प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी गर्दैछौंः सिईओ अर्याल
२०७४ सालमा बीमा समितिबाट जीवन बीमा व्यवसाय गर्ने लाइसेन्स पाएको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अझै पनि सर्वसाधारणको लागि सेयर (आईपीओ) जारी गरेको छैन । कम्पनीले आईपीओ जारी नगरेको कारण २ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्नेमा अझै पनि १ अर्ब ४० करोड रुपैयाँ मात्रै चुक्ता पुँजी छ । कम्पनीले अहिले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले ६० लाख कित्ता सेयर प्रिमियम मूल्यमा विक्री गर्न लागेपनि सबै प्रक्रिया पूरा नभएको कारण प्रिमियम मूल्यमा आउने नआउने यकिन छैन । कम्पनीले साउन २५ गते आफ्नो तेस्रो वार्षिक साधारणसभा बोलाइसकेको छ । कम्पनीको जीवन बीमा कोषमा करिब २ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । सल्भेन्सी मार्जिन १.५ भए पुग्नेमा १.८२ छ । जगेडा कोषमा ३३ करोड रुपैयाँ पुगेको छ भने कम्पनीले गत असार मसान्तसम्ममा २ अर्ब १६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । अहिलेसम्म २३ शाखा र १४५ उपशाखा गरी कम्पनी नेपालभर आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । कम्पनीले बिमितलाई मनीव्याक पोलिसीमा प्रतिहजार रुपैयाँमा २२ देखि ३२ र आवधिक जीवन बीमा पोलिसीमा ३० देखि ७५ रुपैयाँसम्म बोनस दिने गरेको छ । व्यवसाय विस्तारसँगै ‘सस्टेनेवल विजनेस’को मान्यतामा रहेको सन नेपाल लाइफले किन प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लाग्यो, कम्पनीको कम्पनीको अहिलेको अवस्था कस्तो छ र अवका दिनमा कसरी अघि बढ्ने रणनीति बनाइरहेको छ भन्ने लगायतका विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्यालसँग गरिएको कुराकानीः हामीले लामो समयसम्म कोरोना भाइरसको त्रास भोग्यौं, अहिले विस्तारै रिभाइव हुने प्रयत्न गरिरहेका छौं । कोरोनाकालमा अनुभव र सिकाई कस्तो रह्यो ? विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो सम्पूर्ण क्षेत्र र समग्र अर्थतन्त्रलाई असर गरेको छ । कोरोनाले कसैलाई पूर्ण रुपमा क्षति पुर्याएको छ भने कसैलाई केही कम क्षति पुर्याएको छ । समग्रमा भने सबैलाई नोक्सान नै भएको छ । बीमा कम्पनीहरु पर्फर्मेन्समा पनि केही हिट गरेको छ । गत आवको तुलनामा केही सुधार भएको होला तर समस्या भने अझै पनि छ । कोरोनाकै कारण प्रिमियम घटेको देखिन्छ । खर्च बढेको देखिन्छ । व्याजदर घटेको छ । यी सबै सूचकहरु हेर्दा बीमा कम्पनीहरुको वित्तीय अवस्था के कस्तो हुन्छ, त्यो भने हेर्न नै बाँकी छ । अर्को, प्रविधि प्रयोगको विषय पनि महत्वपूर्ण हो । बीमा क्षेत्रलाई के कसरी प्रविधिमैत्री बनाउन सकिन्छ । कोरोना महामारीमा पनि सामाजिक दूरी कायम गरेर व्यवसायिक प्रवद्ध्र्रन कसरी गर्न सकिन्छ भन्ने तर्फ हामीले सोच्नु पर्छ । जबसम्म इन्टरनेटमार्फत नै सर्भिस दिन सक्ने मेकानिजम बनाउन सक्दैनौं, तबसम्म व्यवसायिक ग्रोअप गर्न सकिँदैन भन्ने सन्देश यो महामारीले दिएको छ । यसमा नियामक निकायले पनि डिजिटाइज गर्न निर्देशन दिइसकेको छ । आशा गरौं, विस्तारै यसको प्रयोग बढ्ला । डिजिटल सर्भिस तथा अनलाइन प्लेटफर्महरुको प्रयोगबिना हामी अगाडि बढ्न सक्दैनौं भन्ने मेरो बुझाई छ । सन नेपाल लाइफ इन्स्योरेन्ससँगै लाइसेन्स पाएका अन्य कम्पनीले आईपीओ जारी गरिसके, तपाईंहरुले किन ढिला गर्नुभएको ? कम्पनी स्थापना हुँदा नियमनकारी सर्त भनेको संस्थापक सेयर ७० प्रतिशत र सर्वसाधारण सेयर ३० प्रतिशत गरी २ अर्ब रुपैयाँ पूँजी पुर्याउने भन्ने हो । तर, कहिले आईपीओ ल्याउने भन्ने कुनै निश्चित अवधि नतोकिएको, नियमनकारी मापदण्डहरु पनि परिवर्तन भएको लगायतका कारणहरुले ढिलो भएको हो । अब ल्याउँछौं । अब कहिले आउँछ ? तयारी अन्तिम अवस्थामा पुगिसकेको छ । चाुल आर्थिक वर्षभित्र पक्कै आउँछ । प्रिमियममा आईपीओ ल्याउन लाग्नु भएको हो ? पछिल्लो समय धितोपत्र सम्बन्धि संरचनाहरु परिवर्तन भएको छ । योग्यता पुगेका कम्पनीहरुले मात्रै प्रिमियममा आईपीओ जारी गर्न पाउँछन् । आजको दिनमा हामीले ती योग्यताहरु पूरा गरेका छौं । सबै मापदण्डहरु पालना गर्न सकियो भने प्रिमियममा पनि आईपीओ आउन सक्छ । तर, यो नियमनकारी संयन्त्रसँग जोडिएको विषय पनि हो । सबै विषयहरु मिल्यो भने मात्रै प्रिमियममा पनि जान सकिन्छ भन्ने मान्यतामा कोसिस गरिरहेका छौं । अहिलेसम्मका बीमा कम्पनीहरुले बुक भ्यालुमै आईपीओ ल्याए तर, सन नेपालले फरक ढंगले सोच्नुको कारण के हो ? प्रिमियम मूल्यमा आईपीओ जारी गर्न पाइने पहिलो कुरा हो । धितोपत्र निस्कासन सम्बन्धी व्यवस्था अद्यावधिक भएको कारणले यो परिस्थिति सिर्जना भएको छ । यो व्यवस्था तथा यो अवधारणा हाम्रो बजारमा हालसालै मात्रै आएको हो । यसमा केही सर्तहरु पनि छन् । विद्यमान व्यवस्थाले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिने भएकोले हामीले पनि त्यसको प्रयास गरेका हौं । कम्पनीको समग्र पफर्मेन्स कस्तो छ ? सन्तोषजनक नै छ । हामीले कम्पनी स्थापना गर्ने समयमा जुन लक्ष्य लिएका थियौं, त्यसलाई अनुसरण गर्दै अगाडि बढिरहेका छौं । कम्पनीका सम्पूर्ण परिसूचकहरु सकारात्मक नै छन् । हाम्रो पहिलो प्राथमिकता जनशक्तिको सीप अभिवृद्धि गर्ने र त्यसको व्यवस्थापन नै हो । त्यसमा हामी लागिरहेका नै छौं । हामी जसरी अगाडि बढ्न खोजेका थियौं, त्यसका लागि सम्पूर्ण रुपले तयार छौं । हाम्रो भोलिको दिशा के हुन्छ ? कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा हामी सचेत छौं । सम्पूर्ण कर्मचारी पनि सोही किसिमले काम गरिरहेका छन् । आजसम्म व्यवसायिक रुपमा पनि हामी अव्बल नै छौं । जीवन बीमामा पहिलो प्रिमियमको नेक्सस अन्तिम किस्तासँग जोडिएको हुन्छ । त्यो अन्तिम अवस्थासम्म पुग्न सकिएन भने आज गरिएको बिजनेस भोलि कोल्याप्स हुन्छ । आज हामीले अनराइट गरेको व्यवसाय भोलि कुनै किसिमले निरन्तर हुन सकेन भने कम्पनीको जीवनमा अझ खराब अवस्था सिर्जना हुन सक्छ । त्यसले कम्पनीको नेटवर्थमा नकारात्मक असर पर्छ । यस्तो अवस्था आउन नदिनको लागि हामी अहिले नै सचेत भएर काम गरिरहेका छौं । व्यवसाय विस्तार र प्रवद्र्धनको आधारमा हामी कुन स्थितिमा छौं भन्ने विषय त बजारले हेरेको छ । बजारमा कुल प्रिमियमलाई हेर्ने हो भने सन नेपालको हिस्सा त कम छ नि है ? प्रिमियमको विषयमा बजारमा धेरै प्रश्नहरु उठेका छन् । यी प्रश्नहरु आफै उत्तरित छन् । यो विषयमा म धेरै प्रवेश गर्न चाहन्नँ । हाम्रो फोकस भनेको दीर्घकालीन व्यवसाय हो । जीबन बीमा भनेको आज गरेर भोलि त्यसको नतिजा देखिने होइन । यो व्यक्तिले आफ्नो जीवनकाल भरिका लागि गर्ने लगानी हो । यसको निरन्तरता हुन सकेन भने त्यो कहिँ न कहिँ त्रुटिपूर्ण हुन्छ । भोलिका दिनमा त्यसका दीगोपना माथि नै प्रश्न उठ्छ । हामीले यो विषयलाई मनन् गरेर अगाडि बढ्नु पर्छ र सोही किसिमले व्यवसाय गर्नुपर्छ । हाम्रो फोकस पहिलो प्रिमियम भन्दा पनि रिन्युएबल प्रिमियम ग्यारेन्टी होस् भन्ने हो । व्यवसायले निरन्तरता पाओस् भन्ने हाम्रो मुख्य प्राथमिकता हो । सन नेपाल इन्स्योरेन्स कम्पनीको शाखा सञ्जाल र जनशक्तिको अवस्था कस्तो छ ? शाखा सञ्जाल विस्तारमा हामी नेपालभर नै छौं । सबै जिल्लाहरुमा हाम्रो उपस्थिति छ । बीमाको प्रकृति नै बजारिकरणमै बढी फोकस गर्ने हो । बजारिकरणको ओरेन्टेसनका लागि हामीले उपशाखा भनेर पनि राखेका छौं । ती उपशाखाहरु र शाखाहरु करिब डेढ सय वटा छन् । शाखाहरु २३ वटा मात्रै छन् । हामीले बनाएको संरचना कस्तो हो भन्ने विषयले पनि महत्व राख्छ । देशभर ३ सयको हाराहारीमा हामीसँग कर्मचारीहरु हुनुहुन्छ । अहिले बिजनेस विस्तार गर्नको लागि सन नेपालको फोकस केमा हो ? हाम्रो फोकस भनेको ‘ट्राडिस्नल पोलिसी’मै हो । एजेन्सी बिल्डअप गर्ने, ओरेन्टेसन गर्ने नै हाम्रो अहिलेको मुख्य प्राथमिकता हो । नयाँ कम्पनी बजारमा आइसकेपछि त्यसको संरचना निर्माण नै मुख्य विषय हुन्छ । त्यसका लागि धेरै समय दिनु पर्ने हुन्छ । धेरै विषयहरु सिकाउनु पर्ने हुन्छ । कम्पनी कसरी अगाडि बढ्न सकछ ? कसरी बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ ? भन्ने विषयले नै पहिलो प्राथमिकता पाउँछ । यो आर्थिक वर्षदेखि हामीले माइक्रो इन्स्योरेन्समा फोकस गर्ने योजना बनाएका छौं । हामी सुरुमा त्यसको विस्तारलाई ध्यान दिन्छौं । अब त्यसलाई कसरी व्यवस्थित किसिमले अगाडि बढाउन सकिन्छ भन्ने कुरामै हाम्रो ध्यान जान्छ । बीमा कम्पनीको एजेन्टको कर्जा र अहिले पोलिसी सरेन्डरको विषयले निकै चर्चा पाएको छ ? नयाँ कम्पनीलाई यसको प्रभाव कतिको छ ? पहिला, एजेन्टको कर्जाको विषयमा कुरा गरौं । कम्पनीहरुले व्यवसाय प्रवद्र्धन गर्नका लागि वा अभिकर्ताको क्षमता अभिबृद्धि गर्नको लागि कर्जा दिएको होला । व्यवसाय प्रबद्र्धन गर्न दिइएको सापटी वा कर्जा व्यवसाय सम्बद्ध असुली प्रक्रियामा आधारित हुन्छ । अन्य कर्जाको विषयमा छलफल गर्न उपयुक्त छैन होला । अर्को सरेन्डरको विषय, व्यक्तिले आफ्नो जीवनकालका लागि जीवन बीमा गर्छ । व्यक्तिले २/३ वर्षपछि सरेन्डर गर्छु भनेर बीमा गर्दैन । केही गरेर कुनै गम्भीर समस्या आयो भने प्रिमियम तिर्न नसक्ने अवस्था आउन सक्छ । अथवा विदेश नै जानुपर्ने अवस्था आउन सक्छ । त्यसका लागि मात्रै यो एक प्रकारको छुट हो । जुन सबैका लागि लागू हुने विषय भएन । तर, यसैलाई आधार बनाएर बीमा गर्नुहोस् भनेर कन्भिन्स गरेमा केही वर्षपछि सरेन्डर हुने समस्या देखापर्छ । तपाईंले यो पोलिसी सरेन्डर गर्न सक्नु हुन्छ भनेर पोलिसी विक्री गर्नु हुँदैन । गलत मार्केटिङ गर्नु भएन । जति वर्षको बीमा गरिएको हुन्छ निरन्तर रुपमा प्रिमियम तिर्न सक्नु पर्छ । बीचमै सरेन्डर गर्न मिल्दैन भन्ने किसिमले अघि बढ्नु पर्छ । सन नेपाल लाइफको सन्दर्भमा भन्ने हो नियम विपरित कर्जा वा सरेन्डरको समस्या छैन । जीवन बीमा कम्पनीहरुको संख्या पनि धेरै भएकोले अस्वस्थ प्रतिस्पर्धा हुन लाग्यो भन्ने गुनासो सुनिन्छ, अहिलेको अवस्था कस्तो महसुस गर्नुभएको छ ? संख्यात्मकभन्दा पनि गुणात्मक प्रतिस्पर्धा हुनुपर्छ भन्ने विश्वास गर्नुपर्छ । संख्या धेरै वा थोरैले केही फरक पर्दैन । तर, ओरेन्टेसनको कारणले गर्दा बजारमा केही अस्वस्थ प्रतिस्पर्धा देखिन्छ । प्रतिस्पर्धा सकारात्मक नै हुनु पर्छ । कम्पनीको संख्या बढी भएको हो ? त्यो म कसरी भनौं ? नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा नेपाली बीमा क्षेत्रको योगदान करिब ३ प्रतिशत मात्रै छ । यो संख्या कम हो कि, बढी हो कि, कम हो भने बढाउनको लागि कम्पनीको संख्या थप गर्नुपर्छ वा कम्पनीको संख्या कम गरेर ठूलो कम्पनी बनाएर जानुपर्छ भन्ने विषय छ राज्यको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले यसमा काम गर्ने होला । कम्पनीको संख्याको विषयमा भन्दा पनि बजारमा कस्तो अवस्था छ, कति पारदर्शी रुपमा काम गर्न सकिएको छ भन्ने विषयमा बढी ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ । अहिलेसम्म कस्ता प्रकारका प्रडक्टमा बढी आकर्षण छ ? हाम्रो सबै दीर्घकालिन पोलिसीहरु नै छन् । सर्टटर्मका पोलिसीहरु हामीसँग छैनन् । हामीले अब सर्टटर्मका पोलिसीहरुमा जानु पर्छ भन्ने योजना बनाएका छौं । अहिलेसम्मका पोलिसीहरुमा राम्रै आकर्षण नै छ । आवश्यकता अनुसार विभिन्न पोलिसीहरु ल्याउने प्रयास पनि हामी गर्नेछौं । बीमा कम्पनीहरुले नर्मल पोलिसीहरुमा बढी फोकस गर्ने हो कि वा टर्म पोलिसीहरुमा फोकस गर्ने हो ? यसमा दुईटा पाटो छ । कोरोना भाइरस जस्तो परिस्थितिमा टर्म पोलिसी पनि प्रभावकारी नै हुन्छन् । तर, दीर्घकालिन रुपमा परम्परागत पोलिसीहरु नै राम्रो र बढी प्रभावकारी हुन्छ जस्तो लाग्छ । टर्म पोलिसीमा प्रोटेक्सन चाहिँ बढी चाहिँन्छ । एउटा राम्रो, अर्को नराम्रो भन्ने भन्दा पनि दुवैलाई समान तरिकाले अगाडि बढायो भने राम्रो हुने र बीमा बजार पनि प्रभावकारी हुन्छ । बजारमा देखिने गरी नयाँ के काम गर्दै हुनुहुन्छ ? हामी बजारमै छौं । नेपाली बीमा क्षेत्रको इतिहासमा सबैभन्दा बढी ‘मास मिटिङ’ गरेर बीमा सम्बन्धि सचेतना जगाउने कम्पनी सन नेपाल लाइफ नै होला । सुरुवाती चरणमा हामीले प्रत्येक जिल्लामा मास मिटिङ गरेका छौं । आफुले गरिरहेको काम ‘पर्फेक्ट’ रुपमा गर्न सक्नुपर्छ । त्यो किसिमको सर्भिस हामीले दिन सकेका छौं । बीमा कम्पनीहरुका मालिक बिमित हुन् । उनीहरुलाई कसरी खुसी पार्न सकिन्छ, त्यसतर्फ हामीले ध्यान दिनु पर्छ । सन नेपालले त्यसतर्फ ध्यान दिइरहेको छ । हामीले सर्भिस किन्ने होइन, बेच्ने सिद्धान्तलाई आत्मसाथ गरिरहेका छौं । हामी हरेक परिसूचकमा अब्बल छौं । बजारले के गरिरहेको छ भन्ने कुरामा दौडिने भन्दा पनि आफ्नो लक्ष्य र उद्देश्यमा हामी अडिक छौं । अन्त्यमा, तपाईंका सम्पूर्ण बीमितहरुलाई सन्देश के छ ? हामीले प्रवाह गरेको सेवा पारदर्शी नै छ । हामीले दिने सेवा प्रवाहमा कुनै कन्फ्युजन छ भने हामीलाई भन्न सक्नु हुन्छ । ‘सन नेपाल लाइफ छ जहाँ, जीवन बीमा छ त्यहाँ’ भन्ने हाम्रो नारा नै छ । नारा जस्तै हामीले काम पनि गरिरहेका छौं । हामी हरेक ठाउँमा पुगेका छौं । घरघरमा गएर हामीले सेवा दिइरहेका छौं । सम्पूर्ण बीमितहरुलाई ढुक्क हुन हामी अनुरोध गर्छौं । बीमा जीवनभरका लागि गरिने लगानी हो । बुझेर जीवन बीमा गर्न चाहनु हुन्छ भने सन नेपालमै आउनुस् भन्ने अनुरोध पनि सम्पूर्णलाई गर्न चाहन्छु ।
सीईओ दाहाललाई प्रश्नः सानिमा बैंक मर्जरमा जान लागेको हो ? (भिडियाेसहित)
कोरोना महामारीसँग आर्थिक संकटको त्रास विश्वभर छ । नेपाल पनि त्यसबाट अलग छैन । तैपनि नेपालको वृहत अर्थतन्त्रका केही परिसूचकहरु राम्रा छन् । त्यसमा पनि बैकिङ्ग क्षेत्रले संकटको बेलामा पनि राम्रो गरिरहेको सन्देशहरु आएका छन् । सेयर बजारमा पनि बैकिङ्ग क्षेत्रको सकारात्मक प्रभाव देखिएका छन् । यहि बीचमा नयाँ मौद्रिक नीतिको तयारीमा नेपाल राष्ट्र बैंक जुटेको छ । वित्तीय क्षेत्रमा बहस चलिरहेको छ । साथै पछिल्लो समय नेपालका बैंकहरुमा ह्याकरले आक्रमण गर्ने धम्कीपूर्ण सन्देश आएपछि अर्को त्रास फैलिएको छ । यिनै विषयको पेरिफेरीमा नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालसँग विकास वहस गरेको छौं । असार मसान्तमा बैंकहरुको कर्जा असुली राम्रो छ, नाफा पनि बढेको छ भन्ने सन्देशहरु आइरहेका छन्, वास्तविकता के हो ? यस वर्ष बैंकहरुको कर्जा विस्तार ऐतिहासिक रुपमा बढेको छ । वाणिज्य बैंकहरुले यस आर्थिक वर्षमा मात्र ८०० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी विस्तार गरेका छन् । वैदेशिक व्यापार पनि बढेको छ । आयात, निर्यात दुवै बढेको देखिन्छ । बैंकहरुको असार मसान्तको वित्तीय विवरण प्रकाशित हुन बाँकी नै छ । तर, चैत मसान्तको प्रकाशित विवरणलाई आधार मान्दा पनि बैंकहरुको सम्पत्ति २५.३८ प्रतिशतले वृद्धि भएको छ । तर, सञ्चालन शुन्य दशमलव १२ प्रतिशतले नाफा बढेको छ । सञ्चालन नाफा जम्मा ९ करोड मात्रले वृद्धि भएको छ । खुद नाफा भने करिव १२ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको प्रोभिजन राइटव्याक भएकोले खुद नाफा बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा चार खर्ब कर्जा विस्तार भएको थियो । त्यस वर्ष १९ अर्ब १६ करोड रुपैयाँ लोन लस प्रोभिजन गर्नु परेको थियो । १५ अर्ब रुपैयाँ अतिरिक्त प्रोभिजन गर्नु परेको थियो । यस पटक त्यस्तो प्रोभिजन गर्नु परेन । यस वर्ष अर्थतन्त्र राम्रो भयो । दोस्रो लकडाउन नभएको भए बैंकहरुको रिजल्ट झनै राम्रो हुने थियो । बैशाख १५ गतेपछिको लकडाउनले केही क्षेत्रलाई फेरि नराम्रो असर गरेको छ । तैपनि असार मसान्तमा ९० प्रतिशत कर्जाको व्याजसहित किस्ता उठेको छ । गत वर्ष बैशाखदेखि असारसम्म बैंकहरुले कर्जाको व्याजमा दुई प्रतिशत छुट दिनु परेको थियो । यसपाली परेको छैन । कर्जा असुली पनि राम्रो भएकोले बैंकहरुको वित्तीय विवरण राम्रो बन्ने अनुमान भइरहेको छ । यसपाली शुन्य दशमलव १२ प्रतिशत सञ्चालन नाफा हुनुमा पनि सेयरको मूल्य वृद्धिले सहयोग गरेको छ । बैंकहरुले आफूसँग भएको सेयर लगानी बिक्री गरेर पनि धेरैले नाफा बढाउन सफल भएका छन् । सेयर लगानीबाट आर्जित नाफा पनि घटाउने हो भने बैंकहरुको सञ्चालन नाफा ऋणात्मक छ चैत मसान्तसम्म । बैंकहरुको सञ्चालन नाफा किन घट्यो ? बैंकहरुको स्प्रेडदर पहिला ५ प्रतिशतको हाराहारीमा हुन्थ्यो । अहिले साढे ३ प्रतिशतको हाराहारीमा छ । यसको लाभ थोरै मात्रामा निक्षेपकर्ता र धेरै मात्रामा ऋणीले पाएका छन् । अहिले कर्जाको व्याजदर सवा ६ देखि ११ प्रतिशतसम्म छ । औषतमा ऋणिले साढे ८ प्रतिशतमा कर्जा पाएका छन् । दुई वर्षअघि कर्जाको औसत व्याजदर ११ प्रतिशत थियो । अहिले निक्षेपकर्तालाई पनि नोक्सान छैन । किनकी मुद्दतीमा औषत साढे ८ प्रतिशत व्याज वाणिज्य बैंकहरुमा पाइरहेका छन् जवकी मुद्रास्फीति ४ प्रतिशत मात्र छ । प्रतिस्पर्धाले गर्दा बैंकहरुको कमाई कम भएको छ । यसको लाभ निक्षेपकर्ता र ऋणीले पाएका छन् । बैंकको व्याजदर सन्तुलित अवस्थामा आएको हो ? राष्ट्र बैंकले स्प्रेडदर ४ दशमलव ४ प्रतिशत तोकेको छ । बैंकहरु उक्त सीमामा बस्न सक्थे । तर, प्रतिस्पर्धाले औसतमा साढे ३ प्रतिशतमा काम गर्न बैंकहरु बाध्य छन् । बैंकहरुको संख्या थोरै थिए भने निक्षेपकर्ता र ऋणी दुवैलाई अहिलेको जस्तो लाभ हुँदैन थियो । बैंकहरुको नाफा बढी हुने थियो । अहिलेको व्याजदर स्थीर होला वा तलमाथि होला ? यो बजारले निर्धारण गर्ने विषय हो । मेरो विचारमा ३/४ महिना व्याजदर स्थीर रहनेछ । मंसिरदेखि व्याजदर बढ्न सक्छ । आयात बढेको छ । अब विओपीमा प्रेसर पर्ने देखिन्छ । तर, केही बैंकहरुले साउनदेखि निक्षेपको व्याजदर बढाउन थालिसके नि ? अहिले पनि बैंकहरुसँग ३०० अर्ब रुपैयाँ लगानीयोग्य रकम छ । कर्जा मागको चाप पनि कम छ । अहिले पनि हामी लकडाउनको अवस्थामा छौं । गत आर्थिक वर्षमा पनि कर्जा प्रवाह अधिक भएको लकडाउन खुलेपछि चैतसम्म हो । साउनमा कर्जाको माग कम हुन्छ । साउनमा २० अर्ब रुपैयाँ कर्जा घटेको छ । जबकी बैशाख, जेठ, असारमा क्रमशः ३७, ३६ र ५६ अर्बले कर्जा वृद्धि भएको थियो । दशंै तिहारको समयमा पनि कर्जाको माग कम हुन्छ । तसर्थ मंसिरपछि मात्र व्याजदर वृद्धि हुनसक्छ कि भन्ने हो । यदि कोभिडको थर्ड वेभ आयो, फेरि लकडाउनको अवस्था आयो भने व्याजदर बढ्दैन । पछिल्लो समय खोपको उपलब्धता बढेको छ । खोप लगाएपछि मानिसमा मनोबल बढेको छ । कोभिडको असर अझै ठूलो देखिएला ? भ्याक्सिनले मानिसमा कन्फिडेशन बढेको छ । यूरोप अमेरिकामा धेरै मानिसले भ्याक्सिन लगाइसकेकाले अब नेपालमा पनि खोपको उपलब्धता बढ्ला । चीनले ४० लाख खोप तत्काल दिने सम्झौता गरेपनि चीनबाट एक करोड डोज खोप ल्याउने तयारी भएको जानकारीमा आएको छ । अहिले फेरि अमेरिकामा, बेलायतमा न्यू भेरियन्टको संक्रमण बढ्दो छ । त्यसैले कोभिडको बारेमा अनिश्चिता अझै केही महिना रहन्छ कि । कोभिड संक्रमणको बीचमा पनि बैंकहरुले राम्रो गरेको देखिन्छ । द्वन्द्वकालमा होस्, राजनीतिक अस्थिरताको बेलामा होस्, महाभूकम्पपछि पनि बैंकहरु राम्रो नै थियो । के नेपालका बैंकहरु ठूला धक्काहरु पनि सामना गर्न सक्ने अवस्थामा पुगेका हुन् ? बैंकहरुको नेटवर्थ धेरै राम्रो छ । पुँजीकोषको कुरा छोडौं, सेयरहोल्डर फण्डको मात्र कुरा गर्ने हो भने सबैभन्दा कम सेन्चुरी बैंकको १० अर्ब ६४ करोड रुपैयाँ छ भने सबैभन्दा बढी नेपाल बैंकको ३४ अर्ब १५ करोड रुपैयाँ छ । सेन्चुरी बैंककै कुरा गर्न हो भने साढे १० अर्ब नोक्सान हुँदा पनि निक्षेपकर्ताको पैसा नगुम्ने भयो । नेपाल बैंकको ३४ अर्ब नोक्सान भयो भने पनि निक्षेपकर्ताको एक रुपैयाँ पनि गुम्दैन । केही वर्ष अघि मात्र एनआईसी एशिया बैंकबाट ह्याकरले झण्डै ५० करोड रुपैयाँ चोरे । गत साता मात्र दर्जन भन्दा बढी नेपाली बैंकलाई ह्याकरले थ्रेट दिएको समाचार आए । त्यसमा तपाईंको बैंकको नाम पनि आयो । पुँजी कोषको आधारमा बैंकहरु सुरक्षित भए पनि साइक्रर क्राइम जोखिम बढेको हो कि ? एनआईसी एशिया बैंककै कुरा गरौं । उक्त बैंकका स्वीफ्ट ह्याक भयो । ह्याकरले ५०/६० करोड रुपैयाँ लिएको थियो । त्यसको केही रकम फिर्ता गराउन सफल भएको कुरा पनि आए । वास्तविक अंक सार्वजनिक भएको छैन । तर वास्तविक कति नोक्सान भयो भन्ने कुरा राष्ट्र बैंकको जानकारीमा पक्कै छ । नोक्सान भएको रकम राष्ट्र बैंकले पक्कै प्रोभिजन वा राइटअफ गराएको छ । त्यो रकम प्रोफिट एण्ड लसमा बुक भैसकेको हुन्छ । त्यसका निक्षेपकर्ताको एक रुपैयाँ पनि नोक्सान भएन । एनआईसी एशिया बैंकको सेयरहोल्डर फण्ड २० अर्ब २३ करोड रुपैयाँ छ । चोर, फटाहा, डाँका भनेको जहाँ पनि हुन्छन् । प्रत्येक दिन ह्याकरले अट्याक गरेको देखिन्छ फाइर वालमा । जोखिम भएकैले बैंकमा पहिला फिजिकल सेक्युरिटी अफिसर मात्र राख्थे भने अहिले इम्फरमेशन सेक्युरिटी अफिसर राख्नु परेको छ । विज्ञहरुले पनि भनिरहेका छन् कि नेपालका बैंकहरुले अपनाएको सुरक्षाका विधिहरु अन्तर्राष्ट्रिय स्तरका छन् । सम्भावित जोखिम न्यूनिकरण गर्नको लागि नाफाको १५ प्रतिशत अपरेशन जोखिम कोषमा राखेका हुन्छौं । बीमा गरेका हुन्छन् । तर, नेपाली बैंकहरुले साइबर क्राइम इन्स्योरेन्स गरेका छैनन, यसको कारण के हो ? नेपालमा साइबर क्राइम इन्स्योरेन्स धेरैले गरेका छैनन् । यो विषयमा बैंकहरुको ध्यान गएको पनि छ । तर प्रिमियम ज्यादै महँगो भएकोले साइबर क्राइम इन्स्योरेन्स हुन सकेका छैनौं । यस क्षेत्रमा बैंकहरुको नोक्सानी नगन्य भएकोले पनि होला बीमाको अभ्यास कम छ । नेपाल राष्ट्र बैंक नयाँ मौद्रिक नीतिको तयारीमा छ । तपाईंहरु नियमित रुपमा अन्तक्रियामा हुनुहुन्छ । यस वर्षको मौद्रिक नीति फोकस के मा हुँदैछ ? गर्भनरसावले हामीसँग ठट्टा गर्दै भन्नुहुन्छ ‘मौद्रिक नीतिमा के आउँछ, मलाई पनि थाहा छैन ।’ हामीले भन्न सक्ने कुरा नै भएन । कोभिडको असर परेको क्षेत्रलाई रिसेड्युलिङ, रिस्ट्रक्चरिङ, रिफाइनान्सिङ अहिले पनि जरुरी छ । असार मसान्तमा पनि १० प्रतिशत ऋणीले व्याज बुझाउन सक्नु भएको छैन । उनीहरुलाई सहुलियत दिनुपर्छ । मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न, व्याजदरलाई एकलदरमा राख्न हामीले विभिन्न विधि सुझाएका छौं । डिजिटल इकोनोमीलाई बढाउन र तरलताको समस्या सम्बोधन गर्ने नीति जरुरी छ । राष्ट्र बैंक विओपी नगेटिभ नहोस भन्नेमा चिन्तित देखिन्छ । अहिले पनि राष्ट्र बैंकसँग १२ खर्ब रुपैयाँ बराबर विदेशी मुद्राको संचिति भएकोले डराउनुपर्ने अवस्था छैन । सुनचाँदी जस्तो वस्तु आयातमा वृद्धि भएको छ भने नियन्त्रणमुखी नीति लिनुपर्छ । मेसिनर तथा कच्चा पदार्थको आयात वृद्धि भएको छ भने त्यसको जीडीपीमा योगदान नै गर्छ । अवस्था धेरै खराब छैन । हामीले २ करोडभन्दा बढी कर्जा दिने व्यवसायीहरुको वित्तीय विवरण विश्लेषण गरेर हेरेको छौं । अवस्था सोचभन्दा राम्रो छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्न लागेको भन्ने अनौपचारिक सन्देशहरु आएका छन् । तपाईंहरुले के सन्देश पाउनु भएको छ ? यसबारे हामीलाई कुनै जानकारी छैन । यो जानकारी दिने विषय पनि होइन । समाचारहरुका आएजस्तै वाणिज्य बैंकहरुको न्युनतम चुक्ता पुँजी २५ अर्ब तोकियो भने ओभरक्यापिटलाईज हुन्छ कि ? ८ लाई २५ अर्ब रुपैयाँ बनायो भने ओभरक्यापिटलाईज हुन्छ, त्यसमा शंकै रहेन । राष्ट्र बैंकको अनुसन्धान विभागले विगतमा राष्ट्र बैंकले लिएको पुँजी वृद्धि, मर्जर, एक्विजिसनको असर कस्तो पर्यो भनेर अनुसन्धान गरिरहेको पनि छ । पुँजी वृद्धि तथा मर्जरको सम्बन्धमा मेरो भनाई के हो भने हामीले ठूला बैंक खोजेको कि राम्रा बैंक खोजेको ? यसमा राष्ट्र बैंक स्पष्ट हुनुपर्छ । हामीसँग ठूलो जनसंख्या भएको, रोजगारी सिर्जना गर्न नसकेको इण्डोनेशियाको उदाहरण पनि छ । थोरै जनसंख्या भएको तर सबै कुरा व्यवस्थित भएको सिंगापुरको उदाहरण पनि छ । हामीले इन्डोनेसिया जस्तो बैंक खोजेको कि सिंगापुर जस्तो बैंक खोजेको स्पष्ट हुनु जरुरी छ । मेरो विचारमा ठूलो पुँजी हुँदैमा बैंक राम्रो हुँदैन । मैले नाम लिन मिलेन । तपाईंहरुले अध्ययन गरेर लेख्दा राम्रो हुन्छ । ठूला बैंककोभन्दा साना बैंकले नियम कानुनका राम्ररी पालना गरेका छन् । ठूला बैंकले भन्दा साना बैंकले राम्रा व्यवसायिक योजना ल्याएका छन् । ठूलालेभन्दा साना बैंकले कस्टुमर सर्भिस राम्रो दिएका छन् । ठूला हुँदैमा राम्रा हुन्छन् भन्नेमा मेरो असहमति छ । प्रतिस्पर्धाका टिक्न नसक्नेहरु आफै मर्जरमा जान्छन् । रेगुलेटरले फोर्स गर्न जरुरी नै छैन । आज नेपाल इन्भेष्टभेन्ट बैंक राष्ट्र बैंकले फोर्स गरेर मर्जरमा गए जस्तो मलाई लाग्दैन । उक्त बैंकको नाफा घटिरहेको छ । अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकको नाफा घट्यो, अब बैंकबाटभन्दा अरु क्षेत्रबाट नाफा कमाउन सक्छु भनेर उहाँले अन्तरवार्ता नै दिनु भएको छ । बैंकमा गरिएको लगानीको प्रतिफल भयो, थप लगानी गर्दिन, मर्जरमा जान्छु भन्नेलाई मर्जमा जान दिनुपर्छ । त्यो स्वेच्छिक मर्जर भयो । चुक्ता पुँजी कम्तिमा २५ अर्ब बनाइयो भने त्यो फोर्सफूल मर्जर हुन्छ । फोर्सफूली मर्जरमा जाँदा त्यसको नतिजा राम्रो आउँदैन । सानिमा बैंक मर्जरमा जाने नजाने याेजना के छ ? हामीले वाग्मती विकास बैंक एक्वाएर गरेका थियौं । हामीले मर्जर कमिटि पनि बनाएका छौं । हामीले सिनर्जी इफेक्ट कहाँ पाइन्छ भनेर हेरिरहेका छौं । बाेर्ड डाइरेक्टरकाे संयाेजकत्वमा र दुइटा डीसीईओहरुकाे सदस्यकाे समिति बनेकाे छ । हामीले विजनेशमा, टेक्नोलोजीमा, क्लाइन्ट सर्भिसमा, प्रोफिट्यालिटीमा सिनर्जी इफेक्ट देखिन्छ भने मर्ज गर्ने हो । नत्र किन मर्ज गर्ने ? हाम्रो विचार स्पष्ट छ । संस्थागत सुशासन राम्रो भएको संस्थासँग मात्र मर्ज हुन्छ । हामी विगत सात वर्षदेखि निरन्तर सबैभन्दा कम एनपीए भएको बैंक हौं । अहिले, दोस्रोमा छौं । डिपोजिट क्वालिटीको हिसावले राष्ट्रिय वाणिज्य बैंकपछि हामी सेकेण्ड बेष्टमा छौं । रिटर्न अन इक्वीटिको हिसावले पनि हामै सेकेण्ड बेष्टमा छौ । अनि हामी किन मर्जमा हतारिने ? तपाईंले सानिमा बैंक राम्रो भन्नु स्वभाविक हो । तर सानिमा बैंकमा आकर्षण कम भएको जस्तो देखिन्छ नि ? म यस्तो कुरा सुन्न चाहन्छु । तर सानिमाको कमजोर पक्ष के भनेर प्वाइट आउट गरिदिनुभयो भने राम्रो हुने थियो । सानिमा बैंकको सेयर मूल्य हेर्नुहुन्छ भने हाम्रो मूल्य छैटौं नम्बरमा छ । हामी शाखा विस्तारमा धेरै खुकुलो छैनौं । थोरै शाखा तर धेरै विजनेश नीतिमा छौं । हामीसँग ८६ वटा शाखा छन् । हरेक शाखाको विजनेश राम्रो छ । प्रति कर्मचारी विजनेशमा हामी अब्बल छौं । कोडिभपछि हामीले कर्जा प्रवाहमा कमी गरेकै हौं । गत पुसअघि सेयर मूल्य अलि कम पनि भएको थियो । गत पुसदेखि हामीले कर्जा लगानी बढाएका छौं । अहिले व्यवसाय विस्तार पनि राम्रो छ । नाफा पनि राम्रो छ । बैंकको सेयर मूल्य पनि बढेको छ ।
विकास आयुक्त ढकाललाई प्रश्नः नयाँ शहरभित्रका जनताको जग्गा कहिलेसम्म रोक्का ? (अन्तर्वार्ता)
विकास आयुक्त जानुका ढकाल काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुखमा नियुक्त भएको साढे दुई महिना भयो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले उनलाई बैशाख १९ गते विकास आयुक्तमा नियुक्त गरेसँगै उनी प्राधिकरणको विकास आयुक्त बन्ने पहिलो महिला पनि हुन् । झापा घर भएकी ढकाल नवनारी मासिककी सम्पादक थिइन् । उनी प्राधिकरणको विकास आयुक्तमा नियुक्त भएपछि प्राधिकरणले कसरी काम गरिरहेको छ ? प्राधिकरणले निर्माण गर्ने नयाँ शहरको प्रक्रिया र प्राधिकरणका आगामी योजनाबारे सन्तोष रोकायाले कुराकानी गरेका छन् । प्राधिकरणको विकास आयुक्तमा नियुक्त भएको साढे दुई महिना भयो, यो अवधिमा नयाँ के कस्ता काम गर्नु भयो ? विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न निषेधाज्ञाको समयमा म प्राधिकरणको विकास आयुक्तमा नियुक्त भएँ । यो अवधिमा काठमाडौं उपत्यका विकास प्राधिकरणको क्षेत्राधिकार के हो भन्ने विषय राम्रोसँग बुझ्ने मौका पाएँ । काठमाडौं उपत्यका विकास प्राधिकरणले जुन काम गर्नु पर्ने थियो त्यो नभएर हामी टुक्रे काममा अल्झेछौं भन्ने विषय मैले राम्रोसँग थाहा पाएँ । प्राधिकरणको ऐनमा भएको व्यवस्था नभएर स–साना काम जस्तै, कालोपत्रे गर्ने, सडकका खाल्डाखुल्डी टाल्ने, ढल बिछ्याउने काममै हामी सीमित र फोकस भएछौं । त्यही कारणले नै हाम्रा ठूला नयाँ योजनाहरु अगाडि बढ्न सकेनछन् । अर्को, उपत्यका विकास प्राधिकरण नीति निर्माण गर्ने संस्था हो । मापदण्ड पालना गराउने र त्यसको नियमन तथा अनुगमन गर्ने संस्था काठमाडौं उपत्यका विकास प्राधिकरण हो । कसैले मापदण्ड विपरित काम गरेको छ भने त्यसलाई दण्डित गर्ने संस्था पनि यो हो । तर, यी सबै कामहरु छोडेर हामी स–साना काममा अल्झेको मैले यहाँ आएपछि थाहा पाएँ । हामीले संरचना बनाउनका लागि अनुमति अस्पताल, अपार्टमेन्टहरुको अनुगमन र नियमनमा हामी धेरै पछाडि रहेछौं । अहिले पनि धेरै अस्पतालहरु र अपार्टमोन्टहरु पनि मापदण्ड विपरित बनेका छन् । हाम्रो अहिलेको प्राथमिकता भनेको त्यस्ता संरचनाहरुलाई मापदण्डको दायरामा ल्याउने हो । हाम्रो मापदण्ड नेपाल सरकारले स्वीकृत गरेको हो । अहिले हाम्रो मुख्य समस्या भनेको स्थानीय तह र प्राधिकरणले गर्ने काममा केही दुविधा उत्पन्न गरेको छ । संघीय सरकारले बनाएको मापदण्डलाई असर नपर्ने गरी त्यसैको आधारमा रहेर काम गेर्ने भनेको छ । तर, स्थानीय तहको मापदण्ड र हाम्रो मापदण्डमा केही भिन्नता छ । यसमा पहिले नै ध्यान जानु पर्थ्यो तर गएको देखिएन । स्थानीय तह र हाम्रो मापदण्डमा समानता ल्याउनु पर्यो । काठमाडौं उपत्यका भित्र बन्ने सबै संरचनामा कसरी एकरुपता ल्याउने भन्नेमा हाम्रो ध्यान जानु पर्छ । हामी यसमा पनि चुकेका छौं । अर्को, मुख्य समस्या बाहिरी चक्रपथको विस्तृत परियोजना अध्ययन प्रतिवेदन बनाइकेपछि पनि विभिन्न समस्या देखिएका छन् । हामी त्यसमा पछाडि हटेका हौं कि भन्ने मैले बुझेँ । यी देखिएका विभिन्न समस्या समाधानमै मेरो ध्यान गएको छ । तपाईंहरुले अस्पताल तथा अपार्टमेन्टहरुमा कस्ता खालका मापदण्डहरु देख्नु भएन ? अस्पतालहरुको मापदण्डहरु स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको हुन्छ । तर, प्राधिकरणमा कुनैको जग्गा साटफेर गर्नु पर्यो भने हामीले त्यसका लागि अनुमति दिन्छौं । उनीहरुसँग हामीले संरचना कस्तो बन्ने भनेर गाइडलाइन दिएका हुन्छौं । र, उनीहरुले पनि सोही अनुसारको बनाउने भनेर स्वीकति लिएका हुन्छन् । भवनको उचाई कति बनाउने ? भवन अगाडि कति ठाउँ छोड्ने ? लगायतका विषयहरु त्यसमा उल्लेख हुन्छन् । तर, धेरैले सहमति तथा स्वीकृति लिए अनुसारको काम गरेको देखिएन । यो बिचमा हामीले त्यस्ता अस्पताललाई पत्राचार गरेका छौं । एउटा कार्यदल नै बनाएर त्यसमा काम गरिरहेका छौं । पहिला उनीहरुलाई जानकारी गराउने जानकारी गराएर पनि मापदण्ड अनुसार काम नगरेर उनीहरुलाई कारवाही पनि गर्छौं । कतिपयले भवन माथि पनि टिनको संरचना बनाएका छन् । छतमा अस्थायी टहरा बनाएका छन् । भवन अगाडि पनि त्यस्तै खाले अस्थायी संरचना बनाएका छन् । पार्किङ क्षेत्र भनेर छुट्याइएकालाई गोदामका रुपमा प्रयोग गरेका छन् । त्यो भनेको हाम्रो मापदण्ड विपरितको विषय हो । यस्ता अस्पतालहरुलाई हामीले पत्राचार गरिसेका छौं । काठमाडौं उपत्यकामा मापदण्ड विपरितका कति वटा अस्पताल देखिए ? ठूला–ठूला भनेर चिनिएका अस्पताल पनि मापदण्ड विपरित बनेका छन् । अहिलेसम्म ७/८ अस्पतालहरु हामीले मापदण्ड विपरित बनेका भेटाएका छौं । ती मध्ये तीन वटा अस्पतलाले नियम उल्लंघन गरेका छन् । उनीहरुलाई हामीले पत्र काटिसकेका छौं । तपाईं प्राधिकरणमा विकास आयुक्तको रुपमा नियुक्त भएपछि अघिल्ला विकास आयुक्तको तुलनामा नयाँ के काम सुरुवात गर्नु भयो ? जुनसुकै ठाउँमा जाँदा पनि व्यक्तिले नयाँ भिजन लिएर जानुहुन्छ । उनीहरुले केही नयाँ गर्ने सोचका साथ जान्छन् । जुनसुकै निकायमा अगाडिका व्यक्तिले गरेका कामहरु बिचैमा छोडेर नयाँ काम गर्ने अभ्यास हुन्छ । जसले अघिल्लो व्यक्तिले बिचैमा छोडेर गएका कामहरु अधुरै रहन्छन् । तर, मैले यसमा नयाँ अभ्यासको सुरुवात गरेकी छु । मैले अघिल्ला विकास आयुक्तहरुले गरेको कामलाई निरन्तरता दिने सोच बनाएकी छु । नयाँ नगर एउटा पुरानै कार्यक्रम हो । बाहिरी चक्रपथको विषय अहिलेको विषय होइन । यो पहिले देखिनै समस्याका रुपमा रहँदै आएको कार्यक्रम हो । बाहीरी चक्रपथ काठमाडौंका लागि अतिआवश्यक छ । सवारी व्यवस्थापनका लागि बाहिरी चक्रपथको अर्को विकल्प छैन है भन्ने विषय पहिले देखिको नै हो । मैले यस्ता खालका कार्यक्रमलाई बिचमै छोड्न मिल्दैन । नयाँ काम भन्दा पनि यिनै कार्यक्रम मेरो प्राथमिकतामा पर्छन् । सुरुवात मैले गरौंला अरु मान्छे आउला उसैले ब्रेक गर्ला । तर, यस्तो नगरेर पहिलेको व्यक्तिको कामलाई निरन्तरता दियो भने प्रभावकारी काम होला भन्ने मेरो बुझाई हो । मैले अहिले गरेको नयाँ काम भनेको मापदण्ड विपरित बनेका संरचनाहरुको पहिचान गर्ने र ती संरचनाहरुलाई मापदण्ड अनुरुप बनाउन सजक गराउने हो । त्यसको अनुगमन गर्ने हो । थुप्रै विषय स्थानीय तह र हामीबीच असमझदारी पैदा भएको छ । हामीले गर्ने काम स्थानीय तहले गर्ने र स्थानीय तहले गर्ने काम हामीले पनि गरिरहेका छौं । यी विविध समस्या समाधानका लागि पनि र मापदण्ड संशोधनका लागि काम गरिरहेका छौं । लामो समयदेखि नयाँ शहरको विषयले निकै चर्चा पायो । तर, चर्चा पाए अनुरुपको काम हुन सकेन । अहिले नयाँ शहरको काम के भइरहेको छ ? तीन वटै नयाँ शहर बनाउनको लागि स्रोत सुनिश्चितताको काम गरिरहेका छौं । विभिन्न बैंक र अन्तर्राष्ट्रिय कम्पनीहरुसँग पनि स्रोत सुनिश्चितताको काम भइरहेको छ । हामीले स्रोत सुनिश्चितता नगर्दासम्म काम अगाडि बढाउन सक्दैनौं । जनताको जग्गा कति वर्षसम्म ओगट्ने भनेर हामीले यकिन गर्न आवश्यक छ । उहाँहरुलाई पनि दुःख दिनु भएन । हाम्रो योजना कति वर्षको हो ? कुन वर्षमा के कति काम गर्ने ? भन्ने विषयमा पनि गृहकार्य गरिरहेका छौं, जुन अन्तिम चरणमा पुगेको छ । डीपीआर मन्त्रिपरिषदमा पठाउनको लागि भौतिक विकास समितिको बैठक बस्न आवश्यक छ । अहिले मन्त्रीज्यू पनि हुनुहुन्न । मन्त्रीज्यू आइसकेपछि भौतिक विकास समितिको बैठक राखेर मन्त्रिपरिषदमा पठाउँछौं । अझै कति समय लाग्छ होला ? हामी समय भन्न सक्दैनौं । अहिलेको राजीनतिक अवस्थाले पनि भन्न सकिने अवस्था छैन । शहरी विकास मन्त्रालयमा को मन्त्रीज्यू कहिले आउनुहुन्छ भन्ने विषय अहिलेसम्म निश्चित भइसकेको छैन । त्यसैले पनि हामीले यति समय भित्र नै यो काम गर्छौं भन्न सकिने अवस्था छैन । मन्त्रीज्यू आइसकेपछि पनि उहाँको समय लिएर हामीले बैठक राख्नुपर्छ । त्यसपछि मात्रै यो काम अगाडि बढ्छ । नयाँ शहर क्षेत्रभित्र पर्ने जग्गाधनीकहरुको जग्गा लामो समयदेखि रोक्का छ, लामो समयदेखि घर बनाउन पाइरहेका छैनन्, यस बारे तपाईंहरु किन चिन्तित हुनुहुन्न ? काठमाडौं विकास प्राधिकरणले सर्वसाधारणको जग्गा २/३ वर्षका लागि मात्रै रोक्का गर्न पाइन्छ । त्यो भन्दा बढी रोक्ने अधिकार हामीसँग छैन । तर, त्यहाँ काम भइरहेको छ भने हामीले त्यसको म्याद थप गर्न मिल्छ । त्यो जग्गा नेपाल सरकारले नै रोकेको हो । त्यसको फुकुवा नेपाल सरकारको मन्त्रिपरिषदबाटै हुनुपर्छ । नयाँ नगर बनाउने भनेपछि अहिले फुकुवा भएको छैन । तर, आवश्यकता अनुसार जग्गाको किनबेच भने भइरहेको छ । घर पनि घनावस्तीभित्र बनिरहेका छन् । खालि ठाउँमा भने बनिरहेका छैनन् । शहर व्यवस्थापनकै लागि जग्गा रोक्का भएको हो । नयाँ शहर बन्ने भनेर त्यहाँका स्थानीय धेरै खुसी थिए । तर, चर्चा अनुसारको काम नहुँदा अहिले उनीहरु निराश छन्, नयाँ शहर देख्न उनीहरुले अझै कति समय कुर्नुपर्ने हो ? हामीले काम सुरु भएदेखि ५ वर्षभित्र नयाँ शहर बन्छ भनेका छौं । त्यसमा १/२ वर्ष ढिलाई होला । तर, त्यो भन्दा ढिलाई भने हुँदैन । अहिले नयाँ शहरभित्रबाट बग्ने नदिले धेरैको जग्गा कटान गरिहरेको छ भन्ने गुनासो छ, प्राधिकरणले नयाँ शहर बनाउँदा तटबन्ध गरेर नदिलाई सिधा गर्ने योजना पनि बनाएको छ । नदि कटान हुँदा बगेको जग्गा तटबन्धनपछि सम्बन्धित जग्गाधनीले सो जग्गा फिर्ता पाउँछ कि पाउँदैनन् ? सर्वप्रथम त हामीले नदिलाई नियतवस बाँगोटिङ्गो बनाएका हौं कि प्राकृतिक रुपमा नै नदी त्यस्तो भएको हो भन्ने विषय प्रमुख हो । यदि हामीले जग्गाधनीको जग्गालाई बाटोका लागि प्रयोग गर्दैछौं भने मुआब्जा पनि दिनुपर्छ । अर्को, जग्गाको लालपुर्जा सम्बन्धित जग्गाधनीसँग पनि हुन्छ । नदिको तटबन्धपछि नदि आफ्नो आकारमा आएपछि कुनै व्यक्तिको जग्गा त्यसमा परेको छ भने अवश्य नै फिर्ता पाउँछन् । शहरभित्र बनिसकेको घर भत्काउनु पर्यो भने त्यसको क्षतिपुर्तिको व्यवस्था के हुन्छ ? त्यस्तो खालको क्षतिपुर्ति प्राधिकरणले भन्दा पनि आयोजनाले नै दिने हो । त्यसमा नेपाल सरकारको लगानी हुँदैन । आयोजनाले नै त्यसको व्यवस्थापन गर्ने हो । सुरुमा आयोजनाले ऋण लिएर काम गर्छ । त्यसपछि सबै जग्गा प्लटिङ्ग गरेर जग्गा बेचेर नै त्यसको परिपुर्ति गर्ने हो । काठमाडौंमा लामो समयदेखि करिडोरको व्यवस्थापनको समस्या पनि मुख्य रुपमा देखिएको छ । यो समस्या समाधानका लागि तपाईंले के गरिरहनु भएको छ ? हामीले मुख्य हेर्ने भनेको धोविखोला करिडोर हो । त्यो लगभग अन्तिम चरणमा पुगिसकेको छ । तीन वटा घरको कारणले केही समस्या भइरहेको छ । तिनीहरुलाई पनि चाँडै मुआव्जा दिएर काम अगाडि बढाउने भन्ने कुरामा लागेका छौं । त्यसका लागि फाइल पनि मन्त्रालयमा पुगिसकेको छ । त्यो चाँडै मन्त्रिपरिषदमा गएर जग्गा प्राप्तिका लागि बाटो खुल्छ होला । त्यसपछि सीडीओहरुको बैठक बसेर मुआब्जा तोकिन्छ । सोही अनुसार मुआव्जा दिने हो । नयाँ आर्थिक वर्ष पनि सुरु भएको छ, नयाँ आर्थिक वर्षमा नयाँ के काम गर्दै हुनुहुन्छ ? पहिलो त मापदण्डलाई संशोधन गर्ने पहिलो काम हो । अधिकांश टुक्रे कार्यक्रमहरु छन् । बजेटमा कार्यक्रम परेपछि नै म विकास आयुक्तका रुपमा आएकी हुँ । जुन कार्यक्रमहरु गए ती सबै टुक्रे कार्यक्रमहरु नै छन् । तीन वटा शहरको डीपीआरको विषयहरु पनि छन् । काठमाडौंका गुरुयोजना पनि छ । स्थानीय निकायले पनि सोही अनुसार काम गर्न सक्छन् । बजेटको उपलब्धता कस्तो छ ? काठमाडौं उपत्यका विकास प्राधिकरण आफै बजेट व्यवस्थापन गर्ने निकाय हो । ल्याण्डपुलिङ मार्फत आफै कमाएर आफै व्यवस्थापन गर्नु पर्ने संस्था हो । तर, अहिले नेपाल सरकारले १ अर्ब रुपैयाँ बराबरको बजेट दिएको छ । त्यो बजेटलाई अर्थमन्त्रालयले विभिन्न शिर्षकमा विभाजन गरेको छ । सोही बजेटभित्र रहेर हामीले काठमाडौं गुरुयोजना बनाउने र टुक्रे कार्यक्रमहरुलाई सम्पन्न गर्ने योजना बनाएका छौं । डीपीआरका विषय पनि त्यही भित्र छन् ।