नगद लाभांश वितरणमा रोक लगाएर बीमा समितिले ठिक काम गर्यो -अभिजीत घोष दस्तीदर
अभिजीत घोष दस्तीदर विगत केही महिनादेखि लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल)को कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । उहाँ सन् १९९१ देखि एलआइसी इण्डियामा कार्यरत हुनुहुन्छ । २०१५ अक्टोबरदेखि एलआइसी नेपालको सेकेण्ड म्यानका रुपमा नियुक्त भएर आउनु भएको अभिजीतले एलआइसीमा २५ वर्ष विताउँदा दुबई, साउदी अरेयिबा, कतार, बराइन, ओमनमा बसेर काम गरिसक्नु भएको छ । बीमा बजार र एलआईसी नेपालको बारेमा उहाँसँग गरिएको विकास वहस यस पटक। एलआइसी नेपालको बजार कस्तो छ ? एलआइसी नेपाल भनेको नेपालको लाइफ इन्स्योरेन्स क्षेत्रको एक नम्बर कम्पनी हो । नम्बर अफ पोलिसीका आधारमा हामी पहिलो नम्बरमा छौं । प्रिमियम रकमका आधारमा हामी दोश्रो नम्बरमा छौं । हामीले गरिबका लागि साना साना पोलीसी पनि गरिरहेका छौं । नम्बर अफ पोलिसीका आधारमा हामीले लाइफ इन्स्योरेन्स बजारको ३५ प्रतिशत हिस्सा लिएका छौं । एलआइसी नेपाल भनेको एलआइसी इण्डियाको सहायक कम्पनी हो । र, एलआइसी इण्डिया विश्वमै ठूलो बजार नेटवर्क भएको इन्स्योरेन्स कम्पनी हो । नेपालमा पनि हामीसँग ३५ वटा ब्रान्च छन् । नेपाल र भारतका धेरै कुरा समान छन् । संस्कृति र परम्परा पनि समान छन् । हामीले नेपालको ठूलो बजार हिस्सा लिएका छौं । हामीले अझै ब्रान्च बढाउने योजनामा छौं । एलआईसी इन्डियाले नेपालमा नाफा गरेर भारत लगिरहेको छैन (कर रकमबाहेक) । हामीले नेपालको बजार विस्तार गर्नुपर्नेछ । यहाँ समाजिक सुरक्षाको खासै राम्रो व्यवस्था छैन् । त्यसका लागि पनि काम गर्नुपर्नेछ । एलआईसी नेपालको बीमा पोलिसी कस्ता कस्ता छन् ? नेपालमा एलआइसी नेपालको पहिचान भनेकै प्रडक्टमा बिबिधता नै हो । सामान्यत बीमा कम्पनीका सबै खाले प्रडक्ट हामीसँग छन् । त्यस बाहेक अरु कम्पनीले नदिएको पोटेन्सियल प्रडक्ट पनि हामीसँग छ । मानिस चाँडै मर्न पनि सक्छ ढिलो पनि हुन सक्छ । यो प्राकृतिक नियम नै हो । हामीसँगै जीवन आनन्द नामको प्रडक्ट छ, जुन आफैंमा नेपाली बजारका लागि नयाँ हो । अरु कम्पनीले मानिसको कामकाजी जीवनको बीमा गर्दै आएका छन् । सामान्यतया सबैले ४० वर्षतिर इन्स्योरेन्स गर्छन र ६० वर्षतिर सम्पन्न हुन्छ । जीवन आनन्दमा प्रिमियम र ब्याज दिन्छौं । त्यससँगै उसको जीवन बीमा भने जीवनभर रहन्छ । एक सय वर्ष बाच्यो भने पनि इन्स्योरेन्स रहन्छ । हाम्रो कम्पनीको सबै भन्दा तीब्र गतिमा बिक्री भैरहेको प्रडक्ट हो । २५ देखि ३५ प्रतिशत बजार हिस्सा यसैले लिएको छ । मानिसलाई वृद्धावस्थामा इन्स्योरेन्स गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यस्तै, जीवन तरंग नामको प्रडक्ट पनि हाम्रो अर्काे राम्रो बिक्री भैरहेको प्रडक्ट हो । यो एक प्रकारको पेन्सन प्रडक्ड हो । यो अलि प्राबिधीक प्रडक्ट पनि हो । तपाईको कम्पनीको सबै भन्दा बिक्री भैरहेका पाँच वटा प्रडक्टहरु के के हुन् ? जीवन आनन्द, इन्डोमेन्ट, जीवन सरल, चिन्ड्रेन्स पोलीसी र जीवन तरंग हो । जीवन तरंग अहिलेका लागि मेरो सबै भन्दा प्राथमिकताको प्रडक्ट हो । नेपाली नागरिकले जीवनको उत्तरार्धका लागि केहि रकम जम्मा गर्नुपर्छ भनेर ल्याएका हौं । त्यस कारण जीवन तरंग भनेको भविष्यको प्रडक्ट हो । अहिले २ देखि ३ वटा प्रडक्टको डिजाइन भैरहेको छ । यहि आर्थिक वर्षमा २ वटा जति नयाँ प्रडक्ट आउँछन भने बाँकी केहि प्रडक्ट अर्काे आर्थिक बर्षमा ल्याउँदैछौं । त्यसको तयारी भैरहेको छ । प्रडक्टको डिजाइन गरेर एक्चुरीमा पठाउँछौं र त्यसपछि बीमा समितिबाट स्वीकृत गराएपछि मात्र सार्वजनिक हुन्छ । लाइफ फण्डको व्यवस्थापन कसरी गरिरहनु भएको छ ? हामीले लाइफ फण्डको व्यवस्थापन राम्रोसँग गरिरहेका छौं । लगानी योग्य निश्चत प्रतिशत रकम इक्वीटीमा लगानी गर्छाै । हामीले धेरै जोखिम लिने गरेको छैनौं । इक्वीटीले धेरै प्रतिफल दिन्छ भन्ने थाहा छ तर पनि त्यस्तो गरेका छैनौं । बाँकी रकम बैंकमा निक्षेप गर्छौ । हामीले सार्वजनिक सूचना निकालेर बाणिज्य बैंकलाई निक्षेपका लागि आव्हान गर्छाै र अधिकतम कबोल गर्नेलाई निक्षेप दिन्छौं । गत वर्ष ब्याजदर साढे ४ देखि ५ प्रतिशत मात्रै थियो । यसपाली बजारमा तरलताको अभाव छ । कमर्सियल बैंकमा पैसा राख्नु भन्दा पूर्वाधार विकासका दीर्घकालिन परियोजनामा लगानी गर्न पाइयो भने राम्रो हुन्थ्यो । हामीले १५ देखि २० वर्षको प्रडक्ट बेच्छौं । तर जम्मा तीन चार वर्षको फिक्स डिपोजिटमा पैसा राख्नु परेको छ । संसारमा इन्स्योरेन्स क्षेत्रको भनेको दीर्घकालिन पूर्वाधार विकासका आयोजनामा लगानी गर्ने प्रचलन छ । हामी २० बर्षका लागि पैसा लिन्छौं तर जम्मा दुई चार बर्षका लागि मात्रै लगानी गर्न पाउँछौं । तपाईको कम्पनीको प्रतिष्पर्धी कम्पनी कुन हो ? बजारमा रहेका ९ वटै लाइफ इन्स्योरेन्स कम्पनी हाम्रा सहकर्मी हुन् । प्रतिस्प्रर्धा कसैसँग पनि छैन । लाइफ इन्स्योरेन्सले कुल जनसंख्याको करिब २ प्रतिशत मात्र ओगटेको छ । इन्स्योरेन्सकै क्षेत्र जम्मा ७ प्रतिशतमा सिमित भएको छ । बजार भर्जिन छ । त्यस कारण बजारमा ठूलो सम्भावना छ । त्यसकारण बजारमा कसैको कुनै पनि कम्पनीसँग प्रतिष्पर्धा छैन् । शहरका र गाउँका शाखाहरुको परफरमेन्स कस्तो छ ? पाँचथर, डढेलधुरा, तेह्रथुम, सुर्खेत लगायतका क्षेत्रमा हाम्रा शाखा छन् । सबैको परफरमेन्स राम्रो छ । ती शाखा र काठमाडौंका शाखाको तुलना गर्न मिल्दैन् । सबै शाखाले रेभिन्यु जेनेरेशन मात्रै गर्दैनन् । कति जनतालाई सेवा दिए भन्ने कुरामा पनि हामी ध्यान दिने गरेका छौं । अथाह सम्भावना भएको बजारमा इन्स्योरेन्सको पहुँच बढाउन नियामकले के गरिहेको छ र थप के गर्नु पर्छ ? बीमा क्षेत्रको बजार अभिवृद्धिका लागि बीमा समितिले साह्रै राम्रो काम गरिरहेको छ । शहरमा एउटा शाखा खोल्नु भन्दा पहिले ग्रामीण क्षेत्रमा २ वटा शाखा खोल्नु पर्ने व्यवस्था छ । यसले ग्रामीण क्षेत्रमा इन्स्योरेन्स क्षेत्रको विस्तारमा सघाउ पुर्याइरहेको छ । कतिपय ग्रामीण क्षेत्रमा सूचना प्रविधिको उपलब्धता नभएकाले समस्या पनि हुन्छन् । तर पनि बीमा समितिले गरिरहेका काम साह्रै सराहनिय छ । भारतीय कम्पनीको सहायक कम्पनीका रुपमा नेपालमा काम गर्दा कुनै असहजता महसुस भएको छ ? यो नेपाली कम्पनी हो । एलआइसी नेपालमा एलआइसी इण्डियाको ५५ प्रतिशत, २५ प्रतिशत बिशाल ग्रुप र २० प्रतिशत नेपाली सर्वसाधारण जनताको लगानी छ यो कम्पनीमा । नेपाल भनेको हाम्रा लागि दोश्रो घर नै हो । एलआइसी नेपालमा १४० कर्मचारी छन् । तीमध्ये १३८ नेपाली नागरिक छन् । सिइओ र डेपुटी सिइओ मात्रै भारतबाट आएका हौं । ३२ हजार एजेण्ट्स छन ती सबै नेपाली नै हुन् । मलाई यहाँ काम गर्दा आफ्नै घरमा जस्तै महसुश भएको छ । तपाईले कम्पनी राम्रो छ भनिरहनु भएको छ । तर कम्पनीको सेयर मूल्य ४२०० वटा २८०० रुपैंयाँमा झरेको छ, किन ? हाम्रो कम्पनीको सेयर मूल्य १६ प्रतिशतले घटेको देखिन्छ । जबकी नेपालको सेयर बजार २० प्रतिशतले घटेको छ । अब भन्नुस हाम्रो कम्पनीको सेयर सुरक्षित जोनमा छ कि छैन ? फेरी विश्वकै सेयर बजारमा व्यापारीले कमाउँछन पनि र गुमाउँछन पनि । तर कोहि लगानी कर्ता छन् भने दीर्घकालसम्म पर्खने हो भने उसले नाफा नै कमाउँछ । तत्कालै त के हुन्छ भन्न सकिन्न तर केहि वर्ष कुर्ने हो भने हाम्रो कम्पनीका लगानी कर्ताले कमाउँछन नै । हाम्रो कम्पनीले दीर्घकालिन योजना अनुसार लगानी गरिरहेका छौं । राम्रो व्यवस्थापनमा सञ्चालित लाइफ इन्स्योरेन्स कम्पनीले २० देखि २५ प्रतिशत रिटर्न दिन सक्छन् । संस्थागत सुशासनले तीन महिना भन्दा बढी समय सिइओ खाली रहनुलाई उपयुक्त मान्दैन, तर एलआइसी नेपालमा धेरै समय खाली भयो नि किन ? भारतमा सरकारी सेवामा प्रवेशको सबै भन्दा माथिल्लो स्तर भनेको स्नातक उतीर्ण गरेर हो । तर एलआइसी नेपालमा सिइओ नियुक्तीको प्रक्रिया अघि बढिरहेका बेला सरकारले मापदण्ड परिवर्तन गर्यो । स्नातकोत्तर उतिर्ण गरेकाले मात्रै त्यस्तो नियुक्त लिन पाउने भन्ने व्यवस्था गर्यो । यसले सुरु गरिएको प्रक्रिया रोकियो र नयाँ प्रक्रिया अघि बढाउन धेरै निकायबाट अनुमति लिनुपर्ने व्यवस्था छ । एलआइसी इण्डियाले भारतीय अर्थमन्त्रालयबाट अनुमति लिएर मात्रै नियुक्ती प्रक्रिया अघि बढाउन पाउँछ । एलआइसी इण्डियाले उच्च प्राथमिकतामा राखेर नियुक्त प्रक्रिया अघि बढाएको थियो । तर अगष्टमा हाम्रो प्रक्रिया मध्य अवस्थामा पुगेको बेला नयाँ सर्कुलर आएकाले त्यो रोकियो । त्यसमा पनि गणित, अर्थशास्त्र लगायतका बिषय अध्ययन गरेको हुनुपर्ने व्यवस्था पनि थपियो । बीमा समितिले कम्पनीहरुलाई नगद वितरण नगरेर बोनस सेयर मात्रै दिन भनेको छ, एलआइसीको प्रतिक्रिया के हो ? हामीले सन २००१ मा स्थापना भएदेखि नै कर बाहेक एक रुपैंयाँ पनि भारत लगेका छैनौं । बीमा समितिले नगद लाभांश नदिएर बोनस बाढ्न दिएका निर्देशन एक दमै ठिक छ । एसेट र लायबिलिटिज एक सयभन्दा माथि हुनु पर्छ । लायबलिटि एक सय भयो भने एसेट १५० हुनुपर्छ भन्ने मान्यता छ । यसलाई पहेँलो जोन भनिन्छ । १५० भन्दा बढि भयो भने ग्रीन जोन मानिन्छ । गत बर्ष हाम्रो लायबलिटि एक सय रुपैंयाँ हुँदा एसेट २०८ रुपैंयाँ थियो । यो भनेको साह्रै राम्रो अवस्था हो । इन्स्योरेन्स कम्पनीको मापनको प्रमुख आधार पनि हो ।
लगानी उठाईसकेका र मूल्य बढ्ने आशमा बसेका लगानीकर्ताहरुको लागि सेयर बेच्ने समय हो-प्रविणरमण पराजुली
प्रविणरमण पराजुली पुँजी बजारमा एकदमै परिचित नाम हो । निरन्तर करिव दुई दशकसम्म पुँजी बजारमा काम गरेको अनुभव छ उहाँसँग । नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्ष समेत रहनु भएका पराजुली नविल इन्भेष्टमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत हुनुहुुुन्छ । पुँजी बजारको बारेमा अध्ययन सँगै लगानी सम्बन्धि निर्णय गर्ने जिम्मेवारीमा बस्नु भएका पराजुलीले सेयर बजारका बारेमा कस्तो विश्लेषण गर्नु भएको छ ? अब सेयर बजार निरन्तर ओरालो लाग्ने हो वा बढ्छ ? प्रस्तुत छ पराजुलीसँग गरिएको विकास वहस । दशैंअघि नेप्सेपरिसूचक १९००को नजिक थियो । विहीबार १६५८मा झर्यो । किन यसरी सेयर बजार घटेको हो ? मैले पहिलेदेखि नै केहि कुरा भन्दै आएको कि सेयर बजार तरलताको भूमिका निकै महत्वपूर्ण छ । मार्केट फ्याक्टर र तरलतालाई तुलनात्मक रुपमा हेरिनुपर्छ । तरलता खुकुलो हुँदा बजारलाई सर्पोट गर्छ, तरलता टाइट हुँदा बजारमा नेगेटिभ असर पर्छ । यतिबेला वित्तीय बजारमा तरलता अभाव हुँदा सेयर बजारमा अलि ठूलो असर गर्दै आएको हो । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाउन थालेपछि सेयर बजार घट्न थालेको हो । बाणिज्य बैंकले नै पनि ८ प्रतिशत ब्याज दिन थालेका छन् । छोटो अवधीको योजना मार्फत ब्याज दर अघि सारेको देखिन्छ । ३ महिना वा १२० दिनको निक्षेप योजना ल्याइएको छ । यसको अर्थ भनेको तरलता लामो समयसम्म चल्दैन भन्ने पूर्वानुमान नै हो । दोस्रो बजार केही तल जाने वित्तीकै बजार होल्ड गर्न नसक्नेहरुले धमाधम बेच्न थाल्छन् । बिक्री प्रसेर बढको छ । तेस्रो कारण भनेको बजारमा हकप्रद सेयरको बहार आएको छ । धेरै जसो बैंक तथा वित्तिय संस्थाले हकप्रद सेयर दिएका छन् । बोनस सेयर पनि आईरहेको छ । पुरानो लगानीको प्रतिफल पनि क्यास आएको छैन, बोनस सेयर नै आइरहेको छ । बैंक, विकास बैंक, फाइनान्स कम्पनी वा इन्स्योरेन्स कम्पनीकै सबैले नाफा सबै बोनस सेयरमार्फत पुँजीकरण गरिरहेका छ । यसले बजारमा सेयरको सप्लाई बढेको देखिन्छ । हकप्रद सेयरका लागि ठूलो रकम गैरहेको छ । पैसा हुनेले यतै लगानी गरिरहेका छन् । कतिले आफूसँग भएको केही सेयर बेचेर हकप्रद सेयर किनीरहेका छन् । क्यापिटल प्लान अनुसार बैक तथा वित्तीय संस्थाको हकप्रद सेयर ठूलै साइजमा आईरहेका छन् । निकट भविष्यमा सेयर बजार कस्तो रहला ? अबको एक डेढ बर्षसम्म सेलिङ प्रेसर बढ्छ नै भन्ने लाग्छ । पुँजी वृद्धिको योजनाले अझै एक ढेड बर्षसम्म हकप्रद र बोनस सेयर आइरहन्छ । यसले बजारमा सेलिङ प्रेसर बढाउँछ । बोनस पाउनु भनेको सप्लाई बढ्नु पनि हो । अर्काे भनेको तरलताको अवस्था कस्तो हुन्छ भन्ने हो । यति पुनर्निर्माणको कामले तिब्र गति लियो भने तरलताको अभाव पनि समाप्त हुन सक्छ । यस्तो अवस्थामा बजार उकालो चढ्न पनि सक्छ । तर पुनर्निर्माणले गति लिन सकेन, पुस मसान्त आउँदै छ, करको माध्यमबाट सरकारी खातामा पैसा थप पैसा जम्मा हुन गया भने बजारमा तरलताको समस्या झन बढ्न सक्छ । त्यो अवस्थामा बजार ओरालो लाग्न पनि समय लाग्दैन । बैंकहरुले हप्तैपिच्त व्याजदर बढाएर ऋणीलाई एसएमएस गर्न थाले, त्यसले पनि ऋण लिएर सेयरमा लगानी गर्नेहरु धमाधम बेच्न थाले भनिन्छ नि ? मलाई त त्यस्तो लाग्दैन् । पहिला ८ प्रतिशतमा कर्जा लिनेलाई अहिले ९ प्रतिशत त पक्क भयो होला । उनीहरुले निक्षेपमा व्याजदर निकै बढाईसके । तर हप्तैपिच्छे व्याजदर बढाउने काम भएको मेरो जानकारीमा छैन । तर बाणिज्य बैंकहरुले ८ प्रतिशत वा सोभन्दा बढी व्याज निक्षेपकर्तालाई दिन थालेपछि सेयर बजारका केही लगानीकर्ताले सेयर बेचेर बैंकमा जम्मा गर्न थाल्छन् । यो स्वाभाविक प्रक्रिया हो । बैंकको डिपोजिट रेट बढेसँगै सेयर बजारमा असर गर्छ नै । पहिलो त्रैमासिकको वित्तीय विवरणले बैंक तथा फाइनान्स, इन्स्योरेन्स कम्पनीहरुको प्रगति राम्रो छ तर यसको सकारात्मक असर बजारमा किन परेन ? आइसोलेसनमा हेरियो भने ४० देखि ५० प्रतिशतसम्म ग्रोथ देखिन्छ । पुँजी कति बढ्यो भनेर पनि हेर्नु पर्यो नि । छोटो समयमै ठूलो मात्रामा पुँजी बढेको छ । रिटर्न इन इक्विटीमा हेर्ने हो भने ग्रोथ साह्रै थोरै देखिन्छ । पुँजी वृद्धिको आधारमा ग्रोथ साह्रै कम हो । दुई बर्षमा जति पुँजी वृद्धि हुन्छ त्यति ग्रोथ प्राप्त गर्न सकिन्न भन्ने कुरा पक्का थियो र छ पनि । नेप्से परिसूचक कति विन्दुमा पुग्ला त ? ठ्याक्कै कतिमा पुग्छ भन्न सक्ने अवस्था छैन । अहिले नै पनि हामीले सोचे भन्दा केही तल बजार गैसकेको छ । सामान्यतय बोनस सेयर घोषणाले सेयरको मूल्य बढाउँथ्यो । तर एभरेष्ट बैंकले ७० प्रतिशत बोनस घोषणा गर्दा पनि मूल्य किन घट्यो ? यो सिद्धान्त र हाम्रो अभ्यास भन्दा फरक घट्ना हो । यसको कारण सेलिङ प्रेसर नै हो । कस्तो संस्थाले किन सेलिङ प्रेसर गरे भन्ने कुरा हो । वास्तवमा यतिबेला किन्ने अवस्थामा बजार हुनुपर्ने एभरेष्ट बैंकको सेयर । गत विहीबार नेप्से ४० अंकले घट्यो, त्यो दिने तपाईको कम्पनीले सेयर बेच्यो कि किन्यो ? हामी बिहीबार कुनै पनि सेयर बेचेनौं । बजारको सेन्टिमेन्टलाई ध्यान दिएर किनेकै थियौं । हामीले बेच्दा बजारमा नकारात्मक सन्देश जाने अवस्था थियोे । संस्थागत लगानी कर्ताको अहिलेको सेन्टिमेन्ट के हो ? हामी अहिले बेचिरहेका छैनौं । हाम्रो खुट्टा दुई वटा डुंगामा छ । मंसिर, पुसको समयसम्म बजारमा एक खाले स्थिरता हुनुपर्छ । सामान्य लगानीकर्ताका लागि के सुझाव दिनुहुन्छ ? कस्ता लगानी कर्ताले अहिले लगानी गर्ने हो ? केहि समय अघि नै बजारमा प्रवेश गरेका लगानी कर्ताले अहिले बेच्ने समय हो । आफ्नो लगानी उठाईसकेका र मूल्य बढ्ने आशमा बसेका लगानीकर्ताहरुले अहिले बेचे हुन्छ । नयाँ लगानी कर्ता आउने हो भने तरलता, ब्याजदर र बजारको राम्रो अध्ययन गरेर लगानी गर्नु ठिक हुन्छ । बजार अझै केहि ओरालो लाग्ने अवस्था छ भने भोली नयाँ लगानीकर्ता डुब्ने अवस्था नबनोस् । त्यसैले केहि समय पर्खेर किन्दा राम्रो होला । सामान्य लगानीकर्ताले कुन कम्पनीको सेयर किन्न सुझाव दिनुहुन्छ ? यस्तो कुरा मैले भन्न मिल्दैन् । तर सेयर किन्नु भन्दा पहिले केहि कुरा बुझ्नु आवश्यक हुन्छ । रेगुलर रिटर्न दिईरहेको, बजार तलमाथि हुँदा पनि मूल्य खासै घटबढ नहुने इतिहास भएको कम्पनीको सेयर किन्नुपर्छ । केहि टेक्निकल एनालाइसिस गरिनु आवश्यक पर्छ । कम्पनीको विगतको राम्रो अध्ययन गर्नुपर्छ । बैंक, इन्स्योरेन्स, होटल, उर्जा वा अन्य कुन क्षेत्रमा लगानी गर्दा ठिक होला ? इन्स्योरेन्सको मुल्य बढी छ । नन लाइफ इन्स्योरेन्सको मूल्य अलि ठिकै छ । बाणिज्य बैंकको सेयर मूल्य पनि राम्रै छ । नेप्से ७/८ सयमा झर्ला वा फेरी उकालो चढ्ला ? हामीलाई बजार त्यसरी घट्छ भन्ने लागेको छैन । बजार केही परिपक्क हुँदै गैरहेको छ । संस्थागत लगानीकर्ता पनि आईरहेका छन् । हामी पनि एक अर्ब २५ करोडको नयाँ स्किम ल्याउँदैछौं । अरु केही संस्था पनि तयारी अवस्थामा छन् । तीन अर्बको लगानी पाइपलाइनमा छ । यसले पनि बजारमा केहि सकारात्मक सन्देश दिन्छ । बजार त्यसरी घट्दैन् । बजार ओरालो लागि रह्यो भने संस्थागत लगानीकर्ताले कति दिन बजार थेग्लान ? संस्थागत लगानी कर्ताले ८ देखि १० अर्ब लगानी गरिहरेका छन् । दैनिक एक अर्बको कारोबार हुँदा एक हप्ताको बजार थेग्ने हो । फेरी एकै दिन सबै किन्ने वा बेच्ने भन्ने पनि हुन्न । संस्थागत लगानीकर्ताको रकम भनेको त्यति ठूलो आकारको कारोबार पनि होइन । यद्यपी संस्थागत लगानी कर्ताको होल्डिङ क्यापसिटी अलि बढि नै हुन्छ । र, हामीले केहि टेक्निकल एनालाइसिस गरेर मात्रै लगानी गर्छाै । हामीले बजारमा सेन्टिमेन्ट क्रियट गर्ने हो । हामीले बिना आधार र तर्क सेयर बेच्दैनौं । सबै संस्थागत लगानीकर्ताले एकै दिन सेयर किनेको र बेचेको अवस्था पनि छैन् । यतिबेला संस्थागत लगानी कर्ताले सेयर बेचिरहेका छन, किनेका छैनन भन्ने बजार हल्ला छ, वास्तविकता के हो ? त्यस्तो हुँदैन । निरन्तर किन्ने वा निरन्तर सबै बेच्ने भन्ने हुँदैन । किनबेच निरन्तर हुन्छ । बजार बजार भनेर मात्रै हुन्न हामीले । बजारलाई पनि स्थायी बनाउने र रिटर्न पनि दिने गरि कारोबार गर्नुपर्छ । संस्थागत लागनीकर्ता आएपछि नै बजार परिपक्क बन्दै गएको छ । हामीले आफ्नो जिम्मेवारी अनुसार काम गर्न अघि बढ्नुपर्छ ।
नेपालीसँग भएको २५ हजारसम्मको भारु राष्ट्रको सम्पत्ति हो, टेबुल ठोकेर साट्नुपर्छ
भिष्मराज ढुंगाना भारत सरकारले चलन चल्चीमा रहेको ५०० र १००० दरका नोट नचल्ने निर्णय गरेपछि त्यसको मार नेपालीलाई नराम्ररी परेको छ । भारतले स्रोत खुलेका रकम जति पनि र सर्व साधारणलाई ठूला दरका नोट प्रति व्यक्ति ४००० भारतीय रुपैयाँ साट्न सकिने जनाएको छ । तर, नेपाल राष्ट्र बैंकले नेपालीसँग भारतीय रुपैयाँ तत्कालका लागि साट्न रोक लगाएको छ । राष्ट्र बैंकको यो निर्णयले भारतीय रुपैयाँमा कारोबार गर्दै आएका नेपालीलाई धेरै निराश र चिन्तित बनाएको छ । यो अवस्था कहिलेसम्म रहन्छ, नेपालीसँग भएको भारु राष्ट्र बैंकले साट्ने कि नसाट्ने ? प्रस्तुत छ नेपाल राष्ट्र बैंक कार्यकारी निर्देशक तथा विदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुंगानासँग विकासन्युजले गरिएकाे कुराकानी ः नेपालीसँग रहेको भारतीय रुपैयाँ फिर्ता गराउन राष्ट्र बैंकले के के गरिरहेको छ ? हामीले नेपालमा भएको भारुको निगरानी गरिरहेका छौैं । भारत सरकारले भारु प्रतिबन्ध लगाएकै भोलिपल्ट विहानै आकस्मिक व्यवस्थापन समितिको बैठक बसेको थियो । भारतले प्रतिबन्ध गरेकोले नेपालमा पनि भारु चलाउन मिलेन । त्यही अनुसार निर्णय गरेर सम्बन्धित निकायलाई परिपत्र गरेका छौं । त्यस्तै, राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थासँग भएको भारतीय रुपैयाँको अबस्थाबारै जानकारी लिएको छ । त्यस्तै राष्ट्र बैंकले अर्थ मन्त्रालयमा र परराष्ट्र मन्त्रालयलाई पत्रचार गरेको छ । अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई र परराष्ट्र मन्त्रालयले तत्काल भारत सरकारलाई पत्र पठाईसकेको छ । दुई देशबीच गभर्नर टु गर्भनर लेवलमा पनि सम्पर्क भएको छ । भारतीय राजदूताबासलाई पनि ५०० र १०००का भारुको सटहीको पहल गर्न अनुरोध गरेका छौं । भारतीय पक्षबाट प्रतिक्रिया के आएको छ ? नेपालमा भएको भारु साट्नुपर्छ भन्ने विषयमा भारतीय राष्ट्र बैंक (आरबीआई) सकारात्मक छ । तर आरबीआई पनि भारत सरकारको निर्णय कुरेर बसेको छ । आरबीआईबाट इमेलमार्फत हामीसँग भएको भारुको अवस्थाबारे जानकारी मागेको छ । हामीले बैंक तथा वित्तीय संस्थामा भएको पैसाको मात्रै जानकारी दिने हो, सर्वसाधारणसँग भएको पैसा यति नै छ भनेर जानकारी त दिन सकिने विषय भएन । नेपालीसँग ५०० र १००० दरका भारु कति रहेको अनुमान छ ? भारतीय रुपैयाँ २५ हजार भन्दा बढी पैसा बोक्न र घरमा राख्नै पाइदैन । त्यस्तो पैसा जतिखेर पनि जफत हुन्छ । २५ हजारसम्मको भारु राष्ट्रकै सम्पत्ति हो, यसलाई सहटी गर्ने व्यवस्था राज्यले जसरी भएपनि मिलाउनुपर्छ । सर्वसाधारणसँग भएको पैसा अनुमान पनि गर्न सकिदैन । उक्त दरका नोट बैंक तथा वित्तीय संस्थामा करिब तीन करोड ६० लाख भारु रहेको देखिएको छ । नेपालीसँग रहेको भारु सटहीको गर्ने विषयमा नेपालस्थित भारतीय दूतावासको भनाई के छ ? दुतावासकाअधिकारीहरुले सकारत्मक कुरा गरेका छन् । भारतीय सरकारले सकारात्मक रूपमा नै हेर्छ भन्ने कुरा पाएका छौं । हामीले हाम्रो तर्फबाट कुरा राखेका छौं । भारतमा काम गरेर फर्केका धेरै नेपालीलाई ठूलो समस्या भएको छ । व्यक्तिसँग भएका २५ हजार रुपैयाँसम्मको भारु त साट्नुपर्छ भनेर हामीले लविङ गरिरहेका छौं । राष्ट बैंकले सर्वसाधारसँग भएको पैसा तत्काल साट्दैनौ भन्दा सर्वसाधारण आत्तिएका छन् । सर्वसाधारणसँग भएको ५०० र १००० दरका भारतीय रुपैयाँ अब के हुन्छ त ? नेपालीले दिनरात मेहनत गरेर कामएको पैसा उनीहरुको कमाई मात्रै नभएरै नेपालकै सम्पति हो । त्यो पैसा साट्न नपाए राष्ट्रकै सम्पत्ति गुम्ने हो । त्यसैले यो सम्पत्ति नगुमाउन राष्ट्रले नै यसलाई लिने व्यवस्था गर्नुपर्छ । हामीेले आफ्नो तर्फबाट मेहनत गरिरहेका छौं । गैरकानुनी रूपमा आर्जन गरेको होइन । नेपालमा भारुको प्रयोग भारत सरकारले दिएको सीमाभित्रै रहेको चलन चल्तीमा छ । त्यसैले त्यो रकम हामीले टेवल ठोकेर पनि लिनुपर्छ, सटही हुनुपर्छ । कसैले एक करोड छ, दुई लाख छ भन्ला तर त्यो पैसा भने गैरकानुनी हो । भारतीय रुपैयाँ २५ हजार भन्दा बढी पैसा बोक्न र घरमा राख्नै पाइदैन । त्यस्तो पैसा जतिखेर पनि जफत हुन्छ । २५ हजारसम्मको भारु राष्ट्रकै सम्पत्ति हो, यसलाई सहटी गर्ने व्यवस्था राज्यले जसरी भएपनि मिलाउनुपर्छ ।