सत्व भोजन गराैं, स्वास्थ्यमा लगानी बढाऔं
नोभल कोरोना भाइरस एक नयाँ किसिमको कोरोना भाइरस हो जुन मानव जातिमा यसअघि पहिचान भएको थिएन । यस भाइसरले मुलतः मानिस स्तनधारी जनावर तथा चराचुरुङ्गीहरुमा सङ्क्रमण गर्ने र रोग निम्त्याउने गर्दछ । यस भाइरसले ज्वरो, रुघा, सुख्खा खोकी देखी निमोनिया, तिब्र स्वासप्रस्वास सम्बन्धी समस्या, आन्तरिक रक्तस्राव र मृत्यु समेत निम्त्याउन सक्दछ । चीनको वुहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा केहि व्यक्तिहरुमा निमोनियाको संक्रमण देखा परेको थियो जसको कारणबारे त्यस समयको सबै चिकित्सक अनभिज्ञ थिए । या भनौँ त्यो निमोनिया असाधारण कारणबाट उत्पन्न भएको थियो । कोरोना भाइरसको संक्रमणबाट ५ जनावरी २०२० मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो । यो भाइरस चीनको वुहान प्रान्तमा प्रथम पटक मानिसमा सरेको थियो । कोरोनाको यस प्रकोपलाई मनन गर्दै ३० जनावरी २०२० का दिन विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य सङ्कटकालको घोषणा गरेको थियो । यस नयाँ किसिमको कोरोना भाइरसलाई ११ फेब्रुवरी २०२० मा विश्व स्वास्थ्य संगठनले काेभिड-१९ को नाम दियो जसको विस्तारीत रुप काेराेना भाइरस डिजिज-२०१९ रहेको छ । कोभिड–१९ को केन्द्रविन्दु मानिने चीनको वुहान प्रान्तमा सर्वप्रथम सर्प र चमेराबाट यो भाइरस मानिसमा प्रवेश गरेको भनिएकाे छ तर आजको दिनसम्म यसको कुनै वैज्ञानिक तथ्य फेला पार्न सकिएको छैन । संक्रमित व्यक्तिको संसर्गमा आएमा, निजले प्रयोग गरेको व्यक्तिगत चिजवस्तु प्रयोग गरेको खण्डमा र संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट मानिसमा एक व्यक्तिबाट अर्को व्यक्तिमा यो भाइरस सर्ने गर्दछ । विश्व स्वस्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरे लगतै यस भाइरसले चीन लगायत चीनको छिमेकी राष्ट्रहरु, अमेरिका र युरोपका अधिकांश राष्ट्रहरुमा मानवजातिको अस्तित्व नै निष्कृय पार्न तम्सिएको छ । सुरुको अवस्थामा यस भाइरस निकै तिब्र गतिमा फैलिएको चीनको अवस्था अहिले सामान्यउन्मुख बनेको छ । २०७७ वैशाख ५ गते सम्म आइपुग्दा चीनको संक्रमितको संख्या ८२,६९२ रहेको छ भने ज्यान गुमाउनेको संख्या ४६३२ रहेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै पुगेको छ । जान गुमाउनेकाे संख्या पनि अमेरिकामा सबैभन्दा धेरै छ । याे लेख तयार गर्दासम्म विश्वमा संक्रमण देखिएका २१० राष्ट्रहरु, क्षेत्रहरुमा संक्रमितको संख्या २,२१९,१६४ पुगेको छ जसमध्ये मृत्यु हुनेको संख्या १४९,८८४ रहेको छ भने ५६०,९१२ जना उपचार पछि निको भएका छन् । कोरोना प्रकोप नेपालमा पनि फैलदै गएकाे छ । याे लेख तयार गर्दासम्म संक्रमित संख्या ३० पुगको छ जसमध्ये दुई जना उपचार भइकन घर फर्किसकेका छन् । नेपालमा हालसम्म १५,८०० जनामा कोरोनाको नमूना परीक्षण गरिएको छ । नेपालमा कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन । नेपालमा कोरोनाको संक्रमण देखिएका क्षेत्रहरुमा बाग्लुङ, काठमाण्डौँ, कैलाली, कञ्चनपुर, उदयपुर, पर्सा र चितवन रहेका छन् । विश्वभर कोरोनाको प्रकोपले अत्याधिक प्रभाव पारेको देशहरुमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत, चीन, इरान आदि रहेका छन् भने चीनसँग सीमा जोडिएको मुलुक उत्तरकोरियाले हालसम्म कुनै कोरोना संक्रमित नभएको दावी गरेको छ । कोरोनाको प्रकोपबाट दुइवटा अन्तर्राष्ट्रिय पानीजहाज पनि संक्रमणको चपेटामा परेका छन् । कोरोना भाइरस गम्भीर प्रकारको संक्रमण भएतापनि यसबाट जोगिन जनस्तरबाट उपायहरु र आवश्यक पूर्वसावधानी अपनाउनु जरुरी छ । यसका लागि सबैले अनिवार्य रुपमा साबुनपानीले कम्तीमा २० सेकेण्ड मिचिमिचि हात धुनुपर्छ र सम्भव भएसम्म अल्कोहलको सम्मिश्रण भएको स्यानिटाइजर प्रयोग गर्नुपर्छ । खोक्दा वा हाछ्युँ गर्दा नाक र मुख छोप्ने गर्नुपर्छ । कोरोना भाइरसको लक्षण धेरै हदसम्म फ्लुसँग मिल्ने हुँदा फ्लु जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहनुपर्दछ र यदि आफूमा फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्दछ । कोरोना प्रभावित देशबाट आएका व्यक्तिहरु अनिवार्य रुपमा १४ दिन सम्म छुट्टै एकान्तबासमा बस्नु पर्दछ र यदि ती व्यक्तिहरुमा कोरोना भाइरससँग मेल खाने लक्षणहरु देखा परेमा तुरुन्तै स्वास्थ्य केन्द्रहरुमा गईकन चिकित्सकको निगरानीमा आइसोलेसनमा बस्नुपर्दछ । विश्व स्वास्थ्य संगठनको प्रारम्भिक प्रतिवेदन अनुसार एउटा संक्रमित व्यक्तिले औसतमा २.६ जनामा यो भाइरस फैलाउने सामर्थ्य राख्दछ र उक्त भाइरस आफ्ना १० पुस्तामा हस्तान्तरण भएको ५-६ दिनपछि सो प्रारम्भिक १ ले दिनमा ३५०० को दरमा उक्त भाइरस फैलाउन सक्दछ । चीनले कोरोना भाइरसको उक्त चक्रलाई मानव हस्तक्षेपको प्रयोग गरेर तोड्न सफल भएको छ । यसको लागि चीनले आक्रामक रुपमा लकडाउनको कार्यान्वयन गरेको थियो । संक्रमित व्यक्तिबाट अरुमा भाइरस फैलन नदिन र आफूमा पनि संक्रमण नभएको सुनिश्चित गर्न लकडाउन नै एकमात्र प्रभावकारी उपाय हुनसक्दछ । अमेरिका, युरोपी मुलुकलगायत नेपालले पनि यसको प्रभावकारी रुपमा पालना गर्नु जरुरी छ । विश्व स्वास्थ्य संगठनको प्रारम्भिक प्रतिवेदन अनुसार एउटा संक्रमित व्यक्तिले औसतमा २.६ जनामा यो भाइरस फैलाउने सामर्थ्य राख्दछ र उक्त भाइरस आफ्ना १० पुस्तामा हस्तान्तरण भएको ५-६ दिनपछि सो प्रारम्भिक १ ले दिनमा ३५०० को दरमा उक्त भाइरस फैलाउन सक्दछ । कोरोना भाइरसको संक्रमण व्यापक रुपमा फैलनु तर संक्रमणलाई निर्मुल पार्ने औषधी पत्ता लगाउन नसक्नु विश्व समुदायका सामुन्ने प्रमुख चुनौतीको रुपमा रहेको छ । कोरोना भाइरसको महापरीक्षणको निमित्त वैज्ञानिक, चिकित्सक, विशेषज्ञ, अनुसन्धानकर्ताको टोली अहोरात्र लागिपरे पनि हालसम्म कुनै ठोस नतिजामा पुग्न असफल विश्वव्यापी महामारीको यस घडिमा विश्व समुदाय सबै आतंकित बनेका छन् । कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन विश्व समुदायले लकडाउनको अभ्यास गरिरहेकोमा यसबाट व्यक्तिमा मानसिक स्वास्थ्य समस्या उत्पन्न हुनसक्ने मनोविज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । कोरोना भाइरसको महामारीले विश्व समुदायका करोडौं मानिसको दैनिकी नाट्कीय रुपमा बन्द कोठामा सीमित हुन पुगेको छ । नयाँ–नयाँ कुरा सिक्नमा सधैँ इच्छुक रहने बालबालिका र आफ्नो स्वतन्त्रतामा रमाउन चाहने युवाहरुमा लकडाउनको कारणबाट मानसिक चिन्ता, पागलपन र आत्मबलमा गिरावट आउन सक्ने भनी चौतर्फी आशंका गरिएको छ । कोरोना प्रकोपको यस समयमा विश्व समुदायले विश्व स्वास्थ्य संगठन र सरकारको निर्देशन पालना गर्दै बालबालिका, किशोर–किसोरीहरु र युवाको मानसिक स्वास्थ्यमा आघात आउन नदिई लकडाउनको जिम्मेवारी बोध गर्न जरुरी छ । कोभिड–१९ नामक यस भाइरसले कुनै राष्ट्रिय सीमाना, सामाजिक सीमा, राजनैतिक प्रणाली, सांस्कृतिक मूल्य–मान्यता विशेषलाई उदारता देखाएको पाइँदैन । यसले विश्वलाई समान स्तरमा आफ्नो महामारीमा च्यापेको छ । कोरोना भाइरसको इतिहासलाई नजर लगाउँदा सन् २००२ र २००४ मा ग्वाङडोङ, चीनबाट प्रकोपको रुपमा लिएको सार्स जुन हवाइ सार्स कोरोना भाइरसको संक्रमणबाट विश्वका २७ राष्ट्रमा फैलिएको थियो जसबाट ८०९८ संक्रमितमध्ये कुल ७७४ जनाको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१२ मा साउदी अरबबाट प्रकोपको रुपमा लिएको मर्स विश्वका २७ राष्ट्रमा फैलिएको थियो जसबाट २४९४ संक्रमितमध्ये कुल ८५८ जनाको मृत्यु भएको थियो । मानव सभ्यतामै आघात पार्ने गरी फैलिएको समान लक्षण देखाउने कोरोना भाइरसकै प्रजाति नोभेल कोरोना भाइरस २०७७ वैशाख ५ गते सम्म विश्वका २१० राष्ट्रहरु, क्षेत्रहरुमा फैलदा संक्रमितको संख्या २२ लाख नाघेको छ । जसमध्ये झण्डै १ लाख ५० हजार जनाको मृत्यु भएको छ । समान प्रजातिको भाइरस भएपनि यसको महामारीलाई नियन्त्रण गर्न नसक्नु अहिले विश्व समुदायको सामु चुनौतिको विषय रहेको छ । अहिले विश्व भूगोलमा छरिएर रहेका सबै विश्व समुदायले कोरोना भाइरसविरुद्ध एक्यवद्धता जनाउनु अपरिहार्य रहेको छ । पैदल हिडेर घर फर्कदै नेपाली नेपालमा कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरेकोमा यसलाई दोस्रो चरणबाट फैलन नदिनु हाल नेपालको सामु प्रमुख चुनौतीको रुपमा रहेको छ । व्यक्तिमा संक्रमण देखापर्नुलाई पहिलो चरणको रुपमा लिइन्छ भने संक्रमित व्यक्तिबाट निजको परिवारका सदस्यहरुमा संक्रमण फैलनुलाई दोस्रो चरणको रुपमा लिइन्छ । दोस्रो चरणमै यस भाइरसलाई नियन्त्रण गर्नका लागि सरकारले सर्वसाधारण समक्ष लकडाउनको निर्देशन दिएपनि मानिसहरुले यसको पालना गरेको देखिदैन । राजधानीबाट मानिसहरु पैदल हिडेर सिराहा, सप्तरी सम्म पुगेका छन् । सिराहा सप्तरी घर भई राजधानीमा मजदुरी गर्न आएका मजदुरहरु सरकारबाट लकडाउनको निर्देशन जारी भए यता राजधानीमै अलपत्र परेका थिए । अहिले उनीहरु कोरोनाको संक्रमण र सरकारको निर्देशनलाई पनि परवाह नगरी परिवारलाई भेट्नु नै उनीहरुको अन्तिम इच्छा रहेको बताउँदै हिँडेर नै घर पुग्ने साहस जुटाएर लामो यात्रा तय गरेका छन् । गाउँगाउँमा पनि कतै सयौँको संख्यामा घाँस दाउरा काट्न राष्ट्रिय निकुञ्ज पसेको खबर सुनिन्छ त कतै माक्स लगाएर समूहमा जुवातास खेलेको पनि देखिन्छ । जनचेतनाको कमि र मानिसको अटेरीपनाले गर्दा राष्ट्रले नै ठूलो क्षति व्योहोर्न पर्ने खतरा देखिएको छ । विश्वमा कोरोनाको संक्रमण तिब्र गतिमा बढिरेको र नेपालमा पनि जोखिम रहेको अहिलेको अवस्थाको माझमा पनि सरकारको निर्देशनको अपहेलना गर्दै बझाङ जिल्लामा चैतली मेलाको आयोजना भएको छ । संक्रमणलाई फैलन नदिन सरकारले यस्ता क्रियाकलापमाथी निगरानी राख्नु जरुरी देखिएको छ । बझाङ जिल्लामा सम्मन्न चैतली मेला कोरोनाको संक्रमणलाई फैलन नदिन भारतमा कर्फ्यूको अवलम्वन गरिएको र नेपाल सरकारबाट पनि लकडाउनको निर्देशन जारी भए यता भारतमा ठूलो संख्यामा नेपालीहरु र नेपालमा ठूलो संख्यामा भारतीय नागरिक बन्दाबन्दीमा परेका छन् । नेपाल सरकार र भारत सरकारबीच कोरोना प्रकोपको यस समयमा भारतमा रहेका नेपालीहरुलाई भारतमा नै सुरक्षित स्थानमा राख्नुपर्ने र नेपालमा रहेका भारतीय नागरिकहरुलाई नेपालमै सुरक्षित राख्नुपर्ने कुरामा सम्झौता भएको छ । दुई सरकारको सम्झौतालाई बेवास्ता गरी खुला सीमानाको फाइदा उठाउँदै सीमाक्षेत्रका नागरिक खुलारुपमा आवतजावत गरिरहेका छन् । नेपाल सरकार सामु खुला सीमानाको व्यवस्थापन चुनौतीको रुपमा रहेको छ । विशेषज्ञहरुको सीमितता, विश्व स्वास्थ्य संगठनको मान्यता अनुसारका क्वारेन्टाइन र आइसोलेसन केन्द्रको सीमितता, सीमित मेडिकल उपकरण र त्यसमा पनि कालोबजारीले गर्दा यसको व्यवस्थापन गर्नु नेपाल सरकारको चुनौतीको विषय रहेको छ । पुर्खाहरुले भन्ने गर्दथे, “कालोबजारी अन्याय हो” तर बुझ्नेहरुले कालोबजारीलाई अन्य आयको रुपमा लिई विपद्को यस घडीमा पनि कालोबजारी गरेको उदाहरणहरु प्रशस्तै छन् । सरकारले यस सम्बन्धमा गम्भीर भई निर्णय गर्नु जरुरी छ । कोरोना प्रकोपको कारणको नेपाल सरकारले विभिन्न चरणामा मिति ताेकेर अत्यावश्यक बाहेक अरु सबै खाले सेवाको लागि आफ्ना हवाई उडान रद्द गर्ने निर्णय गरेको छ । सरकारको यस निर्णयबाट कामको सिलसिलामा विदेशीयका नेपाली नागरिकहरु विभिन्न देशहरुमा अलपत्र परेका छन् । रोजगारको लागि पलायन भएको राष्ट्रमा कोरोनाको प्रकोप बढी राखेको अवस्थामा नेपाली नागरिकहरु मानसिक रुपमा ग्रसित हुँदै दिन काट्न बाध्य छन् । विदेशमा रहेका नेपालीहरु त्रसित छन् र यथाशीघ्र नेपाल आउन माग गरेका छन् । नेपाल सरकारले यस सम्बन्धमा आवश्यक प्रक्रिया मिलाइदिनु जरुरी छ । विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काएर उनीहरुलाई व्यवस्थित रुपमा क्वारेन्टाइन र आइसोलेसनमा राख्नुपर्ने हुनाले यसको व्यवस्थापनमा सरकारले कार्य गर्नुपर्ने देखिन्छ । कामको सिलसिलामा विदेशीयका नेपाली नागरिकहरु विभिन्न देशहरुमा अलपत्र परेका छन् । रोजगारको लागि पलायन भएको राष्ट्रमा कोरोनाको प्रकोप बढी राखेको अवस्थामा नेपाली नागरिकहरु मानसिक रुपमा ग्रसित हुँदै दिन काट्न बाध्य छन् । विदेशमा रहेका नेपालीहरु त्रसित छन् र यथाशीघ्र नेपाल आउन माग गरेका छन् । नेपाल सरकारले यस सम्बन्धमा आवश्यक प्रक्रिया मिलाइदिनु जरुरी छ । कोरोना संक्रमण चार महिनादेखि तिब्र गतिमा फैलदा यसको असर विश्व अर्थतन्त्रमा देखा परेको छ । उत्पादनको दर घटिरहेको छ । बेरोजगारीको स्तर बढिरहेको छ । निर्माण कार्यहरु कम भएका छन् । अर्थतन्त्रको हरेक क्षेत्र यसबाट प्रभावित हुने देखिएको छ । विश्व व्यापार संगठनले कोरोनाको संक्रमणले विश्वलाई नयाँ महामन्दीसम्म पुर्याउन सक्ने भनि चेतावनी दिएको छ । धेरै व्यापारिक फर्महरु असफल हुने वा ठूलो घाटाको मार सहने देखिएको छ । उत्पादित वस्तुहरुको माग घट्ने अवस्था देखिएको छ । माग घटेको कारणले मूल्य र लागत पनि घट्ने तर लागत भने मूल्य जस्तो तिव्र दरमा नघट्ने हुँदा उद्यमीहरुले ठूलो नोक्सानी व्यहोर्नु पर्ने हुन्छ । विश्वलाई महामन्दीको चपेटामा पर्न नदिन हरसम्भव प्रयास भैराखेतापनी कोरोनाको प्रकोपले निकै भयावह अवस्था सिर्जना गरेको कारणले विश्व अर्थव्यवस्थामा सुधार आउन लामो समय लाग्ने देखिएको छ । विश्वभर लकडाउनको कारणले कतिपय कम्पनी बन्द भएका छन् भने कतिपयले अस्थायी र स्थायी रुपमा कर्मचारी कटौती गरेका छन् । विश्व श्रम संगठनले सन् २०२० को अप्रिल महिनासम्म आइपुग्दा विश्वभर १९ करोडभन्दा बढी रोजगार विहिन हुनसक्ने भनी प्रक्षेपण गरेको छ । खाडीका मुलुकहरुमा पनि ५० लाखको संख्याले पूर्णरुपमा जागिर गुमाउन सक्ने प्रक्षेपण विश्व श्रम संगठनको रहेको छ । यसको सबैभन्दा बढी प्रभाव अमेरिका, मध्य एसिया र यूरोपमा पर्न सक्ने भनी विश्व श्रम संगठनले जानकारी गराएको छ । कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या १ करोड ६८ लाख नाघेकाे छ । अमेरिकी सरकारले अप्रिल ९ विहिबार सार्वजनिक गरेको विवरणमा गत साता बेरोजगारी प्रोत्साहन भत्ताको लागि ६६ लाख कामदारले आवेदन दिएको उल्लेख छ । यसअधि नै १ करोड भन्दा बढीले दुई साताको अवधिमा रोजगारी गुमाएका थिए । यसको अर्थ प्रत्येक १० जना मध्ये १ जनाले रोजगारी गुमाएका छन् । त्यस्तै अप्रिल १६ सम्म आइपुग्दा थप ५० लाखले रोजगारी गुमाउन पुगेका छन् । यससँगै अमेरिकामा बेरोजगारी प्रोत्साहन भत्ताको लागि आवेदन दिने कामदारको संख्या दुई करोड नाघेको छ । जानकारहरुका अनुसार अझै धेरै रोजगारी गुम्ने खतरा देखिएको छ । अप्रिलमा बेरोजगारीको दर १५ प्रतिशत पुग्नेछ र यो अवस्था विश्वव्यापी महामन्दीको अवस्थापछि पहिलो पटक देखिएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९, कोरोना भाइरसको संभावित जोखिम कम गर्न नेपाल सरकारले चैत्र ११ गतेबाट देशभर लकडाउनको घोषणा गरेको थियो । शुरूमा चैत्र २५ गतेसम्मका लागि लागू गरिएकाे लकडाउनकाे अवधि सरकारले पटक पटक थप्दै लगेकाे छ । कोरोनाको प्रकोप र लकडाउनको कारणले नेपाली अर्थतन्त्रमा पनि नकरात्मक प्रभाव देखापरेको छ । कृषिप्रधान देश नेपालमा लकडाउनको कारणले कृषि वस्तु तथा कच्चा पदार्थको मागमा कमि आउनुको साथै मूल्यमा पनि कमि आएको कारणले कृषकहरुले समस्या झेल्नुपरेको छ । देशका विभिन्न ठाउँहरुमा वस्तुको मागमा आएको कमीका कारण कतै खाडल खनेर कुखुरा पुरेको खबर सुनिन्छ त कतै दुध नष्ट गरेको खबर सुनिन्छ । देशको माग धान्न सक्षम सिमेन्ट उद्योगहरुले पनि लकडाउनको कारण उत्पादन बन्द हुँदा घाटा व्यहोरिरहेका छन् । उपभोग्य वस्तुहरु उत्पादन गर्ने उद्योगहरु त्यति प्रभावित नभए पनि आधारभूत पूँजीगत वस्तु उत्पादन गर्ने उद्योगहरु प्रभावित देखिएका छन् । विश्व श्रम संगठनले खाडीका राष्ट्रहरुमा ५० लाखको संख्याले जागिर गुमाउन सक्ने प्रक्षेपण गरेकोमा यसबाट नेपाल पनि प्रभावित हुने देखिन्छ । लाखौँको संख्यामा नेपालीहरु खाडी मुलुकहरुमा रोजगारीको लागि पलायन भएको हुँदा खाडीमा रोजगाररत नेपालीहरुको पनि रोजगार खोसिने देखिएको छ । नेपालको अर्थतन्त्रको मुख्य स्रोत विप्रेषण आम्दानी विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको प्रकोपको कारणले घट्ने देखिएको छ । नेपालमा लकडाउनले गर्दा निर्माण उद्योग, पर्यटन उद्योग, वैदेशिक रोजगारी, साना तथा मझौला उद्योग, बैंक तथा वित्तीय संस्थामा बढी प्रभाव पर्ने देखिन्छ । नेपालमा अत्यावश्यक बाहेकका सबै उद्योगहरु बन्द भएका कारणले नेपालले कम्तीमा पनि दुई खर्बको घाटा व्यहोर्नु पर्न सक्ने भनी अर्थमन्त्री खतिवडाले जानकारी गरिएका छन् । कोरोना संक्रमणले विश्वलाई मानवताको पाठ सिकाएको छ । ‘मानवता नै सबभन्दा ठूलो धर्म हो’ भन्ने उक्तिले आज सार्थकता प्राप्त गरेको छ । विश्वभरी कोरोनाको कहर फैलिरहेको समयमा एक देशले अर्को देशलाई सहयोग गरिरहँदा त्यस्तै एक देशको पीडाले अर्को देशको पीडालाई सहानुभूति दिँदै गर्दा मानवता शब्दले अर्थ प्राप्त गरेको छ । प्रकोपको यस घडीमा कोरोनाको कारण हुन सक्ने दुष्परिमाणबाट विश्वलाई बचाउन आज सबैले हातेमालो गर्दै यस परिस्थितिसँग जुधिरहेका छन् । सेवानिवृत्त डाक्टर, नर्स, सुँडेनी, सामाजिक कार्यकर्ता, स्वास्थ्य पेशेवरहरु आज फेरि कोरोनाको प्रकोपसँग लड्नको निम्ति लागिपरेका छन् । कोरोनाको प्रकोपसँग लड्न हाल उपलब्ध आधुनिक मेडिकल उपकरण पनि पर्याप्त नभएको देखिन्छ । विश्वका शक्तिशाली राष्ट्रहरुले आणविक हातहतियार, क्षेप्यास्त्र आदिमा लगानी गर्नुको सट्टा प्रकोपको समयमा डटेर लड्ने डाक्टर, वैज्ञानिक, प्रहरी, आर्मी, अनुसन्धानकर्ता जस्ता जनशक्तिको उत्पादन र मानव भलाइका निम्ति लगानी गर्न जरुरी छ । कोरोनाको प्रकोपले पारिवारिक सामिप्यता बढाएको छ । आज विश्व समुदाय घरमा बसी लकडाउनको पालना गरिरहँदा परिवार शब्दको वास्तविक अर्थ बुझ्न समक्ष भएको छ । लकडाउनको जिम्मेवारी बोध गरी घरमै परिवारजनसँग भलाकुसारी गर्दा पारिवारिक सम्बन्धको गाँठो झन झन् कसिएको छ । घरबाटै कार्यालयको काम सम्पन्न गर्न पाउँदा कार्यबोझ हराएको छ । परिवारको साथ पाउँदा जतिसुकै कठिन परिस्थितिको पनि सामना गर्न सकिन्छ भन्ने सन्देश विश्वले प्राप्त गरेको छ । कोरोनाको प्रकोपसँग लड्न हाल उपलब्ध आधुनिक मेडिकल उपकरण पनि पर्याप्त नभएको देखिन्छ । विश्वका कतिपय राष्ट्रहरुमा चिकित्सक, नर्स, स्वास्थ्य बुद्धिजिविहरु आदिको कमी भएका कारणले ती राष्ट्रहरुले सम्बन्धित पेशेवरहरुको उत्पादनमा लगानी गर्नुपर्ने देखिन्छ । विश्वका शक्तिशाली राष्ट्रहरुले आणविक हातहतियार, क्षेप्यास्त्र आदिमा लगानी गर्नुको सट्टा प्रकोपको समयमा डटेर लड्ने डाक्टर, वैज्ञानिक, प्रहरी, आर्मी, अनुसन्धानकर्ता जस्ता जनशक्तिको उत्पादन र मानव भलाइका निम्ति लगानी गर्न जरुरी छ । मासांहारको अत्याधिक प्रयोगबाट यस भाइरसको उत्पत्ति भएको हुनसक्ने चौतर्फी आशंका भइराखेको बेलामा अहिले विश्व जनसमुदायलाई मासांहार छोड्न र साकाहारतर्फ उत्मुख हुन प्रेरित गरेको छ । कोरोना भाइरसको प्रकोप सुरु भए यता विभिन्न देशहरुमा मांसाहारको लागि पशुहत्या र मासांहारको प्रयोगमा गिरावट आएको कुरा तथ्यांकले देखाएको छ । चीनलगायतका कतिपय राष्ट्रहरुले मासुको प्रयोगमा अस्थायी रुपमा निषेध गरेका छन् । हिन्दु आध्यात्मवादहरुले पनि यस सम्बन्धमा आफ्नो धारणा व्यक्त गरेका छन् । गीताको अनुसार अन्नबाट नै विचार र मन बन्ने हुँदा आयु बढाउने, मन शुद्धि गर्ने र आत्मतृप्ति गर्ने सत्व (साकाहारी) भोजनको प्रयोग गर्नुपर्ने कुरामा उनीहरूकाे जोड रहेकाे छ । माथिका तथ्य र तथ्यांकलाई नजिकबाट चिहाउँदा भविष्यमा विश्व समुदायले मासांहरको उपभोग गर्नुको सट्टा साकाहारलाई प्राथमिकता दिने कुरा अहिले धेरै हदसम्म भविष्यवाणी गर्न सकिन्छ । पारिस्थितिक पद्धतिमा असन्तुलन देखिएको वर्तमान परिपेक्ष्यमा विश्व जनसमुदायको यस्ता कदमले निकट भविष्यमा पारिस्थितिक पद्धतिमा सन्तुलन आउने आशा पलाएको छ । हिन्दु आध्यात्मवादहरुले पनि यस सम्बन्धमा आफ्नो धारणा व्यक्त गरेका छन् । गीताको अनुसार अन्नबाट नै विचार र मन बन्ने हुँदा आयु बढाउने, मन शुद्धि गर्ने र आत्मतृप्ति गर्ने सत्व (साकाहारी) भोजनको प्रयोग गर्नुपर्ने कुरामा उनीहरूकाे जोड रहेकाे छ । विश्वव्यापी रुपमा कोरोनाको महामारी बढेसँगै ओजन तहमा असर पुर्याउने क्लोरोफ्लोरोकार्वन उत्पादन गर्ने खालका उद्योगहरु लगायत वातावरणलाई नकारात्मक प्रभाव पर्ने अन्य उद्योगहरु ठप्प भएका छन् । वायुप्रदुषण र ध्वनि प्रदुषण पैदा गर्ने सवारी साधनहरु पनि हाल लकडाउनले गर्दा ठप्प छन् । विभिन्न देशहरुमा सञ्चालनमा रहेका ग्लोबल वार्मिङ र मौसम परिवर्तन गर्ने खालका उद्योगहरु हाल बन्द हुँदा वातावरणमा सकारात्मक प्रभाव परेको छ । विगतका दशकहरुमा वातावरणमा नकारात्मक प्रभाव पार्ने उद्योगहरु ठूलो मात्रामा सञ्चालन हुँदा हाल विश्वमा असाधारण रुपले मौसम परिवर्तन भएको छ । गर्मीयाममा तापत्रम वर्षैपिच्छे बढिरहेको छ भने जाडोयाममा तापक्रम न्यानो हुँदै गएको छ । वर्षयाममा पनि समयमा पानि परिराखेको अवस्था छैन । कहिले अत्याधिक रुपमा पानि पर्दा बाढी, पहिरो जस्ता प्रकोपहरु झेल्नुपरेको छ भने कहिले कम वर्षाको कारण खडेरीको समस्या भोग्नुपरेको छ । ग्लोबल वार्मिङ र मौसम परिवर्तनको कारण हिमालहरुमा हिँउको स्तर घटिरहेको छ । कृषि उत्पादकत्व घटिरहेको छ । जनावर र चराचुरुङ्गीका अमूल्य प्रजातिहरु लोप हुने अवस्थामा पुगेका छन् । आगामी दिनहरुमा वातावरणलाई नकारात्मक प्रभाव पार्ने विलासीताका सवारी साधनको प्रयोगमा कमी आएमा र ग्लोबल वार्मिङ र जलवायु परिवर्तन गराउने खालका उद्योगहरु बन्द गरिएमा हाम्रो पृथ्वि साँच्चिकै मानवको लागि उपयुक्त बन्दछ र हाम्रो भविष्य पनि सुनिश्चित हुन्छ ।
‘सकारात्मक’सँग त्रसित मान्छे
कोरोना भाइरस वर्तमान विश्वका लागि चुनौतिका रुपमा रहेको छ । विगतमा विश्वले बेहोरेको सार्स (सिभेयर आक्युट रेस्पिरेटरी सिन्ड्रम), मार्स (मिडल इष्ट आक्युट रेस्पिरेटरी सिन्ड्रम) लगायतका अन्य श्वास प्रश्वासका समस्यामा हताहतिको प्रतिशत कोरोना भाइरसको हालसम्म कम देखिए पनि भौगोलिक विस्तार व्यापक रहेकोले खतरा बढी देखिएको छ । विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा चित्रित गरी कोभिड–१९ नामाकरण गरुन्जेल चीनको उहानमा प्रकट भएको यस भाईरस नियन्त्रणमा लिन संयम बाहेक उपचार विधि नभएकोले संसार निरीहतामा चल्नु पर्ने स्थिति बन्यो । नेपाल, छिमेकी चीनसँग आर्थिक, सामाजिक सम्बन्ध बढ्दै गएको अवस्थामा विश्व स्वास्थ्य संगठनले ‘उच्च जोखिम’को क्षेत्र घोषणा गरिदिएपछि देशभित्र र बाहिर मानसिक खैलाबैला मच्चिएको स्थिति रह्यो । भौतिक आँखाले नदेखिने, सामान्य लसपसबाट पनि थाहै नपाई सर्ने यो भाइरसले आर्थिक रुपले पछि परेको मुलुकमात्र प्रभावित हुन्छन् भन्ने मान्यता नाघेको छ । विश्वका २ सय १० भन्दा बढी देशहरुमा फैलिएको यो भाइरसबाट यो लेख पाठक समक्ष पुगुन्जेल ३ लाखको हाराहारीमा मानवजातिको हताहति भैसकेको हुनेछ । विश्व भाइरसको वस्तुगत स्थिति र सोको प्रभावभन्दा आफ्नो विश्वासको आधार लिई के गर्ने, के नगर्ने भन्नेमा विभाजित छ । राजनीति जोडिएको छ । सामाजिकता त विगतको मान्यतालाई जीर्ण बनाउने गरी व्यवहारमा उत्रन बाध्य पारिएको छ । सुनिश्चित निदानको अभावमा यस्तो अन्यौल रहेको हो । लेखक चीनबाट उत्पन्न भएको ठानिएको कारोना भाइरस सोअघि नै इटालिमा धेरै जनताको हताहति भैसकेको दावी पनि गरिन्छ । वास्तवमा लक्षणै नदेखिई प्रभावित गर्ने, रुघा खोकी (आँठे) को छद्ममा फोक्सोलाई नष्ट गरिदिने भएकाले कोरोना भन्ने एकिन हुन नसकेको मात्र हो, युरोप नै कोरोनाको उद्गमथलो भन्ने दावी पनि गरिँदै छ । हताहतिको दृष्टिले युरोप र उत्तर अमेरिका अग्रस्थानमा देखिएका छन् । मृत्यु हुनेको संख्या ५ अंक माथि हुनेमा बेलायत, फान्स, स्पेन, इटाली र सबैभन्दा बढी अमेरिकी ८० हजारभन्दा बढी पुगेको छ । हाल पनि चीनले मृत्युको तथ्याङ्क लुकायो भन्दा पनि ४ हजार ६ सय ३३ नाघेको छैन । युरो–अमेरिकाको बढ्दो हताहतिको संख्या बढी हुनुमा स्वास्थ्य सेवाप्रति विघ्नै विश्वास र ‘स्वतन्त्रमा’प्रतिको सैद्धान्तिक आस्था प्रमुख रुपले रहेको देखिन्छ । हाल पनि बन्दाबन्दी (लकडाउन), सामाजिक दुरी (सोसियल डिष्टान्सिङ), र एकान्तबास (आइसोलेसन) जस्ता व्यवहारबाट धेरै हदसम्म संक्रमण रोकिने गरेको मान्यता राखिएका देशमा प्रभाव कम हुँदै गएको मानिएको छ । तर, लामो समयसम्मको बन्दाबन्दीले आर्थिक स्थिति डामाडोल हुँदा राजनीतिक प्रतिकुलतालाई ख्याल गरी उक्त पद्धतिहरु रुढीबादी हुन् भन्न थालिएको छ । जनताको जीवन र क्षणिक आर्थिक गतिविधि कुन महत्वको भन्ने विषयमा विश्व विभाजित हुँदै गएको छ । अमेरिकी राष्ट्रपतिका समर्थक हतियारसहित विपक्षी–प्रजातन्त्रवादीको पकड भएको राज्यहरुमा चलनमा ल्याईएका भाइसर प्रतिरोधी अभियानको विरोध गरिरहेका छन् । दैनिक हताहतिको संख्यामा बढ्दै जाँदा र अन्य मुलुकमा प्रभावकारी भएका उक्त संयमयुक्त तीन विधि अव्यवहारिक हुन भनि प्रमाणित गर्न स्वयम् राष्ट्रपति उद्धत छन् । ब्राजिलमा राष्ट्रपति स्वयम् उक्त तीन विधिको विरोधीहरुको नेतृत्वमा सडकमा उत्रेका छन् । चुरो कुरो बन्दाबन्दी लगायतका प्रकृयाबाट रोजगारी, आपूर्ति लगायतका मानवीय दैनिक व्यवहारमा संकुचन आउने भएकाले मानवहक विरोधी धारणाका आधारमा अर्को अभियान मच्चिँदै छ । राजनीतिको मूल विषयमा केन्द्रित उक्त व्यवहारको अर्को उदाहरण भाइरस उत्पन्न गराईएको आरोपको दोहोरीबाट प्रष्ट हुन्छ । अमेरिकी राष्ट्रपतिले ‘कोभिड–१९’लाई ‘चिनियाँ भाइरस’ भनेपछि वैज्ञानिकहरुले पनि काम पाए । वास्तवमा चीनउपर भाइसर उत्पादन गरी गलत मनसायबाट अमेरिकी अर्थतन्त्रलाई तहसनहस पार्ने नियत थियो भन्ने आरोप अमेरिकी पक्षको थियो । यसै क्षेत्रमा कार्यरत वैज्ञानिकहरुले प्रयोगशालामा उत्पादन गरिएको वा गर्न सकिने ‘भाइरस’ नभएको विचार व्यक्त गरेका छन् । त्यस्तै, चीनले भने सैनिक अभ्यासमा हुने प्रान्तको उहानमा आएका अमेरिकी सैनिकहरुले छाडेर गएको ‘भाइरस’ भन्ने जवाफ दिएका छन् । यो राजतीतिक खेलको जुहारी मात्र हो भन्ने ठान्न त्यसपछिका घटना क्रमले दिँदैन । चिनियाँ नेताहरु विश्व समुदायको संयुक्त प्रयासले मात्र यो मानवजातिकै शत्रुको रुपमा रहेको महामारीमाथि विजय प्राप्त गर्न सकिन्छ भन्छन् । व्यवहारमा आफ्ना स्वास्थ्यकर्मीहरु, स्वास्थ्य सेवा सम्बन्धि औषधी उपकरणहरु भाइरसबाट प्रभावित युरोपलगायत उत्तर अमेरिकामा पठाएका पनि छन् । आफूले आंशिक रुपले प्राप्त गरेको सफलताको सिकाई आदान–प्रदान गर्न हातेमालो गरेका समाचार प्रकाशित भएका छन् । तर, अमेरिकी अहम् भने विश्व स्वास्थ्य संगठनले समयमा उचित काम गर्न नसकेकोले अमेरिकाले ठूलो क्षति व्यहोर्नु पर्यो भन्दै आफ्नो आर्थिक सहयोग बन्द गर्ने घोषणा गर्दैछ । बालकोष, जलवायु परिवर्तन सम्बन्धि सहयोग आदिबाट पहिल्यै हात झिकिसकेको अमेरिकाका लागि कोभिड–१९ महामारी राजनीति गर्ने विषय त बन्यो तर, त्यसको भयावह परिणामले पुर्याउने क्ष्यति हाल आकलन गर्न मुस्किल छ । अर्कोतर्फ, राजनीतिकै सेरोफेरोमा सरकारले असीमित अधिकार प्रयोग गर्ने गतिविधि पनि विश्वमा देखिएका छन् । अफ्रिकी मुलुकको राष्ट्रपति निर्वाचन रद्द गरी म्याद गुज्रिएको सत्ताभोग राष्ट्रपति गर्दैछन् । दक्षिण कोरियामा भने निर्वाचन विधिसम्मत सम्पन्न भएको खबर छ । कोरोनाको महामारीमा आर्थिक मनोमानीका अतिरिक्त विपक्षी राजनीतिज्ञहरु उपर विभेद चर्काउने काम पनि विभिन्न राष्ट्रहरुमा देखिएका छन् । कोरोनाको संक्रमण बढी रहेका बेला, असंगठित क्षेत्रमा काम गर्ने श्रमिकको अनिश्चिता रहेको अवस्था बन्दाबन्दीलाई न्युनाकलन गरी महामारीको परिणाम आफ्नै जहान परिवारसँग भोग्ने उदेश्यले १२÷१५ दिनसम्मको पैदल यात्रामा निस्केका नाङ्गाखुट्टा, भोका र गलित नेपालीको अवस्थाप्रति सरकार संवेदनशील हुन नसकेको आरोप सरकार माथि लागिरहेको छ । विदेशमा काम गर्न गएका नेपालीले घर फर्कन गरेका हरेक प्रयत्न ‘काम हुँदैछ’ भन्ने उधारो आश्वासनमा सीमित छ । यहि मौक छोपी राजनीतिक दलहरु भताभुंग पारि ‘शुन्य विरोध’को अवस्था सिर्जना गर्न अति छोटो बाटोबाट अध्यादेश जारी गरियो । संवैधानिक समितिको परम्परागत मान्यता समेत न्युनिकरण गरी ६ पदाधिकारी मध्ये प्रधानमन्त्री सहित अन्य दुई जनाको मतमा पदाधिकारी चयन गर्न सक्ने गरी विधि साघुर्याईयो । भलै चौतर्फि विरोधपछि यी दुबै प्रावधान फिर्ता लिइयो । जेठ १५ मा बजेट पेश गर्नु छ । संसदीय समितिहरुमा ‘पूर्व बजेट’ छलपल गर्ने परम्परा छ । अनि जटिल अवस्था त संक्रमितको संख्या बढ्दै गएको र सुदुर पश्चिम ‘इपिसेन्टर’ हुने प्रधानमन्त्रीकै भनाईलाई ख्याल गर्ने हो भने रोग पत्ता लगाउन, नियन्त्रण गर्न र निदान गर्न कुन परिमाणको श्रोत साधन आवश्यक पर्ने हो, एकिन गर्न सकिने अवस्था छैन । अर्थतन्त्र बन्दाबन्दीमा छ, निजी क्षेत्र प्रोत्साहन र राहतको अपेक्षामा छ । राजनीतिक स्थिरताको तालमा रहेको पानीमा ‘अध्यादेश’ले जवरजस्त आँधी ल्याई दियो । राजनीतिक वृत्त, पर्यवेक्षकका लागि नकारात्मक र कुबेला जचेको यो सरकारी रवैयाले आफ्नो पट्का भने बलियो बन्ने आँकलन सहित प्रस्तावकहरु विश्वस्त देखिए । अध्यादेश फिर्ता नभएको भए कोरोनाको प्रताडनाको भयले गाँजेको नेपाली समाजमा राजनीतिक आस्थिरताको पुनः विजारोपण हुने र अकाल्पनीय दिशामा मुलुक धकालिने थियो । अध्यादेश फिर्ता नभएको भए जिम्मेवार राजनीतिक दलहरुले सुझबुझका साथ उत्तरदायित्वपूर्ण तरिकाले संसदमा प्रस्तुत हुन आवश्यक थियो । अन्यथा आर्थिक जर्जरतामा गुज्रिरहेको मुलुकमा बेरोजगारी, वैदेशिक श्रोतबाट प्राप्त हुने आम्दानी घट्दै जाने स्थिति र आन्तरिक उत्पादनको ठिट लाग्दो अवस्थाले सार्वभौमिकता नै धर्मराउने अवस्था निम्त्याउने थियो । बन्दाबन्दी, एकान्तवास, सामाजिक दुरी कायम राख्ने विषय प्रतिरोधात्मक उपचार विधि प्राप्त नहुन्जेल जतिसुकै स्वतन्त्रताको विगुल फुके पनि पण्डितले ‘कितावको माछा पो खान नहुने, खनेलाको त भैहाल्छ’ भने जस्तै हो । त्यसका अतिरिक्त राज्यले सबै जनताको परीक्षण गराउने व्यवस्था, स्वास्थ्यकर्मीहरको रक्षकवचको सुनिश्चित व्यवस्था गरिनु पर्दछ । सुरक्षा लगायत राहतका काममा संलग्न भएकाहरुको लागि जोखिम बीमाको व्यवस्था हुनुपर्छ । कोरोनाको प्रकृति हेर्दा निश्चित तापक्रमभन्दा बढीमा कम संक्रमण हुने, उमेर समूहमा पाका र वालवालिका बढी प्रभावित हुने, जमघट, भिडभाड र सामान्य सम्पर्कबाट पनि संक्रमण बढ्ने अनुभवका आधारमा बच्ने उपायहरु निर्क्यौल गर्न सकिन्छ । शीघ्र भएको उपचार विधिको अभाव र सो खोप (भ्याक्सीन) प्राप्त गर्न समय लाग्ने मान्यताका आधारमा आचार व्यवहारमा निश्चित समयसम्म संयममा रहनु नै असल उपाय हो भनी पूर्व र पश्चिममा सबै विज्ञहरुले सुझाएका छन् । माथि उल्लेख गरिएका बन्दाबन्दी, एकान्तवास, सामाजिक दुरी कायम राख्ने विषय प्रतिरोधात्मक उपचार विधि प्राप्त नहुन्जेल जतिसुकै स्वतन्त्रताको विगुल फुके पनि पण्डितले ‘कितावको माछा पो खान नहुने, खनेलाको त भैहाल्छ’ भने जस्तै हो । त्यसका अतिरिक्त राज्यले सबै जनताको परीक्षण गराउने व्यवस्था, स्वास्थ्यकर्मीहरको रक्षकवचको सुनिश्चित व्यवस्था गरिनु पर्दछ । सुरक्षा लगायत राहतका काममा संलग्न भएकाहरुको लागि जोखिम बीमाको व्यवस्था हुनुपर्छ । सुरक्षात्मक अवस्थामा रहन प्रचार, प्रसारमा निरन्तरता दिनु पर्छ । विषय वस्तु प्रस्तुत गर्ने पात्रहरुमा विषय विज्ञ, उपचारबाट निको भएका व्यक्तिहरुको अभिव्यक्ति प्रभावकारी हुन्छ । विविध क्षेत्रमा सामाजिक प्रतिष्ठा कमाएका व्यक्तिहरुको प्रवचनले सर्वसाधारलाई आश्वस्त पार्न सघाउँछ । सबैभन्दा बढी त तथ्य सत्य सूचनाको प्रवाह निरन्तर रहनु र मानवीय धर्म सम्झेर सरकारबाट चालिएका कदमहरु निष्पक्ष र समावेशी गर्न गराउन सक्नु पर्दछ । मनोवैज्ञानिक रुपले कमजोर बन्न पुगेको नेपालीको मानसिकता, खास गरी औद्योगिक राष्ट्रहरुमा घटित घटनाको परिणामबाट हतोत्साहित हुनबाट सरकारले रोक्न सक्नु पर्दछ । सुदृढ मनोवल भएको व्यक्तिले नै सकृय जीवनबाट कृयाशील जिम्मेवारी निर्वाह गर्न सक्छन् । कोरोनाको बढी असर शरीरमा प्रतिरोध क्षमताको अभावले पनि हुने गर्छ भन्ने मान्यता छ । पूर्वीय चिकित्सा पद्दतिले स्थापित गरेका जडीबुडी, कन्दमूल आदिको सेवन र शरीर खास गरी श्वास, प्रश्वाससँग सम्बन्धित अङ्गलाई न्यायो राख्नु जरुरी ठानिन्छ । दन्केर्तो (एक प्रकारको उनियो जात), अजिर्णका निम्ति अचुक औषधि गुर्जो विभिन्न शारीरिक विकार विरुद्ध उपचारयोग्य वस्तु र कालो हलेदो, यार्सागुम्बा प्रतिरोध क्षमता बढाउने वस्तुमा पर्दछन् । परम्परागत यस्ता जडीबुटी संकलन, प्रशोधन र प्रयोगमा ल्याउन सके अन्य चिकित्सकीय औषधीभन्दा अनपेक्षित र नकारात्मक असर शुन्य हुने र रोगीलाई फाइदा पुग्ने हुन्छ । प्रविधिको प्रयोग अर्को उपाय हो संक्रमण न्यूनीकरण गर्ने । चीनले नै संक्रमणको हुरिकाबीच परीक्षण गर्ने, संक्रमितको उपचारमा सेवा पुर्याउने जस्ता कार्यमा ‘कृतिम बौध्दिकता’को प्रयोग गरेको जानकारी सार्वजनिक भएको छ । त्यसैगरी, दक्षिण कोरियामा कोरोनाको महामारी चीनपछि लगत्तै शुरु भएपछि संक्रमित र हताहतिको संस्था कम हुनुमा ‘कृतिम बौध्दिकता’ सम्बन्धि उपकरण प्रयोगमा ल्याएको परिणाम दावी गरिएको छ । तर, सुनिश्चित परिणामका लागि संक्रमितको ‘रगतको प्लाज्मा’बाट खोप तयार गर्नुको विकल्प छैन । नेपालमा कोरोनाको आर्थिक प्रभावको आँकलन गर्नु समय नभएको ठानिँदै छ । तै पनि एशियाली विकास बैंकले कूल गार्हस्थ उत्पादनको एक तिहाई अंश घट्ने जनाएको छ । त्यस्तै, चालु आर्थिक वर्ष बढीमा २.८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकको छ । पर्यटन र यातायात क्षेत्रमा बन्दाबन्दीका कारण २० लाखभन्दा बढीले रोजगारी गुमाउने अवस्था छ । चालु आर्थिक वर्षको ८ महिनासम्म ८ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा छ । गत वर्षको यसै अवधिको तुलनामा विप्रेषण १.८ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । चालु खाता (वस्तु व्यापार, सेवा र रकम ट्रान्सफरको योग) उक्त अवधिमा १ अर्ब २५ अर्ब रुपैयाँ बराबर घाटामा छ । विदेशी मुद्राको संचिति पौने ९ महिनाका लागि पर्याप्त हुने वस्तु र सेवा आयात गर्न सक्ने रकम छ । यी सबै अवस्था मौजुदा रहँदा अन्तर्राष्ट्रिय मुद्राकोषले अल्पविकासित देश (नेपालसहित) हरुको ऋण मिनाहा वा पछि तिर्ने व्यवस्था गरिरहेकै बेला नेपाल सरकारले सहयोगका शर्त खुकुलो बनाउन, रकम बढाउन अनुरोध गरेको छ । बहुउद्देश्यीय वित्तीय संस्थाहरु (विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक) बाटै सहायता मिलेपनि द्धिपक्षीय (मुलुकहरुबाट) थप सहायताको सम्भावना कोभिड–१९ ले कम गरिदिएको छ । विश्व अर्थतन्त्रमा ३ प्रतिशतको संकुचन आउने आकलन अन्तराष्ट्रिय मुद्रा कोषले गरेको छ । साथै, संसारका सरकारको कुल राजश्व २.५ ग्रार्हस्थ उत्पादनको २.५ प्रतिशत मात्र उठ्ने आँकलन गरिरहँदा खर्च भने प्रत्यक्ष बजेटबाट ३३ खर्ब डलर, जमानतबाट २.७ अर्ब डलर, स्वपुँजी र सार्वजनिक क्षेत्र ऋणबाट १ खर्ब ८० अर्ब र शर्तसहितको दायित्व २ खर्ब ७० अर्ब डलर खर्च गर्ने अनुमान गरेको छ । विश्वकै प्रख्यात ठानिएको वाल स्ट्रिट स्टक बजार सन् २००८ को आर्थिक मन्दीभन्दा पनि तल झरेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य सन् १६९१ को खाडीयुद्धका बेलाको भन्दा पनि खस्किएको छ । उपभोक्तालाई सहुलियत हुने देखिए पनि दीर्घकालिन अवधिसम्म आपूर्ति निरन्तर हुने कुरामा लागत बढी, आम्दानी कम हुने कारणले शंका उत्पन्न भएको छ । रोजगारीमा प्रतिकूलता, व्यापार प्रवाहमा संकुचन जस्ता कारणहरुले अर्थतन्त्रलाई धान्न चुनौतिपूर्ण छ । कोरोनाको सामना गर्न अख्तियार गरिने रणनीतिमा राष्ट्रहरुबीच मतैक्य नभएका कारण सो भाईरसको अंक कुनै कुनामा रहेको महामारीको रुपमा संक्रमण हुने प्रवृत्तिलाई ध्यानमा राख्दा स्वास्थ्य क्षेत्र ज्यादै जोखिममा देखिन्छ । फेरि व्यक्ति र मुलुकहरु स्वकेन्द्रित हुने प्रवृतिले अन्ततः मानवजातिकै प्रलयको संकेत देखिन्छ । सुक्ष्म जीवाणुको औषधीको आविष्कार भए पनि अर्काथरी जीवाणुसँगको मिलनले नयाँ समस्या सिर्जना हुने सम्भावना रहन्छ । विश्वले यो चुनौती समस्त मानव जातिको (अझ–पशुमा पनि संक्रमण देखिँदा) र चराचर जगतको हितका लागि जलवायु परिवर्तन, प्राकृतिक प्रकोप आदिबाट पर्ने नकारात्मक प्रभावको समाधान खोज्न संयुक्त प्रयासमा लाग्न आवश्यक छ । सम्पन्न राष्ट्रहरु अन्तरिक्षयानको होडवाजीमा लागिरहेका बेला हिजोसम्म संयुक्त रुपमा संचालन गरिएका अन्तरिक्ष कार्यक्रम छुट्याई आ–आफ्नै पद्धतिबाट अघि बढे्ने प्रयासहरु बढिरहेका छन् । त्यसैले विश्वले यो चुनौती समस्त मानव जातिको (अझ–पशुमा पनि संक्रमण देखिँदा) र चराचर जगतको हितका लागि जलवायु परिवर्तन, प्राकृतिक प्रकोप आदिबाट पर्ने नकारात्मक प्रभावको समाधान खोज्न संयुक्त प्रयासमा लाग्न आवश्यक छ । सम्पन्न राष्ट्रहरु अन्तरिक्षयानको होडवाजीमा लागिरहेका बेला हिजोसम्म संयुक्त रुपमा संचालन गरिएका अन्तरिक्ष कार्यक्रम छुट्याई आ–आफ्नै पद्धतिबाट अघि बढे्ने प्रयासहरु बढिरहेका छन् । कतै शारीरिक दृष्टिले सुसंगठित केही दर्जन जोडीहरुलाई कोभिड–१९ बाट जोगाउन भनी अन्तरिक्षमा लामो अवधिका लागि पठाउँदै त छैनन् ? यदि त्यसो हो भने जसरी वैज्ञानिक उपलब्धिको उच्च तहमा पुगेको भनिएको देशहरु पनि कोरोनाको प्रतिकारमा असफल भएका छन् । त्यस्तै, नतिजा उक्त अभ्यासको पनि हुन सक्नेछ । समस्त मानव एवम् प्राणी जगतका लागि घातक ठहरिएको कोरोनाको प्रतिकारद्धारा दिगो समाधान खोज्ने उपाय अन्तर्राष्ट्रिय सहकार्य र सहयोग बढाउनु नै हुनेछ । कोरोना भाइरसका असरहरुको मूल्याङ्कन गर्दा केही सकारात्मक प्रभावहरु पनि देखिएका छन् । वातावरण प्रदुषणमा प्रत्यक्ष असर परेको दावी गरिएको छ । हुन पनि पेट्रोलियम पदार्थबाट चल्ने (गुड्ने, उड्ने) सबै प्रकारका साधनबाट उत्र्सजन हुने कार्बोन शुन्य हुँदा आकास सफा देखिने, नदीनाला प्रदुषणरहित भएका दृष्टान्तहरु प्रकाशमा आएका छन् । त्यस्तै, जंगली जनावर र मानव सम्बन्धमा पनि अन्तर आएको छ । अफ्रिकी मुलुकमा सिंहहरु दिन दहाडै सडकको बीचमा विचरण गर्न थालेका छन् । नेपालमै पनि पाटे बाघ जंगलबाट बस्तीतिर निर्भिकताका साथ ओहोर–दोहोर गरेका घटना प्रकाशमा आएका छन् । मानव र खास गरी सवारीका साधनको चहलपहलमा शुन्यता आएपछि त्रासको वातावरण न्यून हुन जाँदा जंगली जनावरमा आँट बढेको अनुमान गरिन्छ । कोरोनाका कारण मानवीय व्यवहारमा ठूलो परिवर्तन देखिएको छ । आत्मकेन्द्रित र आत्म सुरक्षाको प्रभूत्वले गर्दा अपनत्वमा ह्रास आई संवेदनहिनतामा व्यवहार परिणत हुँदै गएको छ । नेपालमा पहिलो संक्रमित भनी घोषित भएकी युवतीले विदेशबाट फर्केर आफैं परीक्षण, एकान्तवासमा प्रवन्ध मिलाईए पनि समुदायले अवाञ्छित तत्वका रुपमा व्यवहार गर्ने दुष्कार्यको शिकार भएको अनुभव पोखिन् । संक्रमित व्यक्तिलाई प्रविधिको माध्यमबाट खाद्य सामाग्री उपलब्ध गराउने, उपचार गराउने कार्यले सेवा पाउनेले गर्ने अनुभूति मानवीय सम्वेदनाभन्दा विल्कुलै फरक र निरस भएको हुनु पर्दछ । स्वास्थ्य परीक्षणको इतर क्षेत्रमा सोच सकारात्मक हुनुपर्ने, स्वभाव र व्यवहार सकारात्मक हुनुपर्छ भनी आत्मरुपमा उपदेश दिईएको हुन्छ । तर, कोरोनाको दुष्प्रभावले ‘नकारात्मक’ शब्दावलीलाई ‘प्रिय’को तहमा ल्याइदिएको छ । परीक्षणमा कसैको नतिजा ‘सकारात्मक’ निस्कियो भने सो व्यक्तिबाट सबै भागाभाग, सम्बन्ध छुटाउने कुरा आम भएको छ । भाइरसको उपचारका संलग्न स्वास्थ्यकर्मीले डेरा, वासस्थान नपाउनु, त्यति महान कार्यमा सरिक भएका व्यक्तिको पनि त्यो हाल हुन्छ भने मानवीय संवेदनशीलताको पतनको कसरी आँकलन गर्ने ? अतः कोरोनाको व्यापकताको आलोकमा स्वास्थ्य परीक्षणको नतिजा ‘नकारात्मक’ जस्तै आनन्ददायक हुन्छ, सदा स्वीकार्य ‘सकारात्मक’ त्यतिकै घातक मानिने भाष्य स्थापित हुन पुगेको छ । चर्चाचल्ने गर्छ–मानव विकासको यो शिखरमा पुर्याउन योगदान दिने सबै बुज्रुकलाई अदृश्य रुपमा सकृय रहेको जिवाणुले लल्कारिरहेको छ । मानव सभ्यता नै जोखिममा पारिदिने आभास प्राप्त हुँदैछ । दरबार र घरानीयालाई कम, झुपडी र घनावस्तीमा बस्नेलाई बढी प्रभावित गर्ने देखिए पनि आम रुपमा वर्ग, लिङ्ग, ओहोदाको विभेद नराख्ने कोरोनालाई ठेगान लगाउन सामूहिक प्रयासको संस्कृति आवश्यकताको बोध भएको छ । यस्तो मानवजातिको संकटमा परेको अनुभूति हुँदाहुँदै पनि नितान्त निहित स्वार्थका निम्ति विभिन्न उपलब्धिको अहंकार गर्नु मानव जातिको हितमा पिठ्यु फर्काउनु हो । विकसित मुलुकमा पनि दैनिक प्रयोग गर्ने औषधी पाउन घण्टौं पंक्तिमा उभिनु परेका चित्रहरु छापिने गरेका छन् । अल्प विकासीत देशमा बन्दाबन्दीको कारणमा अनिश्चित रोजगारीले थप संवेदनशीलता विद्यमान भए पनि अन्तिम नतिजा ‘इहलिला’ त्याग गर्नु नै हो । संख्या नियाल्ने हो भने स्वतन्त्रताको दुहाई दिने देशहरु तुलनात्मक रुपले ‘संयम’ धारण गर्ने देशको भन्दा हताहतिको दर धेरै बढी देखिएको छ । विगतका संक्रमणभन्दा नौलो पाइएको कोरोना प्रमाणित उपचारको अभावमा मानवजातिकै विनासको कारक बनेकोमा विश्वका सबै महादेशका २ सय १० भन्दा बढी देश प्रभावित भएका छन् । तीन हप्ता जति सकृय रहने सो भाइरस चुनौतिका रुपमा उपस्थित छ । सहभागिता, सहकार्यमा सकृयता राखिने प्रकृयामा एकान्तवास, सामाजिक दूरी कायम राख्ने, बन्दाबन्दी जस्ता कार्यबाट कोरोनाको प्रभाव न्यूनिकरण गर्न प्रभावकारी ठहरेपछि विश्वव्यापी प्रयोगमा रहेको पद्धति केही राष्ट्रमा विरोध भएको पाइएको छ । मानवजाति माथि चुनौतिपूर्ण रुपमा खडा भएको कोरोना आर्थिक विकास, रोजगारी जस्ता कारकमा प्रतिकुल सावित भएको छ । राजनीतिसँग पनि साइनो जोड्न साँघुको रुपमा रहेको कोरोनाको चित्त बुझ्दो समाधान प्राप्त भैनसकेको अवस्थामा परम्परागत जडीबुटीको प्रयोगले प्रतिरोध क्षमता बढाउन सक्ने देखिए पनि अन्य जीवाणुसँगको मिश्रणबाट थप चुनौतीका रुपमा देखिन सक्ने संभाव्यता भएकाले सम्पूर्ण मानवजाति संयुक्त रुपले उभिनु आवश्यक छ । (लेखक राष्ट्रिय याेजना आयोगको पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट बैंकको पूर्व गभर्नर हुनुहुन्छ । विकासन्युजको विशेष अनुरोधमा प्राप्त यो लेख अप्रतिस्प्रधीको रुपमा प्रकाशन गरिएको छ ।)- सम्पादक
कोरोना भाईरस विरूद्ध डटेर लडौं
विश्वमा कोरोना भाईरस संक्रमणबाट ठूला ठूला देशहरुलाई टाउको दुखाईको विषय बनेको छ । यसले ठूला र शक्तिशाली देशहरु मात्र हैन हाम्रो जस्तो साना र विकासोन्मुख देशहरुले पनि ठूलै आर्थिक दायित्व बहन गर्नुपर्ने स्पष्ट देखिन्छ । यसबाट स्पष्ट हुन्छ की हामीले र हाम्रा नीति निर्माण गर्ने तहमा बसेका विद्धान व्यक्तित्वहरु र राजनैतिक नेतृत्वले आफ्नो देशमा परम्परागत कृषिको अवस्था कस्तो छ? यसलाई आधुनिकीकरण गर्न के गर्नुपर्छ? भन्ने बारेमा सोच नराख्नु नै हो । उब्जाउ योग्य भएका जमिनहरु शहरीकरणको नाममा खण्डिकरण गरी टुक्रा टुक्रापारी त्यही टुक्रा जमिनमा अव्यवस्थीत रुपमा ठुला ठुला घर बनाई त्यही घरको भाडा खाने र छोरा छारीलाई पढाएर दक्ष बनाई दक्ष र शिक्षित जनशक्ति (रेडिमेड रिसाेर्स) विदेश पठाउन र त्यहाँबाट आएको रेमिट्यान्सले ठुला र महंगा गाडी चढ्ने, अरु भाडा खाने घरहरु बनाउने अनि देश विदेशको शयर गर्ने प्रवृति हामी कहाँ मौलाएको छ । शिक्षित र दक्ष जनशक्ति ठूला विकसित देशहरुमा पलाएन भएका छन् भने अर्धदक्ष जनशक्ति खाडी मुलूकहरुलाई रोजगारीको गन्तव्यको रुपमा लिई गैरहेका छन् । सरकार वा नीति निमार्ण तहमा बसेकाहरुले आफ्ना नागरिकहरुलाई स्वदेशमा नै बसेर जो जे जस्तो पेशामा छौ, जसले जस्तो ज्ञान सीप हासील गरेका छौ त्यो ज्ञान र सीप स्वदेशको उन्नति र प्रगतिको लागि खर्च गर तिमीले उत्पादन गरेको हरेक बस्तुहरुमा राज्यले सहुलियत दिन्छ । निर्यात सहजीकरण तथा बजारीकरणका लागि हामी सहयोग अर्थात राज्यले सहयोग गर्छ वा गर्छौ भन्न नसक्नु नै हो । हाम्रा नीति निर्माण तहमा बस्ने व्यक्तित्वहरुले आफ्नो देशका लागि कति जना कृषि विशेषज्ञ चाहिन्छ? कस्तो जमिनहरु आवासको लागि छुट्याउनु पर्ने हो? कस्तो खाले शिक्षा नीति देशका लागि आवश्यक छ? डाक्टर कति चाहिन्छ? अर्थात हरेक क्षेत्रमा के कति र कस्तो विषयको विशेषज्ञ जनशक्ति हामीलाई अवश्यक छ र तिनलाई कसरी परिचालन गर्ने भन्ने बारेमा कहिल्यै सोचेनन् बस सोचेत केवल कसरी बढि भन्दा बढि मानिसलाई वैदेशिक रोजगारीका लागि पठाउने र त्यसबाट आर्जन भएको रेमिट्यान्सबाट देश चलाउने। देशमा वेथित, विशंगती अनि भ्रष्टाचारले निकै गहिरोसंग जरा गाडी सकेको छ जो रक्षक उही नै भक्षक भएको हाम्रो देशमा अझै पनि नीति निर्माण तहमा बस्ने ब्याक्तित्वहरु हुन् वा राजनीतिको माध्यमबाट देश र जनताको सेवा गर्छु भन्ने राजनैतिक व्यक्तित्वहरु हुन् यस्तो विषम परिस्थिीतिमा पनि भ्रष्टाचार र कमिशन मै लिप्त छन् जसले देशलाई नै खोक्रो पारी सकेको छ । जनता विदेशमा बसी रोईरहेको छन् । आफ्नो मातृभूमिमा आउन पाउँ भनेर तर ती जनतालाई स्वदेश फिर्ता गरी तिनलाई उचित प्रबन्ध गर्ने योजना हाम्रा नेतृत्वमा छैन । हरेक नागरिक समाज होस् वा प्राध्यापक, डाक्टर हो वा इन्जिनियर, नागरिक होस् वा पुलिस, विद्ध्वान होस् वा मुर्ख सवैलाई राजनीतिले गिजलेको छ । जस्तो सुकै अपराध कर्म गरेता पनि त्यसलाई राजनीतिले चोखाई दिने हाम्रो नियति नै भैसकेको छ । हरेक ठाउँमा राजनैतिक नियुक्ती भएको छ । अनि जसले आफुलाई नियुक्ती दिलाएको हो उसको भजन गाउनु र उसले गरेका अपराध कर्मलाई ढाकछोप गर्ने । आफ्नो राजनैतिक दुनो सोज्याउन यहाँ जातको, धर्मको अनि लिंगको सहारा लिईन्छ । हामी जनता पनि वा हाम्रो नेता क्या कुरा गर्नुभयो । उहाँले त साच्चै हाम्रै लागि बोलेको हो भनि तुरुन्तै पत्याई हाल्छौ र लुरुक्क भोट हाल्छौ अनि सत्तामा पुर्याउछौ । यो हाम्रो नियती नै बनेको छ । लेखक अब हामी जनता यस्ता नेताको फुस्रो आश्वासनमा नबसौ आखिर देश त हाम्रै हो हामीले नगरे कसले आएर गर्ला र? जसले जे जस्तो सीप ज्ञान हासिल गरेका छौ त्यही सीप गरौ । हामीसंग अझै पनि उत्पादन योग्य जमिन छ, जल छ अनि जंगल छ । आज हामीले केही दुख पाएता पनि हाम्रा लागि भोलिको दिन सूनौलो छ । आन्तरिक उत्पादनमा जोड दिउँ डाक्टरले विशुद्ध डाक्टरी पेशा गरौ, पुलिसले जनताको शान्ती सुरक्षामा ध्यान दियौ । हरेकले आफुले जानेको सीप, ज्ञानलाई पुर्णरुपमा ईमान्दारिक पूर्वक पालना गरी देश र जनताको सेवा गर्ने हो भने यो देश बन्नलाई धेरै समय लाग्दैन किनकी हामी हरेक तरहले धनी छौ जडिबुटीमा, खानीमा होस् वा पानीमा, प्राकृतिक सौदर्यतामा होस् वा वीरतामा हाम्रो शान्ति भूमि, बुद्ध भूमि सगरमाथाको देश नेपाललाई आज साच्चै अप्ठेरो परेको छ । यो सवै हाम्रै अदुरदर्शिताको कारणले हो भन्ने मनन गरी कूनै पद, धर्म, जात, राजनैतिक दर्शन, धनी, गरीव नभनी जसले जसरी जस्तो तरिकाले नेपाल आमाको सेवा गर्न सक्छौ सोही अनुसार सभ्य र शालिन नागरिक भै नेपाल आमाको सेवा गरौ । हामी नेपालीहरुसंग पैसा नभएको पनि होईन तर हाम्रा नेतृत्व तहले कसरी स्वदेशी पूँजीलाई परिचालन गर्न सकिन्छ भन्ने सोच नै राख्नसक्नु भएन । जो देशका लागि र जनताका लागि भनेर नीति निर्माण तहमा बस्नुभएका छन् अधिकांश उहाँहरु कमिशनको चक्करमा फस्नु भएको छ । राम्राृे प्रतिफल दिनसक्ने कुनै एक कम्पनीकोे प्राथमिक निष्काशनमा कम्पनीले माग गरेको भन्दा १०० गुणसम्म अधिक आवेदन पर्दछ लगानी गर्न चाहनेहरुका लागि शेयर बाँडफाँड गर्न सकिएको छैन पैसा फिर्ता गर्नुपरेको छ । के हामीले त्यस्तो पैसालाई ठुला ठुला जलविद्युत कम्पनीहरुमा, ठुला ठुला पूर्वाधार विकास कम्पनीहरु लगाएत उत्पादनमुलक क्षेत्रहरुमा सरकारको प्रत्येक्ष निगरानीमा नियामक निकाय गठन गरी परिचालन गर्न सकिन्न र ? जसबाट देशलाई ठुलै फाईदा हुने देशमा रोजगारीको अवसरहरु सृजना हुने र लगानीकर्ताहरुले पनि उच्चतम प्रतिफल पाउने निश्चित छ । यसका लागि नेपाल सरकारले दिएको लाईसेन्स वाला मर्चेन्ट बैंकिंग तथा ईन्भेष्टमेन्ट बैंकिग कम्पनीहरु धेरै छन् । यस तर्फ देश चलाउछु भन्नेहरुको ध्यान जाओस् । अर्कोतर्फ हाम्रा वीर सपुतहरु जो विश्वाका विभिन्न शक्तिशाली देशहरुमा शक्तिशाली ओहोदामा नै हुनु हुन्छ जसलाई आफ्नो मातृभूमिको औधि माया छ । नेपाल आमा रोईरहेको हेरेर उहाँहरु पनि निकै चिन्तित हुनुहुन्छ । देख्न सकिन्छ चाहे भारतले नेपालमा नाकाबन्दी गर्दा नेपालीहरुले देखाएको एैक्यवद्धता होस् वा हाल कोरोनाले आफुलाई सताउदा पनि कतिपय नेपालीहरु आफ्नो देश फर्कन नचाहनेहरु हुन् कारण आफ्नो कारणले आफ्नो देशमा आफ्नो मातृभूमिमा संक्रमण नफैलियोस् । यस्तो देश भक्ति संसारका नागरिकहरुमा विरलै पाईन्छ । हाम्रा वीरहरुले बहादुरीका साथ चाहे भारत होस् वा बेलायत वा शान्ती सेनाको रुपमा अन्य देशहरुको सुरक्ष्यामा ठुलो योगदान पुर्याइ रहेका छन् । आज देश रहेको छ त केवल ती सपूत सन्तानहरुका कारणले जसले जस्तोसूकै परिस्थितीमा पनि नेपाल र नेपालीलाई अर्थात आफ्नो जन्मभूमिका लागि आफ्नो कर्म गरी रहेका छन् के तिनीहरुलाई आफुले सिकेको ज्ञान, आर्जन गरेको धन आफ्नै मातृभूमिमा लगानी गर्नुहोस् देशले तपाईहरुलाई प्रतिफल दिन्छ । नेपाल आमाले तपाई जस्तो सपूत पाउँदा गौरव गर्नेछिन् भनि आव्हान गर्न सकिन्न र ? अझ भन्नु पर्दा विश्वका सवै प्राणी मात्रको रक्षा हुनु पर्छ भन्ने हाम्रो देशमा जन्मिएका शान्तीका दुत भगवात बुद्धको उपदेशको पालना गरी जय बुद्ध भूमि, जय शान्त भूति जय वीर भूमि नेपाल हो भन्ने पहिचान दिऔ । कृषि जन्य बस्तुहरुमा आयात मुखि हैन बढि से बढि आन्तरिक उत्पादनमा जोड दिई निर्यात मुखी बनौं । जसले रोजगारीको सृजना लगाएत परनिर्भरताबाट हामीलाई बचाउने छ । सरकारले पनि अब यसरी हैन आफ्ना नागरिकहरु जुनसूकै राजनैतिक दर्शन जुनसूकै धर्म, लिंगका भएपनि आफ्ना नागरिकहरु हुन् यिनलाई हामीले नगरे कस्ले गर्छ? आखिर यी नागरिक र देश रहेन हामीले राजनीति गर्ने हो मन्त्री, प्रधानमन्त्री अनि राष्ट्रपती हुने हो नरहे के गर्ने भन्ने मनन गरी देशमा थुनिएर रहेका जनतालाई बाहिरी संसर्गबाट अगल गरी तिनीहरुको स्वास्थ्य पूर्ण रुपमा जाँच गरी आ आफ्नो थाकथलोमा पठाई बेलैमा परम्परागत पाकेको बाली भित्र्याउने र नयाँ रोप्ने व्यवस्था मिलाउनु पर्ने देखिन्छ । संक्रमणको सिकार नभएका व्यक्तिहरुबाट निश्चित दुरी कायम हुने गरी सावधानी पूर्वक देशमा रहेको उद्योग धन्दा तथा कल कारखाना पनि संचालन गर्ने व्यवस्था यथाशक्य चाँडो गर्नुपर्ने देखिन्छ । यसरी लकडाउनको नाममा महिनौसम्म नागरिकलाई थुनेर राख्ने हो भने देशमा बचेको उद्योग धन्दा, कृषि लगाएत सम्पूर्ण क्षेत्र तहस नहस हुने पक्का पक्की छ र देशले अझ धेरै ठूलो चूनौतिको सामना गर्नुपर्ने निश्चित छ । सम्बन्धित निकायको बेलैमा ध्यान जाओस् । हामीले अब पनि आफनो देशका बारेमा, आफनो मौलिक, परम्परागत उत्पादनको रक्षा गर्दै त्यसलाई कसरी आधुनिकीकरण तर्फ लैजाने भन्ने वारेमा सोच्न सकेनौ, आफूलाई चाहिने उद्योगहरु आफैले स्थापना गर्न सकेनौ, आफ्नै देशमा उत्पादित बस्तुहरुको गुणस्तर जाँच गरी स्वदेशी उत्पादन नै प्रयोगमा ल्याउने वातावरण बनाउन सकेनौ भने भोलिका दिन हामीलाई अझ बढी ठुलो चूनौतिको सामना गर्नुपर्ने निश्चित छ । सरकारले वा सम्बन्धित निकायले अव पनि आफ्नो देशका लागि के कस्तो जनशक्तिको खाँचो छ त्यस्तो जनशक्ति आफ्नो देशमा तयार भएको छ की छैन? भन्ने सोच राख्नुपर्ने हुन्छ र त्यस्तो जनशक्तिलाई स्वदेश मै रोजगारी वा परिचालनको व्यवस्था गर्नुपर्ने हुन्छ । अर्कोतर्फ दक्ष जनशक्तिको नाममा निजीक्षेत्रले विदेशी कामदारहरु भित्र्याइरहेकोले विदेशी कामदारहरुको परिचालनमा कडाई गर्नुपर्ने हुन्छ । भने विदेशबाट आयात हुने हरेक खाद्यान्न लगाएतका मालबस्तुहरुको चेकजाँचमा कडाई गर्नुपर्ने देखिन्छ । कतिपय आयातित मालबस्तुहरु प्रयोग मिति गुज्रीएको, कतिपयमा अत्याधिक मिसावट पाईएको वा कतिपय बस्तु प्रयोगबाट मानव स्वास्थ्यमा अम्भिर असर गर्ने सम्मको बस्तुहरु निर्वाद भित्रिरहेको छ । कोरोना भाईरसबाट त्रसिदभई घरमा बसिरहनु भएका व्यक्तिहरुले आफ्नो फुर्सदको समय आफुले गर्नसक्ने कुनै न कुन काम गर्ने गर्नुहोस् । सरकारले पक्कै केही न केही सोचेकै होला यसबाट त्रसित हुनु भन्दा पनि घर मै बसेर पनि केही राम्रो काम गर्न सकिन्छ आफ्नो परिवारको सदस्यहरुको काममा नै सघाउन सकिन्छ खुशी रहनुस, स्वस्थ रहनुस् । त्रैसिद नहुनु होस् । अन्त्यमा मैले आफ्नो देशमा भएको विकृति र विसंगतीलाई मात्र उर्जागर गर्न खोजेको हुँ आखिर जो जहाँ जसरी रहेता पनि भएता पनि हामी सवै नेपाली नै हौ । यो देश हाम्रो नै हो यसलाई हामीले नै बनाउने हो अरु कसैले बनाउने हैनन् । देश राम्रो हुनको लागि हामी जनता राम्रो हुनु पर्छ त्यसैले यसलाई अन्यथा नमानी सदैव देशको नियम कानूनको अधिनमा रही स्वाभिमानी नेपाली भई नेपाल राष्ट्रको उन्नती र प्रगतिका लागि सधैं सबैं एकजुट भएर लाग्यौ भने यो देश अवश्य बन्नेछ हामीलाई विश्वले भन्ने गरेको गरिब नेपालीको पगरीलाई फ्याक्न सफल हुनेछौं । एक दिन हामी विश्वलाई आवश्यक पर्ने जडिबुटी निर्यात गर्ने देश, विश्वलाई आवश्यक पर्ने विद्युत निर्यात गर्ने देश र यो ब्रम्हाण्डको सृष्टि गर्दा भगवानले यो नेपाल भूमिचाँही आफुलाई भनि छुट्याएको सुन्दर शान्त र सम्बृद्धशाली नेपाल र धनी नेपालीको उपमाबाट चिनिने छौ । एक दिन सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा अवश्य पुरा हुनेछ । विश्वले हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने छ।