सानिमा रिलायन्स लाईफको कर्मचारी क्षमता विकासका लागि दुई दिने तालिम सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ । 'संस्थागत नैतिकता र कर्पोरेट संस्कृति तथा सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण' शीर्षकमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेलसहित प्रमुख कार्यालयमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो । तालिम नेपाल बीमा प्राधिकरणका उप निर्देशक पदम प्रसाद सोडारी र सिनर्जी माइलस्टोनका प्रशिक्षकहरूले प्रदान गरेका थिए । सोडारीले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी रोकथामबारे प्रशिक्षण दिएका थिए भने सिनर्जी माइलस्टोनका प्रशिक्षकहरूले कार्यस्थलको मूल मान्यता, नैतिक मानक र अनुपालन आवश्यकतासम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए । साथै सहकर्मी र अन्य आन्तरिक तथा बाह्य व्यक्तिसँग सुमधुर सम्बन्ध कायम राख्न कर्मचारीहरूले अपनाउनुपर्ने व्यवहारिक परिवर्तनबारे पनि छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी निवारणको महत्वमा जोड दिँदै कम्पनीका सबै कर्मचारीले यसलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रशिक्षणबाट प्राप्त ज्ञान र सीपलाई कार्यस्थलमा कार्यान्वयन गर्ने, सहकर्मीबीच सुमधुर सम्बन्ध कायम गर्ने, व्यक्तिगत मूल्य र मान्यताको कदर गर्ने र यसले कर्मचारीको कार्यदक्षता अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले हाल १६९ शाखा तथा उपशाखामार्फत १८ वटा जीवन बीमा योजना सञ्चालन गर्दै आएको छ । कम्पनीमा २१ हजारभन्दा बढी अभिकर्ताहरू आबद्ध छन् ।
सबै सरकारी सम्पत्तिको बीमा गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले सरकारी सम्पत्तिहरुको बीमा गर्ने निर्णय गरेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपश्चात् सिंहदरबारदेखि देशभर रहेका धेरै सरकारी संरचनाहरू ध्वस्त भएसँगै सरकारले यस्तो निर्णय गरेको हो । जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी सबै सम्पत्तिको बीमा गर्ने निर्णय गरेको अर्थमन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेले बताए । सरकारी सम्पत्तिको बीमा गर्नुपर्छ भन्ने माग लामो समयदेखि उठ्दै आएपनि सरकारले यसतर्फ ध्यान दिएको थिएन । बीमा प्राधिकरणले सरकारी बीमा गर्नका लागि सरकारसँग पटक पटक छलफल र प्रयास गर्दै आएको थियो । अन्तत: सरकारले सबै सरकारी सम्पत्तिको बीमा गर्ने निर्णय गरेकोमा बीमा कम्पनीहरूले यसलाई सकारात्मक कदमको रुपमा लिएका छन् । नेपालमा बेलाबेला घटिरहने भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक र मावनजन्य घटनाहरूबाट सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति हुँदै आएको छ । सरकारी सम्पत्तिमा तेस्रो पक्ष बीमा गरिएपनि सरकारी सम्पति भवनको बीमा गर्ने अभ्यास यसअघि थिएन ।
जेनजी आन्दोलन : बीमा कम्पनीहरूमा क्षतिग्रस्त सम्पत्तिको बीमा दाबी २३ अर्ब नाघ्यो
काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका बीमांकृत सम्पत्तिको बीमा दाबी बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज ८ गतेसम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ बढीको दाबी परेको परेको छ । प्राधिकरणको अनुसार कम्पनीहरुमा कुल २ हजार ९८८ वटा दाबी परेको परेको छ । प्राधिकरणका अुनसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियरमा परेको छ । उक्त कम्पनीमा ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबरको ३०७ वटा दाबी परेको छ । दोस्रो धेरै दाबी परेको कम्पनी ओरिएन्टल इन्स्योरेन्स रहेको छ । ओरियन्टयलले ८६ वटा दाबीको ५ अर्ब २३ करोड २४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । त्यस्तै तेस्रोमा आइजीआई प्रुडेन्सियलान २ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ बराबरको १९६ वटा बीमा दाबी परेको छ । शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड १३ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ५७ करोड ५९ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब २३ करोड ७८ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा १ अर्ब १२ करोड ४३ लाख रुपैयाँ राष्ट्रिय बीमा कम्पनीमा ९० करोड ६८ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्समा ८४ करोड ४४ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ५३ करोड २० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ५१ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४८ करोड २ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा २० करोड ४९ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्समा ६ करोड ८९ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । लघु निर्जीवन बीमा कम्पनीतर्फ प्रोटेक्टिभ माइक्रोमा १ करोड १५ लाख रुपैयाँ, स्टार माइक्रोमा ७२ लाख ३८ हजार रुपैयाँ, ट्रस्ट माइक्रोमा ४४ लाख रुपैयाँ र नेपाल माइक्रोमा ४१ लाख ५० हजार रुपैयाँ बराबरको बीमा दाबी परेको छ । सम्पति बीमा तर्फ धेरै दाबी क्षेत्रगत हिसाबले हेर्दा सम्पत्ति बीमातर्फ सबैभन्दा बढी दाबी परेको छ । प्राधिकराको तथ्यांकअनुसार सम्पत्ति बीमातर्फ कम्पनीहरूमा १९ अर्ब ३ करोड २८ लाख रुपैयाँको ५९४ वटा दाबी परेको छ । त्यस्त मोटर बीमातर्फ ३ अर्ब ६५ करोड ४ लाख रुपैयाँ दाबी परेको छ । इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ३४ करोड ७२ लाख रुपैयाँ, अन्य बीमातर्फ ३४ करोड ६६ लाख रुपैयाँ र परिवहन बीमातर्फ १ करोड ५५ लाख रुपैयाँ दाबी परेको छ ।