शिखर इन्स्योरेन्सको ६.३१ लाभांश घोषणा, साढे १८ करोड रुपैयाँ सेयरधनीलाई बाँड्ने
काठमाडौं । शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस १ गते बसेको बैठकले ६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ९२ करोड ३० लाख ९९ हजार रुपैयाँको ६ प्रतिशतका दरले १७ करोड ५३ लाख ८५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.३१ प्रतिशतका दरले ९२ लाख ३१ हजार रुपैयाँ नगद गरी कुल ६.३१ प्रतिशत अर्थात् १८ करोड ४६ लाख १७ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव सुरज राजबाहकले बताए ।
बागमतीमा ५ महिनामा ४.४७ प्रतिशत मात्रै पुँजीगत खर्च
काठमाडौं । बागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समीक्षा अवधिमा चालुतर्फ १८.४१ प्रतिशत खर्च भएको छ । चालु आव २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट पारित भएको थियो । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोेकसेवा आयोगले २९.९० प्रतिशत, प्रदेशसभा सचिवालयले २७ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले २३.६७ प्रतिशत, स्वास्थ्य मन्त्रालयले २०.४५ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १९.०४ प्रतिशत र श्रम, रोजगार तथा यातायात मन्त्रालयले १९.५५ प्रतिशत बजेट खर्च गरेको छन् । सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १.४८ प्रतिशत बजेट खर्च गरेको छ ।
सिद्धार्थ प्रिमियरले गर्यो २ अर्ब ६८ करोडभन्दा बढी दाबी भुक्तानी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा (श्रावणदेखि मंसिरसम्म) कुल २ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार भदौ महिनाको अन्तिम साता भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा भएका हुलदङ्गा, तोडफोड र आगजनीबाट राष्ट्रको पूर्वाधार, उद्योग, व्यापार तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिबापत मात्र १ अर्ब ८८ करोड १६ लाख रुपैयाँ भुक्तानी गरिएको छ । यो रकम जेनजी आन्दोलनका कारण हालसम्म सबै बीमा कम्पनीबाट फर्छ्यौट भएका कुल दाबीमध्ये करिब ४० प्रतिशत बराबर रहेको जनाइएको छ । कम्पनीले यस अवधिमा जेनजी आन्दोलन बाहेक अन्य भइपरी आएका बीमित जोखिमसम्बन्धी दाबीबापत पनि ८० करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत वर्षको बाढी–पहिरोबाट सिर्जित दाबीहरूमा समेत सबैभन्दा बढी दाबी भुक्तानी गर्ने कम्पनीको रूपमा अग्रणी भूमिका खेलेको जनाएको छ । राष्ट्रभर रहेका उद्योग, व्यापार तथा निजी सम्पत्तिमा भएको क्षतिअन्तर्गत आफूसँग बीमित सम्पत्तिको क्षतिपूर्ति छिटोछरितो रूपमा फर्छ्यौट गरी बीमितहरूको संरक्षण गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ । साथै, भुक्तानी हुन बाँकी दावीकर्ताहरूलाई आवश्यक कागजात शीघ्र पेश गरी दाबी फर्छ्यौट प्रक्रियामा सहयोग गर्न कम्पनीले अनुरोध गरेको छ ।