त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बराल नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको उनको सचिवालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ । रासस
भारतको एमिटी विश्वविद्यालयबाट पीएचडी गर्दै गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यावारिधि (पीएचडी) अध्ययनका लागि भर्ना गरेका छन् । उनले भारतको नोएडामा रहेको एमिटी विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्यावारिधि गर्नका लागि भर्ना गरेका हुन् । पछिल्लो समय उनको योग्यताको विषयमा सर्वोच्च अदालतमा बहस भइरहेको बेला उनले विद्यावारिधिमा भर्ना गरेको कार्ड अदालतमा पेस गरेका हुन् । उनले आफू गभर्नरका लागि योग्य व्यक्ति भएको र शैक्षिक योग्यता पनि पुगेको बताउँदै विभिन्न प्रमाणहरू सर्वोच्च अदालतमा पेस गरेका छन् । त्यसमा उनले विद्यावारिधिमा अध्ययनका लागि भर्ना गरेको कार्ड पनि पेस गरेका हुन् । उनले चार्टर्ड एकाउन्ट्सी (सीए)को योग्यतालाई व्यवस्थापन संकायमा स्नातक गरी चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेको आधारमा कानुन बमोजिम स्नातकोत्तर तहको भएको दाबी पनि गरेका छन् । सोही प्रमाणका आधारमा आफूले विद्यावारिधि अध्ययन गर्दै गरेको दाबी उनको छ ।
मालिकाको पन्थोकमा १० कोठे पक्की विद्यालय भवन निर्माण
गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा भीम माध्यमिक विद्यालयको १० कोठे भवन निर्माण भएको छ । गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५०, गाउँपालिकाको ४० र स्थानीयबासीको १० प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको उक्त भवनको बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट हवार्ड ग्रिन (एमबीई) र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले संयुक्तरूपमा उद्घाटन गरेका छन् । गाउँपालिकाका अध्यक्ष गर्बुजाले पाहार ट्रष्टले भवन निर्माणमा ठूलो योगदान पुर्याएको बताउँदै आगामी दिनमा पनि अन्य विद्यालयमा भवनलगायत पूर्वाधार निर्माण गर्न चाहेमा गाउँपालिकाले साझेदारी गर्ने प्रतिबद्धता जनाए । गाउँपालिकाले दुर्गम बस्तीका विद्यालयमा भवनलगायत पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको अध्यक्ष गर्बुजाले बताए । पाहार ट्रष्टका इन्जिनियर टेक रानाका अनुसार एक करोड २२ लाख तीन हजार दुई सय ६६ रुपैयाँ लागतमा भवन निर्माण भएको हो । ६१ लाख एक हजार, गाउँपालिकाबाट ५० लाख र स्थानीयबासी ११ लाख एक हजार लगानी भएको ट्रष्टका इन्जिनियर रानाले बताए । विसं २०७८ मङ्सिरदेखि निर्माण थालेको भवनको काम २०७९ साल असोजमा सम्पन्न भएको थियो । वडाअध्यक्ष मिम पुन र समाजसेवी क्याप्टेन जितबहादुर घर्तीले ट्रष्टसँगको सहकार्यमा भीम मावि र गौ बोम बस्त माविमा सुविधासम्पन्न भवन निर्माण भएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार दिलबहादुर पुनले पहिले जीर्ण पुरानो भवनको साँघुरो कक्षाकोठामा पठनपाठन हुँदै आएकामा अहिले भवन बनेपछि भने सहज भएको बताए । अध्यक्ष ग्रिनले गाउँपालिका र स्थानीयबासीसँगको साझेदारीमा सुविधासम्पन्न भवन निर्माण हुनु दुर्गम गाउँको विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने आधार बनेको बताए । उनका अनुसार पाहार ट्रष्ट युकेमार्फत नेपालका २७ जिल्लाका दुर्गम ग्रामीण बस्तीमा हालसम्म तीन सयभन्दा बढी शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजना निर्माण भइसकेका छन् । उनले नेपालका दुर्गम ग्रामीण बस्तीका शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवा तथा सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे । भवनको संरक्षण गर्ने विद्यालय र स्थानीबासीको दायित्व भएको उनको भनाइ थियो । विद्यालयका प्रअ डम्बरबहादुर घर्तीका अनुसार कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा दुई सय ३४ जना विद्यार्थी अध्ययनरत छन् ।