बागलुङका ४ विद्यालय गाभिँदा ३१ विद्यालय घटुवा
बागलुङ । नयाँ शैक्षिकसत्रको सुरुआतसँगै सदरमुकामका संस्थागत विद्यालयले उच्च प्राथमिकताका साथ विद्यार्थी भर्ना अभियान चलाइरहेका छन् । अभिभावकको घर पुग्नेदेखि सामुदायिक विद्यालयका विद्यार्थी प्रेरित गर्ने अभियान चलिरहेको छ । सदरमुकामकै केही सामुदायिक विद्यालयमा पनि यो अभियान चलिरहेको छ । तर सबै सामुदायिकमा त्यो जाँगर देखिँदैन । घट्दो विद्यार्थी सङ्ख्या, संस्थागत विद्यालयमै अभिभावकको जोडबल र फितलो व्यवस्थापनले दुब्लाउँदै गएका सामुदायिक विद्यालयको व्यवस्थापनमा चुनौती छ । नयाँ शैक्षिकसत्रको सुरुआतसँगै बागलुङ नगरपालिकाले विद्यालय स्थगन र समायोजन गर्यो । यसले सामुदायिक विद्यालयमा सबै पक्षको चासो र मेहनत कम छ भन्ने सङ्केत गर्छ । नगरपालिकाले नगरभित्रका विद्यार्थी सङ्ख्या न्यून भएका चार विद्यालय स्थगन र ३१ विद्यालय समायोजन गरेको छ । शुक्रबार बसेको नगर कार्यपालिका बैठकले केही विद्यालय स्थगन गर्ने र केही विद्यालय घटुवा गर्ने निर्णय गरेको हो । बैठकले आधारभूत तहका चार विद्यालय नजिकका विद्यालयमा पूर्णरूपमा गाभ्ने निर्णय गरेको छ । वडा नं ९ का रानीभुमे र सरस्वती सामुदायिक प्रावि, वडा नं १२ को कालीगण्डकी र वडा नं १३ को लक्ष्मीनारायण संस्कृत पाठशाला स्थगन गर्ने निर्णय भएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । त्यस्तै आठ वटा विद्यालयमा बालविकास केन्द्र मात्रै सञ्चालन गर्ने, ११ विद्यालयमा बालविकास केन्द्र र कक्षा १ मात्रै सञ्चालन गर्ने, एउटा विद्यालयमा कक्षा १ मात्रै, पाँच विद्यालयमा कक्षा १ देखि ३ सम्म सञ्चालन गर्ने, दुई विद्यालयमा कक्षा ४ र चार विद्यालयमा कक्षा ६ सम्म कक्षा सञ्चालन गर्नेगरी ३१ विद्यालयमा तह मिलान गरिएको हो । बागलुङ बजारको मुटुमा रहेको बालमन्दिर आधारभूत विद्यालयदेखि भौगोलिक हिसाबले दूरदराजमा पर्ने ओख्ले प्राविसम्मका विद्यालय घटुवामा परेका छन् । नगरको विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यविधिअनुसार विद्यार्थी सङ्ख्या कम भएका, शिक्षक दरबन्दी नभएका विद्यालय नजिकका विद्यालयमा समायोजन गरिएको उनले बताए । नगरप्रमुख श्रेष्ठले विद्यालय सुधारको प्रयासलाई अगाडि बढाइएको बताए । सामुदायिक विद्यालयमा नयाँ प्रविधिको प्रयोगसँगै अङ्ग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । शैक्षिक सुधारका लागि नगरपालिकाले विद्यालयको अवस्था बुझेर प्रतिवेदन तयार गर्न समिति बनाएको थियो । नगर शिक्षा समिति, अनुगमन तथा सिफारिस समिति र नगरसभा तथा कार्यपालिकामा भएका छलफलका आधारमा विद्यालय स्थगन तथा घटुवाको निर्णयमा पुगेको नगर प्रमुख श्रेष्ठ बताउँछन् । नगरको यो निर्णयबाट प्रभावित हुने शिक्षक विद्यार्थीको व्यवस्थापनका लागि उपयुक्त कदम चालिने उनले बताए । कक्षा १ देखि ३ सम्म २१ जना, ४ देखि ५ सम्म १४ जना, ६ देखि ८ सम्म २७ जना, ९ देखि १० सम्म ३० जना र ११ देखि १२ सम्म ३० जना विद्यार्थी हुनुपर्ने अनिवार्य मापदण्डलाई प्रमुख आधार बनाएर विद्यालय स्थगन तथा समायोजन भएका हुन् । घटुवा हुने विद्यालयमा वडा नं २ को बालमन्दिर आवासीय विद्यालय, वडा नं ३ को वसुन्धरा प्रावि, वडा नं ४ का देउराली प्रावि र उपल्लाचौर आवासीय विद्यालय , वडा नं ५ का मालिका आवासीय र कृष्ण आवासीय विद्यालय , वडा नं ६ का सदाशिवा प्रावि, आधारभूत प्रावि र भगवती प्रावि रहेका छन् । त्यस्तै वडा नं। ७ का जनचेतना प्रावि र ज्योतिपुञ्ज प्रावि, वडा नं ८ का भैण्डाँडा आवि र भगवती प्रावि, वडा नं ९ का सरस्वती प्रावि, जनसेवा प्रावि, तित्याङ प्रावि, इन्द्र प्रावि, कृष्ण प्रावि, वडा नं १० का सरस्वती प्रावि र बराहा प्रावि, वडा नं ११ का सरस्वती प्रावि, ओख्ले प्रावि, सिद्ध प्रावि र सहिद स्मृति प्रावि, वडा नं १२ का सरस्वती प्रावि, बुद्धिदात्री प्रावि, भैरव प्रावि र जगन्नाथ प्रावि, वडा नं १३ का दुर्गा भवानी प्रावि, सरस्वती प्रावि र वडा नं १४ को आधारभूत आवि रहेका छन् । स्थगन भएका विद्यालय विद्यार्थी सङ्ख्या पुगेका बेला जुनसुकै समयमा सञ्चालन गर्न सकिने गरी भौतिक संरचना संरक्षणको जिम्मेवारी दिने निर्णयसमेत बैठकले गरेको छ । सम्बन्धित वडाका वडाअध्यक्ष, वडा सदस्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सम्बन्धित विद्यालयका प्रधानाध्यापक रहेको समितिले खाली भएका संरचनाको व्यवस्थापन सहजीकरण गर्नेछन् । पुस्तकालय, सिकाइ केन्द्र, प्रशिक्षण केन्द्र तथा सामुदायिक भवनका रुपमा प्रयोग गर्न भवनको उपयोग गरिने नगर उपप्रमुख राजु खड्काले बताए । स्थगन र घटुवा हुँदा मौजुदा शिक्षक बच्ने भएकाले सोही वडाको अर्को विद्यालयमा व्यवस्थापन गर्ने निर्णय समेत बैठकले गरेको छ । रासस
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
म्याग्दी । अष्ट्रेलियाका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक भ्रमणको सिलसिलामा म्याग्दी आएका थिए । पदयात्रा पर्यटकका रुपमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को पर्यटकीयस्थल खोप्रा–खयर क्षेत्रको भ्रमणमा आएका पिटर अहिले सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा सक्रिय छन् । नेपालको पहिलो भ्रमणका क्रममा खोप्रा–खयर क्षेत्रमा पुगेका पिटर यहाँको प्राकृतिक सौन्दयर्ताले लोभिए । भ्रमण सकेर स्वदेश फर्किएपछि पिटरको समूह सन् १९९८ मा पुनःसोही क्षेत्रको भ्रमणमा निस्किए । दोस्रो पटकको भ्रमणमा पिटरको समूहले खोप्रा–खयर क्षेत्रको पदयात्रा मात्रै गरेनन्, उनीहरुले यसै पदमार्गमा पर्ने पाउद्वार गाउँमा पुगेर गाउँको अवस्था र समस्यासँग अन्तरघुलन हुने प्रयास गरेका थिए । ‘पहिलो पटक हामी हिमाल हेर्न नेपाल आएका थियौँ, दोस्रो पटक हामी यहाँको लालीगुराँस हेर्न आयौँ, त्यस बखत हामीले यहाँको जनजीवन र अवस्थासमेत बुझ्न पायौँ, यहाँका स्थानीयसँग भेट भएपछि हामी समुदायको अगुवाइमा शैक्षिक सुधारमा जोडिन पुगेका हौँ’, पिटरले भने । हिमाल र गुराँसलाई नजिकबाट हेर्न डाँडाकाँडामा घुम्न नेपाल आएका पिटर यसबीचमा १९ पटक नेपाल आए । सन् २००१ मा तेस्रो पटक पिटर दम्पती नेपाल भ्रमणको सिलसिलामा पुनःपाउद्वार गाउँमा पुगेका थिए । यसपटक पिटरको भ्रमण पाउद्वार गाउँको शैक्षिक सुधारमा योगदान गर्ने उद्देश्यमा केन्द्रित थियो । पिटर दम्पतीलाई स्थानीय पाउद्वार माविमा भव्य स्वागत भयो । गाउँलेको अगुवाइमा सञ्चालन भएको पाउद्वार माविसहित यस क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारमा पिटरको चासो र ध्यान केन्द्रित भयो । चौथो पटक सन् २००८ मा नेपाल आएका पिटरले ग्रामीण भेगका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षण सिकाइ र शैक्षिक सामग्रीको व्यवस्थापन सम्बन्धमा शिक्षकलाई तालिम दिने योजना अघि सारे । तत्कालीन शिख गाविसअन्तर्गतका विभिन्न छ वटा विद्यालयलका शिक्षकलाई पिटरले व्यक्तिगतरुपमा आर्थिक सहयोग गरेर रिड नेपालमार्फत तालिम दिन सुरु गरेका थिए । सुरुआतका बर्षहरुमा व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्दै आएका पिटरले पछिल्लो एकदशक यता भने संस्थागतरुपमा आर्थिक सहयोग गर्दै आएका छन् । तत्कालिन पाउद्वार माविका शिक्षकसमेत रहेका कृष्ण तिलिजाको नेतृत्वमा नेपालमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन ९लर्न० संस्था र अष्ट्रेलियामा पिटरको नेतृत्वमा क्वालिटी एजुकेशन संस्था दर्ता गरेर सहयोगलाई व्यवस्थित र पारदर्शी तथा शिक्षक तालिमलाई प्रभावकारी बनाउन थालिएको छ । लर्न र क्वालिटी एजुकेशनको साझेदारीमा तत्कालीन शिख गाविसका विद्यालयमा सुरु गरिएको शिक्षक तालिम अहिले म्याग्दीका तीन वटा स्थानीय तहमा विस्तार भएको छ । अन्नपूर्ण गाउँपालिकाका सबै विद्यालयमा कार्यरत शिक्षकलाई आधारभूत तथा स्तरीय शिक्षण सिकाइ सम्बन्धमा तालिम प्रदान गरिसकेको यस अभियानअन्तर्गत रघुगङ्गा र धवलागिरि गाउँपालिकाको साझेदारीमा समेत शिक्षक तालिमलाई कार्यान्वनयमा ल्याइएको लर्नका निर्देशक कृष्ण तिलिजाले बताए । ‘अभियन्ता पिटरको नेतृत्वमा क्वालिटी एजुकेसनमार्फत हामीलाई वार्षिकरुपमा रु ७० देखि ७५ लाख बराबरको सहयोग आउँछ, हामीले यहाँ स्थानीय तहसँग साझेदार गरेर शिक्षकलाई तालिम प्रदान गर्छौं, हामीले प्रदान गर्ने तालिमले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा रचनात्मक सहयोग पुग्ने गरेको छ, आगामी वर्षमा म्याग्दीका थप पालिकाहरुमा शिक्षक तालिमको अभियानलाई जोड्ने जमर्को गरेका छौँ’, तिलिजाले भने । नेपालको हिमाललाई नजिकबाट नियाल्न भ्रमणमा आएका पिटरले यहाँको अवस्थालाई बुझेर शैक्षिक उन्नयनमा पुर्याएको योगदान प्रशंसनीय रहेको उनले बताए । लर्न र क्वालिटी एजुकेशनसँग गाउँपालिकाले साझेदारीमा शिक्षकहरुलाई कक्षाकोठामा शैक्षिक सामग्री निर्माण, प्रयोग, कक्षाकोठा व्यवस्थापन, विषयगत शिक्षण सिकाइ तथा सिर्जनात्मक कलालगायत विषयमा तालिम प्रदान भएपछि सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारमा महत्वपूर्ण उपलब्धि भएको रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । ‘गाउँपालिकाभित्रका सबै विद्यालयका शिक्षक कर्मचारीलाई छुट्टाछुट्टै ठाउँमा तालिम दिएका छौँ, यो तालिमले शिक्षकलाई सिर्जनात्मक बनाउन र कक्षाकोठालाई शैक्षिक सामग्रीयुक्त बनाउन सहयोग गरेको पाएका छौं’, अध्यक्ष भण्डारीले भने । लर्न र क्वालिटी एजुकेसनले शिक्षक तालिमसँगै सामुदायिक विद्यालयहरुमा आधुनिक कम्प्युटर प्रयोगशालासमेत स्थापना गर्न थालेको छ । क्वालिटी एजुकेसन नेपाल, अष्टेलिया र एजुटेक नेपाल, न्युजिल्याण्डको आर्थिक सहयोगमा लर्नले विद्यालयहरुमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना गर्न थालेको हो । यस वर्ष जिल्लाको रघुगगा–३ मौवाफाँटको ज्ञानोदय मावि, अन्नपूर्ण–४ नारच्याङको प्रभा मावि र धवलागिरि–४ मुदीको बुद्धिविकास माविमा २०र२० वटा कम्प्युटरको व्यवस्थापन गरेर सर्भर प्रणाली जडान भएको साथै कम्प्युटर कक्ष र प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।
एसईईपछि म्यानेजमेन्ट पढ्ने सोचमा हुनुहुन्छ ? यी हुन् काठमाडौंका उत्कृष्ट कलेज
काठमाडौं । के तपाईं एसईई दिएर बसिरहनुभएको छ ? त्यसो हो भने मैले कति जीपीए ल्याउँछु ? चाहेको विषय पढ्न पाउँछु कि पाउँदिन ? भन्ने कौतुहलता पक्कै होला । आजभोलि नेपालमा एसईईपछि व्यवस्थापन (म्यानेजमेन्ट) पढ्ने विद्यार्थीको संख्या बढेको छ । यसैको लागि अहिले एसईई दिएर बसेका विद्यार्थी ब्रिजकोर्सको तयारी गरिरहेका छन् । म्यानेजमेन्ट पढेका विद्यार्थीलाई रोजगारीको अवसर भएकाले विद्यार्थीको रुचीमा म्यानेजमेन्ट पर्न थालेको हो । व्यवस्थापन विषयमा सैद्धान्तिक र व्यवहारीक दुवै विषयको मिश्रण हुन्छ । म्यानेजमेन्ट अन्तर्गत अर्थशास्त्र, लेखा, आइटी, कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट मार्केटिङ लगायतका विषय पर्छन् । यी विषयको लागि राम्रो कलेज कुनकुन हुन् ? कहाँ पढ्ने भन्नेमा हुनुहुन्छ ? त्यसो भए आउनुहोस् हामी तपाईंलाई म्यानेजमेन्टका लागि मात्र हैन अन्य संकायको लागि पनि अब्बल ठानिएका कलेजको बारेमा जानकारी गराउँछौँ । प्रसादी एकेडेमी ललितपुरमा रहेको प्रसादी एकेडेमी महंगो र राम्रो कलेजमध्येमा चिनिन्छ । आजभन्दा करिब २७ वर्ष अगाडि ‘एकल कार्यक्रम, एकल व्यवस्थापन’को अवधारणा सहित सुरुवात भएको हो । यहाँ कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन हुन्छ । प्रसादीको शैक्षिक परिणाम हरेक वर्ष उत्कृष्ट हुन्छ । यो कलेजले ९७ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल रहेको दाबी गरेको छ । यो एकेडेमीले म्यानेजमेन्टतर्फ २ सय जनाको सिटमा भर्ना लिएर अध्यापन गराउँदै आएको छ । यहाँ भर्ना हुन २.५ जीपीए ल्याएको हुनुपर्छ । कलेजले विद्यार्थीले ल्याएको ग्रेड र प्रवेश परीक्षाको रिजल्ट हेरेर मात्र छात्रवृतिको व्यवस्था गरिने कलेजले जनाएको छ । यसका लागि विद्यार्थी भर्ना शुल्क र मासिक शुल्क गरी ८९ हजार तिनुपर्छ । तर, यो वर्षको शुल्क भने निर्धारण गर्न बाँकी रहेको जनाएको छ । ट्रिनिटी कलेज काठमाडौंको डिल्लीबजारमा अवस्थित यो कलेज पनि म्यानेजमेन्ट पढ्न विद्यार्थीका लागि राम्रो मानिन्छ । ‘शिक्षा नै भविष्यको आधार’ भन्ने उद्देश्यले सञ्चालनमा आएको कलेज गुणस्तरि शिक्षामा आफु उत्कृष्ट रहेको दाबी गर्छ । दक्ष र अनुभवी शिक्षकबाट गुणस्तरिय शिक्षा दिदै आएको कलेज सतप्रतिशत रिजल्ट दिरहन सफल कलेज हो । बृहत पुस्तकालय, खेलमैदान, साइन्स ल्याब, क्यान्टिनको कलेजमा सुविधा छ । बायोमेट्रिक, फिजिक्स, साइन्स लगायतका छुट्टा छुट्टै ल्याबहरू छन् । पाठ्यक्रममा मात्र विद्यार्थीलाई सीमित नराखेर कलेजले प्रयोगात्मक सिप पनि सिकाउने गरेको छ । यस्तै अध्ययन भ्रमण, गोष्ठी लगायतका कार्यक्रम पनि गर्ने गरेको छ । पठनविधि प्रयोगात्मक र व्यवहारिक, शतप्रतिशत रिजल्ट दिने कलेजका रुपमा आफुलाई दाबी गर्दै आएको छ । ग्लोबल कलेज अफ म्यानेजमेन्ट काठमाडौंको मध्यबानेश्वरमा रहेको यो कलेज म्यानेजमेन्टको लागि उत्कृष्ट ठहरिन्छ । सन् २००१ मा स्थापना भएको यो कलेजले अत्याधुनिक ल्याबसहित शिक्षा दिरहेको छ । व्यवस्थापनको अध्यापनमा सफल बनेपछि यसले ग्लोबल स्कुलअफ साइन्स सञ्चालनमा ल्याएको छ । यो कलेजमा कक्षा ११ मामात्र हरेकवर्ष ९ सय विद्यार्थी भर्ना हुन्छन् । यो कलेजले भौतिक पूर्वाधार, आधुनिक शिक्षण प्रणाली, आधुनिक ल्याब र लाइब्रेरीमा विशेष ध्यान दिएको छ । विद्यार्थीले ल्याएको जीपीए र विद्यार्थीको क्षमता हेरेर सबै विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको कलेजका कार्यक्रम कोर्डीनेटर जय गौडेलले बताए । यो कलेजमा अध्यनरत विद्यार्थी गएको ८,९ वर्षदेखि उत्कृष्ट नतिजा ल्याइरहेका छन् । उत्कृष्ट शिक्षकबाट शिक्षा प्रदान गर्ने यो कलेजमा रेगुलर पढ्ने विद्यार्थी सबै पास हुन्छन् । विषयगत प्रोजेक्ट कार्य, शैक्षिक भ्रमण, व्यापारिक सर्भे, सामाजिक सेवाका कार्यक्रम र खेलकुद गतिविधि ग्लोबल कलेजमा पढाइसँगसँगै सञ्चालन हुने गर्छन् । यो कलेज विद्यार्थीका लागि उत्कृष्ट कलेज हो । काठमाडौं मोडल कलेज काठमाडौंको मुटु बागबजारमा रहेको काठमाडौं मोडल कलेज एक उत्कृष्ट शैक्षिक संस्था हो । कक्षा ११ र १२ मा टप ५ भित्र परेको यो कलेज सन् २००२ मा स्थापना भएको हो । यहाँ अनुभवी र मिहिनेती शिक्षकबाट अध्यापन गराइन्छ । राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा यसलाई उत्कृष्ट क्याम्पस घोषणा गर्दै विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा निजीतर्फ पुरस्कृत भएको थियो । विद्यार्थीलाई पायक पर्ने ठाउँमा रहेको यहाँ विश्वस्तरीय भवन, ल्याब, कक्षाकोठा, पुस्तकालय, क्यान्टिन, खेल मैदान विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्ने कलेजको अर्को विशेषता हुन् । आइएसटी कलेज काठमाडौंको ज्ञानेश्वरमा रहेको आइएसटी कलेज सार्लजबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्स, अस्ट्रियाको सम्बन्धनमा सञ्चालित छ । नेपालमै उत्कृष्ट ‘हस्पिटालिटी’ एजुकेसन उपलब्ध गराउने उद्देश्यसहित यो कलेज सन् २००४ मा स्थापना भएको हो । होटेल म्यानेजमेन्ट र टुरिजमको लागि यो कलेज उत्कृष्ट मानिन्छ । कक्षा ११ मा होटेल म्यानेजमेन्ट, आइटी, जनरल म्यानेजमेन्ट यो कलेजमा पढाइ हुन्छ । यो कलेजमा बेकरी, बार, प्राक्टिकल किचन, प्राक्टिकल रेस्टुरेन्ट, हाउस किपिङका लागि मेकअप रुम, होटल रिजर्भेसन सिस्टमलगायत सुविधा छन् । जसले यस कलेजलाई होटल म्यानेजमेन्ट अध्ययनका लागि उपयुक्त बनाएको कलेका प्रधानाध्यापक सम्झना बस्न्यातले बताइन् । उनका अनुसार यो कलेजमा विद्यार्थीलाई शैद्धान्तिकसँगै व्यवहारिक ज्ञान दिइन्छ । अन्य कलेजभन्दा फरक र प्रयाक्टिकल्ली शिक्षा प्रदान गरिने भएकाले यो कलेज महंगो पनि मानिन्छ । यहाँ कक्षा ११ मा पढ्ने विद्यार्थीहरूले १० देखि १२ हजार माशिक शुल्क तिर्नुपर्छ । लिटिल एञ्जलस् कलेज व्यवस्थापन संकाय कक्षा ११ मा भर्ना हुनको लागि लिटिल एञ्जलस् कलेज पनि राम्रो मानिन्छ । ललितपुरको हातीबनमा रहेको यो कलेजमा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयहरू पढाइ हुने गर्छन् । यो कलेजले राम्रो जिपीए ल्याउने विद्यार्थी र इन्ट्रान्स परिक्षामा राम्रो ल्याउने विद्यार्थीलाई छात्रवृत्तिको समेत व्यवस्था गरेको छ । यो कलेजमा पनि माशिक शुल्क र कूल कति शुल्कमा पढाइ पुरा गर्ने भन्ने विषयमा छलफल गर्न भने बाँकी छ । तर अन्य कलेजहरू भन्दा यो कलेज महंगो मानिन्छ । गएका वर्षमा मासिक शुल्क ३७ हजार, मासिक शुल्क ७ हजार लिँदै आएको कलेजले जनाएको छ । साउथ वेस्टर्न स्टेट काठमाडौंको बसुन्धारामा रहेको यो कलेज २०६६ सालमा स्थापना भएको हो । कलेजमा म्यानेजमेन्ट अन्तर्गत होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, बिजनेस स्टडी पढाइ हुन्छ । म्यानेजमेन्टका हिसामा आफुलाई अब्बल रहेको दाबी गर्दै वर्षेनी सयौँ विद्यार्थी अध्यापन गराउँदै आएको कलेजले ग्लोबल मार्केटले खोजिरहेको जस्तै विद्यार्थी उत्पादन गरिरहेको जनाएको छ । यहाँ शिक्षकले विद्यार्थीलाई पढाउने मात्र नभइ शिक्षकले पढाएको र विद्यार्थीले सिकेको विषय एकअर्कालाई सेयर गर्ने गरिन्छ । पाठ्यक्रममा भएको कुरा पढाउने भन्दा पनि प्राक्टिकल धेरै गरिन्छ । यहाँ क्लासलाई ल्याबसँग जोडिर पढाउने गरेको कलेजका कार्यक्रा निर्देशक गणेश महरा बताउँछन् । यो कलेजमा बिहान र दिउँसो पढ्ने विद्यार्थीको शुल्क अलग अलग छ । यो वर्ष कक्षा ११ मा भर्ना हुने विद्यार्थीबाट कति शुल्क लिने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको बताउँदै महराले गएका वर्षमा १ लाख ३० हजारमा विद्यार्थीबाट शुल्क लिएको बताए ।