राष्ट्र बैंकले ४ वटा कार बेच्दै, मूल्य ७.२९ लाखदेखि २३.१६ लाख रुपैयाँसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले विभिन्न कम्पनीका ४ वटा पुराना सवारी साधन बिक्री गर्न लागेको हो ।  राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले सन् २०१२ मा बनेको बा ९ च ७३७८ नम्बरको चेभ्रोलेट टाभेरा ७ लाख २९ हजार रुपैयाँमा बिक्रीमा राखेको छ ।  यस्तै, सन् २०१४ मा बनेका किया स्पोर्टेजका ३ वटा कार बिक्रीमा राखेको छ । विभागका अनुसार बा १२ च ८२७५ नम्बरको कारको मूल्य ११ लाख ९२ हजार रुपैयाँ, बा १३ च २०९९ नम्बरको कारको मूल्य २१ लाख १९ हजार रुपैयाँ र बा १३ च २१०० नम्बरको कारको मूल्य २३ लाख १६ हजार रुपैयाँ तोकिएको छ ।  यी सवारी साधन जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । खरिद गर्न इच्छुकले माघ ११ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा माघ १२ गते बोलपत्र खोलिनेछन् । खरिदका लागि बोलपत्र पेस गर्दा कबोल रकमको ५ प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्नेछ । 

इटहरीस्थित एनआईसी एशिया बैंकमा अराजक गतिविधि, दोषीमाथि कारबाहीको माग

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको इटहरी शाखामा एक व्यक्तिले कलुसित मनसायका साथ प्रवेश गरी बैंक कर्मचारीमाथि गालीगलौज तथा अभद्र व्यवहार गरेको घटनाप्रति बैंकले गम्भीर ध्यानाकर्षण जनाएको छ । बैंकका अनुसार उक्त व्यक्तिले शाखा कार्यालयभित्र अराजक गतिविधि गर्दै हुलहुज्जत र होहल्ला मच्चाएको थियो । बैंकजस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह हुने स्थानमा यस्ता गैरकानूनी तथा उच्छृङ्खल गतिविधि अस्वीकार्य भएको बैंकले स्पष्ट पारेको छ । बैंक कार्यालयभित्र आगजनी तथा जिउज्यानमा हानी पुर्‍याउने उद्देश्यसहित पेट्रोलजस्ता अति प्रज्वलनशील पदार्थ छर्कनेजस्ता कानूनद्वारा बर्जित गम्भीर क्रियाकलापले बैंकिङ क्षेत्रमै असुरक्षित वातावरण सिर्जना भएको बैंकको भनाइ छ । यस्ता गतिविधिले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बैंकिङ क्षेत्रको काम गर्ने वातावरणमा गम्भीर असर परेको र कर्मचारीहरूले असुरक्षा महसुस गर्न थालेको बैंकले जनाएको छ । कुनै पनि बहानामा कर्मचारीमाथि हुने अभद्र व्यवहार सह्य नहुने उल्लेख गर्दै बैंकले उक्त घटनामा संलग्न व्यक्तिमाथि सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानूनबमोजिम कारबाही गर्न माग गरेको छ । साथै बैंक तथा बैंकमा कार्यरत कर्मचारीहरूको शान्ति–सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग बैंकले आग्रह गरेको छ ।

महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले लिए सपथ

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे हालै सम्पन्न २४औँ वार्षिक साधारण सभाबाट नवनिर्वाचित संचालक समितिबाट अध्यक्षको रुपमा चयन भएका राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।  उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक र वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकलगायत अन्य पदाधिकारीको उपस्थिति थियो ।  पुस २१ गते सम्पन्न बैंकको वार्षिक साधारण सभामार्फत संचालक समितिले प्रस्ताव गरेबमोजिम १०.३७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्तावसमेत अनुमोदन भएको थियो ।