संस्थापक लगानीकर्तालाई अछुतको व्यवहार भैराखेकोछ-अम्बिकाप्रसाद पौडेल

        अम्बिकाप्रसाद पौडेल अध्यक्ष एनबी इन्सुरेन्स कम्पनी लिमिटेड[divider] तपाईको नेतृत्वमा एनबी इन्स्योरेन्समा सञ्चालक समिति बनेको एक महिना बित्न लाग्यो, सञ्चालन किन नभएको ? कम्पनीको सञ्चालक समिति गठन भएको छ । आर्थिक क्रियाकलाप भने केही पनि अगाडि बढाएका छैनौं । कम्पनीको विगत तीन आर्थिक वर्षदेखि लेखापरीक्षण भएको छैन । चार वर्षदेखि वार्षिक साधारण सभा भएको छैन । हामी पहिले अडिट गरौं, नयाँ डीडीए गरौं, कम्तिमा माथिल्लो तहको कर्मचारी व्यवस्था पनि गरौं र त्यसपछि मात्र व्यवसायिक काम शुरु गरौं भन्ने सोचेका छौं । अहिले त हामीले बाँकी रहेका दाबी भुक्तानी गरिरहेका छौं । पुराना मुख्य समस्याहरु टुङ्गाएर नयाँ व्यवस्थापन टिमले यसलाई अगाडि बढाउनेछ । कम्पनी कहिलेदेखि सञ्चालन गर्ने सोचमा हुनुहुन्छ ? नयाँ वर्ष २०७२ सालमा हामी बीमा क्षेत्र क्षेत्रलाई नयाँ उपहार दिनेछौं । एउटा कोमामा रहेको कम्पनीले पुनर्जन्म लियो भन्ने सन्देश लगानीकर्ता तथा यस क्षेत्रलाई दिनेछौं । ढिलोमा बैशाख एक गते सञ्चालनमा आउनेछौं । हामी नयाँ वर्ष २०७२ सालको शुरुवातदेखि नै हामी कम्पनी ‘स्मुथली’ रन गर्छौ । आजको मितिमा एनबी इन्स्योरेन्सको वित्तीय अवस्था कस्तो ? कम्पनीमा सर्वसाधारण र संस्थापक गरेर १४ करोड रुपैयाँको चुक्तापूँजी छ । कम्पनीको डीडीएको प्रारम्भिक तथ्यांक हेर्ने हो भने १५ करोड रुपैयाँ दायित्व रहेको देखिन्छ । अहिले सरसर्ती हेर्दा प्रतिसेयर नेटवर्थ नकारात्मक नै छ । बीमा समितिले गरेको ड्यु डेलिजेन्स रिपोर्ट प्रतिसेयर प्रति सेयर पाँच रुपैयाँ नेगेटिभ नेटवर्थ भएको कम्पनीमा प्रतिसेयर ८५ रुपैया तिरेर किन्नुको कारण के हो ? कम्पनीको सम्पत्तिभन्दा दायित्व बढि भइसकेको अवस्थामा संस्थालाई सञ्चालन गर्न दिइरहेमा थप समस्या आउने देखेर बीमा समितिले कम्पनीको कारोबार पुरै बन्द गरेको हो । बीमा समितिको कम्पनीले गरेको ड्यु डेलिजेन्स अडिट रिर्पोट अनुसार दायित्व बढि देखिए पनि शंस्कास्पद देखिएका दायित्व समेत गणाना भएका छन् भने लिनुपर्ने शंस्कास्पद भुक्तानीहरु कुनै पनि गणना भएको छैन । लेखा सिद्धान्त अनुसार नै हो यो । तरपनि हामीले पनि त्यहा केही पैसा उठाउन सकौउला, कम्पनीमा रहँदा कसैले जघन्यै अपराध गरेका रहेछन भनेपनि त क्षतिपूर्ती लिन सक्ने अवस्था आउला नि । त्यही रकम पनि उठ्ला भन्ने हाम्रो अपेक्षा हो । हाम्रो बुझाइ र हेराईमा एनबी इन्स्योरेन्स भनेको एउटा स्थापित भइसकेको कम्पनी हो । कम्पनीको आफ्नो कर्मचारी, शाखा, राम्रो नराम्रो जे भएपनि गुडविल पनि छ । नयाँ कम्पनी खोल्नुभन्दा छिटोछरितो तरिकाले यस कम्पनीलाई एउटा ट्रयाकमा ल्याउन सकिन्छ भन्ने हाम्रो विश्वास हो । अर्काे महत्वपुर्ण कुरा, बीमा समितिले विगत लामो समयदेखि नयाँ बीमा कम्पनीको लागि अनुमति दिइरहेको छैन । यस्तोमा कतै न कतैबाट बीमा क्षेत्रमा प्रवेश गर्नुपर्छ भन्ने उदेश्यले पनि यो उपयुक्त विकल्प लागेर गरेका हौं । कम्पनीको गुडविलको पनि कुरा गर्नुभयो, के तपाईहरु एनबी इन्स्योरेन्स कै नाम बाट कम्पनी चलाउँदै हुनुहुन्छ वा नाम परिवर्तन गर्ने सोच छ ? सबै थोक नामले नै मात्र गर्छ भन्नेमा हामी विश्वास गर्दैनौं । एनबी इन्स्यारेन्सको नाम उही रहेपनि यो कम्पनी अर्काे समूहले सञ्चालन गरेको छ भन्ने सन्देश बजारमा गइरहेको पनि छ, जान्छ पनि । त्यस्तै, बीमा क्षेत्रमा कारोबार गर्ने ठुला–ठुला ग्राहक, हाउसहरुले हाम्रो उपस्तिथि थहा पाइसकेका पनि छन् । सासाना बिजनेशले एनबी वा गैरएनबी भनेर त्यती धेरै मान्यता राख्छ भन्ने मलाई लाग्दैन । तथापी नाम कै कुरामा पनि प्रक्रियागत कुरा हुन्छ । कसैले त्यति कै चहादैमा हुदैन । त्यसैले आम लगानीकर्ता सबैबाट नाम परिवर्तन गरौं भन्ने प्रस्ताव आएमा जाने छौं । तर तत्कालै नाम परिवर्तन गर्नुपर्छ भन्ने हामीले सोचेका छैनौं । कम्पनीको प्राथमिकता के के हुन् ? पहिलो प्राथमिकता नेपालको ऐन नियमको परिपालन गर्नु हो । हामी त्यसैले पूँजी संरचनालाई प्राथमिकतामा राखिरहेका छौं । कम्पनीको नेटवर्थ नेगेटिभ भएपनि कम्पनीमा ९९ प्रतिशत संस्थापकले कल इन एड्भान्समा रकम जम्मा गरिसकेका छन् । नेपालको पुँजीबजार यस्तो उदाहरण यसअघि स्थापित भए जस्तो हामीलाई लाग्दैन । अहिले हामीसंग १० करोड रुपैयाँ रहेको छ । हाम्रो अडिट प्रक्रिया अगाडि बढिसकेको छ, हामीले भुक्तानी तथा राफसाफ अगाडि बढाइ रहेका छौं । हामी जुन दिन व्यवसाय गर्ने हिसाबले सार्वजनिक हुन्छौं, त्यो दिन भएका कामहरु पनि देखाउन सक्ने अवस्थामा आउछौं । पुरानो समस्या सल्टाउनु र नयाँ व्यस्थापन टिम बनाएर राम्ररी काम गर्ने वातावरण बनाउनु पहिलो प्राथमिकता हो । कम्पनीको सेयर दोस्रो बजारमा कहिलेदेखि कारोबारमा आउला, कतिमा कारोबार होला ? हामीले गर्न लागेको डीडीएको प्रतिवेदन आइसकेपछि र सञ्चालन शुरु गरेसंगै नेप्सेमा कारोबारको लागि ओवेदन गर्ने छौं । सम्भवतः जेठसम्म सेयर कारोबार शुरु गर्न अवोदन दिनेछौं । हामी संस्थापकहरुले १० बराबर आठ अनुपातमा हकप्रद सेयर बराबर रकम पनि राखिसकेका छौं । एनबी समूहको पनि हकप्रद हामीले खरिद गरेका छौं । सर्वसाधारणमा पनि यही अनुपातमा हकप्रद सेयर जारी गर्छौ । हामीले यसको पुनर्बीमाको हिस्सामा पनि लगानी बढाउनु छ । नेप्सेमा सूचिकृत भएपछि कतिमा कारोबार हुन्छ भनेर मैले बोलेभने नेप्सेले मलाई स्पष्टीकरण लिने छ । त्यसैले यो विषयमा बोल्न चाहान्न । माथिल्लो व्यवस्थापनका कर्मचारी नियुक्ति प्रक्रिया कहा पुगेको छ ? हामीहरुलाई बिभिन्न आवेदन प्राप्त भएको छ । हामी सम्भवतः यही फागुन भित्रमा नियुक्त गरिसक्छौं । यस कम्पनीका कतिसमयमा प्रतिफल पाउँने प्रक्षेपण गर्नुभएको छ ? हामीहरुले हेर्दा दुई वर्षभित्र (आर्थिक बर्ष २०७२/७३) भित्रमा नेगेटिभ नेटवर्थलाई कम्तिमा पोजिटिभ बनाउछौं भन्ने लक्ष्य लिएका छौं । तपाई हाथवे इन्भेष्टमेन्ट कम्पनीको प्रबन्ध निर्देशक पनि हुनुहुन्छ । यो कम्पनीले भने कुन कुन क्षेत्रमा लगानी गरेको छ ? हाम्रो करिब ९० करोड रुपैयाँ बराबरको कुल लगानी छ । त्यसमध्ये १५ प्रतिशत रियलस्टेट क्षेत्रमा छ । एनबी इन्स्योरेन्स, दोर्दी लगायत हाइड्रोपावर जस्ता दीर्घकालिन क्षेत्रमा पनि केही लगानी छ । बाँकी भने सेयरमा लगानी गरेका छौं । बिशेषगरी बीमा, बैंक, विकास बैंक र वित्त कम्पनीको सेयरमा लगानी गरेका छौं । बीमा कम्पनीहरुमा नेपाल लाइफ, नेशनल लाइफमा छ । नेपाल लाइफमा हाम्रो ५०/६० हजार कित्ता बराबर रहेको छ । अन्य लाइफ र नन लाइफमा पनि छ । बैंकहरुमा भने प्राय सबैमा छ । रकमको हिसाबले हेर्दा नविल, एभेरेष्ट लगायत ठूला बैंकहरुमा छ तर सेयर संख्याको आधारमा सानामा धेरै देखिन्छ । लघुवित्त कम्पनीहरुमा लगानी गर्नुभएको छैन ? लघुवित्तमा लगानी छैन । बीमा कम्पनीमा हामीले अन्य क्षेत्रभन्दा धेरै कमाइ गर्यौं । हामीले बीमा कम्पनी छ सात सय मै किनेका थियौं, त्यसो त संस्था नै लघुवित्त भनेको जस्तो नि रह्यो । त्यस्तै बैंकहरुको प्रतिफलसंग तुलना गर्दा लघुवित्तमा लगानी उचित देखिएन । त्यसैले त्यस क्षेत्रमा लगानी गरेनौं । लघुवित्त कम्पनीहरुको मूल्य त अहिले निकै बढेको छ , लगानी गनुपर्ने रहेछ जस्तो लागेको छैन ? म बजारमा कुन वेभ आएको छ भन्नेमा त्यति विश्वास गर्दिन । हामी प्राविधिक, आधारभुत र मनोवैज्ञानिक विश्लेषण गर्छाै । यो क्षेत्रमा मनोवैज्ञानिक रुपमा वृद्धि भएको हो । बीमा पनि कहिले काँही यस्तै देखिन्छ । खासमा यो माग र आपूर्तिको कारणले मूल्य बढेको हो । ‘माग र आपूर्ति’ ले आएको कुरामा हामी त्यति विश्वास गर्दैनौं । जस्तो कुनै जगमा आधा पानी राखेर छल्काइदियो भने पनि पानीको सतह माथी आएको देखिन्छ । तर जब पानी छछल्किन छोड्छ पुरानै अवस्थामा आउँछ । त्यसैले माग र आपुर्तिमा खेलेर बढाइएको सेयरमा पछि लाग्नु हुँदैन । तर बोनस सेयरकै आशामा लगानीकर्ताहरुले बीमा र लघुवित्तमा लगानी गरिरहेका पनि देखिन्छन त ? बीमा क्षेत्रमा हेर्ने हो भने दैनिक रुपमा वृद्धि छ । बीमा कम्पनीहरु खोलिने क्रम रोकिएको छ । बजार बढिरहदा बीमा कम्पनी संख्या बढेको छैन । त्यसैले बीमा कम्पनीको वृद्धि २०/२५ प्रतिशतसम्म छ । त्यसको बजारको वृद्धि अझ बढी हुन्छ । लघुवित्त तर्फ समस्या चुनौति के छन् भने लगालग नयाँ लघुवित्त कम्पनीहरु आइरहेका छन । कम्पनी बढेको छ, तर व्यवसाय संकुचित हुदैछ । वाणिज्य बैंकहरु आफैले एसएमई भनेर ५० हजार रुपैयाँ सम्मको कर्जा दिन्छन् जिल्ला जिल्लामा । विकास बैंक, वित्त कम्पनीले समेत साना तथा मझौला कर्जा बढाइरहेका छन । यस क्षेत्रमा कर्जा विस्तारमा डुब्लिकेशनको धेरै कुराहरु आइरहेको छ । कम्पनीहरुको उदेश्यभन्दा बाहिर रहेको लुप होलबाट कमाइरहेका छन । त्यसैले भोलीको सम्भावना कम होला भनेर लगानी नगरेका हो । अल्पकालमा लगानी गर्ने उदेश्यले सामूहिक लगानी कोष जस्ताले पनि यी कम्पनीका सेयर खरिद गरिरहेका देखिन्छन् । तरपनि अल्पकालमा लगानी गर्ने सेयर त तत्काल बिक्री गर्न सकिने ‘लिक्विड’ हुनुपर्दछ । यी क्षेत्रको सेयर ‘हाइली लिक्विड’ हुनुपर्छ । तर यो क्षेत्रको सेयर सिजनेवल देखिन्छ । तपाईले चाहेको समयमा बिक्री गरेर निस्कन हुन समस्या छ । मलाई अल्पकालमा ठूलो परिमाणमा यस्ता सेयरमा लगानी गर्न हुन्छ भन्ने नलागेर हो । केही लगानी भने गरेका छौं । संस्थापक सेयर र सर्वसाधारण सेयरमा विभिन्न विभेद छ त्यसलाई कसरी हेर्नुभएको छ ? यो विभेद हुनुहुदैनथ्यो भन्ने मेरो बुझाइ हो । संस्थापक सेयरमा एउटा निश्चित समयपछि खुला गरिनुपर्छ । संस्थापक संस्था जन्माउने आमा हो । बच्चा नहुर्किउन्जेलसम्म जसरी आमाबाबुको दायित्व हुन्छ, कम्पनीको पनि त्यस्तै हो । तर बच्चा परिपक्व भएपछि छोरालाई च्यापेर राख्नु पर्छ भन्ने जस्तै विभेद संस्थापक सेयरमा छ । संस्थापकलाई निश्चित अवधिपछि सेयर किनबेचमा खुकुलो बनाइदिनु पर्दथ्यो । अर्काे कुरा तपाईले लगानी गर्ने पनि त्यही सय रुपैयाँ हो भने संस्थापक लगानीकर्ताले गर्ने पनि उही । प्रवद्र्धक र साधारण सेयरबारे अन्तराष्ट्रिय अभ्यास कस्तो छ ? प्राय सबैजसो देशमा निश्चित समयअवधि पछि संस्थापक सेयर माथिको बन्धन फुक्का गरिन्छ । यस्तो अवधिपछि सर्वसाधारण र संस्थापक सेयरबीचको अन्तर नै रहदैन । मैले नेपालको लागि सुझाउन पर्यो भने यस्तो वर्गिकरणको अवधि पाँच वर्षको उचित मान्छु । यदी यसभन्दा लामो समय राख्ने हो भने पनि चरणबद्ध रुपमा निश्चित प्रतिशत संस्थापक सेयरलाई फुक्का गर्दै जाने छुट दिनुपर्छ । हुनसक्छ, दायित्व लगायतका विषयमा त्यही अनुसार चरणबद्ध रुपमा परिवर्तन गर्दै लैजानु पर्दछ । तर कारोबार मूल्य र रकममा नै विभेद गरिनु हुदैन । हाथवे इन्भेष्टमेन्ट कम्पनीले प्रमोटर सेयरमा लगानी गरेको छ कि छैन ? हामीले संस्थापक सेयरमा भन्दा सर्वसाधारण सेयरमा नै बढी लगानी गरिरहेको हुन्छ । मैले चाहेर पनि संस्थापक सेयर किन्न सक्दिन । बाफियाले पनि तीन बर्षसम्म नाफामा गएको कम्पनीले मात्र बैंक तथा वित्तीय संस्थाको सेयर किन्न सक्ने व्यवस्था गरेको छ । मेरो इन्भेष्टमेन्ट कम्पनी यो बीचको एक बर्षमा नोक्सानमा गयो भने पनि सेयर किन्न पाउँदिन । यदी कुनै कम्पनीले १० हजार मात्र रुपैयाँ कमायो भने पनि उसले सेयर खरिद गर्न सक्ने तर मेरो कम्पनीले नोक्सानमा गएपछिको अर्काे वर्ष नै एक करोड कमाए भनेपनि किन्न नपाउने ? यस्तो नियम व्यवहारिक भएन । संस्थापक सेयरधनीका मुुख्य पीडा के के हुन् ? पहिलो समस्या सेयर खरिद बिक्री नै नहुनु हो । संस्थापक सेयरधनी आफैले खरिदकर्ता खोज्नु पर्ने हुन्छ । बजारमा कुनै पनि ब्रोकरले खरिद कर्ता खोजि दिदैनन् । दुनियाँका कुनै पनि देशमा कर्जा तथा स्वआर्जनले संस्थापक सेयर खरिद गर्न पाइन्छ, यहाँ कर्जा लिएर संस्थापक सेयर खरिद गर्न नै पाइदैन । संस्थापक सेयरको सूचीकरण मै विभेद छ । व्यवस्थापनमा बस्ने संस्थापकलाई त ठिकै होला, अन्यलाई अछुत नै मानेको छ । अन्यलाई कम्पनीहरुले बार्षिक साधारण सभामा पनि बोलाउँछ, बोलाउँदैन त्यतिकै पिडा, सेयर बेच्न गयो मूल्य आधा भन्छ । खरिद गर्ने मान्छे आफैले खोज्नुपर्छ । लाभांशमा एक रुपता छ र चित्त बझाउन सकिरहेका छन् ।

क्यान महासंघलाई जोगाउन मेरो नेतृत्व आवश्यक छ

२०५१ सालदेखि नेपालको सुचना प्रबिधीका क्षेत्रमा लागेका बिनोद ढकाल क्यानको वर्तमान कार्यसमितीम अध्यक्ष छन् । क्यानलाई महासंघ बनाउने अभियानको मुल नेतृत्व गरेका ढकाल क्यान महासंघको प्रथम साधारण सभाबाट अध्यक्ष बन्ने दौडमा छन् । क्यानको सचिव, महासचिव र उपाध्यक्ष हुँदै अध्यक्ष बनेका ढकाल महासंघको प्रथम अध्यक्ष बन्ने दौडमा सामेल भैरहेका बेला बिकासन्युज डटकमले गरेको कुराकानी ।     तपाइँको उम्मेदवारी केका लागि ? म क्यान नेपालको वहालवाला अध्यक्ष हुँ । दशकौं देखि क्यानलाई महासंघ बनाउने अभियान जारी थियो । मेरो अथक प्रयास र नेतृत्वमा क्यान महासंघका रुपमा दर्ता भएको छ । अरुले बर्षाै प्रयास गर्दा पनि नसकेको काम मेरो प्रयासमा सम्पन्न भएको छ । क्यानको इतिहासमा र नेपालको आइसीटीको क्षेत्रमा यो नै अहिलेसम्मको सबै भन्दा ठुलो उपलब्धि हो । क्यानलाई महासंघ बनाउने काम लाग्दा लाग्दै अन्य महत्वपुर्ण कामहरु गर्न सकिएको थिएन् । अब महासंघको नेतृत्वमा बसेर ती कामहरु गर्ने सोच बनाएको छु । क्यानलाई मेरो खाँजो र मेरो योगदानको कदर पनि हुनु पर्छ । मैले अझै क्यानलाई धेरै योगदान दिन सक्छु त्यसैले पनि उम्मेदवार बनेको हुँ । मसँग क्यानलाई अझै गतिशितल र शसक्त बनाउने योजना छ । तपाईका एजेण्डाहरु के के हुन् ? आईसीटी क्षेत्रलाई उद्योगका रुपमा बिकास गराउने, क्यानको छविलाई सुधार्ने, ऐन कानुनमा सापेक्ष परिवर्तनका लागि दबाव सञ्चालन गर्ने, क्यानका संगठनलाई चुस्त दुरुस्त बनाउने, नेपाललाई सुचना प्रबिधीको हाईवेमा अग्रसर गराउने अनि नेपाली आईसीटी विज्ञहरुलाई दक्ष बनाउने मेरा एजेण्डाहरु हुन् । जित्ने आधारहरु के के हुन् ? मैले क्यानमा गरेको मेहनत र दिएको उपलब्धि नै मेरो जित्ने आधार हुन् । क्यानलाई महासंघ बनाएर ऐतिहासिक सफलता दिलाएको छु । यो मेरो र मेरो कार्यसमितीका साथीहरुको साथ, सहयोग र समर्थनको फल हो । यस बाहेक जिल्लाहरुबाट पनि राम्रो साथ पाईरहेको छु । काठमाडौंमा मेरो बिशेष पकड छ, क्यानको वर्तमान कार्यसमितीमा मेरो पक्षमा स्पष्ट बहुमत छ । क्यानलाई माया गर्नेहरुले, क्यानको हित चिताउनेहरुले बिनोद ढकाललाई अध्यक्ष बनाउँछन् । क्यान महासंघका लागि आगामी योजना के के छन् ? हामी क्यानका लागि मरिमेटेर लागि पर्दै आएका छौं । जीवनको उर्जावान र महत्वपूर्ण समय क्यानकै लागि सुम्पिएका छौं । क्यानको उन्नती र प्रगतिमा नै सिंगो मुलुक र मेरो व्यक्तिगत जिवनले पनि सार्थकता पाउने छ । क्यानलाई शसक्त बनाउने, नेपालको आईसीटी क्षेत्रको बिकास, विस्तार र प्रवद्र्धन गर्ने, जनताका पहुँचमा आईसीटी पु¥याउने योजना छन् । ति सबै योजनालाई कार्यान्वयन गर्नका लागि अध्यक्षमा विजयी हुनु आवश्यक छ । क्यानको सुनौलो भविष्यका लागि मेरो समुहलाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु । तपाईँले फर्जि मत मार्फत क्यान कब्जा गर्न खोजेको आरोप छ नी ? त्यो त आरोपका लागि आरोप मात्रै हो । सदस्यको टुङगो लगाउने समितीमा उहाँहरुको पनि संलग्नता छ । उहाँहरुको सहमति बिना कुनै पनि काम अघि बढाएको छैन् । सदस्यताको टुङगो पनि दुबै समुहले मिलेर गरेका हौं अनि कसरी फर्जिको कुरा आउँछ । त्यो त बिरोध गर्ने बहाना मात्रै हो ।

शसक्त र एकतावद्ध क्यानको नाराले मेरो जित सुनिश्चित भैसक्यो

कम्प्युटर एसोसियसन अफ नेपाल(क्यान महासंघ)को प्रथम साधारण सभा फागुन १६ गते राजधानीमा सम्पन्न हुँदैछ । आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएपछि वर्तमान कार्यसमितीमा उपाध्यक्ष रहेका नारायण न्यौपाने प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । लुम्बिनीको रुपन्देही स्थायी घर भएका ३२ बर्षिय न्यौपानेले पुर्वाञ्चल विश्वविद्यालयबाट आईटीमा स्नातक गरेका छन् भने सिक्किम मणिपाल युनिभर्सिटीबाट सन २००९ मा आईटीमै स्नातकोत्तर गरेका थिए । उनी सुचना प्रबिधी समाजका संस्थापक अध्यक्ष हुन् भने विज्ञान मन्त्रालयको सुचना प्रबिधी बिकास समितीमा निजी क्षेत्रका तर्फबाट प्रतिनिधित्व गरिरहेका छन् । एच एण्ड बी डेभलपमेन्ट बैंकमा तीन बर्षसम्म आईटी प्रमुखका रुपमा काम गरेका न्यौपानेले विज्ञान मन्त्रालय पुनसंरचना सुझाव समितीमा समेत आईटी क्षेत्रको प्रतिनिधत्व गरिसकेका छन् । हलमार्क इन्फोसिसका प्रबन्ध निर्देशक रहेका न्यौपानेकै अगुवाईमा डिजिटल सिग्नेचरको कारोबार गर्ने नेपाल सर्टिफाईङ कम्पनी सुरु भएको छ । कम्पनीमा उनी प्रमुख सञ्चालक अधिकृतका रुपमा काम गरिरहेका छन् । नेपालमा सुचना प्रबिधीका क्षेत्रमा आईपर्ने जोखिम न्युनिकरणका लागि भर्खरै गठन भएको आईटीसर्ट एनपीका समेत उनी संस्थापक महासचिव हुन् । क्यानमा कार्यसमिती सदस्य हुँदै सचिव, महासचिव र उपाध्यक्षको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरिसकेका न्यौपाने क्यान महासंघको प्रथम अध्यक्ष बन्न तम्सिएका छन् । उनै न्यौपानेसँग बिकासन्युज डटकमले गरेको कुराकानी / तपाईको उम्मेदवारी किन ? मैले आफ्नो उम्मेदवारी दिँदा दुई तीनवटा कुरालाई बढि जोड दिएको छु । क्यान भर्खर महासंघ बनेको छ । काम गर्ने तौरतरिका पुरानै छ । पुरानालाई सम्मान गर्दै नयाँ पुस्ताको उर्जालाई सदुपयोग गर्ने योजना बनाएको छु । नयाँ र पुराना व्यवसायीहरुको साझा सहभागीतामा नेपालमा सुचना सञ्चार प्रबिधीको बिकास गर्नका लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ । सूचना प्रबिधीलाई उद्योगका रुपमा बिकास गराउने योजना पनि छ । पुरानाको योगदानको उच्च कदर गर्दै नयाँ पुस्ताको उर्जालाई अधिकतम सदुपयोग मार्फत शसक्त र एकतावद्ध क्यान महासंघको निर्माणका लागि मैले उम्मेदवारी दिएको हुँ । क्यान महासंघका मतदाताले तपाईलाई किन अध्यक्ष बनाउने ? मैले क्यानको कार्यसमितीको सदस्य हुँदै सचिव महासचिव र उपाध्यक्षसम्मको जिम्मेवारी कुशलता पुर्वक पुरा गरिसकेको छु । मेरो भूमिका र योगदानलाई हेरेर साथीहरुले उम्मेदवार बन्न आग्रह गरेका हुन् । क्यानको शाखलाई जोगाउन साथीहरुले उम्मेदवार बनन अनुरोध गरेपछि उम्मेदवार बनेको हुँ । पछिल्लो समयमा क्यानको मुल नेतृत्व प्रति सदस्यहरुको धारणा खासै राम्रो देखिन्न । क्यानलाई सुचना सञ्चार प्रबिधीमा संलग्न सदस्यहरुको साझा संस्थाका रुपमा स्थापित गराउनु छ । आईसीटीको बिकासमा क्यानको भुमिका चाहने र यसलाई उद्योगको मान्यता दिलाउन चाहनेहरुले मलाई अध्यक्ष बनाउने हो । अर्काे महत्वपुर्ण कुरा भनेको क्यानमा नेतृत्व परिवर्तनका पक्षमा पनि बुलन्द आवाज उठेको छ । आफ्नो क्षमताले भ्याए जति काम एक कार्यकालमा गर्न सकिन्छ । दोश्रो कार्यकालमा नयाँ योगदानको सम्भावना रहँदैन् । नयाँ मान्छेबाट नयाँ क्षमता र योगदानको अपेक्षा गर्ने हो । नेतृत्व जाम गराउने कुरा पनि न्याय संगत हुँदैन् । क्यानका मेलाहरुप्रति सर्वसाधारणहरुको आकर्षण घटेको छ, त्यसलाई कसरी बढाउनु हुन्छ ? क्यानको मुल नेतृत्वले क्यानलाई इन्फोटेक र सफ्टेक आयोजकका रुपमा मात्रै चित्रित गर्दै आएको छ । त्यसलाई पनि सफल बनाउन सकेको छैन् । पछिल्लो समय अवलोकन कर्ताहरुको संख्या पनि घटिरहेको छ । आईसीटीलाई उद्योगका रुपमा बिकास गराउने, नीति नियमका परिमार्जन, व्यवसायीकताको बिकास, व्यवसायीक एकता, आईसीटीको बिकासमा क्यानको मुख्य भुमिका हुनुपर्छ । पर्यटन, कृषि, शिक्षा क्षेत्रमा पनि आईसीटीको भुमिका खोज्नु पर्छ । क्यान अहिले केहि व्यक्तिहरुको स्वेच्छाचारितामा चलेको छ । म अध्यक्ष भएँ भने सदस्यहरुकोबिचमा अपनत्व महशुस गराउने छु । क्यानलाई ब्राण्डिङ गराउने छु । सुदुर पुर्वदेखि सुदुर पश्चिमसम्म क्यानको विस्तार तथा आईसीटीको बिकासका योजना के के छन् ? क्यान महासंघको गठन नै त्यसकै लागि भएको हो । क्यानका जिल्ला शाखाहरुको शसक्तिकरण मार्फत नै देशमा आईसीटीको बिकास सम्भव हुन्छ । त्यो मेरो महत्वपुर्ण प्राथमिकताको बिषय हो । त्यसैले पनि जिल्ला शाखाहरुले मलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । तपाईले जित्ने आधारहरु के के छन् ? मसँग जिल्ला शाखाहरुको राम्रो साथ छ । क्यानका संस्थापकहरुको मलाई सहयोग छ । क्यानका संस्थापक सिएन उपाध्याय, पुर्व अध्यक्ष बिप्लवमान सिंह लगायतको सहभागीताले मेरो टिमलाई बलियो बनाएको छ । आईर्टीस नेपालका सभापति चन्द्र बिलाश भुर्तेल, टेलिकमका प्रतिनिधी पनि मेरो टिममा छन् । प्राइम कलेजका नरेश श्रेष्ठ लगायतको उम्मेदवारीले मलाई झन बलियो बनाएको छ । मुख्य कुरा एजेण्डा नै हुन् । क्यान महासंघको प्रगतिका लागि मसँग ठोस योजना छन् । त्यसकारण मेरो जित सुनिश्चित छ । फर्जि सदस्यताको चर्चा पनि चलेको छ नी ? क्यानको सत्तामा बसेर शक्तिको दुरुपयोग भैरहेको छ । अन्तिम समयमा आएर अबैधानिक रुपमा सदस्यता थपिएको देखिन्छ । तर पनि मेरो जित सुनिश्चित छ । उनीहरुले भर्ति गरेका सदस्यहरुले समेत मलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आईसीटीमा लागेका मान्छेहरु प्रलोभनमा पर्दैनन् । विवेकको अधिकतम प्रयोग गर्छन् । त्यसैले पनि म अत्तालिएको छैन् । क्यान महासंघलाई एकतावद्ध बनाउन पनि नारायण न्यौपाने चाहिन्छ भन्नेमा मतदाताहरु सचेत छन् ।