बढ्दो गर्मीले विद्यालय बन्द, खोप अभियान स्थगित

भरतपुर । गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । यही जेठ १३ गतेको नगरपालिका स्तरीय निर्णयअनुसार बिदा दिइएको हो । चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ । खोप अभियान स्थगित अत्यधिक गर्मी बढेपछि रत्ननगर नगरपालिकाले आइपिभी खोप अभियानसमेत स्थगित गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वाग्लेले पालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा जेठ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने तय भएको खोप कार्यक्रम गर्मीका कारण स्थगित गरिएको बताए । सो अभियान जेठ २० गतेदेखि पुनः सञ्चालन हुने उनले जानकारी दिए ।

अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरका विद्यालय बन्द

खजुरा । गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरूमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि नगरअन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताए । उनका अनुसार यही जेठ १५ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बिदा दिइएको हो । १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ । नेपालगन्जको तापक्रम अहिले ४२ डिग्री सेल्सियस माथि पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ ।

इसीडी सुधारको लागि सरकार तयार, चापागाईँको प्रदर्शन स्थगित

काठमाडौं । प्रारम्भिक शिक्षा तथा बालविकास (इसीडी)का सुधारका लागि सरकार सकरात्मक बनेको छ । ‘गुणस्तरिय शिक्षाको आधार, इसीडी शिक्षामा सुधार भन्ने’ नारासहित विभिन्न पाँचबुदे माग राख्दै माइतीघरमा उभिएर आन्दोलन गरिरहेका अभियन्ता नेत्र चापागाईँका मागप्रति समर्थन जनाउँदै शिक्षामन्त्री श्रेष्ठले माग सम्बोधनका लागि तयार रहेको बताएकी छन् । सामाजिक सञ्जालमा लेख्दै मन्त्री श्रेष्ठले यो अभियानले प्रारम्भिक शिक्षा तथा बालविकासबारे देशव्यापीरुपमा अझ झक्झकाइदिएको बताएकी छन् । उनले लेखेकी छिन्, ‘यो अभियानका लागि नेत्र जीलाई धन्यवाद, अब बालविकास मुलधारमा छलफलको विषय बन्ने वातावरण बन्न यसले महत्वपूर्ण सहयोग गर्ने छ ।’ प्रारम्भिक शिक्षा तथा बालविकास आधारभूत शिक्षाकै अभिन्न अङ्ग हो । यही धारणाले ‘विद्यालय शिक्षा विधेयक, २०८०’ मा संशोधन राखेका उनले स्मरण गराएकी छिन् । नेत्रले राखेका मागमा मन्त्री श्रेष्ठाले इसिडीलाई तीन वर्षे बनाउने भन्नेबारे ‘प्रारम्भिक तथा बालविकास शिक्षाप्रणालीमा परिमार्जन गरिनेछ’ भनि यस वर्षको नीति तथा कार्यक्रमको बुँदा नम्बर १४२ मा पनि समावेश गरिसकेको बताइन् । यस्तै इसीडी शिक्षकलाई सामाजिक सुरक्षाकोषमा आवद्ध गराउने, इसिडी शिक्षकको न्युनतम पारिश्रमिकको सुनिश्चितताका लागि अन्तरसरकारी पहल गरिने पनि जनाइएको छ । नेपालमा संस्थागत इसिडी अध्ययनरत ९५ प्रतिशत विद्यार्थी कक्षा १ मा जान तयार रहेको पाएको छ भने सामुदायिक इसिडी अध्ययनरत ६५.६ प्रतिशत विद्यार्थी मात्र कक्षा १ मा जान तयार रहेको पाएको छ । गुणस्तर परिक्षण केन्द्रको सन् २०२२ को ‘प्रारम्भिक शिक्षा तथा बालविकासको गुणस्तर परिक्षण’ले यस्तो देखाएको हो । सरकारले आफ्ना मागलाई सम्बोधन गर्ने भएपछि नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाँईले आन्दोलन स्थगित गरेका छन् । जेठ २ गतेदेखि माइतिघर मण्डालामा एक्लै उभिएर (स्टायान्डिङ फर इसीडी) अभियान सुरु गरेका थिए ।