एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओमा लगानी गर्नुस्, प्रतिफल सुनिश्चित छः सीईओ खतिवडा

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्, उषा खतिवडा । डेढ वर्षदेखि यस कम्पनीको सीईओको रुपमा कार्यरत रहेकी खतिवडासँग हाइड्रो पावर क्षेत्र र विभिन्न प्रशासनिक क्षेत्रमा १५ वर्षको लामो अनुभव रहेकाे छ । उनी पटक-पटक नेपाललाई प्रतिनिधित्व गर्दै विदेशमा हुने सभा सम्मेलनमा पनि सरिक रहेकी छिन् । यसै वर्ष कन्सियस कम्पनी-साेनाेमा, १३२५ ब्राेडवे, यूएसए साेनाेमाले खतिवडालाई वर्ल्ड  चेन्जिङ वुमेन अवार्डबाट सम्मानित गरेको थियो । त्यस्तै, २०२० मा  आरएसटीसीएले खतिवडालाई ‘कर्पाेरेट वाेमेन अफ दि इयर-२०२०’ र ‘मस्ट इन्फ्युयन्सियल वाेमेन’ बाट सम्मानित गरेको थियो । उनै खतिवडासँग एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको हालको वित्तीय अवस्था, कम्पनीले निश्कासन गर्न लागेको साधारण सेयर र भावी योजनाका बारेमा विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानी । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको बारेमा बताइदिनुस् न ? गैरआवासीय नेपाली अभियान जतिबेला शुरु भयो, त्यसको मूख्य उद्देश्य भनेको गैरआवासीय नेपालीहरुमा रहेको पूँजी र सीपलाई नेपालको सर्वाङ्गीण विकासमा लगाउने भन्ने थियो । शुरुका दिनहरुमा विश्वव्यापी सञ्जाल विस्तारमा केन्द्रित रह्यो । सन् २०११ मा गैरआवासीय नेपाली संघको नेतृत्वमा जिबा लामिछाने सर आउनुभयो । विश्वव्यापी सञ्जाल विस्तार गर्ने उद्देश्य पुरा गरीसके पछि अन्य उद्देश्यहरु पुरा गर्नुपर्छ भनेर जिबा लामिछाने सरले आफ्नो कार्यकालको मूख्य एजेण्डाको रुपमा यो कम्पनीको अवधारणा अघि सार्नुभयो । संख्यात्मक र गुणात्मक रुपले वृद्धि हुँदै गएको एउटा ठूलो एनआरएन समुदाय विदेशमा छ । उहाँहरुले नेपालमा लगानी गर्न खोज्दा राम्रो प्लेटर्फम पनि नपाउने समस्या थियो । लगानीका लागि एउटा प्लेटर्फम तयार गरेर थोरै पुँजी भएका गैरआवासीय नेपालीहरुले पनि ठूला आयोजनामा स्वामित्व महशुस गर्नुहोस् भनेर यो कम्पनीको २०६९ साल भदौमा स्थापना भएको हो । जिबा सरकै नेतृत्वमा झन्डै ८ सय गैरआवासीय नेपालीहरुले एकदमै उत्साहित भएर यसमा लगानी शुरु गर्नुभयो । सबैलाई समेट्ने भनेर एउटा मापदण्ड तयार भयो । एउटै व्यक्ति वा एउटै समूहको यसमा धेरै लगानी नहोस् भनेर हामीले सिलिङको पनि व्यवस्था गरेका थियौं । यसमा कम्तिमा एक लाख रुपैयाँ र बढिमा एक करोड रुपैयाँभन्दा बढी लगानी गर्न नपाउने गरी मापदण्ड बनाएका थियौं । अहिले एनआरएन इन्फ्रास्ट्रक्चरले कुन-कुन क्षेत्रमा कति लगानी गरेको छ ? सबैभन्दा पहिलो प्रोजेक्टको रुपमा हामीले लमजुङको दोर्दी खोल जलविद्युत आयोजना (२७‍.१ मेवा) मा लगानी गरेका थियौं । यो आयोजनामा हाम्रो कम्पनीको ५१ प्रतिशत प्रमोटर सेयर रहेको छ । ४९ प्रतिशत आइएमई ग्रुपले लगानी गरेको थियो । यो परियोजना २०७७ साल मंसिर महिनामा निर्माण सम्पन्न हुने अवस्थामा रहेको छ । अहिलेसम्म ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । यसका अतिरिक्त लिखु जलविद्युत आयोजना, (२८‍.१ मेवा), मिडिल तमोर हाइड्रोपावर प्रोजेक्ट (७३ मेवा), माथिल्लो मैलुङ्ग खोला जलविद्युत आयोजना (१४.३ मेवा)  लगायतका आयोजनाहरुमा कम्पनीको लगानी रहेको छ । अहिले यस कम्पनीले हाइड्रोपावर क्षेत्रमा लगानी गरेको छ । विस्तारै हामी अन्य क्षेत्रमा पनि लगानी गर्छाैं। आगामी दिनमा राष्ट्रिय गौरवका योजनाहरुमा लगानी गर्दै जाने योजना छ । धेरै गैरआवासीय नेपालीहरुले यसमा लगानी गर्नु भएको छ । लगानी सुरक्षित होस् र केही न केही योगदान हामीले पनि गरेका छौं भन्ने महसुस होस् भनेर यो कम्पनी अगाडी बढेको हो । तपाईहरुले अब सर्वसाधारणहरुका लागि साधारण सेयर पनि निश्कासन गर्दै हुनुहुन्छ । कति निश्कासन गर्दै हुनुहुन्छ ? कम्पनीको अधिकृत पुँजी ५ अर्ब रूपैयाँ र जारी पुँजी १ अर्ब १३ करोड २६ लाख रूपैयाँ रहेकाे छ । जारी पुँजीमध्ये संस्थापक समूहको ७० प्रतिशत अर्थात् ७९ करोड २८ लाख ७७ हजार ५ सय रुपैयाँ चुक्ता भैसकेको छ । सर्वसाधारण समूहमा बिक्रीका लागि राखिएको ३० प्रतिशत रकम अर्थात ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको सेयर साउन १६ गतेदेखि छिटाेमा साउन २१ गतेसम्म सर्वसाधारणको बिक्रीका लागि खुला गरिनेछ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेकाे छ । कम्पनीकाे ३३ कराेड ९८ लाख ४ हजार ६ सय सेयर पूँजी बराबरको १ सय अंकित दरको ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयरहरु सर्वसाधारणमा निष्काशन गर्न लागेकाे हाे । उक्त सेयर निष्काशनकाे लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मिति २०७६ फागुन ४ गते स्वीकृत पाएकाे छ । विवरणपत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष नियमावली २०६७ को नियम ४६ माभएको व्यवस्था बमोजिम सर्वसाधारणमा निष्काशन गरिने कुल शेयरको ५ प्रतिशतले हुन आउने १ सय अंकित दरको जम्मा १ लाख ६९ हजार ९ सय २ कित्ता शेयर सामूहिकलगानी कोषहरुलाई सुरक्षित गरिएकोमा उक्त सेयर खरिदको लागी सामुहिक लगानी कोषहरुलाई असार २९ गतेदेखि साउन ४ गतेसम्म खरीद आह्वान गरिएकोमा आवश्यकताभन्दा ३ गुणा अधिक सेयरको लागि आवेदन पर्न आएकोले सो सेयरको बाँडफाँड भैसकेको अवस्था छ । विदेशमा रहेका नेपालीले उक्त सेयरमा लगानी गर्न पाउँछन् कि पाउँदैनन् ?  अहिलेको अवस्थामा प्रवासमा रहेका नेपालीहरुले आवश्यक प्रक्रिया पुरा गरेर सर्वसाधारणको बिक्रीका लागि खुला गरेको सेयरमा लगानी गरेर कम्पनीसँग आवद्ध हुन पाउँनुहुन्छ । कम्पनीमा रहेकाे लगानी सबै प्रवासीकै हो ? हालसम्मको सबै लगानी गैरआवासीय नेपालीहरुको रहेको छ । हाल कति जना लगानीकर्ता हुनुहन्छ ? अहिलेसम्म ७ सय ९५ जना लगानीकर्ता आवद्द रहनुभएको छ । लगानीकर्ताहरुले लाभांश कत्तिको पाइरहेका छन् ? हामीले सात वर्षको अन्तरालमा साबिकका लगानीकर्ताहरुलाई ७.३९ प्रतिशत बोनस सेयर तथा लाभांश दिइसकेका छाैं । आईपीओ निष्काशन भइसकेपछि त्यसको प्रतिफल केमा लगानी हुन्छ ? आईपीओ निष्काशन भइसकेपछि त्यसको प्रतिफल पूर्वाधार विकासका राष्ट्रिय गौरवका आयोजनाहरुमा लगानी गर्ने भनेर कम्पनीले निर्णय गरेको अवस्था छ । लगानीका नयाँ क्षेत्रहरु कुन-कुन हुन सक्छन् भनेर अन्तरिक छलफलहरु भैरहेका छन् । जस्तो कि सौर्य उर्जामा पनि सम्भावना देखिएको छ । त्यसैगरी, कृषिमा सिधै कमर्सियल फार्मिङ नगरी पूर्वाधार विकासका कामहरु जस्तै शीतभण्डारमा लगानी गर्ने भन्ने पनि कम्पनीको सोच रहेको छ, त्यस्तै अन्य साझेदार कम्पनीहरुसँग छलफलकै चरणमा रहेका छौं । आईपीओ निष्काशन भइसकेपछि प्रतिफल सुनिश्चित गर्ने क्षेत्रमा लगानी गरेर अगाडी बढ्ने कम्पनीको उदेश्य रहेको छ । एनआरएन इन्फ्रास्ट्रक्चरकाे आइपीओमा सर्वसाधारणहरुले किन लगानी गर्ने ? समग्रमा कम्पनीले गरेको लगानी सुरक्षित छन् । कम्पनी राम्रो ट्रयाकमा रहेको छ। आगामी दिनमा पनि निकै सोचेर मात्रै कम्पनीले लगानी बढाउँदै लानेछ । यो कम्पनीको हिस्सेदार बन्न पाउनु सर्वसाधारणका लागि पनि एउटा राम्रो अवसर हो । प्रतिफल पक्का भएकाले लगानीकर्ताहरुलाई लगानीका लागि हामी अनुरोध गर्न चाहन्छौ । धितोपत्र बोर्डले तोकेका अन्य प्रक्रियाहरु पुरा गर्न कत्तिको सहज थियो ? त्यस्तो धेरै प्रक्रियाहरु छैनन् । कम्पनीको पुँजी कम्तिमा ५० करोड हुनुपर्छ । पूर्वाधार क्षेत्रमा लगानी भएको हुनुपर्छ अथवा नेपाल सरकारको पनि कम्तिमा १० प्रतिशत लगानी भएको हुनुपर्ने गत वर्ष संशोधन भएको ऐनमा व्यवस्था छ । सरकारको लगानी नभए पनि हामीले अन्य सबै प्रक्रियाहरु पुरा गर्यौ । केही समय त लाग्यो नै । समय लगाएर भए पनि सबै प्रक्रिया पुरा गरेकाले अनुमति पाइयो । धितोपत्र बोर्डले राम्ररी हेरेर यो एउटा काम गर्ने कम्पनी हो भनेर अनुमति दिएको हो । बोर्डले जुन तरिकारले अनुगमन गरेर प्रक्रियाहरु सबै पुरा गरेपछि अनुमति दिएको छ, यसलाई कम्पनीले सकारात्मक रुपमा लिएको छ । अब धेरै कम्पनीहरुले आइपीओ निश्कासन गर्दैछन् । यो लगानीकर्ताहरुका लागि कम्पनी छनोट गर्ने पनि उचित मौका पनि हो । लगानीकर्ताहरुले ती कम्पनीहरु मध्ये एनआरएन इन्फ्रास्ट्रक्चरलाई नै किन रोज्ने ? गैरआवासीय नेपालीमा रहेको पुँजी र सीपलाई नेपालको सर्वाङ्गीण विकासमा लगाउने हेतुले स्थापना भएको यो कम्पनीमा हामीले गरेको लगानी सुरक्षित छन् । कम्पनी राम्रो ट्रयाकमा रहेको छ।प्रतिफल सुनिस्चित गरेर जाने योजना कम्पनी को रहेको छ । तसर्थ लगानीकर्ताहरुलाई लगानीका लागि हामी अनुरोध गर्न चाहन्छौ । कम्पनीको भविश्यको योजना के छ ? कसरी अगाडि बढ्ने सोच छ ? हामी भौतिक पूर्वाधार क्षेत्रमै फोकस हुन्छौं । राष्ट्रिय गौरवका आयोजनाहरुमा पनि लगानी गर्छौं । हामी त्यसको बारेमा अध्ययन तथा छलफल पनि गरिरहेका छौं । कसरी अगाडि बढ्ने भन्ने बारेमा अध्ययन भइरहेको नै छ । कम्पनी स्थापना भएको पनि ७ वर्ष भइसकेको छ । यस्तो खाले कम्पनीको नेपालमा कत्तिको आवश्यकता महसुस गर्नु भएको छ ? कुनै पनि देश समुन्नती तिर उन्मुख हुन मिसन, भीजन साथै मुख्य रुपमा लगानीको आवश्यकता पर्ने गर्दछ । हाम्रो कम्पनीको कुरा गर्नुपर्दा पनि विश्वभरी रहनुभएका गैरआवासीय नेपालीहरुले सामुहिक रुपमा सानो सानो पूँजी र आफ्नो सीपलाई एकीकृत गरेर नेपालको सर्वाङ्गीण विकासमा लगाउने हेतुले स्थापना गरिएको हो र त्यहि अनुरुप कम्पनी अगाडी बढिरहेको अवस्था छ । उहाँहरुको लगानीकै कारण आज हामी यहाँसम्म आइपुगेको अवस्था छ । हाम्रो देशमा धेरै ठूला ठूला आयोजनाहरु निर्माणकै चरणमा छन् । ती आयोजनाहरुमा लगानी गर्ने वातावरण तयार गर्न, कलकारखानाहरु विस्तार गर्न र देशलाई समुन्नत बनाउनका लागि यस्ताे खालका कम्पनीहरुको आवश्यकता रहेको छ ।

नेप्से इन्डेक्स ट्रेड गराउन लायक छैन, नयाँ मोडालिटीमा जानुपर्छः भिष्मराज ढुङ्गाना

नेपाल धितोपत्र बोर्डले हालै धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कोभिडपछि खुलेको सेयर बजार सम्हालिनसक्नु गरी कहिले तल त कहिले माथि गइरहेको छ । यो परिवेशमा धितोपत्र बोर्डले बजारलाई कसरी व्यवस्थित गर्न खोजेको छ ? आफ्ना वार्षिक कार्यक्रमहरु कसरी समावेश गरिरहेको छ ? सेयर लगानीकर्तालाई शिक्षित गर्ने मामलामा धितोपत्र बोर्डले कस्तो भूमिका खेल्दै छ ? स्वचालित प्रणाली विकास भएन, नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले जुन किसिमको सिष्टम लागू गरेको छ, त्यो प्रणाली चलाउन निकै कठिन छ । र, प्राक्टिकल्ली छैन भन्ने किसिमका आवाजहरु पनि लगानीकर्ताबाट आइरहेका छन् । प्रस्तुत छ  यहि विषयमा केन्द्रित भएर विकासन्युजका लागि नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानासँग गरिएको विकास वहस । धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम भनेर हालै सार्वजनिक गर्नुभएको छ । यसको नामनै कता कता नमिलेको जस्तो देखिन्छ । खास के हो ? यसको नाम नमिलेको होइन । नाम मिलेकै हो । कसरी भन्नुहुन्छ भने, जसरी मुद्रा बजारमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँछ, त्यसैगरी पुँजी बजारमा पनि पुँजीबजार सम्बन्धि पोलिसीहरु आउँछ । र, नेपाल धितोपत्र बोर्डले ल्याएको छ । त्यसैले हामीले यो नाम ठिकै राखेका छौं । यसमा धितोपत्र बजार सम्बन्धि नीति तथा कार्यक्रमहरु भनेर आएको छ । यसमा वस्तु विनिमय बजार भन्ने शब्द किन राख्नु भएको हो ? र, यसको औचित्य के छ ? जबकी नेपालमा न वस्तु विनिमय बजार ओपन नै छ न त रेगुलेट नै भएको छ । हामी पहिलेदेखि नै कमजोर भएर बसेका छौं । नेपालको धितोपत्र बजारको रेगुलेटरको नाम नेपाल धितोपत्र बोर्ड(सेवोन) भन्छ । भारतको सेबी । यसमा फरक कहाँ छ भने नेपालमा सेक्युरिटीज बोर्ड अफ नेपाल मात्रै भयो एक्स्चेञ्ज भन्ने शब्द नै छैन । भारतकोमा सेक्युरिटीज एण्ड एक्स्चेञ्ज बोर्ड अफ इन्डिया भन्ने छ । यसमा एक्स्चेञ्ज भनिन्छ नि त्यो विनिमय बजारको लागि भयो । हामीले पहिलेदेखि छोडेको हुनाले हामी कमजोर भएका हौं । त्यसैले अब के गर्नुपर्छ भने धितोपत्र तथा वस्तु विनिमय बजार दुबैलाई कभर गर्ने गरी हामीले ऐन पनि बनाउनु पर्छ र त्यसको कारोबारलाई पनि हामीले समावेश गराउनु पर्छ । जुन हामीले यो वर्ष कभर गर्ने विचार गरेका छौं । बजार नै नभएपछि नाम मात्रै ल्याएर के काम ? तत्काललाई बजार नभए पनि स्कोप छ नि । हामीले यो वर्ष ल्याउने भनेर नीति तथा कार्यक्रममा ल्याएपछि त ल्याउँछौं नि । भनेपछि तपाईंले यसपाली वस्तु विनिमय(कमोडिटी मार्केट) सम्बन्धि कम्पनीहरुलाई लाइसेन्स दिनुहुन्छ ? अँ । यसपाली आउँछ । कति वटाले लाइसेन्स पाउँछन् ? त्यो त अहिले म भन्न सक्दिँन । पहिला त यसको प्रकृया शुरु गरौं । तर जे होस्, यो साल नेपालको बजारमा वस्तु विनिमय बजारको काम गर्न संस्थाहरुको उपस्थिति हुन्छ । नेपालमा भन्न त अर्थतन्त्र खुला भनिन्छ तर अधिकांश रेगुलेटरहरुले लाइसेन्स बन्द गरेका छन् । बोर्ड पनि त्यस्तैमा पर्छ । के अब धिताेपत्र बाेर्डले स्टक ब्रोकरको लाइसेन्स, मर्चेन्ट बैंकरको लाइसेन्स,  वस्तु विनिमय कम्पनीकाे लाइसेन्स, सामूहिक लगानी कोषको लाइसेन्स लगायत सबै खुला गर्छ ? हामीले लाइसेन्स केहीको पनि बन्द गरेका छैनौं । ब्रोकरदेखि बाहेकका बाँकी रहेका सबैको खुला नै छन् । मर्चेन्ट बैंकर र स्टक डिलरको लाइसेन्स खुला छ । अब कमोडिटी मार्केटको लागि हामीले खोल्दै छौं । यो यो बन्द छ भन्नुभन्दा पनि मुलुकको आवश्यकता मुलुकको परिवेश अनुसार के कति चाहिन्छ भन्ने रेगुलेटरले निर्धारण गर्ने कुरा हो । तर, हाम्रामा संस्था चाहिँदैन भनेर ढोका बन्द गरेर हिड्ने अवस्था अहिले छैन । धिताेपत्र  बोर्डले सार्वजनिक गरेकाे नीति तथा कार्यक्रम भित्र के छन् नयाँ कुरा ? जति खेर मैले धितोपत्र बोर्डमा नियुक्ती पाएको थिएँ, त्यतिखेर मैले ३/४ वटा कुराहरु गर्छु भनेको थिएँ । एक, धितोपत्र बजारको विकास तथा विस्तार गर्नुपर्छ । यसको प्रविधिलाई विकास गर्नुपर्छ । र, यसको बजारमा सुशासनहरु कायम गर्नुपर्छ । भन्ने कुरामा मैलै विशेष जोड दिएको थिएँ । ती कुराहरुलाई अहिलेको नीति तथा कार्यक्रममा समावेश(इन्कर्पोरेट) गरिएको छ । यसमा के के छन् भने धितोपत्र बजारलाई सञ्चालन गर्ने ट्रेडिङ सिष्टम जुन अहिलेको अनलाइन ट्रेडिङ सिष्टम, त्यसमा केहि सुधार भएको छ । तथापि अझै पनि केही कुराहरु गर्न बाँकी छ । त्यो बाँकी रहेका कुराहरुलाई यो वर्ष पुरा गर्ने भन्ने पहिलो कुरा हो । दोश्रो, यो बजारको विकास गर्नको लागि हामीले विभिन्न किसिमका उपकरणहरु ल्याउँछौं भनेका थियौं । त्यो उपकरणहरु सरकारी ऋणपत्रको बजारलाई विकास गर्ने । नयाँ इन्डेक्सको ट्रेडिङ गर्ने मोडालिटी बनाउने जसले गर्दा बजारमा नयाँ उपकरणहरु उपलब्ध हुन् । त्यसैले यी उपकरणहरुलाई पनि अर्को साल ल्याउँछौ भनेर पुँजीबजारको नीति तथा कार्यक्रममा राखेका छौं । त्यस्तै, सुशासन र रिपोर्टिङ सिष्टमलाई राम्रो बनाउनु पर्छ भन्ने अर्को पक्ष थियो । त्यसलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सहकार्य गरेर विभिन्न इजाजत प्राप्त संस्थाहरुले कसरी रिपोर्टिङ गर्छन् त्यसको ढाँचा डिजाइन गरेर रिपोर्टिङ गर्ने मोडालिटी बनाउँछौं । अर्को, बजारमा संस्थागत सुशासन कायम गर्नुपर्यो । प्रतिस्पर्धा हुने किसिमले कारोबार हुने वातावरण बनाउनु पर्यो भन्ने हिसावले ऐन र नियम कानुनका सुधारका कुराहरु पनि यसमा राखेका छौं । संस्थाहरुको क्षमता वृद्धि गर्ने कुराहरु जस्तै, सेवोनको क्षमता वृद्धि कसरी गर्ने । नेप्से, सीडीएससी लगायत समग्र बजारको क्षमता कसरी वृद्धि गर्ने । भन्ने विषयलाई पनि यो नीति तथा कार्यक्रममा समेटेका छौं । कसरी भन्दा सीडीएससीलाई सेन्ट्रलाइज्ड केवाईसी सिष्टम डेभलप गरेर हामीले पुँजीबजार भरि तथा पछि विस्तार गरेर वित्तीय बजारभरिको विवरण यसले लिने र दिने गरी व्यवस्था मिलाउने सोच रहेको छ । नेप्सेमा विदेशबाट रणनीति साझेदारहरु ल्याएर क्षमता अभिवृद्धि गर्ने, यसको स्वामित्वमा परिवर्तन गर्ने कुराहरु जसरी नेपाल सरकारको बजेट कार्यक्रममा आएको थियो, त्यसलाई यसमा समावेश गरेको छौं । बजारको क्षमता अभिवृद्धि गर्नको लागि अनलाइन प्रणालीलाई सक्षम बनाउने र ब्रोकरहरुको आधिकारिक प्रतिनिधीहरुको माध्यमबाट देशको विभिन्न ठाउँमा सेयर बजार सम्बन्धि शिक्षा, यस सम्बन्धि कारोबार क्षमता प्रदान गर्ने हिसावले यसको मोडालिटी तय गरेका छौं । त्यस्तै, रिपोर्टिङको लागि एनएफआरएस सिष्टम लागू गर्ने भनेका छौं । विभिन्न किसिमका कार्यक्रमहरु यसमा समावेश गरिएको छ । त्यति मात्र नभएर समग्रमा बजारको विकास तथा विस्तार कानुनी संरचना र संस्थागत सुशासनको लागि अभिवृद्धि गर्न चाहिने अध्ययन तथा अनुसन्धानका कुराहरु यसमा समेटिएको छ । तपाईंले धेरै कुराहरु समेट्ने प्रयास गर्नुभएको रहेछ । खास गरी धितोपत्र बोर्डको नियामकीय क्षमता नै प्रभावकारी भएन । धितोपत्र बोर्ड आफै कमजोर भयो । बोर्डका निर्देशनहरु पुँजीबजारका सरोकारवालाहरुले पालना गरिरहेका छैनन् । बोर्डले बनाएका नियम कानुनहरु सूचीकृत कम्पनीहरुले राम्रोसँग पालना गरिरहेका छैनन् । यस्ता समस्यालाई समाधान कसरी गर्नुहुन्छ ?  सेवोनलाई कसरी प्रभावकारी र सक्षम बनाउनुहुन्छ ? कसरी तपाईंले आफ्ना नीति निर्देशनहरु पूर्णरुपमा कार्यान्वयन गराउन सफल हुनुहुन्छ ? यहाँले भनेका कुराहरु केही सहि हो भने केही स्तरको भन्ने होइन । यसमा के छ भने हामीले वस्तु विनिमय बजारलाई विस्तार गर्छौं तथा ल्याउँछौं भन्यौं, मानौं । वस्तु विनिमय बजार भनेको धितोपत्र बजार जत्तिकै ठूलो कम्पनी हो । अहिले ६०/६५ जना कर्मचारीलाई धितोपत्र बजारको लागि नै भ्याइनभ्याइ छ । अब छुट्टै बजारको लागि कर्मचारीको आवश्यक पर्छ । त्यसको पहिला व्यवस्था गर्नुपर्यो । जसको लागि प्रकृयाहरु छन् । त्यसको लागि संस्थाको समग्र ओएण्डएम(अर्गनाईजेसन एण्ड म्यानेजमेन्ट सर्भे) गर्नुपर्छ । त्यसपछि के के छन् आवश्यकताहरु, क-कसले के-के गर्ने, त्यसको निधो गर्नुपर्यो । कर्मचारीलाई पदपूर्ति गर्नको लागि केहि प्रकृयाहरु पुरा गर्नुपर्ने हुन्छ । त्यसैले वस्तु विनिमय बजार आएन भन्छौं, तर त्यसलाई चाहिले पूर्वाधारहरु नै पुरा नभई कसरी आउँछ । पहिले पूर्वाधारहरु पुरा गर्नुपर्छ । बजार अध्ययन गर्ने भनेर बजारमा गएर आँखा डुलाएर मात्रै हुने कुरा होइन । बजार सर्भे गर्नलाई सिस्टम चाहिन्छ, प्रकृया चाहिन्छ, प्रविधि चाहिन्छ, त्यहि किसिमका जनशक्ति चाहिन्छ । बोर्डकै कुरा गरौं, अहिले सूचना तथा प्रविधिको लागि दुई चार वटा कम्प्युटर र दुई चार वटा हार्डवेयरदेखि बाहेक अरु केहि पनि छैन । यसरी संस्थाको विकास हुँदैन । त्यसैले सफ्टवेयरमा हामीले लगानी, सफ्टवेयर खरिद गर्नुपर्छ । र, विभिन्न क्षेत्रमा यसको प्रयोग गर्नुपर्छ । अर्को, अनलाइन सिष्टमबाट मार्केट सर्भिलेन्सको लागि डाटाहरु आउँछन् त्यसलाई प्रशोधन गरेर हाम्रो लागि चाहिने उपयुक्त ढाँचाहरुकोे विकास गर्नुपर्छ । त्यो पनि भएको छैन । त्यसैले यी सबै कुराहरुमा कमजोरी देखिन्छ । कुनैपनि कुराहरु टुप्पामा गएर समाधान हुँदैन । जरैबाट हेर्नुपर्ने हुन्छ जुन कुरामा अहिले हामी लागेका छौं । स्टक एक्स्चेञ्जमा रणनीतिक साझेदार ल्याउँछौं भन्नुभयो । अबको विकल्प भनेको स्टक एक्स्चेञ्जमा विदेशी साझेदार ल्याउने, त्यसलाई बलियो बनाउँदै लैजाने  हाे कि   प्राइभेट सेक्टरको लगानीमा छुट्टै स्टक एक्स्चेञ्ज खोल्ने ? अब यो धितोपत्र बजारमा स्टक एक्स्चेञ्ज कति वटा चाहिन्छ भन्ने बजारको कारोबार बजार तथा बजारका संस्थाहरुको अवस्था लगायत यी धेरै कुराहरुले निर्धारण गर्छ । अहिलेको अवस्थामा नेपालको बजार धेरै ठूलो भइसकेको छैन । किनभने राम्रोसँग कारोबार भएको अवस्था औसतमा दैनिक एक अर्बको कारोबार हुने गरेको छ । कहिलेकाँही ४ देखि ५ अर्बसम्म पुगेको छ । जुन ऐतिहासिक हो । त्यसैले हाम्रो कारोबार ठूलो हुँदै गयो । र, यसले जस्टिफाई गर्दै गयो भने आगामी दिनमा दुईटा स्टक एक्स्चेञ्ज चाहिन सक्छ । अहिले सबै लगानीकर्ता, ब्रोकर तथा अन्य संस्थाहरुले अर्को स्टक एक्स्चेञ्ज चाहियो भन्नुको कारण के हो भने उहाँहरुले अहिले जुन स्टक एक्स्चेञ्जले प्रफर्मेन्स दिइरहेको छ, त्यसप्रति उहाँहरु सन्तुष्ट हुनुहुन्न । उहाँहरुले जुन किसिमको एक्स्पेक्ट गर्नुभएको छ, त्यो अनुसारको सर्भिस डेलिभरी भइरहेको छैन । त्यो किसिमको सिष्टम पाइरहनु भएको छैन । त्यसैले यसले अब सक्दैन, अब हामीलाई अर्कै चाहिन्छ भन्ने मनस्थितिमा उहाँहरु हुनुहुन्छ । तर हाम्रो यो संस्था पनि त्यति कमजोर संस्था होइन । यसलाई हामीले विकास गर्न सक्छौं, बनाउन सक्छौं । पहिला यसलाई बनाएर हेरौं न । त्यसपछि पनि गर्न सकेन, कमजोरी भयो भने अनि अर्कोको कुरा सोचौंला । त्यसैले हामीसंग भएको संस्थालाई फालेर नयाँ लिएर आउँदा पनि कहिलेकाँही हामीलाई अफ्ठ्यारो पर्न सक्छ, यी कुराहरुलाई विचार गर्नुपर्छ । विदेशी रणनीतिक साझेदार कुन उद्देश्यले ल्याउने ? किन ल्याउने ? र, त्यो पुँजीसहितको हो कि पेइड कन्सल्टेन्टकाे रूपमा  ल्याउने हाे ? विभिन्न मुलुकहरुले यो स्टक एक्स्चेञ्जलाई विदेशी रणनीति साझेदारहरु भित्र्याएर विकास गरेको पाइन्छ । अब यसमा के हुन्छ भने, विभिन्न किसिमका मोडालिटीहरु हुन सक्छ । तर, एउटा राम्रो मोडालिटी भनेको उनीहरुको स्वामित्व सहितको टेक्निकल एक्स्पर्टिज भित्र्याउने । अब राम्रा संस्थाहरु जसले बजारमा धितोपत्र व्यवसायीलाई राम्रोसँग संचालन गरेका छन् । राम्रो प्रविधि प्रयोग गरेका छन् । राम्रो व्यवस्थापन गरेका छन् । तिनीहरुलाई ल्यायो भने मात्र हाम्रो उद्देश्य पुरा हुन सक्छ । पुँजीसहित विदेशी रणनीतिक साझेदार ल्याउनको लागि स्टक एक्स्चेञ्जको कति प्रतिशत सेयर दिने ? अब त्यो चाहिँ निर्धारण गर्नुपर्छ । किनभने अहिले नेपाल सरकारको स्वामित्व सीमित छ, नेपाल राष्ट्र बैंकको पनि स्वामित्व पनि छँदै छ । केहि ओनरशीप डाईभेष्ट गरियो भने, डाईभेष्ट गर्ने वित्तिकै त्यो संस्थामा सुधार आउँछ भन्ने होइन । जबसम्म हामीले त्यो संस्थामा प्रविधि र त्यहाँको व्यवस्थापनमा आमूल परिवर्तन गर्दैनौं, तबसम्म हामीलाई त्यो संस्थाले राम्रो कन्ट्रिब्युट गर्न सक्दैन । त्यसैले कति स्तरमा उ आउन चाहने हुन्छ, नेपाल सरकार लगायत नेप्सेसँग पनि छलफल गरेर, तय गरेर वान्टेड गर्नुपर्ने हुन्छ । ल, हामी यो यो काम गर्दै छौं । को को आउनुहुन्छ, हामीले दिन सक्ने कुरा यो हो भनेर हामीले डिक्लियर गर्नुपर्ने हुन्छ । अनि मात्रै । विदेशी कम्पनीहरु जो नेपालमा छन् र जसले विदेशी कम्पनी ल्याउन प्रयास गरेर असफल भएका छन्, यी दुबै अनुभवलाई हेर्ने हो भने मेजोरिटी सेयर नपाइकन कोही पनि विदेशी लगानीकर्ता नेपाल जस्तो देशमा  आएका छैनन्। नेप्सेको मेजोरिटी सेयर विदेशीलाई बेच्न तपाईंहरु तयार हुनुहुन्छ ? त्यो होइन । सबै ठाउँमा त्यस्तो हुँदैन । किनभने अरु अरु मुलुकमा पनि विदेशी पार्टनरहरु सबैलाई मेजोरिटी सेयर दिएका छैनन् । होइन, ५ प्रतिशत ६ प्रतिशत दिएर त खासै केहि हुँदैन । सामान्यत २० प्रतिशतभन्दा माथि दिनुपर्छ भन्ने हामीले देखेका छौं । त्यसैले केही एउटा सिग्निफिकेन्ट ओनरशीप दिनुपर्ने हुन्छ । त्यो भनेको ओभरल ओनरशीप होइन । त्यसैले पहिला प्रयास त गरौं, शुरु त गरौं । हामीले दिने ३० प्रतिशत हो की, ४० प्रतिशत हो की ? ४९ प्रतिशतसम्म हो कि ? कसरी दिने हो त्यो निधो गरौं, त्यो निधो गरिसकेपछि अनि हामीले बजारमा सूचना जारी गर्नेछौं । त्यसपछि मान्छेहरु आउँछन् । आइसकेपछि कतिपय केशमा राम्रो अवस्था भयो भने नियमकशीयसन पनि हुन सक्ने स्थिति हुन्छ । नेपाल स्टक एक्स्चेञ्ज नाफामुखी संस्था हाे । नाफामुखी संस्था भएकाेले यसमा निजी क्षेत्रकाे लगानी ल्याएर नेप्सेलाई प्रभावकारी बनाउन तपाईहरू किन तयार नभएकाे ? निजी क्षेत्रप्रति विश्वास नभएर हाे ? त्यसो पनि ठ्याक्कै होइन । के हो भने हाम्रो मुलुकमा यो जुन बजार छ । यो बजारलाई विस्तार तथा विकास गर्नको लागि बजारलाई तल्लो लेभलबाट माथिल्लो लेभल पुर्याएका अनुभव भएका लगानीकर्ताको चाहिएको छ । हाम्रोमा कर्मचारी खोज्दा पाइदैन । र, अहिले हामीलाई कमोडिटी मार्केट सञ्चालन गर्नुपर्यो । यसको रेगुलेशन बनाउनु पर्यो । कमोडिटी मार्केटको प्राविधिक पक्षको अध्ययन अनुसन्धान गर्नुपर्यो । कति जना मान्छे छन् बजारमा ? हाम्रामा अहिले बजारमा भएका मान्छे भनेको पहिला जजसले कमोडिटी मार्केट सञ्चालन गर्नुभएको थियो । उहाँहरुले जसैतसै काम गरिराख्नु भएको थियो । तर, यो भन्दा माथिल्लो लेभलको शीप र दक्ष हामीलाई चाहिन्छ । होइन, नेपालमा डिग्री गरेका मान्छे छन् उनीहरुलाई ल्याएर काम गरौं । यसरी हुँदैन । किनभने यो टेक्नीकल पक्ष हो । उदाहरणको लागि, बंगलादेशको मार्केट हाम्रो भन्दा कमजोर थियो, हाम्रो भन्दा । उहाँहरुले विदेशी रणनीति ल्याउनु भयो । त्यस्तै श्रीलंकामा पनि । अहिले बजारमा कसैलाई शीपहरु दिनुपर्यो भने उहाँहरु हामीसँग सहयोग माग्नुस्, हामी दिन्छौं भन्न सक्नेमा पुगेका छन् भने हामी सँधै कमजोर भएर बस्ने ? त्यसैले बजारलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनको लागि विदेशी शीप, विदेशी सावधानको पनि प्रयोग गर्नुपर्ने हुन्छ । त्यो पक्षमा यो राम्रो भएन, विदेश भित्रको कुराहरु गरिएन र विदेशबाट ल्याइयो भनेर दुःख मनाउ गर्नुपर्दैन । यसले बजारको विस्तार तथा विकास गर्यो भने यसको फाइदा लगानीकर्ताले र हामीले नै पाउने हो । यसले बजारलाई चुस्त दुरुस्त र विस्तृत रुपमा विकास गर्नुपर्ने हुन्छ । निजी क्षेत्रले बैंक, बीमा, हवाई, टेलिकम, हस्पिटल जस्ता प्राविधिक क्षेत्रमा पनि राम्राे गरेकाे देखिन्छ । सेयर बजारमा निजी क्षेत्रले किन राम्राे गर्न सक्दैन ? धितोपत्र बजार लिडरशीपमा चल्न सक्दैन ? धितोपत्र बजार वा स्टक एक्स्चेञ्ज नेपालीहरुको लिडरशीपमा चलेको छैन भन्न मिल्दैन । किनभने नेपालमा जति पनि मर्चेन्ट बैंकहरु छन्, ती सबै नेपालीले चलाएका छन् । विदेशी आएर चलाएका त पक्कै छैनन् । ५० वटा ब्रोकरहरुले काम गरिरहेका छन् । तपाईले भने जस्तै अरू क्षेत्रमा निजी क्षेत्रले राम्राे गर्दै गएकाे छ । तर हामी कुन ठाउँमा प्रवेश गर्न गइरहेका छौं भन्दा हामी नयाँ प्रविधिको युगमा प्रवेश गर्न गइरहेका छौं । जसको बारेमा हामीले अनुभव गरिरहेका छैनौं । त्यस्तो क्षेत्रको लागि हामीले आवश्यक पर्यो भने विदेशी टेक्नोलोजी पनि एडप्ट गर्नुपर्यो भन्ने कुरा मात्रै हो । त्यसैले हरेक क्षेत्रमा नेपालीहरु सक्षम छैनन्, उनीहरुले गर्न सक्दैनन् भन्ने होइन । अहिले हामीले त्यो विभिन्न शीप र प्रविधि लिने भनेको केही समयको लागि मात्रै हो । केही वर्ष बिताएपछि अर्थात जब हामी जान्ने हुन्छौं, सबै कुरामा दक्ष हुन्छौं । त्यतिखेर हामीलाई चाहिँदैन । त्यसपछि उनीहरुलाई फिर्ता गरिदिन्छौं । त्यसैले बजार विकास गर्नको लागि सर्टेन लेभलसम्म शीप विकास गर्नको लागि यिनीहरुलाई भित्र्याउनु पर्ने जरुरी हुन्छ । रिर्पोटिङ् सिस्टममा एनएफआरएस लागू गर्ने कुरा गर्नुभएको छ । नेप्सेमा सूचीकृत भएर सेयर कारोबार गर्ने कम्पनीहरु फरक फरक क्षेत्रका छन् । सबै प्रकारका कम्पनीहरुको वासलात एकै प्रकारको बनाउने, एकै प्रकारको स्ट्रक्चरमा प्रकाशित गर्ने भन्ने कुरा सम्भव छ ? होइन । त्यो सबै किसिमको एउटै फरम्याट भन्ने हुँदैन । यसमा के हो भने कुनै पनि संगठित संस्थाहरुले आफ्ना लगानीकर्तालाई अथवा सरोकारवाला पक्षहरुलाई कुन लेभलको इन्फरमेसन दिनुपर्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो । उसको ब्यालेन्ससीटको ढाँचा यस्तो किसिमको हुनुपर्छ भन्ने कुरा त चार्टर्ड एशोसियसनले गरिहाल्छ नि । एनएफआरएसमा आईहाल्छ । हामीले भनेको के हो भने, लेभल हो । कुन लेभलसम्मको इन्फरमेसन दिनुपर्छ । संस्था कसरी चलिरहेको छ । व्यवस्थापन कस्तो छ । संचालकहरु कस्ता छन् । कारोबारहरु के छन् । त्यसभित्रको जोखिम के छ ? संस्थाको आगामी वर्षको प्रक्षेपण कस्तो देखिन्छ ? आगामी योजनाहरु के छन् ? यस्ता कुराहरु जुन लगानीकर्ताहरुलाई बजारमा लगानी गर्नको निम्ति डिसिजन गर्नको निम्ति चाहिन्छ । त्यस्ता किसिमका इन्फरमेसनहरु तय गर्ने हो । र, उनीहरुले विवरणहरु दिँदा फाइनान्सियल स्किल्सहरु तयार पारेका हुन्छन् । त्यसले मात्रै लगानीकर्तालाई डिसिजन गर्नको लागि पर्याप्त हुँदैन । त्यसैले त्यो देखि बाहेकका अरु अरु इन्फरमेसनहरु चाहिन्छ । प्रायः कम्पनीहरुको वार्षिक प्रतिवेदनमा फाइनान्सियलका अतिरिक्त अरु धेरै इन्फरमेसनहरु हुन्छ । जुन लगानीकर्तालाई लगानी गर्ने डिसिजन लिन सहयोग पुर्याएका हुन्छन् । ती कुराहरुलाई तय गरेर यो किसिमको फरम्याटमा यो किसिमको रिपोर्टिङ हाम्रा लगानीकर्तालाई दिनु पर्छ है भनेर तय गरि दिने व्यवस्था हो । फरक फरक कम्पनीहरुको फरक फरक विवरण हुन्छ तर, लगानीकर्तालाई लगानी गर्नको लागि चाहिने आवश्यक कमन कुराहरु दिने गरी सिष्टम डिजाइन गर्ने हो । पब्लिकलाई नेसेसरी इन्फरमेसन दिनको लागि सूचीकृत कम्पनीहरुको आधारभूत सूचकांकहरु एउटै पेलफर्ममा शो हुने गरी सरकारी निकाय अथवा नेपाल धितोपत्र बोर्ड आफैले पनि प्रस्तुत गर्न सकेको छैन । नेप्से आफैले पनि गरेको छैन । यो विषयमा किन अगाडि बढ्नु भएन ? त्यहि बढेकाे छैन र त अब बढ्ने हो नि । यसको कम्प्लिट कुनै योजना छ ? यस्तो किसिमको प्लेटफर्म डेभलप गर्दैछौं । यो यसको ओनरशीप यो हुन्छ यसको ओनरशीप यो हुन्छ भनेर कुनै एउटा प्लान बनाउनु भएको छ ? यो खालको इन्फरमेसन दिनको लागि केही कामहरु भएका छन् । जस्तै, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन तयार गर्दा त्यसमा केहि कुराहरु आएका छन् । संस्थाको कर्पोरेट गभर्नेन्सको कुराहरु गरे । तर फाइनान्सियलको बारेमा धितोपत्र बोर्ड आफैले ढाँचाहरु विकास गरेर सबैमा लागू गरेर सबैलाई पर्याप्त इन्फरमेसन दिने कुरा भएको छैन । त्यसैले हामी त्यसैमा लागेका हौं । यो भएपछि सबैभन्दा पहिला इन्फरमेसन आउँछ । प्रोसेसिङ गर्छौं । नेप्सेले पनि लगानीकर्तालाई चाहिने इन्फरमेसनहरु आफ्नो वेवसाइटमा राख्छ । अनि बजारले बेसिक इन्फरमेसन पाइसकेपछि यस बारेमा एनालाईसिस गर्न सक्ने क्षमता वृद्धि हुन्छ । इन्साइडर ट्रेडिङलाई निरुत्साहित गर्ने सूचना प्रवाहलाई व्यवस्थित बनाउने कुरा गर्नु भएको छ । अहिलेको बजारमा कुनै कम्पनीको सेयर ह्वात्त बढ्यो वा घट्यो किन घटबढ भयो भन्ने रिजन पाउन २/३ दिन कुर्नुपर्छ । त्यसपछि बल्ल कम्पनीको इन्फरमेसन सार्वजनिक हुन्छ । यस्तो किसिमको समस्या कहिलेसम्म रहिरहला बजारमा ? तपाईंले भनेका कुरा ठिकै हो । कतिपय कुराहरु के हुन्छ भने कहिले काहि भित्रका कुराहरु समयमा बाहिर नआइदिँदा सेयर बजारमा प्रभाव पर्ने हुन्छ । कतिपय कुरा लगानीकर्ता आफैले अब यो कम्पनीको स्थिति यस्तो हुँदैछ है भनेर पूर्वानुमान गरेर पनि कारोबार गर्ने हुन्छ । तर भित्रको इन्फरमेसनलाई दुरुपयोग गरेर कसैले बजारमा प्राइस म्यानुपुलेट गर्छ भने त्यो गैरकानुनी काम हो । त्यस्तो कारोबारलाई भित्री सूचनाहरुको प्रयोगबाट अरुलाई प्रभाव पार्न मिल्दैन । अन्य मूलकमा यस्ता मानिसलाई धेरै ठूलो सजाय दिइन्छ । हाम्रामा त्यो छैन । त्यसैले हाम्रो धितोपत्र ऐनलाई नै परिष्किृत बनाएर अघि लैजानु पर्छ भनेका छौं । त्यसको लागि बोर्डले काम गरिरहेको छ । तपाईंले नेप्से इन्डेक्स ट्रेडिङ सुरुवात गर्छौं भन्नुभएको छ । जुन बोर्डले पहिलेदेखि भन्दै आएको थियो । यो सधै डकुमेन्टेसन रिपिटेसन हो कि प्राक्टिकल्ली पनि त्यो बजारमा कार्यान्वयन भएर आउँछ ? हामीले यो सबै कार्यक्रमहरु राखेका छौं । अब के हुन्छ भन्ने कुरा एक वर्ष बितेपछि इभ्यालुयसन गर्ने कुरा हो । वर्षौ पिच्छे आयो भन्ने तिर नजाऔं । जति खेर इभ्यालुयसन गर्ने कुरा आउँछ त्यति खेर फेरि इभ्यालुयसन गर्छौं । सेयर बजार अलिकति घट्यो बढ्यो भने सर्किट ब्रेक लागेर बन्द गरिदिनुहुन्छ । यस्तो अभ्यास भइरहेको ठाउँमा कसरी तपाईंहरु इन्डेक्स ट्रेडिङ गर्न सक्नु हुन्छ ? इन्डेक्स ट्रेडिङ त मार्केट जति घटेपनि जति बढेपनि निरन्तर गरिरहनु पर्ने होइन ? हो । इन्डेक्स ट्रेडिङ गर्ने सन्दर्भमा केहि मोडालिटीहरु विकास गर्नुपर्ने हुन्छ । अहिलेको जुन नेप्से इन्डेक्स छ नि, त्यसमा किन कारोबार हुन सकेन भने त्यसभित्र रहेका कमजोरीका कारणले हुन सकेन । जुन किसिमको ट्रेडिङ गर्नुपर्ने हुन्छ, त्यो इन्डेक्स बेस ट्रेडिङ हुनुपर्छ । त्यसको लागि एउटा भरपर्दो इन्डेक्स तयार गर्नुपर्छ । अहिलेको नेप्से इन्डेक्स भरपर्दो छैन ? अहिलेको जुन नेप्से इन्डेक्स छ, त्यो ट्रेडिङ गर्ने इन्डेक्स होइन । त्यसो भए पब्लिकलाई किन भ्रममा पार्ने ? आखिर कम्पनीहरुको सेयर मूल्य ५/७ रुपैयाँ तल माथि भइरहेको हुन्छ । सेयर मार्केट चाहि सर्किट ब्रेक लागिरहेको हुन्छ । यो भ्रम किन पारिरहने ? त्यसो होइन । हामीले त्यसरी भन्नु हुँदैन । विदेशमा एसएमपी इन्डेक्स, एसएमपी इन्डेक्स फिफ्टी भन्छन् । त्यहाँ ५ हजार किसिमका सेयरका कारोबार हुन्छ । त्यो एसएमपी इन्डेक्स फिफ्टी किन बनायो, विभिन्न किसिमका इन्डेक्सको आवश्यकता के ? यो भनेको के हो भने सेयरको कारोबार गर्नलाई, इन्डेक्सको ट्रेड गर्नलाई स्ट्याबल किसिमका सेयरहरुलाई राखेर अर्थतन्त्रका विभिन्न क्षेत्रहरुको रिप्रिजेन्ट हुने गरी भरपर्दो इन्डेक्स बनाउनु पर्छ भनेको हो । हामी ७ प्रतिशतले इकोनोमी ग्रोथ हुन्छ भन्छौं । इन्डेक्समा पनि त ७ प्रतिशत भन्दा माथिको ग्रोथ हुनु पर्यो नि । सबै क्षेत्रका ठूला कम्पनीहरुलाई राखेर इन्डेक्स बनाउनु पर्छ । जोसँग बजारममा सेयर मूल्यलाई तल माथि गर्न सक्ने अवस्था नहोस् । त्यसपछि मात्र जनताको विश्वास हुन्छ त्यो इन्डेक्समा । र, लगानी गर्छन् । हामीले गर्ने के हो भने पहिला इन्डेक्स सेट गर्नुपर्छ । त्यसपछि त्यसलाई ट्रेड गराउने व्यवस्था गर्नुपर्छ । हामीसँग अहिले इन्डेक्स नभएको होइन । इन्डेक्स छ । सब इन्डेक्सहरु छन् । तर, त्यो इन्डेक्स ट्रेड गराउने लायकको इन्डेक्स होइनन् । त्यसैले ट्रेड गराउनको लाग हो भने त्यसको लागि छुट्टै मोडालिटी बनाउनु पर्छ । जसको लागि हामीले यसपाली वार्षिक कार्यक्रममा राखेका छौं । आउने सालमा कमसेकम एउटा इन्डेक्समा काम गराउने प्रयास गर्छौं । वार्षिक कार्यक्रममा राखेका कुराहरु सबै एक वर्ष भित्रमा कार्यान्वयनमा आउछन् ?  हामीले जबसम्म यो काम गर्छु भनेर लाग्दैनौं । तबसम्म त्यो काम हुँदै हुँदैन । यी हामीले गर्ने कामहरु दशौं वर्ष लगाएर गर्ने काम होइनन् । किनभने हामीले अर्को साल त अरु धेरै कामहरु गर्नुपर्ने हुन्छ । त्यसैले हामीले यी ५७ वटा कामहरु गर्छौं भनेर लागेका छौं । समयले साथ दिएसम्म सम्पन्नै गर्ने भनेर लाग्छौं । तपाईंहरुले पनि ४/५ महिना पछि यो काम त अलि ढिलो भइराछ नि भनेर घच्घचाउनुहोस् । यी काम देखाउनको लागि होइन गर्नकै लागि ल्याएका हौं । गर्छौं पनि । अहिले धेरै चर्चामा भएको विषय, बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरामा के हो तपाईंको योजना ? बैंकलाई ब्रोकर लाइसेन्स दिनु पर्छ या पर्दैन भन्ने विषयमा अहिलेसम्म समझदारी भएकाे मैले देखेको छैन । संसदीय समिति नै बनेर प्रतिवेदन बुझाएको छ । त्यसमा के हुन्छ ? संसदीय समितिले अध्ययन गरेर भर्खरै रिपोर्ट बुझायो रे भन्ने कुरा मैले सुन्नमा आएको छ । मकहाँ त्यो रिपोर्ट अहिलेसम्म आएको छैन । अब त्यसका पनि आफ्ना प्रकृयाहरु छन् । उहाँहरुले मन्त्रालयमा बुझाउनु हुन्छ । मन्त्रालयबाट यहाँ आउँछ । त्यो रिपोर्टमा के छ नहेरी अहिले मैले भन्न सक्ने अवस्था छैन । रिपोर्ट आएपछि हेरौं, के कस्तो छ । त्यसपछि मात्रै निर्धारण हुन्छ । अहिले स्टक ब्रोकरहरुले जुन किसिमको सर्भिसहरु दिइरहेका छन् । त्यो क्वालिटीको छैन । लगानीकर्ताले यो कुरा भनिरहेका छन् । तपाईंले सुन्नु भएको छ ? त्यहि सुनेको हुनाले नै अहिले हाम्रो दोश्रो बजारको जुन कारोबार छ । त्यसलाई टीएमएस म्यानेजमेन्टलाई इम्प्रुभ गराउने कुरा ल्याएका छौं । अहिले ३ वटा कुरा कमी छ । एउटा, हाम्रो जुन ओभरल सिष्टम चल्नलाई धेरै कुरालाई समिश्रण गरेर अघि बढ्नु पर्ने हुन्छ । हाम्रो ब्रोकर आफै र ब्रोकरको सिस्टम इफिसियन्ट हुनु पर्छ । नेप्से आफै र नेप्सेको ट्रेडिङ सिष्टम इफिसियन्ट हुनुपर्छ । सीडिएससीको सिष्टम पनि इफिसियन्ट हुनुपर्छ । दाेश्राे, बैंकसँग इन्टिग्रेट हुन सकेको छैन नि त्यस मेकानिजमलाई पनि डेभलप गर्नुपर्ने हुन्छ । त्यतिमात्र नभएर त्यो सिष्टमबाट लिने इन्फरमेसन र सर्भिलेन्स सिष्टमलाई बलियो तथा विश्वाशीलो बनाउनु पर्ने हुन्छ । अर्काे, डीपीहरुसँगको कारोबारलाई पनि व्यवस्थित गर्नुपर्ने हुन्छ । बैंकहरुको जस्तो दुई चारवटा सिष्टममा मात्र इन्टिग्रेट भएर काम हुने सिष्टम होइन । क्यापिटल मार्केटको काम त्यो भन्दा धेरै नै सबस्टिकेटेड छ । त्यसैले यी सबै कुरालाई व्यवस्थित गर्नलाई अहिले ब्रोकरहरुको टीएमएस, ब्रोकरहरुको ब्याक अफिस, ब्रोकरहरुसँगको बैंक इन्टिग्रेसनको पाटोलाई छुट्टै किसिमले सञ्चालन गर्नुपर्छ भनेर ब्रोकर र बैंकहरुलाई यो सम्बन्धमा अघि बढ्न निर्देशन दिइसकेका छौं । र, उहाँहरुले आफ्नो काम शुरु गरिसक्नु भएको छ । हेरौं पाँच छ महिनामा त्यो सिष्टमलाई फुल्ली डेभलप गर्न सक्यौं भने बजारमा यस किसिमको समस्या आउँदैन । समस्या कहाँ छ भने ब्रोकरको काममा होइन ब्रोकरको सिष्टममा छ । नेप्से कमजोर भयो भने त्यसको सिष्टममा समस्या हुन्छ । ब्रोकरहरुको क्षमतालाई विकास गर्दै लैजाउँ । बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन जरुरी छैन । भन्ने तपाईंको पाटो हो ? होइन । मैले त्यो भनेको छैन । हाम्रो सिष्टमलाई चलाउने सन्दर्भमा विभिन्न किसिमका अल्टरनेटहरु हुन्छन् । कुनै एउटा सिष्टमले राम्रोसँग काम गर्न सकेन भने हामीले अर्को अल्टरनेट सोच्नु पर्ने हुन्छ । त्यसैले सबै किसिमका अल्टरनेटहरु एकैपल्ट लैजानु नपर्ने पनि हुन सक्छ । हाम्रो आवश्यकता के हो ? हाम्रो चाहना के हो ? हामी कुन मोडलबाट कसरी विकास भएर गइरहेका छौं । त्यो कुरालाई एउटा भिजन लिएर जानुपर्छ । त्यसैले जहाँ समस्या छ, त्यसको समाधान गर्नुपर्छ ।  ब्रोकर कम्पनीहरुले राम्रो सर्भिस दिन सकेन । बैंकहरु पुँजी, प्रविधि, जनशक्ति, सञ्जालको हिसावले प्रभावकारी छन् । पुँजी बजारलाई रिङरोड भित्र मात्र नराखेर बाहिरका सर्वसाधारणको पहुँचमा लैजाने हो, स्टक होल्डरले दिने सेवाको स्तरलाई माथि लैजाने हो भने बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनु पर्छ भनेर यो भन्दा अघि बोर्डको अध्यक्ष डा. रेवत बहादुर कार्की धेरै मिहेनत गर्नुभयाे तर सफलता मिलेन । अब तपाईंको कार्यकालमा के हुन्छ ? अब पूर्व अध्यक्षले के भन्नुभयो, कसरी गर्नुभयो, उहाँको विचार के हो । त्यसबारेमा केही भन्न चाहन्न । त्यो सिष्टम ठिक छैन वा त्यस्तो लाग्थ्यो भने उहाँले आफ्नो कार्यकालमा त्यो गरिसक्नु पर्थ्यो । उहाँले यसो भन्नुभयो त्यसैले अरुले पनि त्यसै गर्नुपर्छ भन्ने पनि होइन । सबैको आ आफ्नो दृष्टिकोण, आ आफ्नो विचार, आ आफ्नो रोडम्याप हुन्छ । त्यो रोड म्याप अनुसार काम गर्ने हो । म एउटै कुरा के भन्छु भने, कुनै पनि ठाउँमा कुनै पनि समस्या छ भने, त्यो समस्या कुन किसिमले समाधान हुन्छ भन्ने किसिमले हामीले हेरिदिनु पर्ने हुन्छ । एउटाले यो भन्या छ भन्दैमा हामीले त्यसको पछि लागेर हिड्नु हुँदैन । हामीले अध्ययन गर्छौं । र, अध्ययन गरिसकेपछि यो मोडलमा जाने भन्ने कुराको निधो गरेपछि मात्रै अघि बढ्नु पर्छ । हामी हावाको भरमा अघि बढ्दैनौं । हामी सञ्चारकर्मी वा लगानीकर्ताले कसरी बुझ्ने ? धितोपत्र बोर्डले बैंकलाई ब्रोकर लाइसेन्स दिन चाहन्छ या चाहँदैन ? बजारमा सिष्टम डभेलप गर्ने भन्ने कुरा एक पक्षबाट हुँदैन । विभिन्न पक्षहरुको दृष्टिकोण, विभिन्न पक्षहरुको सहमतिले पनि निर्धारण गर्ने कुरा हो । त्यसैले, तपाईंले भन्नुभएको जसरी दिने हो या होइन भन्ने कुराको ठोस उत्तर नै आएको छैन त म कसरी भनौं । जुन दिन दिनुपर्छ भन्ने निर्णय हुन्छ त्यो दिनदेखि हामीले दिन्छौं । तर, दिनु पर्छ या दिनुपर्दैन भन्ने कुराको क्लियर नभईकन हामी आफैले पनि भन्न मिल्दैन । अहिले यो यसरी भन्ने बेला आइसकेको छैन । जबकी मैले रिपोर्ट पनि पढ्न पाएको छैन ।

मैले पाउने मत माेटामाेटी आकलन गरिसकेँ, चुनाव जित्छु-रामचन्द्र संघई

रामचन्द्र संघई, एशोसियट उपाध्यक्ष उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासंघ त्रिवेणी ग्रुपका प्रबन्ध निर्देशक रामचन्द्र संघई नेपालको कर्पोरेट क्षेत्रको परिचित नाम हो । नेपालबाट सबैभन्दा बढी निर्यात गरेकोमा गत वर्षमात्र नेपाल सरकारले उहाँलाई कमर्सियल इम्पोटेन्ट पर्सन (सीआईपी) अवार्ड समेत प्रदान गरेको थियो । यहि साउन २६ र २७ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा संघईले एसोशिएट उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । एशोसिएट उपाध्यक्ष रोजगार परिषद्को पदेन सभापति हुने व्यवस्था रहेको छ । उद्योग, व्यापार र सेवाका क्षेत्रमा एक दर्जनभन्दा बढी कम्पनीहरु चलाईरहेको र १६ हजार भन्दा बढी मानिसलाई रोजगारी दिएको  त्रिवेणी ग्रुपका प्रबन्ध निर्देशक संघई निर्वाचनमा विजयी भएका श्रमिक र रोजगारदाताबीचको सम्बन्ध राम्रो बनाउने बताउनु हुन्छ । प्रस्तुत छ कोभिड–१९ले व्यवसायमा पारेको असर र आगामी निर्वाचनको विषयमा केन्द्रीत रहेर विकासन्युजले गरेको विकास वहस । त्रिवेणी ग्रुप उद्योग, व्यापार र सेवा क्षेत्रमा ठूलो लगानी रहेको व्यावसायिक घराना हो । कोभिड–१९ र लकडाउनले व्यवसायमा कस्तो असर पारेको छ ? सर्वप्रथम त त्रिवेणी ग्रुपको बारेमा जानकारी राख्नुभएकोमा यहाँलाई धन्यवाद । कोभिड–१९ को संकट हाम्रा लागि मात्र नभएर सम्पूर्ण विश्वकै लागि अप्रत्याशित थियो । विश्वका ठूला अर्थतन्त्र भएका मुलुकलाई समेत यस्तो समस्या समाधान गर्न गाह्रो परेको अवस्थामा हामीलाई पनि पक्कै सजिलो त थिएन । नेपालको निर्यात क्षेत्र पुरै ठप्प भयो र अझै समस्यमा छ । नेपालले समयमै वाह्य सीमाहरु बन्द गरेका कारण कोभिड संक्रमण पनि भयावह हुने गरी फैलिन नपाएका कारण हामीले अपेक्षा गरेभन्दा कम नै प्रभाव परेको छ । तर पनि साना ठूला सबै उद्योग व्यवसायीलाई समस्या परेको छ । तीन महिनासम्म पूर्ण लकडाउनमा रहनुपर्दा हाम्रा पनि उद्योग व्यवसाय पूरै ठप्प रहे । त्यसको क्षति न्यूनीकरणका लागि हामीले धेरै मेहनत गर्नुपर्नेछ । हाम्रो आन्तरिक बजार त चाँडै नै रिभाइभ होला तर हामी त निकासीमूलक व्यवसायमा पनि भएकाले वाह्य बजार हाम्रो नियन्त्रणमा हुँदैन । त्यसैले कोभिड–१९ र लकडाउनले हामीलाई आर्थिक, सामाजिक, मनोवैज्ञानिक सबै प्रकारका असर पारे पनि हामी विस्तारै माथि उठ्ने प्रयासमा छौं । अब व्यावसायिक गतिविधि नियमित हुन कति समय लाग्ला ? सरकारले लकडाउनको मोडालिटी केही परिवर्तन गरेसँगै निश्चय पनि आर्थिक गतिविधि बढ्न थालेको छ । सडकमा सार्वजनिक यातायातसमेत आंशिक सूचारु भइसकेको अवस्स्थामा मानिसहरु काममा फर्किन थालेको अवस्था छ । हामीले पनि प्रशासनिक काम त सुरु गरिसकेका छौं । सेवा क्षेत्रमा पनि केही काम भइरहेका छन् तर, उत्पादन क्षेत्रमा अझै पनि समस्या छन् । आन्तरिक खपतका वस्तु उत्पादन चाँडै रिभाइभ भए पनि निकासीमूलक व्यवसायलाई केही समय लाग्छ । तीन महिना लकडाउनले घरमै बस्नुपरेका नेपालीको उत्साह हेर्दा लाग्छ कि अब चाँडै नै व्यावसायिक गतिविधि पनि नियमित हुनेछ । कोरोना भाइरस र कोभिड–१९ को अन्त्य चाँडै नहुने विश्वव्यापी अध्ययन अनुसन्धानले देखाइसकेकाले अब हामी यसको खोप वा औषधि पर्खेर बस्ने अवस्थामा छैनौं । हामीले सुरक्षात्मक उपायहरु अवलम्बन गरेर काममा फर्कने र दैनिक गतिविधि सूचारु गर्नुको कुनै विकल्प देखिँदैन । कोभिड–१९ पछि व्यावसायिक संस्कारमा कस्तो परिवर्तन आउला ? कोभिड–१९ ले अर्थतन्त्र र मानव स्वास्थ्यमा ठूलो क्षति पु¥याए पनि हामीलाई धेरै कुरा सिकाएको पनि छ । हामीले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने देखाएको छ र यसको प्रत्यक्ष प्रभाव हाम्रो व्यवसाय र व्यावसायिक संस्कारमा पनि देखिनेछ । अबको व्यवसाय भौतिकभन्दा पनि बढी डिजिटल हुने देखिन्छ र सूचना प्रविधिको अधिकतम उपयोगका माध्यमले हामी अगाडि बढ्नुपर्ने देखिन्छ । उपभोक्ताको फेरिँदो रुचि र आवश्यकताका आधारमा हामी उत्पादक र सेवा प्रवाह गर्ने व्यवसायीहरु पनि चल्नुपर्छ । हाम्रो व्यावसायिक संस्कार भन्नु नै उपभोक्तामुखी हो र अहिलेको अवस्थामा उपभोक्तालाई डिजिटलका माध्यमले नै सेवा प्रवाह गर्न सकियो भने हाम्रो व्यावसायिक लागत पनि घट्न सक्छ । यसैले मलाई लाग्छ कि अब हामी परम्परागत ढंगभन्दा माथि उठ्नु जरुरी भइसकेको छ । अर्को महत्वपूर्ण विषय के हो भने कोभिड–१९ले हामीलाई आत्मनिर्भर बन्नको लागि उत्प्रेरित गरेको छ । आज विश्व पुरै बन्द भएको अवस्थामा हामी आफूलाई चाहिने खाद्यन्य, औषधि, कपडा लगायत अत्यावश्यक बस्तुहरु आफैले उत्पादनु गर्नुपर्छ, कृषिलाई निकै प्राथमिकता दिनुपर्छ भन्ने सन्देश कोभिडले दिएको छ । कोभिड–१९ पछि आएको नेपाल सरकारको बजेट र राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले पनि त्यसतर्फ जोड दिएको हामीले पाएका छौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट समूहको उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । तपाइँको चुनावी एजेण्डका के छन् ? हो, साउन २६ र २७ गते हुने महासंघको ५४ औं साधारणसभा तथा निर्वाचनमा मैले एशोसिएटतर्फ उपाध्यक्षको उम्मेदवारी दिने निर्णय सार्वजनिक गरिसकेको छु । मैले चन्द्र ढकालजी को जुन टिमबाट उम्मेदवारी घोषणा गर्ने बेलामा पनि भनिसकेको छु कि निजी क्षेत्रको सम्वद्र्धन र संरक्षणका लागि सरकारसँग हातेमालो गर्दै अगाडि बढ्ने नै मेरो योजना हुनेछ । महासंघको सिंगो शरीरमा रक्तसञ्चार गर्ने धमनी भनेकै एशोसिएट समूह भएकाले यसलाई निर्वाध सञ्चालनमा गराउन, त्यसको गति अवरुद्ध हुन नदिन मैले आफ्नो अनुभव, ज्ञान तथा विवेकको पूर्ण उपयोग गर्नेछु । एशोसिएट उपाध्यक्ष रोजगारदाता परिषदको सभापति पनि हो र मैले विगतमा यही परिषदमा रहेर सहसभापतिको भूमिमा निर्वाह गरिसकेको छु । हाम्रो त्रिवेणी समूह अन्तर्गत अहिले पनि करिब १६ हजार व्यक्ति कार्यरत रहेकाले असल श्रम सम्बन्ध भनेको के हो भन्ने मैले बुझेको छु । एशोसिएट उपाध्यक्ष रोजगारदाता परिषदको सभापति पनि हो र मैले विगतमा यही परिषदमा रहेर सहसभापतिको भूमिमा निर्वाह गरिसकेको छु । हाम्रो त्रिवेणी समूह अन्तर्गत अहिले पनि करिब १६ हजार व्यक्ति कार्यरत रहेकाले असल श्रम सम्बन्ध भनेको के हो भन्ने मैले बुझेको छु । यतिमात्र नभइ उत्पादनमूलक, सेवामूलक, व्यापार सबै क्षेत्रम म प्रत्यक्ष संलग्न रहेकाले यी क्षेत्रमा रहेका समस्या र सम्भावनाको गहिराइको ज्ञान मलाई राम्रोसँग रहेको छ । सरकारले यसै वर्ष मलाई उत्कृष्ठ निकासीकर्ताका रुपमा कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन (सीआईपी) अवार्ड प्रदान गरेको यहाँलाई स्मरण गराउँदै सम्पूर्ण निजी क्षेत्रलाई यस्तो सम्मानको लायक बनाउने मेरो ध्येय रहनेछ । मतदाताहरुले तपाइँलाई नै किन मतदान गर्ने ? महासंघमा तपाइँको योगदान के छ ? महासंघ निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था हो र म त्यसमा प्रत्यक्ष रुपमा विगत डेढ दशकदेखि जोडिएको पनि छु । महासंघमा मैले धेरै नेतृत्वसँग नजिक रहेर काम गरेको अनुभव पनि छ र अब त्यो अनुभवका आधारमा मैले नेतृत्व तहमा जान खोजेको हो । विगतमा महासंघमा कार्यकारिणी समिति सदस्य मात्र रहे पनि अब उपाध्यक्षमा रहेर मेरो व्यावसायिक र संस्थागत अनुभव, ज्ञान, सीप र विवेक निजी क्षेत्रको उन्नति र समृद्धिमा लगाउने दृढ इच्छाशक्तिका कारण मैले यो निर्णय लिएको हो । विगतमा मैले व्यवसाय पनि हेर्नुपर्ने कारणले महासंघमा समय दिन सक्दिनँ कि भनेर नेतृत्व तहमा जाने इच्छा देखाइनँ तर अहिले मेरो व्यवासायमा अर्को पुस्ता नेतृत्व सम्हाल्न सक्षम भइसकेकाले म महासंघलाई पर्याप्त समय दिन सक्छु भन्ने लागेर पनि म उपाध्यक्षका लागि तयार भएको हो । मैले विगतमा रोजगारदाता परिषदको सहसभापति रहेर योगदान पु¥याएको छु । म कहिल्यै पनि कुनै समिति माग्न नेतृत्वसँग गइनँ तर दिइएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको छु । यसैले एशोसिएटका विवेकशील अग्रज तथा मित्रहरुले मलाई एकपटक सेवा गर्ने अवसर दिनुहुनेछ भन्ने ठानेको छु । महासंघमा एशोसिएट सदस्य नै सबैभन्दा धेरै छन् र सबैभन्दा बढी मतदाता पनि एशोसियट हुन् । तर, एशोसिएट उपाध्यक्षको हैसियत महासंघमा कमजोर छ । एशोसिएट उपाध्यक्षको अधिकार र भूमिका वृद्धि गर्न तपाइँको भूमिका कस्तो हुन्छ ? एशोसिएट उपाध्यक्षको भूमिका कम भएजस्तो त मलाई लाग्दैन । महासंघको विधान र कार्यविधिमा नै एशोसिएटको भूमिका स्पष्ट छ । तीन उपाध्यक्षमध्ये मर्यादाक्रममा तल राखिएको विषयलाई तपाइँले इंगित गर्न खोज्नुभएको हुनसक्छ । तर, आफ्नो भूमिका पदले भन्दा पनि कामले देखाउने हो भन्ने मलाई लाग्दछ । असल श्रम सम्बन्ध निर्माणदेखि लगानीको वातावरण निर्माणसम्म एशोसिएटकै क्षेत्रमा पर्दछ । वस्तुगत र जिल्ला नगरका व्यवसायी साथीहरुको पनि व्यवसायको आकार बढ्ने वित्तिकै उहाँहरु आउने एशोसिएटमै हो । अर्कोतर्फ यसमा प्रत्यक्ष सदस्यता प्रणाली भएकाले भोटिङका लागि कुनै अर्को संगठनबाट निर्वाचित भएर आउनुपर्ने अवस्था पनि छैन । तपाइँले इंगित गर्नुभएको जस्तै प्रतिशतका आधारमा यस क्षेत्रको प्रतिनिधित्व कम भएको भने म स्वीकार गर्छु र यसलाई बढाउने मेरो प्रयत्न रहनेछ । यद्यपि, हामीले सामूहिक निर्णयमा विश्वास राख्नु आवश्यक छ । महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी र सदस्यहरुबीच दुई समूह बनाएर प्रतिस्पर्धा हुने गरेको छ । आगामी निर्वाचनमा चन्द्रप्रसाद ढकाल भर्सेर किशोर प्रधान टीमबीच प्रतिस्पर्धा हुँदैछ । तपाइँले चन्द्र ढकालको टिम किन रोज्नुभयो ? महासंघमा मैले धेरै पूर्वअध्यक्षसँग नजिक रहेर काम गर्ने अवसर पाएको छु । सबैका आफ्नै विशेषता छन् भने कमजोरीरहित व्यक्ति कोही पनि हुँदैन । विगतदेखि नै महासंघमा मन मिल्ने साथीहरुको टिम बनाएर निर्वाचनमा जाने प्रचलन रहिआएको हो र यस वर्ष पनि त्यसले निरन्तरता पाएको मात्र हो । निर्वाचन नभइ सर्वसम्मति भएको भए अझै राम्रो हुन्थ्यो तर स्वस्थ प्रतिस्पर्धाका आधारमा निर्वाचन हुन्छ भने त्यसलाई पनि खराब भन्न मिल्दैन, यो प्रजातान्त्रिक संस्कार पनि हो । निर्वाचनको दिनसम्म हामी दुई समूह भए पनि निर्वाचनको परिणामसँगै हामी सबै एउटै समूह हौं । यसैले हामी अरुको कमजोरी देखाएर नभइ आफ्नो क्षमताका आधारमा निर्वाचनमा जानुपर्छ र गएका छौं । जहाँसम्म चन्द्र ढकालजीको टिममा नै किन तपाइँ जानुभयो भन्ने प्रश्न गर्नुभयो, यो त्यति ठूलो कुरा हो जस्तो पनि मलाई लाग्दैन । ढकालजीलाई हामीले शेखर गोल्छापछिको अध्यक्षका रुपमा सबल र सक्षम नेतृत्व दिनसक्ने व्यक्तिका रुपमा पाएर नै साथ दिएका हौं । उहाँले आफ्नो व्यवसायसँगै सबैखाले व्यवसायीसँग गर्ने समान व्यवहार, नीति निर्माण तहसम्मको पहुँचजस्ता विषयले सम्पूर्ण निजी क्षेत्रलाई नै फाइदा हुन्छ र महासंघको गरिमा माथि जान्छ भन्ने लागेर नै हामी सामूहिक रुपमा अगाडि बढ्न खोजेका हौं । मैले अघि पनि भनेँ कि मन मिल्ने साथीहरु एउटै टिममा हुनु स्वाभाविक हो र ढकालजी एशोसिएट समूहबाटै सदस्य र उपाध्यक्ष भइसक्नु भएकाले उहाँको अनुभवले मलाई पनि राम्रो हुन्छ र सहयोग पुग्ने भएकाले र म पनि सोही समूहको भएकाले एउटै समूहमा भएका हौं । एशोसिएटबाट तपाइँले कति मत पाउने अनुमान छ र यस क्षेत्रबाट चन्द्र ढकालले कति मत पाउने सम्भावना देख्नुहुन्छ ? कति मत पाउँछु भनेर मोटामोटी आकलन गरिसके पनि म अहिल्यै यसलाई सार्वजनिक गर्नु त्यति उपयुक्त ठान्दिनँ । एशोसिएटका सबै मतदाता विवेकशील हुनुहुन्छ र आफ्नो व्यवसायमा पनि उत्तिकै सवल र सक्षम भएकाले नेतृत्व चयनमा पनि यसैगरी विवेक पु¥याउनु हुन्छ भन्नेमात्र मलाई विश्वास छ । निश्चय पनि निर्वाचनमा जित्नकै लागि भाग लिइने हो र म त्यसमा भने विश्वास राख्दछु । अहिलेसम्म कति प्रोक्सी संकलन भए ? मलाई लाग्छ, यो प्रोक्सी भन्ने शब्द चयन धेरै भइरे पनि यो नितान्त गलत छ । व्यवसायी अग्रज तथा मित्रहरुको व्यस्तताका कारण उहाँहरु आफैं आउन सक्नुहुन्न भने उहाँहरुले प्रतिनिधि पठाउनु हुन्छ । यसैले उहाँहरुलाई प्रोक्सी नभइ प्रतिनिधि भनौं र यो हामीले संकलन गर्नेभन्दा पनि उहाँहरुले नै विधान र कार्यविधिअनुसार पठाउने हो । पठाइरहनु भएको पनि छ । यसका लागि समय सीमा पनि छ र केही दिनमै यसको आधिकारिक तथ्यांक थाहा हुनेछ । कोभिड–१९ का कारण व्यवसायीहरु आर्थिक संकटमा छन् । तपाइँहरुलाई चुनाव लागेको छ । यस्तो बेलामा भोट माग्दा व्यवसायीहरुले कस्तो प्रतिक्रिया दिइरहेका छन् ? महासंघले निर्वाचनको मिति सार्वजनिक गरेको बेलासम्म त निर्वाचन होला र ? भन्ने जुन आशंका गरिँदै थियो अहिले पूरै माहौल बनिसकेको छ । कोरोना संक्रमितको तथ्यांक पनि क्रमशः घट्दो स्थितिमा भएकाले अहिले निर्वाचन हुने अवस्था नै देखिन्छ । हामीले सामूहिक र व्यक्तिगत भेटघाटलाई विस्तारै अगाडि बढाइरहेका छौं । सबैले सकारात्मक प्रतिक्रियाहरु दिइरहनु भएकाले उत्साहित छौं । खासगरी कोरोना प्रभावित अर्थतन्त्रलाई गति दिन सरकारको बजेटले त्यति उत्साहित नरहेको निजी क्षेत्रका साथीहरु मौद्रिक नीतिबाट उत्साहित रहनुभएको पनि मैले पाएको छु । अर्थतन्त्रलाई अब लयमा फर्काउनुपर्छ र यसका लागि तपाइँ पनि निजी क्षेत्रको नेतृत्वमा आउनुपर्छ भनेर पनि मलाई उहाँहरुले भनिरहनुभएको छ । यसैले म निकै उत्साहित पनि छु । तपाइँले महासंघमा धेरै वर्ष बिताउनु भयो । कतिपय मानिसहरुले भन्छन् कि महासंघ विगतको तुलनामा कमजोर हुँदै गयो । यसको कारण के हो ? महासंघप्रति धेरैको अपेक्षा छ र विश्वास पनि । देशव्यापी उपस्थिति रहेको र सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको निजी क्षेत्रको छाता संगठन भएकाले महासंघले निजी क्षेत्रको अभिभावकत्व लिनुपर्छ भन्नेमा कसैको दुईमत छैन । महासंघमा विगतमा केही आन्तरिक समस्याका कारण कुनै विषय ठिक ढंगले सम्बोधन हुन सकेनन् होला तर यतिले मात्र महासंघ कमजोर नै भइहालेको भन्न मिल्दैन । आजको दिनमा महासंघको कुनै विकल्प छैन । उद्योग परिसंघ, चेम्बर, घरेलु लगायत सबै वस्तुगत संस्थासँग सहकार्य गरेर महासंघले नेतृत्व गरेर निजी क्षेत्रको एउटै आवाज महासंघले नै सरकारसमक्ष पु¥याउनु पर्नेछ । विगतका कमजोरीले हामीलाई शिक्षा दिएको छ र त्यो सच्याउँदै अगाडि बढ्न सकिन्छ । निर्वाचनले दुई पक्ष जन्माउँछ र झन कमजोर हुन्छ भन्ने चिन्ता पनि देखिन्छ । यो चिन्ता स्वाभाविक भए पनि हामी कुनै कार्यकारिणी संस्थामा नभइ स्वयमसेवी संस्थामा जान लागेको रुपमा सबैले बुझ्न सक्यौं भने विवादको जड बाँकी रहँदैन ।