कालीकोटमा शैक्षिक सत्र अगावै पुग्यो पाठ्यपुस्तक
मान्म । कालीकोटमा शैक्षिक सत्र सुरु हुनुभन्दा अघि पहिलोपटक पाठ्यपुस्तक पुगेको छ । चालू आर्थिक वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुनेमा अगावै पाठ्यपुस्तक कालीकोट आइपुगेका हुन् । आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेताहरुसँग पाठ्यपुस्तक पुगेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कालीकोटका निमित्त प्रमुख प्रकाशचन्द्र धितालले जानकारी दिए । ‘पहिलोपटक जिल्लामा शैक्षिक सत्र सुरु हुनुभन्दा पहिला पाठ्यपुस्तक उपलब्ध भएको छ,’ उनले भने, ‘पाठ्यपुस्तक पालिका र सम्बन्धित विद्यालयलाई चाँडो खरिद गर्नका पत्रचार गरेका छौँ ।’ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुर्खेत कार्यालयले पाठ्यपुस्तक शैक्षिक सत्र अगावै उपलब्ध गराएको विनोद बुक सेन्टरका सञ्चालक नन्दबहादुर शाहीले बताए । ‘चैत १५ गते नै कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक जिल्लामा आइपुगेका छन्,’ उनले भने, ‘अहिले स्थानीय तहका विभिन्न विद्यालयमा पठाउने काम भइरहेको छ ।’ समयमै पाठ्यपुस्तक पुगेपछि पठनपाठनका लागि सहज हुने महावै गाउँपालिकाका शिक्षा अधिकृत मदनबहादुर शाहीले बताए । ‘पाठ्यपुस्तकको अभावमा पठनपाठन अब प्रभावित हुने छैन्,’ उनले भने, ‘गाउँपालिकाका सम्पूर्ण विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउने तयारी गरिरहेका छौँ ।’ कक्षा १ देखि १० सम्म सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आइरहेको छ । चालु आर्थिक वर्षको शैक्षिक सत्रभन्दा पहिलाका शैक्षिक सत्रमा भने सुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीहरुले सास्ती खेप्नुपर्ने अवस्था थियो ।
इस्लिङ्टन कलेजले १५७ विद्यार्थीलाई दियो साढे चार करोडको एएए छात्रवृत्ति
काठमाडौं । इस्लिङ्टन कलेजले १५७ जना विद्यार्थीलाई साढे चार करोडको एएए छात्रवृत्ति प्रदान गरेको छ । कलेजले एएए छात्रवृत्ति समारोह २०२४ को आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई उक्त छात्रवृत्ति दिएको हो । प्राज्ञिकता, उपस्थिति तथा हाजिरी र आचरणलाई एकै सुत्रमा बांध्ने यस एएए छात्रवृत्तिको उद्देश्य शैक्षिक शुल्कमा शतप्रतिशत छात्रवृत्ति मार्फत विद्यार्थीहरुलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन गर्न प्रोत्साहित गर्नु रहेको कलेजले बताएको छ । यस छात्रवृत्तिको यस संस्करणमा आवेदकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो भने छनोट प्रकृया पनि निकै चुनौतिपूर्ण सावित भएको कलेजको भनाई छ । अन्त्यमा कलेजले लगभग ४ करोड ५ लाख पुरस्कारराशीको यस छात्रवृत्तिका लागि प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा १५७ उत्कृष्ट विद्यार्थीहरू छनोट गरेको हो । यिनै विद्यार्थीहरूको सम्मानमा आयोजित यस समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेका हुन् । कलेजका अनुसार यो छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने एउटा अद्भुत अवसर बन्न सफल भएको छ । यसको परिकल्पना विद्यार्थीहरूलाई सक्रिय रुपले विभिन्न गतिविधिहरूमा संलग्न गराउँदै शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहन दिन गरिएको जसले गर्दा उनीहरुको समग्र विकासमा महत्वपूर्ण टेवा पुग्ने कलेजको विश्वास छ ।
सरकारी कलेज पढाउने शिक्षकले निजीमा पढाउन पाइने नपाइने विषय विज्ञले भन्नुपर्छ : मन्त्री सुमना श्रेष्ठ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सरकारी कलेजमा पढाउने शिक्षकले निजी कलेजमा पढाउन हुने नहुने विषयमा विज्ञले गर्नुपर्ने बताएकी छन् । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलनमा बोल्दै उनले सो बताएकी हुन् । पत्रकारहरुले सरकारी स्कुल कलेजमा पढाउने शिक्षकहरुले निजी स्कुल/कलेजमा पढाउने वा सञ्चालन गर्ने गरेको प्रसंगको जवाफमा उनले सो विषय कस्तो हो भन्ने सन्दर्भमा विज्ञहरुले भन्नुपर्ने बताएकी हुन् । मन्त्री श्रेष्ठले शैक्षिक कन्सल्टेन्सी क्षेत्रमा विकराल समस्या रहेको भन्दै अधिकांश कन्सल्टेन्सीहरु नवीकरण पनि नभएको बताएकी छन् । उनले सो क्षेत्रको समस्या समाधानको लागि उद्योग मन्त्रालयदेखि अन्य मन्त्रालय लगायतका मन्त्रालयहरुपनि मिलेर काम गर्नुपर्ने बताएकी छन् ।