समस्या भ्रष्ट मानसिकतामा

नेपालको शासनसत्तामा आरोह-अवरोह काटमार र छलकपटबाहेक केही पनि छैन । भीमसेन थापा जेलमै सड्नु पर्‍यो । फत्तेजंग चौतारी र माथवरसिंह थापा लगायतहरू काटिनु पर्‍यो । जंगबहादुरको उदय हुन कोतपूर्व घट्नु पर्‍यो ।  राणाशासनको पतन गर्न शहीदहरूले रगत बगाए । प्रजातन्त्र प्राप्त गर्न धेरै मान्छे मर्नु पर्‍यो । समकालीन राजनीतिक दललाई सत्तामा पुर्याउने धेरैले ज्यान बलिदान दिए । १७ हजार मानिसको बलिदानपछि माओवादी सत्तामा पुग्यो । राजालाई सत्ताच्युत गरी दलको शासन प्रारम्भ गर्न धेरै मान्छे जनआन्दोलनको क्रममा मृत्युवरण गरे । हरेक परिवर्तनको निर्णायक बिन्दुमा कुनै न कुनै रूपमा हिंसाको राजनीति निर्णायक भयो ।  कोतपर्वपछि राणा बलिया भए । २००७ सालपछि राजा बलिया भए । २०४६ सालको आन्दोलन, १० वर्षको सशस्त्र द्वन्द्व र २०६३ सालको आन्दोलनले राजनीतिक दल बलिया भए अनि सत्ता सम्हाले ।  यही भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन पनि हिंसात्मक र ध्वंशात्मक बन्यो । धेरै युवाले ज्यान बलिदान गरे । संसद, सिहंदरबार, अदालत, सञ्चार, औद्योगिक प्रतिष्ठान र निजी घरमा व्यापक तोडफोड, लुटपाट र आगजनी भयो। अहिले अर्को पक्ष सत्तामा आइपुगेको छ । रक्तपातपूर्ण यात्राबाट सत्तारोहण जारी छ । यद्यपि, बिचरा जनता कहिल्यै बलिया हुन पाएनन् ।  हामीले सधैं व्यवस्थामा समस्या देख्यौं, संविधानमा र पद्धतिमा समस्या देख्यौं । तर, हाम्रो व्यवहार, नैतिकता र जीनमा भएको समस्या बिर्सियौं । ठूलो समस्या भ्रष्ट मानसिकतामा छ भन्ने बिर्सियौं ।   भ्रष्ट मानसिताको सम्बन्धमा एउटा अन्तर्राष्ट्रिय प्रसंगबाट सुरु गरौं । हालै २०२५ सेप्टेम्बरमा फ्रान्समा ‘ब्लक एभ्रिथिङ’ नामक आन्दोलन चलिरहेको छ । फ्रान्सका राष्ट्रपतिले एमानुएल माक्रोनले त्यहाँ दुई वर्षमा पाँचवटा प्रधानमन्त्री फेरिसकेका छन् । यो प्रदर्शन पनि एक्स, टिकटक, टेलिग्राम, फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत संगठित छ । यसमा नागरिक स्वतफूर्त सहभागी रहेका छन् । उनीहरूले कारफोर, अमेजन, ओशाँजस्ता ठूला खुद्रा पसलहरूको बहिष्कार, बैंकबाट पैसा झिक्ने अभियान, नगरपालिका भवनजस्ता प्रतीकात्मक स्थानहरूको शान्तिपूर्ण कब्जा, छिमेकी सभा र हड्ताल कोष स्थापना जस्ता कार्य गर्दै आएका छन् ।  उक्त प्रदर्शन हुनुको पछाडि नयाँ प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले राष्ट्रिय बजेटबाट ४३.८ मिलियन फ्रांक कटौती, घाटा घटाउने योजना, दुईवटा राष्ट्रिय बिदा हटाउने प्रस्ताव, पेन्सन फ्रिज गर्ने निर्णय र स्वास्थ्य क्षेत्रमा ५ अर्ब फ्रांकको कटौती गर्ने जस्ता कार्यक्रमका विरुद्ध छन् । नेपालमा पनि भर्खरैमात्र भ्रष्टाचार नियन्त्रण र सुशासन सुनिश्चितताको माग गर्दै युवापुस्ता जेनजीले गरेको आन्दोलनको कारण सरकार विघटन भई नयाँ सरकार निर्माण भएको छ । युवाले राजनीतिक र प्रशासनमा हस्तक्षेप बढाई भ्रष्टाचार निर्मूल पार्न अठोट गरेका छन् ।  फ्रान्स र नेपालमा सँगसँगै आन्दोलन भएपनि मागहरूमा व्यापक फरक छ । फ्रान्सको आन्दोलन नागरिकले प्राप्त गर्ने शासकीय सेवासुविधा कटौतीको विषयमा छन् भने नेपालमा जेनजीका माग शासकीय सुधार र सुशासनमा केन्द्रित छन् ।  सरकार विरुद्धको आन्दोलन धनी र गरिबी दुवै देशका नागरिकले गर्दछन् । फ्रान्स हाम्रोभन्दा विकसित र कम भ्रष्टाचार हुने मुलुकको सूचीमा पर्दछ । फ्रान्स भ्रष्टाचार सूचकांक, २०२५ मा १०० मा ६७ अंक प्राप्त गरी अंकतालिकाको २५औं स्थानमा रहेको छ । जबकि नेपाल ३४ अंक प्राप्त गरी १०७ औं स्थानमा रहेको छ । यसको अर्थ हो- नेपाल अत्यधिक भ्रष्ट मुलुकमा पर्दछ भने फ्रान्स भ्रष्टाचार निकै कम हुने मुलुकको सूचीमा पर्दछ । नेपालका भ्रष्टाचार बढ्दै जानुका पछाडि विविध कारण भएता पनि जवाफ दिनु नपर्ने डिप स्टेट प्रणालीको विकास हुनु नै हो ।  नेपालमा भ्रष्टाचार निवारणका विधिगत प्रयास आजभन्दा ३५ वर्ष अगाडिबाट नै भएको हो । यद्यपि अपेक्षाकृत रूपमा भ्रष्टाचार न्यूनीकरण हुन सकेन । यसका पछाडि धेरै कारण होलान् । त्यसमध्येको एउटा कारण हो– भ्रष्ट मानसिकता । अझ तिखो रूपमा भन्दा लुटेरा मानसिकता हो ।  भ्रष्ट मानसिकता के हो र कोसँग छ भन्ने केही तथ्य उजार गरौं । २०८१ साल चैत्रमा  दुर्गा प्रसाईंहरूले राजा फर्काउन गरेको आन्दोलनमा लुटपाट मच्चियो । खासगरी नेपाली व्यापारी मीनबहादुर गुरुङले सञ्चालन गरेको भाटभटेनी लुटियो । दिनदहाडै  लुटपाट भयो । राज्य निरीह सावित भयो । त्यही समयमा यातायात बन्द भयो, कर्फ्यु लाग्यो, सवारीसाधन चल्न पाएनन् । त्यही मौकामा पठाओ, राइडरहरूले अफलाइन सेवा दिए । सय रुपैयाँमा यात्रा गर्न सकिनेमा दुई/तीन समय समेत लिन भ्याए । अप्ठ्यारोको बेला मानवीयता देखाउनु पर्नेमा झन् लुटियो । यिनै राइडरहरूले पंक्तिकारसँग कयौं पटक नेता, कर्मचारी र व्यापारी सबै भ्रष्ट भएको सुनाउँदै गाली व्यक्त गरे । आफूले नपाउँसम्म अरूलाई भ्रष्ट भन्ने, मौका पाए आफू त्योभन्दा दोब्बर लुट्ने संस्कार र अभ्यास नै भ्रष्टाचारको जडो हो ।  भदौ २३ गते युवाहरूले गरेको आन्दोलको क्रममा कलिला विद्यार्थीको मृत्युपछि उत्पन्न परिस्थितिले भदौ २४ गते आगजानी र लुटपाट मच्चियो । यस पटकको निशानामा व्यापारिक भवन, प्रशासनिक भवन, भौतिक संरचना, निजी सम्पत्ति र होटलसमेत परे । यसले अर्बौंको क्षति गरेको छ । यसको वास्तविक क्षति अध्ययनले देखाउला तर यसमा देखिएका दृष्य निकै दर्दनाक छन् ।  जित्न कसले जित्यो थाहा छैन तर, राज्यले अर्बौं क्षति भोग्न पर्‍यो । यस पटक पनि फेरि निशानामा परेको भाटभटेनीमा आगजानी र लुटापाट भयो । यसको प्रतिफलमा हजारौं मान्छेको रोजीरोटी गुमेको छ । लगानी गर्नेको मनोबल कमजोर भएको छ, व्यवसायी हतोत्साहित भएका छन् । होटलहरू जले, हजारौं काम गरी खानेहरू बेरोजगार हुनुपर्‍यो । व्यवसायीलाई क्षति पुग्यो । राज्यलाई कर घाटा निश्चित छ । लगानी सुरक्षा नहुँदा लगानी वातावरण धराशायी भयो । सरकारी भवन जलेर नष्ट भए । सहज रूपमा सेवा दिनसक्ने अवस्था छैन ।  हामी राज्यप्रति कति गैरजिम्मेवार छौं ? हामी हाम्रो दायित्व निर्वाह गर्न किन सक्दैनौं ? हाम्रो रगतमा अपराध मात्रै छ ? परोपकार किन छैन ? गम्भीर प्रश्न हामीमाथि नै छ । यसले बढ्दै गएको साक्षरता अर्थहिन देखाउँछ । चेतनाको स्तर कमजोर देखाउँछ । यस्तो चेतनाले लोकतन्त्र धान्न सक्दैन । उद्यमशीलता प्रवद्र्धन गर्दैन ।   यसलाई फ्रान्सँग जोडेर हेरौं । फ्रान्समा भएको आन्दोलनमा असन्तुष्ट प्रर्दशनकारीले ठूला महल र व्यापारिक सामान नकिन्ने अभियान चलाएका छन्, अवज्ञा गरेका छन्, बहिष्कार गरेका छन् । हामीलाई मन पर्दैन भने बहिष्कार गर्ने अधिकार छ । त्यहाँ गएर खरिद नगर्ने अधिकार छ । राजस्व चुहावट गरेको मुद्दा गर्ने अधिकार छ । तर तोडफोड गर्ने, लुटपाट गर्ने, जलाउने अधिकार छैन । लोकतन्त्रमा समस्याका निकास बलबाट होइन, विवेक र कानुनबाट खोज्नुपर्छ । कसै उपर चित्त बुझ्दैन भने अदालत छ । अनुसन्धान गर्ने निकाय छन् । पात्र हटाउने हो । प्रवृत्ति हटाउने हो । संस्था ध्वस्त गर्ने होइन ।  साक्षरता बोकेका तर सचेतना शून्य भएका रोगीप्राणीले सभ्यता प्रदर्शन गर्न नसक्ने रहेछन् । सभ्यता र सम्पदाको जर्गना गर्न नसक्ने रहेछन् । फेरि फ्रान्सँग जोडर हेरौं– त्यहाँ प्रदर्शनकारीले नगरपालिका भवन शान्तिपूर्ण कब्जामा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तर हाम्रोमा भने ठ्याक्कै उल्टो भयो । सबैथोक खरानी बनाइदिए । नागरिकलाई बर्दी बिनाका प्रहरी भनिन्छ । सरकार जवाफदेही भएन भन्दैमा हामीलाई पनि जवाफदेही नहुने छुट छैन । भ्रष्ट पद्धतिको विकास भयो भन्दैमा आफू पनि भ्रष्ट बन्नु हुन्न । यस आन्दोलनमा लुटेरा मानसिकता जबरजस्त देखियो ।  नतिजा नदिने प्रक्रिया खोज्ने र हरेक सार्वजनिक काममा व्यक्तिगत लाभ खोज्ने कर्मचारीतन्त्र सुध्रिएन भने नेताको जस्तै भैरवनाथ गणमा गएर सुरक्षा लिनुपर्छ भन्ने सन्देश समेत छोडेको छ । प्रदर्शनका क्रममा भएका घटनाका फुटेज बाहिरिएका छन् । लुट्नेहरूको ताँती देखिन्छ । यस्ता भ्रष्ट मानसिकता र निर्लज्ज मानसिकताले समृद्ध नेपाल बन्दैन । विकसित देशमा आन्दोलन पनि रचनात्मक हुन्छ, सिर्जनशील हुन्छ । तर, नेपालमा जस्तो सरकार, त्यस्तै नागरिक । सरकार र नागरिकको मिल्दो कम्बिनेशन छ ।  भ्रष्टाचार भ्रष्ट मानसिकताको उपज हो । भ्रष्ट मानसिकता हुनेहरू अवसर नपाउँदा भ्रष्टाचारको विरोध गर्छन् । नेता, राजनीतिज्ञ, कर्मचारी, पत्रकार र व्यापारी सबैलाई गाली गर्छन्  । पायो भने लुट्छन् भन्ने तथ्य फेरि उजागर भएको छ ।  हामी सबै अटाउने र सबै रमाउने समाज खोज्छौं । तर, यस्तो दरिद्र मानिसकताले त्यो सम्भव छैन । राज्यका हरेक क्षेत्रमा काम गर्ने कर्ताहरूको जन्म समाजको कोखबाट भएको हुन्छ । फेरि समाज व्यक्तिहरूबाटै निर्माण हुन्छ । पाइला–पाइला ठग्ने मात्र हो भने यो देश कहिल्यै बन्दैन । जुन देशका नागरिक बलिया छन्, त्यो देश बलियो हुन्छ, लोकतन्त्र जीवन्त हुन्छ । जब नागरिक नै भ्रष्ट भए तिनले जन्माउने नेतृत्व पनि भ्रष्ट नै सावित हुन्छ । भनिन्छ- हरेक समाजले आफ्नो गक्ष अनुसारको नेता जन्माउँछ । समाजबाट कर्मचारी, व्यापारी, पत्रकार वा अन्य पेशाकर्मी बन्दछन् ।  म कस्तो छु ? मैले के गरेको छु ? स्वमूल्यांङकन नै जरुरी छ । सुधार आफैंबाट, आफ्नै परिवारबाट जरुरी छ । सूचना, प्रविधि र सञ्जाल तथा रोबोटिक युगको मानिसले व्यवहार उही दास र ढुङ्गेयुग अनुसारको गरेर विकास कहिल्यै हुँदैन । विकासको साझेदार नागरिक पनि हुन् । सचेत र विवेकशील नागरिकले मात्र मुलुक र संविधानको रक्षा गर्न सक्छ । भ्रष्टाचारविरुद्ध खबरदारी गर्नसक्ने हिम्मत गर्न सक्छ । आफै भ्रष्ट समाजको अनुहारमा कुरूप देखिन्छ ।  यसपटकको प्रदर्शनले जनताप्रति सिधा रूपमा उत्तरदायी नहुने र जनसराेकारका विषयलाई नजरअन्दाज गर्ने सरकारको बहिर्गमन संविधानको धाराबाट मात्र होइन, सडकको राप र चापले पनि बहिर्गमन हुन्छ भन्ने सन्देश छोडेको छ । जनभावनाको अवमूल्यन गर्ने, क्षमतावान व्यक्तिलाई पन्छाउने, आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउने राजनीतिक दल, तिनका कार्यकर्ता र जनमतको दुरुपयोग गर्ने दललाई नागरिकप्रति सचेत र संवेदनशील हुन थप्पड हानिदिएको छ ।  नतिजा नदिने प्रक्रिया खोज्ने र हरेक सार्वजनिक काममा व्यक्तिगत लाभ खोज्ने कर्मचारीतन्त्र सुध्रिएन भने नेताको जस्तै भैरवनाथ गणमा गएर सुरक्षा लिनुपर्छ भन्ने सन्देश समेत छोडेको छ । अबको पुस्ता सेवा खोज्छ, आसन र भाषण होइन, सुनिश्चितता खोज्छ, शासन होइन भन्ने आदेश राज्य संयन्त्रलाई दिएको छ । अतः युवाले कसैलाई सत्ताको घोडाबाट भुइँमा पछार्न र कसैलाई सत्ताको सिंहासनमा चढाउने रगत चढाएका छैनन् । भ्रष्टाचार नियन्त्रण गरी जनआक्रोश र जनअसन्तुष्टिलाई सम्बोधन गर्न पठाएका छन्  । सुशासनको माग गरेर मृत्युवरण गर्ने युवाको रगतलाई न्याय गर्नु अन्तरिम सरकारको मुख्य अभिभारा हो । 

पूर्वाग्रह नराखौं, १८ घण्टा खटेर काम गरौं

काठमाडौं । यति बेला देश संकटपूर्ण घडीमा छ । यो मन्त्रिमण्डल गठन नै देशको अप्ठ्यारो परिस्थितिलाई पार लगाउन आएको हो । हामी माननीय होइनौं, हामी जनताको सेवा गर्न आएका हौं । देशमा धेरै नोक्सान भएको छ । अब हामीले यसलाई माथि उठाउनु छ । यो खादामाला लगाएर तामझाम गर्ने समय होइन, काम गरेर जेनजी पुस्ताले देखेको सपना साकार पार्ने समय हो । हामी काम गर्न आएका हौं ।  कुनै पदका लागि आएका होइनौं । अब हामीले देश बनाउनु छ । यो विषम परिस्थितिमा सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेछ । देशलाई परिवर्तन गर्नुछ । हामीसँग ६ महिनाको छोटो समय छ । यसलाई खेर फाल्न मिल्दैन, सबै निर्णयहरू फास्ट ट्र्याकमा गरिनेछन् । म स्वयं १८ घण्टा खटेर काम गर्छु र तपाईंहरू सबैले पनि २४ घण्टामा १८ घण्टा खटिनुपर्छ । अब म एक्लै होइन, मन्त्रालयहरूको टिमले सामूहिक रूपमा काम गर्नुपर्छ ।  जुन जेनजीको आन्दोलनका क्रममा ज्यान गुमाएका होनहार युवाहरूको त्याग र साहसले परिवर्तनको जग बसालेको छ । उहाँहरूका परिवारजनमा हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । सडकमा उठेको जनताको आवाजलाई हामी सम्मान गर्छौं । तर, सार्वजनिक सम्पत्ति जलाएर वा तोडफोड गरेर न्याय जितिँदैन ।  जे भत्किएको छ, त्यसलाई मर्मत गर्ने, जे जलेको छ, त्यसलाई पुन: निर्माण गर्ने र सहिदको सपना साकार पार्ने मेरो मुख्य उद्देश्य हो । चालु ठूला पूर्वाधारका आयोजनाहरू समय र गुणस्तरमा सम्पन्न हुन नसक्दा मुलुकले ठूलो आर्थिक क्षति बेहोरेको छ । यसलाई चिर्न हामी रणनीतिक महत्त्व र रूपान्तरणकारी केही ठूला आयोजनाहरूलाई तत्काल अगाडि बढाउनेछौं ।  अपर अरुण, दूधकोशी र बूढीगण्डकी जस्ता ठूला आयोजनाहरूलाई नेपाली जनताको लगानीमा र देशभित्र तथा बाहिरका विकास साझेदारहरूको सहयोगमा अगाडि बढाइनेछ । यसका लागि विशेष कोष खडा गरिनेछ जहाँ देश तथा विदेशमा रहेका नेपालीहरूले पुन: निर्माणका लागि योगदान गर्न सक्नेछन् ।  ऊर्जा जलस्रोत सि‍ँचाइ तथा खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय अन्तर्गतका निकायभित्र हुने भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीप्रति शून्य सहिष्णुता अपनाइनेछ । कसैले यस्ता कार्य गरेको पाइएमा तत्काल कडा कारबाही गरिनेछ । जेनजी पुस्ताले उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनको मागलाई कडाइका साथ कार्यान्वयन गरिनेछ । उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारीलाई कडाइका साथ लागू गरिनेछ । कसैप्रति पूर्वाग्रही वा प्रतिशोधपूर्ण व्यवहार गरिने छैन ।  यस विषम परिस्थितिमा आफूले पाउने सम्पूर्ण तलब, भत्ता र सुविधा परिवारको नाममा खडा हुने कोषमा जम्मा गर्नेछु । सुरक्षाका लागि अत्यावश्यक बाहेक कुनै पनि सुविधा लिने छैन । विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तत्काल उठाउनुपर्छ ।  देशको अप्ठ्यारो स्थितिमा उद्योगी साथीहरूले यसलाई राष्ट्रका लागि योगदानको रूपमा लिनुहुन आह्वान गर्दछु ।  उज्यालो नेपाल अभियानलाई कार्यान्वयनतर्फ अगाडि बढाउनेछौं । यो केवल बत्तीको मात्र होइन, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको समग्र अभियान हो। युवा पुस्तामा आशा जगाउँदै, देश भित्रै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउनु हाम्रो दायित्व हो । विध्वंस होइन, निर्माण हाम्रो अभियान हो । यो विषम परिस्थितिमा हामी सबैले हातेमालो गर्दै सहकार्य र सहमतिमा अगाडि बढ्नुपर्छ । देश रहे मात्रै हामी रहन्छौं ।  यो ठूलो चुनौती मैले लिएर आएको छु ।  यसको सामना गर्न सबैको साथ र सहयोग अपरिहार्य छ । हिजोका कुरा छाडेर कसरी अगाडि बढ्ने भन्नेमा केन्द्रित बनौं । यो राष्ट्र निर्माणको महाअभियान हो । यसमा सबैको साथ रहनेछ । हामीलाई काम र प्रभावकारी सेवा चाहिएको छ । हामीले कसैप्रति पूर्वाग्राही भएर काम गर्ने छैनौं ।  सबैको सहकार्य र समन्वयमा लामो काम गरिनेछ जुन काम द्रुतगतिमा अगाडि बढ्नेछ । अब हामीसँग केबल ६ महिनाको समयसीमा छ । यो अवधिमा द्रुत गतिमा निर्णय लिने र कार्यसम्पादन गर्नेबाहेक अरू विकल्प छैन । यो समय तामझाम गर्ने होइन, बरु जेनजी पुस्ताले देखेको सपनालाई यथार्थमा परिणत गर्ने बेला हो । जेनजी पुस्ताले उठाएका मागहरुलाई उठान गर्ने समय हो ।  मेरो नेतृत्व निष्पक्ष र सहकार्यमा आधारित हुनेछ । कसैप्रति पूर्वाग्रह नराखी, हामी सल्लाह र सहकार्यमा अगाडि बढ्नेछौं । भ्रष्टाचार निवारण र सुशासन कायम गर्नु हाम्रो तत्कालको लक्ष्य हो ।  (पदभार ग्रहण कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री घिसिङले राखेको विचार)  

...अनि विद्रोह नगरी के गर्ने ?

विध्वंश भयो तर, यो ठूलो परिवर्तनका लागि गरिएको हो । युवाहरूले जिम्मेवारी हामीलाई सुम्पिनुभयो । उहाँहरू आफै पनि यो जिम्मेवारी लिन सक्नुहुन्थ्यो । तर, उहाँहरूले परिवर्तन चाहनु भएको छ । परिवर्तनका लागि अनुभवी हातहरू चाहिन्छ । उहाँहरूसँग मिलेर मात्रै हामी अगाडि बढ्न सक्छौं प्रधानमन्त्रीज्यूले भन्नु भएको छ । यो हामीले लिएको नासो हो, मैले पाएको पदभन्दा पनि यो जिम्मेवारी मलाई कसैले सुम्पिएको छ । र, त्यो जिम्मेवारी सम्पन्न गर्नका लागि कर्मठ हातहरू हुनुहुन्छ । र, अब आइन्दा मुलुकलाई करप्सन (भ्रष्टाचार)बाट पुरै मुक्त गर्नुपर्छ । यो विश्वासका साथ उहाँहरू आफ्नो ज्यान नै गुमाउने गरी युद्ध वा आन्दोलनमा होमिनु भयो ।  अब हामीले विगतमा के गरेका थियौं भनेर स्मरण नगरौँ । कथमकदाचित ज्यादै ठूलो गल्ती गरेका थियौं भने कानुनी प्रक्रियामा सहभागी हुनैपर्छ । त्यो भनेको कानुन बमोजिमको सजाय भोग्न तयार हुनुपर्छ । तर, अब आइन्दा नजानेर पनि (जानेर त गर्न कुरै भएन) गल्ती गर्ने काम नगरौँ । कुनै विषयमा शंका लाग्छ, मैले यो काम गर्दा नेपाल सरकारको स्रोतको दुरुपयोग हुन्छ, करदाताको पैसाको सही प्रयोग हुन सक्दैन की, सार्वजनिक सम्पत्तिको सही प्रयोग हुँदैन कि, सार्वजनिक प्रयोगको निमित्त भनेर खरिद गरेको सम्पत्ति आफ्नो व्यक्तिगत वा अन्य कुनै प्रयोजनमा खर्च गरिएको छ कि भन्ने विषयलाई ध्यान दिएर हामी सच्चिनै पर्छ । सच्चिनका निमित्त म तपाईंहरूलाई विनम्र आग्रह गर्छु । यस्तो आग्रह ज्यादै आवेग, कराएर गर्नुपर्ने आवश्यक छैन, त्यसैले तपाईंहरूले सुनिदिनु हुन्छ भन्ने मैले विश्वास गरेको छु ।  कदाचित कसैको नाम लिएर अनेक थरीको गतिविधि गरियो भने प्रशासकीय अधिकार मलाई थाहा छ । मन्त्रीले हप्काउन सक्छ, कारवाही गर्न पनि सक्छ । यस्तो किसिमको कुनै घटना घट्यो भने त्यो घटनालाई हामीले धेरै लामो समयसम्म लिनु हुँदैन । तुरुन्तै कर्मचारीलाई के गर्नुपर्ने हो गरिन्छ । माया गर्नसम्म माया गरिन्छ, गल्ती गरिसकेपछि माया हुँदैन । यो मेरो व्यक्तिगत एजेन्डा होइन, यो राष्ट्रको एजेन्डा हो । ६ महिनाभित्रमा यो सरकारले निर्वाचन गर्नैपर्छ । कुनै हालतमा पनि संविधानको परिधिभित्र रहेर पनि ६ महिना निर्वाचन गर्नै पर्ने हुन्छ । त्यसपछि म्याद थप गर्न सक्ने सम्भावना छैन । कतिपय थप खर्च गर्नुपर्ने हुन्छ । जुन यसपटकको बजेटमा प्रबन्ध गरिएको थिएन । अब त्यो बजेटभित्रैबाट निकाल्नु पर्ने हुन्छ । हामी पूरक बजेट वा अरू कुनै पनि किसिमको विकल्प सोच्नुपर्ने अवस्थामा छैनौं । बजेटभित्रै रहेर बजेट खर्चका निम्ति गरिएका विनियोजन कटौती गर्नुपर्ने हुन सक्छ वा बजेटभित्रै रहेर तयारी नभएका, अध्ययन नभई प्रोजेक्ट बैंकमा अन्तिम समयमा राजनीतिक दबाबमा छिर्याइएका बजेटबाट कटौती गर्नुपर्ने हुन्छ । अथवा बजेट तर्जुमा गर्ने टिमले हुनै नहुने काममा बजेट राखेको छ भने त्यो रकम निकाल्न सकिन्छ ।  म पारदर्शी छु, यहाँहरूले मसँग कुनै कुरा सेयर गर्नु भयो भने प्याच्च पब्लिकमा भनिदिन सक्छु । त्यसैले कुनै पनि कुरा गर्दा मसँग सोचेर भन्नु होला । अर्थसचिवले भनिसक्नु भएको छ कि १ सय अर्ब रुपैयाँ कोतर कातर गरेर बजेटबाट निकाल्न सकिन्छ । जसको उपयोग हामीले सही काममा गर्न सक्छौं । त्यो सही काम भनेको दुइटा छन्, एउटा निर्वाचन सम्पन्न र दोस्रो, पुन : निर्माण । यदि निर्वाचन सुरक्षित हुन सकेन भने त्यसको जिम्मेवारी अर्थमन्त्रालयले लिनुपर्ने हुन्छ । त्यसको तात्पर्य जथाभावी खर्च गर्ने भन्ने पनि होइन । म सरकारी सेवामा हुँदा ३१ वर्ष र १५ वर्ष सरकारी सेवा छोडेपछि गरी ४६ वर्ष सिंहदरबार छिरे । सिंहदरबारमा यत्तिको विध्वंश कहिले पनि देखेको थिइँन । युद्ध भूमिमा प्रवेश गर्दा खण्डहर जस्तो, फिल्महरू वा कुनै टेलिभिजन डकुमेन्ट्रीमा देखेको जस्ता दृश्यहरू आज पनि देखियो ।  अरू मन्त्रालयमा हामी गर्न सक्दैनौँ । तर, तत्काल अर्थमन्त्रालय परिसरको भग्नावशेषहरू हटाऔँ । यो कालो धुवाँ पोतेर सेतो बनाऔँ । कम्तीमा पनि हामी उठ्यौँ है, खरानीबाट हामी जाग्यौँ है भन्ने सन्देश दिने गरी हाम्रै मन्त्रालयबाट सुरु गरौं । सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति भएको छ । बैंकका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधि बोलाएर बजार विकासको विषयमा राष्ट्र बैंकले छलफल गरिसक्नु भएको छ । कतिपय वित्तीय प्रणालीबाट र कतिपय बीमाबाट पुन: निर्माण गर्न सकिन्छ । तर, कति हुन सक्छ भनेर आँकलन गर्नुपर्ने हुन्छ । सार्वजनिक सम्पत्तिको हामीले बीमा गरेका छैनौं । बीमा गरेको सम्पत्तिमा क्षति भएको जस्तो पनि लाग्दैन । त्यसकारण हामीले धेरै ठूलो क्षति तुरुन्तै गर्नुपर्ने हुन सक्छ, कतिपय चरणवद्ध गर्न सकिन्छ । साथै कतिपय गइसके अब केही गर्न सकिँदैन भन्ने पनि हुन सक्छ । हामीलाई चाहिने भन्दा बढी सवारीसाधन पनि थिए होला । कतिपय लिलाम गर्न नसकेर वा निर्णय विहीनताका कारण लिलाम गर्न नसकेका गाडीहरू पनि सिंहदरबारमा थिए । ती सबै रिप्लेस गर्नुपर्ने आवश्यक छैन ।  हामीले अर्थमन्त्रालयमा निर्वाचन सरकार रहुञ्जेलसम्म सवारीसाधन किन्ने काम नगरौँ भनेर अर्थ सचिवलाई निर्देशन दिइसकेको छु । सार्वजनिक सेवा प्रवाह गर्नको निमित्त प्रहरीका लागि सवारीसाधन खरिद गर्नुपर्छ । कतिपय भवनहरू मर्मत सम्भार गरेर केही महिनाभित्र सार्वजनिक कार्यालयबाट सेवा दिने अवस्थामा पुर्याउनुपर्छ । निजी क्षेत्र र सार्वजनिक सम्पत्तिको पुन: निर्माणमा काम गर्न आवश्यक छ । त्यसको निम्ति यत्तिकै बोलेर हुँदैन, यसको यकिन तथ्याङ्क संकलन गर्नुपर्ने हुन्छ । कतिपय अनुमान कहाली लाग्दो छ, भूकम्प जस्तै क्षति हो भन्ने अनुमान अनौपचारिक हो, त्यसलाई आधिकारिक मान्नु भएन । क्षतिको यकिन तथ्याङ्क संकलन गर्नैपर्छ । निजी क्षेत्रको मनोबल कमजोर हुन दिनु हुँदैन । एउटा साङ्घातिक हमला भएको छ । निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ । किनभने सर्वसाधारण जनतालाई अर्थमन्त्रालयका निकायले प्रत्यक्ष सेवा दिँदैनन् । बैंकिङ क्षेत्र, नेपाल धितोपत्र बोर्ड, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयबाट मात्रै सर्वसाधारणलाई सेवा दिने हो । त्यसपछिका सबै सेवा निजी क्षेत्रले दिने हो । त्यसकारण हाम्रो सम्पर्क निजी क्षेत्रसँग नियमित हुनुपर्छ । निजी क्षेत्रले अर्थमन्त्रालयको निकायमा आउँदा हिजोको तुलनामा परिवर्तन भएको छ है भन्ने अनुभव गर्न पाउनुपर्छ । कतिपय निजी क्षेत्रमा बैंकमा पनि यस्ता समस्या छन् । जस्तो बैंकमा जाँदा एउटा फाराम भर्नुपर्दा तीन ठाउँमा सही र तीन ठाउँमा नाम लेख्नुपर्ने बाध्यता छ । युवाहरूले खोजेको परिवर्तन पनि यही हो । एउटा कुनै कार्यालयमा जाँदा हेपेर व्यवहार गरिन्छ, अनि विद्रोह नगरी के गर्ने ? त्यसैले अब हामीले विश्वास जितेर काम गर्न सक्नुपर्छ ।  नेपाल सरकारको राजस्वमा समेत कमी आउन दिनु भएन । आफ्नो आन्तरिक काममा पनि तदारुक हुनुपर्छ र सेवाग्राहीले पाउने सेवामा पनि अन्तर देखाउनुपर्छ । राजस्व असुलीको लागि कतिपय अवस्थामा कडा हुनुपर्ला, कतिपय अवस्थामा करदातालाई प्रसन्न पार्न सक्नुपर्छ । कतिपय अवस्थामा नरम हुन सक्नुपर्छ । यो विषयमा सन्तुलन कायम गर्नै पर्छ । राजस्व असुलीका लागि ज्यादै क्रूर हुनुपर्ने आवश्यक छैन, हामी नरम भएर पनि राजस्व संकलन गर्न सक्छौं । यो राज्य करबाट नै चल्ने हो भनेर हामीले निरन्तर भन्न सक्नुपर्छ । हरेक ब्राम्हणले बिहान मन्त्र वाचन गरेजस्तै स्मरण गराइरहनु पर्छ । अर्थमन्त्रालय सूचना प्रणालीमैत्री भइसकेको छ । पेन्सन, भुक्तानी प्रणाली र कर संकलन लगायतमा ठूलो सुधार भएको छ । सबै संरचना आईटीबेस छन् । अब ती सूचनाहरूमा कुनै कमजोरी भए सुधार गरेर अघि बढ्नुपर्छ । सार्वजनिक खर्चमा मितव्ययिता अपनाउनुपर्छ ।  यो मेरो निर्देशन नभई, नासो ल्याएर पास गरेको हो । हामी एउटै ढुंगाका सहयात्री हौं । मेरो घरमा बिहान साँझ आएर निजी मागहरु राख्ने काम नगर्नूहोला । तर, कार्यालय प्रयोजनका लागि म सधैं खुला छु । होटल रेस्टुरेन्टमा गएर काम नगरौँ । यदि मेरो घर देख्नु भएन भने मलाई अत्यन्तै खुशी लाग्नेछ । मैले स्वकीय सचिव नराख्ने घोषणा गरेको छु । तर, फोन उठाउनुपर्ने भएकाले एउटा मलाई चालक भने चाहिन्छ ।