आर्थिक परिवर्तनको मेरुदण्ड शिक्षा हो : अर्थमन्त्री महत
त्रिशूली । अर्थमन्त्री डा प्रकाशरण महतले आर्थिक परिवर्तनको मेरुदण्ड नै शिक्षा हो भनेका छन् । आज नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले रोजगार सिर्जना, आर्थिक उपार्जनलगायत क्षेत्रका लागि शिक्षा नै पहिलो आधार रहेको बताए । ‘विकासका लागि पूर्वाधार निर्माण आवश्यक पर्दछ । यसले दैनिक जीवनयापनमा सहजता ल्याउने भए पनि त्योभन्दा ठूलो शिक्षाको विकास सबैभन्दा शक्तिशाली माध्यम हो’, अर्थमन्त्री महतले भने, ‘आम्दानीको स्रोत बढाउन, बचत गर्न र भविष्य कसरी उज्वल बनाउन सकिन्छ भन्ने मुख्य बाटो नै शिक्षाले देखाउँछ ।’ व्यवस्थित सडक, खानेपानी, सिँचाइ कुलो, स्वास्थ्य सेवा सबै विकासको सूचक भएकाले त्यसलाई शिक्षाका माध्यमबाट दक्ष बनाई उपयोगी र रोजगारमुखी बनाउन सरकारले शिक्षाको गुणस्तरमा जोड दिएकाले सोहीअनुसार लाग्न उनले अभिभावक र विद्यालय प्रशासनलाई आग्रह गरे । ‘भागबण्डा गर्न नपर्ने र अरुले चोरी गर्न नसक्ने हुदाँ सीप र शिक्षा सबैभन्दा ठूलो सम्पत्ति हो’, अर्थमन्त्री महतले भने, ‘पढाइमा गरेको लगानी खेर जादैन । प्रतिफल मिल्छ । समयअनुसार प्रविधिमैत्री र प्राविधिक शिक्षामा केन्द्रित हुनुपर्छ ।’ उमेरअनुसार शिक्षा लिन नपाएकालाई राज्यले रोजगारको सिर्जनाका लागि तालिम दिएर दक्ष जनशक्ति बनाउन लागिएको उनले बताए । होटल र होमस्टेका विभिन्न विधाका सीप सिकाउनेदेखि विद्युतीय सामग्री ममर्तलगायत मागमा आधारित तालिमबाट रोजगारको सिर्जना गर्न शिक्षा र सीपमा सरकारले नयाँ योजना बनाएर आवश्यकताअनुसार बजेट उपलब्ध गराउने उनको भनाइ थियो । रासस
कृषि विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने भएको छ । विश्वविद्यालयले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको कृषि सङ्कायका डिन प्राडा. अर्जुनकुमार श्रेष्ठकाअनुसार विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा ४८ जना कृषि इञ्जिनियरिङ पढाइका लागि अनुमति लिइनेछ । सुरुको वर्ष २४ जनाबाट पढाइ सुरु गर्ने उनले बताए । डिन श्रेष्ठकाअनुसार भारतलगायत देशमा अधिकांश कृषि पठनपाठन हुने विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने गरेको छ । धरानको पूर्वाञ्चल इञ्जिनियरिङ कलेजमा मात्रै यो विषयको पढाइ हुँदै आएको छ । यस विषयको अध्ययनसँगै कृषिमा यान्त्रीकरण गरी उत्पादकत्व बढाउन मद्दत पुग्ने विश्वविद्यालयका उपकुलपति प्राडा. पुण्यप्रसाद रेग्मीले बताए । उनले भने, ‘देशको मेरुदण्डका रुपमा रहेको कृषिको सर्वाङ्गीण विकास गर्न र कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्दै ग्रामीण समुदायको सामाजिक तथा आर्थिकस्तर उठाउन यो विषय महत्वपूर्ण हुनेछ ।’ कृषि, वन, पशु विज्ञान र मत्स्य स्नातक पढाइ हुँदै आएको यस विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ थप हुने भएको हो । सम्बन्धित विषयको एकीकृतरूपले अध्ययन, अध्यापन, अनुसन्धान र प्रसार गराइ मुलुकभित्रै उच्चस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्य विश्वविद्यालयको रहेको उनले बताए । हालै सम्पन्न विश्वविद्यालय सभाको १२औं साधारण बैठकले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको हो ।
लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट १५० जना विद्यार्थी दीक्षित
काठमाडौं । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट यो वर्ष १ सय ५० जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनसँग सहकार्य गर्दै आएको लर्डबुद्धबाट एमएस्सी, एमबिए, बीबीएम र बिएस्सीमा १ सय ५० जना विद्यार्थी दीक्षित भएका हुन । काठमाडौंमा मङ्गलवार आयोजित कार्यक्रममा लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालान र एसिया प्यासिफिक युनिभर्सिटीका प्रमुख कार्यकारी अधिकृत दतुक परमजित सिंहले प्रमाणपत्र हस्तान्तरण गरे । सूचना प्रविधि सम्बन्धी सबैभन्दा पुरानो कलेजको २५ वर्षको इतिहास १३ हजार भन्दा बढी विद्यार्थी दीक्षित भइसकेका छन् । एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनले मलेसियामा फाईभ स्टार ¥याङक प्राप्त गर्न पनि सफल भएको छ । सूचना प्रविधि सम्बन्धी सो विश्वविद्यालय मलेसियामा फाईभ स्टार र्याङ्क प्राप्त गर्ने पहिलो र विश्वका उत्कृष्ट विश्वविद्यालय मध्ये १६ औँ स्थानमा पर्न सफल भएको छ । लर्डबुद्ध एजुकेशन फाउन्डेसनले नेपालमा पढ्दै कमाउँदै नीतिलाई व्यवहारिक कार्यान्वयन गर्दै लगेको अध्यक्ष जालानले बताए । प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष जालानले भने, ‘लर्डबुद्धबाट बाहिर निस्किएपछि प्रत्येक विद्यार्थीले आफू, परिवार र राज्यप्रतिको जिम्मेवारी थपिएको महसुस गर्नुहोला । स्वदेशमै प्रशस्त अवसर छ, सम्भावनाको ढोका पनि खोल्ने पनि आफैँले हो ।’ नेपालमा केही छैन भन्नेहरूका लागि अवसरै अवसरको देश हो भनेर देखाउनुपर्ने बेला आएको अध्यक्ष जालानले बताए । विदेशमा जानका लागि लाखौँ, करोडौँ रुपैयाँ खर्च गर्ने तर त्यही रकम स्वदेशमा लगानी गर्न नसक्नु विडम्बना भएको अध्यक्ष जालानको भनाई छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले विद्यार्थीहरूलाई पार्ट टाइम रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । शैक्षिक बेरोजगारीको सङ्ख्या बढ्दै जानु मुलुकका लागि दुर्भाग्य भएको अध्यक्ष मल्लको भनाई छ ।