सरकार र सञ्चय कोषले चलाएका बीमा कार्यक्रम बीमा समितिको नियमनमा आउनैपर्छ-चिरञ्जीवी चापागाई
बीमा समितिले नयाँ बीमा कम्पनीलाई सञ्चालन अनुमति (लाईसेन्स) दिने प्रक्रिया अगाडि बढाएको छ । समितिले १० वर्षपछि बीमा लाईसेन्स खुला गरेको हो । १० वर्षयता कम्पनी रजिष्ट्रारको कार्यालयमा २४ वटा नयाँ बीमा कम्पनी दर्ता भएका छन् । त्यसमध्ये १७ वटा कम्पनीले सञ्चालन अनुमति माग गर्दै बीमा समितिमा आवेदन गरेको छ । हाल २६ वटा बीमा कम्पनीहरु छन् । निकट भविष्यमा कम्तिमा ४० वटा बीमा कम्पनी सञ्चालनमा रहने देखिएको छ । एकै पटक धेरै कम्पनी आउँदा बजारमा अवस्थ्य प्रतिस्पर्धा हुने चिन्ता स्टेक होल्डरहरुमा देखिन्छ । बास्तवमा कति वटा नयाँ बीमा कम्पनी खुल्लान् ? बजार कसरी विकसित होला ? बीमा बजार विस्तारको लागि बीमा समितिले के गर्दैछ ? प्रस्तुत छः बीमा समितिका चिरञ्जीवी चापागाईसँग गरिएको विकास वहस । चिरञ्जीवी चापागाई, अध्यक्ष-बीमा समिति एकै पटक दर्जन भन्दा बढी बीमा कम्पनीहरुले लाईसेन्स पाउने समाचारहरु आएका छन् । वास्तवमा बीमा समितिले कति वटा कम्पनीलाई लाईसेन्स दिने तयारी गरिरहेको छ ? धेरैभन्दा धेरै बीमा कम्पनीलाई एक्कैपटक लाईसेन्स दिएर बीमा क्षेत्रमा समस्या सिर्जना गर्ने पक्षमा बीमा समिति छैन । साथै, बीमा क्षेत्रमा चासो राख्ने सबैलाई थाहा छ कि विगत १० वर्षदेखि बीमा बजारमा नयाँ कम्पनीले प्रवेश पाएका छैनन । नयाँ कम्पनीलाई लाईसेन्स दिइएको छैन । कम्पनी रजिष्ट्रार कार्यालयमा एकै वर्ष दर्ता भएका कम्पनी मध्ये कोहीले लाईसेन्स पाएर १० वर्ष व्यवसाय गरिसकेको, एउटा उचाईमा पुगिसकेको देखिन्छ भने कोहीले अहिलेसम्म लाईसेन्स नै नपाएको पनि देखियो । यो अवस्थामा बीमा समितिले दुईटा निर्णय गर्यो । एउटा अहिले भईरहेका कम्पनीको पुँजी वृद्धि गर्दै उनीहरुको क्षमता विकासमा सहयोगि भूमिका निर्वाह गर्ने । दोस्रो, सञ्चालनमा आउन चाहाने प्रक्रियामा रहेको बीमा कम्पनीहरुलाई तोकिएको मापदण्डभित्र रहेर लाईसेन्स दिने । हामीले नयाँ नीति लिएको मितिसम्म १७ वटा बीमा कम्पनीले लाईसेन्सको माग गर्दै बीमा समितिमा आवेदन गरेको पाईयो । त्यसमा १२ वटा जीवन बीमा कम्पनी र ५ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् । नयाँ बीमा कम्पनी खोल्नको लागि जति आवेदन आउँछन् सबैलाई लाईसेन्स दिने भन्ने कुरा हुँदैन । बीमा बजार र कम्पनीहरुले अवस्थाबारेमा अध्ययन गर्न अर्थमन्त्तालयका सहसचिव तथा बीमा समितिको सञ्चालक गणेशप्रसाद पाण्डेको संयोजकत्वमा तीन सदस्यीय एउटा अध्ययन कार्यदल गठन गरेका छौं । अध्ययन रिर्पोट पेश गर्न कार्यदललाई तीन महिना समय दिईएको छ । विदेशको अवस्था के छ ? नेपालको अवस्था के छ ? त्यो प्रतिवेदनका आधारमा हामीले निर्णय लिनेछौं । तीन महिनाको लागि नयाँ कम्पनीको लाईसेन्स माग गरिएका आवदेन दर्ता बन्द गर्ने निर्णय गरेको छौं । अध्ययन प्रतिवेदन आएपछि नयाँ कम्पनीहरुको लागि लाईसेनस खुला गर्ने वा केही समयका लागि रोक्ने भन्ने निर्णय लिनेछौं । प्रक्रियामा आईसकेका कम्पनीहरुले कहिलेसम्म लाईसेन्स पाउनेछन् ? २१ दिनभित्र सबै प्रक्रिया पुरा गरेर आउन भनेका छौं । बैंशाख २४ गते अन्तिम म्याद हो । त्यसपछि मात्र थाहा हुने छ कि कति कम्पनीले लाईसेन्स पाउनेछन् । काम फटाफट हुन्छ । प्रक्रिया पुरा गर्नेलाई हामी छिट्टै स्वीकृती दिन्छौं । प्रक्रिया पूरा गरे भने १७ वटै कम्पनीले लाईसेन्स पाउनेछन् ? प्रक्रिया पुरा गरेर आएपछि कसैलाई दिने, कसैलाई नदिन भन्ने हुँदैन । कानुन, नियम अनुसार सबैलाई समान व्यवहार हुन्छ । सबैले लाईसेन्स पाउँदा संख्यात्मक रुपमा बीमा कम्पनी बढी हुँदैनन् ? अनुमान कै कुरा गरौं, १७ वटै कम्पनीले प्रक्रिया पुरा गरे र हामीले लाईसेन्स दियौ भने पनि ४३ वटा कम्पनी हुनेछन् । २२ वटा निर्जीवन र २१ वटा जीवन बीमा कम्पनी हुनेछन् । १० वर्षअघि २६ वटा कम्पनी थिए, १० वर्षपछि १७ कम्पनी थपिए भने वातावरण बिग्रन्छ भन्ने मलाई लाग्दैन । यहि बजार हो, अहिले पनि डेढसय भन्दा बढी बैंक तथा वित्तीय संस्था छन् । यही बजारमा ४३ वटा बीमा कम्पनी हुँदैमा बजारले थेग्दै सक्दैन भन्नु यथार्थपरक हुँदैन । जीवन बीमामा जम्मा ८ प्रतिशत पेनिट्रेशन छ । १०० जनामा ९२ जनाको बीमा भएको छैन । बीमा बजार विस्तार पनि भईराखेको छ । यो अवस्थामा १२ वटा नयाँ कम्पनी आउँदा बजारलाई ठूलो असर पर्दैन । निर्जीवनतर्फ हेर्दा सबैको व्यवसाय विस्तार राम्रै छ, नाफा पनि राम्रै छ । अहिले १७ वटा कम्पनी छन्, अब ५ वटा थपिने हो । हामीले के सोचिरहेका छौ भने लघु बीमा, स्वास्थ्य बीमातर्फ हामीले नयाँ काम गर्दैछौं । त्यसले बजार विस्तारमा सहयोग नै गर्छ । बजारको कमी हुँदैन । स्वास्थ्य बीमा सरकार आफैले गरिरहेको छ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको स्वास्थ्य बीमा गर्ने तयारी गरिरहेको छ । स्वास्थ्य बीमाका सबै कार्यक्रम किन बीमा कम्पनीहरुलाई दिइन्न ? किन बीमा समितिको नियमनभित्र नआएका संस्थाहरुलाई बीमा कार्यक्रम चलाउने छुट दिइएको हो ? म बीमा समितिमा आएपछि हामीले अर्थमन्त्रालयमा यो विषय उठायौं । स्वस्थ्य मन्त्रालयले गरेको स्वास्थ्य बीमाको पुर्नबीमा भएको छैन । त्यसलाई बीमा समितिको दायराभित्र ल्याउनुपर्छ, त्यस कार्यको लागि बीमा समितिले सहयोग गर्छ भन्यौ । त्यसमा उहाँहरुको सहमति रहेको छ । क्रमशः हामी सरकारले चलाएको स्वास्थ बीमा कार्यक्रमलाई बीमाको सिद्धान्त, नीति र नियमभित्र ल्याउँछौं । कालन्तरमा सरकारले चलाएको स्वास्थ्य बीमा कार्यक्रम बीमा समितिको छातामुनि आउँनै पर्छ । अहिले मन्त्रालय स्वास्थ्य बीमा कार्यक्रम गरेर राम्रो भएको, प्रचार प्रसार भएको छ, बीमाको बारेमा चेतना बढेकोछ । यसले समग्र बीमा बजारलाई सहयोग नै गरेको छ । अरु देशमा पनि निम्न वर्गका जनताको स्वास्थ्य बीमा सरकारले गर्ने गरेको पाइन्छ । सरकारले गरेको कल्याणकारी कार्यक्रमको बारेमा हामीले प्रश्न गर्न पनि मिल्दैन । अहिले बीमाको दावी प्रक्रियामा धेरै फर्जी काम हुने गरेका छन् । सरकार आफैले स्वास्थ्य बीमा कार्यक्रम गर्दा बजारमा हुने गरेका फर्जी कार्य रोक्न सहयोग पुग्छ । बीमा कम्पनी र बीमितबीच काम गर्ने तेस्रो पक्ष सहजकर्ता आवश्यक छ । त्यस्तो सहजकर्तालाई बीमा समितिले लाईसेन्स दिन्छ । तेस्रो पक्ष सहजकर्ताको व्यवस्था नगरेसम्म स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा चलाउन कठिन छ । यद्यपी अहिले पनि बीमा कम्पनीहरुले स्वास्थ्य बीमा सेवा प्रधान गर्दै आएका छन् । नीतिगत रुपमा जे व्यवस्था भएपनि सञ्चय कोषले बीमा कार्यक्रम गर्न सक्दैन । बीमा समितिबाट बीमा सेवा सञ्चालन गर्ने अनुमति नपाएको कुनै पनि संस्थाले पुर्नबीमा गर्न सक्दैन । पुर्नबीमा नभएसम्म त्यसलाई बीमा भन्नै मिल्दैन । कोषले चलाउने कार्यक्रमलाई हेल्थ स्कीम भन्न सकिन्छ, तर बीमा भन्न मिल्दैन । बीमा समितिबाट स्वीकृत नलिई बीमा कार्यक्रम चलाउनेलाई कारवाही हुन सक्छ ? बीमा समितिबाट स्वीकृत नलिई बीमा नाम दिएर विभिन्न स्कीमहरु चलाएको देखिन्छ । खासगरी आईएनजीओ र सहकारीहरुले यस्तो काम गरेको पाइयो । जसरी राष्ट्र बैंकले ढुकुटी प्रथा बन्द गर्यो, त्यसरी नै बीमा समितिले एक दिन यस्ता स्कीमहरु सञ्चालन गर्न बन्द गर्नेछ । हो, बीमा समितिबाट स्वीकृत नलिई बीमा नाम दिएर विभिन्न स्कीमहरु चलाएको देखिन्छ । खासगरी आईएनजीओ र सहकारीहरुले यस्तो काम गरेको पाइयो । ती सबै बीमा होइनन्, हेल्थ स्कीम मात्र हुन् । जसरी राष्ट्र बैंकले ढुकुटी प्रथा बन्द गर्यो, त्यसरी नै बीमा समितिले एक दिन यस्ता स्कीमहरु सञ्चालन गर्न बन्द गर्नेछ । अहिले उनीहरुले आफ्ना कर्मचारी वा सहकारी सदस्यको हेल्थस्कीम चलाईरहदा अन्तिममा त्यसको लाभ बीमा कम्पनीहरुलाई नै हुनेछ । बीमा कम्पनी प्रभावकारी हुँदै जाँदा उनीहरुका कार्यक्रमहरु प्रभावहिन बन्दै जानेछ । आईएनजीओ र सहकारीले दिने बीमा सेवा भन्दा राम्रो स्कीम बीमा कम्पनीले दिने हो बीमा समितिले त्यस्ता कार्यक्रमलाई व्याण्ड गर्न पनि पर्दैन । जसरी बाली तथा पशुबीमा कार्यक्रममा सरकारले अनुदान दिएको छ, त्यसरी नै स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले अनुदान दिने र बीमा कम्पनीहरु मार्फत स्वास्थ्य बीमा कार्यक्रम चलाउन सकिदैन ? अहिले नै सरकारले चलाएको सबै स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्नुहोस् र बीमा कम्पनी मार्फत मात्र यो कार्मक्रम चलाउँ भन्न सकिदैन । किनकी फर्जी डकूमेन्ट रोक्ने नीति र संयन्त्र बनिसकेको छैन । पहिला हामी क्यासलेसमा जानुपर्छ । उपयुक्त सफ्टवेयर निर्माण गर्नुपर्छ । मध्यमार्गी बाटो भनेको अहिले सरकारले स्वस्थ्य चलाउने, त्यसको पुर्नबीमा गर्ने, बजारको विकास गर्दै जाने, बीमा कम्पनीहरुको क्षमता विकास गर्ने, उपयुक्त पूर्वाधार निर्माण गर्दै जाने हो । बजार परिपक्व भएपछि सरकारले नै यो कार्यक्रम बीमा कम्पनीलाई ‘ ल गर’ भनेर दिनेछ । निकट बीमा बजार विस्तार गर्न सहयोग गर्ने कार्यक्रम के के आउँदैछन् ? पहिला हामी स्वास्थ्य बीमालाई व्यापक रुपमा अगाडि बढाउँन चाहान्छौं । दोस्रो, लघुबीमालाई जोड दिन्छौं । लघुबीमाको लाईसेन्स पनि खुला गर्छाैं । कानुन बन्न ढिला भयो भने पनि नियमावली बनाएर पनि लघुबीमा लाईसेन्स खुला गछौं । तेस्रो, जनचेतना बढाउने कार्यक्रमहरु गछौं । काम गर्न संरचना चाहिन्छ । नयाँ कम्पनी आएपछि विजनेश खोज्न शुरु हुन्छ । प्रतिस्पर्धाले बजार विस्तारमा मद्दत गर्छ । साथै, बीमा कार्यक्रम चलाउने हामी बैंक तथा वित्तीय संस्थाहरुलाई पनि साझेदार बनाउने सोचमा छौ । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थासँग यस विषयमा छिट्टै छलफल गर्दैछौं । बैंकका ग्राहकलाई बीमामा ल्याउन बैंकसँग सहकार्य गर्नुपर्ने जरुरी छ । हामी स्थानीय निकायहरुसँग कसरी सहकार्य गर्ने भनेर छलफल गरिरहेका छौं । स्थानीत तहको सरकारबाट धेरै काम हुन्छ । नागरिकहरुले धेरै काम स्थानीय तहबाट नै गर्नु पर्ने व्यवस्था भएको छ । यो अवस्थामा स्थानीय निकायहरुका नीति निर्णयमा पनि बीमालाई समावेश गर्ने, टाईअप गर्नेतर्फ हाम्रो प्रयास हुनेछ । जीवन बीमा गर्नेलाई करमा केही छुट दिनुपर्ने आवश्यकता देखिएको छ । त्यसको लागि बीमा समितिले खेल्नुपर्ने भूमिका खेल्नेछौं ।
एकै पटक धेरै बीमा कम्पनी खुले भने कुनै मिसिन्छन्, कुनै मासिन्छन् -विजय बहादुर शाह
बीमा समितिले नयाँ बीमा कम्पनीलाई सञ्चालन अनुमति (लाईसेन्स) दिने प्रक्रिया अगाडि बढाएको छ । बीमा समितिले १० वर्षपछि बीमा लाईसेन्स खुला गरेको हो । १० वर्षयता कम्पनी रजिष्ट्रारको कार्यालयमा २४ वटा नयाँ बीमा कम्पनी दर्ता भएका छन् । त्यसमध्ये १७ वटा कम्पनीले सञ्चालन अनुमति माग गर्दै बीमा समितिमा आवेदन गरेको छ । हाल २६ वटा बीमा कम्पनीहरु छन् । निकट भविष्यमा कम्तिमा ४० वटा बीमा कम्पनी सञ्चालनमा रहने देखिएको छ । अबको बीमा बजार कसरी विकसित होला ? नयाँ बीमा कम्पनीहरु खुलेपछि बजारमा कस्तो प्रभाव पर्ला ? प्रस्तुत छः नेपाल बीमक संघका अध्यक्ष तथा एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहसँग गरिएको विकास वहस । विजय बहादुर शाह, अध्यक्ष, नेपाल बीमक संघ बीमा समितिले नयाँ बीमा कम्पनीलाई लाइसेन्स खुला गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा २४ वटा नयाँ बीमा कम्पनी दर्ता भएका छन् । एकै पटक दर्जन भन्दा बढी नयाँ कम्पनी थपिए भने बीमा बजारमा कस्तो प्रभाव पर्ला ? रजिष्ट्रारको कार्यालयमा दर्ता भएका सबै कम्पनीले लाइसेन्स पाए भने त्यो अध्ययन भन्दा पनि स्पेकुलेशन हुन्छ । अहिले नेपालमा ५० वटा बीमा कम्पनीको लागि बजार छ कि छैन भन्दा ९० प्रतिशत मानिसले ‘छैन’ भन्नेछन् । अध्ययन गरेर बजारको आवश्यकता अनुसार कम्पनी खुल्दा बजारमा त्यसको असर पनि राम्रो हुन्छ । हाम्रो जस्तो सानो बजारमा ५० वटा इन्स्योरेन्स कम्पनी हुने अवस्था आईसकेको छैन जस्तो लाग्छ मलाई । लाइसेन्स माग्ने जति सबै कम्पनीलाई बीमा समितिले लाइसेन्स दिन्छ कि दिँदैन भन्ने कुरा पनि महत्वपूर्ण पक्ष हुन आउँछ । बीमा समितिले केहि प्रक्रिया पुरा गर्न समय सीमा पनि तोकि दिएको छ । २४ वटैले प्रक्रिया पूरा गरे भने बीमा समितिले लाइसेन्स दिन्छ होला । त्यसपछि सर्भाइभल अफ फिटेस्टको मान्यता अनुसार अघि बढ्छ बजार । जो सबै भन्दा फिट हुन्छ, ऊ सर्भाइभ हुन्छ बाँकी मासिने वा मिसिने प्रक्रियामा जान्छन् । रजिष्ट्रारको कार्यालयमा दर्ता भएका सबै कम्पनीले लाइसेन्स पाए भने त्यो अध्ययन भन्दा पनि स्पेकुलेशन हुन्छ । अहिले नेपालमा ५० वटा बीमा कम्पनीको लागि बजार छ कि छैन भन्दा ९० प्रतिशत मानिसले ‘छैन’ भन्नेछन् । अध्ययन गरेर बजारको आवश्यकता अनुसार कम्पनी खुल्दा बजारमा त्यसको असर पनि राम्रो हुन्छ । अर्काे कुरा हामी के पनि बुझ्नु पर्नेछ भने बीमाको पहुँच धेरै नेपालीसम्म पुग्न सकेको छैन । हामी सबैले बीमाको पहुँच बढाउनु पर्यो । गाउँ गाउँसम्म पुग्नु पर्यो, नयाँ नयाँ प्रडक्टहरु ल्याउनु भन्दै आएका छौं । बीमाका नयाँ नयाँ क्षेत्रमा पुगेर अहिलेको सात आठ प्रतिशतको बजार हिस्सालाई बढाएर १५ वा २० प्रतिशतमा विस्तार गर्नुपर्छ भनेर मैले भन्दै आएको छु । बीमा समितिले नयाँ कम्पनीका लागि तोकेको मापदण्ड कस्तो देख्नु हुन्छ ? मापदण्ड भनेको नियामक निकायले बनाउने हो । त्यसमा हामीले बोल्न मिल्दैन् । नयाँ कम्पनीलाई लाइसेन्स दिनुको उदेश्य भनेको बीमा बजारलाई थप व्यवस्थित बनाउने, विस्तार गर्ने, नयाँ नयाँ प्रडक्ट ल्याउने र बीमाको जोखिम हस्तान्तरण हुन नसकेको क्षेत्रको व्यवस्थापन गर्ने हो । यसमा मापदण्डको खासै अर्थ हुन्न तर भोलि सबै कम्पनी शहरमा मात्रै केन्द्रित भए भने के गर्ने ? भोलि बजार छैन र खर्चिलो हुन्छ भन्दै बीमा कम्पनीहरु गाउँ जान मानेनन् भने के गर्ने ? त्यसकारण मेरो बुझाइमा केकको साइज ठूलो बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । सबै कम्पनी शहर केन्द्रित भए भने अस्वस्थ प्रतिष्पर्धा बढ्छ । बजारको अस्वस्थ प्रतिष्पर्धाले पुराना कम्पनी, नयाँ कम्पनी दुबैलाई असर गर्छ र उपभोक्तालाई पनि नकारात्मक असर गर्छ । आफ्नो मात्रै स्वार्थ हेर्ने हो भने नयाँ बीमा कम्पनी थपिँदा सबै भन्दा बढी खुशी भईरहेको बीमा कम्पनीका सिर्इओहरु हुनुपर्ने हो । त्यसपछि बीमा क्षेत्रका जनशक्ति खुशी हुनुपर्ने हो । किनकी नयाँ कम्पनी खुलेपछि अवसर बढ्छ, तलव सुविधा बढ्छ । तर तपाईहरुले बीमा कम्पनीका सिइओ र दक्ष जनशक्तिलाई सोध्नु भयो भने त्यति सकारात्मक संकेत देख्नु हुन्न । अहिलेका १७ वटा निर्जीवन र ९ वटा जीवन बीमा कम्पनी छन् । यी नै पर्याप्त हुनु कि होइनन् भन्ने प्रश्न छ । अहिले नै नयाँ कम्पनी थप्ने कुरा तर्कसंगत छ कि छैन ? लगानीकर्ताले प्रतिफल पाउँछ वा पाउँदैनन् ? उपभोक्ताले गुणस्तरीय सेवा पाउँछन कि पाउँदैनन् ? कम्पनीले बजार पाउँछ कि पाउँदैन भन्ने कुरा प्रमुख हुन आउँछ । बिना अध्ययन त्यत्तिकै नयाँ कम्पनी थप्ने कुरा पनि त्यति ठिक होइन ? तरपनि बीमा कम्पनीलाई लाइसेन्स दिने विषय बीमा समितिको क्षेत्राधिकारको कुरा हो । समितिले चाहँदा नयाँ कम्पनी थप्न सक्छ । बीमा कम्पनीमा भित्रिन लागेका नयाँ लगानीकर्ताले भविष्य राम्रो देखिरहेका छन तर पुराना लगानीकर्ता, उच्च व्यस्थापक त्यति सकारात्मक देखिन्नन्, किन ? आफ्नो मात्रै स्वार्थ हेर्ने हो भने नयाँ बीमा कम्पनी थपिँदा सबै भन्दा बढी खुशी भईरहेको बीमा कम्पनीका सिर्इओहरु हुनुपर्ने हो । त्यसपछि बीमा क्षेत्रका जनशक्ति खुशी हुनुपर्ने हो । किनकी नयाँ कम्पनी खुलेपछि अवसर बढ्छ, तलव सुविधा बढ्छ । तर तपाईहरुले बीमा कम्पनीका सिइओ र दक्ष जनशक्तिलाई सोध्नु भयो भने त्यति सकारात्मक संकेत देख्नु हुन्न । बीमा कम्पनीका प्रमोटरहरुले आफ्नो सेयर पब्लिकमा कन्भट गरेर सेकेन्डरी बजारमा बेच्ने र आफ्नो लगानीलाई स्वतन्त्र गराउने योजनासहित कम्पनी खोलेको हो भने मेरो भन्नु केही छैन । तर त्यो स्पेकुलेशन हुन जान्छ । आजभोलि लिगल स्पेकुलेशन (कानूनी रुपमा सट्टेवाज) गर्न पाइन्छ । तर साना लगानीकर्ता मारमा पर्छन् । आइपिओ जारी गरेपछि लगानीकर्ता ओइरिन्छन् । ५० गुणासम्म आइपिओमा लगानी भैरहेको छ । एक सय रुपैंयाँको सेयर किन्दा १५० रुपैंयाँसम्म लगानी पर्न सक्छ । बीमा कम्पनीको आफ्नै नियम छ । निश्चित समयसम्म लाभांश वितरण गर्न पाउँदैनन् । लगानीकर्ताले पाँच वर्षसम्म लाभांश पाउँदैनन् । बीमाको बजार वृद्धि गर्नु राष्ट्रिय आवश्यकता हो । यो काम बीमा समिति वा कम्पनीहरूले मात्रै गर्न सक्दैनन्, त्यसका लागि सिंगो देश नै लाग्नु पर्छ । बीमाको बजार वृद्धि गर्नु राष्ट्रिय आवश्यकता हो । यो काम बीमा समिति वा कम्पनीहरूले मात्रै गर्न सक्दैनन्, त्यसका लागि सिंगो देश नै लाग्नु पर्छ । त्यसका लागि नयाँ बीमा कम्पनी चाहिने हो भने थप्नु पर्यो तर शहरमा मात्रै बस्ने कुरा ठिक हुन्न । संख्या भनेको ठूलो कुरा होइन, मुल कुरा बजार र पहुँच विस्तार हो । सम्भवतः केहि अध्ययन गरेर नै बीमा कम्पनी थप्ने निष्कर्षमा बीमा समिति पुगेको होला भन्ने मलाई लाग्छ । कुल प्रिमियम र कुल जनसंख्या पनि हेरिनु पर्छ । हाम्रो जस्ता धेरै देशमा कम्पनीको पुँजी एक सय करोड वा डेढ सय करोड मात्रै छ । उनीहरुको प्रिमियम पनि सोही मुद्रामा हुन्छ । कति प्रिमिय छ, त्यसकै आधारमा पुँजी निर्धारण हुने हो । यति पुँजीमा राम्रो प्रतिफल दिन सकिएन भने लगानीकर्तामा बितृष्णा आउन सक्छ । चलिरहेको अधिकांश बीमा कम्पनीले नगद लाभांश दिन सकिरहेका छैनन्, बोनस सेयर दिईरहेका छन्, तैपनि लगानी र्तामा निरासा भन्दा पनि उत्साह नै देखिन्छ । सेयर बजारमा सबैभन्दा बढी मूल्य बीमा कम्पनीहरुकै छ, किन ? दोस्रो बजारमा सेयर किनबेच गर्ने लगानीकर्ता भनेको सर्वसाधारण लगानीकर्ता हुन् । उनीहरुले कम्पनीको कुल पुँजीको ३० प्रतिशत सेयर होल्ड गर्ने हो । उनीहरु तुरुन्तै सेयर किनबेच गर्न सक्छन् । तर संस्थापकहरुलाई त्यस्तो सुबिधा हुन्न । संस्थापकहरुले चाहेको बेलामा सेयर बेच्न पाउँदैनन् । संस्थापकहरुले सपना देखेर संस्था स्थापना गरेका हुन्छन् प्रमोटरको सेयर फ्रि हुने भयो भने बजारमा स्पेकुलेशन हुन्छ । कम्पनीलाई कसले नेतृत्व गरिरहेको छ ? कसको लगानी छ ? भन्ने कुरा एकिन नहुने वित्तिकै कम्पनीको गुडविल बिग्रन्छ । सबल नेतृत्व नपाउन सक्छ । त्यसले संस्थालाई धरासायी नै बनाउँछ । नेप्सेमा सूचिकृत कम्पनीका प्रमोटरहरु सेयर बेचेर बाहिरको वा कम्पनी नेतृत्व विहिन भएको अवस्था कति छन् ? आजको दिनमा बीमा भन्दा राम्रो नियमन भएको संस्था भनेको बैंक तथा वित्तीय संस्था नै हो । तपाईहरुले नै कतिवटा संस्थाका सिइओ र मेजर लगानी कर्ता भागेका समाचार लेखिरहनु भएको छ । किष्ट बैंक, भिवोर विकास बैंक, क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स, नेपाल सेयर मार्केन्ट एण्ड फाइनान्स, गोर्खा डेभलपमेनट बैंक, नेपाल विकास बैंक लगायत धेरै संस्थाले गएको एक दशकमा भोगेको समस्या हामीले विर्सनु हुन्न । नयाँ बीमा कम्पनीले बजारमा नयाँ के ल्याउँलान ? नयाँ प्रडक्ट र नयाँ मेनपावर आउलान् । यसका दुई वटा पक्षमा काम गर्छ । बजारमा राम्रोसँग चलिरहेका बेला नयाँ तरंग आयो भने नयाँ प्रवृत्ति देखा पर्छ । नयाँ कम्पनी आउँदैमा पुराना कम्पनी धारासायी हुन्छ भन्ने छैन । निजी क्षेत्रका कम्पनी थपिएपछि बीमा क्षेत्र थप समृद्ध हुँदै आएको इतिहासले देखाउँछ । अहिले पनि नयाँ कम्पनीले बिगार्छन भन्ने छैन । राम्रै हुन्छ भन्ने लाग्छ । तर त्यसको पूर्व तयारी आवश्यक छ । नयाँ प्रडक्ट ल्याउने, पहुँच बढाउने, टेक्नोलोजी भित्र्याउने, दक्ष जनशक्ति उत्पादन गर्ने लगायतका काम गर्नुपर्छ । त्यसो भयो भने ७० वटा कम्पनीले पनि बजार पाउन सक्छन् । तर हामीले बीमाको केकको आकार बढाउन छाडेर भएकै केक बाढेर खान खोज्यौं भने चाँही कसैलाई पनि फाइदा हुँदैन । त्यसकारण नियामक निकाय चनाखो हुनुपर्ने देख्छु । बीमाको पहुँच बढाउन के के गर्नु पर्ला ? बीमाको बजार विस्तार गर्ने, जनचेतना बढाउने, नयाँ टेक्नोलोजी भित्र्याउने, दक्ष जनशक्ति बढाउने, नयाँ प्रडक्ट अध्ययन गर्ने काम गर्नुपर्छ । आजसम्म बीमा क्षेत्रमा गतिलो टेक्नोलोजी नै छैन । कसैले आइटीको सहयोग बिनै बीमाको पहुँच बढाउँछु भन्यो भने त्यो सम्भव छैन । हामीसँग त गतिलो सफ्टवेयर नै छैन अहिलेसम्म । नेपालमा बीको पहुँच १० प्रतिशत भन्दा कम छ भनिन्छ, अन्तराष्ट्रिय बजारमा कति प्रतिशत जनसंख्याले बीमा सेवा प्रयोग गर्छन् ? विकसित देशमा मान्छे जन्मिनु भन्दा पहिले नै बीमा गरिएको हुन्छ बच्चा आमाको पेटमा हुँदा नै बीमा गर्छन् । मान्छेका नामपछि राखिन्छ तर बीमा चाँही गर्भाधारण गर्ने वित्तिकै गरिन्छ । बिहे गर्ने वित्तिकै २० वर्षपछि भुक्तानी हुने बीमालेख पनि सञ्चालन गर्न सकिन्छ । जीवन बीमालाई फाइनान्सियल पार्टका रुपमा हेरिन्छ । मृत्युपछि आफन्तले फाइदा लिन सक्छन र प्रडक्ट अवधि सकिएपछि आफैंले पनि लाभ लिन सकिन्छ । निर्जीबन बीमाका हकमा भवितब्य परेको अवस्थामा राहत नै मिल्छ । दुर्घटनाका बेला हुने आर्थिक क्षति न्युनिकरण हुन्छ । विकसित देशमा बीमा भनेको संस्कारकै रुपमा स्थापित भैसकेको छ । केहि समय अघि नेपालमै हेल्मेड अनिवार्य गर्दा मानिसहरुले पुलिसका लागि हेल्मेट लगाएको भन्थे । कार चढ्नेलाई सिटबेल्ट बाँध भन्दा पुलिसका लागि बेल्ट बाँध्थे । डिग्री पास गर्ने वित्तिकै मानिस शिक्षित हुन्न । त्यसका लागि चेतना आवश्यक छ । नेपालमा सवारी साधनको बीमा अनिवार्य छ । अझ तेश्रो पक्ष बीमा त नगरि हुन्न । त्यसले बीमा बजार बढाउन ठूलो योगदान पुगेको छ । यहि कारण मोटर बीमा सफल भएको छ । यसरी नै स्वास्थ्य वा अन्य क्षेत्रमा पनि यस्तै कार्यक्रम ल्याउनु पर्छ । १५, १६ वर्षपछि आफ्ना छोराछोरीका लागि एक मुष्ठ पैसा आउने गरि बीमा गराउनु पर्छ । मेडिसिन पढ्न ६० लाख चाहिन्छ । त्यसका लागि बीमा प्रडक्ट ल्याइयो भने ठूलो राहत हुन्छ । बीमा कम्पनीले यस्ता प्रडक्ट ल्याउनु पर्छ र नियामक निकायले सघाउनु पर्छ । त्यसकारण बीमा कम्पनीको संख्या भन्दा पनि पहुँचको कुरा चाँही प्रमुख हो । कुनै बेला बीमा कम्पनीको पुँजी चार पाँच सय करोडको कुरा बजारमा आएको थियो । आज एक सय र दुई सय पुगेको छ । भोलिका दिनमा फेरी चार पाँच सय करोड पुर्याउने दिन आउँछ । त्यसकारण मेरो भनाई के हो भने बीमाको केक बढाउनु पर्छ । संख्या र पुँजी ठूलो कुरा होइन ।
सिम टिभी हरेक बस्ती र घरमा पुर्याउँदैछौं–दक्ष पौडेल
रेमिट्यान्स सेवाबाट उदाएको प्रभु समूहले बैंक, बीमा, पुँजीबजार, जलविद्युत, हवाई सेवा लगायत धेरै क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ । यसअघि टेलिभिजन च्यानल सेवा प्रदायक कम्पनी डिस होममा २५ प्रतिशत सेयर लगानी गरेको प्रभु समूहले फरक प्रविधिबाट उस्तै सोवा दिने सिम टिभीमा पनि ठूलो लगानी गरेको छ । प्रभु समूहको विभिन्न कम्पनी समाल्दै हाल सिम्पल मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहनुभएको दक्ष पौडेलसँग हामीले सोधेका छौ–सिम टिभीमा लगानी गर्नेको कारण के हुन् ? सिम टिभीले बजार कसरी लिन्छ ? दक्ष पौडेल, प्रबन्ध निर्देशक – सिम्पल मिडिया नेटवर्क ग्राहकले सिम टिभी किन रोज्ने ? सिम टिभी एकदमै क्लियर आउँछ । हामीले दिने सेवा उच्च गुणस्तरको छ । सस्तो पनि छ । हामीले प्रयोग गर्ने प्रविधि आधुनिक छ । अप्टिकल फाइबरबाट घरमा केवल जोड्छौं । हाम्रो नेटवर्क राम्रो छ । काठमाडौं, पोखरा, चितवन, बुटवल, दाङ लगायत धेरै क्षेत्रमा हामीले लोकल केबुल अपरेटरसँग सहकार्य गरेका छौं । ग्राहकले जुनसुकै ठाउँबाट सेटअप बक्स लिन सक्ने, जुनसुकै ठाउँबाट रिचार्ज गर्न सक्ने व्यवस्था मिलाएका छौं । नयाँ प्रविधिको प्रयोगसँगै मूल्य पनि सस्तो हुनुपर्ने । तर टेलिभिजनको प्रयोगकर्ताहरुले प्रविधिसँगै मूल्यमा लाभ लिन सकेका छैनन् । टिभी च्यानल किन सस्तो भएनन् ? हामीले निकै सस्तो मूल्यको प्याकेजहरु दिएका छौं । सिम टिभीको सेटअप बक्स निःशुल्क छ । ५०० रुपैंयाँमा इन्स्टलेशन गर्दै आएका छौं । त्यसपछि तपाईँले विभिन्न किसिमको प्याकेजको लागि शुल्कहरु तिर्नुपर्दछ । हाई डेफिनिशन बक्सको लागि भने छुट्टै रकम तिर्नुपर्ने हुन्छ । हामीले दिएको जस्तो सेवा र मूल्य अन्य कम्पनीहरुले दिन सक्दैनन् । पहिला प्रयोग भएको एनालग सेवा कम गुणस्तरीय छन् । हामीले दिईरहेको सेवा भनेको डिजिटल केबल टेलिभिजन सेवा हो जसले ग्राहकहरुले सफा र प्रस्ट टेलिभिजन कन्टेन्ट हेर्न पाउँछन् । पहिला भन्दा धेरै गुणस्तरीय सेवा पहिलाको जस्तै मूल्यमा पाएका छन् । यसले उपभोक्तालाई लाभ नै भएको छ । इन्टरनेट सेवा सञ्चालनको तयारी कस्तो छ ? यस कम्पनीले २ वर्षअघि नै केबल टिभीका साथै इन्टरनेट सेवा प्रदायकको अनुमति पाएको छ । तर अहिले हामी डिजिटल केबल टिभी सेवामा मात्र ध्यान केन्द्रित गरिरहेका छौं । तर हामी इन्टरनेट सेवा छिटै संचालन गर्ने योजनामा छौं । सिम टिभीको मुख्य बजार कुन हो ? हाम्रो सबैभन्दा ठूलो बजार काठमाडौं नै हो । त्यसपछि पोखरा, चितवन, इटहरी, लुम्बिनी, दाङ र भैरहवा लगायतका मुख्य सहरहरुमा आफ्नो सेवा दिईरहेका छौं । अरु सहरहरुमा, बाक्लो बस्ती भएका गाउँहरुमा, हरेक नगरपालिका, गाउँ पालिकामा पुग्ने हाम्रो लक्ष्य छ । अहिले नै हामीसँग ३ लाख भन्दा बढी ग्राहकहरु छन् । एक वर्षभित्रै ४ लाख ग्राहक बनाउने योजनामा छौं । हामी ५ वर्षभित्र १० लाख ग्राहक बनाउने योजनामा छौं । नेपाल सरकारले डिजिटल प्रविधिमा जाने निर्णय गरेको छ, सरकारको नीति र कार्यक्रमलाई सहयोग गर्छौ । सस्तो, सुलभ र भरपर्दो तरिकाले हरेक बस्तीमा, हरेक घरमा डिजिटल प्रविधिबाट टिभी हेर्न सक्ने सुविधा हामी दिन्छौं । प्रभु समूहले सिम टिभीमा कति लगानी गरेको हो ? सिम्पल मिडिया नेटवर्कको पुँजी एक अर्ब हो । यसमा टिभी नेपालको २० प्रतिशत र इम्रेस इनभेष्टमेन्टको ८० प्रतिशत लगानी छ । यो विदेशी लगानी हो । हामीले किनेको सिम टिभी सबै सेयर किनेका हौ । डिस होममा पनि प्रभु समूह लगानी छ, प्रतिस्पर्धी कम्पनी सिम टिभीको पनि सेयर किन्नुको कारण के हो ? प्रभु समूहले समस्यामा परेका कम्पनी लिदै सुधार गर्दै आएको छ । समस्यामा परिको किष्ट बैंक लियौं, सुधार गर्यौ, समस्यामा परेको ग्राण्ड बैंक हामीले लियौं, सुधार गरेका छौं । सिम टिभी लियौं, यसको पनि सुधार गर्छौ । डिस होममा २५ प्रतिशत सेयर छ । सिम्पल मिडिया नेटवर्कको हामीले २० प्रतिशत सेयर हामीले किनेका छौं । डिस होम र सिम टिभीको ग्राहक फरक हुनसक्छ । डिसहोम एन्टिनाबाट चल्ने प्रविधि हो । त्यसको लागि छानामा वा कौसीमा छाता राख्नुपर्छ । सिम टिभी अप्टिकल फाइबारबाट चल्ने प्रविधि हो । यसको लागि केबुल जोड्नुपर्छ । च्यानल दुबैमा आउने उही नै हो । अर्कोकुरा, सिम टिभीले एलसीओ (लोकल केवल अपरेटर)सँग मिलेर काम गर्ने हो । हामी सोझै ग्राहकसँग डिल गर्दैनौ । डिसहोमले प्रत्यक्ष ग्राहकसँग डिल गर्छ । सिम टिभी र डिस होम मध्ये कुन सेवा बढी प्रभावकारी हुन्छ ? दुबैमा आउने च्यानलहरु उस्तै हुन् । जमाना वायर लेसको आएको छ, टिभी च्यालन पनि इन्टरनेटबाट तान्ने प्रविधि आएको छ । प्रविधिमा छिटो छिटो परिवर्तन भएको छ । अहिलेलाई सबैभन्दा राम्रो क्वालिटी अप्टिकल फाइबारमा नै छ । तर सिम टिभीको क्वालिटी प्रति ग्राहकहरुको धेरै गुनासो सुनिन्छ, किन ? प्रभु समूहले सिम टिभीको सेयर किनेपछि समस्या देखिएको छैन । अहिले प्राविधिक रुपमा क्वालिटी धेरै राम्रो छ । हामीले नयाँ कार्यलय सञ्चालनमा ल्याएका छौं । यहाँ मनिटरिंग सिस्टम स्थापना गरेका छौं । समस्या समाधान गर्न २४ घण्टे कल सेन्टर संचालन गरिरहेका छौं । त्यसैगरी समस्या आएमा टेक्निकल टिम पनि राखेका छौं । हामीले मोबाइलबाटै सिम टिभी चार्ज गर्ने सुविधा पनि दिएका छौं । कुनै स्थानमा फाइबर केबल गेटवेमा समस्या देखिएमा तत्काल हाम्रो स्थानीय केबल कम्पनीलाई भनेर मर्मत गर्ने गरेका छौं । हामीसँग अहिले १०० भन्दा बढी च्यानलहरु छन् । हामीसँग विभिन्न टिभी च्यानल डाउनलिंकको लागि विभिन्न स्थानमा हेडन पनि राखेका छौं । अहिले नै २१ भन्दा बढी एचडि च्यानल दिईरहेका छौं । सिम टिभीको क्वालिटी सबैभन्दा राम्रो छ अहिले । हामी बजार विस्तारसँगै ब्राण्ड इमेज पनि राम्रो बनाउँदै छौं । तपाईलाई थाहा नै छ प्रभु समूहले समस्यामा परेका कम्पनी लिदै सुधार गर्दै आएको छ । समस्यामा परिको किष्ट बैंक लियौं, सुधार गर्यौ, समस्यामा परेको ग्राण्ड बैंक हामीले लियौं, सुधार गरेका छौं । बिग्रेको सिम टिभी लियौं, यसको पनि सुधार गर्छौ ।