निष्क्रिय कर्जा घटाएर नाफा बढाउदै छौं -गोविन्द गुरुङ, सीईओ-सिभिल बैंक
सन् १९९६ मे महिनामा हिमालयन बैंकबाट बैंकिङ करियर सुरु गरेरका गोविन्द गुरुङ अहिले सिभिल बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । एघार वर्ष हिमालयन बैंकमा, तत्कालिन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकको पदमा साढे तीन वर्ष र मेगा बैंकमा नायब महाप्रबन्धकको पदमा साढे दुई वर्ष र सन् २०१२ अक्टोबरमा सिभिल बैंकमा वरिष्ठ कार्यकारी अधिकृतको रुपमा काम सुरु गरेका थिए । उनी गत जुलाईदेखि सिईओको रुपमा कार्यभार सम्हाल्दै आइरहेका छन् । दुई दशक बैंकिङ क्षेत्रमा बिताइसकेका गुरुङले सिभिल बैंकलाई सबल र सक्षम बनाउने अठोट कसेका छन् । बैंकको समग्र गतिविधिमा केन्द्रित रहेर सीईओ गुरुङसंग विकासन्युजले गरेका कुराकानीको अंशः गोविन्द गुरुङ, सीईओ-सिभिल बैंक लिमिटेड अन्य बैंकको तुलनामा आजका दिनसम्म सिभिल कुन पोजिसनमा छ ? निक्षेप, कर्जा लगानी र नाफाको हिसाबले बैैकको पोजिसन राम्रो छ । सिभिल नयाँ बैक भएकाले निक्षेप लागत (कस्ट अफ फण्ड), पूँजी परिचालन लगायत विभिन्न तवरले अरु पुराना बैंकसँग तुलना गर्दा चुनौती बढी नै छ । यद्यपी हामी योजनावद्ध ढंगले अगाडी बढेका छौं । हाम्रो पूँजीवृद्धि योजना सफल रुपमा अघि बढेको छ । अहिले हामीसँग ५ अर्ब १८ करोड रुपैयाँ चुक्तापूँजी छ । ४० प्रतिशत हकप्रद सेयर आइसकेको छ । आगामी पुस २७ गतेसम्मका लागि हकप्रद सेयर बिक्री खुला गरेका छौं । त्यसपछि हाम्रो पूँजी ७ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । त्यसबाहेक हामीले पूँजीवृद्धिलाई नै ध्यानमा राखेर पाँचवटा संस्थासंग मर्जर र प्राप्ति (एक्विजिसन) समेत गरेका छौं । ३ वर्षअघि एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट वित्तिय संस्थालाई मर्जर गरेका थियौं । राष्ट्र बैंकबाट पुँजी वृद्धिको सर्कुलर आएपछि हामीले इन्टरनेशनल लिजिङ एण्ड फाइनान्सियल कम्पनी लिमिटेड (आएलएफसीएल ) लाई मर्ज गर्यौं । युनिक फाइनान्स र हामा मर्चेन्ट फाइनान्सलाई एक्वायर गर्यौ । त्यसपछि पुँजी ५ अर्ब १८ करोड रुपैयाँ पुगेको हो । आईएलएफसीएललाई गाभेपछि हामीसंग ५६ करोड २८ लाख रुपैयाँ संचित कोषमा थप भएको छ । गत असार मसान्तमा नाफा ३३ करोड ८१ लाख रुपैयाँ पुगेको थियो । ४० प्रतिशत हकप्रद सेयर निष्कासन, संचित कोषको रकम र असार मसान्तको खुद नाफा समेत जोडेर यो वर्ष पुँजी ८ अर्ब रुपैयाँ पुग्दैछ । यसरी हामी पूँजीगत क्षेत्रमा योजनाबद्ध ढंगले अगाडी बढेका छौं । व्यवसायको आकारका हिसाबले पनि आज राम्रो स्थितिमा छौं । आजको दिनसम्म ३५ अर्ब रुपैयाँ हाराहारीमा निक्षेप परिचालन र करिब साढे ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छौ । अहिलेको अवस्थामा हाम्रा लागि यो आकारको कारोबार राम्रो हो । लाभदायिकताको हिसाबले हेर्दा यो वर्षको पहिलो त्रैमासिकमा ११ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएका छौं । उमेरमा हामी २८ औं कान्छो बैंक भए पनि नाफाको दृष्टिकोणबाट हेर्दा चार वटा बैंकभन्दा अगाडी अर्थात २४ औं स्थानमा पुगेका छौं । शाखा सञ्जालको कुरा गर्दा पूर्व मेचीदेखि महाकालीसम्म हामीसँग अहिले ५३ वटा शाखा, ९ वटा शाखारहित बैंकिङ सेवा तथा ३८ वटा एटिएम सेवा छ । यसपाली हामी २५ वटा थप शाखा विस्तार गर्दैछौं । बैंकिङ क्षेत्रमा सबैभन्दा महत्वपूर्ण पाटो नियन्त्रण र परिपालन नै हो । यसमा हाम्रो बैंक सहज ढंगले सञ्चालन भइरहेको छ । परिपालनमा हामी निकै जोड दिइरहेका छौं । संस्थागत सुशासनामा पनि हामीले सबै किसिमका जोखिमलाई कम गर्ने उद्येश्यका साथ कार्यक्रम अगाडी बढाइरहेका छौं । हाम्रा सम्बन्धित सञ्जाल पनि नेपालका ठुला पुराना बैंकहरु सरह छन् । अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा जनशक्ती पनि हो । अहिले हामीसँग ५३६ जना दक्ष जनशक्ती छन् । सबैको कार्य सम्पादन राम्रो छ । त्यसलाई अझ परिष्कृत गर्दै लैजानका लागि हामीले प्रशिक्षणमा बढी जोड दिएका छौं । यी सबै कारणले हाम्रो स्थिती राम्रो छ । भोलीका दिनमा अग्रणी बैंकका रुपमा अघि बढ्न यी आधारहरुले सहयोग गर्नेछ भन्ने विश्वास लिएका छौं । बैंकको निष्क्रिय कर्जा घट्नुको सट्टा बढेको देखिन्छ । यसको कारण के होला ? यसपछाडी दुईवटा कारण छन् । पहिलो कारण हामीले पाँच वटा कम्पनी मर्ज गर्र्यौं । तिनै संस्थामा भएको निष्क्रिय कर्जाले गर्दा बढ्नमा योगदान पुगेको छ । त्यसमा पनि मर्जरबाट एक थरी निष्क्रय कर्जाको रुपमा आएका थिए । विकास बैंक र वाणिज्य बैंकको काम गर्ने तरिकाबीचको अन्तर अर्को कारण हो । स्थापनाकालदेखि सिभिलले कारोबार बढाउन पुराना बैंक तथा वित्तिय संस्था मर्ज गरेर ल्याउँदा केही खराब कर्जाहरु आएका छन् । प्रमुख कारण चाँही कारोबार बढाउने चाप नै हो । निष्क्रिय कर्जा अनुपात बढ्दा हाम्रो लाभदायिता पनि प्रभावित भएको छ । हिजोको दिनमा हामी २८ औं पोजिसनमा थियौं भने अहिले २४ औंमा पुगेका छौं । निष्क्रिय कर्जाको मार खेप्नु नपर्ने हो भने हामी अझैं अगाडी हुन्थ्यौं । यही त्रैमासिकको मात्र हेर्ने हो भने हामीले थप ३१ करोड रुपैयाँ प्रोभिजनिङ गर्यौं । ३१ करोड रुपैयाँ निष्क्रिय कर्जा असुली गरेका थियौं । यद्यपी प्रोभिजनिङका कारण यसको सुविधा उपभोग गर्न पाएनौं । राइट ब्याकको उपभोग गर्न पाएको भए हामी निकै अगाडी बढ्थ्यौं । हामीले प्रोभिजनिङमा १ अर्ब ८६ करोड राख्या छौं । बैंकको रिजर्भमा मात्र पुरा रकम छ जसले एनपिएलाई पुर्णरुपमा थेग्न सक्छ । बैंकको समग्र वित्तिय पोजिसन अत्यन्तै राम्रो अवस्थामा छ । हामीले केन्द्रिय बैंकको मापदण्ड अनुसार हकप्रद सेयर पनि जारी गरेका छौं । आगामी असार मसान्तसम्ममा खराब कर्जा घटाएर कतिमा झार्दै हुनुहुन्छ ? गत असारसम्म यस्तो कर्जा ४ प्रतिशत मात्र थियो । यो त्रैमासिकमा बढेर ४.६५ प्रतिशत पुगेको छ । त्यसैले गर्दा पनि प्रोभिजनिङ बढेको हो । आगामी असार मसान्तसम्ममा यसलाई २ प्रतिशतमा झार्ने योजना छ । निष्क्रिय कर्जा असुली लिगल मिटिगेसन सिस्टमबाट जाने भएकाले समय लाग्छ । आगामी वर्षसम्म बैंकको नाफा कति पुर्याउने लक्ष्य छ ? यसरी आधिकारिक रुपमा रणनीतिक कुरा भन्न सकिदैन । आन्तरिक बोर्डमा छलफल गर्ने पाटो फरक हो । तर गत वर्षको तुलनामा राम्रो गर्ने लक्ष्य लिएका छौं । सिभिल सेयरको मूल्य अन्य बैंकको भन्दा निकै कम छ । यस्तो कसरी हुन गएको हो ? कान्छो बैंक भएपछि पाउने प्रतिफल पनि कम हुन्छ, त्यसैले पनि सेयरको मूल्य कम भएको होला । एकातर्फ सेयर बजार घट्दो क्रममा रहेको अवस्था छ । सेयरमा विश्वास कम भएर वा लगानी कम भएर सेयरको परिसुचक नै तल छ । भर्खरै मात्र हामीले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेका कारण सेयर मूल्य समायोजन (एडजस्टमेन्ट) हुँदा सेयरको मुल्य घटेको हो । हकप्रद निष्कासन गर्नुअघि सेयरको मूल्य २३० रुपैया थियो । अहिले धेरै बैंक तथा वित्तीय संस्थाको हकप्रद सेयर बिक्री नभएर लिलाममा गइरहेको छ । सिभिल बैंकको पनि लिलामी गर्नुपर्ने संभावना कतिको छ ? सबै बैंकको केही सेयर लिलाममा गइरहेकै छन् । यसमा दुईवटा कारण छन् । पहिलो रकम नपुगेर हकप्रद सेयर हाल्ने कमै छन् । हाम्रो ६० हजार भन्दा बढी सेयर सदस्य छन् । पैसा हाल्ने ईच्छा हुँदाहुँदै पनि थाहा नपाएर हकप्रद खरिद गर्न नपाउने धेरै छन् । हामीले पनि लिलाममा जानुपर्छ की भन्ने आँकलन चाँही गरेका छौं । हकप्रद किन्नेले बोनस सेयर पाउछन ? हकप्रद सेयर किन्नेले बोनस अवश्य नै पाउँछ । किनभने हामीले राष्ट्र बैंकमा वित्तीय विवरण पठाइसकेका छौं । अहिले त्यो विचाराधिन छ । हकप्रद सेयर बन्द गरेपछि बल्ल हाम्रो वार्षिक साधारणसभा आउँछ । यसको अर्थ जो जसले हकप्रद सेयर हालेका छन् उनीहरुले बोनस पाउने निश्चित नै छ । सेयर संख्या बढिरहे पनि बैंकले नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानी पनि घट्दै गएको छ । आगामी दिनेमा तपाईलाई चुनौती छैन र ? सिभिल बैंक इपिएस बढ्नेमा सबैभन्दा अगाडी रहेको छ । यो एउटा मोमेन्टम तयार भएको छ । यसलाई व्यवस्थापन गर्दै दिगो रुपमा अगाडी बढाउनुपर्ने चुनौती त छँदै छ । कारोबार यही हिसाबले बढ्दै गयो भने यसले इपिएसलाई पनि दिगोरुप बढाउँदै जानेछ । गत साल यही समयमा ‘तरलता अभाव’ सुरु भइसकेको थियो । यसपालीको अवस्था के छ ? आजका दिनसम्म त यस्तो समस्या छैन । चुनावसम्म त्यती समस्या नदेखिने हामीले अनुमान गरेका छौं । २र३ अर्ब पूँजी पनि बढेकै छ । मुद्रास्फिती कम हुनु, सरकारको खर्च तथा आय स्थिर भएको र घरायसी आम्दानी बढ्नु नै कारण हो । त्यस्तै चुनावमा अनौपचारिक माध्यमबाट आउने रकम पनि बैंकिङ च्यानलबाट आउने सम्भावना छ । स्थानीय तहका लागि २३८ अर्ब रूपैयाँ बजेट छुट्याए अनुसार खर्च हुन लागेको छ । यसले गर्दा वित्तिय प्रणालीमा त्यो पैसा पनि आउछ । यी सबै कारणले गर्दा तरलता माघसम्म सहज हुन्छ । त्यसपछि प्रादेशिक सरकार बन्ने क्रम सुरु हुन्छ, जुन हाम्रा लागि थप अवसर हो । किनभने चालु आर्थिक वर्षमा विकास निर्माण शिर्षकमा ३ खर्ब ३५ अर्ब रुपैयाँ विकास खर्चलाई विनियोजन गरिएको छ । अहिले जम्मा ६ प्रतिशत मात्र खर्च भएको छ । २४१ अर्ब चाँही सरकारकै ढुकुटीमा थन्किरहेको छ । यो रकम बढ्दै गएर समयमा नै सरकार नबन्ने र बनेपछि पनि प्रभावकारी ढंगले खर्च गर्न नसक्ने अवस्था रह्यो भने चाँही ितरलता अभाव जटिल नबन्ला भन्न सकिदैन । सिभिलको पूँजी पर्याप्तता १९ प्रतिशत हारहारीमा छ । परिचालनतर्फ बैंकले किन ध्यान दिदैन ? पूँजी ४०० प्रतिशतले बढ्ने र कारोबार नबढ्ने समस्या छ । हाम्रो ८ अर्ब रुपैयाँ पूँजीलाई हेरेर नाफा बढाउन ८० अर्ब रुपैयाँको कर्जा लगानी हुनुपर्छ । यसमा पनि कतै १५० प्रतिशत पूँजी आवश्यक होला भने कतै ६० प्रतिशत होला । तर सरदरमा ८० अर्ब रुपैयाँको कारोबार गर्नुपर्ने हुन्छ । अब ३२ अर्ब रुपैयाँ कारोबार गरिरहेको बैंकले तत्काल कारोबार बढाएर ८० अर्ब रुपैयाँको पुर्याउन सक्दैन् । यो क्रमिकरुपमा बढ्दै जान्छ । अन्य बैंक भन्दा सिभिलले आफना ग्राहकलाई दिने फरक सुविधा के हो ? सिभिलको मुख्य पहल सेवामा नै केन्द्रित छ । सिभिलले चुस्त र दूरुस्त रुपमा सेवा दिन्छ । अर्को कुरा हामी नयाँ बैंक भएकाले डिपोजिट बढाउनका लागि अधिकतम लाभ दिइरहेका छौं । आजको दिनमा तपाईले हेर्नुभयो सिभिलको सेभिङ रेट उच्च छ । हामीले कम मार्जिनमा काम गरेर डिपोजिटरलाई अधिकतम लाभ दिइरहेका छौं । हामीले क्रेडिटलाई पनि डिजिटल प्रविधि मार्फत सेवा प्रदान गरेका छौं । हामीले मास्टर कार्डमा क्रेडिटको सुविधालाई समेटेका छौं । हामी अन्य सेवालाई पनि प्रविधि मार्फत प्रदान गरिरहेका छौं । अरु बैंकमा जानुपर्यो भने छुट्टै क्रेडिट कार्ड लिनुपर्ने बाध्यता छ । तर सिभिल बैंकमा एउटै कार्डलाई डेबिट र क्रेडिट दुवै कार्डको रुपमा प्रयोग गर्न सकिन्छ । आधार ब्याजदर यहाँहरु ११.५५ प्रतिशतमा देखिएको छ । यहाँहरुले पाउने कर्जा धेरै महंगो छ । कहिलेदेखि घट्छ ? निक्षेमा उच्च ब्याजदर दिएको कारण आधार ब्याजदर बढी देखिएको हो । आजको दिनमा हाम्रो निक्षेप लागत भनेको सवा ८ प्रतिशतको हाराहारीमा छ । यसकारण आधार दर बढी भएको हो । कर्जा लिने ग्राहकलाई यसले मार पारेको छ । तर कर्जा पनि प्रतिस्पर्धी ढंगले गइरहेका छौं । महंगो भनेर धेरै महंगो पनि छैन । कहिलेदेखि सेवाग्राहीले सस्तोमा कर्जा पाउलान् त ? यसका लागि त हाम्रो निक्षेप लागत घट्नुपर्छ । जसका लागि हामीले बचतमा नै जोड दिइरहेका छौं । त्यो हुँदै गएपछि स्वचालित ढंगले कर्जाको दर चाँही घट्दै जान्छ । त्यसबाहेक हाम्रो सञ्चालन खर्च गर्नुपर्ने कुरा पनि छ । यसको एउटै उपाय भनेको कारोबार बढाउनुपर्ने हो । यसले सम्पूर्ण सञ्चालन खर्चलाई घटाउदै लैजान्छ । यद्यपी यो तुरुन्तै हुने कुरा होइन । आगामी वर्ष बैंकले सेयरधनीलाई दिने प्रतिफल कतिसम्म बढ्ला ? ठ्याक्कै यतिउती भन्न मिल्दैन । तर पुँजी बढेकाले गर्दा सबै बैंकको चाँही प्रतिफल विगतका तुलनामा कम नै हुने देखिन्छ । सेयर पनि घटिरहेको छ । ठुलो बैंकको कुरा गर्दा पनि २ अर्ब कमाउँदा २ अर्ब पुँजीलाई नै बाड्नुपर्ने देखिन्छ । त्यसकारण प्रतिशतका हिसाबले घट्छ नै । हामी जस्तो नयाँ बैंकको चाँही बढ्न पनि सक्छ । हाम्रो क्यापिटल बढेकाले त्यही अनुपातमा त नबढ्ला । सिईओ भएपछि कतिको तनाव बेहोर्नुपरेको छ ? सिईओ भएपछि स्वभाविकरुपमा तनाव त हुने नै भयो । त्यही तनाव लिएर सबै सेयरहोल्डरलाई राम्रो प्रतिफल दिनुपर्छ भनेर नै यो पोजिसनमा आएको छु । प्रोफेसनल तनाव भन्दा पनि बजारले पार्ने प्रभावका कारण बढी तनाव दिएको हुन्छ । जस्तो सरकारले समयमा बजेट खर्च गरेन भने अर्को समस्या देखिन्छ । जुन मेरो नियन्त्रणभन्दा बाहिरको कुरा भयो । मलाई व्यवस्थापन नै गर्न गाह्रो हुन्छ । त्यसपछि मैले कि त कारोबार वा कर्जा लगानी खुम्च्याउनुपर्ने हुन्छ । कर्जा खुम्च्याउदा लक्ष्य नपुग्ने हुन्छ । बाहिरी कारणले गर्दा आउने समस्याले बढी प्रभाव पर्छ । त्यो सबै सिईओमा लागू हुने कुरा हो । त्यस्तै अन्तराष्ट्रिय व्यापारमा अवरोध आयो भने पनि समस्या देखापर्छ । हाम्रो नियन्त्रण भन्दा बाहिरको कुरामा व्यवस्थापन मात्र गर्न सकिन्छ । त्यसलाई परिवर्तन गर्न भने सकिदैन । व्यवस्थापन गर्नका लागि नै हामी बसेका छौं ।
राजनीतिक नेतृत्वले श्रमिकको मात्र होइन, लगानीकर्ताको हित पनि हेर्नुपर्छ-सिर्जना राणा
पछिल्ला वर्षमा विदेशी पर्यटकलाई लक्षित गरि ठूलो लगानीमा धेरै होटलहरु खुल्दैछन् । ती होटलका पूर्वाधार निर्माणको काम भईराखेको छ । यसैबीच १२० कोठा भएको अन्नपूर्ण होटलले पनि क्षमता विस्तार गरी २०० कोठाको बनाउने तयारी गरिरहेको छ । पाँचतारे होटल अन्नपूर्ण नेपालको पर्यटन क्षेत्रको एक महत्वपूर्ण पूर्वाधार हो । ५० वर्ष पुरानो यो होटलले आफ्नो भौतिक पूर्वाधार पुनर्निर्माण गर्ने र सेवा स्तरोन्नतिको तयारी भईरहेको नजाएको छ । यसै सन्दर्भमा डेल अन्नपूर्ण होटलका कार्यकारी निर्देशक तथा होटल संघ नेपालको उपाध्यक्ष सिर्जना राणासँग विकासन्युजले समग्रमा होटलहरुबीचको प्रतिस्पर्धा, यो क्षेत्रमा गरिएको लगानीको प्रतिफल र अन्नपूर्ण होटलको भावी योजना गरेको कुराकानी गरेको छ । सिर्जना राणा – कार्यकारी निर्देशक,डेल अन्नपूर्ण होटल विदेशी पर्यटकलाई लक्षित होटल निर्माणमा पछिल्ला वर्षमा लगानी ह्वात्तै बढेको छ । यसको परिणाम कस्तो हुनेछ ? पछिल्लो समयमा होटलहरु धेरै खुलेका छन्, अझै पनि नयाँ होटलहरु खुल्ने क्रममा रहेको समाचारहरु आईरहेका छन् । बाहिरबाट हेर्दा होटल केही ग्ल्यामरस विजनेश जस्तो देखिन्छ । बाहिरबाट देख्दा होटल व्यवसाय जति आकर्षक छ, भित्र त्यत्तिकै चुनौतिहरु पनि छन् । नेपाल धेरै सुन्दर देश हो । नेपाल भ्रमण गर्दा पर्यटकहरु खुशी हुन्छन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण यो देशमा पर्यटन सेवाको भविष्य राम्रो छ भनेर सबैले भन्छन् । यो सबैलाई थाहा भएकै विषय हो कि पर्यटन क्षेत्रको, होटल क्षेत्रको सम्भावना राम्रो छ । तर यो क्षेत्रको विकासका लागि सरकार, राजनीतिक दलबाट सहयोग आएन । पर्यटन क्षेत्रको पूर्वाधार निर्माणमा राज्यको तर्फबाट लगानी भएन । हामीले चितवनमा लगानी विस्तार गर्दैछौं । तर मुग्लिन–नारायणगढको सडक देख्दा, त्यो बाटो विस्तारमा भएको ढिलासुस्ती र लापरवाही देख्दा मलाई निकै दुःख लाग्छ । खराव बाटोका कारण धेरै मान्छेले ज्यान गुमाएको छन् । मानिसलाई जनावरको जस्तो व्यवहार गरिएको छ । यो विषयमा मानवअधिकारबादी संस्थाहरु किन बोल्दैन् ? एयरपोर्टको हालत सबैलाई थाहा छ । भएको एउटा मात्र अन्तराष्ट्रिय विमानस्थलको स्तरउन्नति हुन सकेको छैन । निजगढका अन्तराष्ट्रिय विमानस्थतल बनाउने भनेको वर्षौ भयो । तर काम कत्ति पनि भएको छैन । पोखारामा विमानस्थल बनाउने, लुब्बिनीमा विमानस्थल बनाउने दिशामा आशा लाग्दोरुपमा काम भएको छैन । सबैलाई थाहा छ कि नेपालमा पर्यटन उद्योगको भविष्य राम्रो छ । नेपालमा ठूलो संख्यामा पर्यटक भित्र्याउने सकिन्छ । यो पनि सबैलाई थाहा छ कि नेपालमा कम्तिमा तीन वटा अन्तराष्ट्रिय विमानस्थल जरुरी छ । आन्तरिक विमानस्थलको पनि क्षमता वृद्धि गर्नुपर्छ । सडक राम्रो हुनुपर्यो । पानी, विजुलीको आपूर्ति राम्रो हुनुपर्यो । तर खोई त काम भएको ? योजना बनाएर मात्र भएन, कार्यान्वयन गर्नुपर्यो । ठूलो लगानीमा खुल्ने नयाँ होटलले पुराना होटललाई कस्तो असर पर्ला ? व्यवसायिक प्रतिस्पर्धाबाट आउने जोखिम भन्दा राजनीतिक कारणले उत्पन्न हुने जोखिम बढी छ । हामीसँग धेरै तितो अनुभव छ । कुनै समय श्रमिकलाई उचालेर ठूलो समस्या सिर्जना गराईयो । होटलका लगानीकर्ता धुरुधुरु रुनु पर्यो । लगानीकर्तालाई धम्क्याउने, थर्काउने, अत्याउने र होटल नै हत्याउने खालको गतिविधि भए । यस्तो अवस्था सिर्जना गरिदा कुनै पनि लगानी सुरक्षित हुँदैन । होटल मात्र थपिए, पूर्वाधार बन्न सकेन भने ठूलो संकट आउँने छ । सबै होटलहरुले सानो केक बाँडेर खानुपर्छ । सबैले भएका पर्यटकलाई तानातान गर्ने हो । त्यहि भएर नेपालमा होटलहरुको रुम रेट बढेको छैन । होटलहरु थपिदै जाँदा पूर्वाधार निर्माण पनि भए, पर्यटकको खर्च पनि बढ्यो भने सबैलाई राम्रो हुन्छ । आम्दानी राम्रो भयो भने मैले चिया पिउने कप नयाँ किनेर प्रयोग गर्ने हो, आम्दानी बढेन भने पुरानै कम प्रयोग गर्ने हो । वास्तवमा नेपालका सबै होटल कसरी सर्भाइभ गर्ने भनेर सोचिरहेका छन् । पुरानो कपमा नै काम चलाईरहेका छन् । पुराना होटलहरुसँग धेरै उतारचढावको अनुभव छ । मुलुक द्वन्द्वमा पर्दा हामीले कस्तो समस्या भोग्नु पर्यो, आर्थिक वृद्धि उच्च रहेको समयमा कस्ता पर्यटक आए, हाम्रो आम्दानीको कस्तो असर पर्यो, त्यो अनुभव भइसक्यो । अर्थतन्त्र संकटमा पर्दा कसरी चल्नुपर्छ भन्ने अनुभव पनि हामीलाई छ । होटलमा गरिएको लगानी कति सुरक्षित हुनेछ ? व्यवसायिक प्रतिस्पर्धाबाट आउने जोखिम भन्दा राजनीतिक कारणले उत्पन्न हुने जोखिम बढी छ । हामीसँग धेरै तितो अनुभव छ । कुनै समय श्रमिकलाई उचालेर ठूलो समस्या सिर्जना गराईयो । होटलका लगानीकर्ता धुरुधुरु रुनु पर्यो । लगानीकर्तालाई धम्क्याउने, थर्काउने, अत्याउने र होटल नै हत्याउने खालको गतिविधि भए । यस्तो अवस्था सिर्जना गरिदा कुनै पनि लगानी सुरक्षित हुँदैन । कोही ८ घण्टा काम गर्छन्, कोही १२ घण्टा काम गर्छन्, कोही १६ घण्टा काम गर्छन् । कोही ८ घण्टा काम गर्ने समयमा पनि कसरी काम चोर्ने, ठग्ने भनेर सोच्छन् । सबैले मिहेनत अनुसारको प्रतिफल खोज्ने हो । तर राजनीति गर्नेहरु सबैको आम्दानी समान हुनुपर्छ भन्छन् । काम र राजनीतिलाई मिसाइन्छ । मेरो भनाई के हो भने काम गर्ने थलोमा राजनीति मिसाउनु भएन । काम गर्ने बेलामा काम गर्ने, राजनीति गर्ने समयमा राजनीति गर्ने । यूनियन भनेको कर्मचारीको हितमा काम गर्ने हो, कर्मचारीको सेवा सुविधाको पक्षमा बोल्ने संगठन हो । यूनियन भएको कम्पनीको विरुद्ध काम गर्ने, कम्पनी विरुद्ध गतिविधि सञ्चालन गर्ने समानान्तर संस्था होइन । राजनीति गर्नेले श्रमिक र लगानीकर्तालाई उत्तिकै संरक्षण गर्नुपर्छ । राजनीति गर्नेले श्रमिकको हितमा मात्र काम गर्ने, लगानीकर्ताको हितबारे सोच्दै नसोच्ने हो भने होटलको मात्र होइन, कुनै पनि क्षेत्रको लगानी सुरक्षित हुँदैन । होटलहरुबीच सेवा, गुणस्तर र मूल्यमा हने प्रतिस्पर्धाले ल्याउने जोखिमलाई लगानीकर्ताले वहन गर्न सक्छ । तर राजनीतिक जोखिमलाई लगानीकर्ताले वहन गर्न सक्दैन । विश्व बजारसँग नेपाललाई तुलाना गरेर पनि हेरिनुपर्छ । विकसित देशमा होटलको कुल आम्दानीको १३ देखि १४ प्रतिशत कर्मचारीमा खर्च हुन्छ । तर हाम्रो होटलमा आम्दानीको ३२ प्रतिशत खर्च कर्मचारीमा हुन्छ । तैपनि नेपालमा किन ट्रेडयूनियनहरु आन्दोलन गर्छन ? होटल क्षेत्रमा जनशक्ति आपूर्ति र व्यवस्थापन कस्तो छ ? आगामी दिनमा कसरी अगाडि बढ्ला ? ब्रेनड्रेन भई रहेको छ । सक्षम र मिहेनती मान्छे विदेश गईरहेका छन् । नेपालमा पनि जनशक्तिको विकासमा जोड दिनुपर्छ । तालिम दिने संस्थाहरुलाई प्रोत्साहित गर्नुपर्छ । होटलका लगानीकर्ताले कस्तो प्रतिफल पाईरहेका छन् ? विदेशमा पाँच तारे होटलको रेट प्रतिकोठा प्रतिदिन २०० डलरभन्दा माथि छ । तर नेपालमा १०० डलर भन्दा कम छ । खर्च बढिरहेको छ तर आम्दानी बढ्न सकिरहेको छैन । अरब देशहरुमा सानो कोठाको २०० डलर तिर्नुपर्छ । मेरो देशमा ढोकादेखि बेडसम्म सबै किसिमको सेवा दिँदा पनि १०० डलर लिन पाएका छैनौं । नेपालमा होटलका लगानीकर्ता र व्यवस्थापनबीच पनि केही तालमेल मिलेको छैन । मेरो बुझाईमा होटलका लगानीकर्ताले राम्रो प्रतिफल पाउन पनि सकेका छैनन् । अन्नपूर्ण होटलको पूर्वाधार र क्षमता विस्तारको योजना के के छन् ? अन्नपूर्ण होटल ५० वर्ष पुरानो भयो । अब समय अनुसार पूर्वाधार निर्माण गर्नुपर्छ । नयाँ डिजाईन बनेको छ । हाल १२० कोठाको होटल हो । अब यसलाई २०० कोठा बनाउँदै छौं । क्यासिनो सञ्चालनमा भएको विवाद र अवरोधले अन्नपूर्ण होटललाई कस्तो असर परेको छ ? क्यासिनो विजनेश धेरै राम्रो थियो । तर क्यासिनोले सरकारप्रतिको जिम्मेवारी निर्वाह नगरेको, कर नतिरेको, नविकरण नगरेको जस्ता विवाद देखिएपछि हामीले क्यासिनो हटाएका हौ । कमजोरी क्यासिनोको पनि थियो, कमजोरी सरकारको पनि थियो । अहिले सरकारले नयाँ नीति लिएको छ । क्यासिनो हुँदा गेष्ट पनि बढ्छ, फुड्सको डिमाण्ड पनि बढ्छ, होटललाई फाइदा नै हुन्छ । त्यसैले नयाँ क्यासिनो भित्र्याउने विषयमा सोचिरहेको छ । करिब ५ वटा प्रस्ताव आएका छन् । हामी ती प्रस्तावहरु अध्ययन गरिरहेको छौं ।
एनआईसी एशिया बैंकमा झै स्वीफ्ट सर्भर ह्याक जुनसुकै बैंकमा हुनसक्छ-लक्ष्मण रिसाल
लक्ष्मण रिसाल-प्रमुख कार्यकारी अधिकृत, एनआईसी एशिया बैंक लिमिटेड एनआईसी एशियाको स्वीफ्ट सर्भर ह्याक र पैसा चोरी भएको विषयले सञ्चार माध्यममा महत्वपूर्ण स्थान पायो । तर बैंकले औपचारिक रुपमा यो विषयमा कुनै प्रतिक्रिया जनाएन नि, किन ? यो विषयमा हाल अनुसन्धान भईरहेको छ । विज्ञहरुले अनुसन्धान गरिरहनु भएको छ । अझै एक÷दुई हप्तापछि मात्र वास्तविक रिपोर्ट आउने विज्ञहरुले बताउनु भएको छ । कसरी र कहाँबाट भयो ? भन्ने विषय बस्तुपरक तथ्य विज्ञहरुको अनुसन्धान रिपोर्टमा आएपछि मात्र बैंकले बोल्न उपयुक्त हुन्छ । अनुसन्धान भईरहेको विषयमा बैंकले अहिले नै बोल्न उपयक्त हुन्न भन्ने हाम्रो धारणा हो । तर समयमा नै थाहा पाएर तत्काल एक्सन लियौं । त्यसैले भुक्तानीका अर्डरहरु मध्ये अधिकांशलाई रोक्न वा पैसा फिर्ता गराउन हामी सफल भएका छौं । ह्याकरले कति रकम निकाल्ने प्रयास गरेको रहेछ ? कति रकम चोरी भयो ? त्यसमा ३१ वटा एटेम्ट (प्रयास) भएको देखिन्छ । ९ वटा प्रयासलाई हाम्रो आफ्नै सफ्टवेयरले रोकेको छ । २२ वटा भुक्तानी अर्डर नै भएको देखिन्छ । २२ वटामध्ये १२ वटा अर्डर रोक्न हामी सफल भएका छौं । दुई वटाको भुक्तानी भईसकेको पनि फिर्ता भयो । बाँकी अर्डरबाट भुक्तानी भएको करिव ६ करोड रुपैयाँ छ त्यो रकम पनि फिर्ता गराउने प्रयास जारी छ । ह्याकरले गरेको ३१ वटा प्रयास कहाँबाट भएको देखिन्छ ? बैंकभन्दा बाहिरबाट भएको छ । कुन ठाउँबाट भयो भन्ने विषयमा विज्ञहरुले सुक्ष्म अध्ययन गरिरहनु भएको छ । ३१ वटा भुक्तानी अर्डरबाट कति रकम भुक्तानी चोरी गर्ने खोजिएको रहेछ ? करिव ४६ करोड रुपैयाँको अर्डर भएको रहेछ । यो फिगर हामीले राष्ट्र बैंकलाई दिएका थियौं, राष्ट्र बैंक मार्फत पत्रपत्रिकामा प्रकाशित नै भएको छ । हाम्रो सफटवेयरले ९ वटा अर्डर रोक्दा १२ करोड रुपैयाँ रोकियो । ३४ करोड रुपैयाँ भुक्तानी अर्डर बाहिर गएकोमा करिव २८ करोड रुपैयाँ भुक्तानी रोक्न हामी सफल भयौं । मोटामोटी ६ करोड जति बाँकी छ । केही फिर्ता प्रक्रियामा छ । कति रकम गुम्ने नै भयो ? यति नै भन्न सकिने अवस्था छैन । ६ करोड भुक्तानी भईसकेको देखिएको छ । त्यो रकम पनि फिर्ता गराउने प्रयास हुनेछ । ह्याकरले स्वीफ्ट सर्भर अक्रमण गरेको र पैसा चोरी भईरहेको जानकारी बैंकले कसरी जानकारी पायो ? लक्ष्मी पूजाको दिनको कुरा हो । सार्वजनिक विदा भए पनि बैंकको केही अर्जेन्ट (जरुरी) भुक्तानी गर्नु पर्ने भएकोले साथीहरु बैंकमा आउनु भएको थियो । त्यतिबेला स्वीफ्ट सर्भर चलेन । हेर्दै गर्दा सर्भर क्र्यास गराइएको भेटियो । त्यसपछि स्वीफ्ट सर्भरको सर्पोट लियौं र अर्को सर्भरमा रिस्टोर गर्यौं । रिस्टोर भएपछि हेर्दा शंकास्पद कारोबार देखियो । हामीलाई नै शंकास्पद लागेपछि अनुसन्धान शुरु भएको हो । स्वीफ्ट सर्भर कसरी ह्याक गरियो ? प्रारम्भिक जानकारीहरु के छन् ? यूजर नेम र पासपोर्ट चोरी भएको देखिएको छ । त्यो पनि मालवेयरबाट चोरी भएको देखिन्छ । त्यो भनेको ह्याकरले कुनै इमेल पठाउँछ, त्यो इमेल खोल्ने बित्तिकै यताको सूचनाहरु अटोमेटिक उता जाने हुँदो रहेछ । त्यसमा शंका छ । बास्तविक कुरा त अनुसन्धान रिर्पोटमा आउला । पासपोर्ट चारी हुनुमा बैंकका कर्मचारीको संलग्नता देखिन्छ कि देखिन्न ? यो विषयमा अहिलेसम्म कुनै रिपोर्ट आएको छैन । यो घट्नाबाट बैंकले के सिक्यो ? सिक्ने कुरा धेरै छन् । एनआईसी एशियामा जुन घट्ना भयो त्यो नेपालका र संसारका कुनै पनि बैंकमा हुन सक्ने घट्ना हो । एनआईसी एशियामा भएको एक हप्तापछि ताईवानमा पनि यस्तै घट्ना भयो । सूचना प्रविधि अर्थात आईटीको प्रयोग हामी सबै गर्छौ तर यसको जोखिमबारे, डिजिटल डाटाको सुरक्षाको बारेमा हामी जति होसियार, चनाखो हुनु पर्नेमा त्यति भएका छैनौं । जस्तै हामी अपरिचित इमेल नखोल्न, डिलेट गर्न, बारम्बार यस्ता इमेल आएमा आइटी शाखालाई जानकारी गराउन भनेका थियौं । तै पनि अपरिचित इमेल खोलिने, हेरिने हुँदो रहेछ । इमेल पनि एक दमै जेन्युअन खालका देखिन्छ तर त्यो मालवेयर हुनसक्छ । यसमा हामी थप चनालो हुनुपर्ने देखियो । आईटी सेक्यूरिटीलाई अपग्रेड गर्दै जानु पर्ने देखिन्छ । सिस्टमलाई बलियो बनाउँदै जाने हो । फूल प्रुफ सिस्टम त कही पनि हुँदैन । यस्तो जोखिमकाे बीमा भएको हुन्छ ? नेपालमा यस्तो जोखिमको बीमा उपलब्ध छैन । स्वीफ्ट सर्भर ह्याकपछि बैकिङ क्षेत्र त्रसित र चिन्तित पनि देखियो । यो घट्नापछि सरोकार निकायबाट कस्तो सहयोग तथा प्रतिकिया पाउनु भयो ? खासगरी नेपाल राष्ट्र बैंकबाट ठूलो सहयोग पायौं । विदाको दिन, राती पनि राष्ट्र बैंकको टिमबाट अत्यन्तै राम्रो सहयोग पायौं । भईसकेका अडरहरुको भुक्तानी रोक्न पनि राष्ट्र बैंकको महत्वपूर्ण सहयोग रह्यो । अहिले बैंकका सबै सेवा नियमित भएका छन् वा गडबढी बाँकी नै छ ? सबै सेवा नियमित भएको छ । शुरुमा हामीलाई पनि ठूलो डर थियो । जोखिम पनि ठूलो देखियो । जब जोखिम एउटा साईजमा आयो तब हामी सहज रुपमा बैंक चलाउने अवस्थामा फर्कियौं । बैंकको असोज मसान्तमा रिपोर्ट कस्तो आयो ? गएको त्रैमासमा बैंकको निक्षेप र कर्जाको वृद्धिदर राम्रो छ । निक्षेप १ खर्ब ४ अर्ब र कर्जा लगानी साढे ८८ अर्ब रुपैयाँ भएको छ । पछिल्लो तीन महिनामा निक्षेप १६ अर्ब रुपैयाँ वृद्धि भएको छ । कर्जा करिव १५ अर्ब रुपैयाँ बढेको छ । खुद नाफा पौनै २८ करोड रुपैयाँ भएको छ । नाफा गत आर्थिक वर्षको प्रथम तीन महिनाको तुलनामा करिव १ करोड मात्र बढी देखिन्छ । यसका कारण के हो भने गत आर्थिक वर्षको अन्तिम तीन महिनामा र चालु आर्थिक वर्षमा हामीले धेरै स्थानमा नयाँ शाखाहरु विस्तार गर्यौ । त्यसमा खर्च धेरै भएको छ । नयाँ शाखाहरुले नाफा दिन करिब ६ महिना लाग्ने भएकोले नयाँ शाखा विस्तारले हाम्रो निक्षेप र कर्जा विस्तार उल्लेख्य भएको छ तर नाफामा वृद्धि कम देखिएको छ । एनआईसीको शाखा संख्या १३४ पुगेको छ । यस वर्ष पनि शाखा विस्तार गर्दै छौं । खराब कर्जा अनुपात (एनपीए) पनि घट्दै गएको छ । समग्रमा बैंकले उत्साहपूर्वक प्रगति गरिरहेको छ । एनआईसी एशिया बैंक निकै आक्रामक देखिएको छ, तपाईको रणनीति के हो ? हामी नयाँ तरिकाबाट अघि बढिरहेका छौं । संस्थागत निक्षेप प्रतिको निभरर्ता घटाउने र साना निक्षेपको कम्पोनेन्ट बढाउने रणनीतिमा छौं । त्यस्तै कर्जामा पनि साना तथा मझ्यौला कर्जाको हिस्सा बढाउने र कर्पोरेट कर्जाको हिस्सा घटाउने हाम्रो रणनीति हो । सोही रणनीतिअनुसार शाखा विस्तारलाई जोड दिएको छौं । सन् २०२० सम्म ३०० शाखाहरु खोल्ने भन्ने हाम्रो पाँच वर्षे योजना हो । हामी सोही अनुसार काम गरिरहेका छौं । शाखा विस्तार सँगै ती शाखाहरुको काम मनिटर तथा कन्ट्रोल गर्नको लागि क्षेत्रीय कार्यालयहरु खोलेका छौं । लोकल लेबलको कन्ट्रोल र सपोर्ट रिजनल अफिसले गर्छ । शाखाहरुको साईट भिजिट, अडिट, कन्ट्रोल, सपोर्ट सबै काम क्षेत्रीय कार्यालयबाट हुन्छ । धेरै शाखा भए, सिईओले ती सबै शाखाहरु कसरी हेर्छ भनेर मानिसहरुले प्रश्न गर्छन । छिमेकी देशमा एउटै बैंकको ६/८ हजार शाखाहरु छन् । त्यहाँ कसरी काम भएको छ ? हामीले हेर्नु र सिक्नुपर्छ । आलोचना गरेर मात्र हुँदैन । हामीले सेवा विस्तारसँगै जोखिम न्यूनकरण गर्नको लागि आवश्यक संरचनाहरु बनाएको छौं । त्यसतर्फ हामीले धेरै लगानी गरेको छौं । आन्तरिक लेखा प्रणालीलाई निकै बलियो बनाएका छौं । हरेक शाखा खोलेको ३ महिनामा लेखापरीक्षण हुन्छ । फेरी ६ महिनामा लेखापरिक्षण हुन्छ । दुई पटकको लेखापरिक्षण रिपोर्टका आधारमा ६/६ महिनामा वा हरेक वर्ष लेखापरीक्षण हुन्छ । सीईओको तहबाट मैले ३/४ जनासँग रिपोटिङ लिईरहेको हुन्छु । जो–जोसँग मैले रिपोर्टिङ लिन्छु, ती साथीहरुले ८/९ जनासँग रिपोटिङ लिनुहुन्छ । त्यस्तै ती ८/९ जनाले फेरी १५/१६ जनासँग रिपोट लिनुहुन्छ । त्यो हिसावले संरचना बनाएको छौं । एनआईसी एशियाले पटक पटक रोजगारी खुलाउदै आएको देखिन्छ । अरु बैंकबाट पनि धेरै कर्मचारी यस बैंकमा आएको भन्ने सुनिएको पछि छ, बैंकमा कर्मचारीको टर्नओभर बढी भएकाे हो ? शाखा विस्तार गर्दा नयाँ कर्मचारी चाहिन्छ । एउटा शाखा खोल्दा ५/६ जना कर्मचारी चाहिन्छ । १० वटा शाखा खोल्दा ५० जना चाहियो । त्यसलाई मोनिटरिङ गर्न केन्द्रमा वा क्षेत्रमा ५/६ जना चाहियो । त्यो हिसावले मान्छे चाहिन्छ, अझ धेरै शाखा विस्तार गर्दै छौं, थप मान्छे चाहिन्छ । स्टाफ टर्नओभर त सबै बैंकमा बढी नै छ । दुई/चार वटा पुराना बैंकमा मात्र टर्नओभर कम देखिन्छ । अर्को ख्याल गर्नु पर्ने पक्ष के हो भने १२/१५ प्रतिशत कर्मचारी टर्नअभोर हुनु संस्थाको लागि पनि राम्रो मानिन्छ । त्यसले नयाँ सोच र जाँगर भएका मान्छेलाई कम्पनी भित्र्याउने अवसर दिन्छ । हाम्रो बैंकमा करिव १७०० कर्मचारी छन् । यो संस्थामा वर्षमा १०० जना कर्मचारीले छोडे वा त्यसको सट्टामा बैंकले अरु संस्थाबाट नयाँ सोच र जाँगर भएका कर्मचारी आए भने त्यसले संस्थालाई फाइदा नै पुग्छ । बैंकमा कर्मचारी मात्र अस्थिर छैनन् । बैंकले ग्राहकलाई दिने सेवा पनि धेरै अस्थीर छ । निक्षेप वा कर्जाको ब्याज पनि निकै अस्थिर छ । बैंकहरु अल्पाकालिन सोचमा हिडेको, त्रैमासिक रिपोर्ट कसरी राम्रो बनाउने भन्ने होडमा हिडेकोले यस्तो समस्या आएको हो ? हामीकहाँ प्रक्षेपण,अनुमान र ट्रेन एनलाईसिस गरेर काम गर्ने संस्कृतिको कमी छ । सानो अर्थतन्त्र भएको देशमा धेरै बैंक तथा वित्तीय संस्था छन् र चर्को प्रतिस्पर्धा हुँदा तत्कालिन फाइदा हुने निर्णय हुने गरेका छन् । त्यसको असर कर्मचारीमा पनि परेको छ, ग्राहकको सेवामा पनि परेको छ । जीडीपीको करिव २२ प्रतिशत राजश्व सरकारले संकलन गर्छ । सानो अर्थतन्त्र भएको देशमा जीडीपीको २२ प्रतिशत सरकारी राजश्व संकलन हुनु भनेको अर्थतन्त्रमा सरकारी खर्चको प्रभाव पनि ठूलो हुनु हो । सरकारीले राजश्व संकलन जसरी नियमित रुपमा गरेको देखिन्छ, खर्च त्यसरी नै नियमित भएको छैन । त्यसको असर बैकिङ तरलता र व्याजदरमा प्रत्यक्ष रुपमा परेको देखिन्छ । ऐतिहासिक तथ्याङ्कहरुको आधारमा भविष्यबारे प्रक्षेपण गरिन्छ । तर सरकारी खर्चमा भएको अस्थिरताले र अर्थतन्त्रले लिने फरक ट्रेनले पनि हाम्रो प्रक्षेपणहरु फेल खाईरहेका छन् । एनआईसी एशिया अल्पकालिन सोचमा चलेको छैन, हामी पाँच वर्षे रणनीतिका साथ काम गरिरहेका छौं । पाँच वर्षे रणनीति र योजनाअनुसार काम भएको छन् भन्नु भयो, दीर्घकालिन सोचकोे रिफ्लेक्सन कहाँ देखिएको छ ? दीर्घकालिन सोच, योजना, रणनीतिको रिफ्लेक्सन हाम्रो शाखा विस्तारमा देखिएको छ, बैंकको वासलातमा देखिएको छ, वासलातको कम्पोनेन्टमा देखिएको छ । डिजिटल बैकिङ सेवामा रिप्लेक्सन देखिएको छ । पाँच वर्षे रणनीतिक योजनाका आधारमा हाम्रा वार्षिक कार्यक्रमहरु बनेका छन् । वाह्य कारणका कारण समय सापेक्ष नीति पनि लिनु परेको छ । निक्षेप र कर्जाको ब्याजदर घट्न थालेको हो ? मुद्दती निक्षेप ब्याज घट्न थालेको छ । तर बचत खाताको ब्याज घटेको छैन । बैंकहरुको आधार दर अझै उच्च रहेकोले कर्जाको ब्याज घट्न सकेको छैन । गत वर्ष बैंकहरुले पुस र माघमा उच्च ब्याजदरमा धेरै निक्षेप मुद्दतीमा लिएका छन् । त्यो निक्षेप परिपक्व हुन अझै ३/४ महिना लाग्छ । चैत मसान्तपछि मात्र बैंकहरुको बेसरेट घट्ने र त्यसपछि कर्जाको ब्याजदर घट्ने सम्भावना हुन्छ । केन्द्र र प्रदेश सभाको निर्वाचन हुँदैछ । स्थानीय तह निर्वाचित भईसकेकोले स्थानीय तहमा गएको बजेट समयमा नै खर्च हुने आशा गरिएको छ । निर्वाचनमा राम्रै खर्च भयो र स्थानीय बजेट खर्च भयो भने निक्षेपमा पनि वृद्धि हुन्छ, कर्जा लगानी पनि विस्तार हुन सक्छ । तर राष्ट्र बैंकले जारी गरेको तथ्याङ्क उत्साह जनक छैन । आयात बढेको छ । निर्यात वृद्धि हुन सकेको छैन । रेमिट्यान्स आम्दानी पनि घट्न थालेको छ । प्रत्यक्ष विदेशी लगानी तथा दातृ निकायले दिने अनुदानमा पनि उत्साहजनक वृद्धि छैन । शोधानान्तर ऋणात्मक भएको छ । निक्षेप वृद्धिको लागि आवश्यक स्रोतहरु सुक्दै गएका छन् । गत वर्ष निक्षेपमा ब्याजदर वृद्धि हुँदा धेरै बचतकर्ताले लाभ पाए । तर बैंकका ऋणिलाई कर्जाको ब्याजदरले धेरै गाह्रो पनि बनायो । केही बैंकले आफ्ना ऋणिलाई ब्याज ७ बाट बढाएर ८ प्रतिशत बनाए भने केहीले ऋणीको ब्याज ७ बाट बढाएर १४÷१५ बनाए । यस्तो किन भयो ? ७ को ८ मात्र बनाएको भन्ने कुरा नहोला । सबै बैंकहरुको पुँजिगत लागत बढेकै देखिन्छ । ब्याज आम्दानी भन्दा ब्याज खर्च नै सबैको बढेको देखिन्छ । यसको अर्थ बैंकहरुले निक्षेप ब्याजमा बढेको भार सबै ऋणिलाई पासअन गरेका छैनन्, बैंकमा पनि राखेका छन् भन्ने देखिन्छ । समग्रमा बैंकहरुले ऋणिलाई सहुलियत नदिएका होइनन् र ? एनआईसी एशियाले नयाँ ग्राहकलाई होम लोन १०.८ प्रतिशतमा दिइरहेको छ, बेसरेट १०.७ प्रतिशत छ । यसमा बैंकलाई कति फाइदा छ ? बेसरेट भनेको लागतमा करिव ३ प्रतिशत स्प्रेड जोडिएर आएको हुन्छ । अर्थात हामीले अहिले ल्याएको होम स्कीममा करिव ३ प्रतिशत स्प्रेडदर छ । होम लोन भनेको निकै सुरक्षीत कर्जा हो । हामीले रिटेल बैंकिङको हिस्सा बढाउने र कर्जाको जोखिम कम गर्ने रणनीतिमा यो प्रडक्ट तयार गरेका हौं । जहाँ जोखिम कम छ त्यहाँ कम मार्जिनमा काम गर्ने बैंकको नीति पनि हो । नयाँ ग्राहकलाई १०.८ प्रतिशत ब्याजमा कर्जा दिँदा पुराना ग्राहकको व्याजदर कति छ ? अहिले कर्जाको व्याजदर बेसरेटमा लिङ गरिएको छ । बेसरेट घट्दै जाँदा पुराना ग्राहकको पनि ब्याजदर घट्दै जानेछ । जोखिम बढी भएको प्रडक्टमा ब्याज बढी हुन्छ । जुनसुकै बैंकले पनि क्रेडिट कार्डमा बढी ब्याज लिन्छ । बैंकले आगामी दिन सेयरधनीलाई कति सम्म लाभांश दिन सक्छ ? पहिला जस्तो उच्च दरमा लाभांश पाउने सम्भावना त सकियो नै भन्छु म । विगतमा बैंकहरुले दिएको बोनस सेयर र हकप्रद सेयरले सेयरधनीलाई लगानी विस्तारको अवसर दियो । अब त्यो अबसर छैन । बैंकहरुको सेयर मूल्यले पनि त्यो संकेत गरिरहेको छ ।