आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ओम कपन डेन्टलमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आफ्ना बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई दन्त स्वास्थ्यमा विशेष सुविधा दिने भएको छ ।  यसका लागि आईएमई लाइफ इन्स्योरेन्स र ओम कपन डेन्टलबीच समझदारी भएको हो । समझदारी अनुसार बीमित, अभिकर्ता र कर्मचारीहरूले ओम कपन डेन्टलमा स्केलिङ सेवामा ५० प्रतिशतसम्म छुट पाउनेछन् । साथै अन्य चेकअप तथा उपचार सेवामा २५ प्रतिशत छुटको सुविधा उपलब्ध हुनेछ । छुटको सुविधा लिनका लागि बीमितहरूले आईएमई लाइफ मोबाइल एपमा रहेको ‘प्रिभिलेज कार्ड’ देखाउनुपर्नेछ भने अभिकर्ता र कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेश गर्नुपर्नेछ । यस पहलले बीमित तथा कर्मचारीहरूको स्वास्थ्यमा प्रत्यक्ष सहयोग पुग्ने र दन्त स्वास्थ्यप्रति सजगता बढाउने कम्पनीको विश्वास छ ।

लघु बीमकमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सरकारी गाडीको दाबी सबैभन्दा धेरै

काठमाडौं । गत भदौ २२ र २३ गते जेनजी आन्दोलनको क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिबाट प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा १ करोड १३ लाख २२ हजार रुपैयाँ बराबरको ९ वटा दाबी परेको छ ।  निर्जीवन बीमा कम्पनीहरूमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सबैभन्दा धेरै सरकारी गाडीको दाबी परेको कम्पनीले जानकारी दिएको छ । मोटर बीमाको मात्रै १ करोड रुपैयाँको दाबी परेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेश रोकाले बताए ।  उनका अनुसार कम्पनीमा चारवटा सरकारी गाडीको बीमा दाबी परेको छ । जसमा चितवनको इच्छाकामना गाउँपालिकाको २ वटा, झापाको गाैरदह नगरपालिकाको एउटा र दाङको निर्वाचन कार्यालयको एउटा सवारी रहेको छ ।  कम्पनीमा बीमा दाबी आउने क्रम अझै जारी भएकोले दाबी रकम बढ्न सक्ने सीईओ रोकाले जानकारी दिए ।  बीमा प्राधिकरणका अनुसार जेनजी आन्दोलनको क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिबाट बीमा कम्पनीहरूमा २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँको दाबी परेको छ ।

जेनजी आन्दोलन : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले थाल्यो दाबी भुक्तानी प्रक्रिया

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दावी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । इन्स्योरेन्सले जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दावी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो । विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको इन्स्योरेन्सले जनाएको छ । बीमा दाबीका लागि आवश्यक कागजात र प्रक्रिया पुर्याई आफूलाई पायक पर्ने शाखामा सम्पर्क गर्न इन्स्योरेन्सले अनुरोधसमेत गरेको छ । इन्स्योरेन्सका अनुसार कम्पनीका अधिकारी र सर्भेयर टोलीले भदौ २५ गते कर्फ्युको समयमा विभिन्न बीमित सम्पत्तिको निरीक्षण तथा प्रारम्भिक सर्वेक्षण पूरा गरेका थिए । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत वर्षको बाढी र पहिरोका कारण सिर्जित दाबीहरूमा सबैभन्दा बढी भुक्तानी गरेको थियो । कम्पनीले यसपटक पनि दाबी फर्छ्यौट र भुक्तानीमा छिटो, पारदर्शी र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।