नेपाली औषधीको बजार हिस्सा ७० प्रतिशत बनाउन सकिन्छ : विप्लव अधिकारी
काठमाडौंको भृकुटीमण्डप फागुन २८ देखि ३० गतेसम्म औषधी उद्योगको ठूलो जमघटको साक्षी बन्दैछ । तीन वर्षको अन्तरालपछि राजधानीमा आयोजना हुन लागेको ‘नेपाल फर्मा एक्स्पो २०२६’ को तयारी तीव्र गतिमा अघि बढिरहेको छ । नेपाल औषधी उत्पादक संघले यसअघि नौ वटा सफल एक्स्पो सम्पन्न गरिसकेको छ । यस पटकको एक्स्पो केवल प्रदर्शनी मात्र नभई औषधी उत्पादनमा प्रयोग हुने प्रविधिबारे जानकारी लिने अवसर बन्ने अपेक्षा गरिएको छ । एक्स्पोको उद्देश्य के हो ? यसले उद्योग, उपभोक्ता र समग्र अर्थतन्त्रलाई कसरी प्रभाव पार्छ ? यही विषयमा संघका अध्यक्ष विप्लव अधिकारीसँग गरेको विकास बहसको सम्पादित अंश । ‘नेपाल फर्मा एक्स्पो’ को आयोजना गर्नुको मुख्य कारण के हो ? यो एक्स्पोको मुख्य उद्देश्य औषधी बनाउनका लागि विकास भएका नयाँ प्रविधिसम्बन्धी जानकारी दिने हो । नेपालमा कसरी औषधी बन्छ ? विश्व परिवेशमा औषधी बनाउन कस्ता खालका प्रविधिहरू विकास भएका छन्, ती प्रविधिलाई नेपालले कति आत्मसाथ गरेको छ भन्नेबारे प्रस्ट्याउन एक्स्पोको आयोजना गरिएको हो । अहिले नेपालमा कसरी कुन तहको औषधी बनिरहेको छ, कुन प्रविधि प्रयोग गरेर औषधी बनिरहेको छ र औषधी बन्ने प्रक्रिया के हो ? यसमा अपनाउनुपर्ने सावधानी के हुन् ? लगायतका विषयमा जानकारी दिन एक्स्पोको आयोजना गर्न लागेका हौं । हामी अहिले दशौं नेपाल फर्मा एक्स्पोको प्रदर्शनी गर्दैछौं । एक्स्पो भनेको जानकारी दिने हो । सबै कम्पनीका मानिस प्रविधिसँग बुझ्न सबै देशमा जान सकिँदैन । विश्वमा नै यस्ता प्रविधि जसले विकास गरेका छन् तिनलाई नेपालमै ल्याएर एउटै छातामुनि एक्स्पो गर्दा उद्योगले पनि त्यसबाट सिक्न पाउँछन् । यहाँ भएका औषधी बनाउने विज्ञहरूले पनि यस बारेमा सिक्न पाउने र सर्वसाधारणले पनि औषधीको बारेमा जानकारी पाउने भएकाले एक्स्पोको आयोजना गर्न लागेका हौं । प्रविधि हरेक दिन फरक भएर आउँछ, यसलाई नेपालले आत्मसाथ पनि गर्छ । अरूले पनि नयाँ प्रविधिको बारेमा जानकारी प्राप्त गर्छन् । यस अगाडि गरेका एक्स्पोबाट पनि नेपाललाई धेरै सिकाइ भएको छ । यो एक्स्पो औषधीसँग जोडिएका हरेक नागरिकका लागि हो । एउटा सर्वसाधारण व्यक्ति जसले औषधी प्रयोग गरिरहेको छ उसले मैले प्रयोग गरेको औषधी कस्तो प्रविधिले बनिरहेको छ, नेपालमा बन्ने औषधीको प्रविधि के हो ? बाहिर कसरी बन्छ, भन्ने कुराको सामान्य जानकारी लिन सक्छन् । औषधी उद्योगले प्रयोग गर्ने प्रविधिको विषयमा मुख्य जानकारी एक्स्पोबाट पाइने छ । जहाँ नयाँनयाँ कच्चा पदार्थ कसले कसले बनाइरहेका छन्, नयाँ खालको प्याकिङ मेट्रियलहरू कसले बनाइरहेका छन्, औषधीको गुणस्तर कायम गर्न चाहिने सामग्री कसले बनाइरहेका छन्, औषधीलाई परीक्षण गर्न ल्यावमा प्रयोग हुने सामान कस्ता छन्, औषधी बनाउने मेसिनहरू कस्ताकस्ता छन्, औषधी कसरी बनाउन सकिन्छ, औषधीको भवनमा कस्ता खालका प्रविधि आएका छन् भन्ने कुरा एउटै छातामुनि देखाउने काम एक्स्पोले गर्छ । यो पटक नेपाली कम्पनीको पनि छुट्टै स्टल राख्छौं । नेपाल आफैले कस्ता प्रविधि अपनाएर औषधी बनाइरहेको छ ? नेपालमा रिसर्च एण्ड डेपलभमेन्टमा सबैभन्दा व्यवस्थित रूपमा खर्च गर्ने उद्योग भनेको औषधी उद्योग हो । हामी सबै औषधी उद्योगको रिसर्च एण्ड डेपलभमेन्टको छुट्टै सेक्सन हुन्छ । जहाँ रिसर्च एण्ड डेपलभमेन्टमा काम गरिरहेका छौं । यद्यपि औषधीको रिसर्च एण्ड डेपलभमेन्ट भनेको एकदमै वृहत लगानी गर्नुपर्ने क्षेत्र हो । हामीले नयाँ प्रविधिमा अनुसन्धन गर्न सकेका छैनौं । तर पनि विदेशी प्रविधि आत्मसाथ गरिसकेका छौं । भोलिको दिनमा त्यस्तो खालको व्यवस्थापन भयो भने सरकारले नीति लियो भने त्यो परीक्षण पनि सुरु गर्ने अवस्थामा हामी पुगिसकेका छौं । औषधीको प्रविधि कस्तो खालको हुन्छ, यसबारेमा बताइदिनूहोस् न हेर्दाखेरी औषधी सामान्य चिज हो जस्तो लाग्छ । तर त्यसभित्र कति औषधीय गुण छ भन्ने परीक्षण गर्नका लागि प्रविधि चाहिन्छ । औषधीय गुण सानो मात्रामा हुन्छ । त्यसमा निकै संवेदनशील चिज प्रयोग गर्नुपर्ने हुन्छ । यसको एक्युरेसी (वस्तुनिष्ठता) अत्यन्तै धेरै चाहिने हुन्छ । औषधीमा यो चिज छ कि छैन, हामीले खाने औषधीमा जे मोलिक्युल हुनुपर्ने हो त्यो छ कि छैन भनेर जाँच गर्ने सामग्री नयाँनयाँ आएका हुन्छन् । औषधी उत्पादन गर्दा एउटा औषधी र अन्न चिजसँग संक्रमण नहोस् भनेर अपनाउनुपर्ने प्रविधि पनि धेरै हुन्छन् । यो विश्व स्वास्थ्य संगठनले पनि आफ्नो प्रविधि परिवर्तन गरिरहेको हुन्छ । अन्य देशले पनि आफूलाई प्रविधिसँगै औषधी उद्योगको लेभल पनि अप गर्दै जानुपर्छ भन्ने नीति विश्व परिवेशमा छ । विश्वको सबैभन्दा नयाँ प्रविधि जुन विकास भएको छ, त्यही प्रविधिबाट नेपालमा पनि औषधी बन्छ भन्ने कुराको जानकारी गराउनको लागि पनि विश्वास दिलाउन सकिन्छ । बेलाबेला नेपाली औषधी उद्योगले उत्पादन गरेका औषधी बजारबाट फिर्ता गराएको सुनिन्छ, कसरी यस्तो हुन्छ ? औषधीको पनि आफ्नै जीवन हुन्छ, निश्चित समयपछि उसको मृत्यु हुन्छ । त्यो बीचमा औषधीय गुण सुरुदेखि अन्तिमसम्म उही लेभलमै हुनुपर्छ । औषधी त्यस्तै रहनका लागि संसारभरिको औषधी कम्पनीको रिकल प्रोसिजर स्टयान्डर्ड नै हुन्छ । जहाँ ९९ प्रतिशत हुनुपर्ने चिज ९८ प्रतिशत भए पनि त्यसले काम गर्दैन । त्यसैले यो प्रक्रिया अन्तर्गत नै फिर्ता गरिएको हुन्छ, जुन गुणस्तरसँग जोडिँदैन । यदि त्यस्तो भएको छ भने बजारबाट फिर्ता गरेर नयाँ औषधी पठाउनुपर्छ । यो सबै देशमा हुन्छ । यो उत्पादनको गुणस्तरसँगमात्र सम्बन्धित छैन । यो भनेको नागरिकसँग पुग्दा अन्य वातावरणका कारणले पनि बिग्रेको हुन्छ । एउटा तापक्रममा राख्नुपर्ने औषधी छुट्टै तापक्रममा राख्यो भने पनि बिग्रन्छ । औषधीको पत्तामा लेखिएको सबै चिज पालना नगर्दा पनि औषधी बिग्रन्छ भने हाम्रो देशमा ट्रान्सपोर्टमा जाँदा पनि बिग्रने हुन्छ । विभिन्न कारणले औषधी बिग्रेपनि बजारबाट फिर्ता हुँदा दोष त उत्पादन कम्पनीलाई नै आयो नि त ? औषधी भनेको संवदेनशील वस्तु हो । विश्व परिवेशमै सबै कुराको एउटा मानक हुन्छ । औषधी बनाउँदा जुन मानक हुन्छ, औषधी बिक्री गर्ने, राख्ने, औषधी ट्रान्सपोटेशन गर्ने, उपयोग गर्ने पनि मापदण्ड हुन्छ । यो सबै कुरालाई फलो गर्नुपर्छ । यो पुरै इकोसिस्टम स्पष्ट नभएसम्म फिर्ता आउने प्रक्रिया रहिरहन्छ । त्यो फिर्ता आउने प्रक्रिया उद्योगले बनाउदाखेरिको प्रक्रियाले मात्र निर्धारण गर्देन । नेपाली औषधी उद्योग प्रविधि मैत्रि पनि छन्, स्ट्याण्डर्ड पनि बनिसकेको छ । हामीले इको सिस्टमै बनाउनुपर्छ त्यसपछिमात्र यसको स्ट्याण्डर्ड हुन्छ । नेपाली कम्पनीको औषधी फिर्ता भएको कुरा सुन्छौं तर बाहिर देशबाट आयातित औषधी फिर्ता भएको सुनिँदैन नि ? होइन, फिर्ता भएको हुन्छ । एक्स्पोमा कति जति लगानी लाग्ने अनुमान गर्नु भएको छ ? यो एक्स्पो हामीले नाफाको लागि गर्न लागेका होइनौं, प्रविधि देखाउन, नेपाली औषधी उद्योगको बारेमा बताउन गरिएको हो । यसको नाफा घाटा करिब उस्तैउस्तै हुन्छ । नेपालमा यो तहको एक्स्पो गर्न झण्डै दुई करोड बढीको खर्च लाग्छ । योभन्दा पहिले चितवनमा गरिएको एक्स्पो यो वर्ष काठमाडौं किन ? हैन, पहिले काठमाडौंमै हुन्थ्यो । बीचमा तीनवटा संस्करण हामीले चितवन गर्यौं । फेरि काठमाडौंमा गर्ने तयारीमा छौं । नेपालीहरूलाई नेपाली औषधी बढी खोज्छन् कि विदेशी ? बजारको हिस्साले हेर्नुहुन्छ भने आधाआधा छ । झण्डै ६० अर्बको व्यापारमा ३० अर्ब त नेपाली उद्योगको औषधीले कब्जा गरेको छ । हामीले बनाएका औषधीहरू कार्डियाक, डायिबिटिज, ब्लडप्रेसरका औषधीको हिस्सा भन्ने हो भने झण्डै ७० प्रतिशत पुगिसकेको अवस्था छ । मान्छेले दैनिक रूपमा नेपाली औषधी उपयोग गर्न सुरु गरिसकेका छन् । राज्यले खरिद गर्ने औषधीमा पनि नेपाली उद्योगलाई प्राथमिकता दिने हो भने आजकै परिस्थितिमा बजार र उपभोगको हिसाबले ७० प्रतिशत औषधीमा आत्मनिर्भर हुने अवस्था बनिसकेको छ । तर मानवमा हुने भ्याक्सिन र बायोलोजिकल प्रोडक्टहरूमा अझै पनि काम गर्न जरुरी छ । नेपालमा उत्पादन भइरहेका औषधी पनि आयात गर्नुपरिरहेको छ त ? हो, नेपालमा उत्पादन भइरहेका औषधी पनि आयात गर्नुपरिरहेको छ । हामी चीन र भारतको बीचमा छौं, दुवै देशमा अत्यन्तै औद्योगिकरण भइसकेका छन् । यदि नेपालमा बन्ने चिज विदेशबाट आयात नगर्ने हो भने हामी पनि औद्योगिकरणको मोडलमा जान सक्छौं । हामी औषधी उद्योगमा मात्र होइन जुता, लुगाकपडा, हस्तकला लगायत अन्य सबै चिजमा पनि काम गर्न सक्छौं । नेपालले नेपालमा उत्पादन हुने सामग्री आयात नगर्ने नीतिमात्र बनाइदिने हो भने उद्योगधन्दा सजिलै अगाडि बढ्छन् । राज्यले औषधीको क्षेत्रमा कस्तो नीति बनाइदिँदा तपाईंहरूलाई थप सहज हुन्छ ? राज्यले आफूले खरिद गर्ने औषधी स्वदेशमा बन्न सक्ने स्वदेशी उद्योगबाट खरिद गरिदिने र यो देशमा बन्न नसक्ने औषधी विदेशबाट आयात गरिदिनेमात्र गरिदिएमात्र हुन्छ । यस्तो नीति धेरै देशमा छ । भारत, बंगलादेशमा हेर्ने हो भने पनि त्यहाँ बन्ने औषधी अन्य देशबाट जाँदैन । यदि सरकारले यस्ता कुरामा चासो दिएन भने औषधी उद्योगमात्र होइन, कुनै पनि उद्योग स्वदेशमा चल्न गाह्रो हुन्छ । यस्ता विषयमा आवाज उठाउने जिम्मेवारी निकायमा तपाईं हुनुहुन्छ, किन यो माग गर्न सक्नुभएन ? सरकारको हरेक मन्त्रीले यो देशलाई औषधी आत्मनिर्भर बनाउनुपर्छ भन्नुहुन्छ । हरेक पटक सरकारको नीति कार्यक्रम आउँदा औषधीमा आत्मनिर्भर बनाउने भन्ने नै लेख्नुहुन्छ, तर कागजमा मात्र समिति भयो । सरकारले नीतिमा पनि राख्ने, कार्यक्रममा पनि राख्ने त्यसलाई कानुन परिवर्तन गररे अवसर दिने ठाउँमा कहिल्यै पनि पुगिएन । हाम्रो बिडम्बना हो । दशक अगाडिको बजारको हेर्ने हो भने ४० प्रतिशत थियो, अहिले पनि करिब ५० प्रतिशतमात्र देखिन्छ । यसरी हेर्दा त खासै विकास गर्न नसकिएको हो कि भन्ने लाग्दैन ? होइन, औषधी खपतको क्रम पनि बढेको छ, बजारको हिस्सा पनि बढेको छ । आजभन्दा १५ वर्ष अगाडिको बजारको हिस्सा हेर्ने हो भने त्यो अनुपातमा बढेको छ । अहिले नै दिनको कुरा गर्ने हो भने ७० प्रतिशत औषधी बनाउन सक्छौं । तर विदेशबाट पनि औषधी आउँदा प्रतिस्पर्धा गर्नुपर्ने कारणले ५० प्रतिशत मात्र हिस्सा परेको हो । हामी गर्नसक्ने दिन सक्ने भनेको गुणस्तर, विश्वास मात्र हो । बाहिरबाट ४ सय कम्पनी आउने यो देशमा भएका ८० वटा कम्पनीले चार सय कम्पनीसँग लडेर ५० प्रतिशत हिस्सा बनाउनु भनेको चानचुन कुरा होइन । नेपालमा कति औषधी उद्योग छन् ? ती कम्पनीको टर्न ओभर कति छ ? कतिले रोजगार पाएका छन् ? ८० वटा छन्, औषधी उद्योगमा प्रत्यक्ष रूपमा कम्तीमा २५ हजार जति मान्छे छन् । उद्योग पछाडि आउने स्टक, फार्मेसी, अस्पताल गरी सबै ठाउँमा दुई लाख भन्दा धेरैले रोजगारी पाएका छन् । टर्न ओभर नेपाल सरकारको बाहेक सामान्य बजारमा ६० अर्ब रुपैयाँको हो । त्यसको ५० प्रतिशत भनेको ३० अर्बको हुन आउँछ । ८० वटा औषधी उद्योगमध्ये कति नाफामा छन्, कति घाटामा र कति रुग्ण अवस्थामा छन् ? कोभिड पछाडि केही उद्योगलाई अप्ठयारोमा परेको अवस्था छ, किनभने कोभिडमा औषधी उद्योगले पनि ठूलै घाटा बेहोर्नुपरेको थियो । अहिले पनि झण्डै ३० प्रतिशत औषधी उद्योग संकटमै चलिरहेका छन् । यसको मुख्य कारण भनेको राष्ट्र बैंककाे नीति र बैंकिङ लगानीको वातावरणले हो । किन बैंकले औषधी उद्योगलाई ऋण दिँदैन ? दिन्छ तर नेपालमा रिसर्च एण्ड डेभलपमेण्ट भन्ने कुरा कसैले बुझ्दैनन् । औषधी बनाउने भनेको सबैभन्दा ठूलो कुरा भनेकै आरएण्डी हो । एउटा औषधी उद्योग स्थापना गर्न दुई वर्ष समय लाग्छ । औषधी उद्योग बनिसकेपछि एक वर्ष बजारमा जान लाग्छ, हामीले त्यो औषधीको आरएण्डी गर्नुपर्छ । त्यो बेला कच्चा पदार्थ चाहिन्छ, प्राविधिक चाहिन्छ, उपकरण चाहिन्छ र त्यसपछि झण्डै दुई वर्ष जीएमपी लिन लाग्छ । यसरी हेर्ने हो भने एउटा औषधी उद्योग राम्रोसँग चल्न पाँच वर्ष समय लाग्छ । ऋण सुरुदेखि हुन्छ । तर आर्थिक पाटो हेर्ने हो भने उद्योग स्थापना भएको पहिलो वर्षदेखि नै समस्या हुन्छ । राज्यले यस्ता कुरालाई उद्योगमैत्री बनाइदियो भने सजिलो हुन्छ। कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने अवस्था किन हुन्छ ? औषधीको बारेमा पूर्ण जानकारी नभएर हो । विश्वकै ७० प्रतिशत कच्चा पदार्थ चीनमा बन्छ र विश्वभरि औषधी बन्छ । औषधी भनेको किलोमा ल्याएर एमजीमा बनाउने चिज हो । यो बनाउने प्रविधिसँग मूल कुरा रहन्छ । यसो भनिरहँदा यो देशमा कच्चा पदार्थ बन्नै सक्दैन भन्ने होइन । कच्चा पदार्थ बनाउनेसम्बन्धी विशेष नीति हामीसँग छैन । यसका लागि दुई तीन वटा कम्पनी स्थापना भइसकेका छन् । हामीले नेपालमा बनाउन सक्ने कच्चा पदार्थ विदेशबाट नल्याउने हो भने तत्कालै कच्चा पदार्थको कम्पनी पनि सञ्चालनमा आउन सक्छन् । तर यहाँ त्यस्तो अवस्था छैन । अहिले पनि भारतले ७० प्रतिशत कच्चा पदार्थ चीनबाट आयात गर्छ ।
‘कमिङ प्रेसिडेन्ट’को प्यानल बन्छ, अनुभवी र क्षमतावान टिम बनाउँदैछौं
नेपाली उद्योगी व्यवसायीमाझ परिचित नाम हो शिवप्रसाद घिमिरे । लामो समयदेखि नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध रहँदै विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनी हाल महासंघको स्थल यातायात तथा पारवाहन समितिको सभापति तथा कार्यकारिणी सदस्यका रूपमा पनि कार्यरत छन् । सन् १९९६ मा स्थापना भएको व्यावसायिक समूह एसजी ग्रुपका अध्यक्षसमेत रहेका घिमिरे नेशनल बिजनेस इनिसियटिभका संस्थापक सदस्य समेत हुन् । उनले राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्यका रूपमा पनि भूमिका निर्वाह गरिसकेका छन् । साथै उनले नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम डिलर्स संघको नेतृत्वसमेत सम्हालिसकेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत २८ र २९ गते हुने निर्वाचनका सन्दर्भमा उनको उम्मेदवारी, उम्मेदवारीको आवश्यकता र व्यावसायिक वातावरण लगायत विषयमा विकासन्युजका लागि सन्तोष रोकाया र सीआर भण्डारीले कुराकानी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा तपाईं पनि उम्मेदवार बन्ने चर्चा छ । त्यो चर्चामा कत्तिको सत्यता छ ? नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन चैत २८ र २९ गते हुँदैछ । म लामो समयदेखि महासंघमा आबद्ध छु र हाल पनि महासंघको कार्यकारिणी सदस्यसहित स्थल यातायात तथा पारवाहन समितिको सभापतिको रूपमा काम गरिरहेको छु । आगामी निर्वाचनमा वस्तुगततर्फ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने तयारी गरिरहेको छु । साथै मैले आफ्नो टिम पनि तयार पारिसकेको छु । मेरो टिममा आकांक्षी २७ जना हुनुहुन्छ । वस्तुगततर्फ दुई प्रकारका सदस्यको निर्वाचन हुन्छ, जसमा १४ जना वस्तुगत संघ र २ जना वस्तुगत महासंघबाट हुन्छन् । उपाध्यक्षसहित १७ जनाको वस्तुगत परिषद् हुन्छ । त्यो १७ जनामध्ये म बाहेक महासंघ र संघ गरेर २७ जना आकांक्षी हुनुहुन्छ । त्यसमध्येबाट १६ जना सबै क्षेत्र समेटेर टिम बनाइन्छ । महत्त्वपूर्ण क्षेत्रसहित समग्र निजी क्षेत्रलाई समेटेर १६ जनाको टिम तयार गरिन्छ । टिम पनि तयार भइसक्यो भन्नुभयो । तपाईंको टिममा को-को हुनुहुन्छ ? यो नितान्त व्यावसायिक संस्थाभित्र हुने निर्वाचन हो । यो व्यवसायीहरूबीच हुने निर्वाचन हो । हामीले आम मतदातासँग भोट मागिरहनु पर्दैन । निजी क्षेत्रको छाता संस्थाको नेतृत्वमा जानका लागि यो संस्थाभित्र सबैले एकअर्कालाई चिनेका पात्र हुन् । कुनै अपरिचित उम्मेदवार र मतदाता हुँदैनन् । त्यसकारण हामीले हतार गरेर ठूलो प्रचार-प्रसार गर्नु आवश्यक छैन । आम निर्वाचन सम्पन्न भएपछि चैतको पहिलो साता वस्तुगत, एसोसिएट, जिल्ला-नगरको टिमसहित घोषणा गर्छौं । तर, महिला उपाध्यक्षका लागि उम्मेदवार घोषणा गर्दैनौं, किनकि त्यो पद सिर्जना हुन्छ कि हुँदैन भन्ने एकिन छैन । विधानतः १२ जना महिला कार्यकारिणी जितेर आउनुभयो भने मात्रै महिला उपाध्यक्षको पद खडा हुन्छ । वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र महिला उपाध्यक्ष निर्वाचनपछि मात्रै चुनिने हो । एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्ला-नगरमा दिलसुन्दर श्रेष्ठ र कृष्ण शर्मा हुनुहुन्छ । कृष्ण शर्मा हाल नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेश अध्यक्ष हुनुहुन्छ र दिलसुन्दर श्रेष्ठ महासंघको बागमती प्रदेश अध्यक्ष हुनुहुन्छ । विधानअनुसार जिल्ला-नगरमा दुई वटा उपाध्यक्षको व्यवस्था गरेको छ । वरिष्ठ उपाध्यक्षका लागि ४-५ जना आकांक्षी हुनुहुन्छ । अहिलेसम्म निर्णय भइसकेको छैन । यसमा हतार पनि छैन । निर्वाचनपछि मात्रै त्यस पदका लागि सहभागी हुने हो । कार्यसमितिमा अध्यक्षले ७ जना मनोनित गर्ने व्यवस्था छ । मनोनित गरेर सबै टिम पूर्ण भइसकेपछि मात्रै वरिष्ठ उपाध्यक्ष पदका लागि निर्वाचन तोक्ने र उम्मेदवारको निर्वाचन हुने हो । हालसम्म ४-५ जना आकांक्षीमध्ये टिमले सबै हेरेर कसलाई अन्तिम टुंगो लगाउने भनेर निर्णय गर्छ । हामी महासंघका स्वतः अध्यक्ष हुँदै गरेका अञ्जन श्रेष्ठको टिम अन्तर्गत छौं । तपाईं वस्तुगत उपाध्यक्षका लागि उम्मेदवार बन्ने भन्नुभयो । अर्को समूहबाट पनि उम्मेदवारी घोषणा भइसकेको छ । उहाँभन्दा आफू र आफ्नो टिम कति बलियो लाग्छ ? प्रजातान्त्रिक पद्धति र विधिअनुसार आफ्नो इच्छा-आकांक्षा राख्नु सबैको हक र अधिकार हो । दुई जना मात्रै उम्मेदवार हुनुपर्छ भन्ने जरुरी छैन । निर्वाचनको दिनसम्म ४-५ जना पनि चुनावी प्रतिस्पर्धामा आउन सक्ने छुट छ । त्यसकारण मैले मेरो प्रतिस्पर्धालाई सहज रूपमा लिएको छु । मैले कुनै अनौठो रूपमा सोचेको पनि छैन । नेपाल उद्योग वाणिज्य महासंघको इतिहास केलाउने र समग्र जटिल परिस्थितिलाई हेर्ने हो भने मुलुक इतिहासकै सबैभन्दा संकटमा गुज्रिरहेको छ । यस बेलामा निजी क्षेत्र समूह-समूहमा विभाजन भएर निर्वाचन प्रक्रियामा नजाँदा राम्रो हुन्थ्यो । तर आकांक्षी एकभन्दा बढी भएपछि स्वाभाविक रूपमा स्वच्छ प्रतिस्पर्धाबाट एक जना निर्वाचित हुन्छ र निर्वाचन सम्पन्न भएपछि दोस्रो दिनदेखि सबै एकै ठाउँमा रहेर काम गर्ने हो । अहिलेसम्म घोषणा भएअनुसार तपाईंको प्रतिस्पर्धीका रूपमा नरेशलाल श्रेष्ठ देखिनु भएको छ । तपाईं आफ्नो प्रतिस्पर्धीभन्दा त्यो पदका लागि अब्बल छु जस्तो लाग्छ ? नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गरिरहँदा सबै कमजोर वा खराब हुँदैनन् । सबै राम्रा र अब्बल हुनुहुन्छ । तर, एजेन्डामा काम गर्ने हो । इतिहासकै सबैभन्दा खराब अवस्थामा निजी क्षेत्र र सिंगो मुलुक छ । यसलाई केन्द्रमा राखेर काम गर्ने हो । महासंघमा सानो चिया पसल गर्ने, बाटोमा बसेर टायर पन्चर बनाउनेदेखि बहुराष्ट्रिय कम्पनी चलाउने अटाएका छन् । महासंघ एउटै छातामुनि सबैको छहारी हो । यसलाई अनुभूति हुने गरी काम गर्नुपर्ने आजको आवश्यकता हो । साथै महासंघ सरकारको आर्थिक सल्लाहकारको भूमिकामा रहनुपर्छ भन्ने मेरो मान्यता हो । महासंघ आफैंले नीतिगत निर्णय गर्ने, ऐन-कानुन बनाउने निकाय होइन । नेपाल सरकार र निजी क्षेत्रबीच पुलको काम गर्ने आर्थिक सल्लाहकार महासंघ हो र हुनुपर्छ । निजी क्षेत्रको गुनासा, सुझाव-सल्लाह, भइरहेका ऐन-कानुनबाट व्यवसायमा परिरहेको असरका बारेमा राज्यसँग लबिङ गर्ने हो । कतिपय ऐन-कानुन खारेज गर्नुपर्ने हुन सक्छ, कतिपय संशोधन र कतिपय पुनर्लेखन गर्नुपर्ने हुन सक्छ । सरकारबाट निजी क्षेत्रले व्यापार, उद्योग सञ्चालन र पसल थाप्छु भनेर पैसा मागिरहेको छैन । व्यापार-व्यवसाय गर्ने वातावरण बनाइदेऊ, हामी लगानी गर्छौं भनेर निजी क्षेत्रले भनिरहेको छ । सुरुमा स्वदेशभित्रै लगानीको वातावरण बन्नुपर्छ । त्यसपछि मात्रै बाह्य लगानी भित्रिन सक्छ । अवसर नभएको होइन । दुई ठूला छिमेकीको बीचमा नेपाल छ । ठूलो पोखरीमा कमलको फूलजस्तै छ नेपाल । भौगोलिक बनावट पनि हाम्रो अन्य देशको तुलनामा पृथक किसिमको छ । हिमाल, पहाड र तराई सबै भएको देश हो । यसलाई बनाउन सबै लागेर काम गर्ने हो भने लामो समय लाग्दैन । गर्नुपर्ने कामहरू थुप्रै छन् । यी सबैलाई केन्द्रमा राखेर काम गर्नु महासंघको भावी नेतृत्वको जिम्मेवारी हो । अहिलेको विषम परिस्थितिमा निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने हो । सकसको घडीमा नेतृत्व निर्विरोध रूपमा चयन गर्नुपर्ने हो । तर, यही बेला तपाईहरु विभाजित जस्तो देखिनुभएको छ । वरिष्ठ उपाध्यक्षका लागि ४-५ जना आकांक्षी देखिनु भएको छ । एकले अर्काको नेतृत्व र अस्तित्व स्वीकार नगर्ने अवस्था छ । यो अवस्था कसरी र किन सिर्जना भयो ? हामी पनि अहिलेको समयमा सहमतिमा नेतृत्व चयन होस् भन्ने चाहन्छौं । म महासंघमा जोडिएको २०औं वर्ष भयो । यो अवधिमा महासंघमा कुनै न कुनै भूमिकामा रहेर काम गरेको छु । मैले आजभन्दा अगाडि कहिल्यै पनि नेतृत्वको दाबी गरेको थिइँन । आज मेरो उमेरसँगै, योग्यता र व्यवसायमा पनि विविधीकरण आएको छ । विभिन्न क्षेत्रका झण्डै पाँच दर्जन व्यवसायमा आबद्ध छु । मैले आकांक्षा राख्नु मेरो तर्फबाट अब ढिलो गर्नु हुँदैन भन्ने लाग्छ । यसभन्दा पछाडि पनि जानु हुँदैन र सधैं म मात्रै बसिरहनु हुँदैन । नेतृत्व परिवर्तन हुँदै जानुपर्छ । एउटै ठाउँमा लामो समयसम्म बसिरहनु हुँदैन भन्ने लाग्छ । अरू साथीहरूले पनि आफूलाई अब्बल ठान्नु र अरूलाई किन समर्पण गर्ने भन्ने सोच्नु स्वाभाविक हो । चुनाव हुनु आफैंमा नराम्रो विषय होइन । चुनाव सम्पन्न भएको दोस्रो दिनदेखि मिलेर जान्छौं । राजनीतिक दलहरूमा विभाजन पनि हुन्छ । महासंघको इतिहासमा यस्तो अभ्यास छैन । महासंघको एजेण्डा सबैको साझा एजेन्डा हो र सबैले मिलेर काम गरिन्छ । त्यसकारण सर्वसम्मत हुन नसकेपछि निर्वाचन नै उपयुक्त हो । एकभन्दा बढी आकांक्षी भएपछि कसले ‘तपाई छोड्नुहोस्, तपाईं उठ्नुहोस्’ भन्ने ? सबै बराबर हुन् । त्यसकारण यस्तो परिस्थिति आएको हो र निर्वाचन हुन लागेको हो । महासंघका आगामी अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा एउटा टिम गठन गरिएको छ । उहाँले पनि आउँदो कार्यकाल मेरो नेतृत्व सञ्चालन हुने भएकाले काम गर्न सहज र सक्रिय रूपमा काम गर्ने टिम म आफैं बनाउँछु भनेर विगतको चुनावमै घोषणा गर्नुभएको थियो । सोहीअनुसारको टिम हामीभित्र तयार भएको छ । महासंघको कुनै न कुनै भूमिकामा रहेर योगदान दिइसकेका व्यक्तित्वहरू हुनुहुन्छ । सबै किसिमले अब्बल हुनुहुन्छ । पाँच जना आकांक्षी हुनु स्वाभाविक हो । हाम्रो टिम वा हुनेवाला अध्यक्षको टिमबाट ४-५ जना आकांक्षीमध्ये वरिष्ठ उपाध्यक्षको उम्मेदवार सर्वसम्मत हुनेछ । निर्वाचन सम्पन्न भएको पछिल्लो दिनबाट मिलेर काम गर्ने माहोल हुन्छ भन्नुभयो । तर, पछिल्लो समय महासंघका अध्यक्षलाई वरिष्ठ उपाध्यक्षले नटेर्ने र अध्यक्षले पनि वरिष्ठ उपाध्यक्षलाई बाइपास गरेर निर्णय गर्ने गरेको अभ्यास तपाईं हामी सबैलाई थाहा छ । निर्वाचनले यो किसिमको इगो र त कायमै रहने रहेछ नि ? यस्तो परिस्थिति महासंघमा छैन । बैठकमा एजेण्डाको विषयमा छलफल हुँदा विचार र बहस फरक हुनु स्वाभाविक हो । जस्तो मैले राखेको एजेण्डामा अर्कोले आफ्नो विचार र बहस गर्नु बाहेक नटेर्ने र बाइपास भएको देखिँदैन । म पनि त्यो कार्यसमितिमा छु । कुनै विषयमा सबैका विचारलाई व्यापक छलफल गरेर बहुमतले गरेको निर्णयलाई स्वीकार गरेपछि पनि फरक धारणा राख्नेको एजेण्डा त्यही नै हो । अध्यक्षले वरिष्ठ उपाध्यक्षलाई बाइपास गर्ने र वरिष्ठ उपाध्यक्षले अध्यक्षलाई नटेर्ने भन्ने हुँदैन । एउटै जंगलमा दुइटा सिंह हुनु हुँदैन भन्ने भनाइ छ। विगतको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले काममा कमजोरी भइरहेको थियो । किनभने वरिष्ठ उपाध्यक्ष भइसकेको मान्छे ‘म किन दौडधुप गरिरहनु पर्यो ? अध्यक्ष स्वतः भइहालिन्छ’ भन्ने सोच हुन्थ्यो । अनि अध्यक्ष भइसकेको व्यक्ति ‘म रिटायर हुने बेलामा किन धेरै दौडधूप गर्ने, हिजो दिनमा दौडधूप गरिरहें’ भन्ने सोच हुन जान्छ । त्यो महसुस धेरैले गरे पनि । यसरी महासंघ कमजोर बनाउने उपकरणको रूपमा काम गर्दै थियो भन्ने आशंका र अभिप्रायले हामी सबै लागेर महासंघमा प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट नेतृत्व आउनुपर्छ भनेर विधान संशोधन गरिएको हो । अब अञ्जनजीको कार्यकालपछि अध्यक्ष पनि प्रतिस्पर्धाको माध्यमबाट आउनेछ र यो अध्याय नै बन्द हुनेछ । वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाललाई अघि सार्नेगरी अर्को समूहबाट पदाधिकारीहरूको प्यानल घोषणा गरिएको छ । घोषणा कार्यक्रममा महासंघका ८ जना पूर्वअध्यक्षको साथ रहेको पनि दाबी गरिएको छ । ८ जना पूर्वअध्यक्षले ढकाल समूहलाई सहयोग गर्ने देखिएपछि तपाईंहरूसँग अब आगामी अध्यक्ष (अञ्जन श्रेष्ठ) मात्रै हुनुहुन्छ । तपाईहरूले हार्ने चुनाव लड्दै हुनुहुन्छ भन्ने चर्चा व्यवसायीहरूमाझ छ । यसलाई कसरी चिर्नुहुन्छ ? अर्को समूहको उम्मेदवारी घोषणा सभामा ८ जना पूर्वअध्यक्ष सहभागी हुनुभयो । हामी हाम्रो उम्मेदवारी घोषणा सभामा १४ जना पूर्वअध्यक्षलाई सहभागी गराउँछौं । किनभने निमन्त्रणा दिएपछि पूर्वअध्यक्ष, पूर्वउपाध्यक्ष तथा सीएनआई, चेम्बर, एनबीआई लगायत संस्थाबाट पनि बोलाइन्छ । कार्यसमितिलाई पनि बोलाइन्छ । र जिल्ला-नगर तथा वस्तुगत सबै अध्यक्षलाई पनि बोलाइन्छ । महासंघका वर्तमान अध्यक्ष पनि आउनुहुन्छ । वर्तमान अध्यक्ष भएकाले महासंघको नयाँ नेतृत्व चयनका लागि टिम तयार भइरहेको छ, निमन्त्रणा दिएपछि शुभकामना दिन आउनुहुन्छ । सकेसम्म सर्वसम्मत नेतृत्व चयन भए हुन्थ्यो । तर, अर्को टिममा पनि शुभकामना दिन जानुपर्छ भनेर उहाँले भनिसक्नु भएको छ । यदि मैले चाहेको भए १० वर्ष अगाडि नै अध्यक्ष भइसक्थेँ भनेर तपाईंले अनौपचारिक रूपमा भन्नुभयो । अब भाइ-भतिजाहरू आए उनीहरूलाई साथ दिनुपर्छ । अब महासंघमा बसेर नेतृत्व गर्नेभन्दा पनि पछाडि बसेर अनुभव सेयर गर्नुपर्छ । विश्राम लिनुपर्छ भन्ने महसुस तपाईंलाई भएको छैन ? त्यही भएर नै जहाँ छु, त्यहाँबाट छोड्दै अगाडि जाने हो । अर्थात् म अहिले जुन ठाउँमा बसेर जुन भूमिकामा काम गरिरहेको छु, त्यो ठाउँ खाली गर्दै नयाँ पुस्ता आउनुपर्छ, नयाँ अनुहार आउनुपर्छ, त्यही ठाउँमा लामो समय बसिरहनु हुँदैन भनेर छोड्दै अगाडि बढेको हो । त्यसकारण महसुस छैन भन्न मिल्दैन । तर, मुलुकमा ‘जेनजी’ आन्दोलन भयो, फेरि पनि नेतृत्वमा न्यायालय सम्हालिसक्नु भएकी सुशीला कार्कीलाई नै ल्याएर राख्नुभयो । किन ‘जेनजी’ भाइबहिनीहरू प्रधानमन्त्री बन्नु भएन ? आन्दोलन ‘जेनजी’हरूले गरेको हो । उपलब्धि ल्याउन काम हामीले गर्यौं भन्दै गर्दा परिपक्व व्यक्तिबाट नेतृत्व गराउनुपर्छ भन्ने हिसाबले नै सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइएको होला । त्यसकारण हामीसँग पनि लामो अनुभव छ र परिपक्व भइसकेका छौं । अब हामीले मूल नेतृत्वतर्फ अगाडि बढेर टिममा नयाँ पुस्तालाई प्रमोट गर्दै ल्याउने हो । त्यो ठाउँ खाली गर्दै जाने हो । महासंघको पदाधिकारीमा आउनका लागि तपाईंले लामो समयदेखि तयारी गरिरहनु भएको छ भन्ने चर्चा पनि छ, कति समयदेखिको हो तयारी ? महासंघमा लामो तयारी गर्नुपर्ने आम चुनावजस्तो होइन । यो नितान्त व्यवसायीहरूको चुनाव हो । सबै व्यवसायी एउटै छातामुनि छौं । त्यसकारण लामो तयारी गर्नुपर्ने आवश्यकता छैन । विगत ४-५ महिनादेखि टिम बनाउने, छलफल गर्ने र उम्मेदवारी घोषणा गर्नु अगाडि मतदाता तथा महासंघलाई माया गर्ने अग्रजहरू, जसले नेतृत्व गरिसक्नुभएको छ, उहाँहरूसँग छलफल तथा सुझाव-राय लिएर घोषणा गरिएको हो । मेरो भूमिकाले महासंघलाई कत्तिको सहयोग पुग्छ वा मेरो आवश्यकता छैन भन्ने हिसाबले सबैसँग सल्लाह गरेर नै उम्मेदवारी घोषणा गरेको हो । महासंघमा समय दिन जाने हो । व्यवसायीहरूको समय महत्वपूर्ण हुन्छ । विभिन्न पेशा-व्यवसाय गर्नेहरूको समय महँगो पनि हुन्छ । त्यो महँगो समय खर्चेर केही गर्न सकिँदैन भने किन अलमलिने भन्ने हिसाबले सिनियरहरू, अग्रजहरू लगायत सबैसँग सल्लाह गरेर उम्मेदवारी घोषणा गरेको हो । विविध कारणले महासंघमा प्रतिनिधित्व गरिरहन आवश्यक छ भन्ने सुझावका आधारमा मैले २-४ महिना अगाडि अभ्यास गरेको हो त्यो पनि मतदाताको आशय बुझेर । तपाईंको प्रतिद्वन्द्वीलाई म अगाडि बढ्छु, एक पटक सहयोग गर्नुपर्यो भनेर सल्लाह गर्नु भएन ? अब सहमति हुने सम्भावना कत्तिको देख्नुहुन्छ ? कोही टिम घोषणा गरेर अगाडि बढिसकेको साथीलाई ‘तपाईंभन्दा म अब्बल छु, तपाईंले छोडिदिनूस्’ भन्ने विषय राम्रो होइन । अब सहमतिको समय गइसकेको छ । एजेण्डामा काम गर्ने भएकाले अब मतदाताले भाग्य र भविष्य कोर्नु हुन्छ । यसको जिम्मा उहाँहरूलाई नै छोड्नुपर्छ । तपाईंहरूका एजेण्डा के-के हुन् ? नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यदिशा के हुनुपर्छ, के-के काम गर्नुपर्छ, के-के गर्न सकिन्छ र केका लागि हाम्रो उम्मेदवारी हो भन्ने प्रतिवद्धतासहित सार्वजनिक गर्छौं । त्यसैका आधारमा मतदाताले विश्लेषण गरेर नेतृत्व छान्नुहुन्छ । म राम्रो र अर्को खराब भन्नु पर्दैन । एजेण्डा सही छन् कि छैनन्, ती एजेन्डा उपर्युक्त छन् कि छैनन् भनेर मतदाताले विश्लेषण गर्नुहुन्छ । यो दलहरूको घोषणापत्रजस्तो होइन । हाम्रा बोलीलाई व्यापारी भाषामा ‘सौदाबाजी’ भन्ने गरिन्छ । त्यसको आधारमा नै व्यवसायी साथीहरूले विश्वास गर्ने हो । महासंघको चुनावमा पूर्वअध्यक्षहरू हावी हुन्छन् भन्ने बुझाइ अधिकांशको छ । यसमा तपाईंको धारणा के छ ? यस्तो हुन्छ भन्ने मलाई लाग्दैन । आफूले सफल नेतृत्व गरिसकेको संस्थाबारे चिन्ता-चासो राख्नु स्वाभाविक हो । तर, हस्तक्षेपकारी भूमिका गर्ने गरेको मेरो अनुभवमा छैन । वस्तुगत उपाध्यक्ष भएर बाहिरिनु हुन्छ कि अध्यक्ष नै बन्ने योजना छ ? यो सुरुवाती हो । पदाधिकारी पहिलो प्रस्थान बिन्दु हो । सबैको साथ-सहयोग रह्यो भने नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएर रिटायर भएको देख्न, सुन्न र भेट्न पाउनुहुनेछ । महासंघको चुनावसँगै आम चुनाव नजिकिँदैछ । यतिखेर राजनीतिक दल र उम्मेदवारहरूले उद्योगी व्यवसायीसँग चन्दा पनि राम्रै असुल गर्छन् भन्ने सुनिन्छ, कतिपय व्यवसायीले चन्दा आतंक नै छ भन्छन् । आफू पनि चुनाव लड्ने पार्टीलाई पनि चन्दा दिनु पर्ने खर्च त धेरै हुन्छ होला नि ? अब ‘आतंक’ नै नभनौं । कुनै समयमा त्यो पनि थियो । अहिले त्यस्तो किसिमको अभ्यास छैन । तर, सहयोगको अपेक्षा गर्नेमा कमी छैन । स्वैच्छिक रूपमा केही गरिदिनूहोस् भन्ने धेरै छन् । कुनै समय चन्दा बाध्यकारी पारिन्थ्यो । दिएन भने ठिक हुँदैन भन्ने समय थियो, त्यसलाई आतंक भनिन्छ । तर, अहिले सबै राजनीतिक दल, दलका उम्मेदवार र शुभचिन्तकहरूले आर्थिक सहयोग स्वैच्छिक रूपमा गरिदिनूपर्यो भन्ने गर्छन् । यसलाई आतंक भन्न मिल्दैन, किनकि नदिन पनि पाइन्छ । अहिले नदिँदा ठिक हुँदैन भन्ने अवस्था छैन । तर, चन्दालाई व्यवस्थित गर्नुपर्छ । सबै राजनीतिक दल, निर्वाचन आयोगदेखि सरकारले आगामी दिनमा चन्दालाई विधि र प्रक्रियामा लैजानुपर्छ । स्वैच्छिक भए पनि चन्दा खाममा होइन, बैंकमार्फत हुनुपर्छ । मैले चाहेको दल वा उम्मेदवारलाई सहयोग गर्ने इच्छा लाग्यो भने पनि कानुनी रूपमा हुनुपर्छ ।
‘संघीय सरकारबाट बजेट रोकिँदा विकासका काम अगाडि बढाउन सकेनौं’ {अन्तर्वार्ता}
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनी गाउँपालिका सर्वोत्कृष्ट भएको छ । १७ सूचकांकका आधारमा गरिएको मूल्यांकनमा ८३.८४ अंक प्राप्त गर्दै पाणिनी मुलुकभरका पालिकामा पहिलो भएको हो । उत्कृष्ट हुनुको पछाडिको कारण गाउँपालिकाले गरिरहेका असल अभ्यास, वर्तमान अवस्था, चुनौती तथा अवसर, सम्भावनालगायत विषयमा केन्द्रित रहेर विकासन्युजका लागि बबिता तामाङले गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेसँग कुराकानी गरेकी छन् । स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा पाणिनी गाउँपालिका देशभरकै पालिकामध्ये उत्कृष्ट भएको छ । के-के कारणले गाउँपालिकाले उत्कृष्ट स्थान पाउन सफल भएको हो ? कार्यसम्पादनको मूल्यांकनमा पाणिनी गाउँपालिका ८३.८४ अंक ल्याएर देशभरकै पालिकामध्ये पहिलो भएको छ । वित्त आयोगले १७ वटा सूचकहरूको आधारमा हाम्रो गाउँपालिका उत्कृष्ट ठहराएको हो । उत्कृष्ट हुनुमा धेरै आधारहरू छन् । वित्त आयोगले स्थानीय सरकारको हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे–नगरेको उल्लेख छ । आगामी आवको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा बुझाए-नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे–नगरेको राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोप लगायतका बालबालिकाको अनुपात समेत आयोगले मूल्यांकनका आधार मानेको छ । हामीले हरेक गतिविधि पारदर्शिताका साथ सबै कुराहरू वेबसाइटमा राखेका छौँ । आयोगले यी सबै कुराहरू हामीकहाँ सम्म आएर भन्दा पनि सिस्टमबाट निकालेको रिपोर्ट हो । राजश्वको जुन प्रक्षेपण छ त्यही अनुसार नै हामीले संकलन गर्न सकेका छौँ । कानुनबमोजिम खर्च गरेका छौँ । हामीले मनोमानी राजश्व बढाएर योजना बनाउने काम गरेका छैनौँ । कानुनसम्मत ढंगले काम गरेकै कारण हाम्रो पालिका उत्कृष्ट पालिका भएको हो । गएको वर्ष आयोगको रिपोर्टमा हामी छैटौँ थियौँ भने लुम्बिनी प्रदेशमा पहिलो भएको थियो । हामीले कानुनसम्मत ढंगले काम गरेको कारणले उत्कृष्ट भयो । गएको वर्ष ०८१/८२ मा प्राकृतिक रिपोर्टमा छैटौँ थियो भने लुम्बिनी प्रदेशमा पहिलो भएको थियो । महालेखा परीक्षा कार्यालयको रिपोर्टले पनि यो नम्बर आउनमा सहयोग पुग्यो । त्यस्तै समयभित्रै आय व्यय विवरण पेश गरी पारित गर्न सकेका छौँ । हामीले २०८१/८२ को बजेट खर्च गर्दा खेरी समग्रमा ९० प्रतिशत पुँजीगततर्फ खर्च भएको छ भने हाम्रो सरदरमा ८७.८७ प्रतिशत खर्च भएको कारणले पनि अगाडि आउन सकेका छौँ । यसैगरी स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा पनि राम्रो उपलब्धि हासिल गर्न सकेका कारण हामी उत्कृष्ट भयौँ । शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा राम्रो उपलब्धि हासिल गरेका छौं भन्नुभयो, पालिका भित्रको विद्यालय, अस्पताल र स्वास्थ्य चौकीहरूको अवस्था कस्तो छ ? सामुदायिक विद्यालयहरूमा हामीले अतिरिक्त कक्षा सञ्चालन गरेका छौँ । हाम्रो उद्देश्य भनेकै विद्यालयहरुमा अतिरिक्त कक्षा सञ्चालन गर्ने र नतिजा बढाउन सहयोग गर्ने नै हो । अतिरिक्त कक्षा सञ्चालनको लागि हामीले शिक्षा शाखाबाट केही बजेट छुट्याएका छौँ । विद्यालयमा अहिले विद्यार्थी संख्या न्युन तर विद्यालय धेरै छन् । तर जति विद्यार्थी छन् त्यसलाई नै उत्कृष्ट बनाउनुपर्छ भनेर हामी लागेका छौं । स्वास्थ्यको हिसाबले गत वर्ष जिल्ला स्वास्थ्य कार्यालयले गरेको मूल्यांकन अनुसार हामी पहिलो बन्न सफल भइसकेका छौँ । अहिले हाम्रो पालिका भित्रका स्वास्थ्य संस्थाहरु राम्रैसँग चलिरहेको छ । हाम्रा पालिकामा ८ वटा वडा छन् । ८ वटै वडामा स्वास्थ्य चौकी निर्माण भइसकेका छन् । १५ सैय्याको अस्पताल तयार भएको छ । अस्पताल पनि सञ्चालन गर्ने भनेर अगाडि बढेका छौँ । मन्त्रालयमा पनि दक्ष कर्मचारी र सामग्रीको लागि माग गरेका छौ । अस्पताल सञ्चालन गर्ने कुरा पनि सानो योजनाले नहुने रहेछ । सञ्चालनको लागि नयाँ भवनलाई फर्निचर, स्वास्थ्यसम्बन्धी उपकरण चाहिने भएकाले त्यसको व्यवस्थापन गर्न लागिपरेका छौँ । पालिकाले जति सक्छ त्यति फर्निचरको व्यवस्था गर्ने भनेका छौँ । सरकारले अस्पतालको लागि एक जना डाक्टर र दुई जना अन्य कर्मचारी दियो भने बाँकी कर्मचारी हामी यहीँको स्वास्थ्य चौकीबाट तानेर भएपनि यो ठाउँमा अस्पताल चलाउन सक्छौँ । हामीले असार मसान्तभन्दा अघि नै अस्पताल सञ्चालन गर्ने तयारी गरेका छौं । पालिकामा अस्पताल सञ्चालन भइसकेपछि त्यहाँका जनता बाहिरी जिल्ला या सहरी क्षेत्रमा उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य होला ? अस्पतालमा आवश्यक डाक्टर राख्न सकियो भने समस्या नआउला । तैपनि जुन ठाउँमा १५ सैयाको अस्पताल बनेको छ, यो अस्पताल सञ्चालनमा आएपछि छिमेकी जिल्ला गुल्मीका बिरामीहरूलाई पनि प्रत्यक्ष लाभ पुग्नेछ । किनकि यो स्थान गुल्मीबाट आवतजावतका लागि सहज र पायक पर्ने क्षेत्र हो । यहाँ उपचारपछि बिरामीलाई आवश्यक परेमा पाल्पा वा बुटवल रिफर गर्नसमेत सजिलो हुनेछ । अहिले बनेको अस्पताल सबैलाई पायक पर्ने ठाउँ भएकाले यसले बाहिरै गएर उपचार गर्नुपर्ने अवस्था अन्त्य हुन नसके पनि धेरै सहज हुने हाम्रो अपेक्षा छ । पालिकाका मुख्य प्राथामिकताका क्षेत्रहरु के-के हुन् ? पर्यटकीय हिसाबले हाम्रो गाउँपालिकालाई हामीले प्राथमिकतामा राखेका छौँ । विशेषगरी यहाँका पर्यटकीय स्थलहश्र पाणिनी तपोभूमि, साततले गुफा, मालिका मन्दिरलगायत बढी प्रख्यात छन् । तपोभूमि संस्कृत व्याकरणको उत्पति भएको ठाउँ भएकाले पनि यसको थप प्रचारमा हामी लागेका छौँ । गएको वर्ष मात्रै हामीले प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाएर सम्मेलन गरेका थियौँ । त्यसपछि यहाँ पर्यटकको आगमन बढ्दै गइरहेको छ । हाम्रो पालिकाको मूख्य प्राथमिकताको क्षेत्र कृषि नै हो । कृषकको आम्दानीको स्रोत पनि कृषि नै हो । हामी कृषिमै अगाडि जानुपर्छ किनभने यहाँका बस्ती पहाडी भेगबाट तल फाँटतिर र फाँटबाट सहरतिर पलायन हुने वातावारण छ । माथिबाट तल्लो भेगमा सर्ने वस्ती रोक्न सकेको छैन तर जतिसक्दो बाहिरी जिल्ला, सहर क्षेत्रमा हुने बसाइँसराइलाई हामीले कम गर्ने प्रयास गरिरहेका छौं । यहाँ सुन्तला पकेट एरियाको रुपमा पनि परिचित छ । सुन्तलालगायतका अन्य फलफूलको खेती पनि उत्तिकै हुने भएकाले किसानहरू त्यसमै लागिरहनुभएको छ । गाई भैँसी, बाख्रापालन र दुग्ध उत्पादनमा यहाँका कृषक बढी आवद्द छन् । हामीकहाँ १७ वटा दुध डेरीहरु छन् । छुर्पी उद्योग पनि सञ्चालनमा छ । गाउँपालिकाको तल्लो भेगमा अन्न बाली, तरकारी खेती अलि बढी उब्जनी हुने गरेको छ । पकेट क्षेत्र अन्तर्गत आलुकै खेती पनि भइरहेको छ । हामीले कृषकलाई आवश्यकता अनुसार ट्याक्टर, मल, बिउ पनि अनुदान दिने गरेका छौं । तपाईंको नेतृत्वमा पालिकामा भएका विकासका मुख्य कामहरु के-के हुन् ? पहिले नै सुरु भएका तर पूरा हुन बाँकी कामहरूलाई नै हामीले निरन्तरता दिँदै आएका छौँ । हामीले पहिले सुरु भएका तर पूरा नभएका कामहरुलाई नै निरन्तरता दिँदै आएका छौँ । विकासका क्षेत्रमा कृषकलाई हाते ट्याक्टर वितरण गर्ने काम गर्दै आएका र्छौँ । यो पटक बजारीकरणलाई अझै व्यवस्थित बनाउनुपर्छ भनेर केही बजेट छुट्याएका छौँ । किनभने यहाँको किसानको उत्पादनलाई बजारसम्म लाने र बजारको व्यवस्था मिलाइसकेपछि किसान लाभान्वित हुन्छ भन्ने लागेका छौँ । पहाडी भेग त्यसमा पनि बाढी पहिरो गइरहने हुनाले हामीले बाटोघाटोलाई नै बढी जोड दिएका र्छौँ । पालिका भित्रका परियोजनाहरू कस्तो अवस्थामा छन् ? संघ र प्रदेशको सहयोग कस्तो छ ? गत वर्ष हाम्रो पालिकालाई संघीय सरकारबाट एउटा मात्रै समपुरक बजेट थियो । यो वर्ष समपुरकको २ वटा बजेट छन् । यसमा अहिले काम भइरहेको छ । पाणिनी तपोभूमि सम्मेलनपछि हामीलाई केही बजेट संघीय सरकारले दिने भनिएको थियो । तर जेनजी आन्दोलनपछि बजेट रोकिएको छ । त्यसले गर्दा काम अगाडि बढाउन सकेको छैन । अहिले संघीय सरकारबाट आउनुपर्ने १० करोड बजेट रोकिएको छ । बजेट उपलब्ध नहुँदा अतिआश्यक काम रोकिएका छन् । पाणिनी तपोभूमि निर्माणको लागि १ करोड ५० लाख बजेट परेको थियो । लगभग २८ करोडको सेरोफेरोमा डिपिआर सम्पन्न भइसकेको छ । तर सहरी विकास मन्त्रालयबाट परेको ३ करोड बजेट पनि रोकिँदा काम अगाडि बढाउन सकेको छैन । झोलुंगे पुल निर्माणको लागि परेको ३ करोड रुपैयाँ बजेट नआउँदा त्यो काम पनि अगाडि बढाउन सकेको छैन । गाउँपालिकाको विकट क्षेत्र खुर्साने भर्तापुर हल्दे मो.बा. मा परेको तीन करोड बजेटसमेत रोकिएको छ । संघीय सरकारबाट पाउनुपर्ने बजेट रोकिँदा अहिले विकास परियोजनाका काम अगाडि बढाउन सकेको छैन । संघीय बजेट रोकिँदा पालिकालाई समस्या नै हुन्छ । यहाँको आन्तरिक बजेट धेरै हुँदैन । जसरी सहरी र तराई क्षेत्रमा घरबहाल, रोयल्टीबाट राम्रो राजश्व उठ्छ, हाम्रोमा त्यो पनि हुँदैन । जनतालाई सेवा दिँदा र सामान्य रोयल्टी नै हाम्रो राजश्व हो । हाम्रो पालिका ठूलो व्यवसायको रुपमा विकासित पनि भइसकेको छैन । पालिकाका अन्य समस्याहरु के-के छन् ? समाधानतर्फ कसरी जोड दिनुभएको छ ? खानेपानीको केही मात्रामा समस्या छ । हामीले ‘वासप्लान्ट’ बनाएर सरकारलाई पठाएका छौं । यो वर्षबाट केही बजेटको व्यवस्था हुन्छ भन्ने कुरा आएको छ । यहाँको अर्को समस्या यातायातकै हो । यहाँ सडकहरु धुलम्य छन् । धुलाम्य सडकलाई संघ, प्रदेश र स्थानीय तह मिलेर व्यवस्थापन गर्नुपर्ने भएको छ । केही बाटोहरुमा हामीले ग्राभेल गरेका छौँ, केही सडक प्रदेशको बजेटबाट पिच भइसकेको छ । तर उल्लेखनीय रुपमा हुन सकेको छैन । विदेश पलायनको समस्या छ, हाम्रो पालिकाको अवस्था के छ ? स्थानीय स्तरमा रोजगारी सिर्जनामा जोड दिनुभएको छ ? स्वरोजगार बन्ने कुरामा हामीले प्राथमिकतामा राखेका छौँ । उहाँहरूलाई स्वरोजगार बन्नुस, बैंकबाट सस्तो ब्याजमा ऋण उपलब्धदेखि हरेक कुरामा पहल गर्छौ भन्ने गरेका छौँ । केही युवाहरू बाख्रापालन, गाइपालनमा लागेका छन्, कोही सुन्तली खेतीमा रोकिएका छन् । यहाँ दुध र सुन्तला राम्रो उत्पादन भएको देखेर प्राथमिकता दिनुपर्छ भन्ने छ तर संघीय सरकारबाट मागअनुसार कुनै योजना पार्न सकेका छैनौँ । कृषिलाई प्रमोट नगरीकन स्वरोजगार हुन सक्दैन । हामी त्यसमै लागेका छौँ । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) कार्यक्रम सञ्चालनमा छ । यो कार्यक्रमले पनि उद्यमी बनाउनको लागि सहयोग गरिरहेको छ । केही व्यक्तिहरूलाई तालिम दिने, उद्यमी बनाउने भनिएपनि तालिम लिइसकेपछि वितृष्णा भएर बाहिर नै जान खोज्नेहरु धेरै छन् । तर हुँदै नभएको पनि होइन । हाम्रै कार्यक्रमबाट केही व्यक्तिहरू उद्यमी भइसक्नुभएको छ । यहाँका नागरिकहरू पनि विदेश पलायन हुने अवस्था त तर अरुको तुलनामा कम होला । नागरिकको बढीजस्तो गुनासो के-के हुने गरेका छन् ? त्यसलाई समाधानतर्फ कसरी लाग्नुभएको छ ? हामीसँग नागरिकको धेरै अपेक्षा छ । सबै गुनासो सम्बोधन गर्न पनि गाह्रो हुन्छ । हामीसँग स्रोत साधन कम छ । यसैपनि पहाडी भेग यहाँ ठूलो राजश्व नउठ्ने भएकाले ठूलो सहर बजारसँग मुकाविला गर्न सक्ने बजेट छैन । हामीसँग भएका बजेटबाट जनताका सानातिना समस्या हल गर्नेतर्फ अगाडि बढेका छौँ । धेरैका समस्या एकैचोटि नसक्ने रहेछ । त्यही ढंगले हामीले सबैका समस्या हल गर्दै गएका छौँ । जनताको साथ कति पाइरहनुभएको छ ? जनताको साथ छ, जनताको साथले नै म आज यहाँसम्म आइपुगेको छु । हामी सबै मिलेर अगाडि बढिरहेका छौँ । जनप्रतिनिधिहरको पनि राम्रो साथ छ । राजनैतिक दलको पनि साथ छ । आगामी योजनाहरु के-के छन् ? कार्यपालिका र पालिकाका भद्रभलाद्मीहरु बसेर अब कसरी जाने भनेर छलफल हुन्छ । अहिले गत वर्षमा हामीले बनाएको बजेटको कार्यान्वन पक्षमा लागिरहेका छौँ । आगामी वर्षको बजेट अब बनाउँदै जाने हो । कृषिमा कति लगानी गर्ने, स्वास्थ्यमा के-के गर्ने, शिक्षामा के–के गर्ने भनेर सम्बनिधत विषयका समिति नै राखेर हामी अगाडि बढाउँछौं ।