हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल

नेपाली बैंकिङ क्षेत्रमा पृथक किसिमको छाप बसाल्न सफल पूर्ब बैंकर हुन् उपेन्द्र पौडेल । अहिले नेपाल व्यवस्थापक संघ (म्यान)को अध्यक्षको जिम्मेवारीमा रहेका उनी बुधबार मात्रै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को पनि अध्यक्ष बनेका छन् । १७ वर्ष एनएमबी बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरेका पौडेलसँग स्ट्याण्र्डर्ड चार्टर्ड बैंक, सोल्टी होटल लगायत संस्थामा काम गरेको अनुभव छ । नेपाली बैंकिङ क्षेत्रमा साढे तीन दशक लामो समय एक अब्बल व्यवस्थापक भएर काम गरेका पौडेल अहिले नबिल बैंकको अध्यक्षकारूपमा पनि नेतृत्व गरिरहेका छन् । वाणिज्य बैंकका सीईओहरूको छाता संस्था नेपाल बैंकर्स संघको पनि नेतृत्व सम्हालिसकेका पौडेलले एक असल व्यवस्थापकको छवि मात्रै बनाएका छैनन् एक कुशल सञ्चालकको भूमिका पनि निर्वाह गरिरहेका छन् । म्यानका अध्यक्ष उनै पौडेलसँग नेपाली व्यवस्थापकको वर्तमान अवस्था, उनीहरूले गर्दै आएको कामकारवाही, व्यवस्थापक र संस्था सञ्चालकबीचको र व्यवस्थापकीय विशेषता र गुणको विषयमा सन्तोष रोकाया र सीआर भण्डारीले कुराकानी गरेका छन् । तपाईं नेपाल व्यवस्थापक संघ (म्यान)को अध्यक्ष हुनुहुन्छ । देशका विभिन्न संघ संस्थामा काम गर्ने व्यवस्थापकहरूको क्षमता र कार्यशैलीप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ? सन् १९८०को दशकपछि निजी क्षेत्रका व्यवसायहरूलाई खुला तथा स्वतन्त्र छाडियो । त्यसअघि व्यवसायहरू परिवारले चलाउँथे । व्यवसायको हिसाबकिताव पनि सोही अनुसार राख्थे । व्यवसायमा पारदर्शिता कम थियो । प्रोफेसनल ब्याकअप हुन्थेन । अकाउन्टिङको लागि प्रोफेसनल ब्याकअप भएपनि म्यानेजमेन्टको पार्टबाट परिवार आफैंले हेर्थे । सन् १९८०को दशकमा बैंकिङ र बीमा क्षेत्र उदाए । त्यसपछि मात्रै व्यवस्थापक प्रोफेसनल बन्न थालेका हुन् । विस्तारै प्रोफशनल म्यानेजमेन्टको अवधारणा र अभ्यासको विकास भयो । सन् १९८०को दशकमा ज्वाइन्ट भेन्चर बैंकहरू सञ्चालनमा आए । त्योभन्दा अघि कुनै सेवा प्रदायकले सेवा दिँदा फेभर गरेको सोच्थे । जस्तो कुनै ग्राहकको निक्षेप संकलन तथा कर्जा प्रवाह गरिरहेको छ भने बैंकका म्यानेजरले फेभर गरिरहेको सोच्थ्यौं । सरकारी क्षेत्रमा अहिले पनि त्यही छ । अन्य व्यवसायीहरूले पनि सेवा दिएको भनेर सोच्दैनथे । मैले फेभर गरे सोच्थें । जबकी हामीले पैसा तिरिहेका हुन्छौं । जब निजी क्षेत्रबाट ज्वाइन्ट भेन्चरका बैंकहरू सञ्चालनमा आए त्यसपछि प्रोफेसनल म्यानेजरहरूको विकास हुँदै गयो । बैंकको बिजनेस जुनसुकै क्षेत्रमा पनि ठोकिन्छ, बिजनेसम्यानलाई कर्जा दिँदा होस् वा अन्य किसिमका कारोबार गर्दा होस् । बैंकहरूले विभिन्न किसिमका सूचना, ब्यालेन्ससिट, सिस्टम माग्न थाले । जस्तो बैंकले वर्किङ क्यापिटलमा कर्जा दियो भने वर्किङ क्यापिटल कति छ, स्टक कति छ, व्यवसायमा बिक्री कति भइरहेको छ भन्ने किसिमका सूचनाहरू माग्न थाले । त्यसको माग बढ्न थालेपछि निजी क्षेत्रले पनि आफूलाई अभ्यस्त (अपग्रेड) बनाउन थाले । पहिला परिवारबाट चलेको व्यवसाय (कम्पनी)हरुमा विस्तारै म्यानेजमेन्टको अभ्यास सुरु भएको हो । पहिला विदेशीहरू आएर नेपालीलाई सिकाए । हामीले पनि सिक्दै गयौं । हामीले पनि त्यो अवधारणालाई समात्दै गयौं । बिस्तारै हामी पनि आफ्नो सीप र व्यवस्थापन क्षमताको विकास गर्दै आयौं । जुन हिसावले व्यवस्थापन प्रणाली संलग्न भयो त्यसमा म सन्तुष्ट छु । ग्राहक छन् भने हामी छौं, ग्राहक छैनन् भने हामी पनि छैनौ भन्ने हिसावले प्रणालीको विकास ग¥यौं । एकअर्काको इको प्रणालीलाई सम्मान दिएर व्यवस्थापन गर्न थाल्यौं । संस्थाहरु सञ्चालन गर्दा सेयरधनीको अधिकार, अवधारणा र आवश्यकता बुझेर सञ्चालन गर्नुपर्छ । पछिल्लो समय अन्य निजी क्षेत्रको म्यानेजमेन्ट विकास भइरहेको छ । नयाँ पुस्ताहरूले पनि आफ्नो ज्ञान र सीप परिमार्जन गरेर, विदेशबाट पढेर संस्थाको व्यवस्थापन प्रणाली व्यवस्थित बनाइरहनु भएको छ । यसमा हामी सन्तुष्ट नै हुनुपर्छ । सरकारी संस्था र कर्पाेरेट क्षेत्रको व्यवस्थापकीय प्रणालीमा के-कस्तो भिन्नता पाउनु भएको छ ? सरकारी संस्था र कर्पाेरेट क्षेत्रका संस्थाको काम गर्ने प्रणालीमा धेरै फरक छ । हामीले बैंक चलाए जसरी नै सरकार चलाउने हो भने देशको धेरै विकास हुन्छ । संस्था चलाउनु भनेको सुशासनमा बस्नु हो । सुशासनभित्र ऐन, नियम, कानुन र प्रणाली हुन्छ । त्यसलाई पच्छ्याएर एउटा फ्रेमवर्कमा सबैको भूमिकालाई आत्मसात गर्ने र कसैको भूमिकामाथि हस्तक्षेप नगरी काम गर्न दिनुलाई असल सुशासन मानिन्छ । सार्वजनिक क्षेत्रमा आफूभन्दा माथिकालाई खुसी पार्ने परिपाटी हुन्छ । सेवाग्राहीलाई खुसी पार्ने काम भएको छैन । कुनै ग्राहक बैंकमा आएको छ भने फर्केर जान नपरोस् । फर्केर जाँदा पनि सन्तुष्ट वा सन्तोषजनक हिसाबले फर्कियोस् भन्ने चाहना हाम्रो हुन्छ । सरकारी क्षेत्रमा सेवा होइन, फेवर गरेको जस्तो हुन्छ । सरकारी संस्थामा शुल्क लिएर होस् वा नलिएर होस् सेवाग्राहीले राम्रो सेवा पाउन सकेका छैनन् । सेवा शुल्क नलिए पनि जनताले तिरेको करबाट संस्था चलेको हुन्छ । तर, सेवाग्राहीलाई राम्रोसँग सेवा दिन सकेका छैनन् । आजको दिनमा कुनै पनि सरकारी कार्यालयमा जाँदा त्यो किसिमको सेवा भाव पाएका छैनौं । जसरी बैंक, बीमा र एयरलाइन्स कम्पनीले ग्राहकलाई सेवा दिइरहेका छन् त्यसरी सरकारी कार्यालयले दिन सकिरहेका छैनन् । विदेशका सरकारी कार्यालयले जनतालाई पहिलो प्राथमकितामा राखेर सेवा दिन्छन् । तर, नेपालका सरकारी कार्यालयमा त्यो प्रणाली छैन । त्यो नभएपछि तलदेखि माथिसम्म विश्वसनीयता र जवाफदेहिता हुँदैन । निजी क्षेत्रमा कुनै काम भएन भने तत्काल एक्सन लिइन्छ । तर, सरकारी संस्थाहरूमा त्यो अवस्थामा छैन । पहिला कुनै पब्लिक सेक्टरमा राम्रो काम गरेको छ भने त्यो राम्रो ‘प्रशासक’का रूपमा चिनिन्थ्यो । त्यसले सबैलाई नियन्त्रणमा राख्थ्यो । निजी क्षेत्रको सहभागी बढ्दै गएपछि राम्रो ‘म्यानेजर’का रुपमा चिनियो । जसले सबै स्रोतहरूको सदुपयोग गरेर म्यानेजरले काम गरिरहेको हुन्छ । टिमसँग काम गथ्र्याे । तर, कसरी काम गथ्र्याे हुँदैन । अबको म्यानेजमेन्टको अवधारणा भनेको गुड ‘लिडरसिप’ हो । लिडरसिप गरिरहेको व्यक्तिसँग भविष्यका योजना पनि हुन्छन् । ऊसँग भिजन हुन्छ भने आफ्नो टिमलाई मोटिभेट गरेर आफूसँगै ग्रोथ गराउँछ । म्यानेजरले वर्तमानलाई म्यानेजिङ गर्छ । नेतृत्वले भविष्य पनि हेर्छ । एउटा संस्थामा कार्यकारी प्रमुख वा व्यवस्थापकले गर्नु पर्ने काम र उसमा हुनुपर्ने गुण वा विशेषता के-के हुन् ? काम गर्न ज्ञान चाहिन्छ । तर, उसलाई सबै कुराको ज्ञान हुनुपर्छ भन्ने छैन । सिस्टममा ज्ञानको ग्यापलाई पूर्णता दिँदै व्यवस्थापन गर्छ । मान्छेहरूलाई मोटिभेट गर्ने, सँगसँगै लिएर जाने, विश्वास दिलाउन सक्ने, काम गर्ने वातावरण बनाउन सीप हुनुपर्छ । एउटा नेतृत्वले कहिले पनि दबिएर काम गर्नु हुँदैन । आफूले गरिरहेको काममा फोकस हुन सक्नुपर्छ । गीतामा पनि भगवान कृष्णले वर्तमानलाई हेरेर काम गर्नु भनेका छन् । वर्तमान समय नै सबैभन्दा महत्वपूर्ण हुन्छ । बितेका पलहरू सकिए, भोलि आउने कुरा के हुन्छन्, थाहा छैन । त्यसैले वर्तमानलाई फोकस गर्नुपर्छ । जे काम गरिरहेको छ त्यसमा सतप्रतिशत दिनुपर्छ । व्यवसायमा इकोसिस्टमले पार्ने प्रभावका विषयमा पनि अपडेट हुनुपर्छ । जस्तो बैंकिङ गरिरहेको छ भने बैंकिङलाई के–के विषयले प्रभाव पार्छ ? भनेर अपडेट हुनुपर्छ । सूचनाको पहुँचमा बस्नुपर्छ । जस्तो बैंकको सीईओले क्रेडिट ह्याण्डलिङ गरिरहेको छ भने भैरहवाको करिडोरमा समस्या आयो । भैरहवामा कुन कुन ग्राहक छन्, र त्यसले आउने समस्या के हो भनेर सजग हुनुपर्छ । व्यवसायको वातावरण र अवधारणाहरू परिवर्तन भइरहेका हुन्छन् । त्यसलाई आत्मसात गरेर रणनीति बनाउन सकिएन भने असफल भइन्छ । मैले बैंकिङ सुरु गर्दा हाकिमले एक लेवलमा सिकाउँथे । त्यसपछि सिकाउँदैनन् । यसलाई सिकायो भने मेरो ठाउँमा आउँछ भन्ने सोच हाकिमको हुन्थ्यो । तर, अब तल्लो तहका कर्मचारीलाई सिकाए भने म पनि माथिल्लो तहमा जान्छु, त्यो मान्छे मेरो ठाउँमा आउँछ भन्ने सोच बनाउन जरूरी छ । विगतमा विभिन्न संस्थामा म भइनँ भने संस्था चल्दैन भन्ने सोच थियो । अब म्यानेजर वा लिडरसिपले संस्था छोड्दा पनि राम्रोसँग सञ्चालन हुन सक्ने बनाउनुपर्छ, त्यसपछि मात्रै राम्रो म्यानेजर वा लिडरको रूपमा चिनिन सक्छ । कर्मचारीलाई सिकाउँदै संस्थालाई व्यवस्थित बनाएको रहेछ भनेर बजारमा पनि चिनिन्छ । कतिपय म्यानेजरले सबै श्रेय आफूले मात्रै लिन खोज्छन् । जसले मैले गरे भनेर भन्छ, त्यो मान्छे सबैभन्दा धेरै कमजोर हो । हामीले ग¥यौं भन्न सक्नुपर्छ । कुनै कुरा बिग्रियो भने पनि मैले बिगारेको हो भन्न सक्ने खुबी नेतृत्वमा हुनुपर्छ । फालानोले बिगा¥यो भनेर आरोप लगाउनु हुँदैन । अरु कर्मचारीले बिगारेको छ भने पनि मैले गर्दा बिग्रियो भन्न सक्नुपर्छ । ताकि स्टाफले पनि मेरो हाकिमले प्रोटेक्ट गर्छ भनेर महसुस गर्न सकोस् । व्यवस्थापकले उत्पादकत्व बढाउन सक्नुपर्छ । म्यानेजरले आफ्नो स्टाफलाई सकारात्मक उत्प्रेरणा, प्रणालीको विकास या अन्य सहयोग गरेर कर्मचारीको क्षमता वृद्धि गराउनुपर्छ । किनकी उत्पादकत्व वृद्धि गर्न सक्ने चुनौतिलाई सामाना गर्नु पर्ने हुन्छ । त्यसपछि हामी सफल, हाम्रा उद्यमी सफल हन्छन् । हाम्रा प्रडक्ट पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन सक्छन् । म्यानेजरमा लजिकल सोचचाइ र बुझाइ र उच्च तहको इन्टिग्रिटी हुनुपर्छ । गलत काम गर्नु भएन । तर, गलत काम गरेपछि स्वीकार गर्न सक्नुपर्छ । इथिकल स्ट्याण्डर्ड छाड्नु हुँदैन । तपाईंले लामो समय व्यवस्थापकको भूमिकामा काम गर्नु भयो । अहिले सञ्चालकको रूपमा नेतृत्व गरिरहनु भएको छ । तपाईं अहिले सन्तुष्ट कि पहिले ? म हरेक पाइँलामा सन्तुष्ट छु । जुन समयमा काम सिक्नु पर्ने वा काम गर्नु पर्ने थियो त्यो बेलामा पनि आफ्नो लगन छोडिन । म एक्लै बस्दा होस् वा अरुको सुपरभिजनमा काम गर्दा पनि मैले मेरो लगन नछोडी काम गरेँ । म कुनै समय सोल्टी होटलमा काम गर्थंे । त्यही बेला सरकारी बैंकबाट अफर आयो । मैले सोल्टीको हाकिमसँग कुरा गर्दा तिमि आफै म्यानेज गर भन्नु भयो । त्यसपछि म बिहान चाँडै होटलमा गएर काम गर्थें र बिहानको काम सकेर बैंकमा जान्थें । बैंकबाट ४ बजे फर्केर होटलमा जान्थें । कसैले दिनभरि गर्ने काम मैले ३–४ घण्टामा सक्थेँ । तर, बैंकमा काम गर्ने राम्रो वातावरण नभएपछि होटलमा फर्केर पूर्णरूपमा काम गरेँ । त्यो बेला बैंकको जागिर छाडेर होटलमा काम गर्न जान कसैले पनि सोच्दैनथे । तर, मैले त्यो निर्णय गरेँ । त्यसपछि म स्ट्याण्डर्ड चार्टर्ड बैंकमा प्रवेश गरेँ । बैंकमा आएपछि निश्चित पोर्टफोलियोलाई उच्च बनाए । बैंकमा कार्पेट सेक्टर मैले हेर्थें । कार्पेटको व्यवसायलाई ५० प्रतिशतसम्म वृद्धि गराएँ । काठमाडौंबाहिर एउटा शाखामा ३ वर्ष काम गरँे । घाटामा रहेको शाखालाई एक वर्षभित्र नाफामा ल्याएर ४ गुणा नाफामा लगेँ । विस्तारै माथिल्लो तह (म्यानेजर)मा पुग्दै गर्दा नयाँ इनोभेसनका काम गरेँ । त्यसपछि म एनएमबिमा आएँ । त्यतिखेर एनएमबि फाइनान्स थियो । काम गर्दै जाँदा सञ्चालक समिति र टिमले सपोर्ट गरेर बैंकलाई एक लेवलमा पु¥यायौं । राष्ट्र बैंकले तल्लो तहको संस्था माथिल्लो तहमा अपग्रेड हुन सक्ने व्यवस्था गरेपछि फाइनान्स कम्पनीलाई वाणिज्य बैंकमा अपग्रेड ग¥यौं । त्यो बिचमा विभिन्न कम्पनी गाभ्यौं पनि । त्यही समय म बैंकर्स संघको अध्यक्ष पनि भएँ । एनएमबि बैंक छाडेपछि मैले बैंकिङ क्षेत्रमै रहने प्रतिबद्धता गरेँ । त्यसपछि नबिल बैंकको सञ्चालक हुँदै अध्यक्ष बनेको हुँ । मैले आफ्नो इन्टिग्रिटी कहिल्यै छाडिनँ । सञ्चालकको भूमिकामा आउँदा पनि म हरेक मुभमेन्टलाई इन्जोय गरिरहेको हुन्छु । वि.सं २००७÷०८ पछि विश्व अर्थतन्त्रमा जुन किसिमको संकट आयो, त्यसपछि बैंक व्यवस्थापनको अवधारणा र बैंक सञ्चालन गर्ने सिद्धान्त पनि परिवर्तन हुँदै गएका छन् । पहिला बैंकलाई नाफा कमाउने मेसिनका रूपमा हेरिन्थ्यो । अब बैंक नाफा कमाउने मेसिन मात्रै नभएर उत्तरदायी संस्था बन्न पुगेका छन् । बैंक जहाँत्यहीँ ठोकिन्छ र यसले नाफा मात्रै नहेरी जोखिम र कम्पलायन्स हेर्नुपर्छ । अहिले नबिल बैंकले ‘नबिल स्कुल अफ सोसियल इन्टरपर्नरसिप,’ ‘नबिल सस्टेनबल बैंकिङ भर्टिकल’लाई अघि बढाएका छौं । बैंकको अबको भविष्य त्यसमै छ । पहिला जसरी बैंकिङ गरिरहेका थियौं, त्यसरी बैंक चल्दैन । अब बैंकहरू फरक तरिकाबाट चल्नुपर्छ भनेर हामीले सोचिसकेका छौं । त्यही हिसाबले नबिल बैंकलाई अघि बढाइसकेका छौं । व्यवस्थापकसँग सीप मात्रै भएर पुग्दैन । ग्लोबल ट्रेण्ड, देशभित्रका अन्य ट्रेण्ड हेरेर सही निर्णय गरेर अघि बढ्न सक्नुपर्छ । एउटा संस्था प्रभावकारीरूपमा अघि बढ्नका लागि बोर्डको भूमिका बढी हुन्छ की व्यवस्थापकको ? टिमले कसरी काम गर्छ भन्ने विषय महत्वपूर्ण हो । बोर्डदेखि तलसम्म टीमले काम गर्ने हो । बोर्ड राम्रो भयो । तर, बोर्डले म्यानेजमेन्टलाई राम्रोसँग गाइड गर्न सकेन भने सफल हुँदैन । म्यानेजमेन्ट राम्रो छ । तर, सञ्चालकले राम्रो निर्देशन दिन सकेन भने संस्था अघि बढ्न सक्दैन । बोर्ड र म्यानेजमेन्ट दुवै राम्रो छ । तर, सही संस्कार तलसम्म दिन सकेन भनेपनि त्यो संस्था चल्न सक्दैन । संस्थाको गलत तरिकाले सर्भिस डेलिभरी भएको छ भने त्यो संस्थामा कोही पनि आउँदैनन् । सबै एक ढिक्का भएर काम गर्न सक्यो भने संस्था माथि जान्छ । बोर्डले गाइड गर्ने र सही नीति दिने हो । कर्मचारीहरुलाई पूर्ण स्वतन्त्रता दिनुपर्छ । उनीहरूलाई काम गर्न दिने र उत्प्रेरणा जगाउने हो । अब म्यानेजर र प्रशासक भएर काम गर्नेभन्दा पनि लिडर भएर काम गर्न सक्नु पर्छ । कुनै एउटा डिपार्टमेन्ट म्यानेजर पनि त्यो डिपार्टमेन्टको लिडर बन्न सक्छ । र, बैंकको सीईओ तथा अध्यक्ष लिडर बन्न सक्छ । आ–आफ्नो ठाउँमा लिडरसिपको भूमिका हुन्छ, भूमिकालाई बुझेर टिमलाईसँगै अगाडि लिएर मोटिभेट र मेन्टरिङ गरेर संस्थाको भिजन, मिसन सबै बुझेर अघि बढ्न सक्नुपर्छ । काम गर्ने संस्कारलाई पनि मिलाएर लैजान सक्नुपर्छ । मेरो संस्था कहाँ पुर्याउँछु र कसरी काम गर्छु भन्ने विषय कल्चर हो । त्यो संस्कार सिस्टममा चल्नु पर्छ । त्यो संस्कार तलदेखि माथिसम्म एउटै भाषा बोल्न सक्ने हुनुपर्छ । अबको नेतृत्वलाई धेरै चुनौती छन् । तीव्र परिवर्तन भइरहेको छ । भोलिका दिनमा कुनै समस्या आए पनि त्यसलाई सामना गर्न सक्छु भनेर भविष्यवाणी गर्र्ने नेतृत्व अब चाहिन्छ । बोर्डले व्यवस्थापक र व्यवस्थापकले बोर्डलाई हेर्ने दृष्टिकोणमा कस्तो भिन्नता हुन्छ ? बोर्डसँग व्यवस्थापकले स्वतन्त्रता चाहेको हुन्छ । काम गर्नका लागि कुनै बाधा नहोस् भन्ने चाहन्छ । बोर्डले पनि सबै विषय म छाड्न सक्दिनँ भन्ने सोचेको हुन्छ । तर, संस्थाको फ्रेमवर्क, संस्थागत सुशासनका संरचनाहरू सही तरिकाले राख्नु भयो भने कसैले कसैलाई भन्ने ठाउँ हुँदैन । व्यवस्थापकलाई स्वतन्त्रता दिएर माइक्रोम्यानेजमेन्ट ग¥यो भने त्यो संस्था चल्न सक्दैन । र, सबै कुरा छोड्यो भनेपनि संस्था चल्न सक्दैन । धेरै समस्याहरू आउन सक्छन् । त्यसकारण सबै कुराहरू गभर्नेन्सको फ्रेमवर्कबाट नियन्त्रण गर्ने हो । ‘चेक एण्ड ब्यालेन्स’बाट कन्ट्रोल, कुन लेवलबाट बोर्डले ओभरसाइड गर्ने, आएका रिपोर्ट कुन लेभलमा हेर्ने भनेर बुझ्नुपर्छ । जस्तो सबै कुरा हेर्छु भनेर साध्य हुँदैन । नहेर्दा पनि राम्रो हुँदैन । त्यो तहको विश्वास म्यानेजमेन्टलाई गर्न सक्नुपर्छ । उनीहरूलाई म्यानेज गर्न दिने, निर्णय गर्न उत्साहित गर्ने र त्यसको ओभरसाइट पनि बोर्डले गर्नुपर्छ । त्यही हिसाबले बोर्डले पनि म्यानेजमेन्टसँग पनि रिपोर्टिङ सिस्टम पर्पर होस्, केही कुरा गलत भएको छ भने तुरुन्तै रिपोर्ट हुनुपर्छ । व्यवस्थापकबाट जे पेपर ल्याएको छ, त्यसमा पनि साइन गर्ने काम मात्रै गर्नु हुँदैन । सीईओले ल्याएको हो, ठिकै होला नी त भनेर हस्ताक्षर गर्नु भएन । अध्ययन तथा ओभरसाइट गर्नुपर्छ । त्यसमा आफ्नो इन्पुट दिएर निर्देशन दिन सक्नुपर्छ । बोर्ड र व्यवस्थापकको सम्बन्ध नजिकको हुनुपर्छ । तर, बोर्डले हरेक स्टाफसँग अन्तरक्रिया गर्नु हुँदैन । त्यसो भएपछि संस्थाको चेन अफ कमाण्ड बिग्रिन्छ । बोर्डले सीमित व्यक्तिसँग मात्रै अन्तरक्रिया गर्ने हो, सबैसँग गर्ने होइन । बोर्डको इन्टिग्रिटी र इमानदारिताले म्यानेजमेन्टको इन्टिग्रिटी र इमानदारितालाई पनि निर्धारण गर्छ । बोर्डले सही समयमा सही नीति दिन सक्नु प¥यो । व्यवस्थापकलाई विश्वास गर्ने, अधिकार दिने र निगरानीमा पनि राख्नुपर्छ । एउटा व्यवस्थापकका लागि पैसा, प्लेटफर्म र प्रशंसामा ठूलो विषय कुन हो ? काममा सन्तुष्टि सबैभन्दा ठूलो कुरा हो । पैसा बढी भएपनि सन्तुष्टि छैन भने संस्था बिग्रिन्छ । र, आफ्नो पनि करियर बिग्रन्छ । दुई दिन पैसा कमाउन सक्छ । तर, पछि गएर त्यो व्यक्ति खराब म्यानेजरका रूपमा चिनिन सक्छ । मुख्य विषय काममा प्यासन हुनुपर्छ । जुन क्षेत्रमा आफ्नो इच्छा छ, त्यो ठाउँमा काम गर्नुपर्छ । तपाईं जे गर्दै हुनुहुन्छ त्यसमा रमाउन सक्नुपर्छ । कामको सन्तुष्टि पहिलो नम्बर हो । त्यसपछि अन्य विषयहरू आउँछन् । जब काममा सन्तुष्ट हुनुहुन्छ र राम्रो काम गरेर रिजल्ट दिन सक्यो भने बोनससँगै अन्य प्याकेज पनि पाउँछ । कर्मचारीको आवश्यकता के छ ? कर्मचारीले के चाहिरहेको छ ? एउटा ह्याप्पी को-वर्कर भयो भने बोर्डलाई सपोर्ट गर्न सक्छ । यदि कोवर्कर खुसी छैन भने उसले राम्रो सेवा दिन सक्दैन । एउटा कर्मचारीले दिनभर गर्ने कामलाई उसलाई राम्रोसँग मोटिभेट गर्न सकियो भने त्यही काम ५÷६ घण्टामा गर्न सक्छ । घरमा बच्चा बिरामी परेको छ र अस्पताल लैजानु छ भने बोसले छुट्टी दिँदैन । एउटा घरमा सानो बच्चा छ, आमा नभई हुँदैन तर, त्यो आमालाई दुर्गममा सरुवा गर्छ । त्यो मानवता नै होइन । त्यसलाई पनि समाधान गर्नु भयो भने म्यानेजर, लिडरको सक्षमता देखिन्छ । तर, हामी कर्मचारीलाई बढीभन्दा बढी काम गराउँछौं, त्यसपछि त्यो कर्मचारी मोटिभेट हुँदैन र आउटपुट पनि सोचेजस्तो आउँदैन । व्यक्तित्व विकासमा कर्पाेरेट हाउसहरूको भूमिका के छ ? संस्थाले जुन किसिमको संस्कार दिएको छ, त्यही हिसाबले व्यक्तित्व विकास हुन्छ । होटल र बैंकमा काम गर्दा सही संस्कार भएको ठाउँमा काम गर्ने अवसर मैले प्राप्त गरँे । त्यसैले पनि मलाई थप अघि बढ्न मद्दत पुग्यो । त्यसरी नै मेरो व्यक्तित्व विकास भएको हो । संस्थाको संस्कार सही छ र संस्थाले सिक्ने अवसर दियो भने व्यक्तित्व विकास पनि सोही अनुसार अघि बढ्छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा काम गर्दा भारतको मुम्बईमा ४ हप्ताको तालिममा पठायो, त्यसपछि अर्काे तालिममा गएँ । तालिम लिँदा बाहिरको वातावरण पनि हेर्ने अवसर पाएँ । मेरा सहपाठीहरू ब्रिटिस, भारतीय थिए, उनीहरूबाट मैले धेरै कुराहरू सिक्ने अवसर पाएँ । बैंकको काम गर्ने समयमा म कुनै बैठकमा सहभागी भएँ र त्यो बैठकमा भत्ता मिल्यो भने त्यो रकम मैले बैंकको अन्य आम्दानीमा राख्ने चलन सुरु गरेँ । यो संस्कार मैले स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सिकेको हुँ । व्यक्तिको व्यवहारलाई पनि संस्कारले महत्व दिन्छ । म अहिले पनि बैंकको प्रदेश कार्यालयका प्रमुख तथा अन्य कर्मचारीलाई बैंक कसरी सञ्चालन गर्ने भनेर उनीहरुलाइै मोटिभेट गरिरहेको हुन्छु । उनीहरूलाई संस्कार पनि सिकाइरहेको हुन्छुु । संस्थामा काम गर्ने कर्मचारीको संस्कार त्यो संस्थामा भरपर्छ । अन्य क्षेत्रलाई पनि बैंकिङजस्तै पारदर्शी बनाउन के गर्नुपर्छ ? विस्तारै सबै क्षेत्रमा पारदर्शिता कायम भइरहेको छ । सबै स्टेकहोल्डरहरू यो इकोसिस्टममा एकअर्काप्रति निर्भर छौं । उपभोक्तादेखि राज्यको ढुकुटी हाम्रो क्रियाकलापबाट प्रभावित छ । हाम्रा नियामकको निर्णयले हामी प्रभावित हुन्छौं । हामी सबैको अवधारणालाई बुझेर निर्णय गर्नुपर्छ । बैंक, कर्पाेरेट हाउस अनुशासित ढंगबाट सञ्चालित भइरहेका छन् । विश्वव्यापीरूपमा हामी एकअर्कासँग आवद्ध भइसकेका छौं । आगामी दिनमा निजी संस्थाले पनि सुशासनको सिस्टम पच्छ्याउनु पर्ने हन्छ । भोलिका दिनमा उनीहरूले पनि पब्लिकमा जानु पर्ने अवस्था आउन सक्छ । कतिपय रियल सेक्टरका कम्पनी पनि पब्लिकमा जाने तयारीमा छन् । आजकै दिनदेखि गभर्नेन्स सिस्टमलाई सही तरिकाले ह्याण्डल गर्नुको विकल्प छैन । अहिलेका युवाहरू धेरै पढेका र जानेका छन् । उनीहरूको ज्ञान पढाइ, बुझाइलाई लागू गर्न सक्नुपर्छ । उनीहरूलाई अवसर दिएर इनोभेसन गर्नुपर्छ । पछिल्लो समय प्रोफेसनल व्यक्तिहरू संस्थाको सञ्चालक बनिरहेका छन्, यो विषयलाई कसरी लिनु भएको छ ? यो राम्रो कुरा हो । यो विषयमा मैले राष्ट्र बैंकका गभर्नरलाई पनि आग्रह गरेको छु । यो अभ्यास हामी एक दुई जनाबाट सुरु भएको छ । नबिल बैंकमा जानुभन्दा अघि कोही हुनुहुन्थ्यो होला । तर, म गएँ । हाम्रा पुस्ताका बैंकर विस्तारै रिटायर हुँदैछन् । उनीहरूलाई मेनस्ट्रिममा आवद्ध गराउनुपर्छ । उनीहरुलाई सञ्चालकमा मात्रै नभई सिस्टममा ल्याउन सक्नुपर्छ । उनीहरूको योगदानलाई कायम राख्न केन्द्रिय बैंक र सरकारले पनि सोच्नुपर्छ । तर, त्यो यहाँ लागू छैन । सरकारले कुनै क्षेत्रमा नियुक्त गर्नु प¥यो भने कुन पार्टीको सरकार छ, त्यो पार्टीको मान्छेलाई नियुक्त गर्ने अभ्यास छ । अन्य देशहरूमा प्रोफेसनल व्यक्तिहरू बोर्डमा गएका उदाहरण छन् । हामीले अब यो अभ्यास रोकेर अनुभवी र प्रोफेसनल व्यक्तिलाई अवसर दिनुपर्छ । नेपालमा व्यवस्थापकका समस्या के-के छन् ? व्यवस्थापकलाई स्वतन्त्र काम गर्न दिइएको छैन । माइक्रो म्यानेजमेन्ट भइरहेको छ । हस्तक्षेप भइरहेको छ । उनीहरूको सीप एकातिर हुन्छ, काम अर्काेतिर लगाइएको हुन्छ । अहिले व्यावसायिक वातावरण तीव्ररूपमा परिवर्तन भइरहेको छ । त्यसलाई बुझेर अघि बढ्न धेरै चुनौती छन् । जस्तो बैंकमा तरलताको चुनौति छ । बैंकका सेयरधनीलाई नाफा चाहिएको छ । तर, तरलतामा प्रभाव पर्ने वित्तीकै तरलता खोज्न व्यवस्थापक दौडधूप गर्छन् । अदालतको आदेशपछि बैंकले अर्बाैं रुपैयाँ कर तिरिरहेका छन् । अब त्यो पैसा करमा तिरेपछि बैंक घाटामा जान्छ । बैंकले पुँजीको योजना बनाएको हुन्छ । राष्ट्र बैंकले क्यापिटल एडुकेसी, तरलता हेरिरहेको छ । तर, एकैचोटी अर्बाैं रकम सरकारलाई तिर्दा त्यो पैसाले तरलता र क्यापिटल एडुकेसीमा प्रभाव पर्छ । अब कसरी बिजनेस गर्ने ? कस्ता रणनीतिहरू बनाउने भन्ने विषयमा सोच्ने बेला आएको छ । त्यसका लागि चुनौतीलाई सामना गर्न सक्नुपर्छ । रूस–युक्रेन यद्ध र कोरोनाले अर्थतन्त्रमा असर गरेको छ । भोलि थप केही असर गर्छ कि ? यो विषयमा पनि व्यवस्थापक सजग बन्नु पर्ने चुनौती छ । अहिले मध्यम तहका म्यानेजर पनि पलायन हुने ट्रेन्ड सुरु भइसकेको छ । यसले पार्ने प्रभावलाइ पनि अहिले नै योजना बनाउन सक्नु पर्छ । यो वाहेक नियामकले छिटोछिटो नीति परिवर्तन गरिरहेको छ । सबैभन्दा ठूलो समस्या राजनीतिक अस्थिरता छ । यसले पनि समस्या खेप्नु परेको छ । राजनीतिक र नीतिगत अस्थिरता नै अहिलेको मूख्य चुनौति हो । एउटा व्यवस्थापक सफल बन्न के-के काम सक्नुपर्छ ? समस्या आउनुभन्दा अगाडि त्यो समस्याको पहिचान गर्न सक्नु प¥यो । र, त्यसलाई समाधान गर्दै जान सक्नु प¥यो । कर्मचारीलाई नियन्त्रण गरेर होइन सबल बनाएर उत्प्रेरणा दिन सक्नुपर्छ । कुनै पनि व्यक्तिले आफ्नो क्षमता पत्ता लगाउन सक्नु पर्छ । र, त्यसलाई आफ्नो काममा सतप्रतिशत दिनु प¥यो । जस्तो मैले कुनै ग्राहकलाई कर्जा दिइरहेको छु भने त्यो पैसा मेरो भएको भए दिन्थेँ कि दिँदैनथें भनेर सोच्नु प¥यो । त्यसपछि मात्रै निर्णय गर्नु पर्छ । संस्थालाई माया गरेर काम गर्नु पर्‍याे । सकारात्मक नियतले काम गर्नु प¥यो । समस्या आएपछि पछि हट्ने होइन अघि बढ्ने हो, समस्यालाई सामना गर्न सक्नुपर्छ । सामना गरेपछि पार पाइन्छ ।

पर्यटनमा राजनीति घुस्यो, पर्यटकहरू सरकारी अड्डा धाउन बाध्य छन् : आङछिरिङ शेर्पा

आङछिरिङ शेर्पा नेपालको पर्यटन क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन । सन् १९६३ देखि पर्यटन क्षेत्र क्रियाशील उनको यो यात्रा अहिले ६० वर्ष पूरा भइसकेको छ । जीवनका ६ दशक एउटै पेसामा बिताएका उनी अझै केही वर्ष पर्यटनमै रमाउने बताउँछन् । हिमाल आरोहण हुँदै व्यावसायिक यात्रा थालेका शेर्पा पछिल्ला केही वर्षदेखि होटल तथा रिसोर्ट, ट्रेकिङ कम्पनीलगायत सञ्चालनमा व्यस्त छन् । उनले बीचमा हेलिकोप्टर सेवा प्रदायक कम्पनी पनि सञ्चालन गरेर उड्डयन क्षेत्रको व्यापार गरेका थिए । हाल उनी एस्ट्रेक ग्रुपका अध्यक्ष हुन् । उनको ग्रुपले विविध क्षेत्रको व्यापारमा लगानी गरेको छ । लगभग पूरै जीवन पर्यटन क्षेत्रमा बिताएका शेर्पासँग यस क्षेत्रको विद्यमान समस्या, निजी क्षेत्रको प्रयास, सरकारका नीति, पर्यटन अगाडि बढ्न नसक्नुका विविध कारणलगायत विषयमा केन्द्रित रहेर विकासन्युजका लागि ऋतुले गरेको कुराकानी : तपाईं ६ दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । यही क्षेत्रमा यतिविधि मोह किन ? सुरुवातको कुरा गर्नुपर्दा यस क्षेत्रमा आकर्षण बढ्नुको कारण हिमाल आरोहण दलले नयाँ–नयाँ लुगा लिएर आउँथ्यो, मिठा–मिठा खानेकुरा लिएर आउँथ्यो । अहिलेजस्तो सबै कुरा पहिले देख्नै गाह्रो हुन्थ्यो । अनि, यो पेसामा संसारका सबै मान्छेसँग भेटघाट पनि हुने, विचार आदानप्रदान हुने र घुम्न पनि पाइने भएकाले मलाई यसमा खुबै रुचि लागेको हो । तपाईंलाई विश्वको सर्वोच्च शिखर सगरमाथादेखि नेपालका सबै हिमालको ‘इन्साक्लोपिडिया’ भनेर संसारले चिन्छ । यस्तो सुन्दा कस्तो अनुभूति हुन्छ ? मैले हिमाली क्षेत्र, हिमाली वातावरणसम्बन्धी र क्लाइमेट चेन्जका कुरा बच्चैदेखि पढिरहेको हुनाले चासो भएर स्टडी, रिसर्च गर्छु । अर्को भनेको हामी एक्सपिडिसन अपरेटर भएपछि हिमालका सबै डाटाहरू थाहा हुनुपर्छ । किनभने, एक्सपिडिसन भन्ने एकदमै सेन्सिटिभ कुरा हो । उनीहरूको जीवन हाम्रो हत्केलामा रहन्छ । हामीले हिमाली क्षेत्रको अवस्था र वातावरणको बारेमा राम्रो जानकारी दिइएन भने धेरै ठूलो दुर्घटना हुन सक्छ । हामीले क्याम्पहरू राख्दा माथिबाट ढुंगा खस्ने सम्भावना छ कि, बरफ खस्ने सम्भावना छ कि या हिमपहिरो आउने सम्भावना छ, भासिने सम्भावना छ सबै अवस्था नबुझी प्लानिङ गर्दैनौं । हामीले कहाँ क्याम्प राख्ने, कतिबेला बाटाे क्रस गर्ने सबै जानकारी राख्नुपर्छ । हिमालमा सबैभन्दा ठूलो समस्या भनेको मानव मलमुत्रको छ । हिमाल भनेको स्वच्छ खानेपानीको मुहान हो । त्यहाँको मलमुत्रले वातावरण बिगार्ने मात्रै होइन, त्यहाँका बासिन्दाको जनजीवनमा पनि प्रभाव पर्छ । विकसित देशहरूले हिमालमा कसरी मलमुत्र म्यानेज गरेका रहेछन् भन्ने बुझ्दै जाँदा अमेरिकामा एउटा ट्वाइलेट ब्याग जसलाई रेस्टटप ब्याग भनिन्छ, त्यसले मानवीय मलमुत्र डिकम्पोज गर्ने रहेछ । हामीले पनि २००८ देखि यो ब्याग प्रयोग गर्न थालेका छौं । सन् १९७० तिर जापानीहरूले हिमालहरूको फोटो खिचेर तथ्यांक राखेका थिए । त्यो टिममा म एज ए इन्टरप्रेटरका रूपमा उनीहरूसँग धेरै हिमाली क्षेत्र घुमेको थिएँ । त्यो टिम विशेषगरी अध्ययन अनुसन्धान गर्ने भएकाले मैले पनि आफूले जान्न बुझ्नका लागि इन्टरप्रेटरका रूपमा काम गर्नुपर्यो । त्यसो हुँदा मैले नेपालको अधिकांश हिमालको डाटा राख्ने, कुन क्षेत्रमा अवस्थित छ त्यहाँ जाने, नर्मल क्लाइम्बिङ रुट कहाँ छ भनेर अध्ययन अनुसन्धान गरेको र प्रत्यक्षरूपमा त्यो क्षेत्रमा पुगेकाले र एसियन पर्वतारोहण संघको अध्यक्ष भएपछि एसियाभरिको पपुलर हिमालबारे स्टडी गरेँ । विश्व पर्वतारोहण संघको मानार्थ सदस्य भएपछि विश्वकै हिमालहरूको अध्ययन अनुसन्धान गरेँ । ती सबै क्षेत्रमा प्रत्यक्ष पुगेकाले पर्यटन क्षेत्रमा अनुभव भएको हो । र, यसरी चिनिएको हुँ । सगरमाथामा केही वर्षयता फोहोरको डंगुर लागेको छ । विदेशी पर्वतारोहीहरूले पनि यसबारे चिन्ता गरिरहेका हुन्छन् । सगरमाथालाई कसरी फोहोरमुक्त बनाउन सकिन्छ ? सन् १९९२ तिर इन्टरनेशनल टाइम म्यागजिनमा एकातिर सगरमाथाको फोटो र अर्कातिर सगरमाथाभन्दा अग्लो फोहोरको थुप्रो भएको फोटो छापेर समाचार आएको थियो । त्यो समाचार आएपछि संसारका धेरै आरोही तथा पर्वतारोहण संघहरूको आलोचना भएको थियो । त्यसपछि नेपाल सरकार, नेपाल पर्वतारोहण संघ मिलेर १९९६ मा बेसक्याम्पभन्दा माथिबाट सात हजार किलो फोहोर लिएर आयौं । त्यतिबेला म पर्वतारोहण संघको सदस्य पनि थिएँ । सन् १९९६ मा पहिलोपटक सगरमाथा सफाइ गरिएको थियो । सगरमाथाको दक्षिणीभन्दा उत्तरी साइडमा धेरै फोहोर थियो । त्यसपछि १९९९ मा उत्तरी भागबाट चार हजार किलो फोहोर ल्याइयो । त्यसपछि २००० मा ३७ सय किलो फोहोर सफा गरेका थियौं । त्यसपछि पनि २००१ र ००२ मा पनि सगरमाथा सफाइ गरिएको थियो । त्यस्तै एक्सपिडिसन अपरेटर र ट्रेकिङ एजेन्सीका लागि सबैभन्दा ठूलो पुँजी भनेको वातावरण हो । पछि हाम्रो टिमले पहिलाका टिमले फालेको फोहोर सफा गर्यौं । त्यो बेसक्याम्पबाट खुमजुङ ल्याएर त्यहाँ नै नष्ट हुन सक्ने फोहोर त्यहीँ नष्ट गयौं र मेटलका फोहोर काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेर स्कल्प्चर बनाउने काम गर्यौं । हिमालमा सबैभन्दा ठूलो समस्या भनेको मानव मलमुत्रको छ । हिमाल भनेको स्वच्छ खानेपानीको मुहान हो । त्यहाँको मलमुत्रले वातावरण बिगार्ने मात्रै होइन, त्यहाँका बासिन्दाको जनजीवनमा पनि प्रभाव पर्छ । विकसित देशहरूले हिमालमा कसरी मलमुत्र म्यानेज गरेका रहेछन् भन्ने बुझ्दै जाँदा अमेरिकामा एउटा ट्वाइलेट ब्याग जसलाई रेस्टटप ब्याग भनिन्छ, त्यसले मानवीय मलमुत्र डिकम्पोज गर्ने रहेछ । हामीले पनि २००८ देखि यो ब्याग प्रयोग गर्न थालेका छौं । २००८ देखि अहिलेसम्मको स्प्रिङ सिजनसम्म एक्सपिडिसन टिमहरूको ३६ सय किलो मलमुत्र बेसक्याम्प हुँदै बेसक्याम्पभन्दा अलि तल खाल्डो खनेर व्यवस्थापन गरेका छौं । अहिले विभिन्न अभियानमार्फत पनि सगरमाथालगायत सफाइ भइरहेकाले नयाँ फोहोर छैन । निजी क्षेत्र र सरकारमात्रै लागेर सगरमाथाको फोहोर हटाउन वा नियन्त्रण गर्न सकिएला ? नेपाल सरकारले निरन्तररूपमा हिमाल सरसफाइ गर्न एकदमै आवश्यक छ । यसमा मैले सगरमाथालाई मात्रै प्राथमिकतामा राख्न चाहन्नँ । अरू धेरै पपुलर हिमाल पनि फोहोर भइरहेका छन् । हिमाल नै हाम्रो सबैभन्दा ठूलो पुँजी भएकाले त्यहाँको फोहोर हाम्रो रिसोर्सेसले भ्याएसम्म र मेनपावर पुगेसम्म हामीले पनि कोसिस गरिरहेकै छौं । सरकारले पनि सरसफाइ त गरेको छ, तर यो एउटा औपचारिकता पूरा गरेजस्तो मात्रै छ । सरसफाइ गरेको भन्ने तर तलतलको मात्रै फोहोर उठाउने गरिएको छ । माथि–माथिको फोहोर जस्ताको तस्तै नै छ । सरकार यो कुरामा एकदमै सिरियस भएर लाग्न जरुरी छ । एक्सपिडिसन अपरेटर एसोसिएसन भन्ने संस्था छ । यो संस्थासँग मिलेर सरकारले सरसफाइ गर्यो भने होला । अरू निजी क्षेत्रलाई मात्रै जिम्मा दियो भने धेरै प्रभावकारी हुन्छ । तपाईंको दशकौं लामो अनुभवले भन्नुपर्दा नेपालमा पर्यटक किन आउँछन् ? र, पर्यटक संख्या बढाउन सरकार, नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रले के गर्नुपर्ला ? नेपालमा निजी क्षेत्रकै प्रयासमा पर्यटक धेरै भित्रिएका छन् । सन् १९९८ मा भिजिट नेपालको सन्दर्भमा म पनि पर्यटन बोर्डको मेम्बर थिएँ । त्योभन्दा पहिला पर्यटन विभाग थियो । पर्यटन विभागलाई खारेज गरेर बोर्ड बनाइएको हो । तर, अपेक्षा गरेजस्तो काम भने भएको छैन । त्यहाँको रिसोर्सेस कुन ठाउँमा लगाउनुपर्ने कुन ठाउँमा जान्छ । अब हाम्रोमा राजनीतिक हस्तक्षेप पनि बढी छ । राजनीतिक हस्तक्षेपले हरेक क्षेत्रमा अक्षम्य पारिरहेको छ । सगरमाथाको सफल आरोहण गरेका विश्वविख्यात नेपाली आरोहीहरू अधिकांश अमेरिका, युरोप पलायन भएका छन् । उनीहरूलाई नेपालमा किन रोक्न सकिएन ? सरकारले किन यसबारे ध्यान नदिएको होला ? यसमा सरकारको कुनै जिम्मेवारी हुँदैन ? नेपाललाई देश विदेश चिनाउने भनेकै हिमाल आरोही हुन् । सगरमाथा संसारकै उच्च शीर भएकाले सगरमाथामा भएका गतिविधि विदेशी सञ्चारमाध्यमको पनि हेडलाइन बन्ने गरेको छ । हाम्रा आरोही आङरिता शेर्पाकै कुरा गर्नुपर्दा उनले बिनाअक्सिजन १० पटक चढेर संसारलाई नै चकित पारे । आप्पा शेर्पाले सगरमाथा २१ पटक चढे, फुर्वा टासीले २१ पटक चढे, पासाङदावा शेर्पाले २७ पटक चढे र कामीरिता शेर्पाले २८ पटक सगरमाथा चढेर आफ्नै रेकर्ड ब्रेक गरे । यो क्षेत्रमा म धेरै लामो काम गरेको र नेपाल पर्वतारोहण संघको धेरै लामो नेतृत्व गरेकाले हिमाल आरोहण गर्ने काम एकदमै गाह्रो काम हो भन्छु म । हाम्रा आरोही यो पेसाबाट ४५/४६ वर्षमै रिटायर हुन्छन् । आरोहीहरू जतिबेला स्कुल कलेज धाउनुपर्ने हो त्यतिबेला हिमाल चढ्न गए । सामाजिकरूपमा पनि शिक्षित नभएपछि उनीहरू पछि नै परे । आर्थिक रूपमा पनि सक्षम छैनन् । रिटायर हुँदा पनि कुनै आर्थिक एलाइन्सबिना नै निस्किनुपर्ने हुन्छ । मेरो कार्यकालमा सरकारले नेपालको हिमालको रोयल्टीको १० प्रतिशत हिमाल कल्याणकारी कोष भनेर राखेर उनीहरू अशक्त वा काम गर्न नसक्ने अवस्थामा उनीहरूको जीवनयापनका लागि छुट्ट्याउनुपर्यो भनेर प्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री, पर्यटन सचिवदेखि लिएर विभागका डिजीहरूलाई समेत ज्ञापनपत्र बुझाएको थिएँ । शरतसिंह भण्डारी पर्यटनमन्त्री हुनुहन्थ्यो त्यो बेला । उहाँले त्यसका लागि काम गर्छु नै भन्नुभएको थियो । तर, त्यो कार्यान्वयन नहुँदै उहाँ मन्त्रीबाट हट्नुभयो । नयाँ मन्त्री आएपछि फेरि त्यही कुरा बुझाउन पनि समय लाग्यो र मेरो अवधि पनि सकियो । अहिले पनि नयाँ अध्यक्षले प्रयास गरिरहनुभएको छ । आशा गरौं केही पक्कै हुन्छ । अहिले संघको प्रमुख सल्लाहकार म पनि छु । मैले प्रयास गरिरहेको छु र कार्यसमितिले साथ दिइरहनुभएको छ । यो काम पूरा भयो भने आरोहीहरूलाई राहत मिल्ने छ । संसारभरिबाट सगरमाथासहित उच्च हिमाल हेर्न र आरोहण गर्न विदेशी नेपाल आउने गर्छन् । सरकारले पनि करोडौं, अर्बौं राजस्व उठाउने गर्छ । तर, हिमाली भेग र त्यहाँका शेर्पाहरूको जीवनस्तर उकास्न खासै काम गरेको पाइँदैन । यसबारे के भन्नुहुन्छ ? नेपालमा दुई किसिमको हिमाल छन्, अग्ला र होचा । सरकारले प्रमोट गर्न नसकेका २७ साना हिमाल पर्वतारोहण संघले व्यवस्थापन गरेको छ । बाँकी उच्च हिमाल सरकारले नै व्यवस्थापन गर्छ । २७ वटा हिमालका सन्दर्भमा हामीले सेवा शुल्क भनेर उठाउँछौं । त्यो सेवा शुल्कमा सरकारले त्यो पैसाको २० प्रतिशतमा १० प्रतिशत वातावरण विकासका लागि र उद्धारका लागि १० प्रतिशत छुट्ट्याउन भनेको थियो । यो २००६ तिरको कुरा हो । अहिले सरकारले नै फिक्स गरेपछि सोहीअनुसार नै काम पनि भइरहेको छ । सरकारले व्यवस्थापन गर्ने हिमालको रोयल्टीबाट त्यतिकै एमाउन्टमा छुट्ट्याउनुपर्यो भन्दा स्थानीय विकास, वातावरण र उद्धार भनेर भन्दैनौं तर ३० प्रतिशत विकासका लागि छुट्ट्याउँछौं भनिएको छ । यो कुरा कार्यान्वयन भएको छ । तर, यो पैसा स्थानीय ठाउँमा नपुगेर अन्तै खर्च भएको छ । त्यहाँका बाटो, पुल, गोरेटो निर्माणमा खर्च भएको छैन । त्यो पैसा जिल्ला विकास समितिमा गएको छ । जुन ठाउँको स्रोत साधन चलाइएको छ त्यहाँ पुगेको छैन । विकास पनि उचित ठाउँमा हुन सके त्यहाँको क्रयशक्ति बढ्थ्यो । नेपालको दिगो विकासको आधार भनेकै पर्यटन हो । र, पर्यटन भनेको एक मुठी माटो निर्यात नगरी अर्बौं डलर भित्रिने माध्यम हो । पर्यटक पुग्नासाथ त्यहाँको क्रयशक्ति त्यसै पनि बढ्छ र यस विषयमा सबैले ध्यान पुर्याउनुपर्छ । त्यो हेलिकोप्टर हाम्रा लागि दुर्भाग्य पनि सावित भयो । हेलिकोप्टर मकालु बेसक्याम्पबाट एक्सपिडिसन टिम लिन गएको थियो । पहिलो टिममा विदेशी आरोहीहरू लुक्ला आए । दोस्रो टिममा बाँकी सामान र त्यहाँका नेपाली आरोहीलाई लिन गएको थियो । पहाडको मौसम पाँच मिनेटमै छोपिहाल्छ र खुलिहाल्छ पनि । मौसमकै कारण लुक्लामा ल्याण्ड गर्नुपर्ने हेलिकोप्टरको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । यसका लागि पर्यटन नीति पर्यटनमैत्री, व्यवसायमैत्री, समुदाय र श्रमिकमैत्री हुनुपर्यो । पर्यटनबाट सबै क्षेत्रले लाभ लिनुपर्यो । यसका लागि सबैभन्दा बाधक भनेको राष्ट्रिय ध्वजावाहक मजबुत नहुनु हो । नेपाल एयरलाइन्ससँग १५ वटा वाइडबडी हुने हो भने ३०–४० लाख पर्यटक त्यसै आउँछन्, हामीले चिच्याउनै पर्दैन । म पर्यटन उद्यमी पनि भएकाले बाहिरका एजेन्सीसँग पनि काम गरिरहेको छु । त्यसमा देशको ध्वजावाहकसँग नै उनीहरू विश्वस्त हुन्छन् । जबसम्म हाम्रो ध्वजावाहक बलियो हुँदैन, तबसम्म दिगो पर्यटन विकासको परिकल्पना गर्न सकिँदैन । तपाईंले पनि हिमाल आरोहण गर्दै बिस्तारै व्यापारमा हात हाल्नुभयो र हाल पूर्णरूपमा सफल व्यवसायी हुनुहुन्छ । हाल कुन–कुन व्यवसाय सञ्चालन गरिरहनुभएको छ ? अहिले मैले रिसोर्ट, होटलहरूमा अलि बढी लगानी गरिरहेको छु । रिसोर्ट, होटल क्वालिटी टुरिस्टले धेरै पैसा तिर्न सकोस्, धेरैले रोजगारी पाओस् भन्ने हिसाबले ललितपुरको लाकुरीभन्ज्याङमा द टेरेसेस रिसोर्ट सञ्चालन गरिरहेको छु । खुम्बु क्षेत्र पनि आफ्नै एरिया भएकाले क्वालिटीकै रिसोर्ट होटल खोल्ने तरखरमा छु । ट्रेकिङ, ट्राभल, र्याफ्टिङ, जंगल सफारी उद्योग पहिलेदेखि नै गरिँदै आएको व्यवसाय भयो । अहिले गार्मेन्टतिर पनि अलिकति जोड दिइरहेको छु । ट्रेडिङ पनि गरिरहेको छु । केही वर्षअघि तपाईंले एसियन एयरलाइन्सको नाममा हेलिकोप्टर सेवा कम्पनी चलाउनुभएको थियो । त्यसको एउटा हेलिकोप्टर लुक्लाबाट उडेको केहीबेरमै सम्पर्कविहीन भएको थियो । तर, हालसम्म भेटिएको छैन । यसबारे केही बताइदिनुस् न ? म लामो समयदेखि पर्यटन क्षेत्रमा लागेको हुँ । यो व्यवसायमा त्यतिखेर रोयल नेपाल एयरलाइन्स (आरएनएसी) भनेर एउटामात्रै एयरलाइन्स थियो । हेलिकोप्टर आर्मी र रोयल फ्लाइटसँग मात्रै थियो । पर्यटक वृद्धिका लागि एयरक्राफ्टको आवश्यकता भइरहेको थियो । जतिखेर देशमा डेमोक्रेसी आएको थियो त्यतिबेला चुनाव २०४८ सालमा भएको थियो । त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र रामहरि जोशी पर्यटनमन्त्री भएका थिए । हामी व्यवसायी मिलेर उनीहरूलाई ओपन स्काई पोलिसी गरिदिनुपर्यो, त्यसले देशमा पर्यटन प्रवर्द्धन गर्न सजिलो हुन्छ भनेर माग राखेका थियौं । त्यतिबेलाको सरकारले पहिलोपटक ओपन स्काई पोलिसी ल्यायो । त्यसपछि नेपाल एयरवेज, एसियन एयरलाइन्स र नेकोन एयरवेजले सँगसँगै लाइसेन्स पाएका थियौं । एसियन एयरलाइन्सको म चेयरमेन थिएँ । म ३६ वर्षको मात्रै थिएँ । अनि हामीले फिक्स वीङ त नेपालमा फालाफाल छ, धेरैले ल्याएपछि त्यसको मार्केट हुँदैन हामी हेलिकोप्टरमै जानुपर्छ भनेर हामीले रसियामा फ्याक्ट्रीमै गएर हेलिकोप्टर अर्डर गर्यौं । त्यो बन्न डेढ वर्ष लाग्यो । सबैभन्दा पहिला रसियन हेलिकोप्टर नेपाल ल्याउने हामी थियौं । प्राइभेटमा सञ्चालन गर्ने पनि हामी नै थियौं । त्यो हेलिकोप्टर हाम्रा लागि दुर्भाग्य पनि सावित भयो । हेलिकोप्टर मकालु बेसक्याम्पबाट एक्सपिडिसन टिम लिन गएको थियो । पहिलो टिममा विदेशी आरोहीहरू लुक्ला आए । दोस्रो टिममा बाँकी सामान र त्यहाँका नेपाली आरोहीलाई लिन गएको थियो । पहाडको मौसम पाँच मिनेटमै छोपिहाल्छ र खुलिहाल्छ पनि । मौसमकै कारण लुक्लामा ल्याण्ड गर्नुपर्ने हेलिकोप्टरको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । त्यसमा क्याप्टेन, कोपाइलट, इन्जिनियर र फ्लाइट एटेन्डेन्स गरेर ४ जना र ६ जना यात्रु गरेर १० जना थिए । हेलिकोप्टर आलुमुनियमबाट बनेको हुन्छ । त्यो कुनै हिमालमा ठक्कर खायो होला । ठक्कर खाएपछि डल्लो परेर क्रेभासतिर पस्यो होला । अबको ५–१० वर्षपछि हिमनदीहरू बग्दै बग्दै गएर देखापर्छ कि भन्ने लागेको छ । अर्को दुर्भाग्य, आन्तरिक द्वन्द्व चलिरहेका बेला सुर्खेत एयरपोर्टमा पार्किङ गरिराखेको एउटा हेलिकोप्टर बम ब्लास्ट गरेर उडाइदिए । त्यसको इन्स्योरेन्स अहिलेसम्म पनि पाएको छैन । खासमा एभिएसन बिजनेस के रहेछ त ? सञ्चालन गर्न कत्तिको कठिन हुने रहेछ ? एभिएसन बिजनेस भनेको डोकोमा दूध दुहेजस्तै रहेछ । त्यसलाई राम्रोसँग टाल्न सकियो भने केही होला, होइन भने अर्बपतिबाट करोड, लाख र हजार हुँदै रोडमा आउन धेरै समय लाग्दैन । यो मेरो अनुभव हो । पछिल्लोपटक ललितपुरको लाकुरीभञ्ज्याङमा १ अर्बभन्दा बढी लगानीमा द टेरेसेस रिसोर्ट सञ्चालन गरिरहनुभएको छ ? यति ठूलो लगानीको कम्पनीबाट फाइदा लिन कति समय कुर्नुपर्छ ? यो त लामो समय नै कुनुपर्ने देखिएको छ । हाम्रो रिसोर्ट काठमाडौंबाट सबैभन्दा नजिक भएको र त्यहाँबाट पूरै काठमाडौं भ्याली देखिने र हिमाल पनि अवलोकन गर्न सकिने भएकाले रिसोर्टले छोटो समयमा धेरै पपुलर हुन सकेको छ । रिर्टन चाँडै होस् भन्ने आशा छ । त्यस्तै सगरमाथा क्षेत्रमा एक दर्जनभन्दा बढी रिसोर्ट पनि सञ्चालन गर्दै हुनुहुन्छ भन्ने जानकारी पाइयो । त्यस क्षेत्रमा कतिवटा, कस्ता र कति लगानीमा रिसोर्ट खोल्दै हुनुहुन्छ ? त्यहाँ २ वटा रिसोर्ट मैले ३० वर्ष अगाडि नै खोलेको हो । २५ वर्ष अगाडि २ वटा खोलेँ । गोक्योमा आठ वर्ष अगाडि खोलेको थिएँ । दुर्भाग्य २०१५ को भूकम्पले ५ मध्ये २ चर्केर चल्ने अवस्थामा नभएपछि त्यहाँ पूरै भत्काएर नयाँ बनाउने तयारी छ । अहिले नयाँ तेङबोचेमा लाकुरीको स्टाइलमा बनाउन खोज्दै छौं । अर्को फर्पिङमा पनि काम सुरु गरेका छौं । नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनका लागि गरेका कामबाट सन्तुष्ट हुने ठाउँ छ ? खासमा पर्यटन बोर्डले के गर्दा पर्यटन क्षेत्र उकासिन्छ जस्तो लाग्छ ? पर्यटन प्रवर्द्धनका लागि सबैभन्दा मूख्य भूमिका हुनुपर्ने पर्यटन बोर्ड र सरकार नै हो । तर, हामीले अपेक्षा गरेजस्तो काम उहाँहरूबाट हुन सकेको छैन । म पर्यटन बोर्डको फाउन्डर भएको नाताले पर्यटन बोर्ड नै सक्षम हुनुपर्छ भन्छु । राजनीतिले गर्दा पर्यटन बोर्ड त्यति इफेक्टिभ हुन सकेको छैन । यदि निष्पक्षरूपमा त्यहाँका बोर्ड मेम्बरको सेलेक्सन हुने हो र पर्यटन प्रवर्द्धनका लागि काम गर्ने संस्था एकजुट भएर काम गर्ने हो भने यो क्षेत्र उकासिन सक्छ । होइन भने अहिलेको काम गराइले सम्भव हुने छाँट छैन । पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले जति गरेका छन् त्यो राम्रो छ । तर, यसका लागि नेशन नै लाग्नुपर्छ । दशकौं यही क्षेत्रमा सक्रिय हुनुहुन्छ । अब दोस्रो पुस्ता (छोराहरू) लाई व्यवसाय हस्तान्तरण गर्ने बेला भएन र ? म अलमोस्ट रिटायर्ड भइसकेँ । अहिले सबै व्यवसाय छोरा र भाइहरूले हेर्छन् । मैले अभिभावकको भूमिका निर्वाह गरिरहेको छु । अन्तिम प्रश्न, दशकौं लामो अनुभवमा भन्नुपर्दा खासमा पर्यटन भनेको के हो ? पर्यटनबाटै नेपाल समृद्धिको बाटोमा जान सक्ला ? नेपाल पर्यटकका लागि उत्कृष्ट गन्तव्य हो । नेपाल प्रचुर मात्रामा पर्यटन सम्भावना बोकेको देश हो । हाम्रो पूर्वाधार, पर्यटन नीतिले गर्दा त्यति धेरै फस्टाउन भने सकेको छैन । उचाइमा ५ हजार ८ सय मिटर माथिका १७ सय ९२ वटा हिमालमध्ये ४ सय ८ मात्रै खुलेका छन् ।  पर्यटनकै कति असमान नीति छन् ।  कतिपय गन्तव्यका लागि जानै कठिन छ । त्यसका लागि सहज नीति ल्याउनुपर्छ । अब मनास्लु हिमाल जानका लागि पर्मिट लिनुपर्छ । अब यहाँ आउने पर्यटक घुम्न आउने हुन्, सरकारी अड्डा धाउन आउने होइनन् । उनीहरू गन्तव्यमा चाँडै पुग्न चाहन्छन् । त्यसका लागि सहज वातावरण बनाउनुपर्छ ।अर्काे, पर्यटन नीति र पूर्वाधार विकास समान हुन जरुरी छ । अर्को राष्ट्रिय ध्वजावहाक सुधार्न जरुरी छ ।

मलमपट्टी लगाएर भए पनि अटो व्यवसायीहरूमा आशा जगाउँछु : करण चौधरी

काठमाडौं । अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी सर्वसम्मत रूपमा चुनिएदै छन् । यसै साता हुने साधारण सभापछि चौधरीले नाडाको जिम्मेवारी समाल्दै छन् । लामो समयदेखि अटो व्यवसायमा सक्रिय चौधरी सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी होल्डिङ्सका सञ्चालक पनि हुन् । उनै चौधरीसँग नाडा नेतृत्वका योजना, अटो क्षेत्रमा देखिएका समस्या, सरकारले अटो व्यवसायमा गर्नुपर्ने काम लगायतका सन्दर्भमा विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :- प्रायः चुनावी प्रतिस्पर्धा नै हुने गरेको नाडामा यसपटक सर्वसहमतिमा नेतृत्व चयन भयो । यो कसरी सम्भव भयो ? नाडाले विगतमा भएका गल्तीहरूलाई सच्याउँदै र सुधार्दै अघिबढी रहेको छ । अटो क्षेत्रमा आएका मन्दी, समस्या लगायतका सबै सिनारियोलाई हेर्दा अहिलेको समयमा हामी सर्वसहमतिमा नै अगाडि बढ्दा उपयुक्त हुने ठम्यायौं । र, सर्वसम्मतरूपमा अगाडि बढ्दा राम्रो हुन्छ भनेर सर्वसम्मत तरिकाबाट कार्यसमितिको चयन गर्ने निर्णय गर्यौं । नाडा नेतृत्वका लागि यसअघि पनि निर्वाचन भएको थियो । जसमा पनि उम्मेदवार थिए । त्यो चुनावले गर्दा नाडाका सदस्यहरूलाई बिचमा फाटो ल्याउन सक्ने स्थिति थियो । चुनाव गरेर नेतृत्व बनाउनु अहिलेको लागि उपयुक्त थिएन । त्यसैले चुनाव हुँदा खर्च गर्नु नगर्नुको ठूलो औचित्य थियो । त्यसैले खर्च नगरी सबैलाई समेटेर कसरी अगाडि लिएर जान सकिन्छ भनेर निर्वाचनलाई रूपान्तरण गरी सर्वसम्मत गरेका हौं । सबैको साथ समर्थनले हामी सर्वसम्मतरूपमा कार्यसमितिको चयन गर्नमा सफल भयौं । अटोमोबाइल्स बजार सुधारका लागि तपाईंको नेतृत्वमा नाडाले के-के काम गर्ने योजना बनाएको छ ? मलाई अध्यक्ष बन्नका लागि छाडिदिनुभएको साथीले होस् या कार्यसमितिमा आउनुभएका साथी, सबैको प्रयास अटो क्षेत्र सुधारमा काम गर्ने योजना हुन्छ । तर, मेरो एजेण्डा के भन्दा पनि सहमतिमा गएपछि त्यो एजेण्डा टिमको हुन्छ । त्यसैले ति एजेण्डा अहिले बनाउन बाँकी छ । हामीले सहमति गरेर चुनाव नहोस् भन्ने वातावरण बनायौं । आउने दिनमा पुनः मिटिङ बसेर कसरी आजका दिनमा एजेण्डालाई प्रस्तुतीकरण गर्न सकिन्छ भनेर छलफल हुन बाँकी छ । ठूला साना सबै व्यवसायी मन्दीको मार खेपिरहेका छन् । बजारलाई मन्दीबाट उकास्ने वा व्यवसायीलाई राहत दिनेतर्फ नाडाले केही गर्न सक्छ ? यो क्षेत्र ठूलो मन्दीको चपेटामा छ । अहिले यो क्षेत्रमा ६० प्रतिशतभन्दा बढीले गिरावट आउनु भनेको मान्छेको जीवनशैलीमा असर पुग्न सुरु भइसक्नु हो । ठूला/ठूला कर्पोरेट हाउस जसमा धेरै मान्छे कार्यरत छन् । जे जसो गरे पनि वित्तीय विवरण प्लस र माइनसको गेम हुन्छ । साना र मझौला व्यापारीहरूलाई अहिले धेरै कठिन छ । आम्दानी नहुँदा र घाटामा हुँदा आफ्नो खल्तीबाट पैसा जान्छ । व्यवसायीलाई आजको दिनमा कसरी उकास्ने भन्ने विषय एउटा प्रश्न बनेको छ । यसका लागि सबैसँग सल्लाह तथा सरोकारवालाहरूसँग छलफल गरी कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयलाई मान्यता दिनुपर्ने छ । अटो क्षेत्रमा राम्रा काम गरी एउटा सफल श्रेणीमा पुगेका जनशक्तिलाई विदेशबाट अफर आएर उतै बस्ने सिस्टमको विकास भएको पाइन्छ । यसलाई रोक्नका लागि तपाईंले कस्तो पहल गर्नु हुनेछ ? यो सबैभन्दा बढी सेमी स्किल लेभरतिर हुने गर्छ । विशेष गरी यहाँ मासिक ५० देखि ६० हजारभन्दा कम आम्दानी जसले गर्छ, ऊ सो प्रलोभनमा परेको हामीले नोटिस गरेका छौं । उहाँहरूलाई बाहिर बस्यो भने राम्रो काम र छिटो कमाइ हुन्छ भन्ने झुटो आश्वासन दिएर यहाँबाट मान्छेहरू उनीहरूले लिएर जान खोज्छन् । तर, त्यो उहाँहरूको बाध्यता हो । किनभने अहिलेको परिस्थितिमा यहाँको बिजनेस र कमाइ दुवै राम्रो छैन । उहाँहरूले आफ्नो आम्दानी पनि वृद्धि गर्न सक्नुभएको छैन । त्यसैले यहाँभन्दा विदेशमा दोब्बर कमाइ हुन्छ भन्ने आशामा हुनुहुन्छ । मान्छेमा एउटा लालच पनि हुन्छ । त्यसैले यसलाई रोक्नेका लागि विदेशमा भन्दा यही अवसर छ र सम्भावनाका पाटाहरू देखाउन जरुरी छ । नेपालमा पछिल्लो समय ईभी गाडीको आयात बढिरहेको छ भने बिस्तारै हाइड्रोजन सवारी विकास हुँदैछ । यसले फसिल फ्यूलमा आधारित गाडी बिक्रीमा कस्तो असर पुर्याएको छ ? यी दुवैलाई समान स्तरको मैदानमा राख्ने हो भने ईभीलाई अहिले पनि प्रोत्साहन गर्न सक्ने स्तर बनिसकेको छैन । किनभने यसका लागि चाहिने आवश्यक पूर्वाधारहरू नै निर्माण हुन सकेको छैन । सरकारले पनि यसका लागि चाहिने पर्याप्त पूर्वाधारको विकास गर्न नसकिरहेको अवस्था छ । भ्यालु प्रपोजिसन देखाउन नसक्दा ईभीका आयातकर्ता कम्पनीहरूले पनि पूर्वाधारका काम गर्न सकिरहेका छैनन् । निजी क्षेत्रले पनि बाध्यात्मक परिस्थितिबाट ईभीका चार्जिङ स्टेसनहरू खडा गरिरहेका छन् । वर्तमान अवस्थामा फसिल फ्यूलका गाडीहरू पनि आयात भइरहेका छन् । गाडीको आयात बढ्दा विदेशी मुद्रा बाहिरिएको भन्ने सरकारको भनाइ छ । त्यसमा अटो मोबाइलले कति योगदान दिइरहेको छ भन्ने विषयको छुट्टै अध्ययन खाँचाे पर्नेछ । जुन मात्रमा डिजेल उद्योगमा उपभोग हुन्छ त्यो मात्रामा डिजेल गाडीमा उपभोग हुँदैन । पछिल्लो समय फसिल फ्यूलमा आधारित गाडी बिक्री हुन छाडेपछि स्थानीय डिलरहरूले लिडरसिप छाड्दै गएको र शोरुमहरू बन्द हुँदै गएको खबर आएका छन् । वास्तविक अवस्था के हो ? सरकारले अटोमोबाइल क्षेत्रलाई निरुत्साहित गरेर राखेको छ । यसलाई उत्साहजनक कसरी बनाउन सकिन्छ भनेरमात्र पहल गर्न सकिन्छ । किनभने आजको दिनमा ईभीका गाडीमा भन्सार छुटदेखि सहज फाइनान्सको व्यवस्था आदि सेवा सुविधाहरू दिइको छ । तर, ति सुविधाहरू इन्धनबाट चल्ने गाडीमा दिइएको छैन । त्यसैले यसमा एउटा मात्र अप्सन छ । व्यवसायीहरूलाई उत्साहजनक बनायो भनेमात्र यो उद्योगलाई रिभाइभ गर्न सकिन्छ । ईभी गाडीको प्रयोगकर्ताहरू बढ्दै गएका छन् । सरकार तथा व्यवसायीले यसको पूर्वाधार विकासका लागि कस्ता कस्ता काम भइरहेका छन् ? यसतर्फ तपाईंको नयाँ सोच के छ ? यसमा दुइटा विषय छन् । एउटा सरकारले र अर्को प्राइभेट कम्पनीले नीतिमा काम गर्नुपर्ने छ । सरकारले जति पूर्वाधारको विकास गर्न सक्छ त्यो काम गर्यो भने त्यही नै ठूलो उपलब्धि हुन्छ । सरकारले चाहेको खण्डमा यहाँ ठूला/ठूला चार्जिङ स्टेशनको पनि निर्माण हुन्छ । सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी छ । हामीले जुन बिजुली किन्छौं र जुन बिजुली ग्राहकलाई बेच्छौं, त्यो स्प्रेड बढाउनु पर्छ । त्यो नबनाएको खण्डमा चार्जिङ स्टेशन पोसाउने वाला छैन । जबसम्म केही चिज पोसाउँदैन त्यो क्षेत्रमा नीजि क्षेत्रले हात हालेपछि कर्पोरेट सामाजिक उत्तरदायित्वको रूपमा हेर्न थाल्छन् । त्यो कति समयसम्म गर्ने भन्ने विषय पनि उठ्छ । सुजुकीको हकमा कुरा गर्दा सुजुकीको ईभी गाडीहरू पनि नेपाली बजारमा आउँदै छ । सुजुकीले पनि ईभीका गाडी आएपछि अवश्य चार्जिङ स्टेशनको निर्माण गर्ने नै छ । तर, चार्जिङ स्टेसनमा निजी क्षेत्रले कति लगानी गर्ने भन्ने विषय पनि आउँछ । त्यसो हुनाले सरकारको लगानी ईभीको पूर्वाधार विकासमा हुनु अपरिहार्य छ । तपाईंले अटो क्षेत्र धराशायीमा रहेका विषयको उल्लेख गर्नुभयो । तपाईंले नेपाली अटोमोबाइल्स क्षेत्रको भविष्यलाई कसरी निहाल्नु भएको छ ? सरकारले हामीप्रति राखेको सोचले गर्दा यो क्षेत्रमा समस्या चुलिएको हो । जब अटो क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण बदलिन्छ त्यो दिने यो क्षेत्रलाई उकास्न सक्ने वातावरणको सिर्जना हुन्छ । दुई पांग्रे सवारीका एसेम्बल उद्योगहरू क्रमशः बढ्दै गएका छन् । तर, चार पांग्रे सावारिको एसेम्बल उद्योगहरू खुल्न सकेनन्, किन ? आजको दिनमा चार पांग्रे सवारीको एसेम्बल उद्योगहरू खोल्ने हो भने एउटा सस्टेनेबल भोलुमको जरुरी छ । नत्र भने एउटा सर्भिस सेन्टरमा गएर गाडी जोडेर बनाएर दिन मात्र पनि सकिन्छ । सरकारले देशमा रोजगारीका क्षेत्र विस्तार होस् स्वदेशी उत्पादन र उपभोग बढाेस् भन्ने चाहेको छ । सरकारले कसरी अटो मोबाइललाई प्रोत्साहन गर्ने, नीतिगत स्पष्टता गरेर १० वर्षे निति बनायो भने पहिलो एसेम्बल उद्योग सुजुकीले नै खोल्छ होला । नीतिगत विषय स्पष्ट र दूरदर्शी हुन जरुरी छ । करको दरमा मैले सुझाव दिन चाहन्नँ । किनभने मैले सुझाव दिँदा परिणाम निराशाजनक आउँछ । करका दरलाई यति वर्षसम्म निश्चित बनाएर नचलाइ राख्छु भनेर सरकारले पहल गर्यो भने सरकारलाई हामी सहयोग गर्न तयार छौं । सवारीका पार्टस् पुर्जा एवं सहायक पदार्थहरूको उत्पादनतर्फ के कति काम भइरहेको छ ? पार्टस् पुर्जा यहाँ धेरै उत्पादन भएको पाइँदैन । यहाँ टायर, ब्याट्री तथा लुब्रिकेन्टका उद्योगहरू सञ्चालनमा आइरहेका छन् । यिनै कुरा हेर्दै सोच्दै अगाडि बढ्दै जान सक्छ भन्ने मेरो आशा हो । अटो व्यवसायीहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण छैन भन्छन् व्यवसायीहरू नै । विभिन्न ब्राण्डको लिडरसिप खोसाखोस भइराखेको हामीले नै देखिरहेका छौं । फेयर ट्रेडको वातावरण बनाउन नाडाले केही गर्न सक्दैन ? यसमा यहाँको आयातकर्ता र प्रिन्सिपल दुवैको बिचमा समझदारी हुन्छ । उहाँले त्यो समझदारी कतिको सुदृढ बनाउन सक्नुहुन्छ । जुनदिन सुदृढ हुन्छ त्यो दिन आफै यी समस्या समाधान हुँदै जानेवाला छ । जबसम्म आफ्नो समस्याको समाधान दिन गाह्रो छ तबसम्म यस्ता किसिमको खबर सुनिरहेकै हुन्छौं । तपाईं अटो व्यापारमा नै जन्मे हुर्केको मान्छे । विश्व परिवेश र नेपालको परिवेश पनि तपाईंलाई थाहा छ । नयाँ सवारी किन्दै गरेको उपभोक्तालाई तपाईंको सुझाव के छन् ? सामान्य उपभोक्ताले थोरै मूल्यमा तिरेर दीर्घकालीन लाभ कसरी लिन सक्छन् ? अहिलेको सरकारको नीति, समय र यो परिस्थितिमा त्यो असम्भव छ । किनभने सकारकाले जससम्म हाम्रो देशमा मुभिलिटी महत्वपूर्ण छ भनेर सोच्दैन तबसम्म हामीलाई यो समस्या सधैं रहने छ । उपभोक्ताले सहुलियतभन्दा पनि धेरै मूल्य तिरेर गाडी तथा बाइक लिनुपर्छ । कुनै एउटा सानो ढुवानी उद्योगमात्र सुरु गर्याे भने पनि ढुवानीका सवारीहरू सडकमा थन्किरहेका हुन्छन् । कारण हो, भारतीय गाडीले सामान ठाउँसम्म पुर्याउनु। त्यसमा सरकारले नीतिगत सुरु गर्याे भने यहीका मान्छेले रोजगारी पाउँछन् । सानासाना विषयलाई सुधार गर्न सकियो भने देशलाई ठूलो राहत हुन्छ । निजी सवारी साधनामा उपभोक्ताको रूचि र प्राथमिकतामा कस्तो परिवर्तन आइरहेको छ ? निजी सवारी साधनामा उपभोक्ताको रुचि र प्राथमिकतामा ठूलो मात्रमा परिवर्तन आउनुपर्ने हो । तर, त्यो आउन सकेको छैन । १० वर्षअघि र अहिले हेर्नुभयो भने केही न केही परिवर्तन आएको छ । किनभने मान्छेहरूको परिवार वृद्धि हुँदैछ । परिवार वृद्धि भएपछि बाइकभन्दा अरू अप्सन रोजिरहेको पाइन्छ । त्यसमा धेरै थोरै गरेर बिस्तारै बढ्दै छ । सरकारले जुन स्केलमा सोच्नुपर्ने हो त्यो स्केलमा चाहिँ भएको छैन । सार्वजनिक यातायात सेवा पनि गुणस्तरीय छैन । निजी सवारी पनि ज्यादै महँगो छ । ट्राफिक जामको समस्या त्यस्तै छ । यस्तो समस्याबाट मुक्ति दिलाउने उपाय के हुन सक्छन् ? ट्राफिक जामको कारण हामी नै हौं । गाडी चलाउँदा ट्राफिक नियम कतिको पालना गर्छौं भन्ने विषयको विश्लेषण आफैं गर्न सक्नुपर्छ । जुनदिन हामी त्यो गर्न थाल्छौं ट्राफिक जाम आफैं कम भएर जाने छ । ट्राफिक जाम न्यूनीकरणका लागि धेरैले पब्लिक ट्रान्सपोटेसनको प्रयोग गर्नुपर्छ भन्छन् । त्यसमा म पनि सहमत छु । तर, पब्लिक ट्रान्सपोटेसन भएपछि सफा, सुरक्षित हुनुपर्यो, समयमा पुग्ने हुनुपर्यो । तबमात्र कसैले त्यसको प्रयोग गर्छ । रोजगारीमा जो-जो लाग्नुभएको छ उहाँहरूलाई त अफिस समयमा पुग्नु छ । अनि पब्लिक ट्रान्सपोटेसनमै समस्या आयो भने त्यसप्रति मान्छेले गर्ने विश्वास गुम्छ । विकसित देशमा आज ठूलाठूला मान्छे पनि पब्लिक ट्रान्सपोटेसनको प्रयोग गर्छन् । किनभने त्यहाँको ट्रान्सपोटेसन एकदमै सुरक्षित छ । त्यसैले यहाँ पनि प्रविधिको प्रयोग गरी सोही किसिमको ट्रान्सपोटेसनको सुरुवात गर्न सक्छौं । अन्त्यमा, तपाईंले कार्यभार समालेर काम गर्दै गर्दा र कार्यभार सकिँदै गर्दासम्मको अवधिमा अटो क्षेत्रमा के सुधार आएको व्यवसायीले अनुभूति गर्न पाउने छन् ? अहिले व्यवसायीहरूमा जुन निराशा छ । त्यसमा थोर बहुत मलमपट्टी लगाएर भए पनि आशा जगाउने छु ।