सामादायिक विद्यालयले भाडामा दिएका ६१ सटरमा काठमाडौं महानगरले लगायो ताला
काठमाडौं । काठमाडौं महानगरपालिकाले चार वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ सटरमा ताला लगाएको छ । कामपा शिक्षा विभाग, प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले आइतबार विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा लगाइएका सटर तथा टहरामा ताला लगाएको हो । यसरी ताला लगाइएका सटरहरूमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयका १७, बागबजारस्थित सहिद शुक्र माविका २२, विजय स्मारक मावि डिल्लीबजारका ८ र पदमकन्या मावि डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए । शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरमा ताला लगाएर चाबी प्रधानाध्यापकलाई बुझाइएको दाहालले बताए । यसैगरी व्यवसायीलाई आफ्ना सामान लैजान सात दिनको समय दिइएको छ । ‘कामपाभित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको देखिएको छ । यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइनेछन्,’ दाहालले भने, ‘विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत महानगरपालिकाले प्रदान गरिरहेको छ । विद्यालयले माग गरेकोभन्दा धेरै कार्यक्रम पठाएको छ ।’ महानगर प्रमुखको सचिवालय सदस्य सस्मित पोखरेलले विद्यालयले स्थान अभाव देखाउँदै शैक्षिक कार्यक्रम सञ्चालनमा असहज भएको गुनासो गरिरहे पनि आफूसँग भएको स्थानलाई प्रयोगमा ल्याउने विषयमा कहिल्यै कुरा नगरेको बताए । पोखरेल भन्छन्, ‘विद्यालयमा विज्ञान र कम्प्युटर ल्याब बनाउनुपर्ने छ । पढ्ने संस्कृति बसाउन पुस्तकालय बनाउनुपर्ने आवश्यकता छ । त्यसैले भाडामा लगाइएका स्थान खाली गरेर शैक्षिक क्रियाकलाप सञ्चालनका लागि उपयोग गर्छौँँ ।’
मिस युनिभर्स नेपालद्वारा विद्यार्थी सशक्तीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले चक्रपथस्थित नमुना कलेज अफ फेसन टेक्नोलोजीमा विद्यार्थी सशक्तीकरण कार्यक्रम सम्पन्न गरेको छ । आइतबार सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूको व्यक्तिगत विकास र करियरसम्बन्धी उत्प्रेरणामुलक गतिविधिहरु समावेश गरिएको थियो । कार्यक्रमको प्रमुख आकर्षण चर्चित गायिका इन्दिरा जोशी थिइन् । उनले विद्यार्थीहरूलाई जीवनमा सकारात्मक सोच, आत्म–विश्वास र लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गर्न उत्प्रेरित गरेकी थिइन् । आफ्ना अनुभवहरू साट्दै उनले विद्यार्थीहरूलाई चुनौतीहरूको कसरी सामना गर्ने र कसरी आफ्नो क्षमताको अधिकतम उपयोग गर्ने भन्ने विषयमा मार्गदर्शन गरेकी थिइन् । कार्यक्रमलाई अन्तरक्रियात्मक बनाउनको लागि प्रश्नोत्तर सत्र पनि आयोजना गरिएको थियो जसमा विद्यार्थीहरूले इन्दिरा जोशीसँग विभिन्न प्रश्नहरू सोधेका थिए । यस अन्तरक्रियात्मक सत्रले विद्यार्थीहरूलाई आफ्ना जिज्ञासाहरू मेटाउन र नयाँ ज्ञान हासिल गर्न सहयोग पुगेको उनीहरूले बताए । जोशीले विद्यार्थीहरूको आत्म–प्रकाश र आत्मविश्वास बढाउन विभिन्न सामूहिक छलफल, भूमिका निर्वाह अभ्यास, र फेसन तथा प्रविधिसँग सम्बन्धित सिर्जनात्मक चुनौतीहरू जस्ता गतिविधिहरू गराएकी थिइन् । उनले विद्यार्थीहरूलाई समूहमा काम गर्न, नयाँ विचारहरू प्रस्तुत गर्न र आफ्ना क्षमताहरू प्रदर्शन गर्न उत्प्रेरित गरेकी थिइन् । यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा आत्म–विश्वास, सिर्जनात्मकता र नेतृत्व क्षमताको विकास गर्ने विश्वास मिस युनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले व्यक्त गरेको छ । ७० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको यस अन्तरक्रियात्मक कार्यक्रम देशका सातै प्रदेशमा सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।
हल्ट प्राइजमा सहभागी हुने नेकका विद्यार्थीलाई बिदाइ
काठमाडौं । विद्यार्थीहरूको लागि नोबेल पुरस्कारका रूपमा परिचित हल्ट प्राइजको सेमिफाइनल प्रतिष्पर्धामा भाग लिन नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरु मुम्बई प्रस्थान गरेका छन् । विद्यार्थीहरूलाई रचनात्मक र सामाजिक उद्यमहरू विकास गर्न प्रोत्साहित गर्ने विश्वकै प्रतिष्ठित हल्ट प्राइजको नयाँ संस्करणमा कलेजका तीन जना विद्यार्थीहरु छनौट भएका थिए । एक लाख अमेरिकी डलर पुरस्कार राशी भएको हल्ट प्राइजको अन्तराष्ट्रिय प्रतिष्पर्धामा भाग लिन कलेजका लजिता भट्ट, लिजा तामाङ र साइम मानन्धर जुन ७ र ८ मा भारतको मुम्बईमा हुने प्रतिष्पर्धामा भाग लिने मौका पाएका हुन् । उनीहरुलाई बुधबार कलेजले खादा तथा अविर लगाएर बिदाइ समेत गरेको छ । प्रतिष्पर्धामा भाग लिन जाने विद्यार्थीहरुलाई विदाई गर्दै कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले नेपालको तथा कलेजको नाम उच्च राख्ने गरी प्रतिष्पर्धामा भाग लिन आग्रह गरे । ‘तपाईहरु कलेजको प्रतिनिधी भएर मात्र हैन देशकै प्रतिनिधित्व गरेर जाँदै हुनुहुन्छ, आत्मविस्वासका साथ भाग लिनुहोला ।’ कार्यवाहक प्रिन्सिपल भण्डारीले भने । प्रतिष्पर्धामा भाग लिइरहेका विद्यार्थीहरुले कलेज तथा देशको नाम उच्च राख्ने गरी आत्मविश्वासका साथ प्रतिष्पर्धा गर्ने बताए । ‘हाम्रो कन्सेप्ट पृथक र जीवनोपयोगी छ । विश्वब्यापी प्रतिष्पर्धामा हामीले शतप्रतिशत राम्रो गर्देछौं ।’ विद्यार्थी लजिता भट्टले भने । उनका अनुसार यो पटकको ग्लोवल प्रतिष्पर्धामा उनीहरुले तयार पार्नु भएको अवधारणाले सबैको ध्यान खिच्नेछ । अवधारणा भने प्रतिष्पर्धामा भाग लिएपश्चात मात्र सार्वजनिक गर्ने उनीहरुको सोच छ । यो वर्ष हल्ट प्राइजले सामाजिक उद्यम र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरु मध्ये कम्तिमा एउटा विषयलाई संवोधन गर्दै प्रतिष्पर्धा आयोजना गरिरहेको छ । प्रतियोगितामा नेपाल इन्जिनियरिङ कलेजसँगै कसमस इन्जिनियरिङ कलेज, पुल्चोक क्याम्पस, त्रिभुवन विश्वविद्यालय लगायतले समेत सहभागिता जनाएका छन् । प्रतिष्पर्धामा ३ देखि ५ जना विद्यार्थीको समुह बनाएर भाग लिने प्रावधान छ । नेपाल इन्निनियरिङ कलेजले विद्यार्थीहरुलाई अन्तराष्ट्रिय एक्सपोज प्रदान गर्न हल्ट प्राइज लगायत विभिन्न अन्तराष्ट्रिय प्रतिष्पर्धा र कार्यक्रमहरुमा कलेजकै खर्चमा पठाउने गरेको कलेजले जनाएको छ ।