राष्ट्रिय बीमामा सर्वसाधारणको १०.४६ प्रतिशत स्वामित्व बढाउने, नेपाल बैंकसँग लगानी साटासाट
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले पुँजी संरचनाका लागि नयाँ प्रस्ताव गरेको छ । कम्पनीले पुँजी संरचनाका लागि संस्थापक समूहको १०.४६ प्रतिशत स्वामित्व घटाइ सर्वसाधारणकाे बढाउने प्रस्ताव पेस गरेको हाे । कम्पनीमा हाल संस्थापक समूहको ८०.४६ प्रतिशत र सर्वसाधारण समूहको १९.५४ प्रतिशत सेयर स्वामित्व रहेको छ । नयाँ प्रस्तावअनुसार संस्थापक समूहको १०.४६ प्रतिशत स्वामित्व घटाइ ७० प्रतिशत र सर्वसाधारण समूहको १०.४६ प्रतिशत बढाइ ३० प्रतिशत सेयर स्वामित्व कायम गर्ने प्रस्ताव गरेकाे हाे । संस्थापक समूहतर्फ कम्पनीमा हाल नेपाल सरकारको ४७.५० प्रतिशत, कर्मचारी संचय कोषको २२ प्रतिशत र नेपाल बैँकको १०.९६ प्रतिशत सेयर लगानी छ । नयाँ प्रस्ताव अनुसार नेपाल सरकारको ४१.०३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १९.३७ प्रतिशत र नेपाल बैंकको ९.६० प्रतिशतमा झार्ने प्रस्ताव गरिएको छ । कम्पनीले विभिन्न पाँच कम्पनीमा सेयर लगानी गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार कम्पनीले नबिल बैंकमा २ करोड ६ लाख ३६ हजार ९८६ कित्ता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा २ करोड २९ लाख ६७ हजार ७९६ कित्ता, नेपाल पुनर्बीमा कम्पनीमा ३७ लाख १७ हजार ३४० कित्ता, ग्लोबल आइएमई बैंकमा ५ लाख ९१ हजार ९४५ कित्ता र नेपाल बैंकमा २ लाख ९९ हजार ५३७ कित्ता सेयर रहेको छ । कम्पनीले नेपाल बैंकसँग लगानी साटासाट गरेको देखिन्छ । बैंकले कम्पनीमा लगानी गरेकाे छ भने कम्पनीले पनि बैंकमा लगानी गरेकाे देखिन्छ । साथै, कम्पनीले २०८२ असारसम्म बैंकको मुद्दती निक्षेपमा ६ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीको अध्यक्ष दिनेश उपाध्याय रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवहरि श्रेष्ठ रहेका छन् । कम्पनीका अनुसार निर्जीवन बीमा व्यवसायबाट प्राप्त खुद बीमा शुल्क, पुनर्बीमा कमिसन र दीर्घकालीन तथा अल्पकालीन लगानीबाट प्राप्त प्रतिफल आर्थिक स्रोतका आधारहरू हुन् । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा कुल १ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको जनाएको छ । कम्पनीले २३ वटा शाखा कार्यालयमार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ । कम्पनीमा १४७ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल ११४ जना स्थायी र बाह्य स्रोतका गरी कुल २१० जना कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । बीमा व्यवसाय अभिवृद्धिका लागि देशभर छरिएर रहेका २९६ क्रियाशील/सक्रिय अभिकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको कम्पनीले जनाएको छ । त्यस्तै, बीमा दाबी भुक्तानीमा सहजीकरणका लागि १९१ जना सर्भेयरहरूलाई कम्पनीमा आबद्ध गराएको छ । कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनीले संयुक्त रूपमा भोगचलन गरिरहेको रामशाह पथस्थित १५ रोपनीको जग्गा यथाशीघ्र आफ्नो नाममा ल्याई आफ्नो भवन निर्माण गर्ने लक्ष्य रहेको छ । यसबाहेक वीरगञ्जमा ६ कट्ठा जग्गा, धनगढीमा ६ कट्ठा १० धुर जग्गा र भैरहवाको ४ कट्ठा १० धुर जग्गामा कम्पनीको आफ्नै भवन रहेको छ । अधिकांश सेयर स्वामित्व सरकारकाे रहेकाे राष्ट्रिय बीमा कम्पनी आजदेखि १२ औं वर्षमा प्रवेश गरेको छ । विसं २०७१ साउन १८ गतेबाट व्यावसायिक कारोबार सञ्चालन गरेको कम्पनी ११ वर्ष पुरा गरी १२औँ वर्षमा प्रवेश गरेको हो । राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा व्यवसाय हेर्ने विभागलाई छुट्टै स्वतन्त्र निकायको रूपमा निर्जीवन बीमा व्यवसाय गर्ने गरी सरकारको निर्णय बमोजिम विसं २०७१ जेठ २८ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो । देशमा बीमा व्यवसाय सुरुवात गरी राष्ट्रिय पुँजी निर्माण तथा विदेशी मुद्राको व्ययभार कम गर्ने उद्देश्यले सरकारको लगानीमा विसं २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थानको स्थापना गरी सोही वर्षको फागुन ११ गतेदेखि निर्जीवन बीमा व्यवसायको कारोबार शुरु गरेको थियो । २०२५ सालमा राष्ट्रिय बीमा संस्थान ऐन लागू भएपछि राष्ट्रिय बीमा संस्थानमा परिणत भई कारोबार सञ्चालन गर्दै आएको थियो । बीमा व्यवसायलाई व्यवस्थित गर्न बनेको बीमा ऐन २०४९ को दफा १२ मा जीवन बीमा तथा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका कम्पनीले जीवन बीमा तथा निर्जीवन बीमा व्यवसाय गर्ने अलग-अलग संस्थाका रूपमा कार्य गर्नुपर्ने व्यवस्था गरेपछि नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति) बाट निर्जीवन बीमकको लाइसेन्स लिएर छुट्टै कम्पनीका रुपमा खडा भएको हो । लामो समयदेखि थाती रहेको लेखापरीक्षणलाई उच्च प्राथमिकतामा राखेर कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको लेखापरीक्षण सम्पन्न गरी विसं २०८२ असार २९ गते तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण कार्य सम्पन्न गरी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वार्षिक साधारण सभा गर्ने लक्ष्य कम्पनीले लिएको छ । साथै बाँकी आर्थिक वर्षहरूको लेखापरीक्षणको कार्य पनि यथाशीघ्र सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।
प्रभु महालक्ष्मी लाइफको साढे २ करोडको सेयर बिक्रीमा, मूल्य २०३ रुपैयाँ
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साढे २ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको २ करोड ६४ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेका हुन् । कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूले १ लाख ३० हजार ४४२ कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीको उक्त सेयरको मूल्य प्रतिकित्ता २०३ रुपैयाँ तोकेको छ । सो मूल्यका आधारमा कम्पनीको २ करोड ६४ लाख ७९ हजार ७२६ रुपैयाँको सेयर बिक्रीमा राखिएको हो । कम्पनीको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले खरिदका लागि आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
सिञ्जा गाउँपालिकामा १ हजार ५ सय घरको बीमा, क्षतिग्रस्त भएपछि बीमाले भुक्तानी दिने
काठमाडौं । जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका करिब १ हजार ५४५ घरको घर बीमा गरेको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बीमा कार्यक्रममार्फत सिञ्जाका १ हजार ५४५ घरको बीमा गरिएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । उनका अनुसार पालिकाका ६ वटै वडामा २ जना तथ्याङ्क सङ्कलन गर्ने कर्मचारी परिचालन गरी घर बीमाको सङ्ख्या निर्धारण गरिएको हो । प्रदेश सरकारको आव २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेटअन्तर्गत घर बीमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ मन्त्रिपरिषदबाट फागुन १३ गते पारित भई कार्यान्वयनमा आएको छ । उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई घरको मूल्याङ्कन गरी यही असार २५ गतेभित्र सम्बन्धित स्थानीय तहको सिफारिससहित पठाएको विवरणअनुसार सिंजाले तोकिएको मापदण्डअनुसार प्रक्रिया पूरा गरेपछि छनोटमा परेको गाउँपालिका अध्यक्ष धितालले बताए । कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर २३ लाख रुपैयाँको बीमाङ्क बराबरको जोखिम मूल्याङ्कनबाट हुन आउने बीमा शुल्क बापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ । बीमा लागू भएपछि भूकम्प, आगलागी, बाढी तथा डुबान, हुरीबतासलगायत विपद्बाट क्षतिग्रस्त भएका घरको बीमामार्फत क्षतिपूर्ति पाउने छन् । एक परिवारका लागि एक घरको बीमा शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । घर बीमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ । चालु आवमा बीमाका लागि प्रदेश सरकारले ४ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले ११ अर्ब ५० करोड रुपैयाँ बराबर १६ हजार विपद् जोखिम घरहरूको प्राकृतिक विपद् बीमा गरेको प्रदेशको कानुन मन्त्रालयले जनाएको छ । चालु आव २०८२/८३ मा घर बीमा कार्यक्रममा ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।