कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौं ।  ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिए । ‘पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने छन्, शनिबार पनि परीक्षा दिने गरी व्यवस्था मिलाएका छौँ, अन्य सिफ्ट त्यसपछि तय गरिने छ’, उनले भने । परीक्षार्थीहरु परीक्षाको एक दिन अघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन फिङर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ । परीक्षा सुरु हुनुअघि एक घण्टा अगाडि परीक्षा हलमा ओरेन्टेसन शुरु हुनेछ साथै निर्धारित समयमा उपस्थित नभए परीक्षामा सहभागी नगराइने निर्देशक कडेलले जानकारी दिए । परीक्षामा मोबाइल फोन, स्मार्टवाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरु लैजान निषेध गरिएको छ । परीक्षामा चिट चोर्ने, नक्कल गरेकोलगायतका अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुकासाथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिने कार्यालयले जनाएको छ । सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका थिए । रासस

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस भएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरेको हो । समितिले उपकुलपतिका लागि चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम सिफारिस गरिएको मन्त्रालय स्रोतले जनाएको छ । विश्वविद्यालयको उपकुलपतिको लागि ४३ जनाले आवेदन गरेकोमा समितिले १४ जनाको नाम अल्पसूचीमा निकालेको थियो । समितिले सिफारिस गरेका ३ जना व्यक्ति मध्ये प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकजनालाई उपकुलपतिमा नियुक्ति गर्नेछन् ।

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं । कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । आइतबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा हुने कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा २०८१ वैशाख १४ गतेदेखि सुरु हुने छ र वैशाख २६ गते समाप्त हुनेछ ।