वार्षिक ५ अर्ब कारोबार हुने रुद्राक्ष व्यवसायमा सरकारको ध्यान गएनः अध्यक्ष चापागाईं
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण अहिले रुद्राक्ष व्यवसाय संकटमा छ । भारतीय तथा चिनियाँ व्यापारीहरु रुदाक्ष लिन नआउँदा फलेको रुद्राक्ष धरासायी भएको व्यवसायीहरु बताउँदै आएका छन् । लामो समयसम्म भएको लकडाउन तथा निषेधाज्ञाका कारण विदेशी व्यापारीहरु नेपाल नआउँदा रुद्राक्ष निर्यात हुन सकेको छैन । हाल व्यवसायीहरुले रुद्राक्ष व्यवसायमा नीतिगत समस्याहरु पनि भएको बताउँदै आएका छन् । रुद्राक्ष व्यवसायमा भएका समस्या, समस्याको समाधान र समग्र रुद्राक्ष व्यवसायको विषयमा रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज कुमार चापागाईंसँग विकासन्युजका राजीव न्यौपानेले कुराकानी गरेका छन् । सुरुमा नेपालमा रुद्राक्षको व्यवसायकि खेतिको बारेमा बताइदिनुस् न । नेपालमा यसको सयौं वर्षको यतिहास छ । पहिले सीमित व्यक्तिले मात्रै रुद्राक्षको खेती गर्थे । दिङलाकै विषयमा कुरा गर्ने हो भने पनि रुद्राक्षको व्यवसायिक खेती गर्ने टिका प्रसाद चापागाईं, गोविन्द बस्नेत, मान बहादुर रोकायाको नाम आउँछ । पहिला पहिला रुद्राक्ष जोगी, सन्याशी आएर निःशुल्क पनि लिने गरेका थिए । धार्मिक दृष्टिकोणले निःशुल्क पनि त्यति खेर दिइन्थ्यो । २५ वर्ष अगाडिबाट व्यवसायिक रूपमा सञ्चालन भएको मेरो बुझाई छ । कोरोना भाइरसको समयमा रुद्राक्षको व्यापारमा कस्तो असर पर्यो ? विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण रुद्राक्ष व्यवसायमा पनि ठूलो असर परेको छ । विभिन्न समयमा भएको लकडाउन तथा निषेधाज्ञाको समयमा रुद्राक्ष खरिद गर्ने व्यापारी भारत तथा चीनबाट आउन नसक्दा पनि समस्या भयो । रुद्राक्ष बढी निर्यात हुने देशहरु भारत र चीन हुन् । त्यहाँबाट व्यापारीहरु आउन पाएनन् । गत वर्ष र यो वर्ष यसको व्यापार खस्किएको छ । यसले गर्दा यहाँका किसानलाई ठूलो समस्या परेको छ । रुद्राक्षको निर्यातको अवस्था कस्तो छ ? नेपालबाट भारत र चीनमा रुद्राक्ष बढी निर्यात हुन्छ । यी दुई देशमा वार्षिक १५ देखि २० लाख केजी रुद्राक्ष निर्यात हुन्छ । राम्रो तथा ठूलो सुन्दर रुद्राक्ष बढी चीन जाने गरेको छ भने मालाको लागी धार्मिक क्षेत्रमा प्रयोग हुने खालको रुद्राक्ष भारतमा जाने गरेको छ । ठुलो मुखे भने गोटाको हिसाबमा बिक्री हुन्छ । वार्षिक ३ देखि ५ अर्ब रुपैयाँसम्म रुद्राक्षको कारोबार हुने गरेको छ । तीन–चार वर्ष अघिसम्म रुद्राक्षको कारोबार राम्रै थियो । रुद्राक्षको मूल्य बढ्दा कृषकले समेत राम्रै आम्दानी गरेका थिए । गत वर्षदेखि कारोबार खस्कँदै गएको छ । कोभिडका कारणले गर्दा नै विदेशी व्यापारी नआएको हो वा अन्य कुनै कारण छ ? कोभिडका कारण नै विदेशी व्यापारी नआएका हुन् । उहाँहरु मसँग सम्पर्क हुँदा हामी आउछौं, रुद्राक्षका लागि हामी इच्छुक छौं भन्नुहुन्छ । तर, सोही देशको केही कानुनका कारण पनि उहाँहरुलाई आउन समस्या भइरहेको छ । रुद्राक्षको लागि ठूलो बजार चीन हो वा भारत ? बढी रुद्राक्ष भारत नै गएको छ । हेर्दा राम्रो, गोलाइ मिलेको चिल्लो, सुन्दर प्रकृतिका ठुला रुद्राक्ष चीन तर्फ जान्छ । साधारण दानाका मालाहरू भारत तर्फ जान्छ । ठुलो मूल्य आउने रुद्राक्ष प्राय भारत नै जान्छ । १४ मुखी भन्दा माथि रुद्राक्ष चीन जाँदैन भारत तिर जान्छ । रुद्राक्षको राम्रो बजार भारत नै हो । चीनमा छानेर सीमित मात्र जान्छ । रुद्राक्ष व्यवसायी संघले रुद्राक्षको बजार विस्तार गर्नका लागि के कस्ता काम तथा पहल गरिरहेको छ ? रुद्राक्ष व्यवसायलाई हामीले निकै गम्भीर रूपमा हेरेका छौं । २०७२ सालबाट रुद्राक्ष व्यवसायी संघ दर्ता भएर यसमा आवद्ध छौं । अहिले हामी यस क्षेत्रमा भएका कमि कमजोरीहरुलाई अध्ययन पनि गरिरहेका छौं । विदेशी मुद्रा भित्र्याउन रुद्राक्षले ठूलो सहयोग पुर्याएको छ । सरकारसँग पनि यस विषयको बारेमा धेरै कुरा गरेका छौं । मानिसको दैनिकीसँग अथवा धार्मिक हिसाबसँग पनि रुद्राक्ष गाँसिएको छ । यसको सामाग्रीहरू कति उत्पादन गर्न सकिन्छ भन्ने तर्फ पनि हाम्रो ध्यान केन्द्रित छ । हामीले दानमा लगाउने औषधी, किलिप्सहरु भारत तथा चीनबाट आयत गरी रहेका छौं । हामीले आयात गरिरहेका वस्तु स्वदेशमै बनाउनका लागि सरकारसँग पनि माग गरी रहेका छौं । सरकार समक्ष आर्थिक सहयोगको अपिल पनि गरेका छौं । अर्थमन्त्री पनि यसप्रति सकारात्मक हुनुहुन्छ । उद्योग वाणिज्य महासंघले पनि यसमा सकारात्मक छ । सरकारी स्तरबाट के पहल हुन जरुरी दुख्नुहुन्छ ? पहिलो त सरकारले रुद्राक्ष व्यवसायलाई ठाउँ नै दिएको छैन । यो व्यवसाय छायामा परेको छ । हाम्रो व्यवसाय अहिले छायामा परिरहेको छ । हामीले हाम्रा कुराहरु प्रधानमन्त्री समक्ष पनि राखेका छौं । रुद्राक्षले २० लाख मानिसहरूलाई पालेको छ । ५ लाख युवाहरूलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमा नै रोजगारको सिर्जना गरेको छ । रुद्राक्ष व्यवसाय वर्षको एक पटक गर्ने हो । यसलाई टिप्ने बेलामा मात्र खेताला लगाए भइहाल्छ । साथै नगद आम्दानी हुने भएकोले पनि मानिसहरुको यसमा आकर्षण बढेको छ । यसको बिक्री गर्न पनि सजिलो छ । व्यापारीहरु घरमै आएर खरिद गर्छन् । रोपेपछि वर्षमा एक पटक मात्र फलको आश गर्नुपर्ने र अरू खेती व्यवसायमा जस्तो स्याहार गोडमेल गरिरहनु पर्ने नभएकाले कृषकहरू रुद्राक्ष व्यवसाय प्रति आकर्षित छन् । रुद्राक्ष व्यवसायले नेपालको अर्थतन्त्र बढाउनमा ठूलो सहयोग पुग्न सक्छ । विदेशी मुद्रा आर्जन गर्ने एउटा गतिलो स्रोत यो व्यवसाय बन्न सक्छ । हाम्रा माग राखिसकेका छौं । सरकारले काम गर्न मात्रै बाँकी हो । रुद्राक्ष व्यवसायमा भएका समस्या के हुन् ? रुद्राक्ष क्षेत्रमा समस्या धेरै छन् । नीतिगत समस्या नै रुद्राक्ष क्षेत्र सबै भन्दा ठूलो समस्या हो । हामीले नीति नै बनाउन सकेका छैनौं । हामीले पहिलाबाट नै यसको निति बनाउन तर्फ लागेका छौं तर, स्थानीय तह, प्रदेश र संघीय सरकारको झन्झटिलो प्रक्रियाले गर्दा अलिक समस्या भइरहेको छ । अहिलेको हाम्रो मूल मुद्दा भनेको रुद्राक्ष व्यवसायलाई कृषि क्षेत्रमा हाल्नु पर्छ भन्ने हो । त्यसो हुँदा किसानहरूले विभिन्न अनुदान तथा सेवा सुविधाहरू पाउँछन् । हाम्रा विभिन्न मागहरुमध्ये यो क्षेत्रलाई कृषिमा समायोजित हुने बित्तिकै ६० प्रतिशत समस्या समाधान भएर जान्छन् । सामान्य रुद्राक्ष व्यापारीले रुद्राक्ष विदेशमा लिएर बेच्न सक्छ कि सक्दैन ? सक्छ, हामीले भन्सारमा पनि यसको प्रक्रिया मिलाउनको लागि प्रयास गरेका छौं । भारतमा पुर्याइसकेपछि पूजा सामग्रीका रूपमा यसलाई लिइन्छ । नेपाल सरकारले पनि यसलाई सकारात्मक तरीकाले नै हेरेको छ । नेपालबाट बाहिरी देशमा रुद्राक्ष लिनको लागि समस्या छैन । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य निर्धारण हुन्छ ? अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य निर्धारण हुन अलिक अफ्यारो छ । यसको गुणस्तर, सुन्दरता तथा आकार हेरेर यसको मूल्य राखिन्छ । यसको कति मुखेको कति मूल्य भनेर तोकिन्छ । उन्नत दाना अर्थात बहुमूल्य रुद्राक्ष कसरी उत्पादन गन सकिन्छ ? यसलाई उन्नत बनाउने वा ठ्याक्कै उन्नत यही हो भनेर भन्न सकिँदैन । रुद्राक्षको बिरुवाले फल दिन थालेपछि मात्र त्यसको गुणस्तर थाहा हुन्छ । उन्नत बिरुवाको कलम, ग्रफ्टीङ गरेर अन्त सारेर पनि उन्नत दानाहरू उत्पादन गर्न सकिन्छ । अधिकांश कृषक र व्यवसायी एकै खालका छन् । त्यसो हुनाले उन्नत जातको रुद्राक्ष आफै उत्पादन भएर आउने हो । कहीँबाट बनाएर ल्याएको हैन । १० वटा बिरुवा रोप्दा एक वटा बिरुवा राम्रो निस्कन सक्छ । त्यस बिरुवाबाट कलमी ग्रफटिङ गरेर बिरुवा बढाउने हो । बिरुवाले उत्पादन दिइसकेपछि मात्र त्यसको गुणस्तर मापन गर्न सकिन्छ । यो धार्मिक चिज हो भाग्यको कुरामा पनि भर पर्न सक्छ । विशेष गरी यो गाउँघरमा भन्ने गर्दछन् । कहिले एउटै बोटमा २० औं लाख रुपैयाँको रुद्राक्ष पनि फल्न सक्छ । कहिले त्यहीँ बोटमा २ हजार रुपैयाँको पनि फल्दैन । नेपालको कति ठाउँमा रुद्राक्ष खेति गरिन्छ, कुन ठाउँमा सबैभन्दा राम्रो रुद्राक्ष उत्पादन हुन्छ ? रुद्राक्ष दाना दिङ्लामा नै उत्पादन राम्रो भएको मानिन्छ । षडानन्द गुरुसँग जोडिएर आएको विषय भएकाले यो निकै पुराने विषय हो । एक सय ८ प्रजातिका बिरुवाहरू रोप्ने क्रममा पछि त्यहीँबाट जान आउन थालियो भन्ने किमदन्ति छ । अहिले रुद्राक्ष ४५ वटा जिल्लामा व्यावसायिक खेति गर्न थालिएको छ । अन्त्यमा, रुद्राक्ष व्यसायी र कृषकलाई र सरकारलाई के सल्लाह दिन चाहनुहुन्छ ? अहिले तीन तहको सरकार छ । सम्पूर्ण कृषक तथा व्यवसायीहरूले यो पेशालाई मर्यादित तुल्याउनको लागि र यसलाई देशव्यापी बनाउन र उत्पादन भएको संरक्षण गर्दै यसको व्यवसायलाई अभिवृद्धि गर्नको लागि आ–आफ्नो क्षेत्रबाट स्थानीय तह प्रदेश र संघीय सरकारले पनि पहल गर्न आवश्यक छ । रुद्राक्ष व्यवसायी संघले स्थानिय आम्दानीको स्रोत रुद्राक्षको संरक्षणको लागि स्थानिय सरकार, स्थानिय वासिन्दाहरुलाई पटक पटक यसको संरक्षणको लागि आग्रह गर्दा पनि वेवास्ता गरेको र साथ साथै २र४ जना गैर व्यवसायीको कारण व्यवसायी धराशायी हुने देखिन्छ । रुद्राक्षलाई विदेशमा निर्यात गर्न, व्यवसायी तथा कृषकलाई विभिन्न तालिम तथा गोष्ठीको व्यवस्था, बिक्री नभएका रुद्राक्षहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले ध्यान दिन आवश्यक छ । २/४ गैर व्यवसायीका कारण सरकार पछि पर्नु भएन । समग्र व्यापारीको हक हितका लागि काम गर्न आवश्यक छ । भिडियाे:
एजेन्ट परिचालन र पोलिसी सरेन्डर अहिलेको मूख्य समस्या हुन्- विपिन कुमार लाल
सधैं पपुलर अनुहारले प्रमुख जिम्मेवारी पाउँछ भन्ने हुन्न । दृष्यमा नदेखिएका व्यक्ति महत्वपूर्ण जिम्मेवारीमा आइरहेका हुन्छन् । यस्तै भयो गुराँस लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विपिन कुमार लालको नियुक्ती । महोत्तरीको मदरासीसभा वडा नं ९ मा जन्मिएका लालले सर्लाहीबाट आफ्नो स्कूलिङ सकेका हुन् । बीमा समितिले ‘सीईओ बन्नको लागि मास्टर डिग्री नै चाहिन्छ’ भन्ने मापदण्ड बनाएपछि लालले एस इन्स्टिस्यिूट अफ म्यानेजमेन्टबाट एमबीए गरे । उनले जे चाहेर स्नातकोत्तर गरेको थिए त्यहि प्राप्ति गरेका छन्, यहि कात्तिक ३ गतेदेखि । लालले नेपाल ब्याट्रीबाट आफ्नो जागिर शुरु गरेका हुन् । पछि उनी छोटो समय चार्टर्ड एकाउन्ट फर्ममा आवद्ध भई अडिटको काम गरे । १८ वर्षअघि उनले लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी)मा जुनियर अफिसरबाट बीमा करियर शुरु गरेका थिए । सोही कम्पनीका उनी प्रदेश प्रमुख (प्रदेश १ र प्रदेश २) को जिम्मेवारीमा थिए । त्यहाँबाट उनले गुराँस लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा फड्को मारे । कम्पनीले कात्तिक एक गतेदेखि लागू हुने गरी सीईओको जिम्मेवारी दिएको थियो । तर उनले ३ गते पदभार समाले । ‘३ गते पूर्णिमाको दिन थियो । आमाले पटक पटक पूर्णिमाको दिनबाट नयाँ अफिसमा नयाँ जिम्मेवारी थाल्न सुझाव दिनुभयो । आमाको आर्शिवाद मानेर ३ गतेदेखि जिम्मेवारी समालेको छु’ उनले विकासन्युजसँगको विकास वहसमा भने । प्रस्तुत छ उनीसँगकाे विकास वहस । एलआईसीबाट गुराँस लाईफको प्रमुख कार्यकारी अधिकृतमा फड्को मार्ने अवसर कसरी जुट्यो ? एलआईसीमा १८ वर्ष काम गरेर भखर्रै प्रदेश १ र प्रदेश २ को प्रदेश प्रमुखको जिम्मा पाएको थिएँ । त्यहाँ आफ्नो जिम्मेवारी सम्हाल्दै थिएँ, सोही गुराँस लाइफको सीईओ पद खाली भयो । कुरा चल्यो । सहमति भयो । मैले यसलाई नियमित प्रक्रियाको रुपमा लिएको छु । गुराँस लाइफमा आउनुपूर्व सोसल साइटमा तपाई एलआईसीको असिस्टेन्ट म्यानेजर भनेर हामीले देख्यौ । असिस्टेन्ट म्यानेजरबाट एकै पटक सीईओ बन्नु भएको हो ? पछिल्लाे समय म एलआईसीमा म प्रोभिन्स चिफ थिए । प्रदेश नम्बर १ र २ को प्रमुखको हैसियतमा म काम गर्दै थिए । एलआईसीमा प्रदेश प्रमुख भएको व्यक्ति डीसीओ वा सीईओ बन्नु स्वाभाविक हो । पछिल्लो समय इन्स्योरेन्समा काम गर्नु निकै चुनौतिपूर्ण छ । उच्च व्यवस्थापनमा रहेर काम गर्दा धेरै दवावको सामना गर्नुपर्छ भनिन्छ । तपाईले कस्तो अनुभव गरिरहनु भएको छ ? इन्स्योरेन्स प्रोफेसन राम्रो प्रोफेसन हो । म यसमा इन्जोइ गरिरहेको छु । त्यसैले त मैले यस क्षेत्रमा १८ वर्षको लामो समय बिताइसकेको छु । तर पछिल्लो समय विस्तारै विकृतिहरु बढिरहेका छन् । नियामकले पनि यसलाई समय समयमा चेक एण्ड ब्यालेन्स गरिरहनु भएको छ । प्रोफेसनको हिसाबले त यो धेरै राम्रो प्रोफेसन हो । बीमा क्षेत्र भनेको आफैमा समाज सेवा गर्ने क्षेत्र हो । यो क्षेत्रभित्र पनि विभिन्न पदमा इन्जोइ गरिन्छ । व्यक्तिगत रुपमा मैले मार्केटिङ्गमा सबैभन्दा बढी इन्जोइ गरे । जहाँ विभिन्न खालका व्यक्तिसँग भेटघाट सँगसँगै अन्तरक्रिया हुन्छ र विभिन्न खालका विचारहरु सेयर हुने गर्छ । कुन बिन्दुमा आउँदा कम्पनीको सीईओ बन्छु भन्ने लागेको थियो ? मलाई मात्रै होइन कर्मचारी सबैलाई कम्पनीको टप लेभलमा पुगौं भन्ने रहर हुन्छ । जब जो कोहीले कहीँ अवसर पाउँछ, तब उसले त्यसको लागि आफू सक्षम छु की छैन भन्ने बारेमा निर्णय गर्नुपर्ने हुन्छ । त्यसैले, मैले यो अफर पाइसकेपछि मलाई लाग्यो, म यसको लागि सक्षम छु । मैले यो गर्न सक्छु भन्ने लाग्यो । र, यो अवसर र चुनौति दुबैलाई स्वीकारेँ । कस्तो अनुभूति भइरहेको छ ? खासै फरक छैन । जस्तो म पहिला फिल गर्थें, त्यस्तै फिल गरिरहेको छु । यस कम्पनीमा भखर्रै आएको छु, फ्रेस छु । अहिले त म कम्पनीलाई अध्ययन गर्दै छु । कम्पनीमा आएर जब मैले कुनै उपलब्धि हासिल गर्छु, तब मात्र मलाई अर्कै फिल होला । सीईओको जिम्मेवारी पाउँदैमा एक्साइटमेन्ट भइँदैन । पहिला काम गर्नुपर्यो । जब मैले काम गरेर कम्पनीमा सक्सेस हुन्छु, तब मलाई फिल हुन्छ मैले यो गरेँ भन्ने । केही नै नगरी सीईओ पोष्ट आउँदैमा एक्साइटमेन्ट भैहाल्ने होइन । यो मेरो एउटा जब नै हो । त्यसैले पहिला जब गर्दा जस्तो फिल गर्थे अहिले पनि त्यस्तै भइरहेको छ । नयाँ कम्पनीमा नयाँ योजना के छ ? अहिले कम्पनी अध्ययनको क्रममै भएकोले प्लानिङ् गरिसकेको छैन । पहिला कम्पनीको बारेमा अध्ययन गरौं, व्यापार व्यवसाय के कस्तो छ, सबै बुझौं । त्यसपछि मात्रै के गर्ने, कसो गर्ने भन्ने प्लान गर्नुपर्छ । सीईओ भएपछि कम्पनीलाई राम्रो सँगसँगै बलियो बनाउने चाहना हुन्छ । स्थापना भएको १३/१४ वर्षको भईसकेको कम्पनी किन माथि आउन सकेन । यसको बारेमा बुझ्न पर्यो । कम्पनीको प्रडक्टहरुको बारेमा पनि थाहाँ हुन पर्यो । किन माथि उठ्न सकेन त ? प्रडक्टमा केही कमी भयो या प्लानिङ्गमै केही कमी भयो । तपाईंको व्यवसायिक योजनामा के के गर्ने प्रतिवद्धता गर्नु भएको छ ? म आएपछि बोर्डसँग छलफल भएको छ । बिजनेस प्लान बनेको छ तर म अहिले यसलाई डिस्कोल्ज गर्ने अवस्थामा छैन । मलाई मात्रै होइन कुनै पनि कम्पनीको सीईओ नियुक्ती हुँदा बोर्डसँग बिजनेस प्लानको बारेमा छलफल हुन्छ । डकुमेन्ट पनि बन्छ । तर त्यो नियुक्ति भएको ४/५ दिनमै बाहिर ल्याउन मिल्दैन । तपाईले भन्नु भयो कि विगत १३ वर्षको दौरानमा यो कम्पनी जुन पोजिसनमा पुग्नु पर्ने थियो, त्यो पोजिसनमा कम्पनी रहेन, पुगेन । यसको अर्थ अरु कम्पनी जुन स्पीडमा दौडिरहेका छन्, त्योभन्दा बढी स्पीडमा हामी दौडिनु पर्छ भन्ने यहाँको आसय हो ? होइन । मैले त्यो भन्न खोजेको होइन । हामी कहाँ पछाडि छौं भन्ने विषयमा अध्ययन गरेर त्यसलाई सुधार्दै लानुपर्छ भन्ने मेरो भनाई हो । कम्पनीको एउटा गोल त हुन्छ । अबको चार वर्षको दौरानमा यो बिन्दुमा पुग्छौं भनेर भन्न त सकिन्छ नि ? सकिन्छ । मैले अघि नै भने हरेक कर्मचारीको चाहना हुन्छ कि म टप लेभलमा पुगौं । कम्पनीलाई लिड गरौं । सीईओ भएपछि पनि कम्पनीलाई अगाडि बढाऔं, माथि लैजाऔं भन्ने नै हो । अब ४ वर्षको दौरानमा धेरै परिवर्तन ल्याउनु पर्छ भन्ने चाहन्छौं । चाहे त्यो सीईओबाट होस्, सञ्चालक समितिबाट होस् । रेगुलेशनबाट पनि धेरै चेञ्जेजहरु आउन सक्छन् । वास्तवमै हामी के चाहन्छौं भने हामी एउटा लेभलमा पुगौं । जति पुराना कम्पनीहरु छन्, ती कम्पनीमध्ये शीर्ष ५औं स्थानमा जाऔं भन्ने चाहना सबैको छ । हाम्रो मात्रै होइन अन्य कम्पनीहरुको चाहना पनि यही नै हो । त्यसैले हाम्रो गोल भनेकै राम्रो व्यवस्थापन गरेर बीमा क्षेत्रमै लिड गर्न सकौं भन्ने हो । यसमा केही इन्डिकेटरहरु सेयर गर्न मिल्छ ? अहिले त मिल्दैन । किनभने मसँग अहिले पर्याप्त डाटाहरु छैन । विभिन्न डिपार्टमेन्टसँग डाटाहरु लिएर स्टडी गर्दै छु । यहाँले कम्पनीमा नियुक्ति लिनुभन्दा पहिलै कम्पनीको बारेमा बुझ्नु भएको छ । तपाईंको नोटिसमा आजसम्ममा यो कम्पनीको सबल पक्षहरु के के हुन् ? सबल पक्षको कुरा गर्नु पर्दा यो कम्पनीको संस्थापकहरु सबै बजारमा चिरपरिचित हुनुहुन्छ । यहाँको प्रडक्टहरु पनि बजारमा प्रतिस्पर्धी नै छन् । मलाई लाग्छ कम्पनी जति व्यवस्थित हुनुपर्थ्यो, त्यो नभएको हो की । सञ्चालक समिति पनि सर्पोटिभ नै छ । अध्यक्ष पनि एकदम सर्पोटिभ हुनुहुन्छ । कुनै विषयमा छलफल गर्नु पर्यो भने उहाँहरु जुनसुकै समयमा तयार हुनुहुन्छ । यही नै हो कम्पनीको सबल पक्ष । कम्पनीलाई ड्राइभ गर्न अथवा सर्वसाधारणलाई इन्स्योर्ड गराउनको लागि बाहिरी परिवेश तथा वातावरण कस्तो छ ? भित्री वातावरण जस्तै बाहिरी वातावरण पनि इन्स्योरेन्स कम्पनी आफैले बनाउने हो । नियामकको सहयोगमा सबै इन्स्योरेन्सको प्रयास हुन्छ बाहिरी वातावरण बनाउन । नियामकले पनि इन्स्योरेन्सको महत्व बुझाउन गाउँपालिका तथा नगरपालिकाहरुमा विभिन्न कार्यक्रमहरु गरिरहनु भएको छ । त्यस्तै, बजारमा जनचेतना कार्यक्रम फैलाउन इन्स्योरेन्स कम्पनीका एजेन्ट, मार्केटिङका कर्मचारीका दायित्व हुन्छ । अर्को, वातावरण बनाउने दौरानमा केही न केही विकृतिहरु आइसकेका छन् । कस्तो विकृति आयो भने ठूलो पोलिसी जारी गर्ने र सरेन्डर गराउने । बीमा समितिले सरेन्डरको लागि नयाँ सर्कुलर जारी गरी कम्तिमा ३ वर्षसम्म राख्नुपर्छ भन्ने निर्देशन दिनुभएको छ । यसले विकृतिलाई हटाउने कोशिस गर्छ । अहिले मार्केट पुराका पुरा विकास भइसकेको छैन । सर्वसाधारणमा पनि जनचेतना फैलिसकेको छैन । तर, रेगुलेटरको पार्टबाट एकदम तीव्र गतिमा काम भइरहेको छ । र, कम्पनीहरुले पनि आफ्नो तर्फबाट जतिसक्दो प्रयास गरिरहेका छन् जस्तो लाग्छ । बजारलाई सव्य र भव्य बनाउन सामूहिक रुपमा कुनै कार्यक्रम अघि बढाउन पाए हुन्थ्यो भन्ने छ ? यसमा मेरो व्यक्तिगत बुझाई छ । सबैभन्दा पहिला एउटा एजेन्टले एउटै कम्पनी समाउनु पर्छ जस्तो लाग्छ । त्यहाँबाट धेरै समस्याहरु समाधान हुँदै जान्छन् । किनकी एजेन्टलाई नै यताबाट उता तान्ने, अर्काको एजेन्टलाई ल्याउने जस्ता कृयाकलापले ठूलो विकृति ल्याइरहेको छ । एजेन्टहरुलाई हामीले यसरी खुला छोडेका छौं, की उनीहरु जुनसुकै बेला जता पनि जान सक्छन् । यसलाई रोक्नु पर्छ । हुन त यो कम्पनीले गर्न सक्दैन । बीमा समितिले पनि डाइरेक्ट रेगुलेट गरेर गर्न सक्ने अवस्था सायदै कम छ । यो ऐनमा भएको व्यवस्था हो, त्यसैले ऐनलाई नै संशोधन गर्नुपर्ने हुन्छ । यसको अर्को साइड के भयो भने बिजेनसको खोसाखोस तानातान यति हदसम्म गयो, जसले पोलिसी गरेर सरेन्डर गराउने बाध्य बनायो । यो सब बीमा क्षेत्रका गलत गतिविधिमध्ये केही हुन् । यो क्षेत्रमा जति पनि फोहोर फैलिएको छ, सबै यी दुई कारणले नै हो । यदि यो दुई विषयमा कडाई गरियो भने बीमा क्षेत्रका ९० प्रतिशत समस्या त्यत्तिकै समाधान हुन्छ । यहाँ कम्पनी बलियो हुनुभन्दा अभिकर्ताहरु बलियो भइसकेका छन् । अभिकर्ताको भूमिका कम गराउन अनलाइनबाटै इन्स्योरेन्स पोलिसी बिक्री गर्दा हुन्न ? टर्म इन्स्योरेन्सहरु हुन्छ । त्यसमा रिक्स कभरेज मात्रै हुन्छ । जस्तो भारतमा टर्म इन्स्योरेन्सहरु अनलाइनबाट लिन सकिन्छ । जहाँ फिजिकल रिक्वायरमेन्टहरु हुँदैन । तर, इन्स्योरेन्समा हुने मेडिकलका कुराहरु लगायतका बाँकी कामहरु हुन्छन् । जुन अनलाइनबाटै भेरिफाई गर्ने व्यवस्था नहुन सक्छ । टर्म इन्स्योरेन्सको लागि भने सोच्न सकिन्छ । व्यक्तिगत अभिकर्ताको विकल्प खोज्ने बेला भयो कि भएन ? खोज्न त खोजी सकेका छौं । संस्थागत अभिकर्ता अहिले पनि छन् । बैंकास्योरेन्स पनि भएकै थियो । त्यसमा केही कमजोरी भएका कारणले त्यो बन्द भए । तर अभिकर्ताको अल्टरनेटमा बैंकास्योरेन्स नभएपछि संस्थापक अभिकर्ता अहिले पनि छन् । जुन कम्पनीमा संस्थापक अभिकर्ता छन्, त्यो कम्पनीको बिजनेस अर्कै हुन्छ । साइडमा एडिस्नल रेभिन्यू जेनरेट गर्न कम्पनीहरुले संस्थापक अभिकर्ता राखेका हुन्छन् । यसमा व्यक्तिगत अभिकर्ताहरुले पनि सहयोग गरेका हुन्छन् । त्यसैले, मेरो बुझाईमा हाम्रा जति पनि अभिकर्ता छन्, उनीहरुलाई नै पशिक्षण गरेर, कानुनमा व्यवस्था गरेर प्रोफेसनल तथा बढी उत्तरदायित्व बनाउनु पर्छ ।
हामी उल्टो बाटो हिँडिरहेका छौं, बैंकले सेयर किन्न ऋण दिने नै होइनः भट्टराई
पछिल्लो समय सेयर बजारप्रति धेरैको आकर्षण बढ्न थालेको छ । सेयर खरिद विक्रीको लागि आवश्यक पर्ने डिम्याट खाता खोल्नेहरुको संख्या ४० लाख हाराहारीमा पुगेको छ । यो तथ्यांकले पनि सेयरप्रति सर्वसाधारणको आकर्षण बढेको पुष्टी गर्छ । भदौ पहिलो साता ३२ सय विन्दुमा पुगेको नेप्से परिसुचक अहिले घटेर २६ सयको हाराहारीमा घुमिरहेको छ । बजार घट्नुलाई कतिपयले राष्ट्र बैंकको नीतिगत व्यवस्थालाई दोष दिएका छन् भने कतिपयले स्वभाविक भएको विश्लेषण गरिरहेका छन् । राष्ट्र बैंकले ल्याएको मार्जिन प्रकृतिको कर्जाको लागि एउटा व्यक्तिले एउटा बैंक वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँसम्म र सबै बैंक वित्तीय संस्थाबाट गरी १२ करोड रुपैयाँसम्मको सीमालाई नै बजार घटाउने कार्य हो भन्दै आलोचना गर्नेहरु पनि छन् । कतिपय लगानीकर्ताहरु बजार सधै बढिरहनु पर्ने तर्क गरिरहेका हुन्छन् भने कतिपय लगानीकर्ता नीति निर्माताको अनावश्यक हस्तक्षेपले बजारमा प्रभाव पारिरहेको बताइरहेका छन् । यही सन्दर्भमा हामीले नेपालको सेयर बजारको अहिलेको अवस्था, राष्ट्र बैंकले ल्याएको ४ करोड र १२ करोड कर्जा सीमाको व्यवस्था, अन्तराष्ट्रिय बजारका अभ्यास जस्ता जस्ता विषयमा केन्द्रीत रहेर सेयर विश्लेषक रविन्द्र भट्टराईसँग कुराकानी गरेका छौं । नेपालको सेयर बजारलाई नीतिले बढी प्रभाव पार्ने गरेको छ कि हल्लाले ? हामी त्यसका असरहरुको कुरा गर्छाैं । नीति र हल्ला दुबैले बजारलाई असर पार्ने गरेको छ । कुनको असर बढी हुन्छ वा कुनको असर कति समय रहन्छ भन्ने कुरा महत्वपूर्ण हो । हल्लाको सन्दर्भमा कुरा गर्दा कसको हल्ला पत्याउने भन्ने एउटा पाटो हुन्छ । सामाजिक संजालको कुरा गर्ने हो त्यहाँ लाखौं मानिसले एउटै कम्पनीको बारेमा लाखौं कुरा राखेको हुन्छ । तर, सबैको कुरालाई मानिसहरुले विश्वास गरिरहेको हुँदैन । त्यहाँ कसको कुरालाई धेरैले विश्वास गरिरहेका छन् भन्ने हुन्छ । र, धेरैले विश्वास गरेको कुरा नै सत्य नभई हल्ला मात्रै पनि हुन सक्छ । हल्लाको कुरा सधैं नै अल्पकालिन हुन्छ । किनभने त्यसको वास्तविकता केही समयपछि नै थाहा भइहाल्छ । जस्तो कि कम्पनीको बारेमा कुनै हल्ला चलाइएको छ भने कम्पनीले भन्ला कि यो कुरा त सत्य होइन, हल्ला हो । यसअघि हुने गरेका कतिपय हल्लाहरुमा सम्बन्धित कम्पनीहरुको खण्डनहरु पनि आउने गरेका छन् । कम्पनीको बारेमा चलेको हल्लाको विषयमा कम्पनीले भोलि नै जवाफ दियो भने हल्ला एक दिन रह्यो । कम्पनीले सात दिनपछि जवाफ दियो भने हल्लाको असर सात दिनसम्म रहने भयो । कुनै राम्रो कम्पनीका बारेमा अनावश्यक हल्ला चल्यो भने त्यस्तो कम्पनीले थाहा पाउने वित्तिकै वास्तविकता बताइदिन सक्छ । त्यस्तो अवस्थामा हल्लाको आयु केही मिनेट वा केही घण्टा मात्रै रहन सक्ने पनि भयो । यस्ता हल्लाको विषयमा कम्पनीले कति चाढो थाहा पाउँछ र उसले कति समयमा ‘फिल’ गर्छ भन्ने कुरा हो । नीतिगत विषयले पार्ने असर भनेको त्यस्तो नीति रहुन्जेल रहन्छ । ३२ सय विन्दुमा पुगेको नेप्से परिसुचक छोटो समयमा नै घटेर अहिले २६ सय विन्दुको वरिपरी घुमिरहेको छ, यसरी बजार घट्नुको प्रमुख कारणबारे तपाईंको विश्लेषण के छ ? संसारभरकै सेयर बजारलाई असर पार्ने भनेको नीतिगत र आर्थिक विषय हो । नीतिगत विषय हेर्दा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको कर्जामा ४ करोड र १२ करोडको सीमा तोक्ने कार्यले असर पारेको देखिन्छ । राष्ट्र बैंकको यस्तो नीतिले ऋण लिने व्यक्ति वा कम्पनीलाई मात्रै असर पारेन । बाहिर पनि असर छोड्यो । अब आवश्यक परेजति ऋण लिन नपाउने वा ठूला लगानीकर्ताले आफ्नो ऋण घटाउनु पर्ने भएपछि त्यसको असर अरु लगानीकर्तामा पनि पर्यो । किनभने ठूलोले बेच्नुपरेपछि, ठूलोले लगानी नगर्ने भएपछि ठूलोले जति होल्ड गरेको छ, त्यो सेयर त बजारमा आउने भयो । त्यसले आपूर्ति बढ्ने भयो । त्यसको मनोविज्ञान अर्काेले पनि अध्ययन गरिरहेको हुन्छ । त्यसैले सीमामा ल्याउनु पर्नेले मात्रै होइन, अर्काे पनि आफूसँग भएको सेयर बेच्न तयार हुन्छ । यो नीतिगत कारणले कर्जा नलिने वा नलिएको व्यक्तिलाई पनि सेयर बेच्न तयार पार्ने कार्य गर्यो । अर्काे आर्थिक विषय भनेको व्याजदर । असरका हिसावले हेर्ने हो भने व्याजदर नै हाम्रो सेयर बजारको सबैभन्दा ठूलो खेलाडी हो । व्याजदर पनि एकैचोटी सबै बैंकले बढाए । सबै बैंकले एकैचोटी व्याज नबढाएको भएपनि यस्तो नकारात्मक असर पर्दैनथ्यो । यसरी व्याजदर बढेपछि लाख लगानी गर्ने त यो कुराको ‘फिल’ नै गर्दैन, उसले त्यहाँसम्मको विश्लेषण हेर्दै हेर्दैन । तर, अलि धेरै लगानी गर्ने तथा विगतको दिनमा व्याजदरको असरको बारेमा पृष्ठभूमि हेरिरहेको हुन्छ, उसले त विश्लेषण गर्छ । २०६० सालदेखि आज २०७८ सालसम्म जति पनि ‘अप एण्ड डाउन’ देख्यौं, बजार चक्र देख्यौं, त्यसमा सबैभन्दा बढी असर व्याजदरकै छ । जुन बेला व्याजदर बढेको छ, त्यो बेला बजार घटेको छ । जुन बेला व्याजदर घटेको छ, त्यो बेला बजार बढेको छ । आजको बजारमा व्याजदरको असर बढी देखिएको छ । बजार घट्न थालेपछि मनोवैज्ञानिक असर नयाँ लगानीकर्तामा बढी पर्न थाल्छ । किनभने कहिल्यै पानीमा नपसेको मानिस पहिलो पटक पोखरीमा पर्यो भने उसमा डर र अप्ठेरोपन बढी हुन्छ । अहिले बजारमा त्यस्तो असर पनि देखिन थालेको छ । राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयरधितो कर्जामा एउटा बैंक वित्तीय संस्थाबाट ४ करोड र सबैसँग गरेर १२ करोडसम्म मात्रै कर्जा लिन पाइने व्यवस्था गरेको छ, यो नीतिगत व्यवस्था सही हो कि होइन ? अहिले हामीले सेयर किन्नको लागि जसरी ऋण दिइरहेका छौं, यो भनेको विश्व बजारको भन्दा फरक खालको व्यवस्था हो । अन्तराष्ट्रिय अभ्यास अनुसार सेयर खरिद विक्रीको लागि जसरी ऋण दिनु पथ्र्याे, हामी त्यता नगई फरक बाटो भएर गएका छौं । मार्केटलाई बाइपास गरेका छौं । राष्ट्र बैंकको तर्क के छ भने बैंकहरुले सेयर किन्नको लागि दिएको ऋणले फेरि सेयर किन्ने काम भयो । बजार घटेर गएको बेलामा यसको खतरा बढेर जाने भयो । राष्ट्र बैंकको पहिलो विश्लेषण यो हो । दोस्रो विश्लेषण के हो भने केही व्यक्तिले मात्रै ऋण लिए, साना लगानीकर्ताको पहुँचमा यस्तो ऋण पुगेन, ठूला लगानीकर्ताले मात्रै प्रयोग गरे । साना लगानीकर्ता ऋण लिनबाट बन्चित भए, उनीहरुले फाइदा पाउन सकेनन् भन्ने पनि हो । राष्ट्र बैंकको यो दुबै बुझाई र हाम्रो प्रणाली फरक प्रकारको छ । हामी मार्जिन ट्रेडिङको अवधारणाबाट जानु पथ्र्याे । मार्जिन ट्रेडिङ भनेको सेयर ब्रोकरको माध्यमबाट ऋण लिएर सेयर किन्ने हो । सेयर किन्नको लागि बैंकहरुले ऋण दिने नै होइन । कुन कम्पनीको सेयर किन्नको लागि ऋण दिने र कुन कम्पनीको लागि नदिने भन्ने हुन्छ नै । मार्जिन ट्रेडिङको ढोका खुल्ला भएपनि कार्यान्वय गर्न सकिएको छैन । यसमा धितोपत्र बोर्ड, नेप्से, ब्रोकर वा अन्य नियामकको कमजोरी होला । मार्जिन ट्रेडिङ सुरु भएको भए सेयर धितो कर्जा एउटै धेरै लियो, उसले कम पायो वा पाउँदै पाएन भन्ने जस्ता कुराहरु आउने नै थिएनन् । मार्जिन ट्रेडिङ सुरु भएको भए कसले कति ऋण लियो भने न त राष्ट्र बैंकले टाउको दुखाइरहनु पर्ने थियो, न त राष्ट्र बैंकको यस्तो नीतिबाट सेयर बजार पिडित भइरहनु पर्ने अवस्था आउँथ्यो । मार्जिन ट्रेडिङ सुरु भएको भए राष्ट्र बैंकका दुइटै चासो सम्बोधन हुन्थ्यो । किनभने सेयर धितो राखेर किनेको सेयर धितो राखेर ऋण लियो, त्यस्तो पैसाले फेरि सेयर किन्यो र फेरि धितो राख्यो, फेरि सेयर किन्यो भन्ने राष्ट्र बैंकको चिन्ता सकिन्थ्यो । किनभने ब्रोकरको माध्यमबाट ऋण लिएर सेयर किन्दा त्यस्तो सेयर एक पटक मात्रै धितोको रुपमा प्रयोग हुने थियो । किनभने कसैले एक लाखको सेयर किन्नु छ भने ब्रोकरसँग ५० हजार रुपैयाँ ऋण लिने र बाँकी ५० हजार रुपैयाँ ब्रोकरले धितो दिन्थ्यो । र, त्यस्तो सेयर ब्रोकरकोमा एक पटक मात्रै धितो रहने थियो । त्यही सेयर अर्काे पटक धितोमा बस्दैनथ्यो । ऋण लिएर किनिएको सेयर एक पटक मात्रै धितो हुन्थ्यो । यस्तो व्यवस्थाले ‘पायलअप’ भयो भन्ने राष्ट्र बैंकको चिन्ता सकिन्थ्यो । राष्ट्र बैंकको दोस्रो चिन्ता भनेको केही निश्चित व्यक्ति वा समुहले मात्रै ऋण लिए, धेरैको पहुँचमा पुग्न सकेन, साना लगानीकर्ताले नीतिको फाइदा उठाउन पाएनन्, निश्चित व्यक्तिहरुले मात्रै लाभ लिइरहेका छन् भन्ने छ । तर, अहिले राष्ट्र बैंकले भने झै ४ करोड र १२ करोडको सीमा कायमै रहदा पनि कुनै व्यक्ति मलाई २ लाख वा ३ लाख रुपैयाँ ऋण चाहियो भनेर कुनै बैंकमा जाँदा उसले ऋण पाउँछ त ? पाउँदैनन् । किनभने कुनै पनि बैंकले ५० हजार वा एक लाख रुपैयाँ सेयर किन्नको लागि ऋण दिनेवाला छैन । अहिले पनि कुनै बैंकलाई सोध्नुभयो भने ५० हजार त म ऋण दिन्न, कम्तिमा पनि ५ लाख रुपैयाँ चाहिन्छ भन्छ । कसैलाई सेयर किन्न ५० हजार चाहिएको छ, कसैलाई २० हजार चाहिएको छ, कसैलाई १ लाख रुपैयाँ चाहिएको छ भने यस्ता सबै व्यक्तिको पहुँच हुने भनेकै मार्जिन ट्रेडिङबाट हो । कसैले १० हजार रुपैयाँ ऋण लिन्छु भन्छ भने उसले पनि कर्जा सुविधा पाउँछ, कसैले मलाई २० करोड रुपैयाँ चाहियो भन्छ भने उसले पनि कर्जा सुविधा पाउँछ । त्यसैले बैंकहरुले सेयर किन्न ऋण दिने नै होइन । बैंकहरुले सेयर धितो राखेर अन्य व्यवसाय गर्नको लागि ऋण दिने मात्रै हो । मार्जिन ट्रेडिङ सुरु नभएकोले आफूसँग भएको सेयर धितो राखेर अन्य व्यवसाय गर्न कर्जा लिन पनि नपाइने अवस्था आएको छ । मार्जिन ट्रेडिङको लागि धितोपत्र बोर्डले अहिले पनि एउटा निर्देशन जारी गरेको छ, यसका लागि बेग्लै ऐन नै चाहिन्छ भन्ने आवाज पनि उठिरहेको छ, यसको लागि बेग्लै कानुन नै चाहिने हो ? होइन, मार्जिन ट्रेडिङ हुने नै निर्देशिकाबाट हो । तर, त्यसमा केही कुराहरु हुनुपर्छ । जस्तो कि सबैभन्दा पहिला त हामीसँग प्रणाली र प्रविधि चाहिन्छ । किनभने लगानीकर्ताले सेयर खरिद विक्रीको लागि खाता खोल्दा नै मार्जिन खाता र नगद खाता गरी दुईटा खाता बेग्लै हुने व्यवस्था हुनुपर्छ । अहिले मार्जिन र नगद खाताको संयन्त्र नै हामीसँग छैन । दोस्रो, नियम त चाहियो नै । नियम भनेको के भने सेयर किन्दा लगानीकर्तासँग कति नगद लिने र कति कर्जा पाउने भन्ने हुनुपर्यो । मार्जिनमा सेयर किनेपछि भोलि बढ्छ र फाइदा लिन्छु भन्ने नै हो । तर, मूल्य त घट्न सक्छ । मूल्य घट्यो भने कति घटेपछि ब्रोकरले सेयर बेच्न वा लगानीकर्तासँग थप पैसा माग्ने भन्ने कुरा हुनुपर्यो । मार्जिन कारोबारको लागि कम्पनी नै तोक्न पनि सकिन्छ । हामीकहाँ मार्जिन कारोबार सुरु नै हुन सकेन । अहिलेका ब्रोकरले मार्जिन कर्जा दिएर अहिलेको बजारको मागलाई पूर्ति गर्न सकिदैन । यी ब्रोकरसँग मार्जिन कर्जा दिन सक्ने क्षमता नै छैन । किनभने २÷४ करोड रुपैयाँ ऋण दिन सक्ने क्षमताले खर्बाैंको अहिलेको बजार चल्न सक्दैन । मार्जिन कर्जाको प्रभावकारी कार्यान्वयन गर्ने, सेयर किन्नको लागि सबैले ऋण पाउन भन्ने उद्देश्य पूरा गर्ने तथा कर्जामा किनिएको सेयर ‘पायलअप’ हुन नपाओस् भन्ने जस्ता चासो सम्बोधन गर्ने हो भने बैंकका सहायक कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स दिने र त्यस्ता सहायक कम्पनी मार्फत मार्जिन कर्जा उपलब्ध गराउने काम गर्नुपर्छ । किनभने बैंकले आफ्नो सहायक कम्पनीमार्फत नै मार्जिन कर्जा दिन सक्छ । मार्जिन कर्जा अहिलेका सेयर ब्रोकरबाट सम्भव छैन । मार्जिन प्रकृतिको कर्जालाई राष्ट्र बैंकले सेयर बजारमा खेल्ने माध्यम बनाइरहेको छ । सेयरधितो कर्जामा राष्ट्र बैंकले व्यक्ति केन्द्रीत नीतिहरु पनि लिएको छ । अहिलेको मात्रै होइन, विगतदेखि नै सेयर बजारलाई हेर्ने राष्ट्र बैंकको दृष्टिकोण यसरी विकास भएको छ । अब कि त राष्ट्र बैंकले भन्न सक्नुपर्यो कि मार्जिन ट्रेडिङ कर्जा बैंकहरुबाट जाने नै होइन, ब्रोकरको माध्यमबाट जानुपर्ने भएकोले छिटोभन्दा छिटो कार्यान्वयन गर, नत्र हामी बैंकहरुबाट जाने मार्जिन कर्जा बन्न गर्छाैं । होइन भने राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीतिमार्फत सेयर बजारमा खेल्नु हुन्न । नेपालको पुँजी बजार धितोपत्र बोर्डले भन्दा बढी राष्ट्र बैंकले किन चलाएको होला ? धितोपत्र बोर्डले पुँजी बजारसँग सम्बन्धित सबै प्रकारको नीति बनाउने हो । किनभने पुँजी बजारको नियामक नै धितोपत्र बोर्ड हो । तर, पुँजी बजार जसरी चल्नुपर्ने थियो, त्यसरी नचल्दा केही कुराहरु राष्ट्र बैंकतिर गए । जस्तो कि मार्जिन ट्रेडिङको कार्य सेयर ब्रोकरले गर्ने र सेयर किन्नको लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा नपाइने व्यवस्था कार्यान्वयन हुने हो भने पुँजी बजारले राष्ट्र बैंकको मुख ताक्नु पर्थेन । राष्ट्र बैंकका नीतिहरुले पुँजी बजारलाई धेरै असर पार्ने थिएन । धितोपत्र बोर्डको नीति र उसैले बनाएका नियम कानुनले यस्ता कुराहरु समेट्ने थियो । अहिले सेयर बजारमा सबैभन्दा ठूलो खेल मार्जिन प्रकृतिको कर्जा र व्याजदरमा नै छ । बाँकी धेरै कुरा त आफै ठीक ठाउँमा आउँछन् । हाम्रो पुँजी बजारमा इक्वीटी डेलिभरी सिस्टम मात्रै छ, यसमा पुनर्विचार गर्ने बेला भएको हो ? २०६५ सालपछि बजार घट्न थालेपछि एउटा विश्लेषण आएको थियो । त्यो विश्लेषण थियो– बजारमा सेयरको आपूर्ति बढी भयो, आपूर्ति अनुसार माग भएन, लगानीकर्ता भएनन्, त्यसैले बजार घट्यो । त्यो बेलाको नेप्से इन्डेक्स पुगेको उच्चतम विन्दु ११७५ थियो । त्यसपछि परिसुचक १८८१ विन्दुमा पुगेर झर्न थालेपनि त्यही विश्लेषण दोहोरियो– बजारमा आपूर्ति बढी भयो, माग भएन । अहिले त्योभन्दा धेरै गुणाले आपूर्ति पनि बढेको छ । परिसुचक पनि ३२ सयको विन्दुमा पुग्यो । यसरी हेर्दा त आपूर्ति बढी भएकोले बजार घट्यो भन्ने त्यो बेलाको विश्लेषण गलत रहेछ भन्ने प्रमाणित हुन्छ । अहिले बजारमा जति संख्याका लगानीकर्ता छन् भनिएको छ, त्यो भनेको त व्यक्तिगत लगानीकर्ता हुन् । संस्थागत लगानीकर्ताको कुरा हामीले गरिरहेकै छैनौं । संस्थागत लगानीकर्ताहरु पनि बढिरहेका छन् । अहिले ऋणपत्र, म्युचुअल फण्ड र सेयरको मात्रै कारोबार हुने गरेको छ । केही समयअघिसम्म ऋणपत्रको कारोबार हुँदैनथ्यो । व्याजदर अलि बढी भएको र बजारमा व्याजदर घटेका कारणले मात्रै ऋणपत्रको कारोबार बढेको हो । अब हामीले अन्तराष्ट्रिय बजारमा भएका उपकरणहरुलाई नेपाली पुँजी बजारमा पनि भित्र्याउँदै जानुपर्छ । लगानीकर्तालाई उसको पोर्टफोलियो विविधिकरण गर्न पाउने अवस्था सिर्जना गरिदिनुपर्छ । सेयरभित्र कम्पनी फरक गरेर मात्रै पोर्टफोलियो विविधिकरण हुँदैन । अब हामीले अप्सन, एक्सचेन्ज ट्रेडेड फण्ड (इटीएफ), इन्डेक्स फ्युचर्स, ऋणपत्रको मात्रै इन्डेक्स सिर्जना गरेर त्यसको पनि ट्रेडिङ हुने, अथवा सरकारी ऋणपत्रको मात्रै इन्डेक्स बनाएर त्यसको पनि ट्रेडिङ हुने जस्ता विकल्पहरु हुन्छन् । सेयरभित्रैका विकल्पहरु पनि हाम्रो बजारमा छैनन् । जस्तो कि मार्जिन ट्रेडिङको सुविधा हामीसँग छैन । बजार घट्दा कमाउनको लागि सर्टसेल छैन । हाम्रोमा अहिले लाभांश सिजन चलिरहेको छ । कुनै कम्पनीले दिएको लाभांशले त्यही कम्पनीको सेयर कम्पनीसँगै किन्छु भन्दा पाइदैन, जुन अन्तराष्ट्रिय बजारमा हुन्छ । कतिपय कम्पनीहरुले त्यसमा कार्यरत कर्मचारीको लागि नै सेयर विक्री गर्ने ‘कर्मचारी सेयर विक्री योजना’ ल्याएका हुन्छन् । त्यो कम्पनीमा कार्यरत कर्मचारीले प्रत्येक महिनाको तलबको निश्चित रकमबाट कम्पनीको सेयर किन्न पाउँछन् । हाम्रोमा त्यस्ता कुनै विकल्पहरु नै छैनन् । हामीसँग स्टक रिपर्चेजको विकल्प पनि छैन । हामी त खाए खा, नखाए घिच भन्ने अवस्थामा मात्रै छौं । यो सबै कुरा ठोकिने भनेको नियामकसँग नै हो । धितोपत्र बोर्डको कमजोरी कै कारण हाम्रो अवस्था यति दयनीय भएको हो ।