद्घाटन गर्ने तयारी छ । उद्घाटन कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सहयोगदातालाई सम्मान समेत गरिनेछ । विद्यालय भवन पुनःनिर्माणमा समुदायका मात्रै दुई सय १२ चन्दादाता छन् । अमेरिका, हङकङ, स्पेन, साउदी अरेबीया, जापानलगायत मुलुकमा रहेका भकिम्लीबासीको अगुवाइमा सङ्कलन भएको सहयोग रकममा सयौँ जनाले हातेमालो गरेका छन् । हिमालयन प्रोजेक्ट बेल्जियम र नेपाल सरकारका विभिन्न निकायले समेत पुनःनिर्माण अभियानमा बजेट उपलब्ध गराएका छन् । विद्यालय भवन पुनःनिर्माणमा करिब तीन करोड ५० लाख खर्च भए पनि अहिलेसम्म चन्दादाता, सहयोगदाता, सङ्घ संस्था र सरकारी तवरबाट तीन करोड २३ लाख ५५ हजार मात्रै सहयोग जुटेको विद्यालयले जनाएको छ । कूल लागतको आधाभन्दा बढी रकम समुदाय र देश विदेशमा रहेका भकिम्लीवासीकै नेतृत्व र अगुवाइमा जुटाइएको हो । विद्यालयलाई चन्दादातामार्फत थप सहयोग आउने क्रम जारी छ । नेपाल सरकारका विभिन्न निकायबाट रु एक करोड १७ लाख बजेट प्राप्त हुँदा समुदायले व्यक्तिगत चन्दाबाट ९५ लाख, विभिन्न सङ्घ संस्थाबाट रु नौ लाख र विभिन्न देशमा रहेका भकिम्लीवासीको नेतृत्वमा ६२ लाख सहयोग जुटाएका थिए भने हिमालयन प्राजेक्ट बेल्जियमले ३८ लाख सहयोग गरेको विद्यालयले जनाएको छ । पुरानो भवन जीर्ण भएकाले गाउँका सबै सरोकारवाला र प्रवासीबीच बृहत् छलफल गरेर थालिएको अभियानबाट विद्यालयमा सुविधासम्पन्न भवन बनेको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत रहेका वडाध्यक्ष पदमबहादुर पुनले बताए । ‘विसं २०४५ मा बनाइएका साँघुरा भवनमा टिनको छानो चुहिने र पर्खाल भत्कने अवस्थामा पुगेका थिए, समुदायकै अगुवाइमा विद्यालय पुनःनिर्माण अभियान सञ्चालन गरिएको थियो, स्थानीयवासी र प्रवासी भकिम्लीवासीले मन फुकाएर सहयोग गर्नुभयो, सङ्घ संस्था र सरकारी तवरबाट पनि अभियानमा हातेमालो भयो, अब जयन्ती मावि भौतिक पूर्वाधारयुक्त बनेको छ, अबको प्राथमिकता विद्यालयको शैक्षिक गुणस्तर सुधारमा केन्द्रीत हुनेछ’, उनले भने । यो विद्यालय भवन पुनःनिर्माणमामा मात्रै होइन, विद्यालयको स्थापनादेखि नै भकिम्लीवासीले यस विद्यालयलाई निरन्तर साथ, सहयोग गर्दै आएका छन् । विसं २०१६ पुस १६ गते सत्यमान पुनको नेतृत्वमा गाउँमा यस विद्यालयको थालनी भएको इतिहास छ । विसं २०१७ मा कक्षा १ सञ्चालन गर्ने अनुमति प्राप्त गरेको यस विद्यालयले आजसम्म आइपुग्दा समयको यो खालखण्डमा धेरै आरोह अवरोध, विविध समस्या र चुनौतीलाई सामाना गर्दै अघि बढेको देखिन्छ । तत्कालीन समयमा भकिम्लीको रानीपधेरामा अवस्थित यस विद्यालयलाई स्व नारायण देवी रोकाले एक रोपनी जग्गा विद्यालयलाई उपलब्ध गराएपछि हालको स्थानमा स्थानान्तरण गरिएको थियो । विसं २०२८ मा प्राविबाट निमावि तहमा स्तरोन्नति भएको यो विद्यालयमा २०५१ सालमा महायज्ञ सञ्चालन गरेर विद्यालयलाई माध्यमिक तहमा स्तरवृद्धि गरिएको थियो । लामो समयसम्म निजी स्रोतबाट मावि सञ्चालन गरेको यस विद्यालयमा समुदायले शिक्षकको तलब सुविधा र विद्यालयको भौतिक पूर्वाधारमा स्थापनाकालदेखि नै अतुलनीय योगदान गर्दै आएका छन् । तत्कालीन समयमा पिपलको बोटमुनिको चौतारीबाट पठनपाठन गराउन सुरु भएको यस विद्यालय आजको अवस्थामा पुगेको हो । रासस