१२ वर्षमै एसईई परीक्षा दिँदै पर्वतका एक छात्र
पर्वत । सामान्यतया एसईई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसईई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालय केन्द्रबाट १२ वर्षीय शक्ति अधिकारीले एसईई दिएका हुन् । उनी सोही गाउँपालिका–६ सरौखोलास्थित विनु माविमा अध्ययनरत विद्यार्थी छन् । अधिकारी पर्वतबाट एसईई दिने विद्यार्थीमध्ये सबैभन्दा कम उमेरको रहेका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धिमराज पौडेलले जानकारी दिए। उनका अनुसार २०७८ सालभन्दा अघि एसईई दिने पाउने उमेरको हद १५ वर्ष थियो । विसं २०७८ मा शिक्षा नियमावलीअनुसार एसईई दिने परीक्षार्थीको उमेर हदबन्दीमा उक्त व्यवस्था परिवर्तन गरिएपछि कम उमेरका विद्यार्थीले पनि दिन पाउने भएको पौडेलले बताए । विनु मावि सरौखोलाका प्रधानाध्यापक खगेन्द्र तिवारीले एसईईको फारम भर्दा पनि सोही जन्ममिति रहेकाले विद्यार्थीले सानै उमेरदेखि पढेका बताए । कम उमेरदेखि नै विद्यालय गएकाले अधिकारीले १२ वर्षमै एसईई दिन सफल भएका उनको भनाइ छ। तिवारीका अनुसार अधिकारीले पहिला निजी विद्यालयमा पढेका थिए । उनी उक्त स्कुलमा कक्षा कक्षा ८ मा भर्ना भएको उनले बताए । निजी विद्यालयबाट सामुदाकि विद्यालयमा आउँदा कक्षा परिवर्तन गरेकाले पनि चाँडो एसईई दिएको हुनसक्ने तिवारीको भनाइ छ । यसैगरी, सोही विद्यालयबाट जिल्लामै सबैभन्दा बढी उमेरका अर्का परीक्षार्थीले पनि एसईई परीक्षामा सहभागी भएका छन् । विद्यालयका नियमित छात्र ४० वर्षीय दुर्गाप्रसाद भुर्तेलले जनसेवा संस्कृति मावि केन्द्रबाट परीक्षा दिइरहेका छन् । कक्षा सातसम्म पैंयुँ–५ क्यामुनेभन्ज्याङ माविमा अध्ययन गरेका भुर्तेल कक्षा ८ मा विनु माविमा भर्ना भएका थिए । उहाँ नियमित विद्यालयमा हाजिर भएरै कक्षा लिइरहने विद्यार्थी रहेको विद्यालयका प्रअ तिवारीले बताए । कक्षा ७ सम्म अध्ययन गरेपछि बीचमा छुटेर पुनः विद्यालय भर्ना भएकाले जिल्लामै सबैभन्दा बढी उमेरको विद्यार्थीमा भुर्तेल देखिएको तिवारीले बताए । पर्वतका १७ परीक्षा तोकिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । जिल्लाभर शान्तपूर्वक परीक्षा भइरहेको भन्दै विगतका वर्षभन्दा यस वर्ष थप मर्यादित रहेको पाइएको कार्यालय प्रमुख उद्धिमराज पौडेलले जानकारी दिए । रासस
व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय
गलेश्वर । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष दुई लाख ५० हजार आम्दानी गरेका छन् । जिल्लाको एकमात्र प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित पनि गरेको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित क कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले पढाइका अतिरिक्त मौसमी तथा बेमौसमी तरकारी खेती र मौरीपालन गर्दै आएका छन् । शिक्षालयमा बाली विज्ञान विषयमा अध्ययन गर्ने ४० जना विद्यार्थीले तरकारी खेती गर्नुका साथै मौरीपालन गरेका छन् । विद्यालय परिसरमा मौरीका छ वटा घार छन् । विद्यार्थीले मह उत्पादन प्रक्रिया, चाका सङ्कलन, मौरीको घारको रेखदेख र मह निकाल्ने सम्पूर्ण प्रक्रिया सिकेका छन् । वर्षमा दुईपटक मह निकालेर स्थानीयलाई बिक्री गर्ने गरिएको शिक्षालयका प्राचार्य जङ्गबहादुर गर्बुजाले जानकारी दिए । प्राचार्य गर्बुजाका अनुसार पहिलो चरणमा छ वटा घारबाट मौरीपालनको अभ्यास गरेका विद्यार्थीले अहिले आफ्नो घरमा घार राख्न थालेका छन् । विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले गरिएको मौरीपालनलाई तोरी फुल्ने समयमा मौरीको चरन क्षेत्र, वर्षा याममा स्थानीय प्रजातिका फूलमा चराउन कसरी लैजाने भन्नेसम्मको ज्ञान विद्यालयमा सिकेपछि विद्यार्थी उत्साहित छन् । मौरीपालनसँगै शिक्षालयले विद्यार्थीको प्रत्यक्ष सहभागिता हुनेगरी अन्य कृषि कर्म पनि गर्दै आएको छ । व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै बाली विज्ञान, पशु चिकित्सा पद्धतिबारे पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण बढेको छ । यो शिक्षालयमा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशु विज्ञान पाठ्यक्रम सुरु गरेको हो । हाल शिक्षालयमा ११ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका शिक्षालयका प्राचार्य गर्बुजाले बताए । ‘पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेका छौँ’, उनले भने । विद्यार्थीले उत्पादन गरेको तरकारी बिक्रीबाट आएको नाफा ७५ प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने र २५ प्रतिशत चाहिँ विद्यालयले शैक्षिक भ्रमणसहितका कार्यमा प्रयोग गर्दै आएको प्राचार्य गर्बुजाले जानकारी दिए । विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीले नयाँ उत्पादनका लागि तत्काल आवश्यक परेमा विद्यालयले ऋणको सुविधासमेत दिने गरेको उनको भनाइ छ । ‘पढ्दै–कमाउँदै’ गर्न चाहने विद्यार्थीका लागि ऋण दिनुका साथै आवश्यक संरचना पनि उपलब्ध गराउने गरेको प्राचार्य गर्बुजाले बताए । “विद्यार्थीले च्याउ, आलु, धान, किबीलगायत मौसमी र बेमौसमी तरकारीका साथै फलफूल उत्पादन गरेर वार्षिक दुई लाख ५० हजारभन्दा बढीको आम्दानी लिएका छन्’, उनले भने । कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनाका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने कृषिउपज बिक्री गर्ने गरिएको कृषि प्राविधिक शिक्षालयका संयोजक विष्णु सुवेदीले जानकारी दिए । ‘विद्यार्थीका लागि नयाँ सिकाइमा केन्द्रित छौँ । यहाँबाट पढेर गएका सबै विद्यार्थी आत्मनिर्भर छन् । लोभलाग्दो कमाइ गरिरहेका छन्’, सुवेदीले भने । संयोजक सुवेदीका अनुसार यहाँबाट वार्षिक छ क्विन्टल च्याउ बिक्री गर्ने गरिएको छ । विद्यार्थीले विभिन्न प्रजातिका फलफूल, तरकारीको बेर्ना बेचेर राम्रो कमाइ गर्ने गरेका छन् । विद्यालयले २० रोपनीभन्दा बढी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ । शिक्षालयका धानखेत, च्याउ र तरकारी गरी आठ वटा ‘टनेल’सँगै व्यवस्थित कृषि फार्म भएकाले विद्यार्थीलाई उत्पादन र बिक्रीमा सहज हुन्छ । खेतबारीमा नै पुगेर किसानसँगै अभ्यास गर्दा अझ व्यावहारिक बन्न सहज भएको बागलुङबाट बाली विज्ञान पढ्न आएकी सिर्जना विकले बताइन् । रासस
विद्यालयमा किन घट्दैछ छात्राको संख्या ?
काठमाडौं । विद्यालय होस् या अन्यन्त्र नेपालमा पुरुषभन्दा महिलाको संख्या बढी छ । नेपालको कुल जनसंख्यामा पनि महिलाको संख्या पुरुषको भन्दा बढी छ । तर, पछिल्ला केही वर्षदेखि भने पुरुषको संख्या बढ्दै गएकाे तथ्यांकले देखाउँछ । पहिले एक दम्पत्तिबाट ५/६ जनासम्म सन्तान जन्माउँदा ३/४ जना छोरी हुन्थे । छोराको संख्या कमै हुन्थ्यो । तर, आजभोलि ठ्याक्कै उल्टो देखिन थालेको छ । अर्थात, छोरीभन्दा अहिले छोराको संख्या बढ्दै गएकाे छ । उदाहरणका लागि चैत १५ गते (आज)देखि सुरु हुने एसईई परिक्षाका विद्यार्थीलाई लिन सकिन्छ । जहाँ छात्राभन्दा छात्रको संख्या बढी छ । राष्ट्रिय परिक्षा बोर्डका अनुसार यो वर्ष एसईई परीक्षामा ५ लाख ४ हजार ४ सय १४ परिक्षार्थी सहभागी हुँदैछन् । जसमा २ लाख ५३ हजार ६ सय २७ छात्र छन् भने छात्राको संख्या २ लाख ५० हजार ७ सय ७२ छ । यो वर्ष परीक्षा दिने विद्यार्थीमा २ हजार ८ सय ५५ छात्र बढी छन् । र १५ जना अन्य छन् । २०७९ को एसईई परीक्षामा पनि छात्रको संख्या नै बढी थियो । २०७९ मा कुल ५ लाख १६ हजार ५ सय ७७ परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ५५ हजार ९सय १७ थियो भने छात्रको संख्या २ लाख ६० हजार ६सय ७४ थियो । यो संख्या छात्राको तुलनामा करिब ५ हजार बढी हो । २०७८ सालको एसईईमा पनि छात्रभन्दा छात्रा ३८ ले मात्रै बढी थिए । कुल ४ लाख ८५ हजार ३ सय ९६ जम्मा परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ४२ हजार ७ सय १२ र छात्रको संख्या २ लाख ४२ हजार ६सय ७४ रहेको थियो । त्योभन्दा पहिलेको दुई वर्षमा भने एसईई परिक्षा नै भएन । कोरोना महामारीका कारण विद्यालय आफैंले विद्यार्थीलाई आन्तरिक मुल्यांकन गरेर अंक प्रदान गर्दा छात्र वा छात्राको संख्या कसको बढी थियो भन्ने एकिन छैन । राष्ट्रिय परिक्षा बोर्डका अनुसार विगतका दुई/तीन वर्षदेखि एसईई दिनेमा छात्रको संख्या बढ्न थालेको छ । अहिले १० कक्षाभन्दा मुनिको कक्षामा छात्रको संख्या नै बढी रहेको पाइन्छ । विज्ञहरू भने अबको चार/पाँच वर्ष नेपालमा सन्तान जन्माउने दर र लिंग पहिचान गर्ने काननी छुट भइरहने हो भने आगामी दिनमा अवस्था भयावह हुने बताउँछन् । त्रिभुवन विश्वविद्यालयको जनसंख्या अध्ययन विषयका प्रोफेसर महेन्द्रप्रसाद शर्मा १५ वर्ष मुनिका बालबालिकामा बालकको संख्या बढी भएकाले परिक्षार्थीमा पनि बालकको संख्या बढी भएको बताउँछन् । बालिकाभन्दा बालक धेरै नेपालको जनगणना २०७८ अनुसार नेपालमा बालिकाभन्दा बालकको संख्या बढी छ । जसमा चार वर्ष मुनिको बालक १२ लाख ९० हजार ५ सय २५ (४.४) प्रतिशत हुँदा बालिकाको संख्या ११ लाख ४८ हजार ७ सय ५७ (३.९) प्रतिशत छ । यस्तै ५ वर्षदेखि ९ वर्ष उमेर समूहका बालबालिकामा पनि बालकको संख्या बढी छ । जसमा १४ लाख ४३ हजार ४ सय ५ (४.९) प्रतिशत बालक र १३ लाख २३ हजार २२ बालिका (४.५) प्रतिशत छ । यस्तै १० देखि १४ वर्ष समूहमा पनि बालकको संख्या बढी छ । १४ लाख ९५ हजार ९ सय ५४ (५.१)बालक र १४ लाख १३ हजार ९ सय ११ (४.८) प्रतिशत बालिका छन् । यसरी हेर्दा नेपालमा १५ वर्ष मुनिका बालिकाभन्दा बालकको संख्या बढी छ । नयाँ जनगणनाअनुसार बालकको संख्या बढी भएकाले यसको असर दीर्घकालीनरूपमा पर्ने जनसंख्याविदहरू बताउँछन् । तर, समाजशास्त्री टिकाराम गौतम विगतका वर्षमा केटीहरूको संख्या बढी रहेको बताउँदै अहिले केटाहरूको संख्या बढीलाई समान्यरूपमा लिन्छन् । लिंग पहिचान गर्नेको संख्या बढ्यो प्राकृतिक नियमअनुसार छोराभन्दा बढी छोरी जन्मन्छन् । विश्वका कयौं देशमा हेर्दा यस्तै देखिन्छ । नेपालमा पनि १ सय ७ जना छोरी जन्मदा छोराको संख्या १ सय हुन्छ । तर, पछिल्लो समय प्राकृतिक नियम तोड्दै दम्पत्तिहरू छोरा जन्माउन थालेका छन् । विभिन्न प्रविधिको विकाससंँगै छोरा जन्मने संख्या बढ्न थालेको जनसंख्याविद्हरू बताउँछन् । जनसंख्याविद् शर्मा नेपालमा गर्भको बच्चा छनोट गरेर जन्माउने चलन बढेकाले छोराको संख्या बढ्दै गएको बताउँछन् । नेपालमा अहिले बढीमा दोस्रो नभए एकल सन्तान जन्माउने प्रचलन बढेको छ । ‘पहिलो सन्तान छोरा भयो भने दोस्रो सन्तानका लागि धेरैले दुःख गर्दैनन्, तर पहिलो सन्तान छोरी हुँदा अधिकांशले छोराका लागि अर्को सन्तान खोज्छन्,’ उनी भन्छन्,‘अहिले मान्छेलाई लिंग पहिचान गरी जन्माउने अधिकार छ यसैको परिणाम स्वरुप यस्तो देखिएको हो ।’ समाजशास्त्री टिकराम गौतम पनि बलियो कानुन नहुनु र गर्भको बच्चा पहिचान गरी छोरा राख्ने प्रवृत्तिले छोराको संख्या बढेको बताउँछन् । नेपालको कानुनले गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको बच्चालाई पतन गर्न पाउने अधिकार दिएको छ । यदि जबरजस्ती करणी, हाडानाता करणीको गर्भ छ वा गर्भपात नगराएमा ज्यानै जानेसम्मको अवस्था भए २७ हप्तासम्म पनि पतन गराउन सक्ने भनेको छ । योभन्दा बाहेक अन्य अवस्थामा गर्भवती महिलाको स्वीकृती विना करकाप, धाक धम्की गराइ बच्चा फाल्न लगाए अथवा गर्भमा रहेको बच्चाको लिंग पहिचान गरी गर्भपात गराएको खण्डमा भने दण्डको व्यवस्था गरेको छ । मुलुकी ऐनको ज्यानसम्बन्धी महल २८ (ग) मा गर्भमा रहेको भ्रुणको लिंग पहिचानमात्र गराउनेलाई तीन महिनादेखि ६ महिना कैद र पहिचान गरी गर्भपतन गराउनेलाई ६ महिनादेखि दुई वर्षसम्म कैद गरिने प्रावधान छ । यस्तै मुलुक अपराध (संहिता) ऐन, २०७४ ले १२ हप्तासम्मको गर्भ भए १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना, १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भ भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना र २५ हप्ताभन्दा बढीको गर्भ भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । पुरुषको संख्या बढी हुँदा कस्तो पर्छ प्रभाव ? जनसंख्याका जानकार नेपालका दम्पत्ति एउटा त्यसमा पनि छोरामात्र जन्माउन थालेको १० वर्ष भएको बताउँछन् । समाजशास्त्री गौतम अहिले बढीमा दुई सन्तान जन्माउने त्यसमा पनि छोरा बढी हुने समाजको स्वरूप फेरिएको बताउँछन् । उनी अबको ८/१० वर्षमा पनि यही रेसियोमा दम्पत्तिले सन्तान जन्माउने हो भन् अबको १०/१५ वर्षमा छात्रा नहुने, भए पनि कम मात्र हुने बताउँछन् । अहिलेको मात्र संख्याले भोलि समाज कता जान्छ भन्ने अहिले नै भन्न सकिने अवस्था नरहेको बताउँदै उनी अबको केही वर्षको रेसियोलाई हेरेर समाजमा कस्तो असर पर्छ भन्न सकिने बताउँछन् । प्राध्यापक एवं जनसंख्याका जानकार नीर कुमार राई यस्तै अवस्था लगातार रहने हो भने समाजमा हिंसाका घट्ना बढ्दै जाने बताउँछन् । उनी भन्छिन्,‘केटाको संख्या बढ्यो भने उसलाई आफ्नो जोडी भेटाउन गाह्रो हुन्छ जसको परिणाम समाज हिंसाजनक गतिविधि बढी हुन्छन् ।’