निजी स्कुलको नाम नेपाली नबनाए काठमाडौं महानगरले विद्यार्थी भर्ना गर्न नदिने
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयले अनिवार्य रूपमा नेपालीपन झल्कने गरी नामकरण गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा विद्यार्थी आकर्षण गर्ने नाममा अधिकांश संस्थागत विद्यालयले अङ्ग्रेजी नाम राख्ने गरेका छन् । साथै युरोप, अमेरिकालगायत विकसित मुलुकमा उत्कृष्ट ठहरिएका शैक्षिक संस्थाको नाम राखेर विद्यालय खोल्ने क्रम पनि बढेको छ । त्यस्ता विद्यालयले नेपालीपनलाई संरक्षण गर्न नसकेको बताउँदै महानगरपालिकाले अबदेखि अनिवार्य रूपमा नेपालीमा नै नाम राख्न निर्देशन दिएको छ । नेपालीपन झल्कने गरी नामकरण नगर्ने विद्यालयलाई आगामी शैक्षिक सत्रदेखि विद्यार्थी भर्नामा रोक लगाउने चेतावनी पनि महानगरपालिकाले दिएको छ । अहिले काठमाडौँमा मात्रै नभएर अन्य जिल्लामा समेत अङ्ग्रेजीमा विद्यालयको नाम राख्ने चलन बढेको छ तर काठमाडौँ महानगरपालिकाले मात्रै नेपालीपन झल्कने नाम राख्ने निर्देशन दिएको हो । अझ विद्यार्थीमाझ आफूलाई फरक रूपमा प्रस्तुत गर्न विद्यालयले नामसँगै इन्टरनेसनल शब्द जोड्ने चलन पनि बढेको छ । तर इन्टरनेसनल शब्द जोडे पनि त्यस्ता विद्यालयमा विदेशी मुलुकका विद्यार्थी भने पढ्दैनन् । अहिले राजधानीमा ह्वाइटहाउस, ट्रिनिटी, मिल्सबेरी, युरो किड्स, किड्जी, ब्राइट फ्युचर, लिभरपुल, गोल्डेन गेट, ग्लोबल, प्रिमिअर, जेम्स, नाइटिङ्गल, लिटिल एन्जल्स, हेराल्ड जस्ता अङ्ग्रेजी नाममा सञ्चालित विद्यालय छन् । महानगरपालिका शिक्षा विभागका अनुसार महानगरपालिकाभित्र अङ्ग्रेजी वा विदेशी शैक्षिक संस्थाको नाम राखेर सञ्चालित संस्थागत विद्यालयको सङ्ख्या ३२३ वटा रहेको महानगरपालिकाका शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोख्रेलले जानकारी दिइन्। ती विद्यालयको नाम रुजु गर्ने काम भइरहेकाले सङ्ख्यामा तलमाथि हुन सक्ने उनले बताइन्। रुजु गरिसकेपछि सबै विद्यालयलाई लिखित पत्राचार गरेर नेपालीपन झल्कने नाम राख्न सचेत गराइने छ । पत्राचारको काम बिहीबारदेखि नै सुरु गरिने छ । काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था छ । तर महानगरपालिकाभित्रका अधिकांश संस्थागत विद्यालयको नाम उक्त व्यवस्था प्रतिकूल रहेको महानगरपालिकाले जनाएको छ । बुधबार सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र मौलिक नामकरण गर्ने प्रक्रिया अगाडि नबढाए नयाँ शैक्षिक सत्रमा भर्ना प्रक्रिया अघि बढाउनसमेत रोक लगाइने महानगरपालिकाले जनाएको छ । विभागका निमित्त शिक्षा प्रमुख सरस्वती पोखरेलका अनुसार सम्बन्धित संस्थागत विद्यालयले विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्रमा विभागमा निवेदन दिनुपर्ने छ । तर आफूहरूको निर्देशनको अवज्ञा गरेमा शिक्षा नियमावली २०५९ र काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार कारबाही गरिने महानगरपालिकाले जनाएको छ । अहिले विद्यालयको नाम परिवर्तन गर्न चाहने विद्यालयसँग महानगरपालिकाले पचास हजार रुपियाँ राजस्व लिँदै आएको छ । तर आफैँले नाम परिवर्तन गर्न बाध्य पारेका कारण महानगरपालिकाले उक्त राजस्वमा छुट दिनुपर्ने विद्यालय सञ्चालकले माग गरेका छन् । राजस्व दस्तुर छुट दिने वा नदिने भन्ने विषयमा भने कुनै निर्णय नभएको शिक्षा विभागका निमित्त प्रमुख पोखरेलले बताइन् । आजको गोरखापत्रमा समाचार छ ।
विद्यार्थीलाई उत्प्रेरित गर्न ५ लाखको अक्षयकोष स्थापना
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उनकी श्रीमती चामकुमारी राईका छोराछोरीले जिल्लाको बाम्राङस्थित सुर्केडाँडा आधारभूत विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् । राई दम्पतिका जेठा छोरा बेलायती सेनाका पूर्वमेजर मिलन राई, कान्छा छोरा रामचन्द्र राई र छोरीहरु अनुता राई, अविसरा राई, अन्जना राई र अम्बिका राईले आफ्ना बुबाआमाको सम्मानमा रु पाँच लाखको ‘दलसेर–चामकुमारी राई शैक्षिक अक्षयकोष’ स्थापना गरेका हुन् । अक्षयकोषमा जम्मा भएको रकमबाट प्राप्त हुने ब्याजले वार्षिकरुपमा एकजना उत्कृष्ट विद्यार्थी, सधै विद्यालयमा उपस्थित हुने विद्यार्थी र कक्षा–७ को वार्षिक परीक्षामा सबैभन्दा अधिक अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्नेगरी अक्षयकोष स्थापना भएको विद्यालयले जनाएको छ । बाम्राङमा जन्मिएर बेलायतलाई कर्मभूमि बनाउँदै आएका राई दम्पतिका सन्तानले अक्षयकोष सञ्चालनका लागि स्थानीय सहवीर राईको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति गठन गरिएको जानकारी दिएका छन् । समितिको उपाध्यक्षमा जमानसेर राई, सचिवमा प्रदीप राई, सहसचिवमा सीता खत्री, कोषाध्यक्षमा सोही विद्यालयका प्रधानाध्यापक विमला सुन्दास तथा सदस्यहरुमा प्रेमचन्द्र थापा र राजबहादुर पाण्डे हुन् । कक्षा–८ सम्म अध्ययन–अध्यापन हुँदै आएको उक्त विद्यालयमा दलसेर राई कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका थिए । रासस
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १० जनाको आवेदन
काठमाडौं । सुदुरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १० जना प्राध्यापकको आवेदन परेको छ । रिक्त रहेको पदपूर्तिका लागि विश्वविद्यालयले मागेको आवेदनमा १० जनाले आवेदन दिएको जनाइएको छ । आवेदन दिनेमा प्राडा ध्रुवकुमार गौतम, प्राडा पदमराज जोशी, प्राडा पूर्णबहादुर चन्द, प्राडा भवानीदत्त जोशी, प्राडा अक्कल देव मिश्र रहेका छन् । यस्तै प्राडा तारादत्त भट्ट, प्रा यज्ञराज पाठक, प्रा यज्ञराज भट्ट, प्रा राजेशकुमार ठगुराठी र प्राडा हेमराज पन्तले आवेदन दिएको सुदुरपश्चिम विश्वविद्यालयले जनाएको छ ।