दुई वर्षमा सबै घरमा विद्युत पुग्छ, युवालाई बिना धितो ऋण दिएका छौं : अध्यक्ष बोहरा
काठमाडौं । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका अध्यक्ष हुन् भक्तसिंह ठेकरे बोहरा । सुदुरपश्चिम प्रदेशकै दुर्गममध्येमा पर्ने उक्त गाउँपालिकालाई समृद्ध बनाउन पर्यटन प्रवर्द्धनमा लागेका छन् उनी । त्यसबाहेक, गाउँपालिकामा शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा नमुना काम गर्न लागिएको अध्यक्ष बोहराले बर्ताका छन् । उनै अध्यक्ष बोहरासँग विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : तपाईं गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको करिब डेढ वर्ष हुन लाग्यो, निर्वाचित भए पश्चात् पालिकामा उल्लेख्य के काम गर्नुभयो ? हामी निर्वाचित भएर आइसकेपछि पालिकाभित्र उल्लेखनीय काम भएका छन् । हाम्रो पालिका सुदूरपश्चिम प्रदेशकै विकट तथा दुर्गम क्षेत्रमा पर्छ । पूर्वाधार विकासका काम न्यून मात्रामा भएका थिए । हामीले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन आदि क्षेत्रलाई प्राथमिकता दिएर काम अगाडि बढाएका छौं । पालिकामा आकर्षक पर्यटकीय गन्तव्य छन् । ती स्थानहरूको पहिचान गर्दै प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक पालिकामा ल्याइरहेका छौं । यसले यहाँका नागरिकहरूको जीविकोपार्जन सहयोग पुगेको छ । यहाँका नागरिकको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य शिविर सञ्चालन गरेका छौं । शिक्षा क्षेत्रमा सुधार र परिवर्तन गर्नुपर्छ भनेर सबै विद्यालय भौतिक पूर्वाधार निर्माणसहित शैक्षिक गुणस्तरका कार्यक्रमहरू सञ्चालन गरेका छौं । हामीले योजनाबद्ध तरिकाले विकासको काम अघि बढाएका छौं । गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्षलाई भ्रमण वर्षकोरूपमा मनाउने योजना बनाएको छ, यस वर्ष कति पर्यटक भित्र्याउने तपाईंहरुको लक्ष्य हो ? हामीले चालु आर्थिक वर्ष २०८०/८१ लाई अपिहिमाल भ्रमण वर्षकोरूपमा मनाउने घोषण गरेका छौं । गत वर्ष हामीले अपिहिमाललगायत पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारको लागि अपिहिमाल वेस क्याम्प भ्रमण सप्ताह कार्यक्रमको आयोजना गरेका थियौं । भ्रमण सप्ताह कार्यक्रम सञ्चालन गर्दा यहाँ पर्यटकको उपस्थिति एकदमै राम्रो थियो । गाउँपालिकाको पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार र पर्यटन विकासमा यो कार्यक्रम कोशेढुङ्गाकोरूपमा सावित हुने अपेक्षा राखेका छौं । हाम्रो यस वर्ष तीन हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याने उद्देश्य हो । हाम्रो कार्यकालमा गाउँपालिकाभित्र १० हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेका छौं । गाउँपालिकाले पर्यटन प्रवद्र्धन तथा विकासका लागि आवश्यक गृहकार्य गरिरहेको छ । तपाईंहरुले के विषयलाई प्राथमिकता थिएर पर्यटन प्रवर्द्धनको काम गरिहनुभएको छ ? सुदूरपश्चिमका अधिकांश पर्यटकीय स्थलहरू भर्जिन छन् । पूर्वी भेगका धेरै ठाउँहरू आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरिसकेका छन् । सुदूरपश्चिम पर्यटकको लागि नौलो ठाउँ हो । त्यसमध्ये पनि हाम्रो गाउँपालिकामा प्रदेशकै अग्लो अपिहिमाल छ । त्यसैले यहाँ हिमाल आरोहण तथा ट्रेकिङका पारखीहरू पनि आउन सक्ने भए । गाउँपालिकामा सुन्दर रमणीय स्थानको कमी छैन । जसले गर्दा पर्यटनलाई यहाँको प्राकृतिक सुन्दरताले लोभ्याउँछ । धार्मिक पर्यटकहरू पनि आउँन सक्ने भए । यहाँ ऐतिहासिक तथा धार्मिक क्षेत्रहरु पनि प्रसस्त छन् । पर्यटकीय क्षेत्रहरूलाई सफा राख्नको लागि प्लास्टिक निषेधको घोषणा गरेका छौं । पर्यटकलाई लक्षित गर्दै ग्रामीण बस्तीहरूका होमस्टेहरू सञ्चालनमा ल्याएका छौं । त्यी होमस्टेहरूले मौलिक खानेकुरा पस्कन्छन् । यहाँको टिपिकल स्वादसँगै अवलोकन गर्न पर्यटकहरू आउन सक्ने भए । युवालाई विदेशिन रोकेर गाउँमै रोजगार बनाउन स्थानीय तहको ठूलो भूमिका रहन्छ । तपाईंले गाउँपालिकामा युवा लक्षित रोजगारीको लागि कस्तो नीति बनाउनुभएको छ ? गाउँपालिकाले युवालाई कृषि र पर्यटकीय क्षेत्रमा जोड्नको लागि पहल गरिरहेको छ । गाउँपालिकालाई पर्यटकीय हब बनाएपछि यहाँ प्रशस्त पर्यटक भित्रिन्छन् । पर्यटनको आवागमन बढ्यो भने यहाँ उत्पादन भएको सामाग्री पनि सहजै बिक्री गर्न सकिन्छ भनेर गाउँपालिकाले युवालाई यस क्षेत्रमा जोड्न खोजेको हो । त्यसका लागि गाउँपालिकाले युवालाई टुरिस्ट गाइड, लघु उद्यम, होटल व्यवसाय आदिको तालिम पनि दिँदै आएको छ । हामीले यस वर्षदेखि उद्यम गर्न चाहने युवाहरूको लागि न्यून ब्याजदरमा बिना धिता दुई लाखसम्म व्यवसायिक ऋण उपलब्ध गराउने छौं । युवालाई उक्त कर्जा युवा स्वरोजगार संघको सहकार्यमा दिने योजना बनाएका छौं । गाउँपालिकाले यस कार्यक्रमलाई छिट्टै कार्यान्वयन गरी युवालाई सहुलियत तरिकाले कर्जा प्रवाह गर्ने छौं । करिब ४०/५० जना युवालाई कर्जा दिने कोष पनि खडा गरेका छौं । युवालाई स्वदेशमै टिकाउन र व्यवसायमा आबद्ध गर्नका लागि विभिन्न कार्यक्रमहरू पालिकाले गरिरहेको छ । स्थानीय उत्पादनमा जोड दिँदै औद्योगिक क्षेत्रको विकासमा कस्ता रणनीतिहरू अपनाउनुभएको छ ? हामीले लघु उद्यम मार्फत स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्नुपर्छ भनेर लागेका छौं । गाउँपालिकाले युवालाई बेलाबखत व्यवसायिक तालिम दिँदै आएको छ । गाउँपालिकाले युवाहरूलाई घरेलु उद्योगबाट बिस्कुट, ऊनका कपडा, टमाटरको सस्, सिलाई कटाइ आदीको तालिम दिएका छौं । जसले युवालाई उद्यमी बन्न र घरेलु उद्योग सञ्चालन गर्नमा मद्दत र प्रोत्साहन गर्ने छ । शैक्षिक गुणतर तथा विद्यार्थीको क्षमता अभिबृद्धि गर्ने काममा पालिका कसरी काम गरेको छ ? गाउँपालिकाले शिक्षा क्षेत्रमा ठूलो फड्को मार्नुपर्ने छ । किनभने समाजको मेरुदण्ड नै शिक्षा हो । त्यसैले यस क्षेत्रलाई गाउँपालिकाले पहिलो प्राथमिकताकोरूपमा लिएको छ । निर्वाचित भए पश्चात् सुविधा सम्पन्न भौतिक संरचनामा पठन पाठन सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यले काम गर्यौं । हाल करिब ७० प्रतिशत विद्यालयका भौतिक पूर्वाधारको काम सम्पन्न गरेका छौं । हामीले हाम्रो कार्यकालभित्र सम्पूर्ण विद्यालयको भौतिक संरचना निर्माणको काम सम्पन्न गर्ने छौं । कक्षा तथा विषयगत शिक्षकको व्यवस्थापन सबै विद्यालयमा गरेका छौं । गत आर्थिक वर्षबाट शिक्षकलाई तालिम दिने कामको सुरुवात गरेका छौं । त्यसले शैक्षिक गुणस्तर अभिवृद्धीमा सहयोग पुग्ने नै छ । गाउँपालिकाले यस वर्षदेखि शैक्षिक क्यालेन्डर पनि लागु गरेको छ । कुन समयमा के काम गर्ने भनेर पहिला नै तयारी गरेका छौं । विद्यार्थीलाई सिक्दै कमाउँदै, पढ्दै कमाउँदै गर्ने कार्यक्रम जोडेमा छौं । प्राविधिक धार भएका विद्यालयलाई हाल सो कार्यक्रममा जोडेका हौं । विद्यार्थीले विद्यालयमै च्याउ उत्पादन, मौरी पालन, फलफूल खेतीको सुरुवात गरेका छन् । हप्ताको एक पटक अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूको सहभागिता गराउनु पर्ने व्यवस्था मिलाएका छौं । त्यसले पनि विद्यार्थीको मानसिक तथा बौद्धिक विकास गर्ने छ । ‘सिक्दै कमाउँदै’ भन्ने कार्यक्रम कसरी कार्यान्वयन गरिराख्नु भएको छ, यो कार्यक्रम गाउँपालिकाका कति वटा विद्यालयमा लागू भएको छ ? हाम्रो गाउँपालिकाको एउटा विद्यालयमा मात्रै यो कार्यक्रम लागू भएको छ । जहाँ प्राविधिक धारतर्फको बाली विज्ञान शिक्षा पढाइ भइरहेको छ । यसलाई क्रमागतरूपमा अन्य विद्यालयमा पनि लागू गर्दै जान्छौं । पालिकाले यस कार्यक्रमलाई गत वर्षदेखि लागु गरेको हो । यस वर्ष सिकाइ केन्द्र बनाएर किसानहरूलाई पनि विद्यालयसँग जोड्ने कार्यक्रम रहेको छ । गाउँपालिकाबासीलाई गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति कसरी दिलाउनुभएको छ ? हाम्रो गाउँपालिका विटक क्षेत्रमा पर्छ । जसले गर्दा यस क्षेत्रमा थुप्रै समस्याहरू छन् । स्वास्थ्यका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्ने जमर्को गरिरहेका छौं । तथापि स्वास्थ्य क्षेत्रको काम प्रभावकारी हुन सकिरहेको छैन । स्वास्थ्यका कार्यक्रम प्रभावकारी कसरी बनाउने भन्ने कुरामा गाउँपालिको ध्यान केन्द्रित नै छ । जेष्ठ तथा असहाय नागरिकको लागि घरमै गएर स्वास्थ्यका सेवा दिँदै आएका छौं । यसका साथै गाउँपालिकाभित्रै स्वास्थ्यका शिविरहरू सञ्चालन गर्दै आइरहेका छौं । यसपटक भने जटिल बिरामीहरूको उपचारको लागि बजेट पनि छुट्याएका छौं । विशेषज्ञहरूसँग हाम्रो स्वास्थ्यकर्मीलाई जोडेर त्यसको रोकथामका उपायहरू सुरूवात गर्ने लागेका छौं । गाउँपालिकाले ‘एक घर, एक घारा’को नीति गाउँपालिकाले लिएको धेरै समय भइसक्यो तथापि अझै पनि प्रत्येक घरमा पानी पुर्याउँन सकस पर्याे नि किन ? एक घर एक घाराको नीति लिएता पनि बजेट अभाव भएका कारण सबै ठाउँमा पानीको धारा पुर्याउन गाह्रो परेको हो । हामी निर्वाचित हुनुभन्दा अघि झन्डै ७५ प्रतिशत घरधुरीमा यस कार्यक्रम अन्तर्गत पानी पुर्याइसकिएको थियो । हामी आइसकेपछि गाउँपालिकाकै लगानीमा ५ वटा खानेपानीको आयोजनाको काम सम्पन्न भएका छन् । हाल ९२ प्रतिशत खानेपानी आयोजनाको काम सम्पन्न भएको छ । अब ८ प्रतिशत मात्र काम हुन बाँकी छ । चालु आर्थिक वर्षमा २ वटा खानेपानी आयोजनाको काम सम्पन्न गर्ने योजना बनाएका छौं । यसै वर्ष एक घर एक धारा कार्यक्रम सम्पन्न गर्ने छौं । बजेट कार्यान्वयनको तयारी के छ ? हामीले बजेट कार्यन्वयनलाई प्रमुख प्राथमिकता दिएका छौं । गत आर्थिक वर्षमा दार्चुला जिल्लाको सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने पालिकामध्ये हाम्रो पालिकाको नाम आउँछ । हामीले ९० प्रतिशत पुँजीगत खर्च गरेका थियौं । ८७ प्रतिशत जति चालु खर्च गरेका छौं । यद्यपि संघीय सरकारको बजेट कटौति गर्दा केही कार्यक्रमहरू गर्न सकेनौं । सोही कारण केही आयोजनाहरु सम्पन्न हुन सकेनन् । यस पटक पनि छिटोभन्दा छिटो बजेटको कार्यान्वयन गरी योजनाहरू अगाडी बढाउने तयारी गरिरहेका छौं । अन्त्यमा, तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? हामीले ५ वर्षभित्रमा धेरै काम गर्ने सोच बनाएका छौं । हाम्रो कार्यकालमै सदरमुकामसम्म सडक पुर्याउँने र वडा कार्यालयसम्म सडक सञ्जालले जोड्ने योजना छ । ती कुरामा हामी फोकस छौं । हाम्रो गाउँपालिका जलविद्युतको हब पनि हो । यहाँ सानादेखि ठूला जलविद्युत आयोजनाहरु निर्माण गर्न सकिन्छ । यहाँ राष्ट्रिय प्रसारण लाइनको विद्युतीकरण भएको छैन । हामीले करिब २ वर्षभित्र गाउँपालिकाका सबै घरमा विद्युतिकरण गर्ने गरी तयारी गरेका छौं ।
बैंकहरूलाई कुनै हालतमा पुँजी वृद्धि गर्न दिनु हुँदैन: अध्यक्ष गोल्यान
बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताहरुको छाता संस्था हो नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) । सोही परिसंघको नेतृत्व गरिरहेका छन् पवन गोल्यान । एनमबि बैंकका अध्यक्ष समेत रहेका गोल्यानको सिविफिनमा यो दोस्रो कार्यकाल हो । उद्योग, होटल, बैंक, जलविद्युत, रियलस्टेट क्षेत्रमा लगानी गरिरहेका गोल्यान पछिल्लो समय कृषिमा जमेर काम गरिरहेका छन् । तर, हामीले उनीसँग नेपाली बैंक तथा वित्ती संस्थाको वर्तमान अवस्था, सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट, राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीति र उनको व्यक्तिगत व्यवसाय लगायत विषयमा कुराकानी गरेका छौं । सरकारले बजेटमार्फत् एफपीओ र मर्जरमा कर लगाउने घोषणा गरेपछि तपाईंहरुले त्यसको निकै विरोध गर्नु भयो, तर अहिले त्यो विषय सेलाएको देखिन्छ, तपाईंहरु अब सरकारले गरेका व्यवस्था कार्यान्वयन गर्न तयार हुनु भएको हो ? होइन, त्यो विषय सेलाएको छैन । हामीले अझै पनि सरकारलाई झकझक्याइरहेका छौं । सबै पार्टीका सचेतकहरुले पनि यस विषयमा कर लगाउन मिल्दैन भन्नु भएको छ । बजेटलाई संसदबाट सच्याएको अहिलेसम्म अभ्यास रहेनछ । तर, सिविफिनले औपचारिक रुपमा अदालत जान्छौं भनेका छैनौं । यो विषयलाई राज्यले नै सच्याउनु पर्छ भनेर कुरा गरिरहेका छौं । यो सरकारको भूत लक्षित नीति हो । यसमा कर लगाउन पाइँदैन । यसले अर्थतन्त्रमा ठूलो असर पार्न सक्छ । कर बैंकहरुले तिर्ने भनेको छ । यो सेयरधनीहले तिर्नु पर्ने कर हो । यो व्यवस्थाले सेयर बजारमा पहिरो जान्छ, बैंकहरु पनि लाभांश दिन नसक्ने अवस्थामा हुन्छन् । सरकारले पनि केही सोच बनाएको भन्ने बुझिएको छ । सरकारले सच्याउँछ भन्ने विश्वास छ । मंसिरसम्म घोषणा गरेको कर तिर्नु पर्छ भनेको छ, त्यो समयभित्र कर तिर्नु हुन्छ वा तिर्नु हुन्न ? अझै पाँच महिना बाँकी छ । यो पाँच महिनाभित्र सरकारले सच्याउँछ भन्ने विश्वासमा छौं । अर्थमन्त्रीले पनि बाराम्बार समस्या परेको छ भने सच्याउँछौं भन्ने कुरा गर्नु भएको छ । २६/२७ बुँदाको विषयमा अदालत जानु भनेर अर्थमन्त्रीले नै भन्ने गर्नु भएको छ । सकेसम्म न्यायालय जाने स्थिती बन्नु हुँदैन भन्ने हाम्रो बुझाइ हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेर एकीकृत निर्देशन पनि जारी गरिसकेको छ, मौद्रिक नीतिमा गरेका नयाँ व्यवस्थाप्रति तपाईंको धारणा के हो ? हामीले राष्ट्र बैंक समक्ष धेरै माग राखेका थियौं । प्रमोटर सेयरलाई पब्लिक सेयरमा रुपान्तरण गर्न पाउनु पर्छ, बैंकर र व्यवसायी छुटयाउनुपर्छ भन्ने माग थियो । अर्को, नेपाली उत्पादनले अहिलेको ब्याज धान्न सक्दैन । नेपालमा ड्यूल ब्याज सिस्टम हुनुपर्छ भन्ने माग पनि राखेका थियौं । उत्पादनमुलक क्षेत्रमा आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम भनिएको छ, होटलहरुले पनि सावाँ ब्याज तिर्न सकेका छैनन् । सिमेन्ट तथा स्टील उद्योगहरुले पनि तिर्न सकेका छैनन । यी क्षेत्रहरुको समस्या समाधानका लागि हामीले केही माग राखेका थियौं । तर, हाम्रा मागहरु पुरा भएनन् । हाउजिङ निर्माणमा २ करोडको सीमा राम्रो विषय आएको छ । राष्ट्र बैंकको यो नीतिले अर्थतन्त्र चलायमान बनाउन भूमीका खेल्न सक्दैन । बैंकहरुको कर्जा विस्तार गर्न सक्ने क्षमता घटिरहेको छ भन्ने सुनिन्छ, तपाईंको बुझाइ के हो ? कर्जा पहिलेको जस्तो बढाउन कत्तिको उचित हो भन्ने विषय पनि हो । हामी चाहे पनि नचाहे पनि मन्दीमा प्रवेश गरिसकेका छौं । कर्जा विस्तार अलिकति गर्नु ठीकै हो । खराब कर्जा बढेको बढ्यै छ । उत्पादनमुलक क्षेत्रमा कर्जा जानु राम्रै हो । तर, कर्जा विस्तारले जीडीपीमा पनि योगदान दिन सक्नु पर्छ । त्यसका लागि राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनु पथ्र्यो तर त्यस्तो आएन । अहिले कर्जाको सही माग आउँदैन । जसलाई ऋण तिर्नका लागि ऋण चाहिएको छ त्यस्तो कर्जाका लागि मात्रै बैंकमा डिमाण्ड आउँछ । त्यस्तो कर्जालाई निरुत्साहित पार्नु पर्छ । त्यो गलत अभ्यास हुन्छ । बैंकको पैसा लगानीकर्ताको मात्रै होइन पब्लिकको पनि हो । चालु पुँजी कर्जा संशोधन गर्ने भनिएको छ । चालुपुँजी कर्जा एकदमै आवश्यक छ । अहिले कर्जा दुरुपयोग भएकै छ । पछिल्लो एक दशकमा बैंक तथा वित्तीय संस्था मर्जर भएर ठूलो संस्था बने, त्यसबेला मर्जर/एक्विजिसन नै ठीक भनियो । तर, अहिले मर्जरको नतिजाप्रति धेरैले असन्तुष्टि जनाइरहेका छन्, कर्मचारीको समायोजन, सेवाग्राहीलाई सेवा र लगानीकर्ताको प्रतिफलको विषय पनि बहसको रुपमा हेरिएको छ, यस विषयमा लगानीकर्ताको भनाइ के छ ? नेपालमा मात्रै होइन विश्वमा पनि मर्जरको प्रभाव दुई/तीन वर्षपछि मात्रै आउँछ । कर्मचारी समायोजन आफैमा गाह्रो विषय हो । तर, यसले विस्तारै एउटा रुप लिन्छ । सुरुमा अनेक समस्या आउनु स्वभाविक हो । बराबरीको बैंकसँग मर्जर गर्दा समस्या आउनु अस्वभाविक होइन । तर, विस्तारै सहज हुँदै जान्छ । तीन वर्ष अगाडि बिग मर्जर भएको बैंकले अहिले राम्रो नतिजा दिइरहेको छ । बैंक ठूलो हुँदैमा प्रतिफल पनि बढी हुन्छ भन्ने हुन्न । जति ठूलो पुँजी भयो, प्रतिशत पनि घट्दै जान्छ । ३२ वटा वाणिज्य बैंकबाट २० मा झरिसकेका छन् । अझै एक÷दुइटा बैंक घट्ने क्रममा छन् । अब यति बैंक त चाहिन्छन् नै । अहिले बैंकिङ गाली पाउने क्षेत्र बनेको छ । राष्ट्र बैंकले पनि अपजस पाइरहेको छ । बैंकिङ क्षेत्र बढी पारदर्शी भएर पनि धेरैको नजर परेको हो । अन्य क्षेत्रमा सानो पुँजीमा ठूलो प्रतिफल पाउँदा पनि त्यहाँ कुनै प्रश्न उठिरहेको छैन । साहुजीहरुको बैंक हो भन्ने सोच नै गलत हो । यो कुनै पसल होइन । त्यस्तो गलत कुराहरु राख्नेलाई कडा कारवाही हुनुपर्छ । बैंक मर्जरपछि पाइरहेको प्रतिफलप्रति लगानीकर्ताहरु कत्तिको सन्तुष्ट छन् ? लगानीकर्ताहरुले पनि अहिले नै बढी प्रतिफलको अपेक्षा राख्नु हुन्न । मर्जरपछि केही समय पर्खिनु पर्छ । दुई बैंकहरुबीच हरेक तालमेल मिलाउनुपर्छ । मर्जर हुने बित्तिकै प्रतिफल बढ्छ भन्ने विषय सोच्नु पनि हुँदैन । यसमा लगानीकर्ताले असन्तुष्टि जनाउनु हुँदैन । सन्तुष्ट नहुनु भनेको ज्ञानको कमि हो । मर्जर भएर दुई वर्ष पार गरेका बैंकहरुले राम्रो काम गरिरहेका छन् । अब ती बैंकहरुको प्रतिफल पनि बढ्छ । फरक–फरक क्षेत्रमा मार्केट भएका बैंकहरुलाई मर्जरले थप सिनर्जी सिर्जना गरेको छ । बैंकको पुँजी वृद्धिका लागि केही सोच्नुभएको छ ? पुँजी वृद्धि अब आवश्यक छैन । पुँजीकोष टाइट छ भने बण्ड ल्याउने हो । बैंकहरुलाई कुनै हालतमा पुँजी बढाउन दिनु हुँदैन । पुँजी वृद्धिले प्रतिफल झन घट्छ । हकप्रद सेयर त झन कुनै हालतमा ल्याउन दिनु हुँदैन । केही बैंकहरुले हकप्रदका लागि राष्ट्र बैंक समक्ष मरिहत्ते नै गरे नी ? त्यो गलत हो । दुई/चार बैंकले मरिहत्ते गरे भन्दैमा राष्ट्र बैंकले पनि नीति बनाउनु हुँदैन । हरेक बैंकका लागि हकप्रद राम्रो होइन । जुन बैंकको पुँजी १५/२० अर्ब रुपैयाँ पुगिसकेको छ, ती बैंकहरुलाई पुँजी वृद्धि आवश्यक छैन । यो एउटा क्षणिक लोभ हो । बैंकिङ क्षेत्रमा ओभर क्यापिटलाइज्ड नै भएको छ । हामीले पहिले नै रिपोर्ट निकालेका थियौं । बैंकहरु ओभरक्यापिटालाइज्ड भएर नै एग्रिसिभ भएका हुन् । २ अर्ब रुपैयाँ रहेको पुँजी एकैपटक ८ अर्ब रुपैयाँ पुर्याइयो । यसले त प्रतिफल आउँदैन भनेर बैंकहरुले एग्रेसिभ रुपमा कर्जा विस्तार गरे । अहिलेको परिस्थिती त्यही कारणले आएको हो । सबै बैंकहरु अस्वस्थ प्रतिस्पर्धामा उत्रिए । कष्ट अफ फण्ड बढ्दै गयो । सेभिङ अकाउण्ट र करेन्ट अकाउन्टको ब्याज घटाउँदै र मुद्दति निक्षेपको ब्याज बढाउँदै गए । यसले कष्ट बढ्यो र कर्जाको ब्याज बेसरेट भन्दा तल आयो । यसले समस्या सिर्जना गरेको हो । यस्तो बैंकिङ राम्रो होइन । खुला बजारमा स्वनियनमा पनि बस्न सक्नु पर्छ । बैंकहरुले कुनै कुरामा मरिहत्ते गर्नु हुँदैन । यो कुनै पसल होइन । आज एउटा र भोलि अर्कै रेट हुनु भएन । बैंकिङ अर्थतन्त्रको मेरुदण्ड हो । मेरुदण्डले जे पायो त्यही काम गर्नु भएन । खुला अर्थतन्त्रको बेनिफिट लिनु भनेको ‘लुप होल’ खोज्नु हो । आज एक/दुई बैंकको कारण बैंकिङ इन्डष्ट्रिकै आँखा निहुरिन्छ । सिविफिनले पनि जति स्ट्रोङ्ग ढंगले बोल्नु पर्ने हो, जति स्ट्रोङ्ग रुपमा लबिङ गर्नु पर्ने हो त्यो भइरहेको अवस्था छैन । तिनै बैंकहरुको कारण हो । कहीँ न कहीँ बैंकको पनि गल्ती छ ।
वायुसेवा निगमले ऋण तिरेको प्रचार गर्यो तर किस्ता तिरेको छैन: प्रशासक धिताल
काठमाडौं । आम कर्मचारीको हितका लागि स्थापित कर्मचारी सञ्चय कोषले ६ दशक बढीको यात्रा तय गरेको छ । कूल पाँच खर्ब बराबरको कोष परिचालन गरेर संस्थाले कर्मचारीको समग्र सेवा र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको छ । नेपालको पूर्वाधार क्षेत्र विशेष गरी जलविद्युत् आयोजनामा लगानी गर्ने अग्रणी संस्थाका रुपमा पनि कोष स्थापित छ । बेतन कर्णाली जलविद्युत् आयोजना सहायक कम्पनीमार्फत निर्माण गर्ने अन्तिम तयारी भइरहेको छ । नेपाल वायुसेवा निगमको जहाज खरिदका लागिसमेत कोषले २२ अर्ब बराबरको लगानी गरेको छ । कोषले सम्पादन गरिरहेका काम कारबाही र आगामी दिनमा सञ्चालन गर्न लागेका गतिविधिका सन्दर्भमा कोषका प्रशासक जीतेन्द्र धितालसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश : कर्मचारी सञ्चय कोषले पछिल्ला दिनमा के–कस्ता काम कारबाही गरिरहेको छ ? कर्मचारी सञ्चय कोष देशको अग्रणी संस्था हो । छ दशकभन्दा बढीको इतिहास भएको संस्था भएकाले सञ्चयकर्ताले विश्वास गरेका छन् । पछिल्ला दिनमा हामीले संस्थाको सुदृढीकरण र आधुनिकीकरणमा जोड दिएका छौँ । त्यसमा धेरै काम भइसकेको छ । ढड्डाबाट सुरु भएको संस्थालाई हामीले पूर्णरुपमा डिजिटल बनाइसकेका छौँ । सेवाग्राहीलाई सहजरुपमा कसरी सेवा दिन सकिन्छ भनेर आन्तरिक सुधारका कामलाई अगाडि बढाएका छौँ । हिसाबकिताब तथा बैंक तथा वित्तीय संस्थासँगको समन्वयको कामलाई पनि सेवाग्राहीको उपस्थितिबिना नै गर्न सकिने गरी प्रणालीगत सुधार गरेका छौँ । अहिले हामी पाँच खर्ब प्लसको संस्था भएका छौँ । हामीले यही स्रोतलाई परिचालन गरेर सञ्चयकर्तालाई नयाँनयाँ केकस्ता सुविधा र योजना दिने तथा उनीहरुलाई थप विश्वस्त बनाउने भन्ने सन्दर्भमा काम गरिरहेका छौँ । त्यसमा हामी सफल पनि छौँ । कोष परिचालनलाई पनि बढीभन्दा बढी सुरक्षित र व्यवस्थित बनाउन लागिपरेका छौँ । समग्रमा हामीले आन्तरिक सुधार पनि ग¥यौँ, नीति, नियम, कार्यविधि तथा अन्य काममा सहजीकरण पनि गरेका छौँ । यसबीचमा संस्थागत सुदृढीकरण र आन्तरिक व्यवस्थापनको काम नै विशेष प्राथमिकतामा परेका छन् । आन्तरिक सुदृढीकरणका विषय नितान्त आन्तरिक विषय भए, तर सञ्चयकर्ता वा आम कर्मचारीले कोषबाट केकस्ता सुविधा पाए भन्ने विषय महत्वपूर्ण हुन जान्छ । तपाईको विचारमा कोषले खासमा नयाँ त्यस्तो के गरिरहेको छ ? हाम्रा सबैजसो कार्यक्रम सञ्चयकर्ताको हितमा नै हुन्छन् र छन् । उहाँहरुको पैसा नै हामीले परिचालन गर्ने हो । बैंक तथा वित्तीय संस्थाले केबल नाफालाई मात्रै केन्द्रित गर्छन् । तर हामीले नाफालाई भन्दा पनि सुविधालाई बढी केन्द्रमा राखेर काम गरिरहेका छौँ । हामीले कमाएको र प्रतिफल हासिल गरेको रकमको कूल ९० प्रतिशत बराबरको हिस्सा सञ्चयकर्ताको हितमा नै परिचालन गर्छौँ । त्यसैले हामीले कोषको मुनाफाभन्दा पनि सञ्चयकर्ताको हित हेर्ने हो, त्यही गरिरहेका छौँ । पछिल्ला दिनमा हामीले विशेष गरेर दुई प्रकारका सुविधालाई केन्द्रमा राखेका छौँ । सेवामा नै रहेका बेला सञ्चयकर्तालाई आर्थिकरुपमा केही सहयोग गर्न सकिन्छ कि भन्ने कोणबाट हामीले हेरिरहेका छौँ । त्यसबमोजिम सहयोग गरिरहेका पनि छौँ । बाहिरबाट हेर्दा मानिसले ऋण त हो नी भनेर बुझ्लान तर ऋण पनि त हामीले यति सरल र सहजरुपमा दिएका छौँ कि लिने र दिनेमा खासै भिन्नता राखेका छैनौँ । पछिल्ला दिनमा त सञ्चयकर्ताको निक्षेपको ब्याजभन्दा हामीले दिएको ऋणको ब्याज कम भएको अवस्था छ । बरु, बढी नै हामीले दिएका छौँ । ठूलो कोष भएकाले पनि यो सम्भव भएको हो । धेरैलाई लाभ दिन सक्नुको पछाडि व्यवस्थितरुपमा कोषको परिचालन तथा संस्थागत सुशासन पनि अर्को कारण हो । सञ्चयकर्ता अवकाश भएपछि पनि उच्च प्रतिफलका रुपमा दिन्छौँ । नेपाल सरकारले दिएको जिम्मेवारीअनुसार नै योगदानमा आधारित निवृत्तिभरण कोष सञ्चालन गरिरहेका छौँ । योगदान नगरेका (ननकन्टिब्यूटरी)लाई पनि कसरी सेवा दिन सकिन्छ भनेर अन्तर्राष्ट्रिय निकायहरुसँग मिलेर अध्ययन गरिरहेका छौँ । सामाजिक सुरक्षाका कार्यक्रममा दुर्घटनाको क्षतिपूर्ति, उपचार सहयोग, मृत्युपर्यन्त आश्रित परिवारलाई हामीले सहयोग गरेका छौँ । सुत्केरी हुँदा महिला सञ्चयकर्तालाई हामीले सहयोग गरेका छौँ । त्यसको लाभ पुरुषले पनि पाउनुभएको छ । औषधि उपचार शोध भर्ना कार्यक्रम पनि अगाडि बढिरहेको छ । दीर्घरोग लागेको अवस्थामा १० लाख रुपैयाँ र अस्पताल भर्ना भएको अवस्थामा एक लाख रुपैयाँ उपलब्ध गराएका छौँ । नेपाल सरकारले यो व्यवस्था सञ्चयकर्ताको श्रीमतीलाई पनि उपलब्ध गराउन गरेको आग्रहअनुसार दिनसक्ने गरेर अगाडि बढाएका छौँ । आगामी दिनमा यो सुविधा परिवारसम्म पुर्याउने लक्ष्य राखेका छौँ । सञ्चयकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने र स्वास्थ्य शिक्षामा सहजीकरण गर्ने काममा कोष केन्द्रित भएर लागिपरेको छ । बीमाका आफ्ना खालका नियम हुन्छन्, तर हामीले नेपालभर नै सरकारी निकायमा दर्ता भएका स्वास्थ्य संस्थामा उपचार गराए पनि उपचार खर्च प्रदान गरेका छौँ । हामीले फराकिलोरुपमा यो कार्यक्रम चलाएका छौँ । हाम्रो उद्देश्य भनेकै सञ्चयकर्तालाई अधिकतम के दिन सकिन्छ भन्ने नै छ । कुनै कार्यक्रम अगाडि बढाइसकेपछि त्यसलाई फिर्ता लिन सकिँदैन । त्यसकारण कार्यान्वयनमा जानुभन्दा पहिल्यै हामीले प्रशस्त अध्ययन र गृहकार्य गरेर मात्रै सार्वजनिक गरेका छौँ । नयाँ उद्यम गर्न चाहेनेले सहजरुपमा ऋण लिन नसकेको अवस्था छ । चर्को ब्याजदरका कारण आम नागरिक प्रताडित भएको, ऋण नै तिर्न नसक्ने अवस्था पनि छ । यो सन्दर्भमा कोष जस्ता संस्थाले ब्याजदर नियन्त्रणका लागि बजारमा हस्तक्षेप गर्न सक्थ्यो ? यहाँले यो प्रयास गर्नुभएन भन्ने गुनासो पनि सुनिन्छ नि । ब्याजका सन्दर्भमा हामीले पक्कै पनि हस्तक्षेप गर्न सक्थ्यौँ । हामी राज्यका त्यससँग सम्बन्धित निकायहरुसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ । हामी पनि विद्यमान वित्तीय प्रणाली भन्दा बाहिर त छैनौँ । बैंकिङ प्रणालीको नियमन गर्नका लागि नेपाल राष्ट्र बैंक छ । अर्थ मन्त्रालय पनि छ । हामी आफैँ एक्लैलेभन्दा पनि ती संस्थासँग सहकार्य गरेर तरलता, ब्याजदर निर्धारणमा हामीले भूमिका खेलिरहेका छौ । ब्याजदर घटाउने र बढाउने भन्ने सन्दर्भमा हामीले ठूलो संस्थागत निक्षेपकर्ताको हिसाबले भूमिका खेल्न सक्थ्यौँ । तर, हामीले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग सहकार्य गर्याै। सोही अनुसार हामीले भूमिका खेल्यौँ । हामीलाई फरक तरिकाले हेर्नुपर्नेमा एउटै बास्केटमा राखेर हेर्ने गरिएको छ । राज्यको वित्तीय प्रणालीमा यति ठूलो भूमिका भएकाले हामीलाई अलिक फरक तरिकाले हेरिदिए हुन्थ्यो भन्ने लाग्छ । तर, आमरुपमा त्यसो गरिएको छैन । त्यसमा हाम्रो पनि गुनासो नै छ । पछिल्ला दिनमा संस्थागत निक्षेपकर्तालाई दुई प्रतिशत कम ब्याज दिने भन्ने विषयमा हाम्रो असन्तुष्टि छ । किनकी, हाम्रो त त्यो नै लगानी हो । अरु निकायहरु अरु नै प्रयोजनका लागि खडा भएका वा जुन प्रयोजनका लागि पैसा ल्याएको हो, त्यो नगरी मुद्दती निक्षेपमा राखेर ब्याज मात्रै लिने गरेका छन् । त्यस्ता संस्थाहरुसँग हामीलाई दाजेर हेर्न भएन भन्ने हाम्रो भनाई हो । हामीले यो विषयलाई औपचारिक वा अनौपचारिक रुपमा उठायौँ पनि । हामी राज्यभन्दा बाहिर गएर काम गर्न सक्दैनौँ, जुन सबैमा विदितै छ । क वर्गमा ठूला वाणिज्य बैंकमा कोषको लगानी पनि छ , संस्थागत निक्षेप पनि छ । त्यस हिसाबले तपाईहरुले गर्नुपर्ने काम नगरेको भन्ने आरोप लागेको छ ? तपाईहरु लाग्दा त बजारमा हस्तक्षेप हुन सक्थ्यो, ध्यान नदिएको जस्तो लाग्दैन ? हामी नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत रहेको संस्था भयौँ । बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले नियमन गर्छ, जुन यहाँलाई थाहै छ । नाफामुखी बैंक र सामाजिक दायित्व पूरा गर्ने संस्थालाई एकै हिसाबले हेर्दा ब्याजदर नियन्त्रणमा हामीले काम गर्न नसकेको सही हो । यसमा हामी मात्रै छैनौँ, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा संस्थान जस्ता संस्था पनि छन् । संस्थागत निक्षेपकर्ता भनेका यी संस्था नै हुन् । ब्याजदर प्रभावित गर्न यी संस्थाले पहल गर्न सक्थे । आमरुपमा हेर्दा स्वतन्त्र बजार जस्तो, तर सारमा हेर्दा कही न कही एकाधिकार रहेको छ । हाम्रो जस्ता संस्थामा दुई प्रतिशत ब्याजदर कम गर्दा त्यसबाट पर्ने प्रभाव अर्को नै हुन जान्छ । त्यसको लाभ बैंक तथा वित्तीय संस्थाले लिने भए । यताको निक्षेप उता जाने भयो । हाम्रो बैंक तथा वित्तीय संस्थामा एक खर्ब ३० अर्ब बराबरको कोष छ । नागरिक लगानी कोषको पैसा, सामाजिक सुरक्षा कोषको पैसा पनि उत्तिकै छ । तर, हाम्रो पैसा निजी क्षेत्रका बैंकमा गएर प्रतिफल अरुले नै पाउने अवस्था पनि आयो । कोषमा जम्मा भएको निक्षेप निकालेर बढी ब्याजका लागि बैंक तथा वित्तीय संस्थामा पैसा राख्ने प्रवृत्ति पछिल्ला दिनमा ह्वात्तै मौलाएको थियो । यसलाई रोक्न एक खालको संयन्त्र आवश्यक पर्याे भन्ने चर्चा पनि यसबीचमा चलेको थियो । केही प्रगति भएको छ ? कोषबाट पैसा निकालेर बढी ब्याजका लागि बैंक तथा वित्तीय संस्थामा राख्ने क्रम बढेको विषय एकदमै सही हो । ऋण लिएर राख्दा पनि चार प्रतिशतसम्म नाफा हुने अवस्था आयो । एकै दिनमा पचास करोड बराबरको रकम नै झिकिने अवस्था पनि आयो । यो प्रक्रिया दुई तीन महिना नै चल्यो । अवकाश कोषका लागि जम्मा भएको पैसा यसरी झिक्न थालिदा पुँजी निर्माण हुन पाएन । त्यसरी झिकिएको पैसा दैनिक उपभोगमा समेत खर्च भयो । बैंक तथा वित्तीय संस्थामा पनि थोरै मात्र पैसा जम्मा भयो । तरलता अभाव हुनुको पछाडि पनि त्यसले काम गरेको थियो । कोषको पैसा झिकेर निजी बैंक तथा वित्तीय संस्थामा राखेर नाफा खाने काम गर्नु भएन । हामीले अर्थ मन्त्रालयलाई भन्यौँ । एउटा अध्ययन पनि भयो । केन्द्रीय बैंकलाई पनि हामीले भन्यौँ । सामान्यतया, कोषले नयाँ आर्थिक वर्ष सुरु भएपछि सञ्चयकर्ताका लागि ब्याजदर निर्धारण गर्छ । चालु आवका लागि कोषले के कस्ता प्रबन्ध गरेको छ ? हामीले ब्याजदर निर्धारण गरिसकेका छौँ । हामीले आर्थिक वर्षको सुरुमा नै लिने पनि दिने पनि दुवैको ब्याजदर निर्धारण गर्छौँ । अहिले हामीले सार्वजनिक गरेका छौँ । हामीले ब्याजदर घटाएका छौँ । हामीले शुन्य दशमलब पाँच प्रतिशत लिने दिने दुवैमा घटाएका छौँ । सञ्चयकर्तालाई हामीले सात दशमलब पाँच प्रतिशत ब्याज दिन्छौँ । अन्त्यमा एक प्रतिशत थप गर्छौँ । समग्रमा आठ दशमलब पाँच प्रतिशत बराबर पर्न जान्छ । लिनेमा थप एक प्रतिशतको स्प्रेड दर कामय गरेका छौँ । सञ्चय कोष नेपालको ठूला भौतिक पूर्वाधार विशेष गरी जलविद्युत् क्षेत्रमा लगानी गर्ने एउटा ठूलो संस्था हो । त्यसमा भएको लगानी के कत्ति जोखिमयुक्त छ रु कसरी मूल्यांकन गर्नुभएको छ ? नेपालको ऊर्जा क्षेत्रमा संस्थागत रुपमा सबैभन्दा धेरै लगानी गर्ने संस्थाको रुपमा कोष रहेको छ । यो हाम्रा लागि गौरवको विषय पनि हो । सुरुमा हामीले चिलिमेमा लगानी गरेका थियौँ । त्यस्तै तामाकोशीमा रु २२ अर्ब बराबरको लगानी भएको छ । आयोजनामा लगानी बढ्दा हाम्रो लगानी पनि बढ्न गयो । अघिल्लो वर्षको चैतदेखि नियमितरुपमा माथिल्लो तामाकोशीले किस्ता तिर्न थालेको छ । १५ वर्षमा पूरा पनि गर्ला । चिलिमेको अन्य आयोजना पनि निर्माणको अन्तिम चरणमा छ । पूर्वाधार क्षेत्रमा हामी नै सबै भन्दा ठूलो संस्था हौँ । हामीले झण्डै ७३ अर्ब बराबरको लगानी गरेका छौँ । पछिल्लो पटक तामाकोशी पाचौँमा पनि कोषले लगानी सम्झौता गरेको छ । माथिल्लो तामाकोशीले हालसम्म तीन अर्ब २० करोड बराबरको कित्ता भुक्तानी गरेको छ । यस्तै झण्डै आठ सय मेगावाट बराबरका आयोजनामा हामीले लगानी गरेका छौँ । माथिल्लो अरुण, बूढीगण्डकी जस्ता ठूला आयोजनामा पनि लगानी गर्न चाहिरहेका छौँ । त्यसका लागि छलफल भइरहेको छ । कोष आफैँले चार सय ३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण गर्ने अन्तिम तयारी गरिरहेको छ । हाम्रो लगानी भएका आयोजनाको प्रसारण लाइन निर्माणमा जटिलता छ । बिक्री हुन नसक्ने पो हो कि भन्ने चिन्ता पनि छ । यस कारणले पनि केही पुनःमूल्याङ्कन गर्नुपर्ने हो कि भनेर सञ्चालक समितिमा छलफल भएको छ । कोषले नेपाल वायु सेवा निगममा पनि लगानी गरेको छ । जहाज खरिदका लागि उपलब्ध गराइएको ऋणको किस्ता समयमा निगमले तिर्न सकेन भनेर बेला बखतमा चर्चा हुने गरेको छ । अवस्था साँच्चै खराब नै भएको हो कि के छ ? वायुसेवा निगमका चार वटा विमानमध्ये तीन वटामा हामीले ‘फाइनान्सिङ’ गरेका छौँ । हामीले रु २२ अर्ब जति लगानी गरेका छौँ । त्यो ऋण बढेर २९ अर्ब जति पुगेको छ । कोरोनाका कारण उसले ऋण तिर्न सकेन । पछिल्ला दिनमा निगमले तीन पटक हाम्रो ऋण तिरेको छ । निगमको दायित्व लगातार बढीरहेको छ । हामीले छलफल गर्दा तिर्न सक्दैनौँ भन्नुहुन्छ । अर्कातर्फ नयाँ जहाज खरिदमा लाग्नुभएको छ । यो अलिक मिल्दो भएन । निगमलाई अगाडि बढाउन जहाज चाहिन्छ । निगममा पारदर्शीता आवश्यक छ । सरकारले सुनिश्चितता गरेको ऋण भएका कारण पनि उहाँहरुले चासो नदिएको हो कि भन्ने लाग्छ । पछिल्ला दिनमा हामीले ऋण तिर्याै भनेर जसरी उहाँहरुले प्रचार प्रसार गरिरहनु भएको छ, त्यसमा मलाई अचम्म लागेको छ । हामीलाई नियमितरुपमा पूरा किस्ता तिर्नुभएको छैन । अर्कोतर्फ हामीले तिर्याैं भनेर प्रचार गराउनुभएको छ । यस्तै, नयाँ जहाज खरिदको प्रक्रिया अगाडि बढाएको पनि भनिएको छ । यो एक आपसमा मिल्दो विषय भएन । हाम्रो ऋण ‘प्रोभिजनिङ’ हुँदा सञ्चयकर्ताले प्राप्त गर्ने लाभ प्रभावित भएको छ । हामीले लगातार पहल गरेपनि निगमले पारदर्शीता देखाउन सकेको छैन, वास्तविकता यही हो । नेपाल वायुसेवा निगमले नयाँ जहाज खरिद गर्ने प्रक्रियामा पुनःऋणका लागि कोषमा आएको खण्डमा प्रक्रिया अगाडि बढाउनु हुन्छ कि हुँदैन ? निगमको हालको अवस्थामा नैतिक हिसाबले ऋण माग्न आउन सक्ला भन्ने मलाई लाग्दैन । र, मलाई लाग्छ नेपाल सरकारले पनि ऋण देऊ भन्दैन होला । हालकोे सञ्चालन अवस्थामा निगमलाई हामी ऋण दिन सक्दैनौँ । यसमा म कुनै पनि सम्भावना देख्दिन । सुरुमा उहाँहरुले राम्रै गर्नुभएको थियो । सरकारको आवश्यकता हेरेर, हामीले दोस्रो पटक वाइडबडी जहाज खरिदका लागि पुनःऋण दिएको हो । निगममा फेरि पनि भन्छु, पारदर्शिता छैन । महालेखा परिक्षकले हामीलाई पटक पटक प्रश्न उठाइरहेको छ । त्यसकारण अब थप ऋण दिन सकिँदैन । जुन उद्देश्यका साथ कोषले बेतन कर्णाली जलविद्युत् आयोजना सुरु गरेको थियो, त्यसमा कुनै प्रगति भएको छैन । कम्पनीमा अध्यक्षले राजीनामा दिएर हिँड्नुभयो, प्रमुख कार्यकारी अधिकृतले घरायसी कारण देखाएर छाड्नुभयो । समग्रमा आयोजना नेतृत्वविहीन अवस्थामा रहेको छ ? अब कसरी सम्हालेर आयोजना अगाडि बढाउनुहुन्छ ? हामीले सञ्चयकर्ताका लागि नगदमा दिएको सुविधा थोरै हुन्छ । सो सुविधालाई गुणात्मक रुपमा अगाडि बढाउने उद्देश्यका साथ २०७४ सालमा सो कम्पनी स्थापना गरेका हौ । सो आयोजना तत्काल निर्माणमा जाने अवस्थामा छ । अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिनुभयो । हामीले सञ्चालक समितिमा छलफल गरिरहेका छौ । अब अल्पकालीन हिसाबले छलफल गरेर हुँदैन । दीर्घकालीन सोचका साथ अगाडि बढाउनका लागि दिगो रुपमा काम गर्ने व्यक्तिको खोजी गरिरहेका छौ । हामीले सरोकारवालाहरुका बीचमा छलफल गरिरहेका छौँ । सञ्चालक समितिले पूर्णता पाएको छ । प्रमुख कार्यकारी अधिकृतको खोजी भइरहेको छ । एउटा सामान्य सञ्चयकर्ताले बेतन कर्णाली जलविद्युत् आयोजनामा हालसम्म गरिएको लगानीको प्रतिफल कहिले पाउँछौँ भनेर प्रश्न गरेको खण्डमा तपाईंको जवाफ के हुन्छ ? जलविद्युत् क्षेत्रमा गरिएको लगानीले तत्काल प्रतिफल दिन सक्दैन । त्यसका लागि पहिलो चरणमा अध्ययन गर्नुपर्छ । प्राविधिकरुपमा तयारी गर्नुपर्छ । हामीले समय र लगानी तोकिएको हिसाबमा नै सक्नुपर्छ भनेर अध्ययनमा जोड दियौँ । आजका दिनमा आयोजनास्थलमा सडक पुगेको छ । पूर्वतयारीको काम भइरहेको छ । मुआब्जा वितरणको काम सुरु हुने चरणमा छ । हामी तत्काल नै निर्माणमा जाने तयारीमा छौँ । सकेसम्म चालु आवको अन्त्यसम्म नै आयोजनाको निर्माण सुरु गर्ने तयारी भएको छ । तर, पछिल्ला दिनमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतका कारण समस्या भएको हो । यसलाई स्वीकार गर्छु । अब भने यसमा कुनै समस्या हुनेछैन । अब ठेकेदार र परामर्शदाता नियुक्तिका लागि सबै कागजात तयार भएको छ । चालु आवको अन्त्यसम्म एउटा अवस्थामा हामी आयोजनालाई पु¥याउँछौँ । कोषले आम सञ्चयकर्ताको हितका नयाँ कार्यक्रम के ल्याउँदैछ ? ठूलो संस्था हुनु र आम सञ्चयकर्ताले विश्वास गरेकाका कारण पनि यही बजारको दायराभित्र बसेर हामीले काम गर्नुपर्छ । हामीले नयाँ खालको ऋणको कार्यक्रम अगाडि बढाएका छौँ । घर सापटी, शैक्षिक कर्जाजस्ता कार्यक्रम ३२ जिल्लामा मात्रै लागू भएको छ । त्यसलाई अरु जिल्लाहरुमा विसतार गर्ने सोचमा छौँ । हामीले कोषको सहायक कम्पनीमार्फत आवासको योजना अगाडि बढाएका छौ । भरतपुरमा एक सय २९ वटा घर बनाएर कर्मचारीलाई उपलब्ध गराउन खोजेका छौँ । नेपाल सरकार र स्थानीय सरकारसँग मिलेर आवास योजना अगाडि बढाउन खोजेका छौ । पूर्व मुख्यसचिव लीलामणि पौड्याल संयोजकत्वको कार्यदलले पनि आवासको विषयलाई सम्बोधन गर्ने विषय समावेश गरेको छ । कर्मचारी सञ्चय कोषले कर्मचारीको आवासका रुपमा यसरी जान सक्छ भनेर सिफारिस गरेको छ । यसमा हामीले आफैँले जग्गा खरिद गर्न भने सक्दैनौँ । त्यसको सहजीकरणका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्छ । जग्गा पुलिङ गरिदिएको खण्डमा काम गर्न सकिन्छ । पाइलट प्रोजेक्टका रुपमा हामीले काम गर्न खोजेका छौ । लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा हामीले काम गर्न खोजेका छौँ । त्यहाँ कर्मचारीलाई आवश्यक आवास योजना सञ्चालन गर्न खोजिएको छ । घरजग्गामा गरिने लगानीलाई अनुत्पादक लगानीका रुपमा लिइन्छ । कोष जस्तो संस्था किन यस्तो क्षेत्रमा लगानी गर्न लालायित भयो भन्ने प्रश्न पनि उठन सक्छ ? तपाईको उत्तर के रहन्छ यसमा । हामीले व्यापारिक हिसाबले किनबेच गर्न खोजेको होइन । सरकारले दिएको जग्गामा आवास बनाउँछौँ । त्यसमा कर्मचारी बस्छन् । जसरी अहिले कर्मचारीको तलबबाट कोष कट्टी हुन्छ, त्यसैगरी तलबबाटै पेसा काटिने व्यवस्था गरिन्छ । कर्मचारी हुँदासम्म उहाँहरु त्यो घरमा बस्न पाउनुहुन्छ । पछि उहाँहरुले आफै लिन पनि पाउनुहुन्छ । त्यसका लागि केही कानुनी व्यवस्था गरिन्छ । सिङ्गापुरमा यही मोडलमा कर्मचारीलाई आवास उपलब्ध गराइएको छ । त्यहाँ ८० प्रतिशत बढी कर्मचारीलाई सिङ्गापुर प्रोभिडेन्ड फण्डले आवास उपलब्ध गराएको छ । हामीले पनि सोही मोडलको अध्ययन गरेर व्यवस्थितरुपमा आवास उपलब्ध गराउन खोजेका हौ । यसका लागि कोष आफैँले एक्लै गर्न सक्दैन । सरोकारवाला सबै लाग्नुपर्छ । केही स्थानीय निकायले चासो देखाएका छन् । अन्त्यमा, केही भन्न बाँकी छ ? कोषले गरिरहेका काम कारबाही पूर्ण र व्यवस्थित रुपमा आम सञ्चयकर्ता समक्ष पु¥याउन नसकेको अवस्था छ । सबै सञ्चयकर्ता प्रविधिमैत्री हुनुहुन्न । उहाँहरुले कोषले गरिरहेको सबै काम कारबाही थाहा पाउनु भएको छैन । रासस