पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गरेका छन् । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ नयाँ वर्ष २०८१ को सुरूआतसँगै शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको सन्दर्भमा प्रधानमन्त्रीले विद्यालय जाने उमेरका आफ्ना सन्तानलाई पाठशाला पठाउन अभिभावकरूलाई आह्वान गरे। शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार सरकारसामु रहेको प्रधानमन्त्रीले उल्लेख गरे। ‘गुणस्तरीय विद्यालय शिक्षामा समान पहुँचका लागि सरकारले विभिन्न प्रयास गर्दै आएको छ । सरकारले बर्सेनि विद्यालय शिक्षामा ठूलो लगानी गरेको छ । शिक्षाको मौलिक हकलाई कार्यान्वयनका निम्ति विकास साझेदार, नागरिक समाज एवं निजी क्षेत्रबाट गरिएको योगदान उल्लेख्य छ’, प्रधानमन्त्रीको आह्वानमा भनिएको छ, ‘हाम्रासामु एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी छ । यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक छ ।’ सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवाखाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो सामथ्र्यले भ्याएसम्म लगानी गर्दै आएका बताए। विद्यालय शिक्षाका निम्ति लगानीका प्रयासलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन सामूहिक प्रयास केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । शैक्षिक सत्र २०८१ मा पनि देशभरका सबै विद्यालयमा आवश्यक पाठ्यपुस्तक पुगिसकेका बताउँदै प्रधानमन्त्री दाहालले पाठ्यपुस्तकको वितरण सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय तथा आमनागरिकमा हार्दिक अनुरोध गरे । यो वर्षको प्रारम्भमा नै सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन हुने पूर्ण विश्वासका साथ सबै नेपालीमा प्रधानमन्त्रीले नयाँवर्षको शुभकामना पनि व्यक्त गरेका छन्।
वैशाख २ गतेदेखि भर्ना : सबै जिल्लामा पुर्याइयो पाठ्यपुस्तक
काठमाडौं । नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्याइएको बताए । केन्द्रले प्रकाशन गरेको कार्यतालिकाअनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यही चैत १३ देखि २८ गतेसम्म पाठ्यपुस्तक बिक्री भएका छन् । केन्द्रले चालु शैक्षिकसत्रमा पनि समयमा नै किताब पुर्याएको थियो । प्रबन्ध सञ्चालक झाका अनुसार आउँदो शैक्षिकसत्रका लागि जिम्मेवारी दिइएको कक्षा ५ देखि १२ सम्मका एक करोड ७५ लाख थान किताब छापेर फागुनदेखि नै बिक्री सुरु गरेको थियो । केन्द्रले २४ सैँ घण्टा पुस्तक छापेको थियो । ‘हामीले भरमग्दुर प्रयास गरेर समयमा जिल्ला जिल्लामा पाठ्यपुस्तक पुर्याउने जिम्मेवारी पूरा गरेका छौँ । अब बिक्रेतामार्फत विद्यार्थीका हातहातमा पुस्तक पुग्नेछन्’, उत्साहित हुँदै प्रबन्ध सञ्चालक झाले भने, ‘राज्यको भर्ना अभियान आरम्भ हुँदा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेनन् भन्ने गुनासो सम्भवतः अब सुन्नुपर्दैन । कुनै कारणवश कहीँ नपुगेको जानकारीमा आए तत्काल सम्बन्धित प्रदेश कार्यालयबाट आवश्यक व्यवस्था गरिनेछ ।’ कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी निजी क्षेत्रले पाएको छ भने यस वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यक्रममा आधारित भएर सूचीकृत (अनुमतिप्राप्त) प्रकाशनका पाठ्य सामग्री प्रयोग गर्न निर्देशन दिएको छ । केन्द्रले आगामी शैक्षिकसत्रका लागि कक्षा ३ देखि १२ सम्मका पाठ्यपुस्तकको मूल्यसूची र हरेक प्रदेशका लागि सूचीकृत बिक्रेताको मूल्यसूची पनि सार्वजनिक गरेको छ । शैक्षिकसत्रअगावै बजारमा पुस्तक उपलब्ध गराउन गत वर्षदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बन्धित निकायलाई अभिप्रेरित गराउँदै आएका छन् भने यस वर्ष शिक्षामन्त्री सुमना श्रेष्ठले यही चैत १ गते केन्द्रको भक्तपुरस्थित कार्यालय र प्रेस निरीक्षण गरी समयमा पुस्तक उपलब्ध गराउन निर्देशन दिएकी छिन् । भर्ना अभियान सुरु हुँदै नयाँ शैक्षिकसत्रका लागि आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ । अभियानको पहिलो दिन वैशाख २ गते सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तक्र्रिया गर्ने कार्यक्रम छ । वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्दराज पोख्रेलले जनाए। सामुदायिक विद्यालयकेन्द्रित हुने यस अभियानअन्तर्गत वैशाख २ गते स्थानीय तहको निर्देशनअनुरुप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिनेछ । वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण भएको छ । अभियानकै क्रममा वैशाख १० गते उक्त दिनसम्म भर्ना भएका विद्यार्थीलाई पोसाक र छात्रवृत्ति प्रदान गरिनेछ । वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाइने केन्द्रले जनाएको छ । निजी क्षेत्रका अधिकांश विद्यालयले भने वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया सुरु गरिसकेका छन् । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ आदर्श वाक्य रहेको भर्ना अभियानले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई भर्ना गराइ शिक्षासम्बन्धी नेपालको संविधानको मौलिक हक (धारा ३१) कार्यान्वयनलाई सुनिश्चित गर्ने लक्ष्य लिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘फ्ल्यास रिपोर्ट, २०७९’ अनुसार पूर्वप्राथमिक तहको कूल भर्नादर ९४ दशमलव ९ प्रतिशत छ । विगतको तुलनामा विद्यालय भर्नादर बढे पनि बीचमै पढाइ छाड्ने प्रवृत्ति भने अन्त्य भएको छैन । रासस
शिक्षा मन्त्रालयले भन्यो : विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो । इन्टरनेशन एजुकेसन प्रोभाइडर्स अफ नेपाल (आइप्यान)ले भने नेपालमा ८९ संस्था सञ्चालनमा रहेका जनाएको छ । अनुमति नलिई सञ्चालन हुने संस्थालाई कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ । रासस