डिएभी कलेजमा ७ औँ अन्तर्राष्ट्रिय विज्ञान सम्मेलन सम्पन्न
काठमाडौं । ललितपुरस्थित डिएभी कलेजमा तीन दिने अन्तर्राष्ट्रिय विज्ञान सम्मेलन, काठमाडौं च्याप्टर–२.० को सातौँ एपिसोड भव्यताका साथ सम्पन्न भएको छ । जेठ २६ देखि २८ गते सम्म सञ्चालित सम्मेलनको विषयवस्तु ‘दिगो भविष्यका लागि कृषि, जैविक, वातावरण र जीवन विज्ञानमा विश्वव्यापी दृष्टिकोण’ रहेको थियो । हाइब्रिड मोडमा सञ्चालित कन्फ्रेन्समा विश्वका १४ देशका अनुसन्धानकर्ताहरू भौतिक र भर्चुअल रुपमा जोडिएका थिए । नार्कका कार्यकारी निर्देशक डा. सुरेन्द्रलाल श्रेष्ठले यस्तो आशाजनक अवसरमा मुख्य अतिथिका रूपमा सहभागी हुन पाउनु ठूलो सम्मान र खुशीको कुरा भएको उल्लेख गरे । उनले विज्ञान र प्रविधि क्षेत्रका शिक्षाविद्हरूको उत्साह र सहभागिताको प्रशंसा गर्दै सम्मेलनले भावी पुस्ताको सुरक्षा र वर्तमान पुस्ताको आवश्यकता सँग सम्वन्धित प्रस्तुत भएका वैज्ञानिक समाधानका उपायहरूको प्रसंशा गरे । डिएभी कलेजका अध्यक्ष अनिल केडियाले कलेज परिसरमा बिज्ञान विषयका विद्वानहरूलाई स्वागत गर्दै दिगो भविष्यका लागि कृषि, जीवविज्ञान, वातावरण र जीवन विज्ञानको क्षेत्रमा काठमाडौँ विज्ञान सम्मेलन कोसेढुङ्गा सावित हुने विचार व्यक्त गरे । त्यसैगरी, विश्वव्यापी कृषि र वन्यजन्तु सेसनका लागि प्रस्तुत गरिएका अनुसन्धान पत्रहरूले कृत्रिम बुद्धिमत्ता र डिजिटल कृषि, नानो–सामग्रीको भूमिका, ग्लोबल मिलेट्स (श्री अन्न) कृषि र पशु चिकित्सा विज्ञान र कृषि–व्यवसाय व्यवस्थापन र मार्केटिङ प्रविधि लगायतका मुद्दाहरूलाई उठाएका थिए । उक्त सम्मेलन भारतको उत्तर प्रदेशको गाजियाबादस्थित कृषि प्रविधि विकास समाज (एटिडिएस) संयोजकत्वमा र नेपालको ललितपुरस्थित डिएभि कलेज (त्रिभुवन विश्वविद्यालय) को सहायतामा आयोजना गरिएको हो । यस सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका विश्वविद्यालय र कलेजहरूसहित कुल १४ वटा सरकारी निकाय, विश्वविद्यालय र अनुसन्धान एकाइहरू सह–आयोजकका भुमिकामा थिए । त्यसैगरी, भारतका विभिन्न राज्यहरूबाट समान सङ्ख्यामा आएका सहयोगी संस्थानहरूले सम्मेलनलाई विश्वभर पु-याउन सहयोग गरे । सबै प्रतिनिधिहरूले अनुसन्धानको उद्देश्य, परिकल्पना, विधि, परिणाम र निहितार्थ स्पष्ट रूपमा उल्लेख गर्दै सैद्धान्तिक दृष्टिकोण देखि वैचारिक र अनुभवजन्य अनुसन्धान पत्रहरू प्रस्तुत गरे । यस अनुसन्धान यात्रामा, पाँचवटा जर्नल प्रकाशन गृहहरू पनि संलग्न थिए । यसबाहेक सम्मेलनमा धेरै मौखिक र पोस्टर प्रस्तुत गरियो । सम्मेलनमा १६१७ अबधारणा प्रस्तुत गरिएका थिए । करिब १००० जनाको उपस्थिति थियो । ६५० जना भौतिक रुपमै उपस्थित थिए भने बाँकी भर्चुअल रुपमा जोडिएका थिए । मौखिक प्रस्तुतिका लागी मात्र ३६५ जनाको भौतिक उपस्थिति र ३८० जनाको भर्चुअल उपस्थिति थियो भने पोस्टर प्रतुतिका लागी २८० जना भौतिक र ४१० जना भर्चुअल रुपमा उपस्थित थिए । मौखिक र पोस्टरका विषयवस्तुहरु मुलतः सोईल साइन्स्, एग्रोनोमी, जेनेटिक्स्, प्लान्ट् ब्रिडीङ्ग, माइक्रोबायलोजी, केमेस्ट्री र वायोटेक्नोलोजी संग सम्बन्धित थिए । उक्त सम्मेलनको आयोजक कमिटीका अध्यक्ष प्रा.डा.ए.पी. गर्ग, सचिव डा. जोगिन्दर सिंह र डा. एस.पी. विष्ट, कार्यकारी अध्यक्ष र सहसंयोजक, डिएभी कलेजका प्रोग्राम कोर्डिनेटर शशि भुषण चर्तुवेदी सहसंयोजकको भूमिकामा थिए । उक्त सम्मेलनका क्रममा कुल २४ विधाका ग्लोबल इन्टरनेशनल कन्फरेन्स अवार्ड (एटिडिएस, २०२४) द्वारा योग्य प्रतिनिधिहरूलाई सम्मान समेत प्रदान गरिएको थियो । लाइफटाइम र स्थायी उपलब्धिदेखि विभिन्न तह र तप्काका वैज्ञानिकहरू, लेखकहरू र शिक्षकहरूलाई ज्ञानका विभिन्न क्षेत्रहरूमा पुर्याएको अतुलनिय योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । विज्ञान र प्रविधिको ज्ञान प्रवाहका लागि लगभग एक सय अग्रणी शिक्षाविद्, प्राध्यापक, विशेषज्ञ, संस्थापक र प्रबन्धकहरू थिए । यसबाहेक सह–संयोजकका रूपमा ३० जना र व्यवस्थापन तथा क्वेरी कमिटीका २० जना व्यक्तिको सहभागिता रहेको थियो । आयोजक कमिटीका अध्यक्ष प्रा.डा. अम्मर गर्गले कार्यक्रमलाई भव्य, सभ्य एंव दिव्य रुपमा सम्पन्न गर्न विभिन्न भुमिका र जिम्मेवारीमा रहेका सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिँदै सम्मेलन औपचारिक रुपमा समापन गरेका थिए । कार्यक्रमलाई सफलतापूर्वक सम्पन गर्न रिचा चौधरी, सुदीप अधिकारी, श्रीलता वाग्ले, अन्जना चौधरी र सीमा अधिकारीको उल्लेख्य भूमिका रहेको थियो ।
विद्यालयका सटर बन्द नगर्न महानगरलाई उच्च अदालतको अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत पाटनले सामुदायिक विद्यालयबाट भाडामा लिएका सटरहरू बन्द नगर्न काठमाडौं महानगरपालिकालाई अल्पकालीन अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेलको एकल इजलासले सामुदायिक विद्यालयबाट भाडामा लिएका सटरहरू बन्द नगर्न ७ असारसम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिएको हो । काडमाडौं महानगरले शैक्षिक कामकारबाहीका लागि उपयोग हुनुपर्ने ठाँउमा सटर भाडामा लगाइएको भन्दै विद्यालयले भाडामा लगाएका सटर बन्द गराएको थियो । सटरमा ताला लगाएपछि व्यवसायीले उच्च अदालतमा रिट निवेदन दिएका थिए । महानगरको निर्देशन अनुसार नगर प्रहरीले सटरमा ताला लगाएको थियो । अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा असार ७ गते पक्षविपक्षबीच छलफलपछि टुंगो लाग्ने छ ।
शिक्षिकाले मर्मत गरे हुरीले उडाएको विद्यालयको छानो
दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षिकाले हुरीले उडाएको छानो मर्मत गरेका छन् । यही जेठ १७ गते आएको हुरीले उडाएको विद्यालयको छानो विद्यालयमा अध्यापनरत शुभकामना कुँवर, निर्मला राना र बन्दना भट्टराईले मर्मत गरेका हुन् । हुरीले छानो उडाउँदा पठनपाठनमा समस्या भएपछि शिक्षिका आफैँ अग्रसर भएर मर्मतमा जुटेका विद्यालयका प्रधानाध्यापक सरस्वती भट्टराईले जानकारी दिइन् । विद्यालयको दुईवटा भवनमध्ये एउटाको छानो हुरीले उडाएको थियो । दुवै भवन जीर्ण अवस्थामा रहेका उनले बताए । छानो नउडाएको अर्को भवनमा विद्यार्थी राखेर अध्यापन गराउँदै आइएको प्रधानाध्यापक भट्टराईले बताए । उनका अनुसार विद्यालयमा ३१ जना विद्यार्थी अध्ययनरत छन् । छानो नहुँदा पानी परेर पठनपाठनमा समस्या भएपछि शिक्षिका आफैँले मर्मत थालेको उनको भनाइ छ । प्रधानाध्यापक भट्टराईका अनुसार यसबारेमा गाउँपालिकालाई खबर गरिएको थियो । पालिकाबाट छानो छाउन समय लाग्ने जानकारी पाएपछि पुरानै छाना मर्मत गरी पठनपाठन सञ्चालन गरिएको उनले बताए । विद्यालयमा सातजना शिक्षक छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले हुरीले पालिकाभित्रका धेरै विद्यालय र घरहरुमा क्षति पुगेको बताए । आवश्यकताका आधारमा तत्काल त्रिपाल पठाइएको भन्दै विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर काम गरिने उनले बताए । रासस