नेपालको उच्च शिक्षा चुनौतीपूर्ण छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण रहेको बताएका छन् । ‘उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्तर्राष्ट्रियकरण’बारे उपकुलपतिहरुको सम्मेलनलाई आज काभ्रेलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उनले उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवं डिजिटल पूर्वाधारको विकासमा केन्द्रित गर्नुपर्ने बताए । ‘एकातर्फ गुणस्तरीय प्राविधिक एवं व्यावसायिक उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवं डिजिटल पूर्वाधार, दक्ष जनशक्ति र शिक्षापछिको रोजगारीका अवसर सिर्जनाका लागि ठूलो लगानी आवश्यक छ’, प्रधानमन्त्रीले भने, ‘त्यसका लागि राज्यले पर्याप्त लगानी गर्न सकेको छैन । अर्कातर्फ, मुलुकले लगानी गरेर उच्च शिक्षा अध्ययन गराई विश्वविद्यालय शिक्षामा प्रवेश गर्न तयार पारेका जेहेन्दार युवा नै मुलुक छोडेर बाहिर जाने परिपाटी छ ।’ नेपालमा विश्वविद्यालय खोल्नेको सङ्ख्या बढ्दै जाँदा पर्याप्त विद्यार्थीको अभावले संकट निम्त्याउँदै लगेको उल्लेख गर्दै यो चुनौतीलाई पूर्ण सरकारी अनुदानमा चल्ने सबै विश्वविद्यालयले सुधारको अवसरका रुपमा लिनुपर्नेमा उनले जोड दिए । सबै विश्वविद्यालयका समकक्षीलाई एकै ठाउँमा उपस्थित गराउने प्रयास हाम्रा लागि नौलो प्रयास भएको प्रधानमन्त्रीको भनाइ छ । ‘काठमाडौं विश्वविद्यालयले आगामी महिना आयोजना गर्न लागेको ‘एशोसियसन अफ इण्डियन युनिभर्सिटिज’को उत्तरपूर्वीय क्षेत्रका दुई सय ५० भन्दाबढी विश्वविद्यालयका उपकुलपतिको सम्मेलनको तयारीका साथै त्यसमा प्रस्तुत गर्ने नेपालको राष्ट्रिय धारणा बनाउन आजको कार्यक्रम विशेष पनि सहयोगी हुनेछ’, प्रधानमन्त्री दाहालले भने । संसारका विश्वविद्यालय शिक्षा अहिले अकल्पनीय खोज अनुसन्धान र नवप्रवर्तनको युगमा प्रवेश गरेको स्पष्ट पार्दै उनले अन्तरीक्ष विज्ञान, न्यानो टेक्नोलोजी, क्वान्टम फिजिक्स, क्वान्टम कम्प्युटिङ, जेनटिक इञ्जिनियरिङ, सूचना–प्रविधि, बिग डाटा एनालिटिक्सदेखि मानव मनोविज्ञान र योग-ध्यानको लाभबारे प्रयोगशालामा अध्यापन हुन थालेको उल्लेख गरे । ‘नेपालले यो प्रतिस्पर्धामा आफूलाई परिवर्तन गर्नु जरुरी छ। उच्च शिक्षाको गुणस्तरलाई विश्वस्तरीय बनाउने प्रयास गर्न सकिएन भने हाम्रा युवा लाखौंको सङ्ख्यामा अध्ययनकै लागि मुलुक छोडेकामा गुनासो मात्रै गर्ने अवस्था आउने छ’, प्रधानमन्त्रीले भने, ‘यो परिस्थितिलाई बदल्न राज्य, विद्वतवर्ग र शैक्षिक संस्थालगायत सबैको साझा जिम्मेवारी हो ।’ नेपालले सबै क्षेत्रमा उत्तिकै प्रतिस्पर्धा गर्न सम्भव नभएको स्पष्ट पार्दै उनले उच्च शिक्षामा समावेश गर्नसक्ने योग विज्ञान, प्राकृतिक चिकित्सा, हिमालय क्षेत्रको पर्यावरण र जलवायु परिवर्तनको अध्ययनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । यस्तै बौद्ध शिक्षा, पूर्वीय वास्तुकला र दर्शन आदिजस्ता हाम्रा तुलनात्मक लाभ भएका क्षेत्रमा केन्द्रित गरेर त्यसलाई अन्तर्राष्ट्रियकरण गर्नसकेमा मुलुकले ठूलो लाभ लिनसक्ने उनको भनाइ थियो । उद्यमशीलता र ‘स्टार्ट-अप इकोसिस्टम’लाई शिक्षा, सरकारी नीति र लगानी-सम्भव क्षेत्रसँग आबद्ध गर्दै लैजाने प्रयास अझै प्रतिफलमुखी हुन नसक्दा रोजगारीका अवसरहरुको सिर्जना हुन नसकेको प्रधानमन्त्री दाहालले बताए । वर्तमान सरकारले उच्च शिक्षाको समकक्षता निर्धारणको जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगलाई दिएर राष्ट्रिय मापदण्ड निर्धारणमा एउटा इँटा थपेको उनको भनाइ थियो । विश्वविद्यालयको गतिविधिलाई क्षेत्रीय एवं अन्तर्राष्ट्रियकरण गर्ने यो एउटा महत्वपूर्ण प्रयास भएको तथ्य पेस गर्दै प्रधानमन्त्रीले मुलुकको उच्च शिक्षामा एकरुपता कायम गर्न राष्ट्रिय योग्यता प्रारुपको विश्वविद्यालय अनुदान आयोगले तयारी गरिरहेको स्पष्ट पारे। उनका अनुसार उच्च शिक्षाको एकीकृत क्यालेण्डरसमेत तयार भई कार्यान्वयनमा रहेको छ । पाठ्यक्रम निर्धारण, परीक्षा प्रणाली, प्रयोगशालाको स्थापना एवं प्रयोग र खोज अनुसन्धानका कृति प्रकाशनलगायत क्षेत्रमा विश्वविद्यालयबीच सहकार्य हुनसके उपलब्ध स्रोतसाधनको सदुपयोग हुने प्रधानमन्त्रीले बताए । ‘नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउने परिकल्पनालाई व्यवहारिक बनाउन नीतिगत र संरचनागत पूर्वाधार बनाएर समाधानमुखी प्रस्तावना गर्नुपर्ने आवश्यकता छ’, प्रधानमन्त्री दाहालले भने । सबै विश्वविद्यालयको पदेन कुलपति हुने व्यवस्था अव्यावहारिक रहेको जनाउँदै उनले कुनै पनि राजनीतिक हस्तक्षेप बिना त्यसको विकल्प खोज्नुपर्नेमा जोड दिए । ‘विश्वविद्यालय आफ्नै स्रोतसाधनबाट सञ्चालन हुनसक्ने हुँदा नयाँ विकल्प खोज्न सक्नेछन्। प्रदेशस्तरमा स्थापना भइरहेका विश्वविद्यालयको गुणस्तर र शैक्षिक मानकको नियमन भविष्यमा थप चुनौतीको विषय बन्नुअगावै नीतिहरुले प्रष्ट दिशा लिनुपर्ने अर्को चुनौती थपिएको छ’, प्रधानमन्त्रीले भने । हाम्रा सबै विश्वविद्यालयले क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा उच्च शिक्षामा देखिएको परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ्ने अठोट लिनुपर्ने उनको भनाइ थियो । विश्वविद्यालयबीच एकआपसमा समन्वय गरी एकआपसमा अध्ययन, अनुसन्धान र सिकाइलाई बाँड्न सकिने प्रधानमन्त्री दाहालको धारणा छ। विश्वविद्यालयका विभिन्न तहमा कार्यरत नेतृत्वले राजनीति जोडेर गुणस्तरीय शिक्षा दिनका लागि गम्भीर भएर लाग्नुपर्नेमा उनले जोड दिए । रासस
मदन भण्डारी स्वास्थ्य विज्ञानका प्राध्यापकले तलव नपाएपछि ४ महिनादेखि पठनपाठन ठप्प
काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै विरोधमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन ठप्प भएको हो । बागमती प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राध्यापक कल्याणकारी समिति हेटौँडाका अध्यक्ष विश्वास सापकोटाले भने, ‘प्रतिष्ठानमा सेवारत २४ जना प्राध्यापकले विगत चार महिनादेखि तलब र भत्तालगायतका अन्य सुविधाबापतको रकम पाएका छैनन् ।’ उनका अनुसार प्रतिष्ठानमा गत कात्तिक २२ गतेदेखि पठनपाठन ठप्प छ । अध्यक्ष सापकोटाले भने, ‘प्रतिष्ठानले प्राध्यापकको दैनिकी नै चलाउन समस्या पर्ने अवस्थामा पुग्दासमेत तलब भत्ता र अन्य सुविधाबापतको रकम भुक्तानी नदिएकाले ‘पेनडाउन’ गरेका हौँ ।’ प्राध्यापकहरूले ‘पेनडाउन’ गरेसँगै पठनपाठन पूर्णरूपमा ठप्प भएको छ । पठनपाठन बन्द हुँदा विद्यार्थी मर्कामा परेका छन् । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)को तलब सुविधाबापतको रकम पनि सङ्घर्षपूर्ण तवरबाट प्राप्त गरेको र त्यसयताको रकम भुक्तानीमा प्रतिष्ठानले कुनै चासो नदिएको उनको भनाइ छ । तलब भत्तालगायतका सुविधाबापतको रकम माग गर्दा प्रतिष्ठानबाट मन्त्रालयले पैसा नपठाएको भन्ने जवाफ दिँदै आएको जनाइएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष डा.सुदर्शन शेरचनले प्रदेश सरकारले छात्रवृत्तिबापतको रकम प्रतिष्ठानमा नपठाउँदा प्राध्यापकहरूको तलब भत्ताबापतको रकम भुक्तानी दिन समस्या भएको बताए । प्रतिष्ठानले स्नातक तहको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ र ल्यावरोटरी विषयमा चिकित्सा शिक्षा आयोगले तोकेको कोटामा विद्यार्थी सहभागी गराएर अध्यापन गराइरहेको छ ।
अमेरिका र क्यानडा शिक्षा मेला काठमाडौंमा हुँदै
काठमाडौं । जाम्बोरी एजुकेशन नेपालले अमेरिका र क्यानडा विश्व विद्यालय फेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । शनिवार अर्थात नोभेम्बर २५ तारिखमा जाम्बोरीको कार्यालय स्थित पुतली सडकमा कार्यक्रम हुने जनाइएको छ । कार्यक्रममा प्रतिष्ठीत अमेरिकी र क्यानाडाली विश्व विश्विद्यालयले आफ्नो देशमा भइरहेको शैक्षीक गतिविधिबारे कार्यक्रममा जानकारी गराउनेछन् । जसले नेपाली विद्यार्थीहरुका लागि सहज हुने अपेक्षा गरिएको छ । विद्यार्थीले आफ्नो भविष्यको लागि अहिले नै के गर्ने, कसरी शिक्षा ग्रहण गर्ने भन्ने बारेमा कार्यक्रमका विशिष्ट व्यक्तिहरुले धारणा राख्ने भएका छन् । कार्यक्रममा २५ भन्दा बढी विश्व विद्यालय र कलेजका प्रतिनिधिको सहभागिता रहनेछ । सहभागी अमेरिका र क्यानडा विश्व विद्यालयका प्रतिनिधिहरुले विश्वभरको शिक्षा डिजीटलबाट कसरी एकरुपता गर्न सकिन्छ भन्नेबारे जानकारी गराउने जनाइएको छ । कार्यक्रममा सहभागिले विश्व विद्यालयका प्रतिनिधिहरुलाई प्रश्नसमेत गर्न सक्नेछन् । नेपालको शिक्षा र बाह्य देशको शिक्षा विषयमा बहस हुने भएकाले यो कायक्रम अन्वेषणको मञ्चमात्र नभइ बृहत तयारीको हब हुने जाम्बोरीले जनाएको छ । जसले गर्दा विद्यार्थीहरुले आफ्नो आफ्नो शैक्षिक यात्रामा आउने चुनौतीसँग तयार रहन सक्षम राख्ने दावी गरेको छ । कार्यक्रममा विद्यार्थीमात्र नभइ शिक्षासँग सरोकार राख्नेहरुका लागि पनि उपयोगीमुलक रहने भएकाले सहभागी हुन जाम्बोरीले आग्रह गरेको छ ।