गेट कलेज : फलाउँदै, पकाउँदै, पढ्दै

काठमाडौं । के विद्यार्थी कलेजमा खाना कसरी पकाउने, बारीमा कसरी काम गर्ने भन्नेबारे सिक्न चाहन्छन् ? धेरैको उत्तर आउँछ-अहँ ! कलेजमा त पढ्न पो जाने हो नि । तर, कतिपय यस्ता कलेज छन् जहाँ किताबमा भएका कुरालाई सिकाउने मात्र होइन, सिकेका कुरालाई व्यवहारमा कसरी लागु गर्ने भन्नेबारे पनि सिकाइन्छ । कलेजमा विद्यार्थीहरू आफैं तरकारी, फलफूल रोप्छन् र आफैं पकाउन सिक्छन् । यस्तै एउटा कलेज हो- ग्लोबल एकेडमी अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) । यो कलेजभित्र विद्यार्थी खेल्ने ठाउँमात्र होइन, काम गर्ने ठाउँ पनि छ । जहाँ कफी गार्डेन र किचेन गार्डेन पनि छ । यो कलेज काठमाडौंस्थित बूढानीलकण्ठ मण्डिखाटारमा छ । त्यहाँ विद्यार्थीले कक्षामा पढ्नेमात्र होइन आफैं विद्यालयको गार्डेनमा गएर काम पनि गर्छन् । हस्पिटालिटी म्यानेजमेन्टको पढाइ भन्ने बित्तिकै खानाका विभिन्न परिकार पकाउन सिक्ने सिपलाई जोड दिएको पाइन्छ । तर, यो कलेजमा विद्यार्थीले बोटविरुवा लगाउँछन् र त्यसबाट उत्पादन भएको फलको खानेकुरा पकाउँछन् । कलेजको गेटबाट भित्र पस्ने बित्तिकै कलेजको प्रांगणमा रहेका कफीका बोटहरूले कलेजलाई थप आकर्षण बनाएको छ । लटरम्म फलेका कफी र अरू बोटविरुवाले कलेज हरियाली छ । बगैंचामा फलेको फूलहरूको सुन्दरता उस्तै । विद्यार्थी आफैंले कलेजको कफीसपमा गएर कफी कसरी बनाउने भन्नेबारे सिक्छन् । कफी दुई प्रकारका हुन्छन् । एउटा अरबीका र अर्को रगुस्था । रगुस्था तल्लो उचाइ (लोअर अल्टिच्युड) मा फल्छ भने अरबीका उच्च उचाइ (हायर अल्टिच्युड) मा फल्छ । गेट कलेजमा भएको कफी अरबीका हो जो अहिले फलेर लटरम्म भएको छ । कलेजमा फलेको कफीलाई विद्यार्थी आफैं कसरी प्रयोगमा ल्याउने, कफी कसरी बनाउने भन्नेबारे सिक्छन् । यसका लागि कलेजमै दुईवटा कफीसप रहेको विद्यार्थी राेहित गैरेले बताए । जहाँ विद्यार्थी आफैंले कफी बनाउने गर्छन् । एक सयदेखि एक सय ५० विद्यार्थी र शिक्षकले त्यही खाने गर्छन् । कलेजमा किचन गार्डेन पनि छ जहाँ लेमनग्रास, आरु, अम्बालगायत स-साना प्लान्टहरू रोपिएका छन् । कलेजको वातावरण सुन्दर होस् र यसले मनमोहक बनाओस् भनेर फूलहरू पनि रोपेको कलेजका विद्यार्थी समित मुडभरी बताउँछन् । विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान सिकाइरहेको यो कलेज सन २००७ मा स्थापना भएको हो । यो कलेजले मुख्यतया तीनवटा संस्थासँग सहकार्य गरेर कार्यक्रम सञ्चालान गरिरहेको छ । हस्पिटालिटी क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्था स्वीजरल्याण्डको इएचएलबाट सम्बन्धन प्राप्त यो कलेज हस्पिटालिटी क्षेत्रमा अन्तर्राष्ट्रिय अवार्ड पाउने नेपालको पहिलो शैक्षिक संस्था हो । यसले स्वीजरल्याण्डको इएचएल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र अस्ट्रेलियाको स्वीस होटेल एसोसिएसनसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरेको छ । कलेजका प्रबन्ध निर्देशक खेम लकाइ नेपालमा जहिले पनि राम्रो विश्वविद्यालय भएन, कलेज भएन भन्ने गुनासो सुनिरहेकाले किन राम्रो बनाउन सकिँदैन भन्ने हेतुले कलेज सञ्चालनमा ल्याएको बताउँछन् । उनी भन्छन्,‘केही फरक गर्नुपर्छ र गर्न सक्छौँ भन्ने हाम्रो उद्देश्य हो, त्यही अनुसारको शिक्षा दिन हामी प्रयास पनि गरिरहेका छौँ । ’ गेट कलेजमा पढेका सबै विद्यार्थी विदेश जान पाउँदैनन् । र, जान पर्दैन पनि । निर्देशक लकाइ उनीहरूले गर्न खोजेको काम नेपालमै कसरी उपलब्ध गराउने भन्ने बारेमा कलेज लागेको बताउँछन् । याे स्वीसको गरेर सिक्ने (लर्निङ बाइ डुइङ) फेलोसिफी हो । ‘हामी जे पढाउँछौ त्यो सँगसँगै काम पनि गराउँछौँ,’ उनी भन्छन्, ‘काम र अध्ययन सँगसँगै गर्ने कुरामा यो कलेज अब्बल छ । ’ यस कलेजमा चार वर्षे कोर्ससँगै सीटीइभीटीसँग आबद्ध भएका छोटो कोर्सहरू पनि पढाइ हुन्छ । यस्तै अन्य ७ महिना, ९ महिनाका कोर्स पनि सञ्चालन हुन्छन् भने कलेजले एक्सचेन्ज कार्यक्रम पनि गरेको छ । जसमा विभिन्न देशबाट विद्यार्थी ल्याउने र त्यहाँ विद्यार्थीलाई विभिन्न देश पठाउने गरिन्छ । नेपालको शिक्षा प्रणालीमा एउट विद्यार्थीले ब्याचलर्स कोर्स पूरा गर्न चार वर्ष लाग्छ । त्यसपछि बल्ल काम खोज्ने क्रम सुरु हुन्छ । निर्देशक लकाइ अब यो प्रणाली बिस्तारै हट्दै जाने बताउँछन् । ‘संसारमा द्रुत विकास भइरहेको बेला चार वर्षमा धेरै कुरा परिवर्तन भइसकेको हुन्छ,’ उनी थप्छन्, ‘अहिलेको विद्यार्थीको आवश्यक्ता भनेको काम गर्दै पढ्दै गर्ने हो, जो हामीले गर्दै आइरहेका छौँ । ’ छोटा कोर्स यो कलेजमा चार वर्षे कोर्समात्र हाेइन केही समय पढेर अभ्यास गर्ने छोटा कोर्स पनि सञ्चालनमा छन् । जसले छोटो समयमा पनि सीप सिकेर प्रयोगमा ल्याउन सक्छन् । अहिले नेपाली युवा स्वदेशभन्दा बढी विदेशमा छन् । उनीहरूले सीप सिकेर जाँदा सहज हुने निर्देशक लकाइ बताउँछन् । कतिपय यस्ता विद्यार्थीहरू आउँछन् जो केही महिना पढेर, सिकेर विदेशमा काम गर्न चाहन्छन् उनीहरूका लागि यस्ता कोर्सहरू पनि पढाउने गरेको कलेजले जनाएको छ । केही महिनाभित्र जुन विद्यार्थीलाई सेफ बन्नु छ उनीहरू सुरुमै त्यही कुराहरू पढ्छन् । जुन ९ महिनामै पढेर सकिन्छ । निर्देशक लकाइ यस्ता कोर्स पढेर गएका विद्यार्थी अन्तर्राष्ट्रिय होटेलको टप सेफ बनेको बताउँछन् । निर्देशक लकाइका अनुसार यो कलेजले सबैभन्दा फोकस गरेको भनेको एक्सप्रेन्स लर्निङ हो । यसमा नयाँ आविष्कार गरेको कुरा नभइ यो सधै पढिरहेको कुरा हो । अब मान्छेले सूचनाका लागि बुद्धिमान मान्छे छनोट गर्नुपर्देन । आफूलाई चाहिने सूचना खोज्न जान्यो भने जस्तोसुकै कुरा पनि उपलब्ध गर्न सक्छ । उसले जसरी सूचना उपलब्ध गर्न सक्छ त्यसैगरी अनुभव गर्न सक्दैन । अनुभव आफैले नगरी थाह नहुने निर्देशक लकाइ बताउँछन् । सिक्ने अनुभव (एक्सप्रेन्स लर्निङ) मा विद्यार्थीले जे सिके त्यो कुरा गर्न पनि पाए भने मात्र त्यो प्रभावकारी शिक्षा हुन्छ । कफीको बारेमा जतिसुकै थेउरी पढे पनि मेसिन खोलेर कफी बनाउन जानेन भने सिकाइ अधुरो हुने उनकाे तर्क छ । यो कलेजले यस्तै अधुरा शिक्षालाई पूरा गर्न सिकाउँदै विद्यार्थीलाई अनुभव गराउने काम गरिरहेको छ । त्यहाँका विद्यार्थी किचनमा आफै पकाउने, सफा गर्ने गर्छन् । लकाइ यो सिकाइ र अनुभवको ठूलो पार्ट रहेको बताउँछन् । अहिलेका पुस्तामा वातावरण अथवा अर्थले दिने सबैभन्दा ठूलो कुराकाे चेतनामा ग्याप देखिन्छ । पढेलेखेका विद्यार्थीले जागिर मात्र गर्ने र श्रम गर्न नहुने भन्ने धेरै भएकाे उनी बताउँछन् । निर्देशक लकाइ नेपालमा धेरै ठूलो खेतीयाेग्य जमिन खाली भएकाे बताउँछन् । यहँ अथाह सम्भावना छ तर पढेको मान्छेले माटो नछुने भन्ने चलन नै दुर्भाग्य भएको बताउँछन् । यही दुर्भाग्यले मान्छे अपूर्ण भइरहेको उनको तर्क छ । नेपालमा प्रकृतिले दिएका धेरै कुराहरू छन् । यसलाई जोगाएर पर्यटन कसरी विकास गर्ने भन्नेबारेमा कलेज चिन्तित रहेको उनले बताए । शिक्षाको परिभाषा नै फरक २१औं शताब्दीमा शिक्षाको परिभाषा फरक भइसकेको छ । अहिले एआइ, टेक्नोलोजीको जमाना छ । अब मान्छेले ज्ञान ग्रहण गर्ने कुरा सजिलो भइसकेको उनी बताउँछन् । प्रबन्ध निर्देशक लकाइ मेसिनले गर्न नसक्ने कुरामा मात्र अबकाे शिक्षा रहेको बताउँछन् । अहिले व्यवहारिक शिक्षा बारेमा ज्ञान दिनु सक्ने हाे भने चार घण्टाको लेक्चर सुनेर बस्नु नपर्ने उनकाे भनाइ छ । विद्धवानहरूले लेखेर राखेको सामग्री आफैं अध्ययन गर्न सकिन्छ । तर,प्राविधिक तथा व्यवसायिक शिक्षाको बजार भने कहिले समापन हुँदैन । अब १० वर्ष फेजआउट नहुने स्कील के हो त ? भनेर पढ्नु उपयुक्त हुने लकाइ बताउँछन् । अध्ययन वास्तविकता हो । त्यसैले शिक्षा ग्रहण गर्दा सर्टकटभन्दा दीर्घकालीन सोच राखेर गर्दा नै हित हुने उनकाे भनाइ छ ।  

ठूला विश्वविद्यालय जग्गा अतिक्रमणको चपेटामा, फर्काउन धौधौ

काठमाडौं । मुलुकका चार ठूला विश्वविद्यालय जग्गा अतिक्रमणको चपेटामा परेका छन् । आफ्ना जग्गा अनधिकृत रूपमा अरूले निर्वाध प्रयोग गरिरहँदा पनि ती विश्वविद्यालय टुलुटुलु हेर्ने बाहेक केही गर्न सकिरहेका छैनन् । मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमात्र नभई पोखरा, सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चल विश्वविद्यालयलाई आफ्ना जग्गा फर्काउन धौधौ परिरहेको छ । आफ्नो भोगाधिकार रहेको जग्गा अनधिकृत रूपमा अन्य व्यक्ति तथा संघसंस्थाले प्रयोग गरेपछि विश्वविद्यालयहरू पछिल्लोपटक त्यस्ता जग्गा फर्काउन लागिपरेका छन् । तर, वर्षौदेखि अतिक्रमणमा परेका जग्गा फिर्ता ल्याउनुपर्नेमा विश्वविद्यालयले फिर्ता ल्याउन नसकेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं प्रतिवेदनले देखाएको छ । आफ्नो सम्पतिको जगेर्ना गर्ने जिम्मा स्वंयम विश्वविद्यालयको भएको भन्दै जग्गा फिर्ता गर्न पनि प्रतिवेदनले सुझाव दिएको छ । अतिक्रमणको चपेटामा त्रिवि देशको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमणमा परेको लामो समय भएको छ । त्रिविको जग्गा विभिन्न संघसंस्थाले अतिक्रमण गरी विभिन्न व्यवयसाय सञ्चालन गर्दै आएका छन् । कतिपयले त्रिविकै कर्मचारीको मिलेमतोमोमा जग्गा अधिग्रहण भइरहेको पनि आरोप लगाउँदै आएका छन् । त्रिभुवन विश्वविद्यालय र अन्तर्गतका निकायहरूको भौतिक सम्पत्तिको खोज, संकलन तथा जगेर्ना गर्न गठन गरिएको समितिले २०७४ साउन २४ मा बुझाएको प्रतिवेदनअनुसार विश्वविद्यालय र मातहतका निकायको पूर्ण स्वामित्वमा १ करोड ३१ लाख ३७ हजार वर्गमिटर जग्गा रहेको थियो । जसमा ९ लाख ९९ हजार वर्गमिटर जग्गाको भोगाधिकार रहेको र अन्य ६ लाख ५३ हजारसमेत १ करोड ४७ लाख ८९ हजार वर्गमिटर (१ हजार ४७९ हेक्टर) जग्गा रहेको उल्लेख छ । महालेखा परिक्षकको ६१औं प्रतिवेदनअनुसार यो जग्गा सीमा अतिक्रमण गरी कब्जा गरेको, नियमित रूपमा कुत तथा भाडा नउठेको, भोगचलनमा रहे पनि पूर्ण स्वामित्वमा ल्याउन नसकिएको उल्लेख छ । यस्तै विश्वविद्यालयको जग्गामा अन्य निकायले निर्माण गरेका भौतिक संरचनाहरूको हकभोग हस्तान्तरण नभएको, निर्मित संरचनाहरूको स्वामित्व स्पष्ट नभएको, अभिलेख व्यवस्थित नभएको, विभिन्न निकायबीच समन्वय नभएको जस्ता समस्याको समाधान गर्न समितिले दिएका सुझावहरू पनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको जनाइएको छ । यस्तै विश्वविद्यालयको कीर्तिपुर परिसरमा रहेको जग्गा पनि अतिक्रमण भएको पाइएको छ । जसमा २०५७ साउन १३ गते ११३ रोपनी जग्गा एक आवासीय विद्यालयलाई १५ वर्षका लागि उपलब्ध गराएको र त्यसको सम्झौता अवधि सकिएपछि पनि उक्त विद्यालयले त्यो जग्गा अहिलेसम्म विश्वविद्यालयलाई फिर्ता गरेको छैन । यस्तै, बागमती नदी किनारामा रहेको १३ रोपनी जग्गा एक संस्थाले भोगचलन गरिरहेको छ । २०७२ को वैशाख २८ गतेदेखि तीन रोपनी जग्गा एक क्लबलाई र २०७२ असार २ गते एक संस्थालाई १० रोपनी जग्गा प्रयोग गर्न दिएकोमा ती जग्गाबाट विश्वविद्यालयले कुनै आम्दानी प्राप्त नगरेको पनि प्रतिवेदनमा उल्लेख छ । जग्गा फिर्ताको पहल त्रिभुवन विश्वविद्यालयका अनुसार जग्गा फिर्ताका लागि पहल भइरहेको छ । अतिक्रमणमा परेको प्रसंग पटक–पटक सञ्चारमाध्ययममा पनि सार्वजनिक भएपछि अहिले जग्गा फिर्तीको कुरा उठेको छ । अतिक्रमित जग्गा खोज्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति समेत गठन भइसकेको छ । गएको साता बसेको मन्त्रिपरिषद बैठकले गठन गरेको समितिमा जानकीबल्लभ अधिकारी, त्रिविका विज्ञ प्राडा प्रमुसागर चापाईं पनि छन् । समितिले त्रिविका विभिन्न ठाउँमा अतिक्रमणमा परेका जग्गाको खोजी गर्ने भएको छ । सबैभन्दा पहिले उपत्यकाभित्रको जग्गा खोजी गर्ने त्रिविले जनाएको छ । पोखरा विश्वविद्यालयको ६२५ रोपनीभन्दा बढी जग्गा अतिक्रमणमा पोखरा विश्वविद्यालयको ६सय २५ रोपनीभन्दा बढी जग्गा सुकुम्बासीहरूले अतिक्रमण गरेको महालेखापरिक्षकको प्रतिवेदनले देखाएको छ । विश्वविद्यालयको स्वामित्वमा रहेको पोखरा महानगरपालिका वडा नं. १२, १३, १४ का १३७२–१३–३–० रोपनी जग्गामध्ये ६ सय २५ रोपनीभन्दा बढी जग्गा सुकुम्बासीहरूले अतिक्रमण गरेका छन । प्रतिवेदनले विश्वविद्यालयले सम्पत्तिको केन्द्रीय लगत राखी सम्बन्धित निकायसँग समन्वय गरी अतिक्रमित जग्गाको उचित संरक्षण गर्नुका साथै आयमूलक कार्यमा उपयोग गर्नुपर्नेमा जोड दिएको छ । अतिक्रमित जग्गा फिर्ता गर्न पोखरा विश्वविद्यालयले के गरिरहेको छ भन्ने विकासन्युजको प्रश्नमा विश्वविद्यालयले जग्गा फिर्ता ल्याउन असम्भव रहेको प्रतिक्रिया दिएको छ । २०६२ सालसम्म फिर्ताका लागि विभिन्न पहल भए पनि त्यसपछि भने कुनै प्रयास नभएको विश्वविद्यालयका सह प्रशासक गोर्वद्धन भट्टराईले बताए । ‘त्यसबेला जग्गा फिर्ताका लागि पटक–पटक आवाज उठे पनि त्यसपछि यो विषय बिस्तारै सेलाउँदै गयो,’ उनी भन्छन्,‘पहिले अतिक्रमणमा परेका जग्गामा टहरा थिए विश्वविद्यालयका कर्मचारी, प्रहरी गएर भत्काएको थियौँ सकिएन, अब चाहेर पनि विश्वविद्यालयले सक्ने अवस्था छैन ।’ अतिक्रमण गरेको विश्वविद्यालयको जग्गामा अहिले ठूला पक्की संरचना बनिसकेका छन् । भट्टराई राजीनितक दलको आडमै सुकमबासी भनिएकाहरूले जग्गा हडेपेको बताउँछन् । विश्वविद्यालयको जग्गा नेताको भोटसँग मोलमोलाई भएको उनको आरोप छ । ‘हाम्रा नेताहरूलाई भोट चाहिन्छ, उनीहरूलाई हटाए भोट दिँदैन भन्ने डर,’ उनी भन्छन्, ‘यहीकारण जग्गा फिर्ता ल्याउन गाह्रो भयो, अब विश्वविद्यालयको जग्गा फिर्ता ल्याउन राजनीतिक दल अथवा सरकारले भन्दा अरुले नसक्ने उनको भनाइ छ । जग्गा फिर्ता ल्याउन सुदूरपश्चिममा पनि सकस सुदूरपश्चि विश्वविद्यालयको जग्गा पनि अतिक्रमित भएको छ । विश्वविद्यालय र अन्तर्गतका निकायहरूको भौतिक सम्पतिको खोज, संकलन तथा जगेर्ना गर्न र समुचित तवरले अभिलेखीकरण गर्न गठित समितिको प्रतिवेदनअनुसार विश्वविद्यालय र मातहतका निकायको पूर्ण स्वामित्वमा रहेको टीकापुर बहुमुखी क्याम्पसको ३८० बिघा जग्गामध्ये ३०० बिगाहा जग्गा सुकुम्बासीहरूले अतिक्रमण गरेका छन् । विश्वविद्यालयले सम्बन्धित निकायसँग समन्वय गरी अतिक्रमित जग्गाको उचित संरक्षण गरी आयमूलक कार्यमा उपयोग गर्नुपर्ने महालेखापरिक्षाको प्रतिवेदनले भनेको छ । विश्वविद्यालयको आर्थिक प्रशासन नियमावली, २०६९ को नियम ९३ (७) मा विश्वविद्यालयको जिम्मा वा स्वामित्वमा रहेका जुनसुकै स्रोतबाट प्राप्त हुन आएका सम्पत्ति, जायजेथा र सामानहरू सुरक्षित राख्नु र राख्न लगाउनु प्रत्येक पदाधिकारी, शिक्षक र कर्मचारीहरूको कर्तव्य र उत्तरदायित्व हुने उल्लेख छ । टिकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढवीन्द्र रावलले २०६३ सालदेखि जग्गा अतिक्रमण भए पनि फर्कउन नसकेको बताए । यसका लागि पटक पटक मन्त्रालयदेखि हरेक निकायमा धाउँदा पनि फर्काउन नसकेको उनको भनाइ छ । उनले सडक आन्दोलन गर्दा पनि केही सीप नलागेको बताउँदै धाउनुपर्ने हरेक ठाउँमा भाएको बताए । ‘यसका लागि धरै धायौँ, वास्तविक सकुम्वासी पहिचान गरी व्यवस्था गर्न पनि भन्यौं तर हाम्रो सीप लागेन,’ उनी भन्छन्, ‘अब यसको जिम्मा राज्य पक्ष र विश्वविद्यालयले लिनुपर्छ ।’ यो जग्गा तत्कालीन टिकापुर विकास समितले २०६२ सालमा लिएको र त्यसको लालपुर्जा पनि आफुहरूसँग रहेको बताउँदै रावलले राज्यले नै यसमा सहयोग गर्नुपर्ने बताए । जग्गाको एकिन विवरण नै छैन जग्गा अतिक्रमणमा परेको पूर्वाञ्चाल विश्वविद्यालयसँग कति जग्गा अतिक्रमणमा परेको छ भन्ने नै एकिन छैन । तर, महालेखापरिक्षकको प्रतिवेदनले भने ८० बिगाहा जग्गा स्थानीयले घेरा पर्खाल लगाई अतिक्रमण गरेको देखाएको छ । मोरङको साबिक इन्द्रपुर, मृगौलिया र सुन्दरपुर गाउँ विकास समितिअन्तर्गतको ८०५ बिघा जग्गा भोगचलनका लागि २०५५ सालमा स्वीकृति लिएको महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार ८० बिगाहा जग्गा घेरा पर्खाल लगाई प्रयोग गरिँदै आइएको छ । सीमा आसपासका क्षेत्रमा अतिक्रमणमा परेका जग्गा संरक्षणका लागि कंक्रिट पोल निर्माण गर्न एक निर्माण व्यवसायीसँग २०७४ जेठ २० गते ३६ लाख १३ हजार रुपैयाँमा खरिद सम्झौता भएको थियो । विवादरहित सीमांकनका लागि जग्गाको फेरि नापी गर्न एक परामर्शदातासँग २०७७ माघ २२ गते ४ लाख ८५ हजार रुपैयाँको खरिद सम्झौता भएको थियो तर, सो परामर्शदाताले आफ्नो काम सम्पन्न नगरेको पनि प्रतिवेदनमा उल्लेख छ । तर, पूर्वाअञ्चल विश्वविद्यालयले आफ्नो कति जग्गा अतिक्रमणमा छ भन्ने प्रश्नको जवाफ नै दिन सकेन । विश्वविद्यालयका प्रशासकीय अधिकृत फणिन्द्रराज बरालले फिर्ताका लागि पहल गरेको भए पनि कर्मचारीको पहलले मात्र जग्गा फिर्ता नहुने बताए । उनले भने, ‘यो माथिल्लो तहबाट गरिने प्रयास हो, हामी कर्मचारीले मात्र कुरा उठाउँदा हुँदैन, तर धेरैपटक यो विषयमा मुद्दा मामिला गरिसकेका छौँ । ’

अल्फाबिटाले प्रमुख ६ सहरमा ‘इन्टरनेशनल एड्मिसन डे’ कार्यक्रमको आयोजना गर्ने

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले ‘इन्टरनेशनल एड्मिसन डे २०२४’ आयोजना गर्ने भएको छ । उच्च शिक्षाका लागि विदेश जाने सोच बनाएका विद्यार्थीलाई लक्षित गर्दै अल्फाबिटाले यसअघि पनि विभिन्न एड्मिसन डे आयोजना गर्दै आएको थियो । सोहीअनुसार यो पटक अष्ट्रेलिया, क्यानडा, भारत, आयरल्याण्ड, जर्मनी, युके र अमेरिका जाने तयारीमा रहेका विद्यार्थीका लागि अल्फाबिटाले काठमाडौंसहित देशका प्रमुख ६ सहरमा यही २५ जुनबाट इन्टरनेशनल एड्मिसन डे २०२४ आयोजना गर्न लागेको हो । २५ जुनमा चितवन, २६ जुनमा पोखरा, २८ जुनमा काठमाडौं, १ जुलाईमा विर्तामोड, २ जुलाईमा दमक र ३ जुलाईमा विराटनगरमा इन्टरनेशनल एड्मिसन डे आयोजना हुने अल्फाबिटाले जनाएको छ । एड्मिसन डे बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । सो अवसरमा विद्यार्थीहरुले सम्बन्धित मुलुकको युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर त्यहाँको शिक्षा नीति, भर्ना, छात्रबृत्ति तथा शुल्क, भिसा डकुमेन्टेसनलगायत आवश्यक सम्पूर्ण जानकारी लिन सक्नेछन् । आफ्ना जिज्ञासाहरू सीधै युनिभर्सिटीका प्रतिनिधिसँग राखेर उपयुक्त कलेज छान्न सक्ने भएकाले विद्यार्थीहरुका लागि यस इन्टरनेशनल एड्मिसन डे निकै महत्वपूर्ण हुने अल्फाबिटाले विश्वास व्यक्त गरेको छ ।