नेपाल इन्स्योरेन्सको हकप्रद सेयर खरिद गर्ने समय लम्बियो, अब कहिलेसम्म पाइन्छ ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । साउन ६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा अब लगानीकर्ताहरुले भदौ २ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो ।  कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । ​​​​हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ ३० गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकको केन्द्रिय कार्यालय लाजिम्पाटसँगै शाखा कार्यालय पोखरा(चिप्लेढुङ्गा, ट्राफिक चोक बुटवल, आदर्शनगर विरगन्ज, गोल्छाचोक विराटनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ ।

निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा धेरै, कसको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बीमा कम्पनीहरूले झण्डै २५ अर्ब रुपैयाँको व्यवसाय आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा हाल सञ्चालमा रहेका कम्पनीहरूले ३२ लाख ४४ हजार ३८३ वटा बीमालेख बिक्री गरेर ४४ अर्ब ९१ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क संकल गरेका हुन् । बीमा कम्पनीहरूले संकलन गरेको कुल व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा धेरै रहेको छ । समीक्षा वर्षमा बीमा कम्पनीहरूले मोटर बीमामार्फत १२ अर्ब ९० करोड ५८ लाख रुपैयाँको कुल बीमाशुल्क संकलन गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा २८.७४ प्रतिशत हो । कम्पनीहरूले दोस्रो धेरै व्यापार सम्पत्ति बीमाबाट गरेका छन् । तथ्यांकअनुसार कुल निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा२५.५३ प्रतिशत रहेको छ । कम्पनीहरूले सम्पत्ति बीमामार्फत ११ अर्ब ४६ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, समीक्षा वर्षमा कम्पनीहरूले इन्जिनियरिङ र ठेक्कातर्फ ७ अर्ब ९८ करोड २५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायमा १७.७७ प्रतिशत हो । यसैगरी कुल निर्जीवन बीमा व्यवसायमा विविधको हिस्सा ११ प्रतिशत रहेको छ । विविधतर्फ कम्पनीहरूले ४ अर्ब ९४ करोड ९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । यस्तै, बीमा कम्पनीहरूले सामुन्द्रिकतर्फ २ अर्ब ५६ करोड ३० लाख रुपैयाँ, हवाईतर्फ २ अर्ब ३४ करोड ३४ लाख रुपैयाँ, पशुपन्छी तथा कृषितर्फ १ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ र लघुतर्फ ९७ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । निर्जीवन बीमाको कुल व्यवसायमा सामुद्रिकको ५.७१ प्रतिशत, हवाईको ५.२२ प्रतिशत, पशुपन्छी तथा कृषिको ३.८७ प्रतिशत र लघुको २.१६ प्रतिशत हिस्सा रहेको छ । 

वैदेशिक रोजगार बीमा व्यवसायमा एसियन लाइफ र सन नेपालको हिस्सा २९ प्रतिशत, कसको कति हिस्सा ?

काठमाडौं । वैदेशिक रोजगार बीमा व्यवसायबाट जीवन बीमकले गत आर्थिक वर्ष २०८१/८२ मा साढे ३ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा वर्षमा १४ बीमा कम्पनीहरूले २५ लाख ८६ हजार ३१३ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर ३ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । कुल वैदेशिक रोजगार बीमा व्यवसायमा एसियन लाइफ र सन नेपाल लाइफको हिस्सा सबैभन्दा धेरै देखिएको छ । तथ्यांकअनुसार एसियन लाइफ र सन नेपाल लाइफको हिस्सा हिस्सा क्रमशः २९.५३ प्रतिशत र २९.०९ प्रतिशत रहेको छ ।  गत आवमा एशियन लाइफले ३७ हजार ७०१ बीमालेख जारी १ अर्ब ५ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, सन नेपाल लाइफले १ अर्ब ३ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । धेरै वैदेशिक रोजगार बीमा व्यवसाय गर्ने अर्को कम्पनी आईएमई लाइफ इन्स्योरेन्स रहेको छ । वैदेशिक रोजगार बीमा व्यवसायमा आईएमई लाइफको हिस्सा ६.९९ प्रतिशत रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा ६ हजार १०१ बीमालेख जारी गरी कुल २४ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।  यस्तै, नेपाल लाइफको बजार हिस्सा पनि लगभग आईएमई लाइफको समान छ । समीक्षा आवमा नेपाल लाइफले ५ हजार १५१ बीमालेख जारी गरेर कुल २४ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, वैदेशिक रोजगार बीमालेखमा नेशनल लाइफको हिस्सा ५.४९ प्रतिशत रहेको छ । गत आवमा नेशनल लाइफले ३ हजार २४ बीमालेख जारी गरी १९ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।  समीक्षा वर्षमा सानिमा रिलायन्स लाइफले १७ करोड ३८ लाख रुपैयाँ, सिटिजन लाइफले १७ करोड २१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १४ करोड ६९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ११ करोड ७० लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले ११ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।  वैदेशिक रोजगार बीमा व्यवसायमा यी कम्पनीहरूको बजार हिस्सा क्रमश : ४.८६ प्रतिशत, ४.८२ प्रतिशत, ४.११ प्रतिशत, ३.२७ प्रतिशत र ३.१९ प्रतिशत रहेको छ। वैदेशिक रोजगार बीमालेखमा लिवर्टी माइक्रो लाइफको हिस्सा ०.७५ प्रतिशत रहेको छ । गत आवमा लिवर्टी माइक्रोले २ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।  त्यस्तै, क्रेस्ट माइक्रोको बजार हिस्सा ०.५६, हिमालयन लाइफ ०.२९ र गार्डियन माइक्रोको ०.१२ प्रतिशत रहेको छ । समीक्षा वर्षमा क्रेस्ट माइक्रो लाइफले १ करोड ९९ लाख रुपैयाँ, हिमालयन लाइफले १ करोड ५ लाख रुपैयाँ र गार्डियन माइक्रो लाइफले ४१ लाख ४० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।