सबै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यम, शैक्षिक संरचनामा ६ करोड लगानी
फिक्कल । अधिकांश अभिभावक आफ्ना बालबालिकाहरुलाई अङ्ग्रेजी माध्यमबाट पढाउनकै लागि निजी विद्यालय रोज्छन् । शहरी क्षेत्रका अभिभावकलाई त सहज नै छ, घरबाट नजिकै प्रसस्तै निजी विद्यालयहरु पाइन्छन् । ग्रामीण क्षेत्रमा नजिकै निजी विद्यालय नहुने भएका कारण बालबालिका पढाउन सहर नै पस्नुपर्ने अवस्था भए पनि इलामको चुलाचुली गाउँपालिकामा त्यस्तो बाध्यता छैन । गाउँपालिकाका सबै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाउन थालेपछि त्यस्तो बाध्यता हटेको हो । चुलाचुली गाउँपालिकाले सबै सरकारी विद्यालयमा आधारभूत तह कक्षा–५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ । सरकारी विद्यालयमै अङ्ग्रेजी माध्यममा पढाई हुन थालेपछि बालबालिकालाई अङ्ग्रेजी माध्यम पढाउनकै लागि शहर पसेका अभिभावकहरु समेत गाउँ फर्कन थालेका छन् । सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण समेत बढ्न थालेको छ । सरकारी विद्यालयमा नेपाली माध्यमबाट पढाइ हुने र अभिभावकको चाहना अङ्ग्रेजीमाध्यम बन्दै गएकाले सरकारी विद्यालयमा समेत अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । ‘अङ्ग्रेजी माध्यमबाट पढाउन अब अभिभावकहरुले निजी विद्यालयको भर पर्नु पर्दैन’, अध्यक्ष केरुङले भने, ‘स्थानीय सरकारले अभिभावकको अङ्ग्रेजी माध्यमको चाहनालाई मध्यनजर गर्दै सरकारी विद्यालयमा पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको हो ।’ गाउँपालिकाले प्रत्येक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउन अनुदान कोटामा शिक्षक दिएको छ । अङ्ग्रेजी माध्यमका लागि गाउँपालिकाले २५ जना निजी शिक्षक नियुक्त गरी अनुदान दिँदै आएको छ । सबै विद्यालयमा पूर्वप्राथमिक तहमा निजी विद्यालयमा जस्तै नर्सरी, एलकेजी र युकेजी कक्षासमेत सञ्चालन गर्दै आएको छ । तीन तहका विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क पाठ्युस्तक र पाठ्यसामग्री उपलब्ध गराउँदै आएको छ । शिक्षा क्षेत्रमा देखिएका कमी कमजोरीलाई क्रमिक रुपमा सुधार गर्दै लैजाने योजनाअनुसार पहिलो काम अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको शिक्षा शाखा प्रमुख राम मिश्रले बताए । ‘सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सबै विद्यायमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको हो । यसका लागि गाउँपालिकाले शिक्षक अनुदान दिएको छ’, उनले भने, ‘अहिले निजी विद्यालय छाडेर सरकारी विद्यालयमा विद्यार्थी आउन थालेका तथ्याङ्क प्राप्त भएको छ ।’ अङ्ग्रेजी माध्यमबाट अध्यापन भएपछि निजी विद्यालय र सरकारी विद्यालयमा फरक नहुने समाजमा स्थापित हुँदै गएको समेत उनले बताए । आफ्ना छोराछोरीलाई गाउँकै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यममा पढ्न पाएपछि अभिभावकहरु समेत खुसी भएका छन् । हुन त धेरै अभिभावकहरुले आफ्ना बालबालिकाहरु देखासिखी वा फेसनका रुपमा भएपनि चर्को शुल्क तिर्न बाध्य भइरहेको परिस्थितिमा सरकारी विद्यालयमा पढाउन पाउने भएकाले आजभोलि अभिभावकहरु निकै खुसी हुनु स्वभाविक हो । चुलाचुली गाउँपालिका– १ की विशु राई सरकारी विद्यालयले अङ्ग्रेजी माध्यममा पढाई सुरु गरेकाले आफूलाई निकै खुसी लागेको बताउछन् । उनले थप्दै भने, ‘न्यून आय भएकाहरुलाई सरकारी स्तरबाट गरेको यो प्रयास सह्रानीय छ । यसलाई निरन्तरता दिएर जानुपर्छ ।’ त्यसैगरी अर्का अभिभावक अनिस राईले सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन हुन थालेपछि खुसी लागेको बताए । उनले घर नजिकैको सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यम लागू भएपछि आफ्नो निजी विद्यालय पढ्दै गरेको बच्चालाई समेत सरकारी विद्यालयमा ल्याए । धेरै अभिभावकहरुले आफ्ना बालबालिकाहरुलई गुणस्तरीय शिक्षाका लागि चर्को शुल्क तिरेर निजी विद्यालयमा पठाउन बाध्य भइरहेको परिस्थितिमा सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउन पाउने भएकाले यस क्षेत्रका अभिभावकहरु खुसी भएका हुन् । सरकारी विद्यालयमा अङग्रेजी माध्यम लागू गरेपछि विद्यार्थी सङ्ख्या समेत बेढको वडा नं. १ कमलस्थित जनता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक विशाल लिम्बू बताउछन् । ‘अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरेपछि झण्डै १५ प्रतिशत विद्यार्थी सङ्ख्या बढेको छ’ उनले भने, ‘कतिपय अभिभावकहरुले त आफ्ना छोराछोरी बोर्डिङबाट निकालेर समेत यहाँ ल्याएका छन् ।’ चुलाचुली गाउँपालिकामा आठ माध्यमिक, १३ आधारभूत, दुई सामुदायिक सिकाई केन्द्र र १६ वटा बालविकास केन्द्र छन् । सबै तहमा पाँच हजार विद्यार्थी अध्ययरत रहेको गाउँपालिका शिक्षा शाखाको तथ्याङ्कमा उल्लेख छ । उता निजीतर्फ एउटा माध्यमिक र पाँच वटा आधारभूत विद्यालय छन् । शैक्षिक संरचनामा ६ करोड बढी लगानी चुलाचुली गाउँपालिकाको शैक्षिक क्षेत्र सुधार गर्नका लागि जनप्रतिनिधि र कर्मचारी तल्लीन छन् । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा शैक्षिक क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने गरेको छ । शैक्षिक सुधारका लागि पछिल्लो दुई वर्षमा रु छ करोड बढीको विभिन्न शैक्षिक संरचनाहरु तयार भएका छन् । गाउँपालिकाका सात वटा विद्यालयमा पक्की भवन निर्माण सम्पन्न गरिएको छ भने दुई वटाको निर्माण सम्पन्नको चरणमा रहेको गाउँपालिका अध्यक्ष केरुङले जानकारी दिए । वडा नं २ स्थित जनता माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा (सिभिल इन्जिनियरिङ)को पढाई भइरहेको छ । स्थानीयस्तरमा जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्राविधिक शिक्षाको पढाई सुरु गरिएको प्रधानाध्यापक लक्ष्मीश्वेरप्रसाद बनबरिया यादवले बताए । सो विद्यालयमा सिभिल इन्जिनियरिङका एक सयसहित करिब सात सय विद्यार्थी अध्ययनरत छ । सो विद्यालयलाई गाउँपालिकाले स्कूल बस उपलब्ध गराएको छ । रु ४१ लाख ६९ हजारमा स्कूलबस खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए । ‘‘हामी सरकारी विद्यालयलाई अब्बल बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्ने अभियानमा जुटेका छौँ’’ अध्यक्ष केरुङले भने, ‘‘सिभिल इन्जिनियर अध्ययनरत विद्यार्थीसहित अन्य विपन्न वर्गका विद्यार्थीको शिक्षामा सहज पहुँचको लागि बस सेवाले टेवा पुग्ने हाम्रो विश्वास छ ।’’ गाउँपालिकाबाट विद्यालयलाई स्कूल बस प्राप्त भएपनि सम्पूर्ण सञ्चालनको जिम्मा विद्यालयले नै लिएर सञ्चालन गरिएको प्रधानाध्यापक यादवले बताए । बसको सुविधाले छिमेकी जिल्ला झापाको दमक, केर्खालगायत क्षेत्रबाट आउने विद्यार्थीसमेत लाभान्वित भएका छन् । सो विद्यालयमा प्राविधिक शिक्षातर्फ कोशी प्रदेशका सबै जिल्ला र मधेस प्रदेशका सिराहा, सप्तरी, सर्लाहीलगायत जिल्लाका विद्यार्थी छन् । उनीहरु झापाको दमकमा बसेर बिहान कक्षा लिन चुलाचुली आउने गर्दछन् । चार विद्यालयमा लिम्बू भाषा पठनपाठन त्यस्तै, चुलाचुली गाउँपालिकाले मातृभाषा शिक्षा समेत लागू गरेको छ । चुलाचुली गाउँपालिकाले चारवटा विद्यालयमा स्थानीय मातृभाषा लिम्बू भाषा पठनपाठन गर्दै आएको छ । चुलाचुली गाउँपालिका–१ मा जनता माध्यमिक विद्यालय, फाल्गुनन्द बहुभाषिक लफाङ पाठशाला र शिवज्योति आधारभूत विद्यालय तथा वडा नं। ४ स्थित किरात चोलुङ आधारभूत विद्यालयमा लिम्बू भाषा पठनपाठन भइरहेको शिक्षा शाखा प्रमुख मिश्रले जानकारी दिए । गाउँपालिकाले मातृभाषा शिक्षाका लागि समेत एक-एक जना भाषा शिक्षकका लागि अनुदान उपलब्ध गराएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममा नै उल्लेख गरी भाषा शिक्षकका लागि सेवा सुविधा उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष केरुङले बताए । रासस
उपत्यका बाहिर सात मेडिकल कलेज खुल्ने प्रक्रियामा छन् : मन्त्री राई
उदयपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले डा. गोविन्द केसीको आन्दोलनपश्चात् सरकारले उपत्यका बाहिर सात वटा मेडिकल खोल्ने गरेको प्रतिबद्धता कार्यान्वयन चरणमा रहेको बताएका छन् । बुधबार यहाँस्थित त्रिवेणी माविको ५६औं वार्षिकोत्सव समारोहमा मन्त्री राईले दुई वटा मेडिकल कलेज स्थापनाको चरणमा रहेको र दुई वटाको विस्तृत परियोजना प्रस्तुत भएको बताए । साथै बाँकी तीन वटाको जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको उनको भनाइ थियो । ‘डा केसीको आन्दोलनपछि आएको अवधारणाअनुसार काम अगाडि बढेको छ, त्यसमध्ये यहाँ एउटा मेडिकल कलेज स्थापना हुन्छ,’ उनले भने, ‘मेडिकल कलेज स्थापनाका लागि कम्तीमा एक सय बिघा जग्गा हुनुपर्छ, अहिले जग्गा खोजीको प्रक्रिया जारी छ ।’ सांसद अम्बरबहादुर रायमाझीले शिक्षा नीति सबैलाई बराबरी हुने गरी ल्याउनुपर्नेमा जोड दिए । कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले यो विद्यालयमा आवासगृह, विद्यालय बस, छात्राबास निर्माणलगायतका लागि मन्त्री राईको ध्यानाकर्षण गराए । कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले दरबन्दीअनुसार शिक्षक नपाउँदा दरबन्दी मिलानमा समस्या भएको भन्दै मन्त्री राईलाई दरबन्दीअनुसार शिक्षक उपलब्ध गराउन माग गरे । विद्यालयले तीनदिने विभिन्न कार्यक्रममा वार्षिकोत्सव मनाएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण कार्कीले बताए । वार्षिकोत्सवका अवसरमा विद्यालयले विभिन्न सम्मान, प्रशंसा तथा प्रमाणपत्र, पुरस्कार वितरण गरेको थियो ।
भरतपुरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको नतिजा उत्कृष्ट : प्रमुख दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको नतिजा क्रमशः उत्कृष्ट आउन थालको बताएकी छिन् । बुधबार राष्ट्रिय माध्यमिक विद्यालय भरतपुर ७ कृष्णपुरको स्वर्ण महोत्सवलाई समापन गर्दै प्रमुख दाहालले भरतपुरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा आमुल परिवर्तन आएको उल्लेख गरिन् । ‘विगत ७ वर्षमा शैक्षिक क्षेत्रमा ठुलो लगानी भएको छ,’ प्रमुख दाहालले भनिन्,’भरतपुरका १ सय १५ सामुदायिक विद्यालयमा धेरै पूर्वाधार निर्माण भए । संघ, प्रदेश र स्थानीय तहको ठुलो लगानीको प्रतिफल आइरहेको छ ।’ प्रमुख दाहालले भरतपुर महानगरपालिकाले कुल बजेटको १० प्रतिशत शिक्षा क्षेत्रलाई विनियोजन गर्दै आएकाले अब निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा सामुदायिक विद्यालय पुगेको बताइन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षको अहम भूमिका रहने भएकाले महानगरले एक कक्षा एक शिक्षकको नीति पनि अंगिकार गरेको उनको भनाई थियो । ‘सबैले आफ्ना छोरा छोरीलाई सामुदायिक विद्यालयमा पढाउने संकल्प गरौं’, उनले भनिन्, ‘सुरुवात आफैबाट गर्नुपर्छ । भरतपुरका सामुदायिक विद्यालय निजीभन्दा कम चाहिँ छैनन् ।’ प्रमुख दाहालले भरतपुरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नकै लागि व्यवहारिक शुक्रबार, मेयरसँग विद्यार्थी, छात्रावृत्ति, साईकल वितरण, न्यानो कपडा, बसका कार्यक्रमलगायतका थुप्रै कार्यक्रमहरु गर्दै आइरहेको जानकारी दिइन् । महानगरले एक विद्यालय एक खेल मैदान, एक कक्षा कोठा एक शिक्षक, एक वडा एक नमुना विद्यालय, शुक्रबार बुक फ्रि, जस्तापाता भएका ठाँउमा फल सिलिङ, आईसिटी ल्याब र प्रविधियुक्त कक्षा कोठालाई प्राथामिकता दिँदै आएको बताइन् । संघीय गणतन्त्रको स्थापनापछि सामुदायिक विद्यालयको अवस्था गुणात्मक सुधार भई भरतपुरमा विगत ५ वर्षको अवधिमा ८ हजार विद्यार्थी थप भएको जानकारी दिइन् । महानगरपालिकाले अब भौतिक पूर्वाधारमा भन्दा अतिरिक्त क्रियाकलापमा जोड दिने गरी विद्यार्थीलाई व्यवहारिक र प्राविधिक शिक्षालाई केन्द्रमा राखेर काम गरिरहेको उनले स्पष्ट पारिन् । समापन समारोहलाई सम्बोधन गर्दै वडा नम्बर ७ का अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि काफ्लेले भरतपुरले गतिशील र दुरदर्शी नेतृत्व महानगर प्रमुख पाउँनु गर्वको विषय भएको बताए । विद्यालयको भौतिक पूर्वाधार निर्माणमा महानगरले विनियोजन गरेको बजेटको उच्च सम्मान पनि गरे ।