मदन भण्डारी विश्वविद्यालयमा पढ्ने विद्यार्थीलाई पिएचडी गर्न मासिक तिस हजार छात्रवृत्ति
मकवानपुर । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यार्थीलाई मासिक ३० हजार रुपियाँसम्मको छात्रवृत्तिसहित स्नातकोत्तर र विद्यावारिधिको शैक्षिक कार्यक्रम सुरु गरेको छ । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा यही वर्षबाट स्नातकोत्तर तहका विद्यार्थीलाई मासिक २५ हजार र विद्यावारिधिमा अध्ययन गर्ने विद्यार्थीलाई मासिक ३० हजार रुपियाँको छात्रवृत्तिसहितको भर्ना कार्यक्रम सुरु गरेको छ । यो वर्ष विश्वविद्यालयले ३२ जना विद्यार्थीलाई अध्ययनका लागि भर्ना आह्वान गरेको हो । चित्लाङमा बिहीबार आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार विश्वका राम्रा विश्वविद्यालयसँग प्रतिस्पर्धा गराउन र अनुसन्धानमा आधारित अध्ययनलाई अघि बढाउने उद्देश्यले चार वटा विषयमा भर्ना सुरु गरिएको हो । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिका अध्यक्ष प्रा। राजेन्द्रध्वज जोशीले विश्वका उत्कृष्ट विश्वविद्यालय सहयोग रकमबाटै सञ्चालन भएको चर्चा गर्दै कम्तीमा एक लाख मानिसबाट एक अर्ब रुपियाँ संकलनको लक्ष्यसहित भर्ना कार्यक्रम शुभारम्भ गरेको जानकारी दिए । उनले विश्वविद्यालयसँग रहेको भौतिक प्रगतिका बारेमा जानकारी दिँदै विश्वविद्यालयसँग हाल ३० लाख रुपियाँ मात्रै मौज्दात रहेको उल्लेख गरे। विश्वविद्यालयसँग हाल तीन वटा सुविधासम्पन्न भवनसहित १८० रोपनी जग्गा रहेको छ । सो जग्गा स्थानीय स्वछन्द भैरव माध्यमिक विद्यालयले विश्वविद्यालयलाई उपलब्ध गराएको थियो । उनका अनुसार नेपाल सरकारले विश्वविद्यालयको भौतिक पूर्वाधारका लागि ९५ करोड रुपियाँ विनियोजन गरिसकेको छ । सरकारले एक अर्ब ४० करोडको बजेट सुनिश्चितसमेत गरिसकेको छ । विश्वविद्यालयले वन क्षेत्रमा त्यसै खेर गइरहेको कुकाठलाई कसरी आम्दानीको स्रोत बनाउन सकिन्छ भनेर अध्ययन गर्ने उद्देश्यले वनमा आधारित अध्ययनको स्नातकोत्तर तथा विद्यावारिधिको कक्षा सञ्चालन गर्न लागेको जनाइएको छ । यसले नेपालको वन क्षेत्रको आम्दानीका आधार खुला हुने अपेक्षा गरिएको छ । त्यसका लागि विश्वविद्यालयमा सुविधासम्पन्न ल्याबसमेत निर्माण भइसकेको छ । विश्वविद्यालयका वित्त प्रमुख शम्भु अधिकारीका अनुसार प्राङ्गारिक कृषिमा विद्यावारिधि तथा स्नातकोत्तरको कक्षा सुरु गर्न लागिएको हो । उनले नेपाल कृषिप्रधान मुलुक भएकाले प्राङ्गारिक खेती प्रणालीको खोज तथा अनुसन्धानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । विश्वमा पहिलो पटक पर्यटन पूर्वाधारको विधावारिधि कक्षा सुरु भएको दाबी विश्वविद्यालयको छ । डा. सबिना श्रेष्ठले नेपालमा पर्यटनको अत्यधिक सम्भावना रहेको तथा पर्यटन पूर्वाधारको विकास हुन नसकेको अवस्थामा यसले ठुलो सहयोग पुर्याउने बताए। चार वटा सङ्कायमा पहिलो वर्ष चाररचार जना विद्यार्थीलाई भर्ना लिइने जनाइएको छ । विश्वविद्यालयले कुनै पनि प्राध्यापक तथा कर्मचारीलाई स्थायी नगर्ने अवधारणा अघि सारेको छ । काम गरेको दिनमा सुविधा दिने तर काम नगरेको दिनमा सेवा नपाउने गरी प्राध्यापक नियुक्तिको प्रक्रिया अघि बढाएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले २० क्रेडिट आवरको सैद्धान्तिक र ५० क्रेडिट आवसर अनुसन्धानमूलक कक्षा सञ्चालन गर्ने जनाइएको छ । गाेरखापत्रबाट ।
आइसिटी अवार्ड छनौटको लागि पब्लिक भोटिङ हुने
काठमाडौं । प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय रहेको आइसिटी अवार्ड कार्यक्रम अन्तर्गत यस वर्षका लागि विभिन्न ३ विधामा उत्कृष्ट ५ को सार्वजनिक गरिएको छ । स्टार्टअप आइसिटी अवार्ड २०२३, प्रडक्ट आइसिटी अवार्ड २०२३ र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ विधामा १४ जना जुरी सदस्यहरुको छनौटको आधारमा आज उत्कृष्ट ५ को घोषणा गरिएको हो । उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरुमा भोजमाण्डु फुड प्रालि, दियो एआई टेक्नोलोजी प्रालि, जीजी कर्पोरेसन प्रालि, रासन टेक्नोलोजिज प्रालि र यार्सा टेक प्रालि रहेका छन् । यसैगरी प्रडक्ट आइसिटी अवार्ड अन्तर्गत उत्कृष्ट ५ प्रडक्टहरुमा डिजी बज, फास्ट बैंकिङ, मनि मित्र, क्युकआरपिए र यात्री पी-१ रहेका छन । राइजिङ स्टार इन्नोभेसन विधा अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरुमा ब्लाङ्सेर, ड्रेसन, द्रिश्य, इन्टर्नसाथी र प्रष्ट नेपाली रहेका छन् । आइसिटी अवार्ड २०२३ का यि ३ विधाहरुमा २०० बढीको नोमिनेसन प्राप्त भएको थियो । उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रडक्टले गत असोज १९ र २० गते काठमाडौंमा आयोजना भएको स्टार्टअप एण्ड आइडिया फेस्टमा सहभागी भएर प्रडक्ट र स्टार्टअप प्रदर्शनीमा राखेका थिए । यसैगरी उनिहरुले असोज २७ गते आयोजना भएको ग्राण्ड जुरी सेसन अन्तर्गत प्रिजेन्टेसन एण्ड स्पिड डेटिङमा पनि सहभागी भएर प्रस्तुती दिएका थिए । उनिहरुको प्रस्तुती, आइडिया र स्टार्टअपको बारेमा कान्तिपुर टेलिभिजनमा विशेष टेलिभिजन शो पनि प्रशारण हुने आयोजकले जनाएको छ । विभिन्न ३ विधामा छनौट भएका उत्कृष्ट ५ हरुले केहि समयपश्चात सञ्चालन हुने पब्लिक भोटिङमा सहभागी हुनेछन भने स्र्टाअप लगायतका विधामा जुरी समितीले कार्यालय भिजिट पनि गर्नेछ । उत्कृष्ट ५ मा पर्र्न असफल स्टार्टअप, प्रडक्ट र राइजिङ स्टारहरुले पनि पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ विधामा सहभागी हुन पाउनेछन । सर्वोत्कृष्टलाई पुस ६ गते आयोजना हुने ग्राण्ड फिनाले कार्यक्रममा विशेष सम्मान गरिने अयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । यसैगरी आइसिटी अवार्ड २०२३ अन्तर्गत अन्य व्यत्तिगत र सस्थागत अवार्ड विधाहरुमा पनि छनौट प्रकृया जारी रहेको छ । प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्डका विधाहरुमा दोश्रो चरणको छनौट प्रकृया सञ्चालनमा छ । त्यस्तै, डिजिटल एजुकेसन, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस विधामा पहिलो चरणको छनौट प्रकृया सञ्चालन भइरहेको छ । साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड विधामा नोमिनेसन अवधी समाप्त भएर स्क्रिनिङ भइरहेको आयोजकले जानकारी दिएको छ । साउथ एसिया स्र्टाटअप अवार्डमा विभिन्न ६ देशबाट ६० बढीको नोमिनेसन प्राप्त भएको छ । यस विधामा सर्वोत्कृष्ट छनौटकोे लागि भारत, बंगलादेश, पाकिस्तान र श्रिलंकाबाट जुरी सदस्यहरु रहेका छन । क्रम लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड सन् २०१६ बाट सुरु भएको हो । यस वर्ष आठौ सस्करण अन्तगर्तको आइसिटी अवार्डमा १३ विधामा ५५० बढीको अनलाइन नोमिनेसन प्राप्त भएको छ । छनौटको लागि १४ जना बिज्ञ जुरी सदस्यहरु रहेका छन भने १३ जनाको शिशिष्ट सल्लाहकार समिती रहेको छ । अवार्डमा छनौट प्रकृयाको लागि २५ बढी जुरी मिटिङ र प्रवद्धनको १० बढी प्रि-इभेन्ट क्याम्यिनसँगै टेलिभिजन शो पनि सञ्चालन हुनेछ । यस अवार्ड कार्यक्रममा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दुरसञ्चार प्राधिकरण, नास्ट, एफएनसिसिआई, न्यास आइटीलगायतका राष्ट्रिय, अन्तराष्ट्रिय सस्थाहरुको सहकार्य रहेको छ ।
आइआइएमएसका प्राध्यापकहरुलाई टेलर्स विश्वविद्यालयद्वारा प्रशिक्षण
काठमाडौं । आइआइएमएस कलेजका प्राध्यापकहरुलाई विश्वको प्रतिष्ठित टेलर्स विश्वविद्यालय, मलेसियाले प्रशिक्षण प्रदान गरेको छ । विश्वस्तरीय शैक्षिक ब्राण्ड स्थापित गरेको विश्वविद्यालयले सम्बन्धन लिएका कलेजहरुको शैक्षिक गुणस्तर र व्यवस्थापन उत्कृष्ट बनाउन प्रशिक्षण प्रदान गरेको हो । आइआइएमएस कलेका अनुसार मलेसिया स्थित विश्वविद्यालयमा अक्टोबर १८ देखि २३ सम्म भएको प्रशिक्षण कार्यक्रममा कलेजको तर्फबाट ७ जना सहभागी भएका थिए । जसमा ब्याचलर अफ कम्प्युटर साइन्स फ्याकेल्टीको तर्फबाट एकेडेमिक को-अर्डिनेटर सुजन अर्याल, प्रोग्राम को-अर्डिनेटर आहाना श्रेष्ठ, लेक्चर सुदिप तिमल्सिना र लेक्चर सचिन श्रेष्ठ सहभागी भएका थिए । त्यस्तै, प्रशिक्षण कार्यक्रममा ब्याचलर अफ इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट फ्याकेल्टीको तर्फबाट एसोसिएट डाइरेक्टर अस्वीनी कुमार लघु, प्रोग्राम को-अर्डिनेटर रिमा मानन्धर र टिम लिडर तथा लेक्चर सुमित रायमाझी सहभागी भएका थिए । कार्यक्रममा सहभागी ब्याचलर अफ इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्टका एसोसिएट डाइरेक्टर अस्वीनी कुमार लघुले विश्वविद्यालयमा आफूहरुले प्रशिक्षण र अध्ययन अवलोकन भ्रमण गरेको बताए । टेलर्स विश्वविद्यालयमा के कसरी अध्यापन गर्ने काम गरिन्छ, शैक्षिक प्रशासनको व्यवस्थापन कसरी हुन्छ, अध्ययन अध्यापनमा सूचना प्रविधिको प्रयोग कसरी गरिन्छ, परीक्षा कसरी लिने काम गरिन्छ लगायतका विषयहरुमा प्रशिक्षण र अवलोकनको माध्यमबाट अनुभव आदानप्रदान गर्ने काम गरिएको थियो । एसोसिएट डाइरेक्टर लघुका अनुसार विद्यार्थीलाई कसरी पढाउने, शिक्षण सामग्री कसरी बनाउने, संकायमा के–के विषयहरुको आवश्यक पर्छ, परीक्षा पत्र कसरी तयार गर्ने जस्ता महत्वपूर्ण विषयहरु टेलर्स विश्वविद्यालयले प्रशिक्षण तथा प्रत्यक्ष अवलोकनको माध्यमबाट अनुभव प्रदान गर्ने काम गरेको थियो । प्रशिक्षणको क्रममा विद्यालय तह अर्थात् कक्षा १२ उत्तिर्ण भएर विश्वविद्यालय तहको अध्ययन गर्न आउने विद्यार्थीहरुमा के कस्ता मनोवैज्ञानिक समस्या देखिन सक्छन र ती समस्याहरु समाधान गर्न के कसरी परामर्श गर्ने भन्ने विषयमा पनि अनुभव आदान प्रदान गरिएको थियो । विश्वस्तरीय शैक्षिक प्रतिष्ठा हासिल गरेको टेलर्स विश्वविद्यालयको कलेजमा कसरी गुणस्तर कायम गर्न नीतिगत र व्यवहारिक रुपमा के–के गर्न आवश्यक छ भन्ने विषयमा पनि धारणा साझा गर्ने काम भएको कार्यक्रममा सहभागी भएका एसोसियट डाइरेक्टर लघुले बताए । उनका अनुसार आधुनिक प्रविधिलाई अध्यापनमा कसरी जोड्ने, भौतिक पूर्वाधार कस्तो हुनुपर्ने विषयमा पनि प्रशिक्षण तथा अनुभव आदानप्रदान गरिएको थियो । टेलर्स विश्वविद्यालयमा सम्बन्धन लिएर सञ्चालन भएका कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई एक सेमेस्टर विश्वविद्यालयमा नै अध्ययन गर्ने सुविधा रहेको छ, सो विषय र विश्वमा जुनसुकै ठाउँमा कलेजका विद्यार्थीलाई कसरी इन्टर्नसिपमा पठाउन सकिन्छ भन्ने विषयमा पनि आवश्यक छलफल भएको उनले बताए । साथै, विद्यार्थीहरुको तथ्यांक फाइलिङ कसरी व्यवस्थापन गर्ने विषयमा पनि प्रशिक्षण तथा अवलोकनमार्फत् धारणा साझा गरिएको थियो । टेलर्स विश्वविद्यालयले सम्बन्धन आफूसँग सम्बन्धन लिएका कलेजहरुलाई नियमित नियमन गर्ने, आवश्यक प्रशिक्षण दिने, विश्वविद्यालयकै लेक्चरहरुमार्फत् प्रत्यक्ष अध्यापन गराउने काम गर्दै आएको छ । प्रशिक्षणको सन्दर्भमा अहिलेसम्म भर्चुअल हुने गरेकोमा पहिलोपटक कलेजका प्राध्यापकहरुलाई विश्वविद्यालयमा नै आमन्त्रण गरेर प्रत्यक्ष प्रशिक्षण तथा अवलोकनको अवसर प्रदान गरेको हो । विश्वविद्यालयले प्रदान गरेको सो अवसरले आइआइएमएस कलेजको आगामी शैक्षिक तथा व्यवस्थापकीय गुणस्तर थप विकास योगदान पुर्याउने अपेक्षा गरिएको छ ।