अस्थिर राजनीति र शिक्षा क्षेत्रमा बेथितीले उच्च शिक्षाको लागि विदेश जाने गरेका छन् : बासु नेपाल

नेपाली युवाहरु स्वदेशमा अध्ययनको अभाव देखाउँदै विदेशिने परम्पराले निरन्तरता पाइरहेको छ । राजनीतिक अस्थिरता र सम्भावनाको प्रयोग हुन नसक्दा युवा वर्ग अध्ययनका लागि विदेशिन बाध्य छन् । विद्यार्थीलाई विदेश अध्ययन गर्न पढाउने मध्यको एक हो, प्रोफेश्नल भिषा एण्ड एजुकेसन सभिर्सेस । उनले १३ वर्षदेखि कन्सल्टेन्सी सञ्चालन गर्दै आएका छन् । उनी शैक्षिक परामर्श क्षेत्रमा स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को कार्यसमिति सदस्य पनि थिए। २ वर्ष वरिष्ठ उपाध्यक्षको हैसियतमा काम गरिसकेका छन् । यस संस्थामा रही काम गर्दा शैक्षिक परामर्श व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउनको लागि उनले निकै प्रयासहरू गरेका छन् । काठमाडौको पुतलिसडकमा रहेको यस प्रोफेश्नलले देशैभरका विद्यार्थीको अध्ययन, अध्यापन, वृद्धि विकास र करियर निर्माणमा महत्वपुर्ण काम गर्दै आएको छ । नेपालको दुरावस्था, सकारात्मक पक्ष, विद्यार्थीको अवसर र चुनौती लगायतका विषयमा प्रोफेश्नलका सञ्चालक बासु नेपालसँग शैक्षिक अवस्थाका बारेमा विकास न्यूजले गरेको कुराकानी : बासु नेपाल, सञ्चालक, प्रोफेश्नल भिसा एण्ड एजुकेशन सभिर्सेस नेपाली उच्च शिक्षा लिन किन विदेश जान्छन् ? नेपालमा उच्च शिक्षाको निकै ठूलो महत्व छ । सबै अभिभावकको चाहना आफ्ना सन्तानले उच्च शिक्षा हासिल गरुन् र आत्मनिर्भर बनुन् भन्ने नै हुन्छ । यसकारण आफ्ना सन्तानले राम्रो उच्च शिक्षा पाउन सकुन भनेर नै देश विदेशमा आफना सन्तानलाई पठाउने गरेका छन् । नेपालको अस्थिर राजनीति, शिक्षा क्षेत्रको बेथिति लगायतले गर्दा नेपाली विद्यार्थीहरू उच्च शिक्षाको लागि विदेश जाने गरेका छन् । यसबाहेक आफन्तको देखासिकी र विदेश मोह पनि नेपालीहरू उच्च शिक्षाको लागि विदेश जाने गरेको पाइन्छ । उच्च शिक्षाका लागि कति संख्यामा विदेश जान्छन् ? उच्च शिक्षाको लागि यतिनै संख्यामा विदेश जान्छन् भन्ने एकिन तथ्यांक त हामीसँग छैन् । तर यो कुरा सत्य हो कि विदेश जान चाहने विद्यार्थीको संख्या भने बढ्दो क्रममा छ । पछिल्लो शिक्षा मन्त्रालयको प्रमाणीकरण शाखाको नो अब्जेक्शन लेटर लिने विद्यार्थीको संख्या भने यो वर्ष ६० हजार भन्दा माथि छ । तर नो अब्जेक्शन लेटर लिने सबै विद्यार्थी अध्ययनको लागि विदेश जान पाउँदैनन् । त्यसको लागि विद्यार्थीको सम्बन्धित देशको भिषा प्राप्त गर्नु जरुरी हुन्छ । एउटै विद्यार्थीले दुई वटा कोर्ष पढ्नका लागि दुई वटा नै नो अब्जेक्शन लेटर लिएका हुन्छन् । तिनीहरुको पनि दोहोरो गनि रहेको देखिन्छ । नेपालबाट कुन देश धेरै पढ्न जान्छन् ? पछिल्लो तथ्याङ्क अनुसार नेपालबाट धेरै विद्यार्थी अष्ट्रेलिया गइरहेका छन् । अष्ट्रेलिया बाहेक अमेरिका, जर्मनी, डेनमार्क, चीन, भारत, जापान लगायतका देशमा गएका छन् । नेपालमा नपढ्नुको कारण के हो ? नेपालको अस्थिर राजनीति, शिक्षा क्षेत्रको बेथिती र राजनीतिकरण, प्रयोगात्मक शिक्षाको कमी आदिले विद्यार्थीहरू नेपालमा भन्दा विदेशमा उच्च शिक्षा लिन रुचाउने गरेका छन् । नेपालबाट विदेश अध्ययन गर्न गएका विद्यार्थीहरुका लागि के कस्ता चुनौति छन् ? विदेश भन्ने बित्तिकै हाम्रो समाजमा के सोचाई राखिन्छ भने विदेश पुगेपछि हाम्रो सबै समस्या समाधान भैहाल्छ । अब हामीले कुनै पनि दुःख गरि रहनुपर्दैन । तर त्यस्तो होइन । विदेश बास्तवमा हाम्रो कल्पना भन्दा बाहिर छ । विदेश अध्ययन गर्न गएका विद्यार्थीका लागि बास्तवमा ठूलो चुनौती छ । नेपालमा हुँदा घरपरिवारको साथमा रहेर आरामले बसिरहेका विद्यार्थीको लागि नयाँ देश, परिवेश, भाषा, रहनशहन, शिक्षा पद्धती सबै एक चुनौती हुन् । यी सबैलाई सामना गरेर एक्लै आफ्ना सम्पुर्ण कार्य गर्नु र उच्च शिक्षा लिनु वास्तवमा धेरै ठूलो चुनौती हो । कन्सलटेन्सीका लागि चुनौती के के छन् ? कन्सल्टेन्सीका लागि यो कार्यमा धेरै किसिमका चुनौतीको सामना गर्नुपर्ने अवस्था छ । विद्यार्थीका लागि उचित परामर्श दिनुका साथै विभिन्न देशका शैक्षिक संस्थासँग समन्वय गरी विद्यार्थीलाई सही मार्गदर्शन गर्नु ठूलो चुनौतीको कुरा हो । यो व्यवसायलाई अझै पनि धेरै क्षेत्रबाट सहिनजरले हेर्ने परिपाटी बसिसकेको छैन । जसलाई चिर्नु नै सबैभन्दा ठूलो चुनौती हो । नेपालमा विदेशमा उच्च शिक्षाको लागि जानु भनेको कमाउनको लागि जाने हो भन्ने धेरै विद्यार्थी र अविभावकको सोचाई छ । बास्तवमा यो कुरा साचो होइन । अरु कन्सलटेन्सी भन्दा यो प्रोफेसनलमा के फरक छ ? किन तपाईको विदेश अध्ययन गर्न जाने ? अरु भन्दा के फरक भन्ने कुरा त मैले भन्न सक्दिन । किनकी हामी सबै शैक्षिक परामर्शदातृ संस्थाको क्षेत्राधिकार बराबर छ र एकै कानुनको दायरामा रहेर एकै प्रकारको सेवा प्रदान गरिरहेका छौं । फरक काम गर्ने तरिकामा हुन सक्छ । मैले अरुभन्दा फरक किन भन्दा पनि हामीले प्रदान गर्ने गरेका सेवाका भन्न सक्छु । हामीले विद्यार्थीलाई तथ्यपरक जानकारी, उचित परामर्श र सही मार्ग निर्दैशन प्रदान गर्दछौं यसकारण विद्यार्थीहरू हाम्रोबाट सही सूचना लिएर उच्च शिक्षाका लागि विदेश जान सक्छन् । तपाईहरुलाई शैक्षिक मेनपावर व्यवसायी भन्छन् नि ! के भन्नु हुन्छ ? हाम्रा लागि सबैभन्दा ठूलो चुनौती नै यहि हो । होला यो क्षेत्रमा पनि बेथितीहरू हुनसक्छन् । तर केही बेथितीलाई लिएर सम्पूर्ण व्यवसायीलाई त्यसो भन्न मिल्दैन । यस कुरालाई सरकार र सम्बन्धित निकायले पनि यस विषयमा जिम्मेवार हुन र व्यवसायलाई व्यवस्थित गर्न जरुरी छ । विदेश (भारत बाहेक) अध्ययन गर्न जाने हरेक बिद्यार्थीका लागि बाहिर शिक्षा शुल्क पठाउनको लागि नो अब्जेक्शन लेटर जरुरी छ । शिक्षा मन्त्रालयले नो अबजेक्सन लेटर दिने बेलामा नै विद्यार्थीले पढ्न जान लागेको देश, शैक्षिक संस्था, बिषय आदिको बारेमा सबै बुझेर मात्र लेटर प्रदान गर्ने हो भने मात्र पनि यस क्षेत्रमा रहेका बेथिती धेरै कम गर्न सकिन्छ ।  

लगानीकर्तालाई डबल डिजीटमा लाभांश दिने छौं- अनुपमा खुञ्जेली

अनुपमा खुञ्जेली वाणिज्य बैंकमा पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएकी छिन् । नेपाली बैंकिङ क्षेत्रमा महिला पनि सीईओ हुन सक्छन् भनेर प्रमाणित गर्न उनी सफल भएकी छिन् । स्ट्याण्डर्ड चाटर्ड बैंक, नविल बैंक हुँदै मेगा बैंकमा स्थापनाकालदेखि कार्यरत खुञ्जेलीले एक महिनाअघि मात्र सीईओको जिम्मेबार पाएकी हुन् । अवसर र चुनौती दुबै भएको बताउने उनले आगामी ५ वर्षमा बैंकलाई अझ सबल बनाउने प्रण गरेकी छिन् । बैंकको भावी योजनामा केन्द्रीत रहेर सीईओ खुञ्जेलीसंग विकास न्युजले गरेको कुराकानी : अनुपमा खुञ्जेली, सीईओ, मेगा बैंक महिला सीईओ बनाउन ब्रेक थ्रु मेगा बैंक र अनुपमा खुञ्जेली कसले गरेको हो ? सर्बप्रथम मेगा बैंकले गर्यो । हामीभन्दा ठुलो संस्था हो । हाम्रोभन्दा यसको आयु लामो हुन्छ । त्यसकारण संस्थाले नै ब्रेक थ्रु गरेको हो । महिलालाई नेतृत्व दिन अहिलेसम्म कुनै पनि बैंक बोर्डले निर्णय गर्न सकेको थिएन । यसमा मेगा बैंकले मलाई अवसर दिएको छ । तपाई भाग्यमानी हो कि मिहेनती ? मान्छेलाई बन्न भाग्य पनि चाहिन्छ । तर मिहेनत नगरी सफलता पाइन्दैन । मेरो लागि सफलताको शुत्र भनेको अवसरको साथै कडा परिश्रम हो । यहाँ भाग्यलाई पनि जोड्न सकिन्छ । पहिले अवसर र कडा मिहेनत नै हो । मौकामा मिहेनत गरेर देखाउन सक्नुपर्छ । मिहेनत निरन्तर हुनुपर्छ । नत्र सफलता हात लाग्दैन । बैंकमा सीईओ भएपछि यहाँले कस्तो अनुभव गर्नु भएको छ ? म धेरै खुसी भएको छु । मलाई अब अवसर र चुनौती दुबै छ । त्यसमा पनि जिम्मेवारीलाई सफल र उदाहरणीय बनाउन मलाई चुनौती छ । म बैंकिङ क्षेत्रमा काम गरेको २७ वर्ष भयो । करिब ३ दशकदेखिको अनुभव लिएर अघि बढेको कारण शुरुवातदेखि यस टिमलाई मैले नजिकदेखि हेर्ने मौका पाएको छु । म मेगा बैंकको लाइसेन्स प्रक्रियादेखि नै जोडिएको हुँ । त्यसैले मलाई यो टिमप्रति विश्वास छ । भोलिको दिनको मेरो सफलता भनेको मेगा बैंकको टिमको देन हो । अहिलेको टिम राम्रो छ । टिमको क्षमतालाई हामीले बुझेर अघि बढाउन सकियो भने सफलता हात पर्छ । ठुलो संस्थामा सिस्टम ड्राइभ गर्न अथवा बसाल्नका लागि बलियो खम्बा आवश्यक हुन्छ । आजको दिनमा मेगा बैंकको खम्बा कसलाई मान्नुभएको छ ? हाम्रो बैंकिङ क्षेत्रमा विभिन्न विभागहरु छन् । अहिलेको व्यवस्थापन सिद्धान्तले पनि आफ्नो डिपार्टमेन्टमा स्मुथ्ली रन गर्न सक्ने म्यानेजर्जहरु ल्याउनु पर्छ भन्छ । मेगा बैंकको बलियो खम्बा भनेको सिनियर म्यानेजमेन्ट नै हो । टुरिजम डेभलपमेन्ट बैंकसंग मर्ज भएको छ । त्यहाँबाट पनि दक्ष जनशक्ती आएका छन् । त्यसकारण पुरै म्यानेजमेन्ट टिमको दक्षतालाई नै बैंकको खम्बा मान्छु । विगतमा पनि त्यहि थियो, अहिले पनि छ । मेगा बैंकको खम्बा अनिलकेशरी शाह हुन् । बलियो मियोको रुपमा अनिलको भूमिका रह्यो र समकालिन बैंकहरुमा मेगा अगाडी नै रह्यो । यी तर्कहरुलाई कतिको मान्नुहुन्छ ? यो तर्कलाई पुर्ण विश्वास गर्छु । जतिखेर मेगा बैंक पुर्ण रुपमा स्थापना भइसकेको थिएन । त्यसबेला हामीलाई बलियो व्यक्तित्वको जरुरी थियोे । ती सम्पूर्ण भूमिकाको निर्बाह अनिल शाहजीले गरिदिनुभयो । उहाँले एउटा दह्रो फाउन्डेशन दिनु भएको छ । भोलिको दिनमा हामीले यो बलियो फाउन्डेशनमा घर बनाउदै जाने हो । त्यसलाई सफल पार्ने जिम्मा हाम्रो हो । उहाँले जुन धरोहर छोडेर जानु भएको छ । त्यसलाई सही दिशा र गतिमा दौडाउने जिम्मेवारी पनि हाम्रै हो । उहाँले एक समय हलोदेखि हाइड्रोसम्म भनेर चलाएको अभियानबाट मेगा बैंकलाई नचिन्ने कमै होलान् । मेगा बैंकलाई उहाँले त्यो फाउन्डेशन दिनु भएको छ । अनिल शाहजीको जतिको हाइट मलाई प्राप्त हुन्छ भनेर अहिले भन्न सक्दिन । मेरो आगामी चार वर्षको कार्यकालको समीक्षा तपाईहरुले नै गर्नु हुनेछ । किनभने हाम्रो फाउण्डर सीईओ शाहाजी व्यक्तित्व र बैंकिङ क्षेत्रमा उचाई भएको जगजाहेर नै छ । हामी त्यो आधार पाएर अघि बढ्न लागेको बैंक हो । आगामी दिनमा यसलाई राम्रो गर्दै जानेछौं । नयाँ उचाइमा लैजाने कुरामा कुनै दुविधा नै छैन । अनिलजीले स्ट्रोङ फाउन्डेशन बनाइसकेको बैंकमा सफल नेतृत्व गरे/गरिन भन्ने कुरा आउँदो चार वर्षको कार्यकालमा यहाँहरुले नै समीक्षा गर्नुहुनेछ । आगामी चार वर्षमा मेगा बैंक कुन स्तरमा पुग्छ ? हाम्रो बैंक अहिले ८ वर्ष पुगेको छ । समकालिन बैंकहरुले मर्ज गरिसकेका छन् । शुरुमा हामीले सानो मर्ज गरेका थियौं । अहिले टुरिजम डेभलपमेन्ट बैंकसंग मर्ज गरेका छौँ । अब शाखा नेटवर्किङ, ब्यालेन्स साइज अझ बढ्छ । अझ द्रुत गतिमा अगाडी बढ्छौं । आगामी दिनमा बलियो, सवल, समृद्ध हुँदै मेगा बैंक यहाँहरुको विश्वास जित्दै अघि बढ्नेछ । बैंकिङ व्यवसाय भनेको विश्वासको खेती हो । यसमा आफ्नो सबै स्टेकहोल्डर्सको विश्वास जित्नु पर्छ । मुख्य गरी प्रमोटर पब्लिक सेयर होल्डरहरुलाई प्रतिफल राम्रो दिनुपर्यो । कस्टमरहरुलाई सुविधा राम्रो दिनुपर्याे । कर्मचारीहरुलाई बेस्ट इम्प्लोइको आभाश दिनुसक्नु पर्याे । सोसाइटी एट लार्जबाटै हामीले नाफा कमाएका छौं । समाजलाई पनि सामाजिक उत्तरदायित्वको आधारमा केही दिन सक्नुपर्छ । अहिले स्थिर सरकार आएको छ । देशमा नयाँ राजनीतिको शुरुवात भएको छ । हाम्रो ५ वर्षको रणनीतिक योजना (स्ट्राटेजी प्लान) तयार भइसकेको छ । बोर्डले दिएको ५ वर्षको भिजनलाई अगाडी बढाउँदै लैजाने हो । ५ वर्षको रणनीतिक योजनाको गोल के हो ? म नाफाको कुरा मात्र गर्दिन । तैपनि अहिले हामी समकालिन बैंकहरुसँगको प्रतिस्पर्धामा सबैभन्दा अगाडी उभ्याउन चाहन्छौं । आगामी चार वर्षमा हाम्रो जस्ता बीचको बैंकहरुसँग प्रतिस्पर्धामा ती बैंकहरुको ‘क्याटोगोरी’मा एक नम्बरमा आउने प्रयास गर्नेछौं । हामीसँग भएको स्ट्राटेजीज प्लान अनुसार प्रत्येक वर्ष बैंकको ग्रोथ बढिरहेको छ । मार्केटमा धेरै उत्तारचढाव आउँछ । उत्तरचढावलाई हाम्रो स्ट्राटेजीज प्लानमा इनकर्पोरेट गरेर अगाडी लाने छौं । जनता, सिभिल, सेन्चुरी मेगासंगै आएका बैंक हुन् । यीमध्येमा हामी अगाडी छौं । सबै बैंकले आफुलाई अगाडी बढाउन लागि रहेका हुन्छन् । अब त्यस्ता बैंकहरुलाई उछिनेर अघि जानु छ । टुरिजमसंगको मर्जरसँगसँगै हाम्रो भोल्युम आधा खर्ब भएको छ । हामी चार वर्षको अन्तरालमा निक्षेप परिचालन १ खर्ब रुपैयाँ पुर्याउने छौँ । हामी १० अर्ब रुपैयाँ भन्दा बढीको क्यापिटलमा जान्छौं । त्यसपछि १ खर्ब भन्दाबढीको भोल्युम जेनेरेट गर्न सक्छौँ । यो हाम्रो लक्ष्य हो । त्यतिगर्दा सेयर होल्डरलाई डबल डीजीटमा रिटर्न दिने छौँ। हाम्रो शाखा १०२ वटा बन्छ । बैंक भनेको प्रोफिट ओरिन्टेड अर्गनाइजेशन पनि हो । शाखालाई विस्तारसँगै प्रोफिट पनि जेनेरेट गर्ने छौं । मेगाको नेतृत्व र नीतिमा अस्थिरता छ भन्ने आशंकाहरु आइरहेका छन् । यसलाई तपाईले कसरी हेर्नुभएको छ ? पोलेसी लेखनमा म पहिलो दिनदेखि नै संलग्न हुनुका साथै सचेत पनि छु । सिस्टमको कुरा गर्ने हो भने हामीसँग स्ट्रोङ अप्रेशन छ । हामीसँग बलियो रिक्स युनिट छ । सरकारी इसुमा पनि वीथ कम अ लङ वे । राष्ट्र बैंकको अडिटरीमा पनि वीथ कम अ लङ वे । पहिलेभन्दा प्रगति भइरहेको छ । अडिटहरुमा पनि रिक्सको पोलिसी लगाएर अघि बढिरहेको अवस्था हो । अर्गनाइजेशनमा व्यक्तिले फरक पार्न हुँदैन भन्ने सोचबाट म अघि बढेको छु । यो अर्गनाइजेशन सिष्टम पोलीसी र प्रोसिडूयरले ड्रिभेन हुनुपर्छ । कुनै एउटा व्यक्ति परिवर्तन भएर अर्गनाइजेशन ह्याम्पर हुने, अर्गनाइजेशनमा ह्रास आउने किसिमको काम हुनुहुँदैन । त्यसैले म सिस्टमलाई विश्वास गर्छु । लिडरशिप रोलमा हामीले गर्नुपर्ने हाम्रो मुख्य दायित्व सिस्टम बलियो बनाउनु हो । सिस्टम अहिले पनि सवल छ । त्यसमा हाम्रो मिहेनत छ । त्यसको लागि हामी डे वानदेखि नै लागिपरेका छौं । मेगा बैंकका स्टेक होल्डरबाट, मुख्यगरी इन्भेस्टरहरुको तर्फबाट तीब्र आक्रोस आएको सुन्छौं । बैंकको परफरमेन्समा सन्तुष्टि छैन । बैंकले राम्रो गरेन भनेर सेयर बेच्न पाएको छैनन् । यहाँ के भन्नु हुन्छ ? म उहाँहरुको आक्रोशलाई बुझ्छु । किनभने हाम्रो शेयर ट्रेडिङ रोकेको वर्ष दिनभन्दा बढी भइसक्यो । त्यसैले पनि मेरो सबैभन्दा पहिलो दायित्व मर्जर गराउनु थियो । यो पुरा भएको छ । अब केही दिनमा सेयर कारोबार खुल्ने छ । त्यसमार्फत हाम्रो सेयरधनीको ठुलो आक्रोसलाई मत्थर गर्दै जान्छौं । कतिपय राम्रो बैंकहरुको पनि ५ सय पुगेको सेयर मूल्य घटेर ३ सय, साढे ३ सयमा कारोबार भइरहेको छ । त्यसैले पनि सेयर होल्डरहरु आत्तिएको हुन सक्छन् । तर मेगा बैंकले ८ वर्षमा दिएको रिटर्नलाई राम्रो मान्नु पर्दछ । कारोबार खुलेपछि मेगाको सेयर कति रुपैयाँमा किनबेच होला ? अहिलेको हिसाबले जाँदैन होला । किनभने सबैको सेयर मूल्य झरेको छ । देशको सेयर इन्डेक्स नै तल झरेको छ । यस्तो अवस्थामा मेगा बैंकको सेयर बढ्ने कुरा आउँदैन । आगामी दिनमा सेयर मार्केट पनि राम्रो हुँदै जाला र असारको रिजल्ट हेरेपछि विश्वास जगाउने अवस्था रहन्छ जस्तो लाग्छ । चैत मसान्तमा लोलेबल क्राइसीस र केही प्रोभिजिङले यो क्वाटरलाई मैले त्यस्तो राम्रो मानेको छैन । तर असारसम्ममा यो सबै कुरालाई पछाडि राख्दै अगाडी बढ्छौं । बैंकको जस अबजस मैले लिनुपर्छ । आगामी दिनमा पनि लिन्छु । यो परीक्षामा म खरो रुपमा उत्रिने छु । पछिल्लो अनटाइम मर्जर नहुनुमा हामी नै जिम्मेवार हौं । यसको डिलको जिम्मा पनि मैले लिनु पर्दछ । मर्जर दुई जनाबीचको विवाह जस्तो हो । जसमा फरक प्रकृतिमा आएका अर्गनाइजेशनको मान्छे मिलेर यसलाई मूर्त रुप दिने अवस्था हो । मर्जर टाइममै सक्न पाएको भए हाम्रो अर्गनाइजेशनलाई नै राम्रो हुन्थ्यो । मर्जरको दुखको दिन सबै पार गरेर हामी निस्कियौं । लगानीयोग्य पुँजीको अभाव भएपछि राष्ट्र बैंकले बाहिरबाट पैसा ल्याउन बाटो खुलाएको छ । मेगा बैंकले के गर्दै छ ? बाहिरबाट पैसा ल्याउन हामीले पनि तयारी थालेका छौ । परिवत्र्य विदेशी मुद्रामा ऋण लिएर हामीले दिने त नेपाली रुपयाँमा नै हो । त्यसको हेजीङ कस्ट पनि लाग्छ । अहिलेसम्म नेपालमा करिब ५ वर्षसम्म हेर्दा हेज गर्ने ठाँउ र संस्था पनि कमी छन् । हामीले त्यसलाई पनि विकास गर्नुपर्छ । हामी हेजमा जानुपर्छ । विदेशी मुद्रा विनिमय लिएर हिड्न सकिन्दैन । त्यसैले गर्दा हामीले पनि प्रयास गरिरहेका छौं । हेजीङ गर्ने कम्पनीहरुसँग पनि कुरा गरिरहेका छौं । बाहिरबाट परिवर्त्य विदेशी मुद्रामा ऋण लिन बाटा खुलेका छन् । यो धेरै राम्रो हो । मान्छेलाई मोटिभेशन हुनुको लागि धेरै फ्याक्टर मध्ये पैसा पनि हो । एक कमर्शल बैंकको सीईओ भइसकेपछि कति पैसा कमाइ हुन्छ ? सबै जना कमर्शियल बैंकको सीईओ हुन चाहन्छन् । राष्ट्र बैंकको मापण्डअनुसार अघि बढ्छौंं । त्यसलाई मिचेर हामी अगाडी बढ्दैनौं । बैंकका रेगुलेशन भित्रै बसेर निर्णय गरेका छौं । खाइपाई आएको घटाउन हुँदैन भन्ने वातावरणमा चल्यो । अब नयाँ सीईओ निर्धारण गर्दा तलब घट्छ । तलब निकै घट्नेछ । राष्ट्र बैंकको नियमअनुसार कति हुनुपर्छ मेगा बैंकको सीईओको तलब त्यसमै आधारित गरेर अबको तलब निर्धारण हुनेछ । एउटा बैंकको उच्चस्तरिय जिम्मेवारी लिँदै गर्दा महिलाप्रतिको तपाईको धारणा के छ ? हामी महिला पुरुषभन्दा कम छैनौं । देशमा महिलाले अवसर नपाएको हैन । अब महिलाको विकासमा महिलाकै हातमा छ । आफुले मिहेनत गर्नु सक्नुपर्यो । लगनशीलताकासाथ भिजन, मिशन र गोललाई पुरा गर्न सक्नु पर्छ । अहिले पनि हाम्रो समाजमा केही त फरक छ । जसरी घरबाट हामीले काम गर्न पठाउँदा छोरालाई सयम दिइरहेका हुन्छौं । त्यही अनुसार बुहारीलाई बिहानदेखि बेलुकासम्म घरको काम हेर्नु पर्दैन ? भनेर सोध्ने बच्चाको जिम्मेवारी वहनमा प्रश्न आउने गरिएको छ । त्यो वातावरण हुँदाहुँदै पनि अहिले अधिकांश परिवारले श्रीमान् र श्रीमती दुबैले काम गर्नुपर्छ । दुबै जना आफ्नो खुट्टामा उभिनु पर्छ । अर्थिक दृष्टिकोणले पनि परिवारलाई सहयोग हुन्छ भन्ने कुरा बुझ्दै आएको छ । अबको दिनमा महिला भएर म पछि परे भन्नुको सट्टा इक्वेल फिटीङमा आएर काम गरेर अगाडी बढ्नुपर्छ जस्तो लाग्छ । मेगा बैंकमा इक्वेल फिटीङ ट्रिटमेन्ट अहिले छ ? मेगा बैंक ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषबाट शुरु गरिएको हो । अहिले अलिकति आँकडाहरु फरक भए होला । सिनियर म्यानेजमेन्टमा हेरे पनि रविना जी, प्रज्ञा पान्डे जी हुनुहुन्छ । त्यस्तै सिनियर म्यानेजमेन्टमा हेर्ने हो भने डेनी जी हुनुहुन्छ । जेनु जीले डीपोजिट हेरिरहनु भएको छ । आउँदा दिनहरुमा धेरै महिला आउँदैछन् । हाम्रोमा मात्रै होइन ग्लोवल र सनराइजमा पनि त्यस्तै छ ।

बीमा कम्पनीका निर्णयहरु नै अविश्वसनीय भए-चिरञ्जीवी चापागाईँ, अध्यक्ष-बीमा समिति

भनिन्छ, संसारमै बजार अघिअघि हुन्छ । नियामक निकाय पछिपछि हुन्छ । नेपालको बीमा बजार पनि त्यस्तै छ । नेपालमा बीमा सेवाको थालनी भएको ७० वर्ष वितिसक्यो । तर बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति ५० औं वर्षगाँठ मनाउँदै छ । अहिले बजारमा ३९ वटा बीमा कम्पनीहरु छन् । ५ हजार भन्दा बढी कर्मचारी छन् । यस क्षेत्रमा लाखौ लगानीकर्ताले ६० अर्ब रुपैयाँ भन्दा बढी पैसा लगानी गरेका छन् । दशौं लाख सेवाग्राही छन् ।  बीमा समितिले उनीहरुको हितमा कसरी काम गर्दैछ ? यसै विषयमा केन्द्रीत भई बीमा समितिका चिरञ्जीवी चापागाईँसँग गरिएको विकास वहस यस अंकमा । चिरञ्जीवी चापागाई, अध्यक्ष-बीमा समिति तपाई बीमा समितिको अध्यक्ष भएको करिव १५ महिना वित्यो । यस अवधिमा बीमा समितिले १२ वटा बीमा कम्पनीलाई लाईसेन्स वितरण गरिसक्यो । अब कति वटा थापिदैछन् ? म बीमा समितिको अध्यक्ष भएर आउँदा धेरै बीमा कम्पनीहरुले समितिसँग सञ्चालन अनुमति मागेका थिए । धेरै वर्षदेखि उनीहरुको माग आवदेनमा सुनुवाई भएको रहेनछ । त्यतिबेला बजारमा ९ वटा जीवन बीमा कम्पनी थिए । तर बीमा बजारको मेनिट्रेसशन करिब ७ प्रतिशत मात्र थियो । बीमा बजार प्रतिस्पर्धी देखिएको थिएन । बजारलाई प्रतिस्पर्धी र गतिशिल बनाउन हामीले केही महत्वपूर्ण निर्णय लियौं । चलिरहेका कम्पनीहरुको क्षमता विकास गर्न पुँजी वृद्धि बढायौं । सेवा सञ्चालनको अनुमति मागेका कम्पनीहरुलाई निश्चित मापदण्ड पूरा गरेको अवस्थामा लाइसेन्स दिने निर्णय गर्यौं । साथै, तोकिएको मापदण्डअनुसार कम्पनी खोल्न चाहानेहरुको लागि २१ दिनको समय दिएर नयाँ आवेदन खुला गर्यौं । जहाँसम्म अब कति वटा कम्पनीले लाईसेन्स पाउँछन् भन्ने तपाईको प्रश्न छ, बीमा बजारको बारेमा बीमा समितिले एक समिति बनाएर अध्ययन गरिरहेको छ । अध्ययन रिपोर्ट अन्तिम चरणमा पुगेको छ । सरकारले पनि अब उपरान्त लाइसेन्स वितरणलाई कम गर्दै मर्जर तथा एक्विजिशनमा लाग्नु भन्ने निर्देशन छ । सरकारको मार्गनिर्देशन अनुसार नै बीमा समिति काम गर्छ । मेरो कार्यकालमा अब नयाँ बीमा कम्पनीले लाइसेन्स पाउन कठिन हुन्छ । लाइसेन्सिङको प्रक्रिया अब समाप्त भईसक्यो । अध्यक्ष भएर आएपछि नयाँ बीमा कम्पनीको लाईसेन्स बिक्री गरेको आरोप तपाई माथि लागेको छ । लाइसेन्स बिक्री भएकै हो ? एक दमै गलत आरोप हो । हाम्रो समाजमा हरेक चिजलाई खाली नकारात्मक रुपमा हेरिन्छ । यतिबेला यातायात क्षेत्रको सिण्डिकेटको विरोधमा ठूलो आवज आईरहेको छ । नयाँ बीमा कम्पनी खुल्नै नदिने कुरा पनि सिण्डिकेटको अर्को रुप हो । नयाँ बीमा कम्पनीको लाईसेन्स सदाको लागि बन्द कहिल्यै पनि गरिनु ह हदैन । बरु मापदण्ड बजार विकासको आधारमा कडाई गर्दै जानुपर्ने हुन्छ । हामी त्यो गर्दैछौं । लाइसेन्स बेचेको भन्ने कुरा मिथ्य हो । केही नयाँ बीमा कम्पनीले लाईसेन्स पाउँदा २१ अर्ब रुपैयाँ औपचारिक अर्थतन्त्रमा आएको छ । बीमा कम्पनीहरुबीच प्रतिस्पर्धाको वातावरण बनेको छ । गाउँगाउँमा बीमा कम्पनीहरु पसेका छन् । बीमाको सेवा विस्तार भएको छ । म बीमा समितिको अध्यक्ष भए लगत्तै तपाईले मलाई सोध्नु भएको थियो ‘बीमाको पेनिट्रेशन कति पुर्याउनुहुन्छ ?’ त्यतिबेला ७ प्रतिशत थियो । आगामी असार मसान्तभित्र ११ प्रतिशत पुग्ने सम्भावना देखिएको छ । डेढ वर्षमा हुन लागेको यो उपलब्धिको पछाडि नयाँ कम्पनीको आगमन र प्रतिस्पर्धी बजारको निर्माण हो । यो सबैले बुझ्नुपर्छ । नयाँ बीमा कम्पनी थपिएपछि बजारमा कस्तो प्रभाव परिरहेको छ ? मैले माथि नै भने नि । बीमाको पेनिट्रेशन झण्डै ४ प्रतिशतले बढ्दैछ । जीवन बीमा बजारको विस्तार वार्षिक ३५ प्रतिशतले भएको छ । म अध्यक्ष हुँदा जीडीपीमा बीमा कम्पनीहरुको योगदान २ प्रतिशत थियो । अहिले २ दशमलव ५ प्रतिशतले बढेको छ । जीवन र निर्जीवन दुबैको बजार विस्तार वार्षिक २० देखि ३० प्रतिशत छ । यी सूचकहरु धेरै सकारात्मक हुन् । नयाँ बीमा कम्पनीहरुले तत्काल कम्तिमा ५० वटा शाखा विस्तार गर्ने भनेर लागेका छन् । त्यसबाट कम्तिमा १५०० युवाले रोजगारी पाउने अवस्था छ । प्रत्येक कम्पनीले कम्तिमा १०००/१५०० अभिकर्ता नियुक्त गरि परिचालन गरेका छन् । यसले रोजगारी सिर्जनमा ठूलो योगदान गरेको छ । बैकिङ क्षेत्रमा तरलताको ठूलो समस्या सिर्जना भएको बेलामा बीमा कम्पनीहरुले १६० अर्ब रुपैयाँ बीमा कोष सिर्जना गरेर बैंकमा निक्षेप राखेका छन् । गाउँगाउँमा गएर जारी गरेको बीमा पोलिसीले बैकिङ क्षेत्रको बचत परिचालनमा महत्वपूर्ण सहयोग गरेको छ । नया कम्पनीको आगमनसँगै सेवाको गुणस्तर र विविधितामा कति परिवर्तन आएको छ ? प्रतिस्पर्धाले सेवाको गुणस्तर बढाउन र नयाँ नयाँ सेवा शुरु गर्न दवाव दिन्छ । प्रतिस्पर्धी बजारमा ग्राहकलाई छनौटको अवसर हुन्छ । जुन कम्पनीले सिर्जनात्मक र गुणस्तरीय सेवा दिन्छ ग्राहकले त्यहि कम्पनी रोज्छन् । यो सैद्धान्तिक विषय भयो । तर हाम्रो बजारको विकास त्यसरी हुन सकेको छैन । पुराना कम्पनीहरुले जे गरिरहेका थिए नयाँ कम्पनीहरुले पनि त्यही नै गरिरहेको छन् । यसमा मलाई चित्त बुझेको छैन । यसमा केही परिवर्तन हुन जरुरी छ । सेवामा विविधता तथा सिर्जनात्मक बीमा पोलिसी नआउनुको कारण के हुन सक्छन् ? पहिला बीमा कम्पनीहरुको पुँजी नै कम थियो, २५ करोड र ५० करोड । पुँजी वृद्धि गरेर निर्जीवनलाई १ अर्ब र जीवन बीमा कम्पनीलाई २ अर्ब बनाएका छौं । पुराना कम्पनीहरु पुँजी वृद्धिमा जुटेका छन् । पुँजीवृद्धि सँगै सेवाको स्तरवृद्धि हुन्छ भन्ने हामीले विश्वास लिएका छौं । दोस्रो समस्या भनेको बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले सीईओको भूमिका निर्वाह गरेनन् । उनीहरु मार्केटिङको काममा मात्र केन्द्रीत भए । अनुसन्धान र विकासतर्फ काम गरेनन् । यो समस्याको निकास दिन हामीले सीईओहरुको तलब सुविधा कार्यसम्पादन प्रगतिका आधारमा हुने व्यवस्था गरेका छौं । अब विस्तारै सीईओहरु मार्केटिङ म्यानेजरभन्दा माथि उठेर नयाँ काम गर्नुहुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं । त्यस्तै बीमा समितिले हालै जारी गरेको बीमकको संस्थागत सुशासनमा उपप्रमुख कार्यकारी अधिकृतको पनि व्यवस्था गरेका छौं । कमसेकम सीईओले गर्ने मार्केटिङ्को काम डेपुटी सीईओले गरोस् र सीईओले नविनतम् सेवाको लागि काम गर्न सकून, नयाँ नयाँ प्रडक्ट डिजाईन गरुन् भन्ने बीमा समितिको चाहाना छ । संशोधित सुशासनमा हरेक ५/५ वर्षमा बीमा कम्पनीहरुले डीडीए गर्नुपर्छ भनिएको छ । यस्तो व्यवस्था नेपालमा अरु कुनै पनि क्षेत्रमा छैन । बीमा कम्पनीमा ५/५ वर्षमा डीडीए किन आवश्यक भयो ? डीडीए भनेको विस्तृत लेखापरिक्षण हो । यसले कम्पनीहरुको वास्तविक अवस्था देखाउँछ । यसले कम्पनीको पाँच वर्षको ग्रोथ, आगामी पाँच वर्षको लक्ष्य, योजना, वृद्धि दर प्रक्षेपण गर्छ । अरु क्षेत्र भन्दा बीमा बढी प्राविधिक छ । त्यसैले हामीले बीमा क्षेत्रमा अन्तराष्ट्रिय स्तरका विकास भएका सिद्धान्त, मान्यता र अभ्यासलाई नै अनुसरण गरेका छौं, नितान्त नयाँ काम होइन । सुशासन निर्देशिकामा ग्राहकले बुझाउने बीमा शुल्कको आम्दानी स्रोत खुलाउनु पर्ने व्यवस्था गर्नुभएको छ, किन आवश्यक पर्यो ? बीमा क्षेत्रमा कालोधन ल्याएर सेतो बनाउने काम नहोस् भनेर हामीले यस्तो व्यवस्था गरेका हौं । एउटै व्यक्तिले करोडौ रुपैयाँका बीमा पोलिस किन्न थालेका छन् । यो राम्रो अभ्यास हो । हामी यसलाई प्रोत्साहित नै गर्न चाहान्छौं । तर बीमा पोलिसी भित्रको फाइदालाई दोहन गर्दै कालोधन सेतो बनाउनु भएन । बीमा पोलिसी धितो राखेर कर्जा लिन पनि पाइन्छ । बीचैमा बीमा पोलिसी सरेन्डर गरेर पैसा लिन पनि पाइन्छ । ठूलो रकमको बीमा पोलिस किन्ने, त्यसैलाई धितोको रुपमा राखेर वा केही वर्षपछि पोलिस सरेन्डर गरेर कालोधनलाई सेतो धन बनाउन हुन्न भनिएको हो । निक्षेपको स्रोत खुलाउनु पर्ने व्यवस्थाले बैकिङ क्षेत्रमा निक्षेपवृद्धिमा मन्दी आयो । स्रोत खुलाउनु पर्ने व्यवस्थाले फेरी बीमा पोलिसी बिक्रीमा मन्दी आउने जोखिम कत्तिको देख्नुहुन्छ ? सम्पत्ति शुद्धिकरण सम्बन्धी कानुन आएपछि निक्षेप वृद्धिमा मन्दी आयो भन्ने कुरामा म सहमत छैन । त्यतिबेला बैंकमा निक्षेप नबढ्दा सहकारीमा पनि बढेन । बीमा प्रिमियमको स्रोत खुलाउने व्यवस्थाले नकारात्मक असर पर्छ जस्तो मलाई लाग्दैन । पछिल्लो समय बीमा कम्पनीहरुमा जनशक्तिको अभाव र कर्मचारी तानातानको स्थिति देखियो, कसरी यस्तो स्थिति आयो ? कर्मचारी अभाव भयो भन्ने कुरा सत्य होइन । किनभने बीमा कम्पनीका केन्द्रीय कार्यालयहरुमा दावी, अण्डराईटिङ, रिइन्स्योरेन्स लगायत केही प्राविधिक फाँट हुन्छन्, जहाँ डिपार्टमेन्ट हेड प्राविधिक ज्ञान भएको व्यक्ति नै आवश्यक हुन्छ । यस्तो जनशक्ति शाखा कार्यालयहरुमा आवश्यक हुँदैन । यस्ता प्राविधिक मान्छे छैनन् भनेर एक कम्पनीबाट अर्को कम्पनीमा मान्छे तानेको बताउँछन् । यहाँ गलत काम भईरहेको छ । एउटा बीमा कम्पनीमा बढीमा १० जना प्राविधिक जनशक्ति भए पुग्छ । बाँकी काम भर्रखरै ग्राजुयट गरेका, मास्टर डिग्री गरेका युवालाई काम लगाउन सकिन्छ । उनीहरुलाई मौका दिनुपर्छ । उनीहरुलाई तालिम दिनुपर्छ । बीमा कम्पनीहरुमा सीईओ पद खाली छन्, डेपुटी सीईओ पद खाली छन् । एउटै बीमा कम्पनीबाट ६ महिनामा ३०/४० जनाले छोडेर अर्को कम्पनीमा गएका छन् । यस्तो हाइक्राई अवस्थामा तपाई समस्या नै छैन भन्नुहुन्छ ? समस्या छदैछैन भन्दिन । तर खासमा बजारमा के भईरहेको छ भने अर्को कम्पनीको विजनेश खोस्नको लागि मार्केटिङ म्यानेजर तानातान गर्ने काम भईरहेको छ । सीईओको कुरा पनि उठाउनु भयो । बास्तवमा सीईओको अभाव देखिएकै हो । ९ वटा नयाँ जीवन कम्पनीले लाईसेन्स पाएकोमा ४ वटाले मात्र सीईओ नियुक्त गरे । पुराना कम्पनीहरुले पनि सीईओ राख्न नसकेको देखियो । यो समस्या लामो समय रहेपछि हामीले योग्यतामा केही लचिलो मापदण्ड बनाएका छौं । नेतृत्व विकासको अभ्यासमा सुधार गर्नको लागि डेपुटी सीईओको व्यवस्था गरेका छौं । बीमा बजारमा नयाँ कम्पनी आए तर नयाँ जनशक्ति आएनन् । पुराना कर्मचारीको क्षमता विकासमा पनि बीमा समितिले काम गरेन । त्यसैले बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव भयो र तानातान शुरु भयो भनिन्छ नि ? यसमा म सहमत छु । त्यसैले क्षमता विकासको लागि सबै बीमा कम्पनीसँग २/२ लाखका दरले ७८ लाख र बीमा समितिको २२ लाख गरी १०० करोड रुपैयाँ बीमा प्रर्वद्धन कोष खडा गरेका छौं । त्यसको मुख्य उदेश्य ट्रेनिङ इन्स्टच्यूट स्थापना गर्ने हो । विस्तारै हामी यसलाई नयाँ कम्पनीको रुपमा विकास गछौं । आगामी आर्थिक वर्षदेखि यसले काम थाल्छ । साथै हामीले बीमा कम्पनीहरुलाई जनशक्ति विकासको लागि खर्च बढाउन निर्देशन दिएका छौं । ३९ वटा कम्पनीको चुक्ता पुँजी करिव ६० अर्ब भएको छ, प्रिमियम बजार पनि सेयर पुँजीभन्दा थोरै बढी छ । यो अवस्थामा बीमा बजारमा लगानी गर्ने लगानीकर्ताले उचित प्रतिफल पाउँछन् ? २० वटाको निर्जीवन बीमा कम्पनीको पुँजी अबको ६ महिनामा २० अर्ब रुपैयाँ हुँदैछ । यस आर्थिक वर्षको अन्त्यसम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल प्रिमियम २२ अर्ब रुपैयाँ हुने देखिएको छ । यो अवस्थामा लगानीकर्ताहरुले उच्चदरको प्रतिफल पाउन सक्दैनन् । तर भविष्य राम्रो छ । स्थायी सरकार आएको छ । २/३ वटा विमानस्थल बन्दैछन् । श्रम ऐनले सबै श्रमिकको बीमा अनिवार्य गरेको छ । ठूला जलविद्युत आयोजना, सडक, रेलमार्गको निर्माण प्राथमिकतमा परेका छन् । अब बीमा बजारको विस्तार उच्च गतिमा हुँदैछ । छिट्टै लगानीकर्ताले राम्रो प्रतिफल पाउनेछन् । त्यसैले निर्जीवन बीमा कम्पनीका लगानीकर्ता आत्तिनु पर्ने अवस्था छैन । जीवन बीमा कम्पनीतर्फ गत वर्षको प्रिमियम ३५ अर्ब थियो । चालु आर्थिक वर्षमा ६० अर्ब पुग्दैछ । जीवन बीमा कम्पनीहरुको ३६ अर्ब पुँजी पुगेको छैन, बजार ६० अर्ब नाघिसक्यो । यस वर्षको जस्तै ग्रोथ अर्को वर्ष भयो भने प्रिमियम ८० अर्बभन्दा बढी हुन्छ । त्यसपछि कम्पनीहरुले नाफा राम्रो गर्नेछन् । सबै कम्पनीहरु राम्रोसँग सस्टेन हुनेछन् । ५ अर्ब पुँजी भएको नेपाल रिइन्स्योरेन्स नेपालले पनि राम्रो गरिरहेको छ । यसको भविष्य पनि राम्रो छ । बीमा कम्पनीहरुको सेयर मूल्य निकै अस्थीर देखिन्छ । उदाहरणको लागि राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १५ महिनामा कहिले प्रतिकित्ता ८ हजार त कहिले २४ हजार पुगेको देखिन्छ । यस्तो किन हुन्छ ? जुन कम्पनीमा लामो समयदेखि लेखापरिक्षण भएको छैन, हिसाव किताव एकिन छैन, त्यहि कम्पनीको सेयर मूल्य सबैभन्दा बढी छ । मुलतः नियामक निकायले पुँजी बढाउँछ, बोनस वा हकप्रद सेयर निष्काशन गर्छ, मूल्य बढ्छ र लाभ लिन सकिन्छ भन्ने मान्यतामा आधारित भएर लगानीकर्ताहरु अधिक मूल्य तिरिरहेको देखिन्छ । मेरो भनाई यति मात्र हो कि लगानीकर्ताले हावाको भरमा लगानी गर्नुभएन । लगानीकर्ताले बजार नबुझि लगानी गरिरहेका छन् भन्न खोज्नुभएको हो ? बजारमा टाठाबाठा लगानीकर्ता पनि छन् । उनीहरु बुझेर नै लगानी गर्छन, बुझेर नै बेच्छन् । धेरै लगानीकर्ता अनुमानको भरमा, अरुले भनेको भरमा लगानी गरिरहेका छन् । कम्पनीको वित्तीय अवस्था कस्तो छ ? सञ्चालक समितिको निर्णयलाई नियमनकारी निकायले अनुमोदन गर्यो कि गरेन ? नियामक निकायले स्वीकृत नै नगरेको अवस्थामा सञ्चालक समितिले निर्णय गरेको आधारमा लगानी गर्ने, अनि नियमनकारी निकायलाई गाली गर्ने ? तपाईको लोकिप्रिय सञ्चार माध्ययबाट म लगानीकर्तालाई के भन्न चाहान्छु भने कुनै पनि कम्पनीको सञ्चालक समितिले निर्णय गर्दैमा लगानी जस्तो महत्वपूर्ण निर्णय नगर्नुहोस्, नियामक निकायले स्वीकृति दिएको छ कि छैन ? साधारणसभाबाट पास भएको छ कि छैन ? हेरेर मात्र निर्णय लिनुहोस् । एभरेष्ट इन्स्योरेन्सलाई नै उदाहरणको रुपमा हेर्न सकिन्छ । १ बराबर ६ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भनेर कम्पनीको सञ्चालक समितिले निर्णय गर्यो, साधारणसभाले पास गर्यो । लगानीकर्ताले प्रतिकित्ता ३००० तिरेर सेयर किने । अहिले त्यो निर्णय कार्यन्वयन भएन । लगानीकर्ता डुबे । बीमा समिति यसबारे जवाफदेही र जिम्मेवार बन्नुपर्दैन ? १ बराबर ६ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने एभरेष्टको निर्णयमा हाम्रो स्वीकृति थिएन । पुरानो नियमअनुसार उक्त कम्पनीले सबै सेयर पब्लिक बनाएको रहेछ । अहिलेको नियमअनुसार ५१ प्रतिशत प्रमोटर सेयर हुनैपर्छ । हामीले भन्यौ, नियम सबैलाई लागू हुन्छ । अरुलाई नियम लाग्ने, एभरेष्टलाई नलाग्ने हुन सक्दैन । ट्रयाकबाट बाहिर गएको कम्पनीलाई हामीले ट्रयाकमा ल्याएका छौं । मैले सुनेको छु संस्थापक सेयर जारीपछि एभरेष्ट इन्स्योरेन्सले १ः३ अनुपातमा हकप्रद सेयर प्रस्ताव गरेको छ रे । लगानीकर्ता गुनासो गर्न आएका थिए समितिमा । मैले भने-तपाईहरु साधारणसभामा कुरा राख्नुहोस् । हामीले न्यूनतम १ अर्ब पुँजी चाहिन्छ भनेको छौ । एभरेष्टले फेरी पनि १ः६ अनुपातमा हकप्रद सेयर जारी गरेर १ अर्ब ५० करोड पुर्याउँछ भने हामी सहमति दिन्छौं । कम्पनीको पुँजी धेरै भयो भने कम्पनी बलियो हुन्छ, त्यसले सबैलाई लाभ दिन्छ । बीमा कम्पनीमा संस्थागत सुशासन कमजोर हुँदा लगानीकर्ताले धेरै दुःख पाएका छन् । यूनाईटेड इन्स्योरेन्सले गत वर्ष १० प्रतिशत बोनस सेयर दिन्छु भनेर निर्णय गर्यो, सार्वजनिक गर्यो, मूल्य बढायो । लगानीकर्तालाई फसायो । तर कार्यान्वयन भएन । अहिले १ बराबर २.४ अनुपातका हकप्रद सेयर जारी गर्ने भनेको छ । बीमा समितिले सीजीसँगको विवाद नमिलेसम्म सहमति नदिने भयो भन्ने कुरा आएको छ । खास कुरा के हो ? यूनाईटेड इन्स्योरेन्समा २०७१ सालदेखिमा मुद्दा छन् । त्यतिबेला बीमा समितिले जे निर्णय गरेको थियो, उच्च अदालतले त्यसैलाई सदर गरेको छ । त्यो निर्णय कार्यान्वयन गर्न पत्र पठाएका छौं । उहाँहरु फेरी बीमा समिति विरुद्ध सर्वोच्च जानुभयो । उहाँहरुले अन्तरिम आदेश माग्नु भएको थियो, अदालतले दिनु नपर्ने निर्णय गरेको छ । चैत २९ गते हामीले लेखेको पत्र किन कार्यान्वन नगरेको भनेर मैले यूनाईटेडका अध्यक्ष र सीईओलाई यही बोलाएर सोधेको थिए । उहाँहरुले कार्यान्वन गर्छु भन्नुभयो । मैले तीन दिनभित्र कार्यान्वयन गर्नु भनेर भनेको छु । बीमा समिति नियमनकारी भूमिकाबाट बाहिर जाँदैन । अब के हुन्छ ? अदालतको निर्णय सबैले मान्नुपर्छ । अदालतभन्दा माथि कोहि पनि हुँदैन । बाली तथा पशुबीमा अन्तरगत सरकारले दिने ७५ प्रतिशित प्रिमियम अनुदान बीमा कम्पनीहरुले समयमा पाईरहेका छैनन् । बीमा समितिले कम्पनीहरुलाई उदारो बीमा नगर भन्ने, अनि सरकारले नै उदारो बीमा गराउने र ६ महिना, १ वर्षसम्म प्रिमियम अनुदान नदिने समस्या देखियो । यो समस्या कहिले समाधान हुन्छ ? यो कार्यक्रम शुरु गर्दा पारदर्शी रुपमा हिसाव राख्ने सफ्टवेयर बनाउन सकिएको रहेनछ । त्यसले गर्दा केही समस्या भएको हो । अहिले हामी नयाँ सफ्टवेयर बनाएर हिसाव पारदर्शी बनाउने काम गरिरहेका छौं । यो सरकारको ठूलो र राम्रो प्रयास हो । फागुन मसान्तसम्ममा ४२ करोड बीमा शुल्क लाग्ने कृषि बीमा गरेका छौं । बीमाको लागि यो नयाँ र राम्रो प्रडक्ट भएको छ । यसका केही समस्या देखिएका छन् । समाधान गर्दै जान्छौं । २०/२२ अर्बको बजारमा २२ करोड भनेको ठूलो रकम पनि होइन । सरकार बजेटको तयारीमा जुटेको छ । यस पालीको बजेटमा के के समेट्न सुझाव दिनुभयो ? कृषिबीमा कार्यक्रमलाई निरन्तरता दिन, जीवन बीमाको प्रिमियममा कर छुटको सीमा बढाउन, लघुबीमालाई प्रोत्साहित गर्न, कृषि बीमा जस्तै लघुविमामा अनुदान दिन प्रस्ताव गरेको छौं । लघुबीमालाई विपन्न वर्गमा पुर्याउन परिचयपत्रको आवश्यकता छ । स्वाथ्य बीमाको दायरा फराकिलो बनाउने, स्वास्थ्य बीमा बोर्डलाई पनि बीमाको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो सुझाव छ । देशमा ठूलो मात्रामा लगानी गर्न पुँजी नभएको बताइन्छ । तर बीमा कम्पनीहरु दीर्घकालिन प्रकृतिको कोष लगानी गर्न नपाएर छटपटाईरहेका छन् । उनीहरुलाई लगानी गर्ने बाटोहरु किन प्रशस्त नगरिदिएको ? हामीले बीमक संघलाई, जीवन बीमा कम्पनीको सीईओहरुलाई मेरो सुझाव के छ भने तपाईहरु सबै मिलेर एउटा इन्भेष्टमेन्ट कम्पनी खोल्नुहोस् । त्यसले लगानीको उपयुक्त योजना छान्छ र उचित ठाउँमा लगानी गर्न सकिन्छ । सोचाई धेरै भएको छ तर काम हुन बाँकी छ । भिडियाेमा हेर्नुहाेस् । चिरञ्जीवी चापागाईं, अध्यक्ष, बीमा समिति