नेपाली क्रिकेट टोलीका खेलाडीलाई सन नेपाल लाइफले दियो ३० लाखको बीमा उपहार

काठमाडौं । नेपाली पुरुष क्रिकेट टिमले तेस्रो पटकका लागि विश्वकपमा ऐतिहासिक यात्रा तय गरेको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक सदस्यलाई ३० लाख रुपैयाँको बीमा सुरक्षा प्रदान गर्ने भएको छ ।  यस अन्तर्गत राष्ट्रिय क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाख रुपैयाँ बराबरको बीमा सुविधा र नेपालकै पहिलो इमर्जेन्सी मेडिकल सुविधा सन मेडिकेयर समावेश हुनेछ । जसले खेलाडीहरूलाई आकस्मिक दुर्घटनाबाट पनि स्वास्थ्य उपचार सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।  यसले खेलाडीहरूलाई थप प्रोत्साहन मिल्ने विश्वास कम्पनीले लिएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्यो १ अर्ब २६ करोडभन्दा बढी बीमा दाबी भुक्तानी

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले हालसम्म १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरिसकेको जनाएको छ । कम्पनीले जेनजी गत भदौको जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडबाट प्रभावित बीमितहरूलाई प्राथमिकता दिँदै दाबी फर्छ्यौट कार्यलाई तीव्रता दिएको हो । कम्पनीका अनुसार उक्त आन्दोलनका क्रममा व्यक्तिगत, सार्वजनिक, सरकारी सम्पत्ति तथा उद्योग–व्यवसायमा पुगेको क्षतिको ३५७ वटा बीमा दाबीहरू प्राप्त भएका थिए ।  तीमध्ये हालसम्म १०५ वटा बीमा दाबी पूर्ण तथा अग्रिम भुक्तानीका रूपमा फर्छ्यौट भई कुल १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरिएको छ । प्रारम्भिक रूपमा कम्पनीले ५ अर्ब ४९ करोड बराबरका दाबीहरू प्राप्त गरेको थियो । कम्पनीका अनुसार बाँकी दाबीहरूको मूल्यांकन तथा फर्छ्यौट प्रक्रिया निरन्तर भइरहेको छ । यसअघि २०८१ साल असोज महिनामा आएको बाढीबाट प्रभावित बीमितहरूको दाबी पनि सहज रूपमा फर्छ्यौट गरी आफ्नो जिम्मेवारी र दायित्व पूरा गरेको कम्पनीले दावी गरेको छ ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले प्रतिकूल परिस्थितिमा पनि बीमितको साथमा रही सेवा प्रवाह गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।  

नेपाल रिमा बीमा कम्पनीहरूबाट १५ अर्ब ७६ करोड दाबी, १ अर्ब ६३ करोड भुक्तानी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूबाट १५ अर्ब ७६ करोड रुपैयाँ बराबरको दाबी परेको छ । पुनर्बीमा कम्पनीका अनुसार २ हजार ७३३ वटाको १५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ दाबी परेको हो। कुल दाबी रकममध्ये पुनर्बीमा कम्पनीले हालसम्म १ अर्ब ६३ करोड ३५ लाख अग्रिम (पेश्की) भुक्तानी निर्जीवन बीमा कम्पनीहरूलाई भुक्तानी गरेको छ । ६० वटा दाबीको मूल्याङ्कन तथा अनुगमनका लागि संयुक्त बीमा सर्भेयर खटाएको कम्पनीले जानकारी दिएको छ । पछिल्लो तथ्यांकअनुसार जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा कम्पनीहरुमा ३ अर्ब २० करोड ९१ लाख रुपैयाँ बराबरको ३ हजार १६६ वटा बीमा दाबी परेको छ । निर्जीवन बीमा कम्पनीहरूले कूल दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी २ अर्ब १ करोड ९८ लाख बीमितहरूलाई भुक्तानी गरिसकेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवं अनुगमनका लागि २ हजार ७९१ वटा दाबीका लागि सर्भेयर खटाइएको छ ।  सर्भेयरहरूले हालसम्ममा ६५४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बीमकहरूबाट प्राप्त प्राधिकरणले जनाएको छ ।